Tag: सडक अवरुद्ध

  • नारायणगढ-मुग्लिन सडक : खुल्दै बन्द हुँदै

    नारायणगढ-मुग्लिन सडक : खुल्दै बन्द हुँदै

    मुग्लिन । वर्षा सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो ।

    डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका-२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ । आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहेका उनले भने, ‘लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।’

    पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ ६ मिटर जति माटो मात्रै रहेको उनले जानकारी दिए । त्यस ठाउँमा खेती गरिँदै आएको छ ।

    सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उनको भनाइ छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउछन् । एक सातायता सो सडकले दुःख दिइरहेको छ । उनले भने, ‘अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न सुरु गरेको हो ।’

    असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो ? निकै जोखिम बढेको भन्दै उनले भने, ‘सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।’

    जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उनले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिएका छन् ।

    सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको संख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उनले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिए । भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ-मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उनले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तररूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताए । उनका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो । काम गर्न सकेसम्म रोकिएको छैन ।

    डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका छन् । केही वर्षअघि ठाउँ–ठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो ।

    तीन वर्षअघि काम सम्पन्न भएयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन । यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो । यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्याङ्क छ । रासस

  • नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जन बढी पहिरो, सडक खुलाउन दिनभर लाग्ने

    नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जन बढी पहिरो, सडक खुलाउन दिनभर लाग्ने

    चितवन । एक दर्जन बढी ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएकाे छ । पानीपर्ने क्रम नरोकिएकाले धेरै ठाउँमा पहिरो खस्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पाँचकिलो र चार किलोमा खसेको ठूला पहिरो हटाउन ३ वटा डोजर प्रयोग गरिएको छ ।

    चितवन प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले अवरोध हटाउन कम्तिमा आज दिनभर लाग्नसक्ने बताए । ‘एक दर्जन ठाउँमा पहिरो खसेको अनुमान छ, सबै ठाउँमा प्रहरी पुग्न पनि सकेको छैन’, उनले भने, ‘निरन्तर वर्षा भएमा पहिरो हटाउन काममा अवरोध आउन सक्छ ।’

    आज बिहान २ बजेदेखि पहिरो खस्न सुरु भएको थियो ।

  • बुटवल-पाल्पा सडक एकतर्फी खुल्यो, महेन्द्र राजमार्ग अवरुद्ध

    बुटवल-पाल्पा सडक एकतर्फी खुल्यो, महेन्द्र राजमार्ग अवरुद्ध

    रुपन्देही । तीन दिनदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड आज दिउँसो एकतर्फी सुचारु भएको छ भने महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन ।

    सिद्धार्थ राजमार्गको सडक खण्डमा स-साना पहिरो पन्छाएर बिहानै सडक खोलेको भएपनि गौडापुलनजिकै बाटोसँगै भास्सिएको करिब ५० मिटर सडक खुल्न नसक्दा यातायात अवरुद्ध भएको हो ।

    राजमार्ग आज दिउँसोबाट संचालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । पूर्वपश्चिम महेन्द्र राजमार्गको चरङ्गे नजिकैको डाइभर्सन भने अझै खुल्न सकेको छैन ।

    पूर्वपश्चिम राजमार्गको बुटवल सुनवल खण्ड पनि ३ दिनदेखि अवरूद्ध रहेको छ । आज पानी कम भएपछि वैकल्पिक बाटो बनाइरहेको पाण्डेले बताए ।