Tag: समस्या

  • सिसडोल भरिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या, उठाउन अझै केही साता लाग्ने

    सिसडोल भरिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या, उठाउन अझै केही साता लाग्ने

    काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो ।

    महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । ‘विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहर उत्पादन हुने गर्दछ, सकेसम्म कम फोहर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु’, महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने ।

    उनका अनुसार सिसडोल भरिएको र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेको भए पनि अझै केही दिन लाग्छ । निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न केही असहज भएको उनले बताए । महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ ।

    सामान्य समयमा हरेक दिन २०० गाडीले फोहर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ ।

    यसरी निरन्तर फोहर नउठ्दा काठमाडौँका सडक किनारामा जताततै फोहर हुँदा दुर्घन्ध फैलिएको छ । महानगरले दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन गर्दै आएको छ ।

    हाल फोहर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि समय–समयमा फोहर व्यवस्थापनमा समस्या आइरहेको छ ।

  • मनाङमा विद्युत् अभावले स्वास्थ्यसेवामा समस्या

    मनाङमा विद्युत् अभावले स्वास्थ्यसेवामा समस्या

    मनाङ । बाढीपहिरोका कारण यस हिमाली जिल्लामा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिरोले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युत्को अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् ।

    जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले भने, ‘विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सहयोग लिइरहेका छौँ, जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ, हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन, विद्युत् नहुँदा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ’।

    ‘सौर्य ऊर्जा ल्याइए पनि जडान गरिएको छैन, जेनेरेटर चलाएर सेवा दिँदै आएका छौँ, तेल सकिनै लागेको छ, तेल ल्याउन सडक सुबिधा छैन, हेलिकोप्टरबाट ल्याउनुपर्छ,’ उनले भने, ‘मौसम पनि खराब छ, तेल ल्याउन सकिएन भने अबको एक/दुई दिनमा जिल्ला अस्पतालले दिँदै आएको सेवा नै अवरुद्ध हुने अवस्थामा पुगेको छ ।’

    जेनेरेटरका लागि थप तेल ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको निरीक्षक अन्सारीले बताए । ‘तेल अभाव भएको जानकारी गराइसकेका छौँ । छिट्टै आउने अपेक्षामा छौँ’ उनले भने । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मनाङ ल्याइएको सौर्य ऊर्जा हालसम्म जडान गर्न सकिएको छैन ।

    स्वास्थ्य, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन, पूर्वाधार विकास कार्यालय, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र चामे गाउँपालिकाको कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने भनिए पनि हालसम्म जडान गरिएको छैन । आइपुगेको सौर्य ऊर्जा जडानका लागि विज्ञ प्राविधिक नहुँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

    ‘सामग्री आए पनि विज्ञ प्राविधिकको अभावले सौर्य ऊर्जा जडान गर्न सकिएको छैन, सम्बद्ध मन्त्रालयलाई जानकारी गराएका छौँं,’ उनले भने । बाढीपहिरोले क्षति पु¥याएको केही समयमा मन्त्रालयमार्फत १६ वटा सौर्य ऊर्जा ल्याएर जडान गरिए पनि पछिल्लो समय ल्याइएका पाँच वटा सौर्य ऊर्जा भने अझैसम्म जडान गरिएको छैन । विद्युत् आपूर्ति नहुँदा मनाङवासी अध्यारोमै रात बिताउँदै आएका छन् ।

  • कम्पनीले अक्सिजन नदिँदा सरकारी अस्पताललाई समस्या

    कम्पनीले अक्सिजन नदिँदा सरकारी अस्पताललाई समस्या

    भक्तपुर । कोभिड-१९ का बिरामीको उपचार गर्दै बिरामीको भरोसाको केन्द्र बन्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शय्या सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरुले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिंदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको बताइएको छ ।

    अस्पतालले कोभिडका बिरामीका लागि ८० शय्या छुट्याए पनि अहिले ५० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २०० सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुश्किल परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा. सुमित्रा गौतमले बताइन् । भेन्टिलेटरमा रहेका बिरामीलाई तीब्र गतिमा अक्सिजन दिनुपर्दा एक बिरामीका लागि २४ घण्टामा पाँच सिलिण्डर अक्सिजन सकिने तर अक्सिजनको आपूर्ति भने कम हुँदा समस्या आएको अस्पतालको भनाइ छ ।

    भक्तपुर अस्पतालका लागि सरकारले कान्तिपुर उद्योगसँग दैनिक ४०, सोपन उद्योगसँग दैनिक ३० र सगरमाथा उद्योगसँग दैनिक ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने गरी कोटा निर्धारण गरेपनि ती उद्योगले तोकेको भन्दा ५० प्रतिशत कम अक्सिजन उपलब्ध गराउने गरेका छन् । सगरमाथाले दुई दिन नदिएको र अधिकांशले अक्सिजन नै पुग्दैन भनेर कम दिने गरेका छन् । अस्पतालले विगतमा जनकपुर, निजगढ, ककनीदेखि पनि अक्सिजन ल्याएकामा अहिले ती ठाउँबाट पनि अक्सिजन आउन छाडेका छन् ।

    निःशुल्क सेवा दिदै आएको सरकारी अस्पताललाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरुले तोकिएको कोटाभन्दा बढी अक्सिजन दिने गरेको पाइएको छ । एक निजी अस्पतालका सञ्चालकले उद्योगहरुलाई बढी पैसा तिरेर अक्सिजन ल्याउने गरेको बताएका छन् । निजीले बढी पैसा दिने भएकाले अक्सिजन उद्योगहरुले सरकारीलाई भन्दा निजी अस्पताललाई निर्धारित कोटाभन्दा बढी अक्सिजन दिने गरेको निजी अस्पताल सञ्चालकहरुकै भनाइ छ ।

    भक्तपुर अस्पतालकी मेसु डा. गौतमले पनि सरकारीलाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरुले प्राथमिकतामा राखेकाले नै सरकारी अस्पतालले सरकारले निर्धारण गरेको कोटा बराबर पनि अक्सिजन नपाएको बताइन् । अहिले भक्तपुर अस्पतालमा ज्वरो र कोभिडको लक्षण भएकाहरुका लागि सञ्चालन गरेको ओपीडी सेवामा मात्रै दैनिक १७० देखि २०० सम्म बिरामी आउने गरेका छन् । ठाउँ अभाव, उपकरण अभावले अस्पतालले पर्याप्त आइसियू सञ्चालन गर्न सकेको छैन ।

    यस अस्पतालमा जम्मा ६ शय्याको आइसीयू, ४० शय्या हाइकेयर युनिट, आकस्मिक कक्ष र टेण्डमा समेत शय्या राखेर ८० जना कोभिडका बिरामीको उपचार गर्दै आए पनि अक्सिजन अभावमा सबै शय्या चलाउन अहिले समस्या आएको मेसु डा. गौतमले जानकारी दिइन्। उनले भनिन्, ‘अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनु पर्छ, बिरामीको ज्यान जोखिममा पार्न पनि सकिदैन, अक्सिजन नहुँदा कुनै दुर्घटना नहोस् भनेर सचेत छौँ, सरकारले अक्सिजनको सहज व्यवस्था गरिदिए हामी आफ्नो ज्यान जोखिममा राखेर पनि बिरामी बचाउन अझै काम गर्छौं ।’

    सरकारले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने भने पनि ढिलो हुने भएकाले तत्कालको व्यवस्थापनमा पनि जोड दिनु पर्नेछ । यस सरकारले अक्सिजन प्लान्टका लागि दुई करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ । यसबाट उत्पादन हुने अक्सिजनले आइसीयूलाई मात्रै थेग्न सक्ने उनको भनाइ छ ।

    अक्सिजन कहिले उत्पादन हुने, प्लान्ट कहिले राख्ने प्रक्रिया लामो भएकाले अहिलेका लागि अक्सिजन पर्याप्त व्यवस्था हुन सके स्वास्थयकर्मीको टोलीलाई उपचारमा थप आँट आउने डा. गौतम बताउछिन् ।

    अक्सिजन वितरणमा लागू गरेको कोटा प्रणालीलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारले सुरक्षाकर्मीलाई जिम्म दिनु पर्ने अस्पताल सञ्चालकहरु बताउँछन् । अक्सिजन कम्पनीले कालो बजारी गरेर केही निजी अस्पताललाई मागे जति दिने र अरुलाई सरकारले तोकेको कोटाअनुसार पनि नदिने गरेको अस्पताल सञ्चालकहरुको गुनासो छ ।

    सबै अक्सिजन कम्पनीमा नेपाली सेना वा सशस्त्र प्रहरीको टोली परिचालन गरी सरकारले तोकेको कोटाअनुसार अक्सिजन वितरण गर्ने व्यवस्था गरे सरकारी अस्पतालमा अहिले देखिएको अक्सिजन अभावको समस्या ७० प्रतिशत हल हुने अस्पताल सञ्चालकहरुको भनाइ छ ।

    अस्पतालमा आएको बिरामीको चाप हेर्दा अझै आइसियू र जनरल शय्या थप्नु पर्ने, कम्तीमा १० शय्याको भेन्टिलेटर, उपकरण, जनशक्ति र औषधि थप गर्नुपर्ने आवश्यकता छ । भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले दुई दिनअघि दुई कन्सन्ट्रेटर मेसिन र २० सिलिण्डर अक्सिजन दिएको बताउँदै उनले निःशुल्क उपचार गर्दै आएको यो अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फर्काउनु पर्ने अवस्था आउन नदिन सहयोग गर्न उनले आह्वान गरिन् ।

    -रासस

  • अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    काठमाडौं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।

    अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताए ।

    नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ । ‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौं तर अक्सिजन नभएपछि त्यतिकै रोकिएको छ ’, उनले भने, ‘अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन ।’

    शुरुमा १ सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिए ।