Tag: वीर अस्पताल

  • वीर अस्पतालमा निर्देशकभन्दा कर्मचारीको सेटिङ बलियो, सम्पत्ति छानबिन माग गर्दै उजुरी

    वीर अस्पतालमा निर्देशकभन्दा कर्मचारीको सेटिङ बलियो, सम्पत्ति छानबिन माग गर्दै उजुरी

    काठमाडौं । वीर अस्पताल सुधारतर्फ अघि बढिरहेका बेला कोभिडको तेस्रो लहरविरुद्ध लड्ने तयारीमा जुटेको छ । डा. भुपेन्द्र बस्नेत अस्पतालको प्रमुख भएर फर्केपछि पूर्णरूपमा संचालन भएर दैनिक २५ सय बिरामीलाई सेवा दिइरहेका बेला कोभिडको नयाँ लहर थेग्नुपर्ने भएको छ ।

    डा. जागेश्वर गौतम र डा.केदार सेञ्चुरीको बहिर्गमनपछि अस्पतालले लय लिँदै गरेका बेला लामो समयदेखि वीरमा अनियमितताको अखडा बनाइरहेका विभाग हेर्ने कर्मचारीहरू मेडिकल माफियासँग सेटिङबाट काम गर्न थालेपछि निर्देशक बस्नेतमाथि दबाब बढेको छ ।

    पछिल्लो समय वीरमा २४ सै घन्टा पीसीआर हुँदै आएको छ भने टिकट काट्ने डिजिटल प्रणाली व्यवस्थाले सेवाग्राहीलाई सहज भइरहेको छ । अहिले वीरको कोभिड अस्पतालमा एक सयभन्दा बढी बिरामी उपचाररत रहेकोमा नयाँ लहरपछि संख्या बढिरहेको छ ।

    वीर अस्पतालले कोभिडको नयाँ लहरलाई लक्षित गरेर आवश्यक तयारी गरेको बस्नेतले बताएका छन् । ५ सय बेडको कोभिड अस्पताल संचालन तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छन् । अस्पतालले कोभिड सोधपुछका लागि ११३३ संचालन गरेको भने आधुनिक बेडसहितको ५०० शैया भएको सर्जिकल भवन सन्चालनको तयारीमा छ ।

    बस्नेत निर्देशक बनेर आएपछि दुवाकोटको परियोजना समेत अघि बढाएका छन् भने सीटी स्याक्यान ,एमआरआई, प्याथोलिजि, इमर्जेन्सी सेवा चुस्त बताइएको अस्पतालले जनाएको छ । कर्मचारीले लामो समयदेखि नपाएको कोभिड भत्तासमेत पाएका छन् ।

    अस्पताल सुधारको काम अघि बढिरहेका बेला भ्रष्टाचारको अड्डा भनेर चिनिने खरिद एकाई ,जनरल स्टोर ,मेडिकल स्टोर र सामाजिक एकाईका कर्मचारीले मेडिकल सामग्री खरिद तथा ठेक्का र कर्मचारी भर्नामा सेटिङ मिलाउन थालेको भन्दै बस्नेतमाथि उनीहरूलाई त्यस्ता ठाउँबाट अन्यत्र सार्न दबाब बढेको छ ।

    वीर अस्पतालको मेडिकल सामग्री खरिद , ठेक्का ,कोटेसन , कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर सेटिङमा काम हुने गरेको छ । उपकरण खरिदमा मेडिकल स्टोर र जनरल स्टोरमा लामो समय बसेका रैथाने कर्मचारी बैकुण्ठ लुइँटेल, बायोमेडिकल भावना बराल , स्टाफ नर्स भगवती थपलिया, श्याम वि.क, अहेव विण्णु फुयाल , टीकाराम पनेरू, अग्निधर वस्याललगायतको टिमले निर्देशक बस्नेतकै नाममा ‘भेन्डरसँग’ मिलेमतो गर्ने गरेको आरोप लागेको छ ।

    यसका साथै लेखा शाखाका केही कर्मचारी, मेडिकल बोर्डका अरूण महतोलगायतको नाम समेत मुछिएपछि निर्देशक बस्नेतमाथि एक्सन लिन अन्य कर्मचारीले दबाब बढाएका हुन् ।

    उनीहरूमाथि टेण्डर नगरी कोटेसनमा सामान खरिद गर्न लागेको र सेटिङवाला फर्मसँग कोटेसन लिएर भित्रभित्रै महँगा स्वास्थ्य सामग्री खरिदको घोटाला भइरहेको भन्दै सतर्कता केन्द्र तथा स्वास्थ्यमन्त्रालयसम्म उजुरी पुगेको छ । उजुरीमा लेखा शाखाका केही कर्मचारी, मेडिकल स्टोर प्रमुख टीकाराम पनेरु र जनरल स्टोर प्रमुख बैकुण्ठ लुइँटेलले टेण्डरका गोप्य कागज पहिले नै बाहिर लिक गरेको आरोप समेत लगाइएको छ । टेन्टर तयारी गर्दा नै आफूनिकटलाई दिन मिल्ने गरी यो समूहले बायो मेडिकल विभागकी करार कर्मचारी भावना बरालमार्फत व्यवसायीसँग मिलेर खरिद गर्ने गरेको आरोप लगाइएको छ ।

    निर्देशक बस्नेतको नामबाट बाहिर-बाहिरै भइरहेका डीलप्रति उनी बेखबर देखिएका छन् । नेकपा एसका नेता विरोध खतिवडा स्वास्थ्यमन्त्री भएकाले भावना बराल, विष्णु फुयाल, अग्निधर बस्याललगायतले आफूहरू नेकपा एसनिकट भएको भन्दै समानान्तर प्रशासनको अभ्यास गरेको आरोप अन्य कर्मचारीहरूले लगाएका छन् ।

    अस्पताल निर्देशक डा. बस्नेत उनीहरूको सामू निरीह भएको आरोप कर्मचारी संघ संगठनका नेताहरूको छ । विगतमा पनि बैकुण्ठ लुइँटेल, भावना बराल र डा. जागेश्वरको मिलेमतोमा २४ करोडको अनियमित टेन्डर आफूनिकट कम्पनीलाई दिएको आरोप लागेको थियो ।

    लेखा शाखा र कर्मचारीको यही समूहले सर्जिकल भवन को रकम निकासा दिदा गर्दा ठेकेदार कम्पनीसँग प्रतिशतमै कमिसन लिएरमात्र चेक काट्ने गरेको आरोप छ । गत महिना ११ करोडको चेक काटेर भुक्तानी दिँदा ४० लाख कमिसन रकम वितरण भएको थियो ।

    गता साता ८ वटा भिडिओ ऐक्सरे मेसिनको टेन्डर आह्वान गर्दा समेत बायोमेडिकल भावना बराल र बैकुण्ठ लुइँटेलले सेटिङमा दिन मिल्नेगरी स्पेक बनाएको भन्दै अरु भेण्डरले लिखित उजुरी हालेका छन् ।

    केही कर्मचारी र सामाजिक एकाइको समेत मिलेमतोमा स्वास्थ्य बीमाको ५० लाख हिनामिना भएको बेरुजु शाखाले निर्देशकलाई जानकारी गराएको स्रोतले जनाएको छ । अहिले देशकै एउटा मात्र जेनेटिक ल्याब प्याथोलोजी विभागका केही कर्मचारीका कारण महिनौदेखि बन्द छ । कमिसन नआउने सामान महिनौंसम्म खरिद प्रक्रिया नै अघि नबढ्दा सेवाग्राही मारमा परेका छन् ।

    किनकी यो ल्याब बन्द हुँदा बिरामीले जाँचका लागि विदेश जानुपर्छ । जबकी जेनेटिक ल्याबको टेण्डर फाइल ६ महिनादेखि लुकाइएको छ ।

    अस्पताल कर्मचारीहरूले लेखा, मेडिकल स्टोर, जनरल स्टोर र बायोमेडिकलका कर्मचारी र तीनका परिवारको सम्पत्ति छानबिन गरियोस् भन्दै अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागदेखि राज्यका सबै निकायमा उजुरी दिएका छन् ।

    (दर्ता भएको उजुरी नेपाल प्रेससँग सुरक्षित छ)

    उजुरीमा टिचिङबाट विवादकै कारण निकालिएकी बायोमेडिकल भावना बराललाई वीरमा दिइएको नियुक्ति खारेजीको माग गरिएको छ । बराललाई करारमा राखिएको हो ।

    उता विभिन्न निकायमा उजुरी गर्ने कर्मचारीलाई थर्काउन अस्पताल गेटमै गुण्डा राखिएको आरोपसमेत लागेको छ । यसबारेमा निर्देशक बस्नेतले भने छानबिन हुने आश्वासन दिएर पन्छिने गरेको कर्मचारीहरू बताउँछन् ।

  • वीर अस्पतालमै बन्छ ‘कडा रोगी’ को किर्ते सिफारिस, टेण्डरमा समेत ‘नक्कली बिरामी’ कर्मचारीको चलखेल

    वीर अस्पतालमै बन्छ ‘कडा रोगी’ को किर्ते सिफारिस, टेण्डरमा समेत ‘नक्कली बिरामी’ कर्मचारीको चलखेल

    काठमाडौं । वीर अस्पतालमा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीले संघमै रहनका लागि मेडिकल बोर्डको नक्कली कागजपत्र बनाउने गरेको पाइएको छ ।

    समायोजन भएको कार्यक्षेत्रमा खटिन नचाहेका केही कर्मचारीहरूको बोर्डले नक्कली सिफारिस बनाइदिने गरेको पाइएको हो ।

    अस्पतालकै मेडिकल बोर्डका कर्मचारीको मिलेमतोमा नक्कली रिपोर्ट बनाएर रकम असुलीको धन्दा गर्दै आइरहेको वीर अस्पताल स्रोतले जनाएको छ ।

    कर्मचारी समायोजन २०७६ को समयमा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूले खटाएको ठाउँमा नजान र वीर अस्पतालको स्टोर र खरिद विभागमा बसेर अनियमितता गर्न नक्कली सिफारिस लिने गरेका छन् ।

    वीर कर्मचारीहरूले समायोजन भइसकेकाहरू काममा फर्किनका लागि जटिल रोग लागेको भन्दै वीर अस्पताल मेडिकल बोर्डबाट नक्कली सिफारिस बनाइ मन्त्रालयमा पेस गरेका थिए ।

    कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा व्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ-‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठाउँमा राख्न सक्छ ।’

    एक कर्मचारीका अुनसार अस्पतालका कर्मचारीहरूले समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएकाहरूले संघमै रहनका लागि कीर्ते मेडिकल बोर्डको नक्कली कागजपत्र बनाउने गरेको पाइएको हो ।

    हाल उनीहरू वीर अस्पतालको भन्सार भनेर चिनिने स्टोर र खरिद विभागमा बसेर भ्रष्टाचार गरिरहेको खुल्न आएको छ ।

    कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा व्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ-‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठाउँमा राख्न सक्छ ।’

    ऐनको यो बुँदालाई आधार मानी मेडिकल बोर्डबाट रोगै नलागे पनि कडा रोग लागेको सिफारिस गराउँदै कर्मचारीहरू समायोजन भएका स्थानीय तहमा हालसम्म पनि गएका छैनन् ।

    चिनेको चिकित्सकबाट कडा रोग लागेको प्रेस्क्रिप्सन बनाउने र त्यही पेस गरी मेडिकल बोर्डबाट कागज बनाएर खटाएको ठाउँमा नजाने प्रवृत्ति देखिएको छ ।

    तन्दुरुस्त र कुनै रोग नलागेका कर्मचारीले पनि बोर्डबाट सिफारिस पेस गरेका छन् । बोर्डबाट कडा रोग लागेको सिफारिस गराइदिने बिचौलियाहरूको संजाल वीर अस्पतालमै छ ।

    बोर्डबाट उक्त सिफारिस बनाइदिएबापत बिचौलियाले प्रतिब्यक्ति ३ देखि ३ लाख ५० हजार रूपैयाँ सम्म लिने गरेको छन् ।

    वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । ‘क’ वर्गको सिफारिस विदेश उपचारमा जानका लागि दिने गरिन्छ । ‘ख’ वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ‘ग’ वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ ।

    तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको नभेटिने मेडिकल बोर्डका हालका एक कर्मचारीले बताए । बोर्डमा निर्देशकसहित मेडिकल विभाग प्रमुख र सर्जरी विभाग प्रमुख रहन्छन् ।

    बोर्डबाट सिफारिस भएकामध्ये १५ जनाभन्दा बढी वीरकै स्वास्थ्य समूहका कर्मचारी छन् ।

    अस्पतालमा कार्यरत डिल्लीराम खनाल, डिल्लीराम आचार्य, युवराज सुवेदी, जीवनकुमार श्रेष्ठलगायतका कर्मचारीलाई मेडिकल बोर्डले कडा बिरामी भनी सिफारिस गरेको छ । वीर अस्पतालका १५ भन्दा बढी कर्मचारीले मेडिकल बोर्डबाट कडा रोग भनी सिफारिस बनाएको अस्पताल स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार यी स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी हुन् । ‘तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरूको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लङ्ग हुनेछ’ स्रोतले भन्यो ।

    नक्कली सिफारिस लिने वीर अस्पतालका कर्मचारीहरूमा अहेव विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो शंकर झालगायत छन् ।

    यिनीहरू दैनिकरूपमा भक्तपुर, बालाजू, बूढानीलकण्ठजस्ता स्थानबाट पल्सर मोटरसाइकलमा कार्यालय आउँछन् । तर, जागिर चाहिँ कडा रोग लागेको भनेर खाइरहेका छन् ।

    मेडिकल बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको नभेटिने मेडिकल बोर्डका हालका एक कर्मचारीले बताए । बोर्डमा निर्देशकसहित मेडिकल विभाग प्रमुख र सर्जरी विभाग प्रमुख रहन्छन् ।

    उनीहरू दिनमा दशौंपटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन् । अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा पनि भाग लिन्छन् । तर, उनीहरूले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेस गरेका छन् ।

    स्थानीय तहमा नजान उनीहरूले यस्तो झूटो बिरामी भएको भन्दै ठगिरहेको अस्पताल प्रशासनका अधिकारीहरू बताउँछन् ।

    वीर अस्पतालका अहेब टीकाराम पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर बोर्डबाट रिपोर्ट बनाएका छन् । स्रोतका अनुसार उनलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने-जाने गर्छन् ।

    उनीहरूलाई सत्तारुढ नेपाली कांग्रेससम्बद्ध स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले स्वास्थ्य मन्त्रालयको पहुँचमा वीर अस्पतालमै राखी मेडिकल स्टोरको जिम्मा दिएर राखेका छन् ।

    पनेरु हाल विभिन्न मेडिकल व्यापारीसँग विभिन्न नाममा चन्दा उठाउने काममा सक्रिय छन् । उनीमाथि अहिले प्रधानमन्त्री कार्यालयमा कार्यरत दीपक भट्टको नाम लिँदै चन्दा उठाउने गरेको आरोप छ । अहेव पनेरु यतिसम्म छन् कि वीर अस्पतालकै निर्देशकलाई समेत टेर्दैनन ।

    उनले वीर अस्पतालको सरसफाइको टेन्डर पनि आफूनिकटलाई दिलाएका छन् । अस्पतालको सुपरभाइजर आफ्नै व्यापारिक साझेदार मिनालाई बनाएका छन् । उनी सरसफाइको सुपरभाइजर पनि बनाइएकी छन् ।

    केही दिनपहिले अस्पतालले सुरक्षा गार्डको टेन्डर आव्हान गरेको थियो । पनेरुले २५ लाख कमिसन लिएर आफूनिकटलाई दिन अस्पताल प्रशासनलाई दबाब दिएको भन्दै विरोध भयो ।

    आफूनिकटलाई दिन नपाएपछि उनले सो ठेक्का नै रद्द गराए । पनेरूले त्यति मात्र होइन अस्पताल फार्मेसीमा म्याद सकिन लागेको ९० लाखको औषधी बिनाआदेश मगाएर म्याद सकिएपछि सो औषधीलाई फिर्ता नगरी अस्पताल निर्देशक र प्रशासन लेखा प्रमुखसँग मिलेर व्यापारीलाई पैसा तिर्नुपर्छ भनेर दबाब दिन थालेका छन् ।

    वीर अस्पतालका अहेब टीकाराम पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर बोर्डबाट रिपोर्ट बनाएका छन् । स्रोतका अनुसार उनलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने-जाने गर्छन् । उनीहरूलाई सत्तारुढ नेपाली कांग्रेससम्बद्ध स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले स्वास्थ्य मन्त्रालयको पहुँचमा वीर अस्पतालमै राखी मेडिकल स्टोरको जिम्मा दिएर राखेका छन् ।

    टेन्डर नदिएको र मेडिकल स्टोरमा अनियमता गर्न उपसचिवले रोकेका कारण उनी अहिले अस्पतालका उपसचिव सागर मिश्रको सरुवा गर्न लागेको अस्पताल स्रोत बताउँछन् ।

    उनलाई नक्कली मेडिकल बोर्ड सिफारिस बनाएको भन्दै कारबाहीको लागि प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, र अख्तियारमा समेत उजुरीसमेत पारेको छ । उनी अहिले अस्पताल मेडिकल स्टोर प्रमुख छन् । उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट अनुदानमा आउने औषधी र उपकरणहरूको बिल बनाएर करोडौं रकम भ्रष्टाचार गरेको स्टोरका कर्मचारीहरू बताउँछन् ।

    अस्पतालमा तलवबाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरू बस्न खोजेको स्रोतको दाबी छ ।

    अहेव पनेरुले नेपाली कांगेस महाधिवेशनलाई भनेर पनेरुले व्यापारीसँग लाखौं उठाएर खाएको वीर अस्पतालका कांग्रेसनिकट स्वास्थ्य कर्मचारीको आरोपसमेत छ ।

    उनीमाथि कोभिड भ्यासिन लगाउँदा पैसा लिएर वनस्थलीको अर्किड क्याफेबाट खोप लगाउने गरेको उजुरीसमेत छ ।

    उनलाई अघिल्लो कार्यकालमा सामाजिक एकाइमा रहँदा विभिन्न नर्सिङ कलेजसँग पैसा लिँदै तालिम गराउन दिएको, बीमाको रकम अनियमिता गरेको पनि आरोप लागेको थियो ।

    अस्पतालमा तलवबाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरू बस्न खोजेको स्रोतको दाबी छ ।

    अस्पतालमा ९ जनामात्र अहेवको दरबन्दी छ । तर, हाल ३६ जना कार्यरत छन् उनलाई रमाना दिन अस्पतालमा आवाज बुलन्द भएको छ तर अस्पतालले भने हालसम्म पनेरुलाई रमाना दिएको छैन ।

  • वीरका सीईओ बस्नेतलाई असफल बनाउन बाहिर-बाहिरै मेडिकल सप्लायरसँग कर्मचारीको डिल

    वीरका सीईओ बस्नेतलाई असफल बनाउन बाहिर-बाहिरै मेडिकल सप्लायरसँग कर्मचारीको डिल

    काठमाडौं । वीर अस्पतालमा डा. भुपेन्द्र बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको भूमिका पाएपछि सुधारको प्रयास भइरहेका बेला उपकरण खरिदलगायतका टेण्डर प्रक्रियामा चलखेल सुरू भएको छ ।

    यसअघि वीर अस्पतालको निर्देशकका रूपमा सफल कार्यकाल पूरा गरेका बस्नेत डा. जागेश्वर गौतमलाई सरकारले सरुवा गरेपछि युनिफाइड अस्पतालको समेत प्रमुखका रूपमा कमब्याक भएका छन् ।

    बस्नेत आएर सुधारको प्रयास थालेपछि खरिद एकाइ, जनरल स्टोर, सामाजिक एकाइमा लामो समयदेखि बसेर आर्थिक चलेखल गर्दै आएका कर्मचारीहरूले बाहिर बाहिरै व्यवसायीसँग डिल गर्न थालेपछि बस्नेतमाथि समेत प्रश्न उठेको छ ।

    जागेश्वर गौतमनिकट मानिने कर्मचारीहरूले सप्लायरहरूसँगै बाहिर डिल गरेर मेडिकल सामग्री खरिद, विभिन्न सामान ठेक्का र कर्मचारी भर्नामा समेत मिलेमतो गरेको आरोप लागेको छ ।

    उपकरण खरिदमा मेडिकल स्टोरका टिकाराम पनेरु र जनरल स्टोर का केही कर्मचारी तथा लेखा शाखा प्रमुख लोक बोहराको अश्वभाविक चलखेलबारे बस्नेतलाई समेत केही कर्मचारीले जानकारी दिए पनि उनले एक्सन भने लिएका छैनन् ।

    बिनाटेण्डर कोटेसनबाट सामान गरिद गरेर बस्नेतलाई विवादमा तान्न खोजिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरूले लामो समयदेखि सेटिङमा रहेका सप्लायर र व्यापारीहरूलाई भुपेन्द्रकै नाममा सामानका दररेट मिलाएर ल्याउन भनिसकेका छन् ।

    लेखा प्रमुख बोहोर र अहेब पनेरुले बाहिर बाहिरै व्यापारीसँग डिल गर्दै स्वास्थ्य मन्त्रालय समेत आफूहरूले मिलाउने भनेपछि बस्नेतमाथि कर्मचारीहरूले दबाब बढाएका छन् । उनीहरूमाथि अस्पतालका सबै शाखा,विभागका स्टो आफूहरु मातहत हुनुपर्ने भन्दै प्रशासनलाई दबाब दिएको आरोप समेत छ ।

    विगत पनि लेखा शाखा प्रमुख बोहरा र डा. जागेश्वरको मिलेमतोमा म्याक्सिक लाई २४ करोडको टेण्डर दिएको विषय विवादमा परेको थियो । अस्पताल कर्मचारीहरूले लेखा प्रमुख लोक बोहराको सरुवा, मेडिकल स्टोरमाथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारी रमाना लगायतका माग राखेर स्वास्थ्य मन्त्री र सचिवलाई निवेदन दिन लागेको बताइएको छ ।

    पछिल्लो समय अस्पतालमा बस्नेतले सुधारका प्रयास भने गरेका छन् । उनी आएपछि अस्पतालमा पूर्णरूपमा संचालनमा रहेको छ भने दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ ।

    यसका साथै २४सै घन्टा पीसीआर हुँदै आएको र टिकट काट्ने व्यवस्था सहज भएको छ । कोभिड अस्पतालमा अहिले दैकिन २ सय विरामीको उपचार भइरहेको छ । त्यस्तै ५ सय शय्याको सर्जिकल अस्पताल पनि पूर्णरूपमा सञ्चालनको तयारी भइरहेको छ ।

    बस्नेत आएपछि कर्मचारीले नपाएको कोभिड भत्ता,औषधी खरिद खर्च, समयमै तलब र सेवा विस्तार भत्तासमेत पाएका छन् । तर, उनलाई नै निरीह बनेर मेडिकल सामाग्री खरिदमा चलखेल हुन थालेपछि बस्नेतको ध्यानाकर्षण गराइएको एक कर्मचारीले बताए ।

  • जागेश्वरको प्रष्टोक्ति- शान्ति सुरक्षा कायम गर्न प्रहरीको सहयोग लिनुपर्‍यो

    जागेश्वरको प्रष्टोक्ति- शान्ति सुरक्षा कायम गर्न प्रहरीको सहयोग लिनुपर्‍यो

    काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमले आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीसँग आउँदा दिनमा सौहार्दपूर्ण वातावरणमा छलफल गर्न सकिने बताएका छन् ।

    समस्या समाधान गर्न दुई पक्षबीच छलफल भइरहेको बेला कर्मचारीले आन्दोलन गरेपछि प्रहरी प्रशासनको सहयोग लिनुपरेको उनको भनाइ छ । मंगलबार विज्ञप्तिमार्फत गौतमले समाधानका लागि निचोडमा पुग्ने क्रममा रहेको बेला कर्मचारीहरू आन्दोलित भएपछि शान्ति सुरक्षा कायम गर्न लागि प्रहरी प्रशासनको सहयोग लिनुपरेको जिकिर गरेका छन् ।

    प्रहरीको सहयोग लिँदा व्यवस्थापन र कर्मचारीबीच वैमनस्यताको वातावरण सिर्जना भएको भन्दै दु:ख व्यक्त गरे ।

    गौतमले लेखेका छन्,‘ समस्या समाधानको क्रममा व्यवस्थापन पक्ष र कर्मचारी वर्गबीच समय समयमा छलफल भई निचोडमा पुग्ने क्रममा मिति २०७८।४।१७ आइतबारका दिनको छलफलमा केही कर्मचारी साथीहरुले ठेलम ठेल गरी असहज परिस्थितिको सृजना भई शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी प्रशासनको सहयोग लिनु परेको अवस्थाले गर्दा व्यवस्थापन र कर्मचारीबीच वैमनस्यताको वातावरण सृजना भएकोमा अस्पताल प्रशासन दुःख प्रकट गर्दै आगामी दिनमा सवै प्रकारका समस्यहरुको समाधान सौहार्दपूर्ण वातावरणमा आपसी छलफल र संवादवाट गर्न सकिने व्यहोरा अनुरोध गरिन्छ।’

    अस्पतालमा आम्दानी घटेकाले कर्मचारीहरूले विगतमा खाइपाइ आएको सेवा सुविधा प्रदान गर्न असहज भएको उनको दावी छ ।

  • वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जागेश्वर गौतमलाई प्रवेश निषेध (तस्बिरहरू)

    वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जागेश्वर गौतमलाई प्रवेश निषेध (तस्बिरहरू)

    काठमाडौं । ९ महिनादेखि सेवा सुविधा नपाएको गुनासोसहित वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीमा खटिएवापत सरकारले तोकेको भत्ता र नियमानुसारको अन्य सुविधाबाट आफूहरू वञ्चित भएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

    माग पूरा गराउन पटकपटक अनुरोध गर्दा पनि प्रमुख डा. जागेश्वर गौतमले बेवास्ता गरेपछि आफूहरू थप पीडित बनेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले बताए । आफूहरूको आन्दोलन दबाउन प्रहरी लगाइएको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका छन् । गौतमलाई अस्पताल प्रवेशमा रोक लगाएको आचार्यले बताए । उनका अनुसार प्रहरीको कुटाइबाट ३ नर्ससहित ५ जना घाइते भएका छन् ।

    ‘मंसिरदेखि भत्ता पाएका छैनौं । खाइपाइ आएको सुविधा पनि अहिले स्थगित गरिएको छ । मन्त्रालयबाट जागेश्वर आउनासाथ हौसिएका थियौं । हामीले कुरा गर्दा असार मसान्तसम्म बाँकी बक्यौता दिने आश्वासन पायौं’, अध्यक्ष आचार्यले भने, ‘तर साउन अन्तिम पुग्न लाग्दा पनि अघिल्लो आर्थिक वर्षको पैसा दिइएको छैन ।’

    गौतमले पैसा दिन सक्दैनौं भनेको । आफ्ना कर्मचारीको रोजीरोटीमा समेत धक्का लाग्ने गरी अस्पताल प्रशासनले अन्याय गरेको भन्दै आचार्यले आफ्ना कर्मचारी कुटाउने हाकिम हुन सक्दैनन् भनेर अस्पतालमा छिर्न नदिइएको प्रष्ट्याए ।

    तस्बिरहरू : उमेश कार्की/सरोज बैजु

  • वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन

    वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन

    काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश-२०७८ बाट सरकारले त्यलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो ।

    केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औं तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा जनाइएको छ ।

    कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड-१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ । यस्तै संक्रमितको उपचार व्यवस्थापन अक्सिजन आइसोलेशन, हार्ड डिपेन्डेन्सी युनिट (एचडीयू) र सघन उपचार कक्ष (आइसीयू) हुने छन् । टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन हुने छ ।

    युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । यस्तै जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्न आदेश पनि दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

    केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्रीका अध्यक्षतामा निर्देशक समिति

    अध्यादेशमा कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने उल्लेख छ । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।

    निर्देशक समितिले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने सक्ने जनाइएको छ ।

    -रासस

  • वीर अस्पतालमा अनियमितताको आरोप, छानविन समिति के गर्दैछ ?

    वीर अस्पतालमा अनियमितताको आरोप, छानविन समिति के गर्दैछ ?

    काठमाडौं । वीर अस्पताललाई चिकित्सक र स्टाफ नर्स भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लागेको छ ।

    नयाँ सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकेता गर्दा पनि न्याम्स प्रशासनले भवन सञ्चालनको प्रक्रिया अघि नबढाएपछि मन्त्रालय आफैंले बजेट दिएर २०० शय्या कोभिड वार्ड सञ्चालन गर्न भनेको थियो ।

    त्यसपछि न्याम्स प्रशासनले आकस्मिक विभागका लागि १४ जना चिकित्सक र ८ जना स्टाफ नर्स माग गरेको थियो । जसमा १४ जना चिकित्सकका लागि २३ र ८ नर्सका लागि २०० जनाले निवेदन दिइसकेका छन् ।

    नयाँ सर्जिकल भवनमा २ सय कोभिड शय्या सञ्चालन गर्ने भनिएकोमा वैशाख २२ गते १०० जना स्टाफ नर्स र ३ जना वरिष्ठ चिकित्सक माग भएको अन्तिम दिनसम्म १ हजार ८०० जना स्टाफ नर्सले निवेदन दिएका थिए ।

    न्याम्सका उपकुलपति प्रा.डा.डीएन शाहले आफूनिकट विवादित शाखा अधिकृत रमण खड्कालाई जिम्मा दिई मन्त्रालय र आफूनिकटका १०० जना स्टाफ नर्सको नाम छनोट समितिमा बुझाएपछि विभिन्न निकायमा उजुरी परेको छ ।

    ‘उपकुलपतिले आफ्नो एजेण्ट नै खटाएर रकम उठाउनुभएको छ,’ निर्देशक कार्यालय स्रोतले जनाएको छ ।

    ‘यस्तो महामारीमा पनि ज्यान जोखिममा राखेर काम गर्छु भन्नेलाई रकममा लेनदेन हुनु योग्य र सक्षम कर्मचारी नआउनु अस्पतालका लागि दुर्भाग्य हो,’ अस्पतालका अधिकृत तहकी एक स्टाफ नर्सले नेपाल प्रेससँग भनिन् ।

    स्टाफ नर्स भर्नामा आर्थिक चलखेल भएको भन्दै कर्मचारीले उपकुलपतिको ध्यानाकर्षण गराइसकेका छन् । कर्मचारी संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएका थिए ।

    विरोध गर्ने कर्मचारीलाई अस्पताल प्रशासनले सरुवा र कारवाहीको धम्की दिइरहेको उनीहरूको गुनासो छ ।

    अक्सिजन मेसिन खरिदको फाइल अघि बढेन

    अस्पतालमा कोभिडको उपचारमा दक्ष टोली खटिए पनि इमर्जेन्सी, आईसीयू र कोभिड वार्डमा अक्सिजन नभएर दिन दिनै बिरामी ज्यान गुमाइरहेका छन् । तर कमिसनमा कुरा नमिल्दा उपकुलपति शाह र खरिद इकाईले अक्सिजन मेसिन खरिदको फाइल पनि अगाडि नबढाएको आरोप लागेको छ ।

    उपकुलपतिले कमिसनका लागि सानो फाइल पनि रोक्ने र पैसा पाएपछि मात्र सदर गर्ने गरेको अस्पताल स्रोतको दावी छ । उनले अधिकार जति सबै आफैसँग राखेर चेक समेत आफैंले काटेर कमिसन लिने गरेको आरोप छ ।

    पीसीआर मेसिन थन्क्याइयो

    राष्ट्रिय सर्तकता केन्द्रको प्रतिवेदन अनुसार कमिसन नपाएका कारण खरिद प्रमुख भगवती थपलियाको टिमले बिग्रिएका सिटी स्क्यान, मेमोग्राम, इन्डोस्कोपी, फाइवर स्क्यान, इबस, टीएमटी, सि-आर्म, १२ वटा भेन्टिलेटरलगायत उपकरण मर्मत गरेका छैनन् ।

    ८० रूपैयाँमा पाउने ओपीडी छाप १ सय ५० वटा खरिद गर्नुपर्नेमा उपकुलपतिनिकट कर्मचारीको चौरी गंगा सप्लायर्ससँग ५ सय २५ मा खरिद गरेको खरिद इकाईका एक सदस्यले बताए ।

    उनका अनुसार खरिद प्रमुखले उपकुलपति कार्यालय जाने लिफ्ट जडान गर्दा ४० लाख अनियमितता गरेको, दुवाकोट परियोजना सञ्चानलका लागि डीपीआर बनाउन आफूनिकटले उपकुलपतिले २ आर्थिक वर्षको ८० करोड बजेट फ्रिज गराएको विषय पनि स्वास्थ्य मन्त्रालयले छानबिनमा ल्याएको छ ।

    यस्तै खाद्यान्नको टेन्डरमा अनियमितता गरेको, सदर नै नभएको फाइल उपकुलपतिले सदर गरी टेन्डर खारेज गरेको भनी गोरखापत्रमा सूचना निकालेको र पछि उपकुलपतिले उक्त टेन्डर रद्द गर्ने पैसा पाएपछि पुनः फाइल सदर गरेको बताइन्छ ।

    आफूनिकट निर्देशक ल्याउन स्वास्थ्यमन्त्रीलाई प्रस्ताव

    खरिद इकाइको टिमले अस्पतालमा रिक्त रहेको निर्देशक सिफारिसमा आफूअनुकुल काम गर्ने व्यक्तिलाई मात्र सिफारिस गर्न उपकुलपति शाहलाई दबाब दिइरहेका छन् ।

    खरिद इकाईले आफूनिकट निर्देशक ल्याउन मेडिकल माफियामार्फत स्वास्थ्यमन्त्रीसमक्ष अनुचित प्रस्ताव लगेको अस्तालका एक वरिष्ठ डाक्टरले बताए ।

    ६ बर्षदेखि कार्यरत खरिद एकाईले नयाँ सर्जिकल भवनलाई चाहिने अर्बौंको उपकरण आफूलाई कमिसन दिने व्यापारीलाई मिल्ने गरी टेन्डर गर्ने तयारीमा छन् । इकाइलाई उपकुलपति शाहको साथ रहेको प्रशासनका एक कर्मचारीले बताए ।

    ‘पटक-पटक खरिद इकाई परिवर्तन गर्ने फाइल उठे पनि निर्देशक, रजिष्ट्रार र रेक्टरले किन अधि बढाउँदैनन ?,’ उनले प्रश्न गरे, ‘विरोध गर्ने कर्मचारी र डाक्टरलाई धम्काउने र तर्साउने काम किन गरिन्छ ?’

    कर्मचारी संघले राष्ट्रिय सर्तकता केन्द्रको निर्देशन अनुसार दोषीलाई कारवाही र नयाँ खरिद इकाइको गठनका लागि माग गरेको छ । संघले खरिद इकाइमा कार्यरत प्रमुखलगायतको सम्पत्ति छानविनसहित अन्य विषयमा छानविन गरी कारवाही गर्न प्रधानमन्त्री कार्यालय, संसदको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, स्वास्थ्य मन्त्रालयलगायतमा उजुरी दिएको छ ।

    उपकुलपतिले प्रमाण दिन नमानेपछि..

    वीर अस्पताल स्वास्थ्य कर्मचारी संघले गत फागुन ३ गते वीर अस्पताल तथा ट्रमा सेन्टरमा कर्मचारी भर्ना, उपकरण खरिद, उपकरण मर्मत, समायोजन हुन नक्कली बिरामी भएको मेडिकल बोर्ड सिफारिस बनाएको, आफूनिकटसँग कोटेसनमा सामान खरिदमा अनियमितता भएको, दुवाकोट परियोजना र सर्जिकल भवन सञ्चालनमा बाधा खडा गरेकाले छानविन गरी पाउँ भनेर उजुरी दिइसकेकेको छ ।

    संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र र स्वास्थ्य तथा मन्त्रालयमा उजुरी दिएपछि प्रधानमन्त्री कार्यालयले फागुन ५ गते स्वास्थ्य मन्त्रालयलाई यस बारेमा छानविन गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार स्वास्थ्य मन्त्रालयले फागुन १३ गते १५ दिन भित्र छानविन गरी प्रतिवेदन दिने गरी मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रिता भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    समितिले अहिलेसम्म छानविन प्रतिवेदन नबुझाएपछि कर्मचारी संघले बैशाख १६ गते पुनः ती सबै निकायमा उजुरी दिँदै छानविन प्रतिवेदन बुझाउन नक्कली मेडिकल बोर्ड सिफारिस छानविन गर्न माग गरेको थियो ।

    स्वास्थ्य मन्त्रालयले यही बैशाख १४ गते छानविन समितिलाई ३ दिन भित्र प्रतिवेदन बुझाउन ताकेता पत्र काटेको छ । समितिका एक सदस्यले भने छानबिनका लागि आवश्यक कागजात वीर अस्पताल खरिद एकार्ई र न्याम्सका उपकुलपतिको दवावका कारण उपलब्ध नगराएकाले प्रतिवेदन तयार गर्न ढिलाई भएको जानकारी दिए ।

    आफ्नो अनियमितता पर्दाफास हुने भएकाले आवश्यक कागजपत्र उपकुलपतिलाई भनेर नदिएको उनी बताउछन् । छानविन समिति खरिद एकाईले गरेको भष्टाचारका बारेमा २४ घन्टा भित्र सबै जानकारी दिन पत्र पनि काटिसकेको छ ।

    कर्मचारीले कोभिड भत्ता नदिएको, सेवा बिस्तार भत्ता, औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरना बिमा नदिएको, अस्थायी करार ज्यालादारी कर्मचारीलाई ३ महिनासम्म तलव नदिएको तर कमिसनका लागि व्यापारीलाई भने खरिद एकाई, लेखा शाखा र उपकुलपतिले रकम निकासा गरेको बताएका छन् ।

    संघले खरिद एकाइले भ्रष्टाचार गरेकोमा छानविन गर्न माग गर्दै यस वर्ष समयमा तलव भत्ता, कोभिड भत्ता, कर्मचारी बिमा, आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री, कर्मचारी विरामी हुदाँ उपचार र बेडको व्यवस्था तत्काल उपलब्ध गराउन माग गरेको छ ।

    त्यस्तै सर्जिकल भवन १०० शय्या आईसीयूसहित पूर्ण रुपमा सञ्चालन गर्न र तत्काल अक्सिजन प्लान्ट जडान गर्न पनि माग गरेका छन् । वीर र नयाँ सर्जिकल भवनमा आफूनिकटलाई टेन्डर दिन नपाएपछि खरिद इकाई अहिले काठमाडौं महानगरपालिकाले दिने उपकरण नलिने र पैसा मागेर आफैं टेन्डर गर्नुपर्ने भन्दै आइतबार उपकुलपतिलाई समेत दबाब दिइसकेका छन् ।

    आरोप प्रमाणित गर्न उपकुलपति शाहको चुनौती

    उपकुलपति प्रा. डा. डीएन शाहले भने आफू र अस्पताल प्रशासनमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

    उपकुलपति प्रा. डा. डीएन शाह

    उनले नेपाल प्रेससँग कुराकानी गर्दै भने, ‘यदि मैले कुनै बदमासी गरेको छु भने प्रमाणित होस, म हदैसम्मको कारवाही भोग्न तयार छु, तर मलाई कोहि कसैले कपोकल्पित र घृणित आरोप लगाएको ठहरियो भने उनीहरुलाई पनि हदैसम्मको कारवाही हुनुपर्छ भन्ने पनि मेरो माग छ ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानविन समितिलाई किन प्रमाण नदिएको भन्ने प्रश्नमा उपकुलपति शाहले भने, ‘तपाईंको यस प्रश्नबाट नै सरकारले गठन गरेको छानविन समिति कति कमजोर छ भन्ने प्रमाणित भएको छ । यति मैले छानविन समितिलाई प्रमाण नदिएको भए मलाई यत्तिकै किन छोडेको सरकारले ? आवश्यक प्रमाण नदिने पदाधिकारीलाई कारवाही गर्नुपर्दैन ?’ उनले उल्टो प्रश्न गर्दै भने, ‘अहिलेसम्म सरकाले गठन गरेका कुनै छानविन समितिलाई प्रमाण नदिएका कारण प्रतिवेदन तयार गर्न सकेनौ भन्ने सुन्नुभएको छ ? छैन नि ? अनि यो कसरी भन्न सकेको हो ?’

    उपकुलपति शाहले आफूविरुद्ध भ्रामक र कपोकल्पित हल्ला फैलाउनेलाई आफुले राम्रोसँग चिनेको पनि बताए । उनले भने, ‘मलाई थाहा छ, मविरुद्ध को लागिरहेको भन्ने कुरा । जो मविरुद्ध उत्रिएका छन् नि, तिनीहरू भनेका अस्तालमा काम नगर्ने, राजनीति गर्ने व्यक्ति हुन् । उनिहरूका केही स्वार्थ, ती स्वार्थ पूरा भएन, त्यसैले मविरुद्ध खनिएका हुन् ।’

    उपकुलपति शाहले अहिलेको प्रकरणमा मात्र नभइ आफू न्याम्सको उपकुलपति नियुक्त भएदेखि अहिलेसम्मको अवधिमा आफूले गरेका कुनै पनि काममा बदमासी गरेको प्रणाणित गरेर देखाउन पनि चुनौती दिएका छन् । उनले भने, ‘यो प्रकरण मात्र नभइ यहाँ रहँदा गरेको कुनै पनि काममा बदमासी गरेको देखिए म हदैसम्मको कारवाही भोग्न तयार छु ।’

  • अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    काठमाडौं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।

    अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताए ।

    नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ । ‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौं तर अक्सिजन नभएपछि त्यतिकै रोकिएको छ ’, उनले भने, ‘अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन ।’

    शुरुमा १ सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिए ।

  • बाबुराम भट्टराई अस्पताल भर्ना

    बाबुराम भट्टराई अस्पताल भर्ना

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्यूरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

    भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्।

    ‘पेटको न्यूरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु,’ भट्टराईले ट्वीट गरेका छन्, ‘दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सतप्रयास र सबैको सद्भावले स्वास्थ्यलाभ हुने नै छ। केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ-कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं ।’

    ट्युमर चाँडो फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईको भोलि शल्यक्रिया हुनेछ ।

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कर्मचारी युनियन पुनः दर्ता

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कर्मचारी युनियन पुनः दर्ता

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी युनियन, पुन दर्ता भएको छ। वीर अस्पताल, ट्रमा सेन्टर र नर्सिङ क्याम्पसमा कार्यरत कर्मचारीको युनियन २०६५ मा ट्रेड युनियनमा दर्ता भई कार्य संचालन गर्दै आए पनि डा.प्रकाश बहादुर थापाको अध्यक्षतामा पुर्नगठन पछि नविकरण नगरेर पुनः दर्ता भएको हो ।

    वैशाख २ गते पुनः दर्ता गरेर युनियनलाई सक्रिय बनाएर काम गर्न खोजिएको युनियनका सचिव दिपक मुडभरीले नेपाल प्रेसलाई जानकारी दिए । युनियनले सेवाग्राहीलाई सहज सुलभ, गुणस्तरिय, भरपर्दो, छिटोछरितो सेवा प्रवाह, तथा गुणस्तरीय अध्ययन अध्यापन र कर्मचारी हकहित एंव वृत्ति विकासमा काम गर्दै आएको छ । प्रतिष्ठान मातहत वीर अस्पताल, ट्रमा सेन्टर र नर्सिंग क्यापस रहेका छन् ।

  • खुलामञ्च खुला गर्दै काठमाडौँ महानगरपालिका

    खुलामञ्च खुला गर्दै काठमाडौँ महानगरपालिका

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने तयारी सुरु गरेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको भन्दै महानगरपालिकाले ती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने तयारी अघि बढाएको हो ।

    महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार अहिले दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । उनले भने ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो । कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गर्छौ ।’

    पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, ¥याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडक अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भई महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीको भनाई छ ।

    ‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठुला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका संरचना निर्माण हुने र ती संरचनाका लागि प्रयोग हुने निर्माण सामग्री जथाभावी सडकमा राख्दा सडकको स्वरुप नै विग्रिने भएकाले महानगरपालिकाले असल नियतले ठाउँ उपलब्ध गराएको हो । अब ती संरचना निर्माण सम्पन्न भएको अवस्थामा खुलामञ्च खुला गर्नुको अर्को विकल्प छैन ।’

    ज्ञवालीले प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै छाड्ने बताए। भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाई छ

    ‘भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रुपमा सञ्चालनमा छ,’ ज्ञवालीले भने, ‘अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताए । ‘ठेकेदार कम्पनीले पछिल्लो पटक दिएको प्रतिवेदन अनुसार ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेका छन्,’ शाहले भने, ‘हामीले पनि ठेकेदारलाई जति सक्दो छिटो काम सम्पन्न गर्न भनेका छौँ । म अझै पनि उनीहरुसँग तुरुन्तै छलफल गरी जति सक्दो छिटो काम सम्पन्न गरी खुलामञ्च खुला गर्न निर्देशन दिन्छु ।’

    उनले बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधिन अस्पताल भित्रै राखेर पनि गर्न सकिने रहेछ भने त्यसमा पहल गर्ने प्रतिवद्धता व्यक्तगरे । ‘हाम्रै परिसर भित्र निर्माण सामग्री राख्न सकिन्छ भने त्यो उपाय पनि गर्न हामी तयार छौँ,’ उनले भने, ‘खुलामञ्च सार्वजनिक ठाउँ हो । त्यसको उपादेयता अझ बढेको अवस्थामा सक्दो छिटो खाली गर्ने प्रयास गर्नुको विकल्प छैन ।’

    वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले पनि खुलामञ्चमा थुपारेका निर्माण सामग्री हटाउन सकारात्मक रहेको जानकारी गराए । ‘हामी त्यहाँका सामग्री हटाउन सकारात्मक छौँ । निर्माणको काम अझै केही बाँकी रहेकाले र अझैसम्म कामदार त्यहाँ बसिरहेकाले केही समस्या भएको छ,’ उनले भने, ‘पार्किङ क्षेत्र हामी एक हप्ता भित्रै खाली गर्न तयार छौँ । मैले ठेकदारसँग पनि छलफल गरिसकेको छु । कोभिड, बजेट निकासामा भएको ढिलाइलगायतले समयमा काम सम्पनन गर्न नसक्दा केही ढिलाई भएको हो ।’

    काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि वीर अस्पताल र दरवार हाइस्कुल प्रशासनसँग निरन्तर छलफलमा रहेको भन्दै जति सक्दो छिटो खुला गर्ने तयारीमा रहेको जानकारी दिए । ‘दरवार हाइस्कुलको हस्तान्तरण भै पठन–पाठन सुरु भएको छ,’ सापकोटाले भन्नुभयो, ‘वीरको पनि ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेपछि अब जतिसक्दो छिटो खाली गर्नुको अर्को विकल्प छैन ।’

  • हेल्थ डेस्क क्लिनिक वीर अस्पताललाई हस्तान्तरण

    हेल्थ डेस्क क्लिनिक वीर अस्पताललाई हस्तान्तरण

    काठमाडौं । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक (ज्वरो नाप्ने कोठा) औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    नेपालमा कोभिड १९ को महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा न्यू डायमेन्सन, कुलेश्वर – १४ को सहयोग तथा वीर अस्पतालको सहकार्यमा ज्वरो नाप्ने कोठा सञ्चालनमा आइरहेको थियो ।

    उक्त हेल्थ डेस्क क्लिनिक सोमबारदेखि औपचारिक रुपमा बिर अस्पताललाई हस्तान्तरण गरिएको हो । वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डको विषयमा काउन्सिलिङ गर्नुपर्ने, तथा कोभिड १९ को संक्रमित पनि छुट्याउनुपर्ने भएकोले वीरमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्ककि सचिव लता घिमिरेले जानकारी दिए ।

    हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार तथा सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ ।

    हेल्थ डेस्क क्लिनिक(ज्वरो नाप्ने कोठा ३ लाख ७५ हजार रुपैँयाको लागतमा निर्माण भएको हो । कुनैपनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गरिएको छ ।