Tag: संसदीय दलको बैठक

  • कारवाही गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा

    कारवाही गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

    ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,’ ओलीले भने, ‘गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?’

    आफूहरूले साउन २५ गते निष्कासन गरेका मान्छे भदौ २३ गतेको बैठकमा उपस्थित हुन नमिल्ने ओलीको तर्क छ । ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन,’ ओलीले भने, ‘संसदका नियमावलीले पनि त्यो दिँदैन ।’

    गैरसांसदलाई बैठकमा बस्न दिए एमालेमा गएवापत कारवाहीमा परेका माओवादीका सांसदलाई पनि फर्काउनु पर्ने उनले माग गरे । ‘त्यसो हो भने पहिले निकालिएका सांसदहरूलाई हाजिर गर्नुपर्‍यो,’ ओलीले भने, ‘रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई पनि हाजिर गर्नुपर्‍यो ।’

    सभामुख अग्निप्रसाद सापकोटा एमाले सिध्याउन लागेको भन्दै यथास्थितिमा उनलाई सभामुख मान्न नसकिने ओलीको भनाइ । ‘जो एमाले सिध्याउन खोज्छ, त्यसलाई हामीले सभामुख कसरी मान्ने ?,’ उनले भने, ‘ हामीलाई सिध्याउन खाजेको छ भने उनको निष्पक्षतामा कसरी आश्वस्त हुन सक्छौं ? सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने अवस्था छैन ।’

  • लुम्बिनी प्रदेश : एकमतले विपक्षीको सामना गर्ने एमालेको निर्णय

    लुम्बिनी प्रदेश : एकमतले विपक्षीको सामना गर्ने एमालेको निर्णय

    रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले सरकारका नीति तथा कार्यक्रम र बजेटमा सबै सांसदहरु एकसाथ एकढिक्का भएर जाने निर्णय गरेको छ । आज दिउँसो १ बजे शुरु हुने प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अगाडि दलको धारणा बनाउन बैठक बसेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

    मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभामा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापका विरुद्धमा सबै सांसदहरु एकसाथ उभिने निर्णय भएको ढकालले बताए ।

    अधिवेशनको पहिलो दिनको कार्यसूचीमा प्रदेश प्रमुख कार्यालयबाट आएका पत्रबारे जानकारी दिने र दलका प्रमुखहरुले औपचारिकरुपमा शुभकामना दिने कार्यसूचि कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको छ ।

    तर विपक्षी गठबन्धन दलका नेताहरुले सभामुख पूर्णबहादुर घर्तीलाई अविश्वासको प्रस्ताव पेश गर्न लगाउने आशंकाका समाचार बाहिरिएपछि सत्तारुढ एमालेले यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

    प्रमुख सचेतक ढकालले कानुन विपरीत दर्ता भएको अविश्वासको प्रस्तावका विषय अगाडि सारिए तत्काल बहिस्कार गर्ने र सरकारलाई अध्यादेशबाट नीति तथा कार्यक्रम र बजेट ल्याउन सिफारिस गर्ने बताए । उनका अनुसार प्रतिपक्षीले बाध्य बनाएर संसद अन्त्य गर्ने वातावरण नआओस् भन्ने आफूहरुले चाहेको बताए ।

  • सुदूरपश्चिममा माधव पक्षकै मत बाझियो, एमाले संसदीय दलको बैठक बस्न सकेन

    सुदूरपश्चिममा माधव पक्षकै मत बाझियो, एमाले संसदीय दलको बैठक बस्न सकेन

    धनगढी । माधव नेपाल पक्षमै एक मत हुन नसकेपछि आज बिहान बस्ने भनिएको एमाले संसदीय दलको बैठक बस्न सकेको छैन ।

    मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलको लागि बोलाएका थिए ।

    ८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेरै बाहिरिए । उनीहरूले तयारी गरेर २५ जना नै उपस्थित हुने गरी दलको बैठक बस्न आग्रह गरेका थिए ।

    संसदीय दलका नेता शाहले मंगलबार बिहान आफ्नो पक्षका मात्रै सांसदलाई बैठकमा बोलाएका थिए।

    ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

    दलको नेतालाई ओली पक्षका सांसदहरूलाई पनि बोलाउन दबाब आएपछि अहिले सम्म दलको बैठक बस्न नसकेको हो ।

    ‘हामीलाई बिहान ८ बजे दलको कार्यालयमा उपस्थित हुन भनेर दलको नेताले बेलाउनु भयो । उहाँ नै आउनु भएन’ एक सांसदले भने, ‘अहिले सम्म फेरि बस्ने टुंगो छैन । ’

    उनका अनुसार मंगलबार बिहान ८ बजे पछि दलको कार्यालयमा १० जना सांसद उपस्थित भएका थिए । दलको नेता र प्रमुख सचेतक नै नआएपछि उनीहरुले अनौपचारिक छलफल गरेर फर्किएका थिए ।

    मंगलबार बिहान आफ्नो पक्षका मात्रै सांसदहरूलाई बोलाएको भन्दै केही सांसदहरूले दलको नेताको समेत आलोचना गरे । यस्तो बेला एउटा पक्षलाई छुटाएर अघि बढ्न नसकिने सन्देश दलको नेतालाई सांसदहरूले पठाएका थिए ।

    सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।

    भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा छन् ।

    ‘केन्द्रमा जस्तो विवाद भएपनि प्रदेशमा मिलेर जानु पर्छ भनेका छौँ’ एक सांसदले भने, ‘सरकार परिवर्तन गरेर बरु यहि गठबन्धनलाई अघि बढाउन सकिने कुरा हुन सक्छ । ’

    अहिले सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त रुपमा सरकार चलाइरहेका छन् । माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले ३ मन्त्री सरकारमा छन् ।

    आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।

    एउटै पक्षभित्र पनि मतभेद देखिएपछि ८ बजे स्थगित भएको बैठक अझै आह्वान गरिएको छैन । प्रमुख सचेतक तारालामा तामासँगको सल्लाहपछि साढे १२ बजेपछि बैठक आह्वान हुनसक्ने बताइएको थियो । तर, त्यो समयमा पनि बैठक बस्न सकेन ।

    तामाङ पनि नेपाल पक्षका हुन् । तर, पछिल्लो समय उनी तटस्थ बसेको बताउँछन् । २४ घण्टाभित्रै सरकारबाट फिर्ता हुन आएको निर्देशन र समर्थन फिर्ताका बिषयमा छलफल गर्नुपर्ने हुँदा दलको बैठक मंगलबार नै राख्न दबाब छ ।

    दलको नेता अहिले प्रमुख सचेतक तारा लामा तामाङसँग प्रमुख सचेतक कै कार्यकक्षमा छन् । तामाङको कार्यकक्षमा एमालेका नेपाल पक्षीय सांसद कुलवीर चौधरी, अमर साउद, प्रकाश रावल, दीर्घ सोडारीले दलको नेतालाई कुरिरहेका थिए । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने केहीबेर संवाद गरेर अहिले निस्केका छन् ।

  • संसदीय दलको बैठकमा भाग लिने माधव नेपाल समूहको निर्णय, माधव र भीम रावल नजाने

    संसदीय दलको बैठकमा भाग लिने माधव नेपाल समूहको निर्णय, माधव र भीम रावल नजाने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्यहरुको बैठकले सो निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

    पन्तका अनुसार ६० जना जति केन्द्रीय सदस्यको बैठकमा सहभागिता थियो । पार्टीभित्रै बसेर विधि र पद्दतिका लागि लड्ने निर्णय भएको उनले जानकारी दिए ।

    ‘आजको बैठकमा हाम्रा साथीहरू जानुहुन्छ र आफ्नो कुरा राख्नुहुन्छ,’ उनले भने, ‘हामी नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको छ ।’

    माधव नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी हुने हो ? भन्ने पत्रकारको जिज्ञासामा पन्तले भने, ‘व्यक्ति को जानु हुन्छ को जानुहुन्न भनेर सोधिएन । कसैको काम परेर नजान पनि सक्नुहुन्छ ।’

    तर, दलको बैठकमा माधवकुमार नेपाल र भीम रावल नजाने बताइएको छ ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ३ बजे बालुवाटारमा एमाले संसदीय दलको बैठक डाकेका छन् ।

    यसअघिका नगएको बैठकमा अहिले के को आधारमा एक्कासी जान खोज्नु भो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता झलनाथ खनालले आफ्नो पार्टीको संसदीय दलको बैठकमा जाने यो निर्णय एक्कासी नभएको प्रष्ट्याए । उनले बालुवाटारमा नभई पार्टीका बैठक पार्टी कार्यालयमा राख्नुपर्ने आफूहरूको माग रहेको अडान राखे ।

  • शेरधनले बोलाए संसदीय दलको बैठक, माधव पक्ष नजाने

    शेरधनले बोलाए संसदीय दलको बैठक, माधव पक्ष नजाने

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बुधबार ११ बजे प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो ।

    बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्ताव र पछिल्लो राजननीतिक घटनाक्रममा छलफल हुने बताइएको छ ।

    प्रदेश १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तीमध्ये माधव नेपाल पक्षका २० जना छन् । प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारीले बैठकमा सहभागी हुन सबै सांसदहरूलाई खबर गरिएको जानकारी दिए ।

    माधव नेपाल पक्षका प्रदेश सांसद राजेन्द्रकुमार राईले बैठकमा आफूहरू सहभागी नहुने तर केही सांसद गएर अविश्वास प्रस्ताव फिर्ताबारे जानकारी गराउने बताए । उनले भने, ‘हामी सबैलाई बैठकका बारेमा जानकारी गराइएको छ । तर, साथीहरू जानुहुन्न ।’

  • माधव पक्षका सांसद: केही बालुवाटार पुगे, अरु बाटोबाटै फर्किए

    माधव पक्षका सांसद: केही बालुवाटार पुगे, अरु बाटोबाटै फर्किए

    काठमाडौं । संसदीय दलको बैठकमा उपस्थित हुने विषयमा विवाद बढेपछि नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरू केही बालुवाटार पुगेका छन् भने कोही बाटैबाट फर्किएका छन् ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा शीर्ष नेताबाहेकका सांसदहरू सहभागी हुने माधव पक्षले निर्णय गरेको थियो । यद्यपि केही सांसदहरूले आपत्ति जनाएपछि बालुवाटार जाँदै गरेकालाई बाटैबाट फर्काइएको हो ।

    माधव पक्षका सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेर माइन्यूटमा हस्ताक्षर गरेर फर्किएका छन् ।

  • माओवादी संसदीय दलको बैठक जारी

    माओवादी संसदीय दलको बैठक जारी

    काठमाठौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबामा शुरू भएको छ।

    सांसद रेखा शर्मामा अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकलगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको हो।

    २३ फागुनमा सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने निर्णय के गर्छ भन्नेबारे माओवादीमाथि धेरैको चासो छ ।

  • सत्तारुढ नेकपा संसदीय दलको बैठक आज, प्रचण्ड-माधवलाई पनि खबर

    सत्तारुढ नेकपा संसदीय दलको बैठक आज, प्रचण्ड-माधवलाई पनि खबर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

    आइतबारदेखि संसद अधिवेशन शुरु हुने भएकाले त्यसमा नेकपा सांसदहरूको भूमिका कस्तो हुने भनेर प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदहरूलाई बैठकमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले बताए ।

    संसद भवनको ल्होत्से हलमा हुने बैठकमा दलको नेता केपी शर्मा ओलीको निर्देशन बमोजिम प्रचण्ड, माधवकुमार नेपाल सहित संघीय संसदका नेकपाका सबै सांसदलाई खबर पठाइएको उनले जानकारी दिए ।

    प्रचण्ड–माधव पक्षले भने शुक्रवारै बैठक बसेर दलको नेता प्रचण्डलाई चयन गरेको छ ।

    नेकपा विभाजन कानुनी रुपमा नभइसकेको अवस्थामा संसदीय दलको नेता केपी ओली बाहेक अरुलाई कानुनले नचिन्ने र दलको नेता हटाउने प्रकियामा अर्को पक्षले विधान बमोजिम कुनै निवेदन समेत नदिएकाले नेकपाको संसदीय दल एउटै रहेको भट्टराईको भनाइ छ ।

    संसद सचिवालयले भट्टराईलाई नेकपाको मुख्य सचेतको मान्यता दिइसकेको छ । नेकपाका सांसदहरू दुवै पक्षमा विभाजित भएका छन् । प्रचण्ड माधव पक्षले आफ्नो समूहमा दुवै सदनका गरि ११५ जना सांसद रहेको दावी गरेको छ । ओली पक्षको पनि त्यस्तै दाबी छ ।

    आजसम्मको अवस्था हेर्दा प्रचण्ड-माधव पक्षमा प्रतिनिधिसभामा सभामुख बाहेक ८७ र राष्ट्रियसभामा २४ सांसद छन् । यो भनेको १ सय ११ जनाको संख्या हो । त्यस्तै ओली पक्षमा प्रतिनिधिसभामा ८३ र राष्ट्रियसभामा अध्यक्षबाहेक २४ सांसद छन् । यो भनेको १०७ जनाको संख्या हो ।
    प्रतिनिधिसभामा लालबाबु पण्डित,तुलसी थापा गौतम दुवै पक्षमा खुलेका छैनन् भने राष्ट्रियसभामा बामदेव गौतम तटस्थ छ ।

    यी चारजना नै बहुमतका लागि निर्णायक हुनेछन् ।