Tag: संखुवासभा हत्या

  • लोकबहादुरको त्यो चलाखीपूर्ण अन्तरवार्ता : लाश देखेपछि आतेश लागेर चिच्याएँ !

    लोकबहादुरको त्यो चलाखीपूर्ण अन्तरवार्ता : लाश देखेपछि आतेश लागेर चिच्याएँ !

    काठमाडौं । यदि तपाईंले सस्पेन्स थ्रिलर फिल्महरू हेर्ने गर्नुभएको भए थाहा होला, तिनीहरूमा प्रायः सबैभन्दा कम शंका गरिएको व्यक्ति नै अन्त्यमा अपराधि ठहर्छ । जो मुख्य अपराधी हो, उसलाई नै कथामा सबैभन्दा निर्दोषका रूपमा पेस गरिन्छ ताकि दर्शकले अनुमानै नगरुन् ।

    संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तले ठीक यस्तै शैलीमा आफूलाई पेस गरेका थिए । यति ठूलो अपराध रचिसकेपछि पनि उनले लुक्ने वा भाग्ने चेष्टा गरेनन् । बरु निर्धक्क मिडियालाई अन्तरवार्ता दिए, अनि प्रहरीलाई भुलभुलैयामा पार्न अनुसन्धानलाई सघाएको नाटक पनि गरे ।

    घटनालगत्तै लोकबहादुरले आफूलाई ‘पहिलो प्रत्यक्षदर्शी’ का रूपमा उभ्याएका थिए । अनलाइन तुफान नामक युट्युव च्यानलले घटनाको विषयमा उनीसँग अन्तरवार्ता गरेको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    अन्तरवार्तामा लोकबहादुर शंकै नलाग्ने गरी बडो निर्दोष भावमा पेस भएका छन् । घटनापछि डर-त्रासले गर्दा आफूहरू राम्ररी निदाउन नसकेको बताउँछन् उनी । आफैंले चिर्पटले हानेर मारेका तेजबहादुरलाई ‘मिलनसार र सहयोगी स्वभावको व्यक्ति’ का रूपमा चित्रण पनि गर्छन् ।

    अन्तरवार्तामा उनले बडाउको लाश देखेपछि आफू आतेश लागेर चिच्याएको बताएका छन् ।

    उनले त्यस दिनको यसरी बयान गरेका छन् –

    ‘अघिल्लो दिन बेलुका सात बजे नै सुतेको थिएँ । बिहान साढे सात बजेको थियो होला उठ्दा । उठेर आगोसागो बालेँ । खानासाना पकाएँ । ड्याडी र भाइ घाँस काट्न जानुभो । अनि म चाहिँ खाना खाँदै थिएँ । ९ बजेतिर माथ्लोघरको एकजना भाइले चौताराबाट बोलाएर ‘हजुरआमा साह्रै हुनुहुन्छ रे, हेर्न जा’ भनेर भन्यो ।’

    ‘त्यसपछि उठेर हिँडेँ । पल्लो घरतिर जाँदा मास्तिरैबाट तल बडाउको लाश घोप्टो परिरहेको देखेँ । पर्तिरबाट हेर्दा एकदम ब्लडहरू, खुनैखुन हेरिनसक्नु थियो । अनुहारहुँदी झिंगाहरू पनि भन्किरहेको । अनि म त एक्कासी डरले चिच्याउन-कराउन थालेँ । त्यसपछि गाउँलेहरू जम्मा हुनुभयो । सबैजना मिलेर परिवारको अरु मान्छेलाई खोज्न थालियो । खोलाछेउ रोडको भित्तामा बडीमा लडिराख्नुभएको थियो । हत्याराले साना बच्चाहरूलाई पनि छोडेनछ । हजुरआमा, भाइ र बहिनीको लाश त मैले हेर्न पनि सकिनँ ।’

    लोकबहादुरलाई सोधिन्छ, ‘पैसाको लागि कि रिसइबीले मारिएको जस्तो लाग्छ ?’

    शुरूमा उनी पैसाकै लागि मारिएको आशंका व्यक्त गर्छन् ।

    ‘उहाँहरूको कसैसँग रिसइबी थिएन । पैसाकै लागि हो कि जस्तो लाग्छ,’ उनले भनेका छन् ।

    फेरि प्रहरीले पैसा र गरगहना घरमै भेटाएको पत्रकारले बताएपछि उनी भन्छन्, ‘अँ, पैसाको लागि होइन कि जस्तो पनि लाग्छ । यो घटना गम्भीर छ ।’

    ‘यो ठाउँमा यस्तो घटना गराउन सक्ने कोही शंकास्पद व्यक्तिहरू तपाईंले देख्नुभएको छ ? भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, ‘त्यस्तो कोही पनि छैनन् । यो गाउँघरमा सबै दाजुभाइ हौं । शंका गर्न सकिने मान्छे कोही छैन मेरो विचारमा ।’

    त्यो परिवारको दुश्मनी कसैसँग नभएको लोकबहादुर बताउँछन् ।

    मृतक तेजबहादुरको प्रशंसा गर्दै उनी भन्छन्, ‘बडाउ एकदम मिलनसार मान्छे हुनुहुन्थ्यो । सामाजिक काममा एकदम अग्रसर हुने । रिसइबी-झगडा केही थिएन । हामीसँग पनि राम्रो सम्बन्ध थियो । आउने-जाने भइरहन्थ्यो ।’

    उनलाई सोधिन्छ, ‘घटनापछि तपाईंहरूलाई डर त्रास कत्तिको छ ?’

    लोकबहादुर जवाफ दिन्छन्, ‘एकदमै डरत्राशमा छौं हामी । राति निद्राहरू नै परेको छैन । अस्तिको दिन त निदाउनै सकेनौं । हिजो चाहिँ अलिबेर निदाएँ ।’

    यस अन्तरवार्तामा लोकबहादुरले शंका लाग्ने ठाउँ कमै छाडेका छन् । तर, प्रहरीसँगको सोधपुछका क्रममा भने उनले विरोधाभाषी कुरा गरेका थिए । अनुसन्धानका क्रममा उनको घरमा रगत लागेको कपडा भेट्टिएपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको थियो । बयानका क्रममा उनले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ ।

    लोकबहादुर र तेजबहादुरको घर नजिकै दूरीमा छ । तेजबहादुरको घरमा लडेर लोकबहादुरकी आमाको मृत्यु भएको र त्यसयता उनीहरूबीच वैमनष्यता शुरू भएको बताइएको छ । लोकबहादुरको घरमा उनीसहित बुबा र भाइ बस्छन् ।

  • चिर्पटले हानेर ६ जनाको हत्यापछि त्यही चिर्पट बालेर कुँडो बनाए लोकबहादुरले

    चिर्पटले हानेर ६ जनाको हत्यापछि त्यही चिर्पट बालेर कुँडो बनाए लोकबहादुरले

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका- १ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेका आरोपीलाई प्रहरीले आज सार्वजनिक गर्‍यो । हत्यामा संलग्न २६ भनिएका वर्षीय लोकबहादुर कार्की मृतक परिवारको नजिँकका आफन्त हुन् ।

    हत्यामा संलग्न कार्की मृतक परिवारका १३ दिने दाजुभाई रहेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीले बताए । उनका अनुसार कार्कीको घरबाट हत्या भएको ठाउँको दुरी जम्मा १ सय मिटर मात्रै रहेको छ ।

    घटना भएको ६ दिनमा प्रहरीले मुख्य अभियुक्त सार्वजनिक गर्न सफल भएको छ । देशब्यापी चर्चाको विषय भएको हुनाले प्रहरी दवावमा थियो । गाउँमा धेरै चहलपहल नहुने भएकाले चोरी–डकैतीका लागि सो घटना गराइएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको थियो । तर, पैसा तथा सुन घरमै सुरक्षित भेटिएपछि त्यो अनुमान फेल खायो ।

    घटनास्थलमा दुईवटा कुकुरलाई प्रयोग गर्दा कुनै सुराक मिल्न सकेको थिएन । घटना भएको साँझ ठूलो पानी परेकाले घटनास्थल भएपछि कुकुरको प्रयोग निस्प्रभावी बनेको थियो ।

    कुकुरसमेत अल्मलिएर अपराधीसम्म पुग्ने कुनै क्लु नपाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोली घटनास्थल पुग्यो । तर अपराधी पत्ता लगाउन नसकेपछि प्रहरीले पुरै जिल्ला सिल गर्‍याे ।

    स्थानीयहरुसँग बयान लिने क्रममा प्रहरीले पहिलोपटक शव देखेको भन्ने लोकबहादुरसँग सोधपुछ ग¥यो । लोकबहादुरले एक जना भाइले शव देखेको आफूलाई बताएपछि अरु स्थानीयलाई खबर गरेको बताए । तर, उनले दिएको बयान शंकाष्पद पाइएपछि अनुसन्धान उनीमाथि केन्द्रित भएको थियो ।

    लोकबहादुरले घटनाबारे बुझन घटनास्थल पुगेका युटुबरलाई अन्तवार्तासमेत दिएका थिए । उनको घरमा खोजतलासी गर्दा प्रहरीले रगत लागेको कपडा फेला पा¥यो । र, त्यसकै आधारमा लोकबहादुर पक्राउ गरे । थप अनुसन्धान गर्दा उनले आफूले नै हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

    आरोपीले आफूलाई काकाले हेप्ने गरेकोले हत्या गरेको बताएका छन् । सुरुमा तेजबहाुदरलाई मात्रै मार्ने सोचे पनि प्रमाण मेटाउनका लागि अरुलाई पनि सिध्याउनुपरेको उनको भनाइ छ ।

    घटना विहान साढे ५ बजेको आसपासमा भएको बताइएको छ । धान गोड्न खेताला खोज्न हिँडेका तेजबहादुरलाई मार्न भतिजा लोकबहादुर बाटोमा ढुकेर बसेका थिए । उनले काका तेज बहाुदरलाई पछाडिबाट चिर्पटले हानेर ढालेपछि घरबाट श्रीमती र बुहारी रञ्जनाले देखेर चिच्याउँदै आए । त्यसपछि तेजबहादुरले उनीहरुलाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरुले प्रतिकार गर्न नसक्दा हत्याराले सजिलै हत्या गरेको देखिन्छ । आमाहरुको चिच्याहट सुनेर छोराछोरी बाहिर आएपछि उनीहरुलाई पनि लोकबहादुरले बाँकी राखेनन् । उनले दुई बालबालिकालाई पनि घर माथि लगेर चिर्पट दाउराले हानेर हत्या गरे र घरभित्र कुडो पकाउदै गरेकी पार्वतीलाई पनि भित्तामा ठोकाएर चिर्पटले हानेर मारे । तर घरभित्रै रहेका बौद्धमानलाई भने केही गरेनन् ।

    आफूले सबैलाई एउटै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् । त्यही चिर्पट घरमा ल्याएर आगो बाली कुँडो पकाएको उनको बयान छ । त्यसपछि उनी केही थाहा नपाएजसरी प्रस्तुत भएका थिए । उनले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै आएका थिए ।

    गत सोमबार ९० वर्षीय बौद्धमान कार्कीको ६ जनाको परिवारको हत्या भएको थियो । बौद्धमानका ८४ वर्षीया श्रीमती पार्वती कार्की, ५२ बर्षीय तेजबहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्कीको हत्या भएको थियो । घरमै रहेका ९० वर्षका बौद्धमान भने सकुशल रहेका थिए ।

     

     

     

  • संखुवासभा हत्या प्रकरणः घटना राति भयो की बिहान अझै अन्योल, अनुसन्धान गर्दै  प्रहरी

    संखुवासभा हत्या प्रकरणः घटना राति भयो की बिहान अझै अन्योल, अनुसन्धान गर्दै प्रहरी

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ ।

    सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको हो ।

    सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको खबर जानकारी हुने बित्तिकै स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घर वरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए ।

    घटनाको प्रकृति हेर्दा जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान हुन नसक्ने भएपछि सङ्घीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । उक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन गरिसकेपछि शव परीक्षणका लागि मङ्गलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

    घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायतको टोली घटनास्थल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

    ८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

    एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए । ‘सिङ्गो गाउँमा सन्नाटा छाएको छ । कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैन्’ उनले भने, ‘घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन ।’घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।

    उनका अनुसार हत्या बिहान वा राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्ध अवस्थाका बौद्धमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताए  । मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो । प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

    घटना राति भयो की बिहान अझै अन्योल

    यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । स्थानीयवासी बौद्धमानका अनुसार सपरिवार बेलुका ६÷७ बजेतिर खाना खाएर सुतेका थियौं । बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ । घटनामा परेकाको शवको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्याण्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन ।

    यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेका चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ? हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमेको पाइएको छ । उनीहरुको शव घोप्टिएको अवस्थामा रहेको थियो ।