Tag: विराटनगर

  • महानगरको पहिलो नतिजा आयो, विराटनगरको मेयरमा कांग्रेसका कोइराला भारी मतान्तरले विजयी

    महानगरको पहिलो नतिजा आयो, विराटनगरको मेयरमा कांग्रेसका कोइराला भारी मतान्तरले विजयी

    काठमाडौं । ६ महानगरमध्ये पहिलोपटक विराटनगरको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला भारी मतान्तरले विजयी भएका छन् ।

    कोइरालाले ३०, १७० मत पाए भने उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१, ४५५ प्राप्त गरेका छन् ।

    त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की अत्यधिक मतका साथ विजयी भएकी छन् । कार्कीले २५, ६८० मत ल्याउँदा प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १४, २१९ मत पाए ।

  • विराटनगर: मेयरमा कांग्रेस अगाडि, वडा जित्नेमा एमाले पहिलो

    विराटनगर: मेयरमा कांग्रेस अगाडि, वडा जित्नेमा एमाले पहिलो

    विराटनगर । मेयरमा पछि परे पनि विराटनगर महानगरपालिकामा नेकपा एमालेले वडामा अग्रता लिएको छ ।

    मत गणना सम्पन्न भएका ६ वटा वडामध्ये तीन वडा अध्यक्षमा एमालेले जित निकालेको हो ।

    अहिलेसम्म मतगणना सम्पन्न भएका वडा १, २, १६, १७, १८, र १९ को सार्वजनिक मत परिणामअनुसार १, २ र १९ मा क्रमशः एमालेका काजी बस्नेत, कुमार पोखरेल, र श्याम घिमिरे विजयी भएका छन् । त्यसैगरी कांग्रेसले अहिलेसम्म १६ नम्बर वडामा जित निकालेको छ । कांग्रेसका उद्धव भुजेल विजयी भएका छन् ।

    १८ नम्बर वडामा स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार जितेन्द्र साह विजयी भएका छन् भने जनता समाजवादी पार्टीका समिम कमर १७ नम्बर वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    यहाँ मेयरमा भने कांग्रेसका नागेश कोइराला ८४४७ मतसहित अगाडि छन् । एमालेका उममेदवार सागर थापाले ६२४७ मत प्राप्त गरेका छन् ।

    यसैगरी उपमेयरमा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छिन् । शिल्पाले ७१११ मत प्राप्त गरेकी छिन् भने अमरेन्द्र यादवले ४६४५ मत मात्र ल्याएका छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा महानगरमा कांग्रेसले १९ वडामध्ये ८ वटा वडामा जित निकालेको थियो । जसपाले ६ वटा वडा र एमालेले ३ वटा वडामा जित निकालेको थियो ।

    माओवादी केन्द्रले एउटामा वडा अध्यक्ष जितेको थियो ।

  • विराटनगरको मेयरमा हाई प्रोफाइलको आकर्षण, कांग्रेसका दुई केन्द्रीय सदस्य नै मैदानमा

    विराटनगरको मेयरमा हाई प्रोफाइलको आकर्षण, कांग्रेसका दुई केन्द्रीय सदस्य नै मैदानमा

    विराटनगर । आसन्न स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा हाई प्रोफाइलका नेताहरुको आर्कषण बढेको छ । यहाँ नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारीका लागि केन्द्रीय सदस्यद्वय डिला संगौला र अमृत अर्यालले समेत दाबेदारी प्रस्तुत गरेका छन् ।

    वैैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा आफूहरु मेयर पदका लागि लड्न तयार रहेको उनीहरुले बताएका छन् । उनीहरु दुवैजना कांग्रेसको संस्थापन पक्षका हुन् । र उनीहरु प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

    संगौलाले भनिन्, ‘मलाई पार्टीले मेयर पदको लागि अनुमोदन गर्छ भने म त्यो जिम्मेवारी लिन तयार छु ।’ विराटनगरको मेयर भएर विकासको स्वरुप फेर्न काममा आफू लाग्ने संगौलाले बताइन् ।

    अर्को केन्द्रीय सदस्य अर्यालले पनि आफूलाई पार्टीले मेयरको टिकट दिएको खण्डमा चुनाव लड्न तयार रहेको बताए । ‘पार्टीले दिएको जिम्मेवारी बहन गर्न म तयार छु’, अर्यालले भने ।

    त्यस्तै संस्थापन पक्षकै बहालबाला मेयर भीम पराजुली पनि मेयर पदको आकांक्षी रहेका छन् । यसबाहेक डा शेखर कोइराला पक्षबाट मोरङ उपसभापति नागेश कोइराला, उपप्रमुख इन्दिरा कार्कीलगायतका नेताहरू दाबेदार छन् ।

    विराटनगर महानगरमा एक्लै चुनावमा जाने निर्णय गरेको नेपाली कांग्रेस नगर समितिले महानगरको प्रमुख तथा उपप्रमुखको नाम सिफारिसका लागि आज बैठक बस्ने तयारी भइरहेको नगर सचिव तेजेन्द्र भट्टराईले जानकारी दिए ।

    २०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए । अघिल्लोपटक कांग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।

    त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने ।

    एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रहलादप्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए ।अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको छ ।

    कांग्रेसले केन्द्रको सहमति तोड्न खोजेको माओवादीको आरोप

    आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई प्रदेशमा कार्यान्वयन गर्न आनाकानी गरेको रिपोर्ट नेकपा माओवादी केन्द्र प्रदेश कमिटिले केन्द्रमा पठाएको छ ।

    माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीका अनुसार गठबन्धन गर्नेबारे छलफल तथा बैठकमा कांग्रेस उदासिन भएजस्तो देखिएको सुझाव केन्द्रलाई पठाइएको हो ।
    पार्टीले स्थानीय तहको अवस्था तथा गठबन्धनको अवस्थाबारेमा ठोस सुझाव पेश गर्न आग्रह गरेअनुसार सुझाव पेश गरिएको उप्रेतीले जानकारी दिए ।
    अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाइएको पत्रमा केन्द्रको सर्कुलर अनुसार ५ वटा कमाण्ड बनाएर चुनाव परिचालन अभियान प्रदेशभरी संचालन गरिएको पनि उल्लेख छ ।
    नेपाली कांग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको भन्दै एक्लै चुनावमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।

  • विराटनगरको मेयरमा कसले मार्ला बाजी ? पूर्वकर्मचारीदेखि पूर्वमन्त्रीसम्मको चर्चा

    विराटनगरको मेयरमा कसले मार्ला बाजी ? पूर्वकर्मचारीदेखि पूर्वमन्त्रीसम्मको चर्चा

    विराटनगर । मुलुकका ६ महानगरपालिकामध्येको एक विराटनगरमा पनि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा चुनावी जोडघटाउसँगै दलका सम्भावित उम्मेदवारको चर्चा चुलिएको छ ।

    आकांक्षीहरुले नेतासँग लबिङ बढाएका छन् भने मतदाता र कार्यकर्ता पनि पार्टीबाट निर्धारित हुने उम्मेदवारको प्रतीक्षामा छन् ।

    कांग्रेसमा पराजुलीदेखि डिला संग्रौलासम्मको चर्चा

    यहाँ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले मेयर र उपमेयर जितेको थियो । विराटनगरमा पहिला जितेका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भिम पराजुलीले फेरि दोहोरिन चाहेका छन् । यसअघि डा. शेखर कोइराला पक्षमा रहेका पराजुली कांग्रेसको १४औं महाधिवेशनमा स्थानीय तहको टिकटकै लागि सभापति शेरबहादुर देउवा पक्षमा लागेका थिए ।

    देउवा पक्षबाटै केन्द्रीय सदस्य बनेका उनी २०६८ र २०७२ सालमा कांग्रेसको नगर सभापति बनेका थिए ।

    त्यसैगरी मोरङ कांग्रेसका उपसभापति नागेश कोइराला पनि मेयरको टिकटका लागि दौडमा छन् । उनले पनि केन्द्रीय नेतासँगको लबिङ तीव्र पारेका छन् । उनी कांग्रेसमा डा. शेखर कोइरालाका विश्वासपात्र मानिन्छन् । त्यसैगरी केन्द्रीय सदस्यद्वय डा. डिला संग्रौला र अमृत आर्यालको पनि मेयरमा चर्चा छ । तर उनीहरुले औपचारिकरुपमा मुख खोलेका छैनन् ।

    एमालेमा पूर्वमन्त्रीसम्मको दाबी

    एमालेको तर्फबाट प्रदेश मन्त्री भइसकेका जीवन घिमिरे, सागर थापा र बाबुराम कार्कीको नाम बढी चर्चामा छ । थापा नगर कमिटीका अध्यक्ष हुन् भने कार्की जिल्ला कमिटीका उपाध्यक्ष हुन् ।

    पहिला मेयर पदमा पराजित बनेका एमाले मोरङ इन्चार्ज विनोद ढकालको नाम भने मेयरको चर्चाबाट रिङआउट भएको छ । त्यस्तै पूर्वमन्त्री लालबाबु पण्डितको नाम पनि चर्चामा छ । यहाँ तारा निरौला पनि मेयरको उम्मेदवारको दौडमा छन् । उनी अवकाशप्राप्त कर्मचारी हुन् ।

    माओवादीमा तीनजनाको चर्चा

    मेयरको उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रमा तीनजनाको नाम चर्चामा छ । माओवादी नेताहरू भोगेन्द्र यादव, नवीन पौडेल र नमिता न्यौपाने मेयरका आकाङ्क्षी देखिएका छन् ।

    यहाँ गत स्थानीय तहको चुनावमा जनता समाजवादी पार्टी (जसपा) र माओवादीबीच तालमेल भएको थियो । मेयरमा जसपाका उमेश यादव र उपमेयरमा माओवादीकी नमिता न्यौपाने उम्मेदवार बनेका थिए । गत चुनावमा उपमेयरको उम्मेदवार भएकाले पनि न्यौपानेको मेयरमा दाबी छ ।

    गत निर्वाचनमा माओवादीले भोगेन्द्र यादवलाई मेयरको उम्मेदवार बनाएको थियो । तर जसपासँग तालमेल भएपछि अन्तिममा फिर्ता गरिएको थियो ।

    जसपामा पनि आकांक्षीको लर्को

    माओवादीको महानगर कमिटीका पूर्वअध्यक्ष यादव अहिले प्रदेश कमिटी सदस्य छन् । गत निर्वाचनमा मेयरमा पराजित जसपाका केन्द्रीय सदस्य उमेश यादव, पूर्व उपमेयर भूराज राई, जसपाका केन्द्रीय सदस्य तेजलाल कर्ण र अमरेन्द्र यादवले पनि मेयरको उम्मेदवारका लागि दाबी गरिरहेका छन् । अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

    नेकपा एसमा रेग्मीको बढी चर्चा

    त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट महेश रेग्मी मेयरको उम्मेदवारका रूपमा चर्चामा छन् । उनी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य हुन् । एकीकृत समाजवादीबाट पारुल क्षेत्री पनि उम्मेदवारको दौडमा छन् । उनी महानगर कमिटी अध्यक्ष हुन् ।

    सबै दलमा आकांक्षी बढिरहेका छन् । यस्तो स्थितिमा गठबन्धनलाई साझा उम्मेदवार छनोट गर्न सकस पर्ने देखिएको छ । गठबन्धनभित्रको खटपटमा खेलेर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ, एमाले ।

    यस्तो थियो पहिलाको परिणाम

    यहाँ वामपन्थी दल र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर वामपन्थीबीचको टुटफुटको फाइदा कांग्रेसले लिएको थियो । एमाले बलियो प्रतिस्पर्धी भए पनि इमानदारपूर्वक गठबन्धन भएमा एमालेलाई चुनाव जित्न चुनौती छ ।

    यहाँ एकीकृत समाजवादीले एमालेको लगभग ३ हजार देखि ३५ सयसम्म मत काट्नसक्ने अनुमान गरिएको छ । समाजवादीका नेताहरु भने आफूहरुले ५ हजार बढी मत ल्याउने दाबी गर्छन् । यसकारण पनि एमालेको उम्मेदवारले चुनाव जित्ने आधार कमजोर हुने कांग्रेसको बुझाइ देखिन्छ ।

    नेपाली कांग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थप भएको छ । जसकारण कांग्रेस जित्नेमा ढुक्क छ । तर कांग्रेसभित्रको मतान्तरका कारण अन्तरघात हुने सम्भावना व्यापक छ ।

    राप्रपासँग तालमेल गरेर सशक्त उम्मेदवार दिन र कांग्रेसले गठबन्धन नगरे निर्वाचन एमालेले जित्नसक्ने विश्लेषण पनि छ ।

    २०७४ सालको निर्वाचनमा छुट्टै लडेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाहित भइसकेको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिएका विराटनगर– १९ का वडाध्यक्ष बद्रीनारायण सरदार पनि कांग्रेसमै समाहित भइसकेका छन् भने विराटनगर– १० का वडाध्यक्ष माधव वाग्ले अहिलेसम्म स्वतन्त्र छन् । मत परिणामअनुसार सबै वडाध्यक्षको मत जोड्दा कांग्रेसको १६ हजार ७ सय ६६ हुन्छ ।

    २०७४ सालको मत परिणाम अनुसार यहाँ एमालेको १६ हजार २ सय १८, संघीय समाजवादी फोरमको मत १० हजार ९ सय ३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २ सय ९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४ सय ५२ रहेको छ ।

    लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएसँगै कांग्रेसको मत अब २१ हजार ८ सय ६० पुग्छ ।

    विराटनगरमा कांग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको थियो भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले १ वडामा जितेका थिए ।

    अघिल्लोपटक कांग्रेस र राप्रपा एक्लाएक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो । त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने ।

    एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको थियो ।

    १९ हजार मतदाता निर्णायक

    विराटनगर महानगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा १९ हजार ३ सय ८१ जना मतदाता नयाँ थपिएका छन् । नयाँ थपिएका मतदाता स्थानीय तहको निर्वाचनमा निर्णयक हुने अवस्था छ ।

    निर्वाचन आयोगले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार विराटनगरमा १ लाख ३३ हजार १ सय ४२ जना मतदाताको संख्या पुगेको छ । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ मात्र थियो ।

    विराटनगरमा २०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए । २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए ।

    त्यस्तै २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी बन्दा २०७४ सालका स्थानीय तहमा भने पुनः कांग्रेसका उम्मेदवार भीम पराजुली विजयी बनेका छन् ।

    गठबन्धनमा सकस, अन्तरद्वन्द्वको फाइदा उठाउने दाउमा एमाले

    यहाँ एमाले र सत्तागठबन्धनभित्र कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर गठबन्धनभित्र कुन दलले मेयरको टिकट लिने भन्ने विवाद छ ।

    विराटनगरको नेतृत्वमा मुख्यत नेपाली कांग्रेसले दाबी गर्दै आएको छ । माओवादी केन्द्र र जनता समाजवादीले पनि मेयर नछाड्ने अडान राख्दै आएको छ । अहिलेको अवस्थामा विराटनगरमा गठबन्धनको साझा उम्मेदवार नहुने सम्भावना ज्यादा छ । त्यसो हुँदै एमालेलाई फाइदा पुग्छ ।

  • विराटनगरमा पनि सुरू भयो एमाले अधिवेशन

    विराटनगरमा पनि सुरू भयो एमाले अधिवेशन

    काठमाडौं । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अधिवेशन सुरू भएको छ । एमाले नेता शंकर पोखरेललगायतले अधिवेशन उद्घाटन गरेका छन् ।

    आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दैछन् ।

    पालिका अधिवेशनबाट चयन हुने नेतृत्व आगामी चैतमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धी पनि हुने भएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • विराटनगर, धरान र इटहरीका डेढ सय जनप्रतिनिधिमध्ये चारजना मात्रै नेकपा एसमा

    विराटनगर, धरान र इटहरीका डेढ सय जनप्रतिनिधिमध्ये चारजना मात्रै नेकपा एसमा

    इटहरी । प्रदेश १ को एकमात्र महानगर विराटनगर र दुई उपमहानगर धरान र इटहरीमा एमालेबाट चुनाव जितेका १४९ जनप्रतिनिधिमध्ये चार जना अर्थात् २.७ प्रतिशतले मात्रै नेकपा एस रोजेका छन् ।

    धरानमा १४ वडा अध्यक्ष, एकउपप्रमुखसहित ७४ जनप्रतिनिधि नेकपा एमालेका थिए । जसमा मनोनित नगर कार्यपालिका सदस्य कैलाश अग्रवालले नेकपा एस रोजेका छन् ।

    इटहरीका प्रमुख, उपप्रमुख र ८ जना वडा अध्यक्ष गरेर ६१ जनप्रतिनिधिमध्ये २ जनाले नेकपा एस रोजेका छन् । नेकपा एस रोज्नेमा मनोनित नगर कार्यपालिका सदस्य गौरिमान परियार र वडा नम्बर २ का सदस्य सन्तोष राई छन् ।

    ४ वडा अध्यक्षसहित १४ जनप्रतिनिधि भएको विराटनगरमा एकले मात्रै नेकपा एस रोजेकी छन् । वडा नम्बर ४ की सदस्य सुशीला पोखरेलले नेकपा एस रोजेकी हुन् ।

    वडा नम्बर १० मा बागी उम्मेदवारी दिएर वडाध्यक्ष जितेका माधवराज वाग्ले कतै खुलेका छैनन् ।

  • बिचौलिया काम गरेको आरोपमा विराटनगरबाट २ जना पक्राउ

    बिचौलिया काम गरेको आरोपमा विराटनगरबाट २ जना पक्राउ

    मोरङ । मोरङको विराटनगरमा बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्द कुमार साह रहेको प्रहरीले बताएको छ ।

    उनीहरूले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तहरूलाई भेटी ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन’ भन्ने जस्ता अफवाह फैलाउने गरेको प्रहरीले बताएको छ ।

    बिरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने गरेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटी समूहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको प्रहरीले बताएको जानकारी दिएको हो ।

    पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

  • प्रदेश–१ मा कोरोना संक्रमित ह्वात्तै बढे, विराटनगर हटस्पट बन्ने खतरा

    प्रदेश–१ मा कोरोना संक्रमित ह्वात्तै बढे, विराटनगर हटस्पट बन्ने खतरा

    विराटनगर । प्रदेश–१ मा पछिल्लो समय कोरोना सक्रमितको संख्या उल्लेख्य बढेको छ । पछिल्लो १० दिनमा मात्र प्रदेशमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये मोरङका मात्र ६३ जना छन् ।

    १० दिन अघि प्रदेश भरी कुल ४३ जना कोरोनाका सक्रमित रहेका थिए । मोरङका ६३ जना संक्रमितमध्ये ५६ जना विराटनगर महानगरपालिकाका हुन् । त्यसपछि सुनसरीमा २६, झापामा १८, उदयपुरमा २, संखुवासभामा ३, पाँचथरमा १ र प्रदेश बाहरिका ८ जनामा संक्रमण देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार केही दिनदेखि कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

    कोरोना संक्रमितहरुको दर केही महिनायतादेखि न्यून भएकोमा पुनः नयाँ विरामी भेटिन थालेका हुन् । कोरोनाका नँया संक्रमित फेला पर्न थालेपछि विराटनगरस्थति कोशी कोभिड अस्पताल पुनः सन्चालनमा ल्याइएको छ । अहिले अस्पतालमा सात जना उपचाररत छन् ।

    चैत २५ गतेसम्म अस्पतालमा जम्मा एक जना विरामी मात्रै उपचाररत थिए । आइतबार एकै दिन थप छ जना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।

    प्रदेश–१ सरकारले संक्रमितको संख्या शून्यमा झरेपछि अस्पतालमा कार्यरत करारका कर्मचारीलाई दुई हप्ता अघि विदा गरेको थियो ।

    सामाजिक विकास मन्त्री उषकला राईले केही दिनदेखि प्रदेश–१ का भारतसँग सिमाना जोडिएका मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा नँया कोरोनाका संक्रमित फेला पर्न थालेका त्यसको रोकथाम र नियन्त्रणकालागि आवश्य पहल भइरहेको बताइन् ।

    उनले कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउने र प्रदेशभरीका विगतका कोरोना उपचारमा संलग्न अस्पतालहरूलाई तयारी अवस्थामा राख्न भनिएको बताइन् ।

    ‘हिजोको दिन जस्तै उपचारमा असहज नहोस भनेर प्रदेश भरीका १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न भनेका छौं,’ मन्त्री राईले भनिन्, ‘स्थानीय तहहरु अस्पतालको व्यवस्थापनमा जुटिरहेका छन् ।’ त्यसकालागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्ने मन्त्री राईले बताइन् ।

    सीमावर्ती भारतीय क्षेत्रमा कोरोना संक्रमणको दर भयावह रुपमा बढिरहेका बेला नेपाली भूभागमा भने खासै सतर्कता अपनाइएको देखिँदैन् ।

    अहिले पनि किनमेलका लागि भारतको जोगवनी जानेहरुको भीड उत्तिकै छ । त्यही कारण विराटनगर विगतको जस्तै कोरोना हटस्पट बन्ने खतरा बढेको छ ।

    मुख्य नाका बन्द भए पनि खुला सीमाबाट नेपाल-भारत ओहोर-दोहोर गर्दै नेपालीहरु । तस्बिर: नेपालप्रेस

    कोरानो संक्रमित बढेसँगै कोशी अस्पतालको पीसीआर ल्यावमा पनि दैनिक परीक्षणको दायरा बढेको छ । कोशी अस्पताल कोभिड १९ पीसीआर ल्यावका क्लिनिकल माइक्रो बाइलोजिष्ट प्रणवकुमार यादवले अहिले दैनिक ५० को संख्यामा पीसीआर परीक्षण हुँदै आएको जानकारी दिए । उनका अनुसार तीमध्ये दुईदेखि चारजनासम्ममा संक्रमण देखिने गरेको छ ।

    ‘पछिल्लो दिनमा संक्रमणको दर शून्यमा झरेको थियो,’ यादवले भने, ‘मोरङको हकमा फेरि नयाँ संक्रमितहरु फेला पर्न क्रम बढेको छ । सतर्कता नअपनाउने हो भने भोलिका दिनमा कोरानाको भयवह स्थिति आउँन सक्छ ।’ गएको चैत २४ गते भारत गएर फर्किएका विराटनगरका चार जनामा संक्रमण देखिएको थियो ।

    कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले केही दिन यतादेखि भारतका विभिन्न शहरमा कोरोनाको नयाँ संक्रमित फेला पर्ने क्रम ह्वातै बढेकाले खुुल्ला सीमानाका कारण नेपालमा पनि कोरोनाको संक्रमण बढने सक्ने जोखिम बढाइदिएको बताए ।

    उनले त्यसका लागि आवश्य स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सीमा क्षेत्रको आवतजावतमा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले विराटनगरमा पछिल्ला केही दिन फाटफुट रुपमा नयाँ सक्रमितहरु फेरी फेला पर्न थालेकाले आवश्यक सतकर्ता अपनाउन आवश्य रहेको बताए । तर उनले अहिलेसम्म थप योजना भने बनाइ नसकिएको स्वीकार गरे ।

    ‘कोराना रोकथाम र नियन्त्रणका लागि अहिले केही योजना बनाइएको छैन,’ प्रजिअ निरौलाले भने, ‘संक्रमण दर बढ्दै गएको खण्डमा आवश्यक तयारी गर्नुपर्ने हुन्छ । तर अहिलेको अबस्थासम्म अण्डरकन्ट्रोल छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले अहिलेको अबस्थामा स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गर्ने र कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउने काममा आफूहरु लागेको बताए ।

    जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बाले विराटनगर लगायत मुलुकका मुख्य शहरमा पछिल्लो दिनदेखि फेरि नयाँ संक्रमित भेटिन थालेकाले महामारीको रुप लिनुभन्दा अगाडि नै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने कराउने काम कडाईका साथ लागू गराउन सरोकारपाला निकायलाई आग्रह गरे ।

    ‘विश्वको कतिपय मुलुकहरु पुनःकोरोना कहरमा फेसेका छन् । नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेको छन्,’ जनस्वास्थ्य विज्ञ सुब्बा भन्छन्, ‘खोप लगाउने कार्यपनि सँगसँगै भइरहेको छ । यद्यपि हामीले स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्नुपर्छ । अन्यथा विराटनगर पुनः एकपल्ट हटस्पट बन्न सक्छ ।

    उनले खुल्ला नाका भएकाले नेपाल प्रवेश गर्ने मानिसको स्वास्थ्य जाँच गराएर मात्र नेपाल प्रवेश गराउन पर्नेमा जोड दिए ।

  • विराट गोल्डकप सुरु, उद्घाटन खेलमा घरेलु टिमको विजयी सुरूआत

    विराट गोल्डकप सुरु, उद्घाटन खेलमा घरेलु टिमको विजयी सुरूआत

    विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर महानगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरका लागि दुवै गोल प्रकाश बुढाथोकीले गरे ।

    काठमाण्डौ बाहिर पहिलो पटक सहिद रंगशालामा फ्लड लाइटमा खेलाइएको खेलमा उद्घाटन खेलमा विराटनगरले युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको होे ।

    आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरी टिमलाई अग्रता दिलाए । खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले ३० यार्डबाट सुन्दर गोल गरे ।

    सुरुमै गोल खाएपछि दबावमा परेको सिक्किमले १५ औं मिनेटमा बराबरी गोल फर्कायो । सिक्किमका आशिष देवानको क्रसमासाङगे छोपेन भुटियाले सानदार गोल गरे ।

    खेलको २० मिनेटमा विराटनगरका सुनिल खड्काको वान भर्सेस वानको प्रहार सिक्किमका गोल किपर अवजित रोयले उत्कृष्ट बचाउ गरिदिए । सिक्किमका भुवन बस्नेतले खेलको २४ मिनेटमा डिबक्स बाहिरदेखि गरेको सशत्त प्रहार बारियो ।

    पहिलो हाफसम्म १/१ गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै विराटनगरले अग्रता लियो । यसपल्ट पनि प्रकाश सफल भए । ५३ औं मिनेटमा उनले बक्स भित्रबाट गोल गरे । दुई गोल गरेका प्रकाश खेलको म्यान अफ द म्याच चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

    शुक्रबार भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

    विराटनगर ११ का प्रशिक्षक सन्जीव बुढाथोकीले खेलाडीहरूको मिहिनेतको कारणल सफलता हात पारेको बताए । । ‘थुप्रै गोल गर्ने अवसर हाम्रो खेलाडी गोल गर्नबाट चुके,’ उनले भने, ‘अर्को खेलमा नयाँ रणनीति अपनाएर खेल्नेछन् ।’

    सिक्किम युनाइटेकका प्रशिक्षक नाडम भुटियाले राम्रो खेल्दा खेल्दै पनि हार व्यहोर्नु परेको बताए । ‘धेरै गोल गर्ने अवसर केटाहरूले गोल गर्नबाट चुक्दा हार व्यहोर्नुपरेको छ।’

    विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल कृत्तिम प्रकाशमा हुनेछन् । शहीद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन ।

    तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन रुटको सहभागिता छ ।

    प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल, हरेक खेलका म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, सर्बाधिक गोलकर्ता, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वाटरफाइनलवाट बाहिरिनेले ५० हजार र सेमिफाइनल पराजित टिमले ७५ हजार म्याच फी पाउनेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।

     

  • भारत तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा बरामद

    भारत तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा बरामद

    विराटनगर । मोरङ प्रहरीले सोमबार बिहान जहदाबाट भारत लान तयारी अबस्थामा राखिएको ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएपछि मोरङ सीमाक्षेत्रबाट मदिरा भारत तस्करी हुने गरेको खुलसा भएको छ ।

    प्रहरीले सात लाख मूल्य बरावरको विभिन्न ब्राण्डका मदिारसहित तस्करीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको विहार राज्यले मदिरा विक्री वितरणमा रोक लगाएपछि विहारमा नेपालमा उत्पादित मदिराको माग ह्वातै बढेको थियो । विहारमा मदिराको उच्च मागसँगै सीमा क्षेत्रबाट नेपाली मदिराको भारत तस्करी हुन थालेको हो ।

    जहदा गाउँपालिका–१ स्थित लंका टोलबाट विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरासहित भारत मटियारीका ३२ वर्षीय शिवलाल रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

    उनका अनुसार मदिरा अवैध रुपमा भारत लैजान लागेको विशेष सूचनाका आधारमा जहदा –१ का रमेश यादवको घरमा छापा हान्न प्रहरीको विशेष टोली बिहान १ः३० बजेतिर पुगेको थियो ।

    प्रहरीलाई देख्नसाथ उनी यादव भागेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । डीएसपी राईका अनुसार यादवले रायसँग मिलेर विभिन्न सवारी साधनको प्रयोग गर्दै नेपालमा उत्पादन हुने महँगो मदिरा भारततिर तस्करी गर्ने गरेको पुष्टि भएको छ ।

    प्रहरीले मदिरा तस्करीमा प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

    नेपालमा उत्पादन हुने चर्चित ब्राण्डका ‘सिलप्याक’ मदिरा भारत तस्करी हुने गरेको पाइएपछि सीमा क्षेत्रमा निगरानी बढाएको प्रहरीको दाबी छ ।

    यादवको घरबाट प्रहरीले सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओक लगायतका चर्चित ब्राण्डका मदिरा बरामद गरेको हो । विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरा सात लाख मूल्य बराबरको रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए।

    नियन्त्रणमा लिइएको तस्करीको मदिरा र सवारी साधन तथा पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि सोमबार आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने भएको छ ।

    यादवले मदिरा बेचबिखनका लागि कुनै पनि इजाजत लिएको नपाइएको प्रहरीले जनाएको छ । बिना इजाजत ठूलो परिणाममा ब्राण्डेड मदिरा खरिद गरेर उनले तस्करीमार्फत भारत लैजाने गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले बताए ।

    भारतको बिहारमा मदिरा उत्पादन, बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएसँगै नेपालबाट भारततिर मदिराको तस्करी फस्टाएको प्रहरीकोपनि अनुमान छ ।

    भारतीय सुरक्षाकर्मीले पनि नेपालबाट मदिराको तस्करी भइरहेको भन्दै नियन्त्रणमा लिन र तस्करी रोक्न नेपाली सुरक्षाकर्मीलाई आग्रह गरिरहेका छन् ।

    त्यसयता मदिरा तस्करी नियन्त्रण गर्न नेपाल-भारत सीमा क्षेत्रलाई उच्च निगरानीमा राखेर कडाई गरिएको एसपी खड्काको भनाइ छ ।

     

  • आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

    आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

    विराटनगर । उद्योगी, व्यापारी एवम् करदातालाई आर्थिक ऐन-२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ ।

    यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे ।

    यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्ने र करदाता नियमनमा बाँधिने भएकाले यसबाट सबैले सुविधा लिनुपर्ने उनको धारणा छ । कार्यालयले जारी गरेको अपिलमा कुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

    सोभन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनुपर्ने छैन । स्थायी लेखा नं लिई आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रूपैयाँसम्मको कारोवार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिनाहा हुने भनिएको छ ।

    स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३/७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक ५० लाखभन्दा बढीको कारोवार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।

    विसं २०७५ असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयको अपिलमा छ ।

    आयकर ऐन, २०५८ , मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्त:शुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्त:शुल्क निर्धारण (झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणबाहेक) उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा दिइने भनिएको छ ।

    यस्तै, सोही कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु चार अर्ब ५४ करोड ९१ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्व ५१ करोड ९८ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

    लक्ष्यमा रु दुई करोड ९३ लाख ६४ हजार बढी राजस्व असुल भएको छ । विगतमा कार्यालयले लक्ष्य हासिल गर्न धौधौ भइरहेको अवस्थामा लक्ष्यभन्दा बढी राजस्व असुल गर्नु र कार्यालयले सार्वजनिक अपिलले झन प्रगतिमा सुधार हुने विश्वास भएको प्रमुख सापकोटाले बताए ।

    सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ७७ करोड ५१ लाख ९६ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब ३७ लाख ७७ लाख ३१ हजार र अन्त:शुल्क रु एक अर्ब ३९ करोड ६२ लाख ६२ हजार छन् । गत साउनदेखि माघसम्ममा कार्यालयले आयकरमा १३१, मूल्य अभिवृद्धिकरमा १६७ र अन्त:शुल्कमा ६० प्रतिशत प्रगति हासिल गरेको छ । गएको वर्षभन्दा यस वर्ष सो अवधिमा आयकरमा चार, मूल्य अभिवृद्धिकरमा २६ र अन्त:शुल्कमा पाँच प्रतिशत प्रगति भएको छ ।

    आन्तरिक राजस्व कार्यालयको मातहतमा मोरङको विराटचोक, पथरीमा पनि सेवा कार्यालय स्थापना गरिसकेको छ भने यसबाट कूल ५२ हजार करदाता लाभान्वित हुने विश्वास लिइएको छ ।

    रासस

  • यस्तो छ विराटनगरमा ओली पक्षको जनसभा तयारी (तस्वीरहरू)

    यस्तो छ विराटनगरमा ओली पक्षको जनसभा तयारी (तस्वीरहरू)

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज अपराह्न प्रदेश १ को राजधानी विराटनगरमा गर्न लागेको प्रादेशिक जनसभा तथा शक्ति प्रदर्शनको लागि छिमेकका जिल्लाहरूबाट समेत नेता कार्यकर्ता आउने क्रम शुरु भएको छ ।

    ओलीको गृहक्षेत्रसमेत भएकाले विराटनगरको आमसभालाई चासोको साथ हेरिएको छ । यसअघि प्रचण्ड-माधव पक्षले विराटनगरमा शक्ति प्रदर्शन गरिसकेकाले ओली पक्षले सो समूहको भन्दा बढी जनसमर्थन जुटाउने कसरत गरेको छ ।

    आजको सभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ का इन्चार्ज समेत रहेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्दैछन् ।

    विराटनगर महानगरपालिका-२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजित आमसभामा दुई लाख भन्दा बढीको कार्यकर्ताको सहभागिता रहने केन्दीय सदस्य विनोद ढकालले बताए ।

      
       
  • डीपीआर डिजाइनको त्रुटीले आधुनिक वधशाला निर्माण अलपत्र

    डीपीआर डिजाइनको त्रुटीले आधुनिक वधशाला निर्माण अलपत्र

    विराटनगर । विराटनगर महानगरपालिका–८ मा ९ वर्षअघि निर्माण शुरु गरिएको वधशाला अलपत्र अवस्थामा छ । विराटनगर महानगरपालिकाले आधुनिक र व्यवस्थित पशु वधशाला निर्माण गर्ने योजना सहित मधुमारामा बधशाला निर्माणको काम अघि बढाएको थियो ।

    उपभोक्तालाई स्वस्थ र प्रमाणिक मासु आपुर्ति गर्ने लक्ष्यका साथ वधशालाक‍ निर्माणको काम शुरु भएको थियो । तर बजेट तथा बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को कारण देखाउँदै निर्माणाधीन अवस्थामा छोडिएको छ । त्यसैले तयार भएका संरचना पनि प्रयोगमा नआउँदै जीर्ण बन्न थालेका छन् ।

    पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयको ६० लाख र तत्कालीन विराटनगर उप–महानगरपालिकाको ३८ लाख बजेटमा ०६६ बाट वधशाला निर्माण सुरु भएको थियो । त्यसयता १ दशकमा बधशाला निर्माणका लागि १ करोड १९ लाख बजेट खर्च भइसकेको छ भने १३ करोड २० लाख रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ ।

    डीपीआर डिजाइनमा भएको प्राविधिक त्रुटीका कारण निर्माण कार्यमा ढिलाई भएको महानगरका भेटेरिनरी शाखा प्रमुख हिरालाल यादवले नेपालप्रेसलाई बताए ।

    यादबले प्राविधिक त्रुटीलाई सच्याएर तयार पारिएको नयाँ डीपीआरलाई पशु सेवा विभागले स्वीकृत गरिसकेकाले निर्माणको काम अघि बढने जानकारी दिए ।

    महानगरले अलपत्र रुपमा छाडेको वधशालाको संरक्षणप्रति पनि खासै ध्यान नदिँदा जस्ताको छाना हालिएकोे दुईतले संरचनामा वरिपरि लगाइएका पर्खाल भत्किन थालेका छन् । भत्किएका पर्खालहरुको ईट्टा पनि हराइसकेका छन् । संरचनाको चारैतिर प्वाल परेको छ ।

    अलपत्र अवस्थामा रहेको सो वधशाला हाल लागूऔषध प्रयोगकर्ताका लागी मुख्य अखडा, पे्रमिल जोडीका लागी डेटिङ स्थल तथा स्थानीयका लागि सार्वजनिक गोठ र डम्पिङ साईटको रुपमा परिणत भएको छ ।

    मुख्यतः सो संरचना हाल लागूऔषध प्रयोगकर्ताहरुका लागी प्रमुख गन्तव्य बनेको छ । युवाहरुको जाँड, रक्सी, चुरोट र गाँजा खाने स्थलको रुपमा प्रयोग गर्न थालेकाले सुरक्षामा चिन्ता बढेको स्थानीय सकीला खातुनले बताइन् ।

    अस्वस्थकर मासु खान बाध्य उपभोक्ता

    महानगरले निर्माण शुरु गरेको वधशाला निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा विराटनगरवासी अस्वस्थकर मासु खान बाध्य छन् । विराटनगरमा न्यूनतम मापदण्डसमेत पूरा नगरी सन्चालित फ्रेश हाउसबाट मासु विक्री हुँदै आएको छ ।

    अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका फ्रेस हाउसको अनुगमनसमेत छैन । चिकित्सकका अनुसार अव्यवस्थित ढंगले सञ्चालनमा आएको फ्रेस हाउसबाट उपभोक्ताले खरिद गरिएको मासुले विभिन्न खालको रोगको संक्रमण निम्तिने गरेको छ ।

    कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले अस्वस्थकर मासुको प्रयोगले पेट तथा कलेजोको संक्रमण, मिर्गौलासम्बन्धी समस्या, हैजा, पखाला र टाइफाइड लगायतका संक्रामक रोगहरुको खतरा बढ्ने बताए ।

  • प्रचण्ड-माधव समूहको आज विराटनगरमा शक्ति प्रदर्शन, ६० हजार कार्यकर्ता उतार्ने दावी

    प्रचण्ड-माधव समूहको आज विराटनगरमा शक्ति प्रदर्शन, ६० हजार कार्यकर्ता उतार्ने दावी

    विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत विघटित नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश १ को राजधानी विराटनगरमा आज शक्ति प्रदर्शन गर्दैछ ।

    मध्यान्ह १२ बजेबाट प्रदर्शन सुरु हुनेछ । विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट एकैसाथ सुरु हुने प्रदर्शन जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत हुने नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए ।

    उनका अनुसार सभामा अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नेता योगेश भट्टराई लगायतले सम्बोधन गर्नेछन् । कार्यक्रमका लागि अध्यक्ष नेपाल र वरिष्ठ नेता खनाल विराटनगर आइसकेका छन् । अन्य नेताहरु आउने क्रममा रहेको नेता रेग्मीले बताए ।

    संसद विघटनपछि प्रदेश १ को राजधानीमा सबैभन्दा ठूलो विरोध प्रदर्शन गर्न लागिएको छ। प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता उतार्ने योजना छ ।
    विरोध प्रदर्शनकै लागि गाउँगाउँबाट नेकपा कार्यकर्ता विराटनगर आएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा नेकपाकै प्रचण्ड-माधव समूह आन्दोलित छ ।

  • महिला लिगमा विराटनगरको पहिलो जित

    महिला लिगमा विराटनगरको पहिलो जित

    काठमाडौं । कुशुम खतिवडाको ह्याट्रिक प्रेरित विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिगमा बुधबार चन्द्रपुर नगरपालिकालाई ५–० ले पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा विराटनगरलाई पहिलो जित दिलाउन कुशुमसँगै सरिता शेर्पा र अनु राईले १/१ गोल गरे ।

    विराटनगरका लागि कुशुमले १२, ६९ र ७०औं मिनेट तथा अनुले ३२ र सरिताले ६३औं मिनेटमा गोल गरेका हुन् ।

  • प्रचण्ड-माधव पक्षले बहिष्कार गर्‍यो निर्वाचन आयोगको कार्यक्रम

    प्रचण्ड-माधव पक्षले बहिष्कार गर्‍यो निर्वाचन आयोगको कार्यक्रम

    विराटनगर । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले आसन्‍न निर्वाचन कार्यक्रमसम्बन्धी निर्वाचन आयोगले गरेको कार्यक्रम बहिष्कार गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङमा मतदाता नामावली अद्यावधिक गर्नेबारेको कार्यक्रम चलिरहँदा सो पक्षले नाराबाजी गरेका छन् । नेता पारुल क्षेत्रीले विरोधस्वरुप प्रधानमन्त्रीविरुद्ध नारा लगाउन थालेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले क्षेत्रीलाई रोके । लगत्ते नेता क्षेत्रीले बहिष्कार गरेर कार्यक्रम स्थलबाट बाहिरिए ।

    प्रचण्ड-माधव पक्षका कार्यकर्ताले अदालतमा मुद्दा चलिरहेको र संसद पुन:स्थापनाको पक्षमा आवाज उठिरहँदा निर्वाचनको तयारी थाल्नु अनुचित रहेको बताए ।

    कार्यक्रममा सुरक्षा निकाय प्रमुख, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, राप्रपा मोरङका सचिव प्रदिप सुवेदी, जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी नेपाल, नेकपा (ओलीसमूह) का प्रतिनिधिहरु उपस्थित थिए ।

    कार्यक्रममा निर्वाचन आयोगले सहभागी दलहरूलाई १७ बुँदे मतदाता नामावली दाबी तथा विरोध कार्यक्रम, २०७७ सार्वजनिक गर्दै निर्वाचनको तयारी तीव्र बनाएको जनाएको छ । निर्वाचनलाई लक्षित गर्दै कार्यालयले मोरङका १७ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी पनि तोकिसकेको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयसँगै आगामी वैशाख १७ र २७ मद्यावधि निर्वाचन तोकिएपछि आयोगले चुनावको तयारी थालेको छ ।