Tag: संसदीय समिति

  • लुम्बिनीका संसदीय समिति: अधिकांश नेतृत्वविहीन, भएका पनि बस्दैनन् बैठक

    लुम्बिनीका संसदीय समिति: अधिकांश नेतृत्वविहीन, भएका पनि बस्दैनन् बैठक

    रुपन्देही । लुम्बिनी प्रदेशसभाका चार विषयगत समिति नेतृत्वविहीन छन् भने भएका दुई समितिको पनि बैठक नबसेको झण्डै एक वर्ष पुग्न लाग्यो । मिनीसंसद र छायाँ सरकारका रुपमा हेरिने विषयगत समिति अस्थिर राजनीतिले थिलथिलो परेका छन् । राजनीति दलहरू विभाजन हुनेदेखि नयाँ दल गठन प्रक्रियाको प्रभाव प्रदेशसभामा पनि प्रष्ट देखिएको छ ।

    मिनीसंसदका रुपमा रहेका विषयगत समितिहरु निस्कृय बन्दा सरकारका एकपक्षीय कामहरुमा औंला ठड्याउने निकाय छैन ।

    यसअघि संसदीय समितिले दिएका निर्देशनहरू सरकारले अटेरी गरेका धेरै उदाहरण पनि नभएका होइनन् । एकातिर लामो समय समिति नेतृत्वविहीन रहनु र अर्कोतिर त्योभन्दा अगाडि समितिले दिएका निर्देशनहरू सरकारले कार्यान्वयन नगर्दा संसदीय समितिहरू प्रभावहीन भएका हुन् ।

    गत आर्थिक वर्षदेखि नै लुम्बिनी प्रदेशका संसदीय समितिहरू सुस्ताउन थालेका हुन् । यतिसम्म कि अघिल्लो वर्षको प्रतिवेदनसमेत प्रकाशित गर्न नसकेका समितिहरु यस आर्थिक वर्षमा त लथालिङग अवस्थामा पुगेका छन् । केही समितिहरु पूर्ण छैनन् भने केही नेतृत्वविहीन छन् । संसद बैठक नहुँदा सक्रिय हुनुपर्ने समितिहरू अहिले आफै निष्कृय अवस्थामा रहेका छन् ।

    प्रदेश सभाका ६ वटा विषयगत समितिमध्ये ४ वटा समिति सभापतिविहीन छन् । कृषि, वन तथा वातावरण समितिले एक वर्षमा १८ वटा निर्देशन दिदा ११ वटा कार्यान्वयन नै नभएकोे समितिको प्रतिवेदनमा उल्लेख छ ।

    समितिले आर्थिक वर्ष ०७६/०७७ मा दिएका सामान्य खालका निर्देशन समेत पालना गर्न मन्त्रालयले अटेर गरेको हो । सामाजिक समितिले एक वर्षमा दिएका ३० वटा निर्देशनमध्ये २० वटा कार्यान्वयन नै भएनन् ।

    अझ सामाजिक समिति नेतृत्वविहीन भएपछि बैठक बस्ने तथा थप ताकेता गर्ने काम पनि बन्द भएको छ । यस हिसाबले पछिल्लो समय संसदीय समितिहरू आफै निष्क्रिय हुन थालेका छन् जसले गर्दा अनियमितता र बेथिति झनै मौलाउने सम्भावना देखिएको छ ।

    लुम्बिनी प्रदेश सभामा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार तथा विकास समिति र सामाजिक विकास समिति रहेका छन् ।

    लेखा समितिका तत्कालीन सभापति डिल्ली चौधरी नयाँ सरकार गठनसँगै मन्त्री भएपछि सभापति पद खाली छ । त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने थिए उनी माओवादी केन्द्र छाडेर एमालेमा आवद्ध भएपछि पार्टीले कारवाही गरेसँगै उनको सांसद पद गुम्यो भने समिति सभापतिविहीन भयो ।

    कृषि वन तथा वातावरण समितिका सभापति विजय वहादुर यादव मन्त्री भएपछि यो समिति पनि सभापतिविहीन छ । यादव एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएका थिए । पछि उनको दल जसपाले पार्टी निर्णय विपरीत सरकारमा सामेल भएको भन्दै कारवाही गरेपछि उनको पनि सांसद पद गुमेको हो । सभापतिविहीन अर्को समिति हो, सामाजिक विकास समिति ।

    यस समितिका सभापति थिए दृगनारायण पाण्डे । पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने क्रममा उनले सांसद पदबाटै राजीनामा दिएका थिए । उनले राजीनामा दिएसगै सभापति पद खाली भएको हो त्यो समिति अहिलेसम्म नेतृत्वबिहीन छ ।

    लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो । तर सांसदहरूले राजीनामा दिनेदेखि दलहरूको कारवाहीमा पर्दा हाल सांसद संख्या ८१ मा झरेको छ । तर ८१ सांसदमध्ये ११ जना सांसदहरू कुन समितिमा रहने भन्ने अझै टुंगो लाग्न सकेको छैन । यसरी समितिविहीन भएका सांसदहरूमा कतिपय विगतमा मन्त्री भएका छन् भने केही चाहिं नयाँ सांसद हुन् ।

    एमालेका शंकर पोखरेल, बैजनाथ चौधरी, लिला गिरी, चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ, हरिप्रसाद रिजाल र आरती पौडेलको समिति टुंगो लागेको छैन । एमालेले समितिमा बस्ने सांसदहरूको विवरण भने उपलब्ध गराइसकेको छ ।

    विगतमा प्रमुख प्रतिपक्षी दलका नेता कुनै पनि समितिमा नबसेका कारण हाल विपक्षी दलका नेता शंकर पौखरेललाई समितिमा राख्ने वा नराख्ने विषय टुंगो लागेको छैन । यस विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर टुंगो लगाइने भएको छ । तर हाल संसद अधिवेशन नरहेका कारण कार्यव्यवस्थाको बैठक पनि बस्न सकेको छैन ।

    त्यस्तै, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया र माओवादीबाट विगतमा मन्त्री बनेका सुर्दशन बराल पनि कुन समितिमा रहने भन्ने टुंगो लागेको छैन । अर्का स्वतन्त्र समुहका सांसद धर्मबहादुर लाल श्रीवास्तव पनि समितिमा छैनन् । उनी पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएका थिए ।

    जसपा सांसद निर्मला मुडभरी भट्टराईको पनि कुन समिति भन्ने टुंगो लागेको छैन । जसपाका सांसद कारवाहीमा परेपछि रिक्त सांसद पदमा उनी चयन भएकी थिइन् । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सांसदहरूलाई कुन समितिमा राख्ने भन्दै सिफारिस गर्न दलहरूलाई संसदबाट पत्राचार गरिएको तर दलहरूले जानकारी नदिएको बताए ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुद्दिन खान र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती वसन्तले प्रमुख प्रतिपक्ष दल एमालेको हटका कारण यो अवस्था आएको बताए ।

    प्रतिपक्षको माग सुनुवाइ भएन

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीको व्यवहारलाई लिएर निरन्तर प्रश्न उठाएको छ । एउटै विषयमा सभामुख घर्तीले गठबन्धनमा रहेका दल र एमालेलाई हेर्ने दृष्टिकोण फरक बनाएका कारण यो अवस्था आएको एमालेको आरोप छ ।

    एमालेको सूर्य चिन्ह लिएर प्रदेश सभामा आएका सांसद अजय शाही र विमला खत्री वलीलाई पार्टीमा नरहेपछि कारबाही गरेको सूची टाँस गर्नुपर्नेमा सभामुखले नगरेको एमालेको तर्क छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखको यहीँ व्यवहारका कारण सिंगो संसदलाई यो अवस्थामा पुराएको बताउँछन् । यो विषयलाई लिएर एमालेले साउनयता निरन्तर संसद अवरुद्ध गरेको छ । एमालेको आन्दोलनको असर संसद बैठकमा मात्रै परेको छैन, त्यसको असर समितिको बैठकमा समेत पर्ने गरेको छ ।

    एमालेले आफ्ना सांसदहरूलाई समितिका बैठकहरुमा नजान निर्देशन दिएको छ भने आफ्ना पार्टीका तर्फबाट समितिमा सभापति रहेकालाई बैठक नराख्न निर्देशन गरेको छ । तर विमलाले आफू माओवादी केन्द्रको र अजयले आफू स्वतन्त्र समुहको सांसद भएको बताउँदै आएका छन् । अहिलेको गठबन्धन सरकारमा विमला राज्यमन्त्री र अजय मन्त्री छन् ।

    समितिका काम प्रभावकारी हुन नसकेको तथ्यलाई समितिका पदाधिकारीहरू पनि स्वीकार गर्छन् । एमालेको आन्दोलनका कारण पछिल्ला दिनमा समिति प्रभावकारी नभएको बताउने उनीहरू विगतमा निर्देशन कार्यान्वयन पनि सन्तोषजनक नरहेको बताउछन् ।

    भौतिक पूर्वाधार तथा विकास समितिका सभापति आशा स्वर्णकार समितिका बैठकहरू सुचारु नगर्ने भन्ने पार्टीको ह्वीपका कारण बैठकहरू हुन नसकेको बताउँछिन् । गठबन्धन सरकार गठन भएपछि समितिको बैठक एउटा पनि नबसेको स्वर्णकारले बताइन् । प्रदेश मामिला तथा कानुन समितिका सभापति दामाकुमारी शर्माले पनि एमालेको आन्दोलनको असर समितिहरुमा देखापरेको बताइन् ।

    समितिहरू एक अर्काले गरेका निर्णयहरूका बारेमा छलफल नहुँदा पनि कार्यान्वयनमा समस्या देखिएको समिति सदस्यहरूको भनाइ छ । लेखा समितिका सदस्य कुलप्रसाद पोखरेल निर्णय कार्यान्वयन नहुनुमा सभापतिको भूमिकामाथि प्रश्न उठाउँछन ।

    संसदीय समितिहरू निष्कृय हुँदा बेथिति झन् बढ्ने टिप्पणी अधिवक्ता तथा लेखक युवराज कंडेल बताउँछन् ।

    ‘संसद नचलेको समयमा पनि समितिहरू सक्रिय हुनुपर्दछ, जनताका आवाज सांसदहरूमार्फत सरकारसमक्ष पुग्ने हो । समितिहरू सक्रिय हुँदा सांसदहरू सक्रिय हुन्छन्, जनताका आवाज समितिमा लैजान्छन्, त्यहाँबाट सरकारसमक्ष जनताका आवाज पुग्छन तर अहिले समिति निष्कृय हुँदा जनताबाट सरकार नै टाढिएको छ ।’ कार्कीले भने ।

    समितिले कामै नगरेको सभामुखको गुनासो

    लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संसदीय समितिले कामै नगरेको बताएका छन् । प्रदेशसभामा भएका संसदीय समितिले सदन नचलेको अवस्थामा पनि अगुमन गर्नुपर्नेमा विभिन्न बाहना बनाउँदै काम नगरेको उनको भनाइ छ ।

    उनले सदनमा ल्याउने विधेयकमा सत्तापक्षको स्वार्थसमेत रहनेभएकाले मसिनो गरी विधेयकलाई अध्ययन गर्नुपर्ने भएपनि त्यसो नगरिएको बताए । संसदीय मामिला पत्रकार समाजका पत्रकार हरिबहादुर थापाले विषयगत समितिलाई मिनी संसद मानिएकाले दलहरुले यी समितिहरुको महत्वलाई बुझ्नुपर्ने बताउँछन् ।

  • कर्णालीका संसदीय समितिमा कोरम पुग्नै छाड्यो

    कर्णालीका संसदीय समितिमा कोरम पुग्नै छाड्यो

    सुर्खेत । कर्णाली प्रदेशका संसदीय समितिमा कोरम पुग्न छोडेको छ । प्रदेशको सामाजिक विकास समितिमा रहेका विधेयकबारे छलफल गर्न बोलाइएको बैठकमा एमालेका सांसदहरु अनुपस्थित भइदिँदा बैठकै बस्न सकेन ।

    केही दिनअघि बोलाइएको वैठकमा अध्यक्ष देवी ओली, माओवादी केन्द्रका नेता नरेश भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीको मात्रै उपस्थिति रहेको थियो । समितिको बैठक बस्न कम्तिमा पाँचजना सांसदको उपस्थिति अनिवार्य हुन्छ ।

    ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक, २०७७ उपर छलफल गर्ने प्रयोजनका लागि आयोजित बैठकमा समितिका सदस्यको अनुपस्थितिका कारण गणपुरक संख्या नपुगेर कर्णाली प्रदेशसभाअन्तर्गत सामाजिक विकास समितिको बैठक तेश्रो पटक स्थगित भएको छ’, समितिका सदस्य भण्डारी भन्छन्, ‘अन्य महत्वपूर्ण विधेयकहरु पनि समितिमा थन्किएका छन् ।’

  • अध्यक्षहरू मन्त्री बन्ने दौडमा, कर्णालीका समितिहरूको बैठकसमेत बस्न छाड्यो

    अध्यक्षहरू मन्त्री बन्ने दौडमा, कर्णालीका समितिहरूको बैठकसमेत बस्न छाड्यो

    सुर्खेत । कर्णाली प्रदेशसभाका चारवटामध्ये तीन समितिका अध्यक्षहरू यतिबेला मन्त्री पद हत्याउने ध्याउन्नमा छन् । अध्यक्षहरू सत्ताको दौडमा व्यस्त हुँदा ती समितिका काम-कारवाही भने निस्प्रभावी बन्न थालेको छ ।

    सरकारलाई विभिन्न निर्देशन दिएर लगाम लगाउने जिम्मेवारी संसदीय समितिहरूको हो । सदन नचलेको बेला जनचासोका कुराहरूमा सरकारसँग जवाफ माग्नेदेखि समस्या समाधानको पहल गर्नेसम्मका काम समितिहरूले गर्नुपर्ने हुन्छ । यस्ता समितिलाई ‘मिनिसंसद’ पनि भन्ने गरिन्छ ।

    तर, पछिल्लो समयमा कर्णाली प्रदेश सभामा रहेका चारवटै समितिको बैठक गत भदौदेखि बसेको छैन । सदन बन्द भएको लामो समय भइसकेपछि पनि सरकारलाई कुनै पनि निर्देशन दिन मिनि संसदमा सफल भएको छैन ।

    हालसम्म नरेश भण्डारीबाहेक कसैले पनि गैरसरकारी विधेयक सदनमा दर्ता नगराउनुले कर्णालीका सांसदहरूको प्राथमिकता स्पष्ट हुन्छ । ६ महिनाअघिमात्र सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठ मन्त्री भए । उनको स्थानमा ज्येष्ठताका आधारमा समाजवादी पार्टीका पदम रोकाया अध्यक्ष भएका छन् ।

    प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन, सार्वजनिक लेखा तथा प्रदेश लेखा परीक्षक कार्यालयको प्रतिवेदन र बेरुजु फर्च्छ्यौटसम्बन्धी हेर्ने जिम्मा यो समितिको हो । सरकारका आर्थिक गतिविधिमा लगाम लगाउनु पर्ने उक्त समितिले कोरोनासम्बन्धी एक-दुई निर्देशन दिनेबाहेक केही काम गरेको छैन । विभिन्न स्थानमा भ्रष्टाचार भएका खबर सार्वजनिक भइरहँदा समेत समितिले कतैपनि अनुगमन गर्न सकेन । भदौपछि यो समितिको एउटा पनि बैठक बसेको छैन ।

    यो समितिले चाहेको भए अध्यादेशबाट सरकारले ल्याएको बजेटबारे मन्त्रीलाई बोलाउन सक्थ्यो । तर, त्यतातिर अध्यक्ष रोकायाको ध्यान नै गएन । उनी अहिले मन्त्री बन्नकै लागि समाजवादीमा हाम्फालेका छन् । उनी मन्त्री बन्ने चर्चा चुलिएको छ ।

    अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष नेकपा माओवादीका गणेशप्रसाद सिंह छन् । उनी अध्यक्ष बनेको १५ महिना भयो । उनले समितिको अध्यक्षको रुपमा पाउने गाडीलाई जाजरकोटमा जलाइयो । सरकारी सम्पति स्वाहा भयो । यो समितिको पनि बैठक बस्न सकेको छैन ।

    आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसम्बन्धी हेर्ने जिम्मा पाएको यो समितिले वैशाख १ गतेयता एकमात्र बैठक राखेको छ । अध्यक्ष सिंह अहिले मन्त्री बन्ने दौडमा छन् । जनार्दन शर्मा निकट रहेका सिंहले समितिलाई सक्रिय बनाउन सकेका छैनन् ।

    सामाजिक विकास समितिको अध्यक्षमा हाल देवी ओली छिन् । उनी समाजवादी पार्टी निकट हुन् । फ्लोर क्रस गरेर गएको वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेता पनि केही समयमै मत सच्याएकी ओली अरु अध्यक्षभन्दा सक्रिय थिइन् । तर, उनी समाजवादीमा लागिसकेपछि उनले एक पनि बैठक बसाल्न सकेकी छैनन् ।

    सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र श्रम, सामाजिक न्याय र मानव अधिकार हेर्ने जिम्मा यो समितिको हो । उनी पनि हालका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा सरकारमा जाने लविङमा छिन् । समितिमा अनुगमन गर्ने, सरकारलाई समितिमा बोलाउने, कोभिडको समयमा जोखिम मोलेरै भएपनि अस्पताल निरीक्षण गर्नेजस्ता काम उनी अध्यक्ष भएको समयमा भएका थिए ।

    २०७७ सालको साउनमा प्रदेश मामिला तथा विधायन समितिको अध्यक्षमा नेकपा एमालेका दानसिंह परियार चुनिए । तर उनको अध्यक्षतामा हालसम्म मुस्किलले पाँचवटा मात्रै बैठक बसेका छन् । ती बैठक पनि प्रभावकारी भएनन् । न त सरकारलाई कुनै ठोस निर्देशन दिन सक्यो, न त उक्त समितिले प्रभावकारी काम नै गर्न सक्यो । झण्डै १५ महिनाको उनको कार्यकाल लगभग खेर गएको छ ।

    प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश लोकसेवा आयोग र सरकारका कामकाजको अनुगमनको जिम्मा पाएको यो समिति निस्क्रिय जस्तै छ । यद्यपि दानसिंह भने बारम्बार बैठक बोलाउँदा सांसदहरू नआएको भन्दै पन्छिन खोज्छन् ।

    उनी प्रमुख प्रतिपक्षी दल एमालेमा भएका कारण मन्त्री पदको दौडमा छैनन् । तर, गत वैशाखमा दलित समूदायबाट मन्त्री बन्न पाउनुपर्ने भन्दै उनी लविङमा थिए तर एमालेको सरकार भने बनेन ।

  • सत्तागठबन्धन–विपक्षी बेमेलको असरः लुम्बिनीका संसदीय समितिहरु महिनौंदेखि नेतृत्वविहीन

    सत्तागठबन्धन–विपक्षी बेमेलको असरः लुम्बिनीका संसदीय समितिहरु महिनौंदेखि नेतृत्वविहीन

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा सत्तारुढ चार दलीय गठबन्धन तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच समन्वय नहुँदा लामो समयदेखि चार वटा महत्वपूर्ण विषयगत समितिहरु नेतृत्वविहीन छन् ।

    संसदीय व्यवस्थामा निकै महत्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति महिनौंदेखि नेतृत्वविहीन बने पनि सत्तागठबन्धन तथा प्रमुख प्रतिपक्ष दलको चासोमा पर्न सकेको छैन ।

    यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले सम्हाल्दै आएको सार्वजनिक लेखा समितिको सभापति कांग्रेसको नेतृत्व गर्दै उनी सरकारमा गएपछि खाली छ । उनी मन्त्री बनेको पनि एक महिना पूरा भइसकेको छ ।

    अन्य तीन समिति नेतृत्वविहीन भएको धेरै महिना बितिसकेको छ । मिनी संसदको रुपमा चिनिएका समितिहरु नेतृत्वविहीन हुँदा सरकारले गरेका कामको अनुगमन, मूल्याङ्कन गरेर सरकारलाई उत्तरदायी बनाउने काम प्रभावित हुने निश्चित छ ।

    यसअघि नेकपा एमाले नेतृत्वको सरकारकै पालामा प्रदेशसभाका तीन समिति सभापतिविहीन भइसके पनि त्यो समयमा न त सरकारको ध्यान त्यता जान सक्यो न त विपक्षी दलहरुको । विपक्षी दलहरु जसरी पनि एमाले नेतृत्वको सरकार ढालेर आफ्नै सरकार बनाउन केन्द्रित थिए भने सत्तारुढ दल पनि आफ्नो सरकार बचाउनेमा मात्रै केन्द्रित भएको थियो ।

    सार्वजनिक लेखा समिति एक महिना नेतृत्वविहीन भए पनि अन्य तीन समिति भने वैशाखदेखि नै नेतृत्वविहीन छन् ।

    सभापति नै नभएपछि समितिका गतिविधि शून्यजस्तै रहेको प्रदेशसभा सदस्यहरुको भनाइ छ ।

    प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र कृषि, वन तथा वातावरण समितिमा सभापति पद खाली छ ।

    माओवादी छाडेर एमालेतिर लागेपछि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेलाई सो पार्टीले कारवाही गरेपछि प्रदेशसभा सदस्यका साथै संसदीय समितिको सभापति पद स्वतः रिक्त भएको थियो । यसैगरी जसपाबाट कृषि, वन तथा वातावरण समितिका सभापति बनेका विजयबहादुर यादव सो पार्टीको कारवाहीपछि उक्त पद खाली छ ।

    वैशाख महिनामा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत नदिने विपक्षी गठबन्धनसँग वाचा गरेका तत्कालीन सांसद दीर्घनारायण पाण्डेले पोखरेलले मुख्यमन्त्रीमा पुनःनियुक्ति लिएपछि एमाले र सांसद पदबाट राजीनामा दिएका थिए । सामाजिक विकास समितिका तत्कालीन सभापति पाण्डेले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएपछि उनले सम्हाल्दै आएको संसदीय समिति पनि नेतृत्वविहीन भएकोे हो ।

    प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सरकार र संसदभित्र रहेका दलहरुले नै रिक्त रहेका समितिका सभापति चयनका लागि समयमै ध्यान दिनुपर्ने बताएका छन् । सार्वजनिक लेखा समिति एक महिना नेतृत्वविहीन भएपनि अन्य तीन समिति भने वैशाख महिनादेखि नै नेतृत्वविहीन बनेका छन् ।

    सत्तारुढ र विपक्षी दलका प्रमुख सचेतकका आ–आफ्नै दावी

    विषयगत समिति गठन दलीय भागवण्डाका आधारमा गरिएको थियो । खासगरी सरकारको नेतृत्व गरेको दल यसको लागि बढी जिम्मेवारी हुनुपर्ने र समयमै ढुंगो लगाउनुपर्नेमा त्यो समन्वय हुन नसकेको लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमीश्वर ढकाल बताउँछन् ।

    ‘सत्ता पक्षबाटै यसको ठोस पहल हुन सकेको छैन, सरकारले गलत तरिकारले हाम्रा दुई सांसदका विषयलाई लिएर सरकारको विरोध गरिरहेका छौं’, उनले भने, ‘प्रदेशसभा र सरकारले विपक्षीलाई किन अटेर गरेको हो भन्ने हामीले बुझ्न सकेका छैनौं, संसदीय समितिको जिम्मेवारी व्यवस्थापनमा पनि सरकारले समन्वय गर्न सकेको छैन ।’

    नेपाली कांग्रेसका प्रमुख सचेतकले मौखिकरुपमा यसबारे सामान्य चर्चा गरे पनि औपचारिक र ठोस प्रस्ताव नआएको बताए । उनले पहिले सदनको गतिरोध अन्त्य नभएकाले यसमा ढिलाइ भएको बताए ।

    सत्तारुढ माओवादी केन्द्रका सांसद सुदर्शन बरालले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिने प्रचलन रहेकाले लुम्बिनीमा सत्तापक्ष र प्रतिपक्षबीच दूरी बढेका विषयगत समितिका सभापति चयनमा ढिला भएको बताए ।

    सरकारले समितिका सभापति चयनको विषयलाई अघि बढाउन चाहे पनि प्रतिपक्षको सहमति आवश्यक हुने भएकाले एमालेकै कारण सभापति चयनमा ढिला भइरहेको बरालले आरोप लगाए ।

    सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले छिटै दलहरुबीच सहमति गरेर सभापति चयन गर्नुपर्ने र आफूले त्यसको समन्वय गर्ने बताए ।

  • निर्मला पन्तको हत्यारा र महाकालीमा तुइन काट्नेलाई कारवाही गर्न संसदीय समितिको निर्देशन (भिडियो)

    निर्मला पन्तको हत्यारा र महाकालीमा तुइन काट्नेलाई कारवाही गर्न संसदीय समितिको निर्देशन (भिडियो)

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    समितिले दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताइन् ।

    समितिले दार्चुलाको व्यास नगरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । अहिले देशमा बालिका र महिलाहरु हिंसा, हत्या र बलात्कारको शिकार भइरहेकोले यस्ता घटनालाई नियन्त्रण र गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

    समितिले चाडबाड नजिकँदै गरेकोले चाडबाडमा हुने उपभोग्य सामग्रीमा अश्वभाविक मूल्यवृद्धि, जनस्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सामग्री र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताइन् ।

    सभापति श्रेष्ठले भनिन्, ‘दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको मिति २०७८ साउन १५ गते तुइन तर्ने क्रममा भएको घटना प्रकरणको सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ, सो घटना प्रकरणका सम्बन्धमा सत्यतथ्य सहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, कुटनीतिक पहलद्वारा दोषिालाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउने, पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्नेपर्छ ।’

    उनले व्यास क्षेत्रका बासिन्दाहरुको सुरक्षा तथा आवतजावतको लागि आवश्यक पर्ने पुल, मोटरबाटो, लगायतका स्थानीय पूर्वाधारहरु यथाशीघ्र निर्माण गर्ने, दार्चुलादेखि टिंकरसम्मको सडक निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने, तुइनलाई तत्काल बिस्थापित गरी झोलुंगे एवं पक्की पुलको व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिएकी छन् ।

    ती क्षेत्रका बासिन्दाका लागि हााललाई खाद्यान्न र औषधिकाृ आवश्यक व्यवस्था गरी जनजीवनक सहज बनाउनुपर्ने समितिको भनाइ छ । उनले कञ्चनपुर जिल्लाकी निर्मला पन्तको मिति २०७५ साउन १० गते बलात्कार गरी हत्या भएको ३ वर्ष बितिसक्दा पनि हालसम्म सत्तथ्य बाहिर आउन नसक्नु दुखद् भएको बताइन् ।

    उनले भनिन्,‘तत्काल सत्यतथ्यका आधारमा उक्त घटनामा संलग्न अपराधीलाई यथाशीघ्र सार्वजनिक गरी हदैसम्मको कानूनि कारबाही गर्ने, बालिका र महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाहरु नियन्त्रण र अपराधीलाई समयमा नै कारबाही गर्न नसक्दा आपराधीक घटनाहरु बढ्दै गइरहेको सन्दर्भमा घटनाहरु तत्काल नियन्त्रण गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न आवश्यक व्यवस्था गर्नुपर्छ ।’

     

  • संसदीय समितिमा माधव नेपालको उत्तेजना : प्रतिगमनको मतियार, राजीनामा दिएर निस्किनुस् ! (भिडियो)

    संसदीय समितिमा माधव नेपालको उत्तेजना : प्रतिगमनको मतियार, राजीनामा दिएर निस्किनुस् ! (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा दोस्रो पल्ट पुन:स्थापना भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकको कार्यसूची विगतका निर्णयको समीक्षा गर्ने थियो ।

    संसदीय समितिहरू विषयगत हुने भएकाले मुलतः यस्ता समितिमा विषयवस्तु केन्द्रित धारणा राखिन्छ ।

    समितिका सदस्यहरू राजनीतिक पार्टीमार्फत जनप्रतिधि बनेर आएकाले राजनीतिबाट टाढा नहुने भए पनि उनीहरूले पनि आफूलाई विषय केन्द्रित गर्छन् ।

    आजको बैठक पनि कार्यसूचीअनुसारकै विषय वस्तुमा छलफल भएर अघि बढ्दै थियो । यहीक्रममा बोल्ने समय पाए समिति सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ।

    उनले आफ्नो भनाइ राख्नेक्रममा शुरूमै संसद पुन:स्थापित भएकोमा आफूहरूको हृदय गदगद भएको भन्दै त्यसमा भूमिका खेल्ने सबैलाई धन्यावाद थिए । यसबाट संसद संविधान, लोकतन्त्रको रक्षा भएको र मुलुकको राजनीतिक स्थात्विको निम्तिमा एक पाइल अघि बढिएको टिप्पणी उनले गरे । नेता नेपालको यही भनाइबाटै विषयगत समितिमा राजनीतिक विषयको प्रवेश भयो ।

    एमालेको संस्थापन पक्षका सांसद नारदमुनी रानाले नेपाल लक्षित गर्दै राजनीतिक टिप्पणी नै गरे । अहिलेको सरकार र संसद जनताले नभइ सर्वोच्चले बनाइदिएको भन्दै नेता नेपालप्रति खिसिट्युरी गर्ने भावमा उनी प्रस्तुत भए ।

    त्यसपछि नेपाल पक्षकै सांसद दीपकप्रकाश भट्टले उनलाई ‘प्रतिगमनको मतियार’ भन्दै समितिमा बस्ने अधिकार नभएको बताए।

    त्यसपछि माधव नेपाल आक्रोशित हुँदै रानाप्रति कड्किए- प्रतिगमनको मतियार बन्ने, राजीनामा दिनुस्, निस्किनुस् ।

    नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी पनि विवादमा मिसिए । जनताको प्रतिनिधिहरूले बनाएको सरकारलाई अदालतले बनाएको भन्ने भन्दै उनले पनि रानाविरुद्ध आक्रोश ओकले ।

    सभापति पवित्रा निरौला खरेलले भने समिति राजनीतिक विवाद गर्ने थलो नभएको भन्दै विषयबस्तुमा केन्द्रित हुन भन्दै विवाद मत्थर पार्ने कोसिस गरिन् ।

    यस्तो थियो विवादको सप्रसंगः

    माधव नेपाल : संसद पुन:स्थापित भएकोमा हाम्रो हृदय गदगद भएको छ । त्यसमा ऐतिहासिक भूमिका निर्वाह गर्नु भएकोमा, साहसपूर्ण भूमिका खेल्नु भएकोमा म मान्य सदस्यहरूलाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु । यो कदमले प्रतिनिधिसभालाई जोगाएको छ, व्यवस्थापिकाको रक्षा गरेको छ । न्यायपालिका जोगाएको छ । कार्यपालिका जोगाएको छ । न्यायपालिकाको मर्यादा र सम्मानमा अभिवृद्धि गरेको छ ।

    संविधानको रक्षा गरेको छ, लोकतन्त्रको रक्षा गरेको छ । र, मुलुकको राजनीतिक स्थायत्व निम्ति यसले एउटा राम्रो पाइला चालेको छ ।

    नादरमुनि राना : (माधव नेपालतिर संकेत गर्दै) केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए । प्रतिनिधिसभा विघटनपछि पुनःस्थापना भएको छ । यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो । अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो । सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन । दुवैलाई जनताले ल्याएका होइनन् ।

    दीपकप्रकाश भट्ट : ‘प्रतिगमनका मतियार’ तपाईंलाई यो समितिमा बस्ने अधिकार छैन्, बाहिर जानुहोस् । प्रतिगमनका मतियारहरुले, संविधानकाविरुद्ध जानेहरुले यहाँ बोल्ने अधिकार छैन ।

    राना : मलाई किन खबर गरेको ? मलाई खबर किन गरेको बैठकमा आउनुस् भनेर ?

    नेपाल : प्रतिगमनको मतियार बन्ने, राजीनमा दिनुस्, निस्किनुस् ।

    पवित्रा निरौला खरेल : (सबैलाई रोक्ने प्रयास गर्दै) मान्यज्यूहरूलाई मैले अनुरोध गरेँ, तपाईं विषयवस्तुमा बोल्नुहोस् ।

    दिव्यमणि राजभण्डारी : संविधानविरुद्ध बोल्ने ? (टेबुल ठटाउँदै ) यो सरकार अदालतले बनाएको होइन । जनताको प्रतिनिधिहरूले बनाएको सरकारलाई अदालतले बनाएको भन्ने ?

    खरेलः मान्यज्यु शान्त हुनुहोस् ।

    भट्ट : पार्टीभित्रको अन्तरविरोध संसदीय समितिमा किन ल्याउँदै हुनुहुन्छ ?

    खरेल : मान्यज्यूहरू राजनीति आफ्नो पार्टीमा गर्नुहोस् । यो समितिको बैठक हो । समितिको बैठकले निर्णय गरेका विषयको समीक्षाको बैठक हो । यहाँ पार्टीको छलफल होइन । पार्टीको छलफल अन्तै गर्नुहोस् ।

    समितिमा राजनीतिक विषय माधव नेपालले नै प्रवेश गराएका थिए । नारदमुनिले सायद पार्टीको हिसाबले प्रतिवाद गर्नुपर्छ भनेर जवाफ दिन खोज्दा उनीविरुद्ध कांग्रेस र माओवादीका सांसद पनि खनिए ।

    संयोग नै मान्नुपर्छ, समिति सभापति पवित्रा निरौला पनि एमालेमा माधव नेपाल पक्षधर भएकाले उनीमाथि निष्पक्ष व्यवहार नभएको महशुस गरे र आफूलाई किन बोलाइयो बैठकमा भनेर प्रश्न गरे ।

    समितिमा ओली पक्षका अर्का सांसद मोहन वानियामात्र थिए ।उनी केही नबोली बसे । माधव नेपालको व्यवहार भने आफ्नै कार्यकर्ता रानाप्रति स्वभाविक देखिएन । मानौं, केपी ओलीसँगै आमुन्ने सामुन्ने भएको शैलीमा नेपाल प्रस्तुत भएको टिप्पणी सांसदहरुले गरेका छन् ।

  • सबै जिल्लामा प्रयोगशाला स्थापना गर्नदेखि सीमामा कडाई गर्न संसदीय समितिको निर्देशन (भिडियाे)

    सबै जिल्लामा प्रयोगशाला स्थापना गर्नदेखि सीमामा कडाई गर्न संसदीय समितिको निर्देशन (भिडियाे)

    काठमाडौं । ७७ वटै जिल्लामा पीसीआर मेशिनसहितको प्रयोगशाला स्थापना गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

    ‘प्रत्येक जिल्लामा पायक पर्ने स्थानमा कम्तिमा एउटा सुविधा सम्पन्न पिसिआर मेशिनसहितको प्रयोगशाला स्थापना गरी सीमा नाकामा अनिवार्य स्वास्थ्य र सुरक्षा टोली निर्माण गरी सीमा नाकालाई व्यवस्थित गर्न समिति निर्देशन दिन्छ ।

    समिति सभापति शशी श्रेष्ठले भनिन् । समितिले कोभिड–१९ को संक्रमण भए नभएको सीमा नाकामा नै व्यापक रुपमा परीक्षण गरी रिपोर्ट नआएसम्म विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार होल्डिड सेन्टरमा होल्ड गरी राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    समिति सभापति श्रेष्ठले भनिन्, ‘नेगेटिभ रिपोर्ट आउनेलाई व्यवस्थित रुपमा अभिलेख राखी क्वारेन्टाइनमा राख्न र पोजेटिभ रिपोर्ट आउनेलाई आइशोलेसनमा राख्ने व्यवस्था तत्काल गर्नुका साथै क्वारेन्टाइन र आइसोलेसन केन्द्र महिलामैत्री बनाउन पनि सरकारलाई समिति निर्देशन दिन्छ ।’

    छिमेकी मुलुक भारतमा पछिल्लो समय कोभिड–१९ को संक्रमण तिव्र रुपमा बढिरहेको भन्दै त्यहाँ विभिन्न कामको सिलसिलामा रहेका नेपाली घर फर्कने क्रम दिनानुदिन बढ्दै गएको हुनाले यस्तो निर्देशन दिइएको समिति सभापति श्रेष्ठले बताइन् ।

    सभापति श्रेष्ठका अनुसार हवाईमार्गबाट स्वदेश फर्कने नागरिकको लागि विमानस्थल नजिक क्वारेन्टाइन वा होल्डिड सेन्टर निर्माण गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार राख्ने र उनीहरुमा कोभिड–१९ को संक्रमण भए नभएको एकिन गर्न पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

    कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा विगतमा समितिले पटक–पटक दिएका निर्देशनको कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षा गरी कार्यन्वयन नभएका निर्देशन एवं सुझावलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न समितिले पुनः निर्देशन दिएको छ ।

    सरकारको पहलमा सबै राजनीतिक दल, जनस्वास्थ्य विज्ञ र सम्बन्धित सरोकारवालाको सहभागितामा ‘सर्वपक्षीय उच्चस्तरीय समिति’ निर्माण गरी महामारी विरुद्धको महाअभियानमा क्रियाशील बनाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

    सभापति श्रेष्ठका अनुसार यस समितिले कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न विषम परिस्थितिको सामना गर्न केन्द्रीकृत एवं रणनीतिक कार्य योजनाको निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन कार्यमा सहयोग र सहकार्य गर्नुपर्नेछ ।

    हरेक निर्वाचन क्षेत्रमा कोभिड–१९ को रोकथाम एवं नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने कार्यका लागि संघीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागीतामा अनुगमन समिति निर्माण गर्न पनि निर्देशनमा भनिएको छ ।

    सक्रमितको सम्पर्कमा रहेका व्यक्तिको शिघ्र पहिचान गर्न कन्ट्याक ट्रेसिङ तथा पीसीआर परीक्षणको कार्यलाई सरल, छिटो र व्यापक बनाउनका लागि घुम्ती शिविर सञ्चालन गर्न समितिले निर्देशन दिएको छ ।

    कोभिड–१९ को प्रभाव र जोखिम विश्लेषण गरी सुरक्षित स्थानको पहिचान पश्चात् सुरक्षित निश्चित क्षेत्र निर्धारण गरी स्थानीय रुपमा विश्वव्यापी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसारको निश्चित दुरी कायम राख्दै आवतजावतमा कडाई गर्ने गराउने पनि निर्देशनमा भनिएको छ ।

    संक्रमित व्यक्तिको उपचारलाई प्रभावकारी बनाउन हाल संचालनमा रहेका आइशोलेसन कक्ष, आइसीयु क्षमता विस्तार तथा अक्सिजनको नियमित आपूर्तीमा वृद्धि गरी उपचारै नपाई अकालमा मृत्यु हुने अवस्थाको अन्त्य गर्नुपर्ने समितिको निर्देशन छ ।

    कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई सहज र शीघ्र रुपमा लगाउने व्यवस्था मिलाउन पनि भनिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा संलग्न विभिन्न निकायबीच प्रभावकारी रुपमा समन्वय कायम गर्न समितिले भनेको छ ।

    होम आइसोलेसनमा बस्न सम्भव नहुने सङ्क्रमितलाई सम्बन्धित अस्पतालको समन्वयमा सरकारले संस्थागत आइसोलेसनको व्यवस्था गर्न, कोभिड–१९ को सङ्क्रमण भएका र नभएका विरामीको अलग अलग उपचारको व्यवस्था मिलाउन पनि भनेको छ ।

    संङ्क्रमित भएका विरामीहलाई घर पठाउदा पुनः पीसीआर परीक्षण गरी पठाउने र निजी अस्पताललाई कोभिड–१९ का विरामीका लागि अनिवार्य रुपमा आइसोलेसन वा आइसीयु वार्ड छुट्याई कार्यान्वयनमा ल्याउन भनेको छ ।

    सङ्क्रमितको उपचारको सम्पूर्ण व्यवस्था मिलाई जनउत्तरदायी सरकारको दायित्व निर्वाह गर्न, सबै नागरिकको बाँच्न पाउने आधारभूत मानव अधिकारलाई संरक्षण गर्दै पर्याप्त संख्यामा अक्सिजन प्लान्ट राखी कोभिड–१९ संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटलाई उच्च प्राथमिकता दिई रकमान्तर वा विनियोजनको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

    कोभिड–१९ को कारण देखाई दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामाग्रीको बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुको रिलेवलिङ गर्ने जस्ता कानुन विपरीतको कार्य हुन नदिन बजार अनुगमनलाई तिव्रता दिई त्यस्ता कानुन विपरीतका काम गर्ने जो कोहीलाई कडा कारवाही गरी सार्वजनिक गर्न पनि समितिले निर्देशन दिएको छ ।

    समितिको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री एवम्पदाधिकारीको अनुपस्थिति भएको भन्दै आगामी दिनमा विषयवस्तुको गाम्भीर्यताको आधारमा समितिको बैठकलाई उच्च प्राथमिकता दिनुपर्ने सम्बन्धमा सम्बन्धित मन्त्री एवम्पदाधिकारीको गम्भीर ध्यानाकर्षण गर्ने निर्देशन पनि दिएको छ ।

  • संसदीय समितिमा सांसद र सभापतिको रोचक सवाल–जवाफ

    संसदीय समितिमा सांसद र सभापतिको रोचक सवाल–जवाफ

    काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । समितिले गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र गृह सचिव महेश्वर न्यौपाने तथा स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बैठकमा बोलाएको थियो ।

    कोरोनाको दोस्रो लहरले निम्त्याएको जटिलता र नागरिकको स्वास्थ्य सुरक्षा सम्बन्धी छलफलको एजेण्डा तय भएकाले समिति बैठकमा सबै सदस्य आउने अनुमान गरिएको थियो । तर बैठकको निर्धारित समय घर्किसक्दासम्म मन्त्री आएनन् ।

    गृह मन्त्रालयका तर्फबाट गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज दाहाललाई पठाए भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव लक्ष्मण अर्यालले मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठलाई पठाए । दुवै जना मन्त्रालयका सहसचिवले आफूलाई सचिवले पठाएको जानकारी गराएपछि बैठक अघि बढ्यो । बैठकको सुरुमा दुवै जना सहसचिवले पालैपालो आफ्ना कुरा राखे ।

    उनिहरुले कुरा राखिसकेपछि समिति सभापति शशी श्रेष्ठले एउटा सूचना छ भनेर जानकारी गराईन । उनको सूचना थियो, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई बैठकमा बोलाएका थियौ । उहाँसँग फोनमा सम्पर्क पनि भयो, तर मन्त्री ज्यूले सरकारले नै भिडभाडमा नजान भनेकाले आफूबाट नै भिडभाडमा नजाने नियमको पालना गर्ने भन्दै बैठकमा नआउने बताए । यदि जुममार्फत बैठक हुन्छ भने आफू सहभागी हुने भन्नुभएको छ ।’

    सभापति श्रेष्ठले सूचना भन्न नपाउँदै समिति सदस्य नवराज सिलवाले प्रश्न गर्दै भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यूको मूल्य बढी भो कि क्या हो ।’

    समिति सभापति श्रेष्ठले जवाफ दिदै भनिन्, ‘मूल्य त मलाई थाहा भएन ।’

    सूचना बाँकी नै रहेकाले सभापति श्रेष्ठले थप्दै भनिन्, ‘गृहमन्त्री रामबहादुर थापाले फोन उठाउनुभएन, म्यासेज पनि गरेको थिएँ, रिप्लाई दिनुभएन । त्यसैले उहाँहरुलाई अनन्तकालसम्म कुर्न सक्ने कुरा भएन, त्यसैले बैठक बोलाइएको हो । बोलाइनु नै पर्छ ।’

    सूचना सुनाएलगत्तै सांसदको बोल्ने पालो आयो । समिति सभापतिले पालैपालो सबैलाई बोल्न लगाइन् ।

    तेस्रो नम्बरमा बोलेकी समिति सदस्य मिना पाण्डेले सुरुमा नै मन्त्री र सचिवको सहभागिता नभएको बारेमा व्याग्यात्मक प्रश्न गर्दै भनिन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले समितिको बैठक जरुरी नठाने पनि आफ्नो स्वास्थ्यप्रति धेरै चिन्तित हुनुहुँदोरहेछ । जे होस् जनताको चिन्ता भन्दा उहाँलाई आफ्नो चिन्ता बढी रहेछ ।’

    त्यसपछि बोल्ने पालो आयो समिति सदस्य नवराज सिलवालको । प्रायजसो समितिका बैठकमा कडा रुपमा प्रस्तुत हुने सदस्य सिलवाल आजको बैठकमा पनि त्यसरी नै प्रस्तुत भए । भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रीले १८–२० जनाको उपस्थितिमा हुने महत्वपूर्ण संसदीय समितिको बैठकमा आउन नमानेकोमा धन्यवाद । अनि सचिव चाहीँ किन नआएको ? संसदीय समितिको बैठकमा मन्त्री र सचिवले नआउनु भनेको संसदमाथिको अवहेलना हो । यसअघिका दिनमा पनि यस्तै भएको छ । अबका दिनमा बिना मन्त्री र सचिवको उपस्थितिमा बैठक नबोलाइयोस् सभापति ज्यू ।’

    समिति सदस्य रेखा शर्माले पनि बैठकमा मन्त्री र सचिव उपस्थित नभएको विषयबाटै बोल्न सुरु गरिन्, ‘बैठकमा मन्त्री र सचिवको उपस्थिति अनिवार्य थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री आउनै नमान्ने अनि गृह मन्त्री सम्पर्कमा नै नआउने यस्तो पनि हुन्छ ? समितिको बैठकलाई अवज्ञा गर्न कुनै पनि हालमा मिल्दैन । यस्तो विषयमा पनि निर्देशन दिन जरुरी छ । तर मन्त्री र सचिवको उपस्थिति बिना बैठक नै बस्नुहुन्न भन्ने पक्षमा भने म छैन ।’

    समिति सदस्य महेश्वरजंग गहतराजले पनि मन्त्री र सचिवको बैठकमा सहभागिता नभएको विषयमाबाट बोल्न सुरु गरे । उनले भने, ‘यस बैठकमा मन्त्री र सचिव अनिवार्य उपस्थित हुनै पर्ने थियो, तर दुखद कुरा हुनुभएन । आगामी दिनमा बैठकमा अनिवार्य उपस्थित हुने कुरा सुनिश्चत हुनुपर्छ ।’

    बैठकमा ढिलो गरी पुगेकी र अन्तिममा बोलेकी समिति सदस्य लक्ष्मी चौधरीले पनि मन्त्री र सचिव अनुपस्थित भएको विषय उठान गर्दै व्याग्यात्मक शैलीमा भनिन्, ‘माननीय पुर्व मन्त्री ज्यू, माननीय भविष्यका मन्त्री ज्यू,’

    यसरी करिब २ घण्टा चलेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एजेण्डा भन्दा पनि बढी छलफल २ मन्त्री र २ सचिव उपस्थित नभएको विषयमा केन्द्रीत भयो ।

  • सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न उपसमिति गठन

    सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न उपसमिति गठन

    काठमाडौं । संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

    सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिइएको बारे समितिमा सांसदले प्रश्न उठाएपछि यसबारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय भएको समिति सभापति तारादेवी भट्टले जानकारी गराइन । त्यसअघि समिति सदस्य रायमाझीले सुपारी निर्यातमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसबारे अध्ययन गर्न समितिको ध्यानाकर्षण गराएका थिए ।

    समिति सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनीएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गरी सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए । सुपारी आयातका लागि दिईएको अनुमति बारे बुझ्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • तत्काल विद्यालय बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    तत्काल विद्यालय बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले कोरोनाको जोखिमलाई कम गर्नको लागि तत्काल विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

    राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भैसक्दा पनि अहिलेसम्म विद्यालय बन्द नहुँदा जोखिम बढेको निष्कर्ष निकालेको हो ।

    समितिले शिक्षण सिकाइका वैकल्पिक माध्यममार्फत पठनपाठन गर्न गराउन पनि निर्देशन दिएको छ । समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ती तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाको जीवन रक्षाका लागि भौतिक पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।

    निर्देशनमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थयका मापदण्ड हरेक नेपालीहरुले पालना गर्न जरुरी भएकाले यसमा कडाइ गर्न जरुरी रहेको उल्लेख गरिएको छ ।

    समितिको छलफलमा समिति सदस्य रमेशजंग रायमाझीले प्याब्सन र एन–प्याब्सनहरुको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय लागेको आरोप लगाए । ललितपुरस्थित डीएभी स्कुलले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि हुँदा पनि विद्यालय संचालन गरेर जोखिम बढाएको उल्लेख गरे ।

    समितिका अर्का सदस्य दीनानाथ शर्माले भारतमा कोभिड–१९ संक्रमणको अवस्था भयावह स्थितीमा रहेकाले नेपालले स्वास्थ्य सजगता अपनाउनुपर्ने धारणा राखे ।

  • संसदीय समितिमा एमालेको हैसियत अनुसार हेरफेर, सुनुवाइ समितिमा भने यथावत (सूचीसहित)

    संसदीय समितिमा एमालेको हैसियत अनुसार हेरफेर, सुनुवाइ समितिमा भने यथावत (सूचीसहित)

    काठमाडौं । संसदीय समितिहरुमा हेरफेर भएको छ । संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको सभामुख अग्नि सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए ।

    सभामुखले बैठकमा पेस गरेको नाम अुनमोदनसमेत भएको छ । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो ।

     

     

    यो पनि पढ्नुहोस्:

  • संसदीय समितिमा एमालेको अर्थपूर्ण हेरफेर, सुरेन्द्र पाण्डे संसदीय सुनुवाइबाट हटाइए (सूचीसहित)

    संसदीय समितिमा एमालेको अर्थपूर्ण हेरफेर, सुरेन्द्र पाण्डे संसदीय सुनुवाइबाट हटाइए (सूचीसहित)

    काठमाडौं । सर्वोच्च अदालतले पहिलेकै पार्टी ब्युँताइदिएसँगै नेकपा (एमाले) संसदको सबैभन्दा ठूलो दल हो ।

    दलीय अनुपातमा प्रतिनिधित्व हुने संसदीय समितिमा आफ्नो हैसियत अनुसार सदस्य हेरफेर गरिदिन संसदको सबैभन्दा ठूलो दल एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ ।

    एमालेले २५ चैतमा सभामुख सापकोटालाई पत्र लेख्दै संसदका विषयगत समितिका सदस्यहरू हेरफेर गरिदिन आग्रह गरेको हो ।

    सरकारका कामकारबाहीमाथि अनुगमन तथा नियमन गर्ने अधिकार पाएका संसदीय समितिको महत्वलाई बुझ्दै एमालले चाँडो भन्दा चाँडो सदस्य हेरफेर गरिदिन आग्रह गरेको हो ।

    एमालेले पठाएको पत्रमा २६ गते बस्ने बैठकमा सदस्य हेरफेर गरी जानकारी गराउन आग्रह गरिएको छ । तर, सभामुखले त्यसो नगरेपछि एमाले सांसद खगराज अधिकारीले बैठकमा विरोध जनाएका थिए ।

    अधिकारीलाई जवाफ दिँदै सभामुखले नाम प्राप्त भएपछि हेरफेर गरिने जानकारी दिएका थिए । २६ गते नै सदस्य हेरफेरलाई एजेण्डा बनाएर सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको भए पनि सहमति जुट्न सकेको थिएन ।

    नेपाली कांग्रेस र माओवादी केन्द्र संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको भन्दै हाललाई उक्त समितिमा सदस्य हेरफेर गर्न नहुने अडानमा छन् । एमालेले भने त्यसको विरोध गरेको छ ।

    संसदीय सुनुवाइमा अर्थपूर्ण हेरफेर
    प्रभावशाली समिति मध्यको एक संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डे हटाइएका छन् । नेकपा एमालेको सदस्यबाट समेत ६ महिनाका लागि निलम्बनमा परेका पाण्डेलाई संसदीय सुनुवाइ समितिबाट हटाइएको हो ।

    सर्वोच्च अदालतका दुई न्यायाधीशको संसदीय सुनुवाइको मुखैमा एमालेले समितिमा पाँच सांसदको नाम सिफारिस गरेको छ । न्यायाधीश नहकुल सुवेदीविरुद्ध संसदीय समितिमा समेत चलखेल गर्न खोजिएको बेला एमालेले सुनुवाइ समितिमा हेरफेर गरेको हो ।

    कांग्रेस, माओवादी लगायत विपक्षी दलहरूको दबाब भने न्यायाधीशहरूको संसदीय सुनुवाइअघि एमालेको हैसियत परिवर्तन नगर्नमा छ । तर एमालेले संसदीय समितिमा नेकपाको हैसियतमा नबस्ने र एमालेको हैसियतमा सदस्यहरूको थपघट हुनुपर्ने बताइसकेको छ ।

    एमालेले हेरफेरका लागि सभामुखलाई बुझाएको नाममावलीमा सुनुवाइ समितिका लागि पाँच जनाको नाम पठाएको छ । जसमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईको नाम पठाइएको छ ।

    पाल यसअघि पनि संसदीय सुनुवाइ विशेष समितिमा थिइन् । मुख्य सेचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीका साथै खगराज र राजेन्द्र राई यसपटक थपिएका हुन् ।

    उनीहरू सबै अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाका ९ जना सांसद थिए । तीमध्ये योगेश भट्टराई मन्त्री भएपछि उनी समितिमा थिएनन् ।

    बाँकी ८जना मध्ये राष्ट्रियसभाका सुमनराज प्याकुरेल र नन्दा चपाई छन् भने प्रतिनिधिसभाका सुरेन्द्र पाण्डे र निरु पालमात्र थिए । अब समितिमा एमालेले आफ्नो आकार अनुसार प्रतिनिधिसभाका ५ र राष्ट्रियसभाका २ सदस्य गरी ७ जना पाउने भएको छ ।

    समितिमा कांग्रेसका ४ जना र जसपाका सभापति लक्ष्मणलाल कर्णसहित २ जना छन् । एमालेले आफ्नो हैसियत अनुसार पाउनासाथ माओवादीको तर्फबाट हाल समितिमा रहेका ४ जना सदस्यमध्ये दुई जना घट्ने देखिन्छ ।

    समितिमा नेकपा हुँदाको अवस्थामा देव गुरुङ, पूर्णकुमारी सुवेदी, अमृता थापा मगर र शिवकुमार मण्डलले प्रतिनिधित्व गरेका थिए । संसदीय सुुनुवाइ समितिमा एमाले बिना कसैको दुई तिहाइ बहुमत नपुग्ने भएकाले पनि प्रधानमन्त्रीका विश्वासपात्र सांसदहरूलाई त्यहाँ पठाइएको हो ।

    संसदीय समितिमा सन्देशमूलक हेरफेर
    संसदीय समितिमा सांसदहरूको हेरफेर सामान्य अवस्थामा दलको नियमित प्रक्रिया हो,जुन समाचारको विषय बन्दैन थियो ।

    तर नेकपा एमाले ब्युँतिएपछिको हेरफेर र विशेषगरी सरकारलाई असहयोग गर्ने समितिहरूमा प्रधानमन्त्रीका भरपर्दा सहयोगीलाई पठाइनुले समितिमा एमालेको भूमिका फरक हुने सन्देश दिएको दलका एक पदाधिकारीले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको भूमिकाप्रति असन्तुष्ट छन् । संसदीय समितिले विकास निर्माणमा अवरोध सिर्जना गरेको आरोप पटक-पटक लगाउने गरेका छन् ।

    पछिल्लो हेरफेरमा ओलीले आफू निकट र काम गर्न सजिलो हुने सांसदलाई प्रभावशाली समितिमा पठाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा महेश बस्नेतसहित थप ३ जनाको नाम पठाइएको छ ।

    त्यस्तै अर्को महत्वपूर्ण सार्वजनिक लेखा समितिमा गोकुल बास्कोटा र राजेन्द्र गौतमको नाम थप गरेर पठाइएको छ । यी दुवै समितिबाट सरकारलाई असहयोग भएको प्रधानमन्त्रीले महसुस गरेका थिए ।

    हालै समानुपातिकबााट सांसद नियुक्त भएकी जानकीदेवी रामलाई महिला तथा सामाजिक समितिमा सिफारिस गरिएको छ । घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा थप्न सिफारिस गरिएको छ ।

    संसदको अर्को महत्वपूर्ण कार्यव्यवस्था परामर्श समितिमा एमालेले व्यापक हेरफेर गर्दै प्रधानमन्त्रीका भरपर्दा र विज्ञ सांसदहरूलाई पठाइएको छ ।

    संसद बैठक सञ्चालन र कार्यसूची तय गर्ने लगायत सभामुखलाई सल्लाह दिने समिति भएकाले यसमा प्रतिनिधित्व गर्ने सांसदको भूमिका महत्वपूर्ण हुन्छ । एमालेले सो समितिमा मुख्य सचेतक विशाल भट्टराई र शान्ता चौधरीसहित पूर्व प्रमुख सचेतक समेत रहेका खगराज अधिकारीलाई निरन्तरता दिएको छ ।

    पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, कानुनका विज्ञ कृष्णभक्त पोखरेल र लालबहादुर थापा पनि कार्यव्यवस्था परामर्श समितिमा एमालेले राखेको छ ।

    संसदमा एमालेको आकारको प्रतिनिधित्व अनुसार हरेक समितिमा सोही बमोजिमको संख्या सुनिश्चितता हुनेगरी विभिन्न समितिमा सदस्यहरूको नाम राखेर सभामुखलाई दिइएको सचेतक चौधरीले बताइन् ।

    कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने सभामुखले बताएका छन् । एमालेले भने दलले दिएका नामहरू प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न माग गरेको छ । सभाले अनुमोदन गरेपछि ती सांसदहरू समितिका नियमित बैठकमा बस्न पाउँछन् ।

    हेर्नुहोस् हेरफेर भएकाहरूको सूची :

     

  • संसदीय सुनुवाईमा दलको टक्कर, यसकारण खोज्यो एमालेले ठूलो दलको हैसियत

    संसदीय सुनुवाईमा दलको टक्कर, यसकारण खोज्यो एमालेले ठूलो दलको हैसियत

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिसभाको बिहीबारको बैठकको शुरूमै सत्तारुढ नेकपा (एमाले) का सांसदको विरोध खेप्नुपर्यो । सांसद खगराज अधिकारीले संसदमा आफूहरु एमाले भए पनि ‘मिनी संसद’मा नेकपा हुन परिरहेको भन्दै सभामुखलाई त्यसबारे ध्यानाकर्षण गराए।

    ‘जब हामी समितिमा जान्छौं, हामी नेकपा हुन बाध्य छौं,’ अधिकारीको भनाइ थियो, ‘यस्तो हुनु स्वयं संसदको क्रियाशिलतामा प्रभाव पार्ने कुरा हो । यो संविधान र नियम प्रतिकूल छ । अब संसदले नेकपा जान्दैन।’ एमाले हुन्छौं भन्दा पनि मौका नपाएको भन्दै उनको गुनासो थियो–हामी यहाँ नेकपा एमाले हुने, मिनी समितिमा हामी संविधान विपरित नेकपा हुन सक्दैनौं । हामी संवैधानिक हुन चाहान्छौं भन्दा पनि हामीले मौका पाएनौं ।’

    संसदीय समितिका सदस्य हेरफेर गर्ने विषय सभामुखको क्षेत्राधिकार भित्र पर्छ । आफूसँगै जोडिएको विषयमा विरोध भएकाले सभामुख सापकोटाले पनि त्यसको जवाफ दिनुपर्यो । आजको कार्यव्यवस्था तथा परामर्श समितिमा छलफल भएको र नामावली प्राप्त हुने बित्तिकै हेरफेर हुने सभामुखले जानकारी गराए ।

    उनले भने, ‘प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको उपस्थितिको संख्याको अनुपातमा प्रतिनिधिसभाका विषयगत समितिको र संघीय संसदका समितिको हेरफेरका लागि कार्यव्यवस्था समितिमा छलफल गरिएको छ। दलबाट मान्य सदस्यको नामावली प्राप्त भएपछि समितिको हेरफेर हुने जानकारी गराउँछु ।’

    समिति बैठकमा विवाद संसदीय समितिका सदस्य हेरफेरकै विषयमा छलफल गर्न बिहीबार बिहान ११ बजे बैठक बस्यो । करिब दुई घण्टा चलेको बैठकमा कुनै सहमति जुरेन । यसबारेमा कार्यव्यवस्था समिति बैठकमा दलबीच विवाद भएपछि यो विषयलाई सांसद अधिकारीले प्रतिनिधिसभाको बैठकमै उठाएका थिए ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा गरि अहिले १६ संसदयि समिति छन्। जसमध्ये दुई संयुक्त समिति हुन् । विधानको धारा ९७ ले विषयगत समिति गठनको व्यवस्था गरेको छ। समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या र समानुपातिक प्रतिनिधित्वका आधारमा सदस्य निर्धारण गरिन्छ।

    परिवर्तित सन्दर्भमा आकार अनुसारको प्रतिनिधित्व रहने गरि समितिमा हेरफेर गर्ने कुरामा विवाद नभए पनि संसदीय सुनुवाई समिति हेरफेर गर्ने या नगर्ने भन्ने विषयले बैठक कुनै टुंगोमा पुग्न सकेन । ‘नेकपा हुँदैका समिति छन्,’ एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘फागुन २३ पछि हामी एमाले भयौं । एक महिनादेखि बैठक भइरहेको छ, तर सभामुखले समिति पुर्नगठन गर्न नै चाहानुहुन्न ।’

    बैठकमा एमालले संसदीय सुनुवाई लगायत सबै समितिका सदस्य एकै पटक हेरफेर गर्नुपर्ने मत राखेको थियो । तर, कांग्रेस, माओवादी केन्द्र र जसपाले हाल संसदीय सुनुवाई समितिमा न्याया परिषदबाट सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशमाथि सुनुवाईको प्रक्रिया शुरु भएको भन्दै त्यसमा अहिले हेरफेर गर्न नुहने भनाइ राखेका थिए ।

    एमाले प्रमुख सचेतक भट्टराई आफूहरुको कमजोर स्थितिलाई कायम राखिराख्न सभामुखदेखि सबै लागि परेको आरोप लगाउँछन्। ‘खास के देखियो भने सभामुखले पनि यसलाई टार्दै जाने, अरुले पनि टार्दै जाने,’ उनको भनाइ छ, ‘हिजोको स्थितिमा एमालेको स्थिति कमजोर थियो । कमजोर स्थितिलाई यथावत राखिदिने, लम्बयाउन चाहाने प्रवृत्ति देखियो ।’

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ भने संसदीय समितिमा सुनुवाई चलिरहेको हुनाले अरु सबैमा परिवर्तन गरे पनि त्यहाँ हाललाई परिर्वतन नगर्ने भन्नेमा एमाले बाहेक सबै सहमत भएको बताउँछन्। ‘सुनुवाई समितिमा सुनुवाई चलिरहेको हुनाले सकिएपछि मात्रै गर्ने भन्ने अरु सबै दलको कुरा रह्यो,’ उनी भन्छन्, ‘ सभामुखले पनि त्यही भन्नुभयो । तर, उहाँहरुले सुनुवाई भइरहेको भए पनि आजै परिर्वतन गर्नुुपर्छ, सुनुवाईमा प्रभावित पार्दैन भन्ने कुरा उहाँहरुले राख्नुभयो ।’

    सुनुवाई चल्दाचल्दै सदस्य हेरफेर गर्दा अदालतमा समेत प्रश्न उठ्न सक्ने तर्क गुरुङको छ। ‘अलिकति त्यहाँ प्रतिवाद जस्तो भयो,’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘के उदेश्यले गर्न खोज्नुभयो ? निर्णयलाई प्रभावित पार्न खोज्नुभयो ? अहिले पुर्नगठन गर्ने बित्तिकै निर्णय प्रभावित हुँदैन ? भोलि यसबारे अदालतमा प्रश्न उठ्यो भने के जवाफ दिने ?’ कसको स्वार्थ के ?

    गत २८ फागुनमा न्यायपरिषद् बैठकले सर्वोच्च अदालताका नयाँ न्यायाधीशका लागि नहकुल सुवेदी र कुमार चुँडालको नाम सिफारिस गरेको थियो । न्याय परिषदको सिफारिस अनुसार ४ चैतमा संसदीय सुनुवाई समितिको बैठक बसेर संसदीय सुनुवाई प्रक्रिया शुरु गरेको थियो। सिफारिस व्यक्तिलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र प्रमाण खुलाएर १० दिनभित्र सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको थियो । त्यो १० दिनको समय गुज्रिएको भए पनि त्यसमाथि निर्णय गर्न बैठक बसेको छैन् ।

    सभापति सहित १४ जना सदस्य रहेको सुनुवाई समितिमा अहिले एमाले, कांग्रेस र माओवादी केन्द्रका बराबर सदस्य छन् । सभापतिसहित जसपाका दुई र तीन दलका चार-चार जना सदस्य छन् । समिति सदस्यमा तत्काल हेरफेर गरिहाल्ने हो भने एमालेको संख्या अहिले भन्दा धेरै हुने अवस्था हुन्छ । आफ्नो बलियो उपस्थिति हुँदा संवैधानिक निकायमा हुने सिफारिसलाई अुनमोदन गर्न एमालेलाई सहज हुन्छ । र, हालै सिफारिस भएका न्यायाधीश अनुमोदनमा पनि एक्लै बहुमत नपुगे पनि जसपाको साथ लिएर कांग्रेस र माओवादीले विरोध गर्दा पनि अनुमोदन गराउन सकिन्छ भन्ने एमालेको बुझाइ हो ।

    विपक्षीदल सरकारका निर्णय उल्टाउने भित्री मनसायमा भएको आरोप भट्टराई लगाउँछन् । उनी भन्छन्, ‘हाम्रो उपस्थिति कमजोर छ भनेर सरकारको निर्णय उल्टाउन, सरकारको निर्णय पास नहोस् भन्ने भित्री मनसाय उहाँहरुको हो ।’

    उता नेपाली कांग्रेस र माओवादी केन्द्र पनि सहजै सरकारका निर्णय अनुमोदन हुन नदिने चाहानामा छन् । सुनुवाई समितिका सदस्यहरुमा तत्कालै हेरफेर नगरे कांग्रेस र माओवादीले रोक्न चाहेमा हाल सुनुवाईको प्रक्रियामा रहेका दुई न्यायाधीशलाई पनि रोक्न सक्ने हैसियतमा छन् । आफू ठूलो पार्टी हुँदाहुँदै पनि त्यस्तो होस् भन्ने एमाले चाहँदैन । बिनाकुनै रोकावट त्यो अनुमोदन गराउने चाहाना एमालेको हो ।

  • संसदीय समितिका सदस्य हेरफेर गर्न कार्यव्यवस्था समितिको बैठक

    संसदीय समितिका सदस्य हेरफेर गर्न कार्यव्यवस्था समितिको बैठक

    काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता खारेज गरिदिएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलको अवस्थामा परिर्वतन आएपछि संसदी समितिमा पनि हेरफेर गर्न छलफल शुरु भएको छ।

    यसलाई एजेडन्डा बनाएर प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा बैठक शुरु भएको छ । बिहान ११ बजेदेखि शुरु भएको बैठक अहिले पनि जारी छ।

    नेकपा एमालेले संसदीय समितिमा रहेका सांसद हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको छ। आफू संसदको ठूलो दल भएको भन्दै त्यसै अनुसार सदस्य हेरफेर गरिदिन एमालेले आग्रह गरेको हो।

    संविधानको धारा ९७ ले विषयगत समिति गठनको व्यवस्था गरेको छ। समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या र समानुपातिक प्रतिनिधित्वका आधारमा सदस्य निर्धारण गरिन्छ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा १६ समिति छन्। जसमध्ये दुई संयुक्त समिति छन्।

  • कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो)

    कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो)

    काठमाडौ । संसदीय समितिले बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो ।

    समितिले चारवटै विभागका महानिर्देशकलाई बैठकमा बोलाई उपभोक्ता हक हित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । ‘नेपाली उपभोक्ताको हकहितमा केन्द्रीत हुन नेपालको कानून बमोजिम आ–आफ्नो सीमा भित्र रही कालोबजारी गर्नेलाई निरुत्साहित गर्न र सबै सम्बन्धित विभागले संवेदनशिल हुनुपर्ने देखिन्छ ।’ समिति सभापति तारादेवी भट्टले भनिन् ।

    उनले थप्दै भनिन् । ‘अहिलेको वर्तमान मार्केट गभर्नेन्सको व्यवस्था नियमित अनुगमन हुनुपर्दछ । डाटाहरु सुव्यवस्थित राख्न, कृतिम अभाव सिर्जना गर्नेहरुलाई कडा कारबाही गर्न आज छलफल भए बमोजिम हाम्रो प्रणाली सुधारमा केन्द्रीत हुन यो समिति नेपाल सरकार र सम्बन्धित सबै विभागहरुलाई निर्देशन दिन्छ ।’

    यस्तै दर्ता भए पनि र नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कानूनी दायराभित्र ल्याई दण्ड र जरिमाना सहित कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । सभापति भट्टले भनिन ‘दर्ता भए पनि नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानूनी दायराभित्र ल्याई दण्ड र जरिमाना सहित कारबाही गर्न पनि यो समिति निर्देशन दिन्छ ।’

    समितिले बिल बिजक लिनुपर्छ भन्ने सम्बन्धमा बढी भन्दा बढी जनचेतना फैलाउनु सरकारको दायित्व भएकोले त्यस तर्फ ध्यान दिन समेत विभागलाई निर्देशन दिएको छ ।

  • ठूलो दलको हैसियतमा संसदीय समिति सदस्य हेरफेर गरिदिन सभामुख समक्ष एमालेको आग्रह

    ठूलो दलको हैसियतमा संसदीय समिति सदस्य हेरफेर गरिदिन सभामुख समक्ष एमालेको आग्रह

    काठमाडौं । सर्वोच्चको फैसलापछि आफू संसदको ठूलो दल भएको भन्दै त्यसै अनुसार संसदीय समितिका सदस्यहरु हेरफेर गरिदिन नेकपा (एमाले)ले सभामुखसँग आग्रह गरेको छ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सर्वोच्चको फैसालपछि एमाले र माओवादी फरक–फरक दल भइसकेको भन्दै पछिल्लो हैसियतका आधारमा सदस्य निर्धारणका लागि सभामुखसँग आग्रह गरिएको जानकारी दिए।

    संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या र समानुपातिक प्रतिनिधित्वका आधारमा संसदीय समितिमा सदस्यको मनोनयन गर्नुपर्ने व्यवस्था संविधानमा छ। सदन भित्र विधेयक निर्माण र संसदीय समितिको कार्यक्षेत्रभित्र पर्ने विषयमा निर्णय गर्दा समिति सदस्यको संख्या मह्वपूर्ण हुन्छ।

    हाल राष्ट्रियसभाको अधिवेशन संचालन नभएकाले अहिले प्रतिनिधिसभाका विषयगत समितिका सदस्य मात्रै हेरफेरका लागि आग्रह गरिएको भट्टराईले बताए।

    प्रतिनिधिसभामा १०,राष्ट्रियसभामा ४ र दुई संयुक्त समिति गरि हाल १६ संसदीय समिति छन्।

  • ‘बेकामे’ बन्दै कर्णालीका संसदीय समिति

    ‘बेकामे’ बन्दै कर्णालीका संसदीय समिति

    सुर्खेत । कर्णाली प्रदेश सभाअन्तर्गतका संसदीय समितिहरु ‘बेकामे’ बनेका छन् । कोरम नपुगेका कारण कतिपय समितिको बैठक महिनौदेखि बस्न सकेको छैन । प्रदेशसभा अन्तर्गत चार संसदीय समिति छन् ।

    सार्वजनिक लेखा समितिको बैठक मंसिर २१ गतेपछि बस्न सकेको छैन । दीनबन्धु श्रेष्ठ नेतृत्वको उक्त समितिमा अम्बर थापा, करवीर शाही, खड्गबहादुर खत्री, गुलावजंग शाह, गोपाल शर्मा, झोवा कामी र बद्यीक्वारी बोहोरा सदस्य छन् ।

    संसदमा आउने विधेयकबारेमा सुरुमै छलफल गर्ने प्रदेश मामिला तथा विधायन समितिको बैठक पुसदेखि बस्न सकेको छैन । यो समितिको अध्यक्षमा दानसिंह परियार रहेका छन् भने सदस्यमा चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, धर्मराज रेग्मी, बिन्दमान विष्ट, मिनासिंह रखाल र राजु नेपाली छन् ।

    अर्थ तथा प्राकृतिक स्रो समितिको वैठक माघ दुई गतेदेखि बसेको छैन । विभिन्न मन्त्रालयले गरेका कामको अनुगमन गर्ने, त्यसका आधारमा सरकारलाई सुझाव दिने कामको जिम्मा पाएको यो समिति बैठक कोरम नपुगेर बस्न नसकेको हो ।

    समितिमा अहिले दुई वटा विधेयक छलफलका लागि छन् । यो समितिको अध्यक्षमा गणेशबहादुर सिंह रहेका छन् भने सदस्यहरुमा अमृता शाही, हिमबहादुर शाही, कुर्मराज शाही, वीरबहादुर शाही, यामलाल कंडेल, सीता नेपाली र शोसिला शाही छन् ।

    अरुको तुलनामा सामाजिक विकास समिति भने सक्रिय छ । समितिको बैठक महिनाको एकचोटि बसिरहेको छ । यो समितिको पछिल्लो बैठक फागुन १२ गते वैठक बसेको थियो । यो समितिको अध्यक्षमा देवी ओली छिन भने सदस्यहरुमा कृष्णा शाह, कौशिलावती खत्री, ठम्मर विष्ट, पदमा खड्का, यज्ञ बहादुर विसी, रातो कामी र सुशीलकुमार थापा छन् ।

    ‘हामीले जस्तो सुकै अवस्थामा पनि समितिले काम गर्नुपर्छ भन्ने ठानेर विभिन्न ठाउँमा स्थलगत अध्ययन गर्नेलगायत सरकारलाई सुझाव दिने काम गरिरहेका छौं’, समिति अध्यक्ष देवी भन्छिन्, ‘समितिमा छलफलका लागि आएका सबै विधेयक टुंगो लगाइसकेका छौं । अब हामी समितिले सरकारका काम कारवाहीमा थप अनुगमन गर्छौं ।’

    सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबनधु श्रेष्ठले राजनीतिक गतिरोधका कारण सांसदहरु उपस्थित नभएका कारण बैठक बस्न नसकेको बताए ।

    राष्ट्रियसभा सदस्य रामनारायण विडारी संसदलाई गतिशील बनाउने जिम्मा संसदीय समितिको भएको बताउँछन् । ‘समितिको वैठक संसद नबसेको बेलामा पनि बस्नुपर्छ । बैठक बसेको बेलामा संसदका कामकारवाहीलाई थप राम्रो बनाउन पनि समितिको वैठक बस्न आवश्यक छ । यसले संसदलाई गतिशील बनाइराख्छ ।’ विडारी भन्छन्, ‘यसरी पाँच महिनासम्म बैठक नबस्नु भनेको संसद असक्षम हुनु हो ।’

  • संसदीय समितिको नजर- कतार भिसा सेन्टर, विश्वकप सुरक्षाकर्मीदेखि कतार पुलिस भर्तीसम्म

    संसदीय समितिको नजर- कतार भिसा सेन्टर, विश्वकप सुरक्षाकर्मीदेखि कतार पुलिस भर्तीसम्म

    काठमाडौं । प्रतिनिधिसभा विघटन हुनुअघि गठन भएको वैदेशिक रोजगारीका समस्या अध्ययन सम्बन्धी संसदीय उपसमितिले आफ्नो काम थाल्ने भएको छ । नेकपा एमालेका सांसद एलपी साँवा लिम्बुको संयोजकत्वमा गठित उपसमितिले वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता, कार्टेलिङ र भिजिट भिसामा कामदार पठाउने सन्दर्भमा रहेका समस्याको छानविन गर्न लागेको हो ।

    उपसमितिले कतार पुलिसमा नेपालीहरुलाई भर्तीका लागि पठाउने प्रक्रियाको सन्दर्भमा समेत अध्ययन गर्ने भएको छ । त्यस्तै आगामी कतार विश्वकप फुटबलका लागि नेपाली सुरक्षागार्ड पठाउन भनेर भइरहेका गतिबिधिको समेत अध्ययन गरी आवश्यक निर्देशन दिने भएको छ ।

    उपसमितिले कतार भिसा सेन्टरको नामबाट भइरहेका क्रियाकलाप र विशेष गरी मेडिकल सिण्डिकेटको गुनासोका समेत छानविन गर्ने भएको छ । यसका साथै भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’को जालाको पनि अध्ययन हुने उपसमितिले जनाएको छ ।
    उपसमितिले घरेलु कामदार पठाउने सन्दर्भमा पनि छानविन गर्ने भएको छ ।

    संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको थियो ।

    समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका समस्या, कमादार पठाउने सन्दर्भमा हुने गरेका सिण्डिकेट, भिजिट भिसामा कामदार पठाउने विषयमा रहेका समस्याहरुको समधानका सन्दर्भमा अध्ययन अनुसन्धान र छानबिन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न म्याण्डेट दिइएको छ ।

    समितिमा सांसद कृष्णकुमार श्रेष्ठ (किसान),अमृता अग्रहरी, दुर्गाकुमारी विश्वकर्मा र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् । समितिले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विकृति, विसंगति, समस्या, ठगी र समग्र विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्ने समितिका संयोजक साँवाले बताए ।

     

  • रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिको निर्देशन

    रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

    संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य आगामी ६ महिना भित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालासँग छलफल गरेपछि समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेश गर्न समेत मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।

    उनले भनिन्– ‘आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गरी प्रगति विवरण समितिमा पेश गर्न निर्देशन दिने निर्णय गरियो ।’

    समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन पनि निर्देशन दिएको छ । ‘नेपाल आयल निगमको डिपो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिना भित्र काम सम्पन्न गरी समितिलाई जानकारी दिने निर्णय भयो’ सभापति भट्टले भनिन् ।

    समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टले बताइन ।

    उनले भनिन् ‘आज उठान भएका र थाल्न शुरु भएका काम अगाडि बढिराखेको छ । त्यो छिटोभन्दा छिटो सम्पन्न होस् । यी सबै विषय समाधान हुनेछ भन्ने समितिले अपेक्षा र निष्कर्ष निकालेको छ । अन्तमा आ–आफ्नो मन्त्रालयले गर्नुपर्ने बाँकी रहेका काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबैलाई समिति निर्देशन दिन्छ ।’

  • लैङ्गिक हिंसाविरुद्ध संसदीय समितिको चासो: बलात्कारीलाई आजीवन कैदकाे माग

    लैङ्गिक हिंसाविरुद्ध संसदीय समितिको चासो: बलात्कारीलाई आजीवन कैदकाे माग

    काठमाडौं । लैङ्गिक हिंसा विरुद्ध कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

    संघीय संसद,राष्ट्रियसभा  अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसा विरुद्धका अभियन्ताहरुसँग आईतबार गरेको अन्र्तक्रियामा बोल्दै सरोकारवालाहरुले लैङिगक हिंसाका घटना दिनप्रतिदिन बढीरहेको र दोषी उपर कारबाही हुन नसकेको भन्दै कडा कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    उनीहरुले विद्यमान कानुन कार्यान्वय फितलो भएकाले कार्यान्वय पक्षलाई शसक्त बनाउन पनि माग गरे । राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले मानव ओसारपसारको घटना, बोक्सीको नाममा अमानविय व्यवहार, दाइजोको निहुँमा हुने अमानविय व्यवहारले अझै निरन्तरता पाइरहेको बताइन् ।

    उनले महिलामाथि विभिन्न बहानामा हुने यस्ता अपराध नियन्त्रणका लागि दोषीलाई कडा सजायको व्यवस्था गरिनुपर्ने आवश्यकता औल्याइन् ।

    महिलामाथि बलात्कार गर्नेलाई आजिवन कैदको व्यवस्था हुनुपर्ने,अपराधिक घटनामा समुदायमै मेलमिलाप गराउने र उजुरी लिन नमान्ने प्रहरी प्रशासनमाथि पनि कारबाही चलाउनुपर्नेमा उनले जोड दिइन् ।

    अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सिता पौडेलले महिला माथि हुने घरेलु हिंसा हेर्ने गरी पारिवारिक अदालत गठन गर्नुपर्ने आवश्यकता औल्याइन् ।

    महिलाहरुको छुट्टै अदालत भए उनीहरुलाई आफ्ना समस्या राख्न सहज हुने भएकाले छुट्टै महिला इजलाशको पनि व्यवस्था गरिनुपर्ने बताइन् ।

    समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले शक्तक्त कानुन निर्माण जरुरी रहेको बताए । उनले कानुन भएपनि कार्यान्वय फितलो हुँदा त्यस तर्फ ध्यान दिनुपर्र्ने बताए । महिलाको लागि छुट्टै अदालत हुनुपर्नेमा उनले पनि जोड दिए ।

    मुलुकका विभिन्न स्थानमा बालिका तथा युवती बलात्कार र हत्याका घटना बढ्दै जानु र अपराधी पत्ता लाग्न नसक्नुले महिला सुरक्षा कमजोर भयो भन्दै दिनहुँ काठमाडाैंमा प्रर्दशन भईरहेका बेला संसदीय समितिले यसबारे चासो राखेर सरोकारवालाहरुसंग छलफल गरेको हो ।

  • संसदीय समितिका सभापतिले अझै बुझाएनन् गाडी

    संसदीय समितिका सभापतिले अझै बुझाएनन् गाडी

    काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् ।

    प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरूको सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्ध गराएको सवारीसाधन भने सभापतिहरूले फिर्ता गरेका छैनन् ।

    १० वटा विषयगत समितिका सभापतिमध्ये ९ जना सभापतिहरूले सरकारी सवारी साधन नै प्रयोग गरिरहेका छन् ।

    विघटित प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूमा उद्योग समिति सभापति राष्ट्रिय जनता पार्टी , लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो । बाँकी ८ वटा समितिका सभापति सत्तारुढ दल नेकपाले लिएको थियो ।

    अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्‍ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव, कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापति भरत शाहले संसद विघटनको ४२ दिन पुगिसक्दा गाडी फिर्ता गरेका छैनन् ।

    संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले ९ वटा समितिका सभापतिहरुले अझै पनि गाडी सुविधा प्रयोग गरिरहेको जानकारी दिए । उनका अनुसार महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले भने पुस १० गते नै गाडी फिर्ता गरेकी छिन् ।

    संघीय संसद सचिवालयले सबै समितिको अलग-अलग सचिवालयसहित सभापतिहरूलाई निजी सचिवालयको सुविधा दिने गर्दछ । उनीहरूले राज्यमन्त्री सरहको सुविधा पाउँछन् । अहिले नियमित रूपमा सेवा सुविधा नपाए पनि गाडीको भने दुरूपयोग भइरहेको छ ।

    दुईजना चालक, स्वकीय सचिवलगायत पदाधिकारीले पाउने सबै सुविधा पुस ५ देखि नै रोकिएको छ । गाडी फिर्ता नगर्नेहरूले ड्राइभर र तेलको खर्च भने आफैं व्यहोरिरहेका छन् । प्रतिनिधिसभा विघटन भएकाले सांसद वा विषयगत समितिका सभापतिको हैसियतले सचिवालयले उपलब्ध गराएको सुविधा प्रयोग गरिरहेर पूर्वसभापतिहरूले सरकारी सम्पत्ति दुरुपयोग गरेको सचिवालयका प्रवक्ता पाण्डेले बताए ।