Tag: सप्तरी

  • साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग

    साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग

    जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका-४ भथौलस्थित  श्याम मडरको घरमा विशाल नाग (सर्प) निस्केपछि पूजापाठ गर्नेहरुको भीड लाग्न थालेको छ ।

    कुलदेवता (गोसाइ) घरमा नाग निस्केको हो । घरबाट बाहिर निकालेर सर्पलाई शिव मन्दिरमा राखिएको छ । अहिले उद्धारको प्रयास भइरहेको बताइएको छ ।

    गर्मीका कारण विशालु सर्प निस्केको हुनसक्छ । तर आज साउन महिनाको पहिलो सोमवार भएकाले भगवान शिवले नागस्वरुपकाे दर्शन दिएको स्थानीय बताउँछन् ।

  • सप्तरीमा निषेधाज्ञा कडा- बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द

    सप्तरीमा निषेधाज्ञा कडा- बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द

    जनकपुरधाम । कोरोना संक्रमण भयावह बनेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि सप्तरीमा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गराएको छ ।

    बुधवार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेर बैंक तथा वित्तीय संस्थाहरु एक साताका लागि बन्द गर्न निर्देशन दिएका थिए ।

    सप्तरीमा वैशाख २३ गतेबाट निषेधाज्ञा जारी छ । संक्रमण दर बढेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गराउनु परेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

    यस्तै जिल्लाका प्रत्येक कार्यालयलाई आ-आफ्नो निकायगत जिम्मेबारी बाहेक कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा के कस्तो भूमिका खेल्न सकिन्छ भन्ने कुराको तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयको इमेलमा पठाउन पनि निर्देशन दिएको छ ।

    यस्तै प्रत्येक कार्यालयले आफूसँग भएको सवारी साधन र चालक कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणमा प्रयोग हुनसक्ने गरी तयारी हालतमा राख्न पनि निर्देशन दिएको छ ।

    प्रदेश २ का अन्य सात जिल्लामा पनि प्रशासनले निषेधाज्ञा लगाएको छ । तर बैंक तथा वित्तीय संस्थाहरु भने बन्द गरिएको छैन । समिति अवधिका लागि बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन गर्न दिएको छ ।

  • सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको कोरोना संक्रमणबाट निधन

    सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको कोरोना संक्रमणबाट निधन

    जनकपुरधाम । सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

    विराटनगरस्थित विराट मेडिकल अस्पतालमा उपचारकै क्रममा आज विहान उनको निधन भएको हो ।

    रुघाखोकी र ज्वरो लागेपछि पीसीआर परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनी अस्पताल भर्ना भइन् । स्वास्थ्य अवस्था बिग्रिएपछि तीन दिनदेखि उनको आईसीयूमा उपचार भइरहेको थियो ।

    सप्तकोशी नगरपालिका ८ घर भएकी उनी तत्कालिन नेकपा एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

  • चोरी आरोपमा सप्तरीका एक किशोर ३ दिनदेखि बन्धनमा, गाउँपालिका प्रमुखकै छोराको संलग्नता !

    चोरी आरोपमा सप्तरीका एक किशोर ३ दिनदेखि बन्धनमा, गाउँपालिका प्रमुखकै छोराको संलग्नता !

    जनकपुरधाम । सप्तरीमा चोरीको आरोपमा एक किशोरलाई हात-खुट्टामा फलामे साङ्लाले बाँधेर तीन दिनदेखि यातना दिइरहेको घटना सार्वजनिक भएको छ ।

    छिन्नमस्ता गाउँपालिका-६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका संजय पण्डित र उनका दाइ जागेश्वरले बाँधेर यातना दिइरहेका छन् ।

    स्थानीयका अनुसार पण्डितको मदिरा पसलमा वैशाख २१ गते राति चोरी भयो । चोरी गरेको शंकामा मुखियालाई घरबाटै समातेर ल्याइयो र यातना दिए । यातना खेप्न नसकेर मुखियाले चोरी स्वीकारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    २२ गते बिहानदेखि नै मुखियाको हातखुट्टामा साङ्लो बाँधेर ताला लगाइएको छ । स्थानीय कपिल मुखिया भन्छन्, ‘खाना पानी केही नदिई भोकै र प्यासै उनलाई बन्दी बनाएका छन् ।’भोकले छटपटाएको देखेपछि आफूले राति घर ल्याएकोमा पुन: फर्काएर लगी यातना दिइरहेको उनले बताए ।

    ती युवालाई यातनाका लागि व्यापारी पण्डितलाई गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलका छोरा सत्यनारायणले साथ दिएको स्थानीयको दावी छ । ‘यातना दिन लगाउनमा सत्यनारायणको भूमिका निकै छ । उनी स्वयंले कुटपिट गरेका छन् । उनको अगाडि कसैले प्रतिवाद गर्न सक्दैनन्’, स्थानीय एक युवकले भने ।

    मुखियाले चोरी स्वीकारेको दावी व्यापारी पण्डितको छ । आफूलाई अन्य दुईजनाको संलग्नता रहेको पनि बताएको पण्डितले बताए । ४७ हजारका दरले तीनैजनाले क्षतिपूर्ती नतिरेसम्म नछाड्ने बताएको स्थानीयले सुनाए ।

    घटनाबारे सूचना पाएपछि प्रहरी हिजो घटनास्थल पुगेको थियो । तर, गाउँपालिका प्रमुख मण्डलका छोरा सत्यनारायणले घटना गाउँमै मिलापत्र गर्ने भनेर प्रहरीलाई फिर्ता पठाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    व्यापारी पण्डितले लगाएको आरोप मुखियाका आफन्तले स्वीकार गर्न तयार छैनन् । बुबा रामस्वरूप मुखिया भन्छन्, ‘मेरो छोरा नै चोर हो के प्रमाण छ ? जबर्जस्ती यातना दिएर चोरी गरेको कुरा स्वीकार्न लगाएका छन् ।’

    सप्तरीकै अधिकारकर्मी सुनिता साहले चोरीको आरोपमा खुट्टामा नेल लगाएर राख्नु अपराध भएको बताउँछिन् ।

    उनले भनिन्, ‘चोरी नै गरेको हो भने प्रशासनले कारबाही गर्नसक्छ । तर, व्यक्तिले कानून हातमा लिन मिल्दैन ।’ उनले बाँधेर राखेका किशोरलाई अविलम्ब उद्धार गर्न स्थानीय प्रशासनसँग माग पनि गरेकी छन् ।

    सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमला घटनाबारे थाहा पाएपछि बुझ्न इन्सपेक्टरलाई पठाएको बताए । उनले नेपाल प्रेससँग भने, ‘गाउँपालिका प्रमुखले पनि घटनाबारे बुझिरहेको भनेर भन्नुभएको छ । प्रहरी पनि रेस्क्यू गर्न पठाएको छु ।’

    मुखियालाई हातखुट्टा बाँधेर यातना दिइरहेको विषयमा एसपी धमलाले अनभिज्ञता जनाए ।