Tag: संसद अधिवेशन

  • संसद अधिवेशन अन्त्यः सरकारको नियतमाथि एमालेको शंका, आज संसदीय दलको बैठक बस्दै

    संसद अधिवेशन अन्त्यः सरकारको नियतमाथि एमालेको शंका, आज संसदीय दलको बैठक बस्दै

    काठमाडौं । सरकारले हठात् संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट अर्थात् आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदतमा दर्ता भएको महाअभियोगलाई लम्ब्याउने ‘प्रपन्च’स्वरुप संसद अधिवेशन अन्त्य गरिएको शंका भएपछि त्यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

    ‘सरकारको नियतमाथि शंका देखिएको छ’, नेम्वाङले भने, ‘यसरी हठात् संसद अधिवेशन अन्त्य गर्नुका पछाडिको कारण खतरनाक हुनसक्छ । त्यसबारे छलफल गर्न र निर्णय लिन दलको बैठक बोलाइएको हो ।’

    उनका अनुसार बैठक तीन बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

    यसअघि चैत दुई गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान भएको थियो ।

    गत माघ १६ गते राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

  • आज मध्यरातदेखि संसद अधिवेशन अन्त्य

    आज मध्यरातदेखि संसद अधिवेशन अन्त्य

    काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य गरेकी हुन् ।

    गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबारी सहेर आएको प्रतिनिधिसभाले अन्तिम बैठक बिहीबार (हिजो) पनि नाराबाजी खेपेको थियो ।

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरू रोष्ट्रमअगाडि उभेर नाराबाजी गरिरहे । तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

    सोही क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र उठाउने विधेयकजस्ता महत्वपूर्ण विधेयक पारित गरेको संघीय संसदका दुवै सदनले निरन्तरत एमाले सांसदको अवरोध खेप्यो । तर, पारित र स्वीकृत भएका विधेयक, प्रस्तावहरूमाथि घनिभूत रूपमा छलफल गराउन भने प्रतिनिधिसभा चुकेको छ ।

    नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेकका सांसदहरू छलफलमा सहभागी भएनन् । प्रतिपक्षी सांसद नाराबाजीमै रहे पनि सरकार समर्थित सांसदहरू हतारमै विधेकय पारित गराउन लागि परे ।

    अन्ततः ४८ दिनमै संघीय संसदको दुवै सदनको अधिवेशन शुक्रबार मध्यराति १२ बजेबाट अन्त्य हुने जानकारी संसद सचिवालयले सांसदहरूलाई जानकारी गराएको छ ।

     

  • जापानमा सत्तापक्ष र प्रतिपक्ष विवाद- संसद अधिवेशन नबोलाएर संविधान उल्लंघन गरेको विपक्षीको आरोप

    जापानमा सत्तापक्ष र प्रतिपक्ष विवाद- संसद अधिवेशन नबोलाएर संविधान उल्लंघन गरेको विपक्षीको आरोप

    टोकियो । संसदको विशेष अधिवेशन बोलाउनु पर्ने बिपक्षीहरुको मागलाई सत्तापक्षले अस्वीकार गरेपछि जापानमा राजनीतिक सरगर्मी चुलिएको छ ।

    संवैधानिक लोकतान्त्रिक पार्टी, कम्युनिस्ट पार्टी, लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी गरी ४ बिपक्षी दलले लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको सरकारलाई संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

    कोरोना सक्रमण बढ्दो क्रममा रहेकाले सक्रमण नियन्त्रणका लागि अहिले अवलम्बन गरिएका उपायहरु र पूरक बजेटसहितका बिषयमा छलफल गर्न संसदको विशेष अधिवेसन बोलाउनपर्ने बिपक्षी दलहरुको माग छ ।

    तर, सत्तापक्ष भने पुरक बजेट आवश्यक नभएको भन्दै संसदको अधिवेशन बोलाउन नपर्ने अडानमा छ । संसदको विशेष अधिवेशन बोलाउन आफूहरुले गरेको आग्रहलाई अस्वीकार गर्नुलाई बिपक्षी दलहरुले ‘संविधानको उल्लंघन’ भनेका छन् ।

    सरकारले जटिल परिस्थिमा पनि संसदका अधिकारलाइ नियन्त्रण गर्न खोजेको भन्दै असन्तुष्ट बनेका विपक्षी दलहरुले संक्रमण नियन्त्रणका लागि संसदीय समितिका अध्यक्ष मोरियामासमक्ष अधिवेशन बोलाउन माग गर्दै निवेदन पेश गरेका छन् ।

    विपक्षी दलहरुले संसदको विशेष अधिवेशन बोलाउन माग गरेपछि संक्रमण नियन्त्रणका लागि संसदीय समितिका अध्यक्ष मोरियामाले सत्तारुढ दल र सरकारसँग छलफल गर्ने बताएका छन् ।

    संविधानको धारा ५३ मा कुनै एक(तल्लो र उपल्लो सदन) सदनमा तत्काल कायम रहेका सदस्य संख्या मध्ये एक चौथाई सदस्यले संसदको विशेष अधिवेशनको माग गरेमा मन्त्रिपरिषदले अनिवार्य बोलाउनुपर्ने व्यवस्था छ ।

  • संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

    मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

  • सुदूरपश्चिम प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य हुँदै

    सुदूरपश्चिम प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य हुँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंगलवारबाट सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    अधिवेशन माघ २६ गतेबाट सुरु भएको थियो । सोमबार २०औं बैठक बस्दै छ । मंगलवार २१औं बैठक बसेर अधिवेशन अन्त्य हुने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

    चालू अधिवेशनमा ६ वटा विधेयक पारित भएको छ । मंगलवार पनि प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुने कार्यसूची रहेको सचिव धामीले बताए ।

  • संसदको चालू अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्य

    संसदको चालू अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्य

    काठमाडौं । संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ । संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

    पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।

    संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

    सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

  • संसदको अधिवेशन चाँडै अन्त्य हुन्छः प्रधानमन्त्री

    संसदको अधिवेशन चाँडै अन्त्य हुन्छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुने जनाउ दिएका छन् । आज पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले केही समयपछि बर्खे अधिवेशन बोलाउनुपर्ने भएकाले हिँउदे अधिवेशन अन्त्य गर्नुपर्ने बताए ।

    बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई उद्वृत गर्दै भने, ‘हामी अहिले संसद अधिवेसनको उत्तरार्द्धमा छौं । बीचमा प्रतिनिधिसभा विघटन भयो । त्यो पुन:स्थापना भएपछि ढिलो अधिवेशन प्रारम्भ भयो । बैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्नुपर्छ । त्यसैले चालु अधिवेशन चाँडै अन्त्य हुन्छ ।’

    ओलीले अबको बजेट अधिवेशनमा संसदहरूबाट महत्वपूर्ण सल्लाह सुझावहरू प्राप्त हुने अपेक्षा व्यक्त गरे । संसदीय दलको बैठक नियमित बस्ने र सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीले सहजीकरण गर्ने ओलीले बताएका थिए ।

  • संसद अधिवेशन भोलिबाट, के-के छन् कार्यसूची ?

    संसद अधिवेशन भोलिबाट, के-के छन् कार्यसूची ?

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाकाे सातौं अधिवेशन भोलि आइतबारदेखि शुुरु हुुँदैछ । संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

    अधिवेशन सञ्चालन गर्न अपनाउनुुुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूूर्ण तयारी पूरा भएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । सचिवालयले गत पुुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरिएको उनले बताए ।

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको आदेश गरेपछि प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।

    संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय अन्तराल हुुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौं अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौं अधिवेशन भने पुुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो ।

    नेपालको संविधानले स्थायी, प्रबुुद्ध समूूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताका विषयमा विवाद भई दुुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरिरहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका छन् ।

    नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दलका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका थिए । दाहाल–नेपाल नेतृत्वमा रहेको नेकपा समूूहले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुुष्पकमल दाहाल र प्रमुख सचेतकमा देवप्रसाद गुुरुङलाई चयन गरिएको सूूचना संसद् सचिवालयलाई दिएको जानकारी गराएको छ ।

    अहिले प्रतिनिधिसभामा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको प्रतिनिधित्व छ । नेकपाका सानुु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुुईदुुई सांसद अदालतको आदेशानुुसार निलम्बनमा छन् । संवैधानिक व्यवस्थानुुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका एकएक तथा हुुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुुर लामा स्वतन्त्र सांसदका रुपमा प्रतिनिधिसभामा छन् ।

    मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा निकै अर्थपूर्ण रुपमा हेरिएको प्रतिनिधिसभाको आगामी बैठकमा सभामुखसहित २७० सांसद सहभागी हुुनसक्ने देखिन्छ । विधेयक अधिवेशनका रुपमा रहने यो हिउँदे अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेका ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ ।

    यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ । यद्यपि कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुनुअघि बस्ने बैठकले कार्यसूूचीलाई अन्तिम रुप दिनेछ

    नेकपाका सांसद कृष्णभक्त पोखरेलले अधिवेशनको पहिलो दिन राष्ट्रपतिको सदन आह्वानसम्बन्धी सन्देश वाचन, विगतमा जारी भएका अध्यादेश अनुुमोदनका लागि प्रस्तुुत, दलका शीर्ष नेताको शुुभकामना मन्तव्य र यसबीचमा निधन भएका सांसद तथा पूूर्वसांसदको सम्मानमा शोक प्रस्तावजस्ता विषय कार्यसूूचीमा हुनसक्ने जानकारी दिए ।

    भूूगोल र जनसङ्ख्याका आधारमा कायम गरिएको निर्वाचन क्षेत्रबाट पहिलो हुुने निर्वाचित हुने निर्वाचन प्रणालीद्वारा निर्वाचित १६५ तथा समानुुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० समेत गरी प्रतिनिधिसभा २७५ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेस’ र सदनकाे गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ ।

    (रासस)

  • राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

    राष्ट्रपतिको कार्यालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।

    सर्वोच्च अदालतले फागुन ११ गते संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

  • संसद अधिवेशन फागुन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन फागुन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं । सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको हो ।

    यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय आज गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

  • संसद अधिवेशन अन्त्य हुँदै, बालुवाटारमा मन्त्रिपरिषद् बैठक

    संसद अधिवेशन अन्त्य हुँदै, बालुवाटारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने भएको छ । ६ महिनाभित्र संसद अधिवेशन बस्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले राष्ट्रियसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    पुस १७ गते शुरु भएको राष्ट्रियसभा अधिवेशन आज अन्त गर्नका लागि मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने स्रोतले जनाएको छ ।

    राष्ट्रियसभाको बैठकलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । संसदको यो अधिवेशन कुनै पनि विधेयक प्रस्तुत तथा छलफल नभइ अन्त्य हुने भएको छ ।

  • संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिश, राष्ट्रियसभा बैठक बस्ने

    संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिश, राष्ट्रियसभा बैठक बस्ने

    काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

    मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।

    प्रतिनिधिसभा विघटन भइसकेकाले राष्ट्रियसभाको बैठक बस्न लागेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।