Tag: शव व्यवस्थापन

  • स्काउटले काठमाडौंमा पनि गर्‍याे शव व्यवस्थापन

    स्काउटले काठमाडौंमा पनि गर्‍याे शव व्यवस्थापन

    काठमाडौं । नेपाल स्काउटको टोलीले आजबाट काठमाडौंमा समेत कोभिडबाट मृत भएकाको शव ब्यवस्थापन कार्य सुरु गरेको छ ।कोभिडबाट मृत भएका ५८ वर्षीय सुशील वीर कंसाकारको शव ब्यवस्थापन नेपाल स्काउट बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्य र नेपाल स्काउट बागमती प्रदेश स्पेशल टाक्स फोर्सको संयोजक अजित लामाले गरेका थिए भने प्रकाशराज पाण्डे र विखेन्द्र महर्जन लगाएतले सो अभियानमा होस्टेमा हैंसे गरेका थिए ।

    यसअघि नेपाल स्काउटको टोलीले बिराटनगरमा शव ब्यवस्थापनको कार्य थालनी गरेको थियो ।कोभिड संक्रमण भई ग्राण्डी अस्पतालमा उपचाररत ५८ वर्षे कंसाकारको हिजो निधन भएको थियो । मृत्यु पश्चात शव कोरोना नेगेटिभ देखिएको अस्पतालले जनाएपछी उक्त शव नेपाली सेनाले व्यवस्थापन नगरेको र परिवारजनमा कोभिडको त्रास भएकाले नेपाल स्काउटको टोलीले शव व्यवथापन गरेको हो ।

    बिगत २ साता देखी ननकोभिड बीमारीहरूलाई एम्बुलेन्स सेवा सुचारु गरेको नेपाल स्काउटको तालीम प्राप्त टोलीले आज शव व्यवथापन गरेको हो ।

    नेपाल स्काउटले नेपालमा कोरोना माहामारी पश्चात् कोभिड विरुद्ध जनचेतनामूलक अभियान,चिकित्सक परामर्श सेवा,हेल्प डेस्क,डिसइन्फेक्ट कार्य र शवदहमा निशुल्क पानी वितरण लगाएतको कार्य गरिरहेको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताए ।

    स्काउट देशभर जस्तोसुकै परिस्थितिमापनी जनताको सेवा गर्न अहोरात्र खटिने भण्डरीले बताए ।

  • नेपाल स्काउटले पनि थाल्यो कोरोना संक्रमितको शव व्यवस्थापन (भिडियो)

    नेपाल स्काउटले पनि थाल्यो कोरोना संक्रमितको शव व्यवस्थापन (भिडियो)

    काटमाडौं । नेपाल स्काउटले सोमबारदेखि कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको पनि शव व्यवस्थापन गर्न शुरू गरेको छ ।

    यसअघि कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।

    कोभिड- १९को संक्रमणबाट मृत्यु हुने संख्या बढेसँगै शव व्यवस्थापनमा पनि चुनौती थपिएको थियो । शव व्यवस्थापनमा सहजीकरण गर्न लागि आजदेखि स्काउटले संक्रमितको शव व्यवस्थापन गर्न शुरू गरेको स्काउटले जनाएको छ ।

    मोरङको विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरूको टिमले संस्थागत रूपमा पहिलोपटक कोभिड- १९ बाट संक्रमण भई निधन भएका विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेका छन् ।

    यसअघि नै संक्रमितको शव व्यवस्थापनका निम्ति प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो ।

    स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी,रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

    शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने व्यवस्था गरिएको पनि घिमिरेले बताए । कोभिड-१९ महामारी लाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उद्द्श्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि संचालनमा रहेको छ ।

  • धनुषामा निषेधाज्ञा थपियो, शव व्यवस्थापन शुल्क सरकारले तिरिदिने

    धनुषामा निषेधाज्ञा थपियो, शव व्यवस्थापन शुल्क सरकारले तिरिदिने

    जनकपुरधाम । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समय धनुषामा चौथो पटक थप गरिएको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय ७ थपेको हो ।

    निषेधाज्ञा आदेशलाई जेठ १७ गते राति १२ बजेबाट सात दिन थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘कोभिडको नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सुधार देखिएको छ । तर पनि संक्रमणको चुनौती अझै कायम रहेकाले निषेधाज्ञा सात दिन थप गर्ने निर्णय भएको छ ।’

    कोरोनाको दोस्रो लहर चलेपछि धनुषामा वैशाख २२ गते निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञामा विहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक पसलहरु खोल्न दिएको छ । त्यसबाहेक सबै पसल ठप्प छ । शैक्षिक संस्था, उद्योग, कलकारखाना, सवारी साधन पनि खुलेको छैन ।

    धनुषामा अहिले १५ सय ३९ जना कोरोनाका सक्रिय संक्रिमत छन् । अवस्था गम्भिर रहेका ३४ जनाको आइसीयूमा उपचार भइरहेको छ । यस्तै ८ जनाको भेन्टिलेटरको सपोर्टमा र १८० जना सामान्य उपचारमा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

    धनुषामा कोरोनाबाट ७७ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनमा भने लापरबाही देखिएको छ । शव व्यवस्थापन गर्न दिएबापत जनकपुरको स्वर्गद्धारीले १७ हजार रुपैयासम्म असुली गरिरहेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी बास्तोला स्वयंम स्वीकार्छन् ।

    अब शव व्यवस्थापन शुल्क र शवबाहन शुल्क नेपाल सरकारले तिर्ने निर्णय भएको छ । गृह मन्त्रालयको निर्देशन समेतको आधारमा नेपाली सेनामार्फत शव व्यवस्थापन गर्दा शव बाहन शुल्क र दाहसंस्कारमा लाग्ने सम्पूर्ण खर्च जिल्ला विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय पनि गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए ।

    यस्तै जिल्लाभित्र एन्टिजेन परीक्षण किट पर्याप्त संख्यामा आएको भन्दै शंकास्पद लक्षण भएका व्यक्तिहरुको एन्टिजेन र पिसिआर परीक्षणको दायरा बढाउन सबै स्थानीय तहलाई निर्देशन समेत दिइएको छ ।

  • तीन विद्युतीय मेसिन दिनभर व्यस्त, दैनिक ४० हजार किलो दाउरा खपत

    तीन विद्युतीय मेसिन दिनभर व्यस्त, दैनिक ४० हजार किलो दाउरा खपत

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढेसँगै पशुपति आर्यघाटमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सामान्य अवस्थामा दैनिक ४५-५० शवको दाहसंस्कार हुने पशुपति आर्यघाटमा अहिले दैनिक २ सयभन्दा बढी संख्यामा शवहरू जलिरहेका छन् ।

    कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापन सरकारले नै गर्दै आएको छ । यसमा मृतकका आफन्तले आर्थिक दायित्व व्यहोर्नुपर्दैन । मृतकको शव आर्यघाटसम्म ल्याएर दाहसंस्कार गर्ने जिम्मेवारी नेपाली सेनाको काँधमा छ । यसको आर्थिक दायित्व भने हाललाई पशुपति विकास कोषले व्यहोर्दै आएको छ ।

    नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडलका अनुसार नेपाली सेनाले हालसम्म ६ हजार ५८२ को शव व्यवस्थापन गरिसकेको छ । तीमध्ये विद्युतीय शवदाह गृहमा ३३ सय ४२ वटा शव जलाइएका छन् । बाँकी दाउराको चितामा दाहसंस्कार गरिएका हुन् ।

    संक्रमितको शव व्यवस्थापन गर्नका लागि विभिन्न मापदण्ड पूरा गरेर ‘क्यू’मा राख्नुपर्ने हुन्छ । कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै सेनाले शव व्यवस्थापनको तयारी गर्छ ।

    नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएको थियो । उनको शव विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरियो । त्यसपछि कोभिडले मृत्यु भएकाहरूको शव विद्युतीय मेसिनमै जलाउने गरिएकोमा शवको चाप बढेपछि दाउरामा पनि जलाउनुपर्ने वाध्यता भएको हो । दाउरामा जलाउने काम महंगो र झन्झटिलो हुने गर्छ ।

    मृतकको शव जलाइँदा आफन्तहरूले टाढाबाट हेर्न पाए पनि छुन र अन्य क्रियाकर्म गर्न सक्दैनन् ।

    तीन मेसिनले धान्न सकेन

    पशुपतिमा रहेको विद्युतीय शवदाह गृहभित्र शव जलाउने ३ वटा मेसिन छन् । अहिले ३ वटै चालु अवस्थामा छन् । तर, शवहरूको चाप बढेर तीनवटा मेसिनले पनि धान्न सकेको अवस्था छैन ।

    कोषका अनुसार तीनवटै मेसिन एकैचोटी चलाउन मिल्दैन । एकपटकमा दुई मेसिन चलाएर एउटालाई रेस्टमा राखिन्छ । २४ सै घण्टा चलाउँदा मेसिन छिट्टै बिग्रने गरेकाले मेसिन तातेपछि ‘कुल डाउन’ गर्नको लागि एउटा बन्द गर्नुपर्ने हुन्छ ।

    मेसिनमा शव जलाउन ५० देखि ५५ मिनेट लाग्छ । एउटा मेसिनले २४ घण्टामा २४ देखि २५ वटा शव जलाउन सक्छ । मेसिनलाई रेस्टका लागि डेढ घण्टा समय छुटयाइएको हुन्छ । अहिले ३ मेसिनले दैनिक ५० देखि ६० वटा शव जलाउने गरेका छन् । जबकि कोभिड अगाडि विद्युतीय शवदाह गृहमा दैनिक १५ देखि २२ वटासम्म शव जल्ने गर्थे ।

    संक्रमितको शव मेसिनमा नै जलाउने मापदण्ड बनेको भए पनि मेसिनले धान्न सक्ने अवस्था भएन । मेसिनको क्षमताले नधानेपछि कोषले दाउरा र मट्टितेलको प्रयोग गरेर पनि शव जलाउन थाल्यो । त्यसमा पनि स्थान अभावका कारण वागमती किनारमा अस्थायी चिता बनाएर नै दाउराबाट दाहसस्कार गर्ने गरिएको छ ।

    कोषका प्रशासकीय अधिकृत रेवतिरमण अधिकारी भन्छन्, ‘पहिले कोषको एउटा मेसिन बिग्रेको थियो । दुई वटा आलोपालो गरी चलाइएको थियो । तर यसपाली ३ वटै सञ्चालनमा हुँदा पनि भ्याइएन । बाहिरकोले पनि नभ्याएपछि अस्थायी चिता बनाइएको हो ।’

    दाउराभन्दा मेसिनमा सरल र सस्तो

    विद्युतीय मेसिनभन्दा दाउरामा शव जलाउने कार्य झण्झटिलो र खर्चिलो पनि छ । मेसिनमा ५५ मिनेटभित्र शव जल्छ भने दाउरामा डेढदेखि दुईघन्टा समय लाग्छ ।

    विद्युतीय शवदाह गृहमा शव जलाउँदा भन्दा दाउरामा बढी खर्च लाग्छ । दाउराले मात्रै शव नजल्ने भएकाले श्रीखण्ड, कपुर सालधुपहरू आवश्यक पर्छ । यद्यपि, अन्यभन्दा कोभिड संक्रमितको शव दाहसंस्कार गर्दा कम खर्च लाग्ने कोषका अधिकृतको भनाइ छ ।

    उनी भन्छन्, ‘कोभिडको शव प्याकिङमा आएको हुन्छ । खटदेखि कात्रोसम्मको सामानहरू प्रयोग हुँदैन । त्यसको खर्च कम हुन्छ । कोभिड संक्रमितको शव जलाउँदा रजिस्ट्रेसन शुल्क पनि तिर्नु पर्दैन ।’

    ती अधिकारीका अनुसार आर्यघाटमा सामान्य शव जलाउँदा चिताको मात्रै १५ हजारदेखि माथि खर्च हुन्छ । कोभिड संक्रमितको चितामा राखेर दाहसंस्कार गर्दा १० हजारसम्म खर्च हुने गरेको छ । विद्युतीय मेसिनमा दाहसंस्कार गर्दा भने ३-४ हजार मात्रै खर्च हुन्छ ।

    कोषका अधिकारीले भने, ‘विद्युतीय मेसिनमा सामान्य खट बाहेक अरु सामान आवश्यक पर्दैन विद्युतमा सामान्य खर्च लाग्ने हो ।’

    उनका अनुसार मेसिनमा एउटा शव दाहसस्कार गर्दा सामान्यतया ३२ सय रूपैयाँ लाग्छ । यस हिसाबले मेसिनभन्दा दाउरामा करिब ७ हजार महंगो पर्न जान्छ ।

    मेसिनमा दाहसंस्कार गर्दा उठेको बिजुलीको महसुलमा पनि विद्युत प्राधिकरणले सहुलियत दिँदै आएको छ ।

    सोधभर्ना नपाएको कोषको गुनासो

    पशुपतिमा जलेको शवको आर्थिक दायित्व तत्कालका लागि कोषले व्यहोर्दै आएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यो रकम कोषलाई सोधभर्ना गर्ने निर्णय गरेको थियो ।

    हालसम्म कोषले ३३ सय ४२ संक्रमितको शव व्यवस्थापन गरिसकेको छ । तर सीसीएमसीले उपलब्ध गराउने भनिएको शोधभर्ना रकम भने कोषलाई प्राप्त भएको छैन । कोषका अनुसार गत सालकै सोधभर्नाको रकम आउन बाँकी छ ।

    कोषका अधिकारीले भने, ‘पोहोर सालको अलिअलि आयो, अहिलेको बाँकी नै छ ।’

    गत वर्ष अधिकांश शव मेसिनमा जलाइएको भएर लागत कम परेको थियो । तर, यसपपाली दाउरामा पनि धेरै जलाइएकाले लागत बढेको ती अधिकारीले बताए । उनका अनुसार दैनिक मेसिनमा ५० वटा र डेढ सय शव बाहिरै जलाउने गरिएको छ ।

    गत वर्षको डेढ करोड रूपैयाँ सरकारले कोषलाई सोधभर्ना गर्नुपर्नेमा हालसम्म ६० लाख रुपैयाँमात्रै प्राप्त भएको उनको भनाइ छ । यस वर्षको भने हरहिसाब गर्नै बाँकी छ ।

    कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले दाहसंस्कारमा गरेको खर्चको सोधभर्ना सरकारबाट नआए कोष घाटामा जाने बताए ।

    उनले भने, ‘अहिले हामीसँग भएको रकमले नै खर्च गरिराखेका छौ । हाम्रो पैसा शोधभर्ना आएनभने घाटामा जान्छौ ।’

    दाउराको माग चौबर

    कोरोना संक्रमितको मृत्युदर बढेसँगै पशुपति आर्यघाटमा दाउराको माग ह्वात्तै बढेको छ । सामान्य अवस्थामा दाहसंस्कारको लागि दैनिक ८ हजार किलो दाउरा खपत हुँदै आएकोमा अहिले ४० हजार किलो दाउरा खपत हुने गरेको नेपाल वन निगम लिमिटेडले जनाएको छ ।

    पशुपतिमा दाउराको माग पुर्‍याउनै हम्मेहम्मे हुने गरेको निगमको आपूर्ति विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रसाद रेग्मीले बताए ।

    उनले भने, ‘सामान्य अवस्थामा दैनिक ८ हजार किलो दाउराले पुग्ने थियो । अहिले दैनिक ४० हजार किलोभन्दा बढी दाउरा खपत भइरहेको छ । दाउरा पुर्‍याउनै हम्मे-हम्मे भइसक्यो ।’

    संक्रमितको दाहसंस्कारको लागि दाउराको अभाव हुन नदिन निगमले बारा र पर्सामा प्रसारण लाइन जडान गर्दा काटिएको दाउरा ल्याउँदैछ । साथै निगमले १० लाख किलो दाउरा उपलब्ध गराउन निजी क्षेत्रसँग सम्झौता गरेर टेन्डर गरेको छ ।

    निगमले निजी र सरकारी क्षेत्रबाट पशुपतिमा दाउरा उपलब्ध गराउँदै आएको छ । सरकारी वन क्षेत्रबाट ल्याएको दाउराले मात्रै नपुग्ने भएकाले निजी क्षेत्रबाट पनि दाउरा ल्याउने गरिएको छ ।

  • प्रदेश अस्पतालद्वारा कोराना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सुरु

    प्रदेश अस्पतालद्वारा कोराना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सुरु

    सुर्खेत । कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमणपछि उपचारका क्रममा निधन भएकाहरुको शव तत्काल व्यवस्थापन गर्न सुरु गरेको छ ।

    जेठ २ गते नेपालप्रेसमा समाचार प्रकाशित भएपछि दवावमा आएको अस्पताल प्रशासनले मृतकको शव कम्तिमा शवगृहमा राख्ने व्यवस्था गरेको छ ।

    यसअघि मृतकको शव २१ घण्टासम्म शय्यामा रहँदा उपचाररत अन्य विरामी, कुरुवा र स्वास्थ्यकर्मीमा समेत त्रास उत्पन्न भएको थियो ।

    ‘हिजो म प्रदेश अस्पतालमा गएको थिए । सुरुमा नेपाली सेनाको व्यवस्थापन टोली नआएसम्म शय्यामै शव राख्ने गरिएकोमा शवगृहमा राख्न थालिएको पाएँ,’ कोभिड सेल्फ हेल्प समूह सुर्खेतका अभियान्ता धर्मराज आचार्यले भने । यसरी तत्काल शव हटाउँदा त्यहाँ रहेका अन्यलाई नकारात्मक असर कम हुने उनले बताए ।

    यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालले अस्पताल व्यवस्थापन समूह तथा अन्य सरोकारवाला निकायसँगको पहलमा उक्त कार्य सुरु गरिएको बताए ।

    ‘प्रदेशको सामाजिक विकास समितिले पनि यसबारेमा ध्यानाकर्षण गराएको थियो ।’ प्रजिअ रिजालले भने, ‘हामीले अहिलेलाई मृत्यु भएलगत्तै शव गृहमा राख्ने व्यवस्था मिलाएका छौं । यसबाट उपचार गराइरहेका नागरिकलाई मनोवैज्ञानिक असर नपर्नेमा हामी ढुक्क छौं ।’

  • कोभिड दाहसंस्कारमा जुट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता : पर्यटनमन्त्री

    कोभिड दाहसंस्कारमा जुट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता : पर्यटनमन्त्री

    काठमाडौं । दोस्रो पटक पुनःनियुक्ति भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस महामारीमा मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेका छन् ।

    दोस्रो कार्यकालको शुक्रबार पदभार ग्रहण गर्दै शव व्यवस्थापन गर्ने कर्मचारीलाई प्रत्येक शव बापत १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निणर्य उनले गरेका हुन् । यसअघि सरकारले जोखिम भत्ता दिँदै आएको भएपनि शव दाहसंस्कारमा सहभागी हुने पशुपति आर्यघाटका कर्मचारीलाई यस्तो भत्ता दिएको थिएन ।

    अबदेखि भने उनीहरुले प्रत्येक शव जलाएवापत प्रोत्साहन भत्ता पाउने छन् । साथै मन्त्री ढकालले कोभिडका कारण थला परेको पर्यटन व्यवसायलाई राहत मिल्ने गरी नीति निर्माण गर्न पनि निर्देशन दिएका छन् ।

    साथै अहिले पर्यटन क्षत्रको विकास भन्दा पनि उद्धार गर्ने समय भएकाले उद्धार र राहतमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

  • कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समस्या

    कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समस्या

    जनकपुरधाम । कोरोना संक्रमणका विरामीको उपचार गर्नु त पर जाओस्, मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न पनि समस्या परेको छ ।

    शव व्यवस्थापन गर्न न ठाउँ तोकिएको छ, न मापदण्ड । यतिसम्मको शव व्यवस्थापन गर्न सेनालाई ल्याउने गाडी समेत पाइरहेको छैन ।
    बुधबार जनकपुरको धनुषा अस्पतालमा उपचाररत एक व्यवसायीको निधन भयो । मृतकका परिवारले जनकपुरधाम उद्योग बाणिज्य संघका पदाधिकारीलाई शव व्यवस्थापन गराइदिन गुहारे ।

    संघका अध्यक्ष जितेन्द्र महासेठले ति व्यवसायीको शव जनकपुरकै स्वर्गद्धारीमा व्यवस्थापन गर्ने निधो गरे । उनले जनकपुर एयरपोर्टमा बसेका सेनालाई अस्पतालबाट शव स्वर्गद्धारी पुयाईदिन आग्रह गरे । सेनाको शव व्यवस्थापन टिम तयार भए । तर सेनाको टिमलाई एयरपोर्टबाट ल्याएर शव स्वर्गद्धारीमा पुर्याइदिने गाडी खोज्न हम्मेहम्मे पर्यो ।

    ‘गाडीका लागि कैयौं व्यक्तिलाई सम्पर्क गरेँ’, अध्यक्ष महासेठले भने, ‘तर कोरोनाले मृत्यु भएका व्यक्तिको शव बोक्न कोही तयार भएन । करिब ३ घण्टा हैरान भएपछि धनुषा अस्पतालकै संचालकसँग आग्रह गरेपछि उनी एम्बुलेन्स पठाउन तयार भयो ।’ कोरोनाले ज्यान गुमाउनेको शव व्यवस्थापन गर्ने पूर्व तयारी नगर्दा समस्या भएको उनको भनाई छ ।

    शव व्यवस्थापनको मापदण्ड नै धेरैलाई थाहा छैन । कोरोनाले मृत्यु भएपनि धेरै परिवार आफूखुशी दाहसंस्कार गर्छन् । तर यसतर्फ न प्रदेश सरकारको ध्यान छ, न स्थानीय प्रशासनको । स्थानीय सरकार त झन लापरबाह बनेको छ । शव व्यवस्थापनको मापदण्ड बनाउन जरुरी देखिएको संघका अध्यक्ष महासेठ बताउँछन् ।

    ‘शव कसरी व्यवस्थापन गर्ने मलाई नै थाहा थिएन’, उनले भने, ‘तर जिम्मेवारी काँधमा आएपछि सिडिओ साहेबलाई फोन गरी बुझेँ । उहाँले मृत्यु भएको अस्पतालको रेकर्ड र मृत्यु प्रमाणपत्रसहित निवेदन पेश गर्न भन्नुभयो । त्यो सब पेश गरेपछि सेनालाई जानकारी गराइयो, अनी मात्र सेनाले शव व्यवस्थापन गर्यो ।’

    प्रादेशिक अस्पताल जनकपुरको कोभिड वार्ड र अन्य अस्पतालमा कोरोनाले ज्यान गुमाएको प्रायः व्यक्तिको शव स्वर्गद्धारीमै व्यवस्थापन गरिदै आएको छ । तर त्यहाँ पर्याप्त ठाउँ छैन । संक्रमितको संख्या ह्वात्तै बढेपछि मृतक पनि बढ्ने देखिन्छ । त्यस्तो अवस्थामा शव व्यवस्थापन गर्न न दाउरा, न स्थान भेटिने अवस्था आउन सक्छ ।

    शव व्यवस्थापनका लागि उपयुक्त ठाउँ तत्कालै खोज्न नसके ठूलो समस्या सृजना हुने संघका अध्यक्ष महासेठ बताउँछन् । उनले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई शव व्यवस्थापन गर्ने उपयुक्त ठाउँ तत्काल खोज्न सुझाए । उनले भने, ‘शव व्यवस्थापन लगायतका विषयमा आज जनकपुरधामका जनप्रतिनिधिसँग छलफल गर्दैछौं ।’

    गाउँघरमा भने शव व्यवस्थापन गर्न झन चुनौती देखिन्छ । कोरोना संक्रमण फैलिने भन्दै गाउँका मानिसहरु शव व्यवस्थापन गर्न अवरोध गरिरहेको धेरै घटना घटिसकेको छ । त्यसैले सेनाको टोलीले पनि प्रायः मृतकको शव नदी किनारमा व्यवस्थापन गर्छन् ।

    जिल्ला प्रशासन कार्यालय सिरहाले भने शव व्यवस्थापन गर्ने ठाउँ तोक्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । शव व्यवस्थापन गर्ने विवाद रहित स्थानको पहिचान गरी सर्वसाधारण र सुरक्षा निकायलाई जानकारी गराउन स्थानीय तहहरुलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

    उनले भने, ‘प्रायः ठाउँमा शव व्यवस्थापनको विषयमा विवाद हुन्छ । त्यसैले विवादरहित ठाउँको पहिचान गर्न सबै स्थानीय तहलाई निर्देशन दिएका छौं ।’

    शव व्यवस्थापन गर्दा ‘शव वाहन’मा लाग्ने इन्धन र चालकलाई १ हजार रुपैया प्रोत्साहन जोखिम भत्ता पनि स्थानीय तहले दिनुपर्ने निर्णय पनि डीसीसीएमसी बैठकले गरेको छ । धनुषामा भने यस्तो कुनै निर्णय गरिएको छैन ।

  • संक्रमितको मृत्यु बढ्न थालेपछि शव व्यवस्थापनमा समस्या

    संक्रमितको मृत्यु बढ्न थालेपछि शव व्यवस्थापनमा समस्या

    रूपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा संक्रमित बिरामीको धमाधम मृत्यु भएपछि शव व्यवस्थापनमा पनि समस्या भएको छ ।

    बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकैरातमा १३ जना कोरोना संक्रमतिको मृत्यु भएपछि यस्तो समस्या आएको अस्पतालले जनाएको छ । गएराति मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका १ र १ जना रहेका छन् ।

    दुई जना सोमबार साँझ मृत्यु भएका पनि त्यही राखिएको छ । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोही आफन्त नआएपछि अस्पताल आफैले ३ दिनपछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

    बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्युपछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज मात्र शव ब्यवस्थापन गरेको थियो । उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो ।

    लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९ः०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।

    त्यस्तै सैनामैना ३ कै ४२ वर्षीय पुरुषको २६ गते राती ८ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको मध्यराती १२ः४५ बजे, कञ्चान ४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २ः५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९ः०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिए ।

    त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको २४ गते राती १२ः३० बजे, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३ः३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ ।

    डा .गौतमका अनुसार कोरोना विशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे र सुनवल १० नवलपरासीका ५९ वर्षिय पुरुषको २६ गते बिहान ३‍स्४५ बजे मृत्यु भएको थियो ।

    एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भएपछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा‍। गौतमले बताए ।
    आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ ।

    अस्पतालमै मृत्यु भएको बाहेक होमआइसोलेसनमा बसेको संक्रमितको पनि व्यवस्थापन हुन उस्तै समस्या परेको छ । स्थानीयले सामाजिक सन्जालमै सूचना निकालेर शव व्यवस्थापनका लागि आग्रह गर्न थालेका छन् ।

    बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले संक्रमितको शव व्यवस्थापनमा सेनालाई जिम्मेवारी दिइएको भएपनि एकैपटक धेरै जनाको निधन भएकाले व्यवस्थापनमा समस्या भएको बताए ।

  • स्थानीयले अवरोध गरेपछि नवलपरासी पश्चिममा २ दिनदेखि शव व्यवस्थापन भएन

    स्थानीयले अवरोध गरेपछि नवलपरासी पश्चिममा २ दिनदेखि शव व्यवस्थापन भएन

    रुपन्देही । स्थानीयले शव व्यवस्थापनमा अवरोध गरेपछि नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ का ४५ वर्षका महिलाको शव २ दिनदेखि व्यवस्थापन हुन सकेको छैन् । कोरोना संक्रमणबाट ज्यान गुमाएका ती महिलाको व्यवस्थापनमा ढिलाई हुँदा उनको शव अस्पतालको शव गृहमा राखिएको हो ।

    मृत्यु हुने वित्तिकै शव व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई जानकारी दिने गरिएको र तत्कालै शव लिने गरिएका पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मोहम्मद नुरुल होदाले जानकारी दिए । तर रामग्रामले भने अहिलेसम्म शव नबुझ्दा २ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको उनले बताए ।

    शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले विरोध गरेकाले समस्या आएको र जग्गाको खोजी भइरहेकाले ढिलाई भएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । नगरपालिकाले वडा नं.४, ५ र ६ का लागि झरही खोला र वडा नं. १, २ र ३ का लागि वडा नं. १ मा जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    तर १८ वडा रहेको नगरपालिकामा ६ वटा वडाका लागि जग्गा व्यवस्थापन गरे पनि अन्य वडाका लागि भने जग्गाको खोजी गर्न नसकिएको पन्थीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति देविलाल पौडेलका अनुसार बैशाख पहिलो सातादेखि बुधबारसम्म जिल्लामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।