Tag: विमलेन्द्र निधि

  • विमलेन्द्र निधिका भाइ धनुषाका क्षेत्रीय सभापति, श्रीमती महाधिवेशन प्रतिनिधि

    विमलेन्द्र निधिका भाइ धनुषाका क्षेत्रीय सभापति, श्रीमती महाधिवेशन प्रतिनिधि

    जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्ना भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापति र श्रीमती अनामिकालाई महाधिवेशन प्रतिनिधि बनाएका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत निधिले गृहजिल्ला धनुषामा भाइलाई तीन नम्बर क्षेत्रीय सभापति र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाएका हुन् ।

    कांग्रेस सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका निधिका भाइ धीरेन्द्र सक्रिय राजनीतिमा थिएनन् । स्रोतका अनुसार निधिले छोरा अनुकुललाई महाधिवेशन प्रतिनिधि बनाएर सक्रिय राजनीतिमा ल्याउने प्रयास गरेका थिए । तर कार्यकर्ताले विरोध जनाएपछि श्रीमती र भाइलाई अघि सारेका हुन् ।

    निधिको उक्त कदमको कांग्रेस नेता कार्यकर्ताले विरोध गरेका छन् । सोमबार जनकपुरस्थित कांग्रेस पार्टी कार्यालयमा असन्तुष्ट नेताहरुले प्रदर्शनसमेत गरेका थिए ।

    निधिले एकलौटी ढंगले पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयन गरेको भन्दै सो क्षेत्रका असन्तुष्ट नेताहरु शम्भुनाथ झा, प्रवेश चौधरी, ललन चौधरीलगायतले पार्टी कार्यालयमा उजुरी समेत दिएका छन् । पार्टी कार्यालयमा कोही नभेटेपछि इमेलमार्फत उजुरी दर्ता गराएर पुनः अधिवेशन गराउन माग गरेको एक नेताले बताए ।

  • विमलेन्द्रका प्रतिबद्धता : कांग्रेस रुपान्तरणदेखि पुस्तान्तरणसम्म (पूर्णपाठ)

    विमलेन्द्रका प्रतिबद्धता : कांग्रेस रुपान्तरणदेखि पुस्तान्तरणसम्म (पूर्णपाठ)

    काठमाडौं । आसन्न १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिबद्धता र योजना सार्वजनिक गरेका छन् ।

    विहीबार नयाँ बानेश्वरमा रहेको आफ्नो सम्पर्क कार्यालयबाट प्रतिबद्धता र योजना सार्वजनिक गर्दै निधिले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका आफ्नो उम्मेदवारी रहेको बताए ।

    ‘वैचारिक रूपमा स्पष्ट कांग्रेस, गतिशील कांग्रेस, जनतासँग जोडिने कांग्रेस – संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस’ नारा दिएर योजना सार्वजनिक गरेका निधिले भनेका छन्, ‘परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’

  • कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

    कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

    काठमाडौं । उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा साताव्यापी भ्रमणका लागि बेलायत गएपछि उपसभापति निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

    यसअघि पनि विदेश भ्रमण जाँदा देउवाले उपसभापति निधिलाई कार्यवाहक दिने गरेका थिए । उपसभापति निधि सभापति देउवालाई बिदाई गर्न त्रिभुवन विमानस्थल पुगेका थिए । देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् ।

  • टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

    टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मासंग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शुक्रबार साँझ देउवाले निधि र शर्मासंग छुट्टाछुट्टै भेट गरेका हुन् ।

    देउवाले नै निधिलाई उपसभापति र शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाउन देउवाले यसअघि नै निधिसंग भनिसकेका छन् । निधिले भने आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताउँदै आएका छन् ।

    शर्माले पनि भदौ २४ गते महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । उपसभापति निधिले देउवासंगको भेटमा जनकपुर–जयनगर रेल तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेको जनाएका छन् ।

    ‘आजको भेटमा मुख्यतः जनकपुर–जयनगर रेलसेवा तत्काल सञ्चालनमा ल्याउनेबारे कुरा भयो । प्रधानमन्त्रीले रेलसेवा सुरु गर्ने विषयमा आवश्यक कदम चाल्ने बताउनुभएको छ’, भेटबारे निधिको सचिवालयले बताएको छ ।

    भेटमा पार्टीको १४ औं महाधिवेशन र सरकार विस्तारको विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै प्रवक्ता शर्माले प्रधानमन्त्रीसंगको भेटमा १४ औं महाधिवेशन, सरकारका कामकारवाही र कमजोरीबारे लामो संवाद भएको जनाएका छन् ।

    सो क्रममा शर्माले पार्टीको प्रचार विभागले ‘चिन्तन चौधौ महाधिवेशन’ कार्यक्रम आयोजना गर्न लागेको बारे सभापति देउवालाई अवगत गराएका थिए । सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका निधि र शर्माबीच महाधिवेशनमा सहकार्यको चर्चा कांग्रेसवृत्तमा चुलिदो छ ।

    आसन्न महाधिवेशनमा आफ्नो समूहमा नरहने निश्चित भएका नेतासंग देउवाले भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं सभापति देउवाले दुवै नेतालाई समेटेर लैजान आफू तयार भएकोले एकपटक सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

  • देउवाविरुद्ध खुले निधि, डडेल्धुरा प्रकरणमा शेखरसँग मिल्यो स्वर

    देउवाविरुद्ध खुले निधि, डडेल्धुरा प्रकरणमा शेखरसँग मिल्यो स्वर

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरा जिल्ला अधिवेशनसम्बन्धी विवाद टुंग्याउन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

    आज एक पत्र लेख्दै निधिले तलबाट आएको नामावलीमा केही हटाएर माथिबाट थपेर सम्बन्धित जिल्लासँगको समन्वयबिना अधिवेशन तोकिएकोमा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचन गर्न माग गरेका छन् ।

    ‘डडेलधुरा जिल्लाको क्रियाशील सदस्यहरुको नामावली बारे गम्भीर विवाद उत्पन्न भएको छ । सम्पूर्ण प्रकृया पुर्‍याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्य समितिको सहयोग र समन्वयबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति श्री कर्णबहादुर मल्ल द्वारा जिल्ला कार्य समितिको निर्णय सहितको विज्ञप्ति पनि आएको छ,’निधिले भनेका छन्, ‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गर्न गराउन सम्बन्धित सरोकार वालाहरुलाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु ।’

    आज बिहान कांग्रेस नेता शेखर कोइरालाले पनि डडेलधुराको वडादेखि जिल्लासम्म कुनै विवाद नभइ पठाएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाएर ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताएका थिए ।

    ‘यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाइँदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ’, कोइरालाले सामाजिक सञ्जालमा भनेका छन् ।

  • बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी

    बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी

    काठमाडौं । नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताबारे बहस निरन्तर छ । कांग्रेसको अघिल्लो महाधिवेशनमा झण्डै ८ सय महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर नै संकलन गरेका थिए । नेपाललाई ‘हिन्दू राष्ट्र’ वा ‘धार्मिक स्वतन्त्रतासहितको राष्ट्र’ बनाउनुपर्ने आवाज कांग्रेसभित्र चर्कोरूपमा उठिरहेको छ ।

    यहीबीचमा कांग्रेसभित्र धर्म निरपेक्षताका कट्टर समर्थक मानिने उपसभापति विमलेन्द्र निधिले पनि ‘हिन्दू धर्म’ वा ‘धार्मिक स्वतन्त्रता’ को पक्षमा उभिने संकेत दिँदै सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा महाधिवेशनलक्षित ‘सम्पर्क कार्यालय’ उद्घाटन समारोहको दृश्य, निधिको प्रस्तुति, हाउभाउ र अभिव्यक्तिले उनलाई ‘कट्टर धर्मनिरपेक्षवादी’ बाट ‘धार्मिक स्वतन्त्रता’ प्रति उदार नेताको रूपमा प्रस्तुत गर्‍यो । औपचारिक समारोहअघि नै निधिको कार्यालयमा सनातन धर्मआवद्ध धार्मिक व्यक्तिहरूले पूजाअर्चना गरेका थिए । आफ्नो वक्तव्यका दौरान निधि आफैंले हिन्दू र बौद्ध धर्मका सम्मानित व्यक्तिहरूले आफूलाई आशीर्वाद दिएको सगर्व उल्लेख गरे । निधिको सम्पर्क कार्यालयको पूजामा जानकी मन्दिरका महन्थ तपेश्वर दाससहित काठमाडौं उपत्यकामा रहेका पशुपतिनाथ, दक्षिणकाली, सूर्यविनायक, डोलेश्वर महादेव, पञ्चमहालक्ष्मी, बंगलामुखी लगायत मन्दिरका पूजारी सहभागी थिए ।

    हिजोमात्रै धार्मिक गुरु कमलनयनाचार्यसँग भेटेर आफूले आशीर्वाद लिएको बताएका निधिले समारोहमा कमलनयनाचार्यका प्रतिनिधि र बौद्ध धर्मका गुरुहरू पनि उपस्थित भएको जानकारी दिए । समारोहमा पशुपतिनाथको मूलभट्टको प्रतिनिधि पनि उपस्थित थिए । बौद्ध धर्मका गुरुहरूले २१ ताराको पूजा गरेर आफ्नो जितको कामना गरेको र मुस्लिम धर्मआबद्ध मौलानाहरूले पनि आशिष दिएको निधिले बताए ।

    ‘पशुपतिको मूलभट्टका प्रतिनिधि, कमलनयनाचार्यका प्रतिनिधि, जानकी मन्दिका महन्थज्यू, काठमाडौंका विभिन्न मन्दिरका पूजारी, बौद्ध धर्मका लामाहरू र मुस्लिम समुदायका मौलानाहरुले मेरो सफलताको कामना गर्नुभएको छ । म अत्यन्तै खुसी छु’, निधिले भने ।

    राजनीतिक उद्देश्यका लागि खोलिएको सम्पर्क कार्यालय कुनै धार्मिक अनुष्ठानभन्दा कम थिएन । निधि स्वयं रुद्राक्ष र सयपत्री फूलको माला लगाएर कार्यक्रममा उपस्थित थिए । सम्बोधनको क्रममा उनले सबै धर्मको सम्मान कांग्रेसको एजेण्डा भएको बताए । संविधानमा धर्म निरपेक्षता लेखिए पनि कांग्रेसले धार्मिक स्वतन्त्रता मान्दै आएको निधिको भनाइ थियो ।

    ‘संविधानमा धर्मनिरपेक्षता छ । नेपाली कांग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्दछ । धार्मिक स्वतन्त्रता नेपाली कांग्रेसको राष्ट्रियता , लोकतन्त्र र समाजवाद जत्तिकै पुरानो मान्यता हो । मैले आज पनि हिन्दू धर्मअनुसार पूजा गरे’, निधिले भने ।

    ‘कुनैबेला धर्मनिरपेक्षताको विरोध गर्नेसँग मञ्चबाटै चर्काचर्की गर्ने विमलदाइ आज हिन्दू धर्मको अभियन्ता झैं देखिनुभएको छ । उहाँको बदलिएको भेष र भाषाले कांग्रेसमा हलचल त ल्याउने नै छ’, कार्यक्रम स्थलमा भेटिएका केही कांग्रेस नेताहरूको भनाइ थियो ।

    उनले अहिलेको संविधानको स्वामित्व कांग्रेसले लिने र आवश्यकता परेअनुसार संशोधन गर्न सकिनेपनि बताए । ‘यो संविधानमा जुनजुन बेलामा संशोधन गर्नुपर्छ त्यो गर्दै जानुपर्छ । यो संविधानको स्वामित्व कांग्रेसले लिनुपर्छ । त्यसैले म कांग्रेसको सभापतिको उम्मेदवारको रूपमा आएको छु’, निधिले भने ।

    आफ्नो वक्तव्यको अधिकांश समय धर्मगुरु एवं पूजारीलाई धन्यवाद दिन र धार्मिक स्वतन्त्रताबारे बोल्न खर्चिएका निधिले कसैलाई अक्षम घोषणा गर्न आफू उम्मेदवार नभएको बताए । ‘मेरो उम्मेदवार कसैलाई हराउन, कसैलाई अक्षम बनाउन वा कसैलाई रिटायर्ड गराउनका लागि होइन । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउन सक्रिय भूमिका खेल्न सभापतिको उम्मेदवार बनेर म उभिएको छु’, निधिले भने ।

    निधिको चुनावी सम्पर्क कार्यालय उद्घाटनसँगै कांग्रेसवृत्तमा उनले अघि सार्ने एजेण्डाबारे चासो बढेको छ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पुगेरै निधिलाई कांग्रेसका धेरै नेता कार्यकर्ताहरूले शुभकामना दिए । कार्यक्रममा सहभागी केहीले भने निधिको नयाँ स्वरूपले कांग्रेसमा ‘हलचल’ ल्याउने टिप्पणी गरे ।

    ‘कुनैबेला धर्मनिरपेक्षताको विरोध गर्नेसँग मञ्चबाटै चर्काचर्की गर्ने विमलदाइ आज हिन्दू धर्मको अभियन्ता झैं देखिनुभएको छ । उहाँको बदलिएको भेष र भाषाले कांग्रेसमा हलचल त ल्याउने नै छ’, कार्यक्रम स्थलमा भेटिएका केही कांग्रेस नेताहरूको भनाइ थियो ।

  • पशुपति र दक्षिणकालीसहित शक्तिपीठका पुजारीबाट आशीर्वाद लिएर अघि बढे निधि

    पशुपति र दक्षिणकालीसहित शक्तिपीठका पुजारीबाट आशीर्वाद लिएर अघि बढे निधि

    काठमाडौं । आसन्न महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले आजबाट औपचारिक प्रचारप्रसारको अभियान थालेका छन् ।

    निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान सम्पर्क कार्यालयमा आशीर्वाद लिएको उनका सल्लाहकार रामजी दाहालले जानकारी दिए । दाहालका अनुसार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा निधिको कार्यालय दिउँसो उद्घाटन हुँदैछ ।

    विमलेन्द्र निधिले औपचारिकरूपमै महाधिवेशनको तयारी थाल्ने भएपछि संस्थापन समूहबाट देउवासहित २ उम्मेदवार हुने निश्चित भएको छ ।

    लामो समयसम्म सभापति शेरबहादुर देउवाको मुख्य राजनीतिक सहयात्री रहेका निधिले १४ औं महाधिवेशनमा जुनसुकै अवस्थामा आफनो उम्मेदवारी रहने बताउँदै आएका आएका थिए । नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहेका निधि कांग्रेसको महामन्त्री र उपसभापति रहिसकेका छन् ।

  • चुनावी कार्यालय खोलेर अघि बढे विमलेन्द्र, दूरी बढ्दै देउवासँग

    चुनावी कार्यालय खोलेर अघि बढे विमलेन्द्र, दूरी बढ्दै देउवासँग

    काठमाडौं । आसन्न महाधिवेशनमा दोहोरिने आकांक्षा राखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूह सग्लो नरहने करिब ‘निश्चित’भएको छ । सभापतिमा दावी गरेर निरन्तर संवादमा रहेका उपसभापति विमलेन्द्र निधिले औपचारिकरूपमै महाधिवेशनको तयारी थाल्ने भएपछि संस्थापन समूहबाट २ उम्मेदवार हुने निश्चित भएको हो ।

    उपसभापति निधिले सभापति लड्ने तयारीका लागि शुक्रबारदेखि सम्पर्क कार्यालय सञ्चालन गर्ने भएका छन् । महाधिवेशन अभियान संयोजन गर्ने गरी थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा निधिले सम्पर्क कार्यालय खडा गरेका हुन् ।

    ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको सम्बन्धमा यहाँहरू जानकार नै हुनुहुन्छ । यसै सिलसिलामा बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा मेरो सम्पर्क कार्यालय शुभारम्भ हुन गइरहेको पनि सहर्ष जानकारी गराउँछु’, निधिले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    उनको सम्पर्क कार्यालयको उद्घाटन शुक्रबार साढे १२ बजे हुने बताइएको छ । सम्पर्क कार्यालयबाट नेता कार्यकर्तासँग भेटघाट, नियमित अन्तरक्रिया, महाधिवेशन लक्षित गतिविधि र सञ्चार संयोजन लगायतका काम गरिने उपसभापति निधिका सल्लाहकार रामजी दाहालले जानकारी दिए । ‘१४ औं महाधिवेशनको लागि आवश्यक पर्ने सबैखाले गतिविधि सम्पर्क कार्यालयबाटै हुन्छ । नियमितरूपमा उहाँ सम्पर्क कार्यालय आउनुहुन्छ’, दाहालले भने ।

    लामो समयसम्म सभापति शेरबहादुर देउवाको मुख्य राजनीतिक सहयात्री रहेका निधिले १४ औं महाधिवेशनमा जुनसुकै अवस्थामा आफनो उम्मेदवारी रहने बताउँदै आएका छन् । नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहेका निधि कांग्रेसको महामन्त्री र उपसभापति रहिसकेका छन् । उपप्रधानमन्त्रीको अनुभवसमेत बटुलिसकेका निधिले आफ्नो पुस्ताका लागि १४ औं निर्णायक रहने बताउँदै आएका छन् । १३ औं महाधिवेशनमा सभापतिमा देउवालाई सघाउँदा नै १४ औं महाधिवेशनमा आफूलाई सघाउने सहमति भएको दावी गर्ने निधिले पार्टीका कार्यक्रमलाई जनतासँग जोड्न आफू उम्मेदवार बनेको बताउँछन् ।

    ‘कांग्रेसको महामन्त्री र उपसभापति भएर काम गरेको छु । नेतृत्वमा रहेर कांग्रेसलाई अझ बढी योगदान गर्नसक्छु भन्ने लागेको छ । देउवाजीलाई पनि भेटेर म सभापतिमा लड्छु सहयोग गर्नुस भनेको छ । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमान, शशांक र शेखर सबैलाई भनेको छु । सके सहमतिका साथ अगाडि बढौ नसके मित्रवत प्रतिस्पर्धा गरौ भन्ने छ । तर जो आएपनि कांग्रेसलाई एक ढिक्का बनाउनुपर्छ’, निधिले नेपाल प्रेससँग भनेका छन् ।

    १४ औं महाधिवेशनबारे उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच विभिन्न चरणमा छलफल भइसकेको छ । निधिले केही समयअघि युवा नेताहरूसँग पनि आफ्नो उम्मेदवारीबारे छलफल गरेका थिए । सम्पर्क कार्यालय स्थापनासंगै महाधिवेशन केन्द्रीय छलफललाई तीव्रता दिने निधिको तयारी छ । केही समयअघि सभापति देउवाले एकपटक आफूलाई सहयोग गर्न गरेको आग्रहलाई निधिले अस्वीकार गरिसकेका छन् । त्यसपछि देउवाले ‘उम्मेदवार बन्ने तपाईंको अधिकार हो’ भनी जवाफ दिएका थिए ।

    निधिको पक्षमा अहिलेसम्म कांग्रेसका केन्द्रीय नेता र जिल्ला सभापतिहरू खुलिसकेका छैनन् । तर, निधिका निकटस्थहरू महाधिवेशनको सरगर्मी बढ्दै जाँदा निधिको पक्षमा खुल्ने क्रम बढ्ने दावी गर्छन् ।

  • निधि, काेइराला र सिंह छलफलमा जुटे

    निधि, काेइराला र सिंह छलफलमा जुटे

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक काेइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच पुन: छलफल सुरु भएकाे छ ।

    नेतात्रयबीच सिंह निवास चाक्सीबारीमा सुरु भएकाे बैठकमा कांग्रेस महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

    तीन नेताबीच यसअघि पनि श्रृखंलाबद्ध रूपमा छलफल भइरहेकाे छ । तीनै जनाले कांग्रेस सभापतिमा दावेदारी प्रस्तुत गर्दै आएका छन् ।

  • निधिको स्वागतमा सयौं सवारीसाधनको लावालस्कर, राजमार्ग नै अवरुद्ध

    निधिको स्वागतमा सयौं सवारीसाधनको लावालस्कर, राजमार्ग नै अवरुद्ध

    जनकपुरधाम । पार्टीले संघीय सरकारको नेतृत्व गरेपछि महोत्तरी आएका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको स्वागतमा सयौं सवारीसाधन लस्कर लागेका छन् । निधिको स्वागतमा ‘फिल्मको झल्को दिने गरी’ स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका हुन् ।

    उपसभापति निधिलाई स्वागत गर्न सयौं सवारीसाधन लिएर कार्यकर्ता बर्दिबास पुगेका थिए । मोटरसाइकल र चारपाङ्ग्रे सवारीको लावालस्करले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध बनेको थियो ।

    उपसभापति निधि फिल्मीशैलीमा गाडीबाटै नेता कार्यकर्तालाई हात हल्लाउँदै अघि बढे । बर्दिबासबाट जलेश्वरसम्म करिब २५ किलोमिटरको यात्रा गर्दा उनलाई ठाउँ–ठाउँमा कार्यकर्ताले स्वागत गरेका हुन् । उनको स्वागतका लागि ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

    २०७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भएयता उनी काठमाडौंबाट जनकपुरको यात्रामा आउँदा यस्तो भव्य स्वागत भएको थिएन ।

    उनलाई स्वागत गर्न कांग्रेसबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव पनि पुगेका थिए ।

    महोत्तरीको जलेश्वरस्थित महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र शालिक अनावरण गर्न उपसभापति निधि यहाँ आएका हुन् ।

  • मैले सभापतिमा लड्छु भनेको छोड्नका लागि होइन : विमलेन्द्र निधि

    मैले सभापतिमा लड्छु भनेको छोड्नका लागि होइन : विमलेन्द्र निधि

    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कसैलाई छोड्न र सौदाबाजीका लागि आफूले सभापतिको उम्मेदवारी घोषणा नगरेको दावी गरेका छन् । निधिले १४ औं महाधिवेशनमा कुनैपनि हालतमा आफू सभापतिमा उम्मेदवार रहने स्पष्ट पारेका हुन् । पार्टीलाई एकतावद्ध रुपमा सुदृढ बनाउने र आगामि निर्वाचन जिताउने उद्देश्य आफूले राखेको निधिको भनाई छ । प्रस्तुत छ उपसभापति निधिसंगको कुराकानी :

    महाधिवेशन केन्द्रीत गतिविधि कसरी अघि बढेका छन् ?

    नेपाली कांग्रेसको महाधिवेशन धेरै पहिले हुनुपर्ने हो । ढिलो भएपनि भदौ १६,१७ र १८ गतेका लागि तोकेका छौ । महाधिवेशन हामीले गर्नैपर्ने हुन्छ । कोरोनाले गर्दा धेरै अवरोध आईरहेको छ । जिल्ला जिल्लामा जानुपर्ने धेरै सार्थीहरुसंग भेट गर्न सकिरहेको छैन । कोरोनाको कारणले मैले गर्न सकिरहेको छैन । धेरै साथीहरुले गर्न सकिरहनुभएको छैन । त्यसको बाबजुद मैले टेलिफोन गरेर ७७ वटै जिल्ला सभापतिहरु, १ सय ६५ संसदिय निर्वाचन क्षेत्र सभापति, पुरानो २ सय ४० जना महाधिवेशन प्रतिनिधिहरुलाई तथा संगठनका नेताहरु सबैसंग मैले फोनबाट म उम्मेदवारी दिन चाहन्छु । तपाईहरुको सहयोग चाहिन्छ भनेको छु । त्यो भन्दा अगाडि पार्टी सभापति शेरबहादुर देउवा ज्युलाई नै भनेको थिएँ । रामचन्द्र पौडेल जी,सिटौला जी, प्रकाशमान जी, शशांक जी लगायत सबैलाई र केन्द्रीय समितिको साथीहरुलाई मैले सरसल्लाह गरेकै हुँ । प्राय सबैले मेरो उम्मेदवारीलाई सकारात्मक दृष्टिकोणले लिनुभएको थियो । छ पनि ।

    तपाईसहित महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहको निरन्तरको संवादले तरंग ल्याएको छ । पार्टी भित्र नयाँ गुटको उदय हुन लागेको हो ?

    नेपालको राजनीतिमा विश्लेषण मात्रै होइन अति विश्लेषण गर्ने बाँनी छ । फेसन पनि छ । स्वार्थ समुह पनि होइन । अर्को नयाँ गुट पनि होइन । केही पनि होइन । म पनि नेपाली कांग्रेसको दलिय राजनीतिमा, संगठनात्मक राजनीतिमा आजदेखि छैन । त्यो भन्दा पहिला म विद्यार्थी संगठनमा थिएँ । लोकतान्त्रिक आन्दोलनको प्रक्रियामा (दरबारमा) हामी जेल गएका थियौ । म पनि जेल गएको थिएँ । त्यसकारणले मैले नेपाली कांग्रेसको नेतृत्वको लागि जब आफुलाई प्रस्तुत गर्दछु, त्यसमा स्वभाविक हुन्छ शेरबहादुर जी , रामचन्द्र जी , सिटौलाजी संग पनि भेट्ने । प्रकाशमान जी, शशांक जी संग पनि भेट्ने । प्रकाशमान जी पनि आजै राजनीतिमा लाग्नुभएको होइन । प्रकाशमान जी त पुर्व उपसभापति पुर्व महामन्त्री भईसकेको मान्छे हो । यो भन्दा पहिला पनि भेटघाट गरेकै हो ।

    शशांक जी राजनीतिमा ढिलो आएपनि उहाँ त निर्वाचित महामन्त्री हो नि । नवलपरासीबाट त तीनपटक निर्वाचित सांसद हुनुहुन्छ । त्यसकारण म आफुलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहँदा म पहिलो कोशिष गर्छु सर्वसम्मति बन्नका लागि । सबैको तर्फबाट र्निविरोध सभापति बन्नु भन्ने चाहना हुनु स्वभाविक हो नि त । त्यसको लागि म घरमै बसेर हुन्छ र ? मैले सबैसंग भेट्नु पर्छ । मैले प्र्रकाशमान जी र शशांक जी संगमात्रै भेटेको भए एउटा कुरा हो । शेरबहादुर जीसंग भेटेको छु । रामचन्द्र जीसंग भेटेको छु । सिटौला जीसंग भेटेको छु । प्रकाशमान जी र शशांक जी संग पनि भेट्दा लञ्च मिटिङ चाहीँ भयो । पहिले पहिले डिनर मिटिङ हुन्थ्यो । अहिले पनि भएका छन् । तपाईहरुको ध्यान त्यतापट्टि गएन । अहिले प्रकाशमान जी, शशांक जी र मैले राजनीतिमा पदाधिकारी भईसकेका हौं ।

    नयाँ प्रवेश गरेको होइन । नयाँ आएको होइन । हामी हैसियतमा छौ । हैसियत भन्नाले एउटा भूमिकामा जिम्मेवारीमा छौ । हामी जिम्मेवारीमा भएकाले सामुहिक रुपमा भूमिका निर्वाह गर्न सक्छौ कि र सामुहिक रुपमा नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको सन्र्दभमा युनाईटेड रुपमा प्रस्तुत गर्न सकिन्छ कि ? त्यो प्रयास गर्नु त हाम्रो कर्तव्य पनि त हो नि त । त्यसै अर्थमा लिनुपर्दछ । यो कुनै नयाँ गुट निर्माण गर्नको लागि पनि होइन बरु गुटहरुको राजनीतिलार्ई भत्काउनका लागि सबैलाई समेटेर हामी हिड्नुपर्छ है भन्नका लागि हो । त्यस अर्थमा लिनुपर्छ । सभापतिको उम्मेदवार भएपछि प्रकाशमान जीको घरमा नै गएँ । दुई पटक भेटेँ । म सभापतिको उम्मेदवार हुन्छु तपाईको सहयोग चाहियो । भन्नुपरो नि त एक्लै आफैले त जितिदैन नि त । त्यस्तै शशांक जी को घरमा पनि गएँ । अरु नेताको घरमा पनि गएँ । उहाँहरु पनि उम्मेदवार भनेर आफुले प्रस्तुत गर्नुभएको छ । त्यसकारण उम्मेदवारहरुबीचमा छलफल हुनु त सामान्य कुरा हो नि । नेपाली कांग्रेस र देशको राजनीतिको बारेमा साझा धारणा बनाउन सकियोस् भनेर हामीले केन्द्रीय समितिका अन्य सदस्यहरुसंग पनि छलफल गर्दैछौ ।

    कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया जहिले पनि जटिल हुन्छ । के यो महाधिवेशनले नेतृत्व हस्तान्तरण गर्न सक्छ ?

    म तपाईको प्रश्नको आशय र सिद्धान्तसंग सहमत छैन । नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणमा जहिले पनि जटिल छ भन्ने होइन । नेपाली कांग्रेस पार्टी नै यस्तो पार्टी हो, डेमोक्रेसीमा के भनिन्छ भने नि स्मुथ ट्रान्सफर अफ लिडरसिप भनेको देखिन्छ । कस्तो छ भनेर । नेपाली कांग्रेसमा स्मुथ ट्रान्सफर अफ लिडरसिप देखिन्छ । यो डेमोक्रेसिको ब्युटी हो । यो निर्वाचन प्रणालीबाट भईरहेको छ । विपि कोइराकाले समयमा पनि निर्वाचन हुन्थ्यो । त्यसपछि त डेमोक्रेशि नै रहेन । जब डेमोक्रेसी रिस्टोर भयो नेपालमा, त्यसपछि गिरिजाप्रसाद कोइराला जीले चुनाव लड्नुभयो र जित्नुभयो । शुशिल पनि चुनाव लड्नुभयो, जित्नुभयो । शेर बहादुर चुनाव लड्नुभयो, जित्नुभयो ।

    नेतृत्व प्रणालीबाट नेतृत्वको हस्तान्तरण गर्ने पार्टी यदि नेपालमा कोही छ भने त्यो नेपाली कांग्रेस पार्टी हो । नेपालमा मात्रै होइन भारतमा पनि देख्निँ म । त्यसकारण नेपाली कांग्रेसमा जहिले पनि नेतृत्व हस्तान्तरण प्रक्रिया जटिल हुन्छ भन्नेमा म सहमत छैन । नेपाली कांग्रेसको केन्द्रीय सभापति वा पदाधिकारीहरुको निर्वाचन ४÷५ हजार महाधिवेशन प्रतिनिधिले गर्दछन् । त्यो प्रतिनिधिहरु टीका लगाएर आएको होइन । निर्वाचन प्रणालीबाट तल्लो निकायबाट वडाबाट, वडाबाट पालिकामा, पालिकाबाट क्षेत्र र क्षेत्रबाट केन्द्रमा आउँछ । यसमा कसैले कसैलाई रोक्न सक्क्तैन । जसले मतदाताको भोट पाउँछ, त्यो निर्वाचित हुन्छ । यो अन्तत महाधिवेशन प्रतिनिधिहरुमाथि निर्भर रहन्छ । महाधिेशन प्रतिनिधिहरुलाई कसरी प्रभावित गर्ने , आफ्नो पक्षमा कसरी पार्ने भन्ने कुरा उम्मेदवारमा भर पर्छ । कसैले कसैलाई नलड भन्दैन नि त कसैले जानी जानी फलानोको समर्थन पाईन भने म जित्न सक्दिनँ भनेर सोचेर आफै उम्मेदवार नहुनु एउटा कुरा हो । तर उम्मेदवार हुनका लागि कसैले कसैलाई रोक्दैन नेपाली कांंग्रेसमा । रोकेको पनि छैन । रोक्दैन पनि ।

    मैले प्रक्रिया भन्दा पनि विधिको कुरा सोधेको थिएँ । वर्तमान सभापति हिजो गिरिजाप्रसाद कोइरालासंग लडेको, शुशिल कोइरालासंग पनि लड्नुभयो , रामचन्द्र पौडेलसंग पनि लड्नुभयो । फेरी पनि लड्दै हुनुहुन्छ । यसअर्थमा नेतृत्व हस्तान्तरण जटिल भएन र ?

    निर्वाचन प्रणाली संसारमा लोकतन्त्रका लागि सबै भन्दा उत्तम उपकरण हो । निर्वाचन प्रणालीको पनि अवगुणहरु छन् । तर वेष्ट मोडलहरु मध्ये सबै भन्दा वेष्ट मोडल भनेको निर्वाचन प्रणाली नै हो । हाम्रा राजनीतिक शास्त्रीहरुले पठाउनुभएको पनि त्यही हो र लेख्नुभएको पनि त्यहि हो । नेपाली कांग्रेसको निर्वाचनको सम्बन्धमा पार्टी सभापति शेर बहादुर देउवा जीले लड्छु भनिसकेपछि नलड्नुस् भनेर अनुरोध गर्नु एउटा कुरा हो । अधिकार त हो नि उहाँले । हामीले के भन्छौ भनेदेखि शेर बहादुरजी, रामचन्द्र जी, सिटौला जी नलड्दिए हुन्थ्यो । १३ औ महाधिवेशनका कोही पनि नलड्दिए हुन्थ्यो भन्ने लागेको छ । लागेर मात्रै त भएन नि त । लड्ुछु भनेपछि नलड्नु है भन्न त मिल्दैन । त्यसकारण राजनीति नै जटिल हुन्छ । राजनीतिक चीज नै , क्षेत्र नै जटिल चीज हो । निर्वाचन प्रणाली पनि जटिल हो । निर्वाचन प्रणालीलाई सम्पन्न गर्न, सम्पादन गर्न जुन स्वभाविक जटिलताहरु छन्, त्यो जटिलताहरु त हामीले व्यहोर्नुपर्छ ।

    लामो समय पार्टी सभापति देउवाको विश्वास पात्रको रुपमा भरोसा पनि दिनुभयो । अहिलेपनि कतिपयले अन्तिममा विमलेन्द्रले देउवालाई सघाउँछन् भन्छन् नि ?

    महत्वपुर्ण निर्णय मैले हचुवा र हतारमा लिन्न । मैले सभापतिमा लड्छु भनेको छोड्नका लागि होइन । मैले सभापतिमा उम्मेदवारी दिएको मुल उद्देश्य के हो भने , शेर बहादुर देउवा रामचन्द्र जी १३ औ महाधिवेशनका उम्मेदवार हुन् । उनले जति काम गर्नुपर्ने थियो । उहाँहरुले जति काम गर्नुपर्ने थियो देशको लागि पार्टीको लागि, गरिसक्नुभएको छ । उहाँहरुले अरु पनि काम गर्न बाँकी छ । फरक भूमिकामा उहाँहरुको सक्रियता हामीले अपेक्षा गरेका छौ । पार्टीको कार्यकारणीको रुपमा उहाँहरुले गर्न बाँकी रहेका कामहरु मेरो अगुवाईमा होस् भन्ने चाहना हो । मेरो चाहाना के हो भने ढिलो चाडो मुलुकमा जे जे हुन्छ, आमचुनाव, प्रतिनिधिसभाको निर्वाचन प्रदेशसभाको निर्वाचन, स्थानीय तहको निर्वाचन । प्रमुख रुपमा प्रतिनिधिसभाको निर्वाचन हो ।

    प्रतिनिधिसभाको निर्वाचन जहिले हुन्छ त्यसमा नेपाली कांग्रेसको रुख छापलाई चिताउनु आवश्यक छ । नेपाली काग्रेसको सदस्यको हैसियतले मेरो कर्तव्य त्यो हो । मैले पहिले भन्दा बढी जिम्मेबार भएर नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनु पर्दछ । जनता र मतदाताको बीचमा नेपाली कांग्रेसलाई यसरी तयार गरौ, आम मतदातालाई लागोस् नेपाली कांग्रेस एक भएर आएको छ । नेपाली कांग्रेस ताजा भएको आएको छ । नेपाली कांग्रेस सक्षम भएर आएको छ । नेपाली कांग्रेस बैचारिक रुपमा पनि प्रष्ट भएर आएको छ , सांगठनिक रुपमा पनि प्रस्ट भएर आएको छ र नेपाली कांग्रेसले यो देशमा अहिले भाँडभैलो भईरहेको छ सबै क्षेत्रमा–राजनीतिक क्षेत्र, व्यवसायीक क्षेत्र, सामाजिकक्षेत्र , अन्तराष्ट्रिय सम्बन्धको क्षेत्र , उद्योग व्यवसायको क्षेत्रमा ।

    नेपालमा धेरैको बलिदान भएर दुईवटा संविधानसभाको निर्वाचन मार्फत देशमा राज्यको पुर्नसंरचना गरेका छौ । रुपान्तरण गरेका छौ । संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, धर्मनिरपेक्षता, यी सब निर्वाचन प्रणाली यो अहिलेको हामीले ल्याएको नयाँ प्रणालीको प्रमुख तत्वहरुको रुपमा रहेछ । हामीले संविधान जारी गर्यौ । गएको तीन बर्ष देखि के देख्दै छौ भने सत्तापक्ष र सरकारको प्रणालीप्रति पनि इमान्दारिता छैन । संविधानप्रति पनि इमान्दारीता छैन ।
    हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको रक्षा र सफल कार्यान्वयन गर्नु अहिले कुनै पनि राजनीतिक दलको जिम्मेवारी हो । अरु राजनीतिक दलले त्यो जिम्मेवारी निर्वाह गर्न सकेन ।

    जनताले जिताएर जसलाई पठाईदियो प्रयोगशालाबाट देखि सकियो उनीहरुले त्यो जिम्मेवारी पुरा गर्न सकेन । अब त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो । त्यसकारण नेपाली कांग्रेसले १४ औ महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बद्र्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यासञ्चालन गर्नु आवश्यकता छ । त्यो आवश्यकता पुरा गर्नका लागि म नेपाली कांग्रेसको सभापति को उम्मेवारको रुपमा प्रस्तुत गरेको छु । त्यसकारण छोड्नका लागि कोही अरुसंग सम्झौता गर्नका लागि वा तपाईले भनेजस्तो स्वार्थ समुह केही पनि होइन । मेरो एक मात्रै उद्देश्य त्यही हो । त्यसैका लागि मात्रै हो मेरो उम्मेदवारी ।

    हामीले सभापतिमा तपाईको औपचारीक उम्मेदवारी त्यसमा पनि समुहगत उम्मेदवारीको जानकारी कहिले पाउँछौ ?

    पहिला हामी सबै महाधिवेशन प्रतिनिधि भएर आउनुपर्यो औपचारिक रुपमा । कांग्रेसको उम्मेदवार र मतदाता बन्नका लागि महाधिवेशन प्रतिनिधि बन्नै पर्छ । महाधिवेशन प्रतिनिधि चयन भईसकेपछि मात्रै टिम बनाउने हो । मेरो टीमको उपसभापति, महामन्त्री को हुने भन्ने अनौपचारिक छलफल मैले पनि गरिरहेको छु । बाहिर ल्याएको छैन । ल्याउनु जरुरी पनि छैन । उपयुक्त समय आएपछि ल्याउँछु ।

    मुलुकको शासकीय प्रणाली अनुरुप पार्टीको विधान पनि भर्खरै परिर्वतन भएको छ । संघीय स्वरुप र समावेशीताको हिसाबले महिला जनजाति, दलित लगायतको सहभागिताको सन्र्दभमा अरु भन्दा भिन्न के छ ?

    हाम्रो नेपालको समाज विविधताले भरिएको समाज हो । विविधताको पहिचान गर्ने हो भने अहिले थरिथरिको विविधता छ । जातिय, भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक विवधताहरु छन् । विविधताहरुलाई पहिचान गरेर स्वीकार गर्नुपर्छ । नेपालको लागि कुनै पनि विकासको योजनाहरु बनाउने क्रममा यसलाई ध्यानमा राख्नुपर्छ । यसलाई समस्या हो भनेर नकारात्मक भावना राखेर सोच्ने हो भने फेरि पनि अग्रगामी दिशामा जान सकिदैन ।

    विविधता चाहीँ हाम्रो लागि सम्पत्ति हो । पूँजी हो । यो बरदान हो । यी विविधताहरुलाई हामीले शान्तिपुर्ण सम्मृद्धिको लागि, विकासको लागि प्रयोग गर्न सक्छौ । त्यसको लागि हामीले राज्यको संरचना कसरी निर्माण गर्न सक्दछौ । ती सबै कुरालाई सोचेर गर्नुपर्छ । सबै विविधताले शासन प्रणालीमा हाम्रो प्रतिनिधित्व छ भनेर अनूभुत गर्नुपर्दछ । हामी पनि छौ । हाम्रो पनि ठाउँ छ । उसले शासन प्रणालीमा आफ्नो प्रतिनिधित्व देख्यो भने अनि न अपनत्व हुन्छ । त्यसकारणले म राज्यको निर्माण गर्दा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत सबै ठाउँमा विविधताहरुको प्रतिनिधित्व हुनुपर्यो । सबै विविधताको पहिचान, प्रतिनिधित्व र स्वामित्वको बोध गराउनुपर्छ । त्यो प्रणालीलाई व्यवस्थित गर्नका लागि जारी भएको संविधान । यो संविधान पनि हाम्रो हो है भनेर सबै विविधताले महसुस गर्दछ । यो सिद्धान्त र पद्धतिमाथि आधारित भएर हामीले समावेशीताको कुराहरु गरेका छौ ।

  • निधिलाई पौडेलको जवाफ- पहिले समायोजन र सदस्यतामा ध्यान दिनुस्, चुनावी कुरा पछि गरौंला

    निधिलाई पौडेलको जवाफ- पहिले समायोजन र सदस्यतामा ध्यान दिनुस्, चुनावी कुरा पछि गरौंला

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समायोजन र क्रियाशील सदस्यताको विवाद टुंग्याएरमात्रै उम्मेदवारीबारे कुरा गर्न उपसभापति विमलेन्द्र निधिलाई सुझाएका छन् ।

    पौडेल निवास बोहोराटार पुगेका निधिलाई वरिष्ठ नेता पौडेलले समायोजन र सदस्यता विवाद समाधानमा गम्भीर हुन आग्रह गरेका हुन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले पछिल्लो समय नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । निधिसँग निर्वाचनबारे कुनै छलफल नगरेको पौडेलले बताए ।

    ‘निधिजी पार्टीको उपसभापति पनि हो । उहाँले पहिले महाधिवेशन गराउन आफ्नो तर्फको जिम्मेवारी पनि पूरा गर्नुपर्‍यो । समायोजनको विवाद टुग्याउनुपर्‍यो । क्रियाशील सदस्यताको मापदण्ड तत्काल पारित गर्नुपर्‍यो । त्यसपछि बाँकी कुरा गरौंला भने’, भेटबारे पौडेलले नेपाल प्रेससँग भने ।

    उपसभापति निधिले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने काम जारी रहेको बताएका थिए । सभापतिमा उम्मेदवारी घोषणा गरेकोबारे निधिले पौडेलसँग संवाद गर्न चाहेपनि पौडेलले त्यसबारे पछि कुरा गर्ने बताएका थिए ।

    आसन्न महाधिवेशनमा सभापति पदका दाबेदार रहेका दुवै नेताबीच क्रियाशील सदस्यताको विवाद टुंगिएपछि थप छलफल गर्ने सहमति भएको छ । ‘अहिले क्रियाशीलको विवाद गम्भीर छ । यो विवाद मिलाउन उपसभापतिले भूमिका खेल्ने र चुनावी छलफल पछि गर्ने कुरा भएको छ’, पौडेलले भने ।

  • विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, देउवाको विकल्पबारे छलफल

    विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, देउवाको विकल्पबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी छन् ।

    निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए । निधिको मध्यबानेश्वरस्थित निवासमा नेतात्रयबीच पारिवारिक र राजनीतिक छलफल भइरहेको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

    सभापति शेरबहादुर देउवानिकट निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ । देउवाले प्रदेशगतरूपमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशनकेन्द्रित छलफल थालेका हुन् ।

    जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

    ‘मुख्यतः यो पारिवारिक भेट हो तर नेताहरू भेटेपछि राजनीतिक कुरा भैहाल्छ । महाधिवेशनबारे एक अर्काको कुरा सुन्ने सुनाउने काम भएको छ’, निधिनिकट स्रोतले भन्यो । यसअघिल्लो अघिल्लो वर्ष साउनमा निधिले कोइराला र सिंहलाई उनीहरूकै निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए ।

    आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन् ।

    पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरे । सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सद्भाव पनि आफूले जुटाउनसक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए । छलफलमा जुटेका नेतात्रय नै कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन् ।

  • मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं : उपसभापति निधि

    मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं : उपसभापति निधि

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

    नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै उपसभापति निधिले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो सम्भावना रहेको बताए ।

    निर्वाचन आयोगले घोषणा गरेपछिको तयारीले मात्रै नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको लागि तयार हुनुपर्ने निधिको भनाई थियो ।

    गत निर्वाचनमा लोकतन्त्र, संघीयता र समावेशितामा विश्वास नगर्ने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका कारण परिवर्तनका ती एजेण्डा धरापमा परेको भन्दै उनले आगामी निर्वाचनमा कांग्रेसका पक्षमा मत दिएर ती एजेण्डालाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

  • संख्या नपुगी अविश्वास प्रस्ताव ल्याउँदा आफैं खाडलमा फस्ने कांग्रेसको डर (भिडियो)

    संख्या नपुगी अविश्वास प्रस्ताव ल्याउँदा आफैं खाडलमा फस्ने कांग्रेसको डर (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेस अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म त्यसतर्फ नलाग्ने भएको छ ।

    आइतवार सम्पन्न पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले अहिलेसम्म संख्या नपुगेको बताए ।

    निधीले भने, ‘हामीले अविश्वास प्रस्ताव ल्याउनका लागि पहल गरेका हौं तर संख्या पुगेको छैन । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ । हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’

    निधिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय कार्यन्वयनका लागि पहल भइरहेको बताए ।

  • कांग्रेस उपसभापति निधि भन्छन्– चुनावपछि मात्रै पार्टीको महाधिवेशन

    कांग्रेस उपसभापति निधि भन्छन्– चुनावपछि मात्रै पार्टीको महाधिवेशन

    जनकपुर । कांग्रेस उपसभापति विमलेन्द्र निधिले वैशाखमा घोषणा गरिएको प्रतिनिधिसभा चुनावपछि मात्रै पार्टीको महाधिवेशन हुने बताएका छन् । सर्वोच्च अदालतले संसद विघटनको पक्षमा फैसला गरे निर्वाचनमा जानुको विकल्प नभएको भन्दै उपसभापति निधिले चुनावपछि मात्रै पार्टीको महाधिवेशन हुने बताएका हुन् ।

    उनले भने– संसद पुनःस्थापना नभए चुनावमा भाग लिएर महाधिवेशनको तयारीमा लाग्नु पर्छ । कांग्रेस आगामी फागुन ७ देखि १० सम्म अधिवेशनको मिति तोकेको छ ।

    उनले सरकारले संसद विघटन गर्नु गलत भए पनि अब तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

    जनकपुरमा आयोजित एक कार्यक्रममा उनले भने– संसद विघटन असंवैधानिक हो, समर्थन गर्न सकिँदैन । तर निर्वाचन संवैधानिक व्यवस्था हो । प्रतिनिधिसभा देशलाई चाहिन्छ । त्यसैले लोकतन्त्रमाथि विश्वास गर्ने कांग्रेस निर्वाचनमा जान्छ ।

    अदालतबाट संसद विघटन सदर भएर पनि सरकारले चुनाव नगराए आन्दोलनमा जानुपर्ने उनको भनाइ थियो । उनले संघीयता र गणतन्त्रको रक्षासँगै समृद्धिको मुद्दा लिएर कांग्रेस चुनावमा सहभागी हुने बताए ।

  • कांग्रेस उपसभापति निधिको टिप्पणीः सरकार सबै क्षेत्रमा असफल

    कांग्रेस उपसभापति निधिको टिप्पणीः सरकार सबै क्षेत्रमा असफल

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन्। नेपाली जनसम्पर्क समिति यूएइद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान तथा कोभिड १९ महामारीको समयमा यूएइमा आइपरेका समस्या समाधान तथा उद्धार कार्यमा संलग्न व्यक्तिहरुको सम्मानमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनहितका पक्षमा केही काम गर्न नसकेको बताए।

    कोरोना नियन्त्रणमा ‘सिन्को भाँच्न नसकेको’ सरकारले स्वास्थ्य सामग्री खरिदका नाममा चरम भ्रष्टाचार गरेको भन्दै आलोचना गरे। सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको भनी किटानी गर्दासमेत प्रधानमन्त्रीले केही भएको छैन भनी लाज नमानी प्रतिरक्षा गरेको उपसभापति निधिले बताए।

    निधिले कुनै पनि संवैधानिक निकायको नियुक्तिमा सरकारको एकलौटी नहोस् भनेर नै संवैधानिक परिषदमा बिपक्षी दलको नेता रहने व्यबस्था संविधानमै गरिएको बताए। उनले निष्पक्ष कार्यसम्पादन होस् भनेर नै संविधानमा यस्तो व्यबस्था गरिएको प्रष्ट पारे।

    निधिले संविधानमा स्पष्टसँग उल्लेख गरिएको यस्तो व्यबस्था बिपरीत सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर कानुनी राज्यको खिल्ली उडाएको बताए।

    संसद अधिबेशन डाक्नुपर्नेमा अध्यादेश जारी गरेर बेमौसमको बाजा बजाएको उनको भनाइ थियो।

  • अध्यादेश फिर्ता होला तर सरकारको ‘निकम्मापन’ फिर्ता हुँदैन : उपसभापति निधि

    अध्यादेश फिर्ता होला तर सरकारको ‘निकम्मापन’ फिर्ता हुँदैन : उपसभापति निधि

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अध्यादेश गरिएपनि सरकारको ‘निकम्मानपन’ फिर्ता नहुने टिप्पणी गरेका छन् ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयबीच अध्यादेश फिर्ता गर्ने सहमति भएलगत्तै उपसभापति निधिले सरकारको असफलता जनतामाझ छताछुल्ल भइसकेको बताए ।

    ‘अध्यादेश ल्याउन सरकारको ठूलो गल्ती थियो । अब फिर्ता गर्छ भनेपनि सरकारकै असफलता हो । यो सरकार निकम्मा रहेछ भनेर जनताले त थाहा पाएनि ।’, निधिले नेपाल प्रेससंग भने ।

    उनले नेकपाको विवादबारे कांग्रेस निरपेक्ष रहने तर संविधान र लोकतान्त्रिक मूल्य मान्यतामाथिको प्रहार कुनै हालतमा नसहने बताए ।

  • ‘राजतन्त्र फर्कंदैन, बरु कम्युनिष्ट सिद्धिन्छन्’

    ‘राजतन्त्र फर्कंदैन, बरु कम्युनिष्ट सिद्धिन्छन्’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध आन्दोलित बनेको छ । मंसीर २९ गते सोमबार देशैभरि हुने प्रदर्शनलाई कांग्रेसले सरकारको ‘सर्वसत्तावादी’ चरित्रविरुद्धको अभियानका रूपमा प्रचार गरेको छ । २०७४ साल मंसीरको निर्वाचनबाट प्रमुख प्रतिपक्षको भूमिका प्राप्त गरेपछि कांग्रेसले सरकारविरुद्ध संगठित आन्दोलन गर्न नसकेको आरोप लाग्दै आएको छ । कांग्रेसको आन्दोलन, समसामयिक राजनीति र कांग्रेस महाधिवेशनका विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानी नेपाल टकमा प्रस्तुत छ:

    नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा उत्रिएको छ । प्रतिपक्षमा पुगेको तीन वर्षपछि सडकमा उत्रिनुपर्ने बाध्यता के आइपर्‍यो ?

    हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारविरुद्ध मंसीर २९ मा देशैभरि प्रदर्शन गर्दैछौं । यो एक आन्दोलन भन्दा पनि प्रदर्शन हो । सरकारविरुद्ध कांग्रेसले यसअघि पनि यस्ता प्रदर्शनहरू गरेकै थियो । निर्वाचन हारेलगत्तै हामीले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारलाई काम गरोस् भनेर छाडेकै हो ।

    शुरूकै दिनदेखि सरकारको विरोधमा उत्रिएको भए कांग्रेसले सत्ताबाहिर बस्ने धैर्यता राखेन भनेर हामीलाई आरोप लाग्थ्यो । जनमतबाट आएको सरकारले जनताका सुखदुःख बुझ्ला भन्ने सोचेका थियौं । तर यो अवधिमा सरकारको प्रदर्शन निकै निराशाजनक रह्यो । पछिल्लो समय कोभिडको महामारी नियन्त्रण गर्न सरकार असफल भयो । स्वास्थ्य उपकरण खरीदमा समेत अनियमितता गरियो । जनतालाई राहतको कुनै महसूस हुन सकेन ।

    प्रतिपक्षी दलका नेता कार्यकर्तामाथि पूर्वाग्रह साध्ने काम धेरै भयो । तनहुँको घटनाबारे त सबैलाई थाहै छ । अरू जिल्लामा पनि कांग्रेस कार्यकर्तालाई प्रशासनले दुःख दिएको छ । विकास निर्माण, शान्ति सुव्यवस्था, जनताको स्वास्थ्यको रक्षा र राजनीतिक संस्कार प्रदर्शन गर्ने कुनै कुरामा पनि सरकार सकारात्मक देखिएन । प्रधानमन्त्री ओलीले संविधानको भावना अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने गरी राजनीतिक काम पनि गर्न सक्नुभएन । यी सबै कारणहरूले गर्दा कांग्रेस सडकमा उत्रनुपरेको हो ।

    हामी संसदीय व्यवस्था मान्नेहरू सरकारलाई आवधिक निर्वाचन र जनमतबाट विस्थापित गर्न सकिन्छ भन्ने मान्यता राख्छौं । संसद्मा उभिएर कांग्रेसले सरकारलाई खबरदारी गरेकै थियो । अहिले त पाँच महीनादेखि संसद् पनि छल्ने काम भयो । सरकारको यस्तै रवैयाका कारण हामी सडकमा उत्रिएका छौं । अब सदन र सडक दुवै स्थानबाट सरकारको सर्वसत्तावादी सोच र भ्रष्टाचारी चरित्रको भण्डाफोर गर्दैछौं ।

    तर कांग्रेस आफैं सरकारसँग लाचार देखिएको आरोप पार्टी नेतृत्वलाई लाग्दै आएको छ । कतै पार्टी नेतृत्वले ‘फेस सेभिङ’ का लागि मात्रै कार्यकर्ता सडकमा उतार्न खोजेको त होइन ?

    हामीले ‘फेस सेभ’ गर्नुपर्ने अवस्था नै छैन । कांग्रेसले लोकतान्त्रिक संस्कार अनुसार नै संविधान कार्यान्वयन गरेर सरकार हस्तान्तरण गरेको हो । निर्वाचनबाट जनताले वामपन्थीहरूलाई जनमत दिएपछि हामी प्रतिपक्षको भूमिकामा छौं । वर्तमान सरकारको गठन प्रक्रियादेखि नै हाम्रा राजनीतिक मतहरू जाहेर गर्दै आइरहेका छौं । संसद्मा कांग्रेसले निर्वाह गरेको भूमिका चानचुने होइन ।

    हिजोजस्तो सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र जनतालाई दुःख दिने प्रतिपक्ष हामी होइनौं । जनताले वर्तमान सरकारको कामको यथोचित मूल्यांकन गरेकै छन् । आगामी निर्वाचनमा त्यसको परिणाम पनि देखिन्छ । इतिहासदेखि आजसम्म कांग्रेसले जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गरेको छ ।

    अहिले कांग्रेसको प्रदर्शन वर्तमान सरकारलाई खबरदारी गरेर सुधार्ने मात्रै होइन भविष्यका सरकारहरूलाई पनि सचेतना दिनका लागि हो । सरकारका गलत कदमविरुद्ध विगतमा पनि सडक प्रदर्शनहरू गरिएका थिए । अहिले स्थिति अझ बिग्रियो । सरकार अझ भ्रष्ट भयो । त्यसैले प्रदर्शनलाई अलि बढी प्रचारात्मक र प्रभावकारी बनाएका छौं ।

    सडकमा त अहिले व्यवस्था विरोधीहरूको जुलूस छ । स्वस्फूर्त रूपमा सडकमा उत्रिएकाहरूको अघिल्तिर कांग्रेसको झण्डा राख्न मात्रै खोजिएको त होइन नि ?

    अहिले सडकमा अरूले गरेका प्रदर्शनबारे म केही स्पष्ट पार्न चाहन्छु । पहिलो कुरा राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने आन्दोलनमा कांग्रेसको कुनै सहभागिता छैन । नेपाली कांग्रेसको नेतृत्वमा आएको धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका पक्षमा कांग्रेस छ ।
    नेपालमा राजतन्त्र फर्काउने एजेण्डामा कांग्रेस सहमत छैन । त्यसैले सडकमा अहिले भइरहेका आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता, समर्थन र सहभागिता छैन । तर पनि सडकमा देखिएको आक्रोश वर्तमान सरकारको असफलताको परिणाम हो भन्ने कांग्रेस ठान्दछ ।

    ओली नेतृत्वको सरकारले संघीयतालाई सुदृढ बनाउन सकेन । गणतन्त्र र धर्मनिरपेक्षताबारे पनि भ्रम सिर्जना सरकारकै कारण भएको छ । कम्युनिष्ट सरकारले बाटो बिराएकोले जनआन्दोलनका बलमा स्थापित परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ । कांग्रेसले सदन र सडक दुवै ठाउँबाट सरकारलाई खबरदारी गर्ने मात्रै होइन आफ्नै नेतृत्वमा आएको संविधानको संरक्षण गर्नुपर्ने दायित्व पनि पूरा गर्दैछ । त्यसैले नेपालमा राजतन्त्र फर्कन नदिने र कम्युनिष्टलाई राजनीतिक लडाइँबाटै परास्त गर्ने कुरामा कांग्रेस अडिग छ ।

    सरकारको भूमिकाको आलोचना गर्नुहुन्छ । कांग्रेसकै भूमिकाप्रति जनता सन्तुष्ट छैनन् । अझ सभापति शेरबहादुर देउवाको कार्यकालमा त कांग्रेस झन् कमजोर भयो भनिन्छ नि ?

    कांग्रेसका बारे हुने टिप्पणीहरू मैले पनि सुन्ने गरेको छु । तर यसमा बुझाइको समस्या हो । पार्टीभित्रकै केही आन्तरिक समस्याका कारण सभापतिजीलाई असफल चित्रण गर्ने प्रयास पनि भयो । सभापतिजीको कार्यकालको समीक्षा गर्दा कांग्रेसको एउटा राजनीतिक कालखण्ड सम्झनुपर्छ । त्यसभित्र गिरिजाबाबु, सुशील कोइराला र शेरबहादुरजी तीन जनाकै नेतृत्व जोडिएर आउँछ ।

    शान्ति प्रक्रियाको शुरूआत, संविधान लेखनको अगुवाइ र संविधान कार्यान्वयनको सार्थक पहल गर्न कांग्रेसका यी तीनै नेता सफल भएका छन् । जहाँसम्म कांग्रेसको प्रतिपक्षी भूमिका छ हामीसँग जनताले अझ बढी अपेक्षा गर्नु स्वाभाविक हो । अब उपयुक्त बेला पनि भएको छ ।

    सरकार र कम्युनिष्ट पार्टीले जनताको एजेण्डा बिर्सिसकेका छन् । जनताले पनि कम्युनिष्टबाट देशको हित हुन्न भन्ने महसूस गरेका छन् । त्यसैले अब सडक र सदन दुवै स्थानबाट कांग्रेसले अधिनायकवादी, सर्वसत्तावादी र भ्रष्ट कम्युनिष्ट सरकारको विरोधमा कदम चाल्छ । हाम्रो केन्द्रीय समितिको निर्णय नै छ कि ओलीजीले सत्ता सञ्चालनको नैतिक वैधता गुमाइसक्नुभएको छ ।

    सरकारविरुद्ध खरो उत्रन्छौं त भन्नुभयो तर पार्टी नै आन्तरिक रूपमा कमजोर छ । कांग्रेसको महाधिवेशन र भावी नेतृत्वले पनि अर्थ राख्ला नि ?

    पहिलो कुरा नेपाली कांग्रेस आन्तरिक वा बाह्य कुनै पनि कारणले कमजोर छैन । सात दशकदेखि नेपाली जनताको एजेण्डामा अडिग रहेको पार्टी नै नेपाली कांग्रेस हो । बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशील कोइराला, महेन्द्रनारायण निधि, शेख इद्रिस, रामनारायण मिश्र, योगेन्द्र शेरचनलगायतका महान् नेताहरूले कांग्रेसमा विचार र संगठनको जग हाल्नुभएको छ ।

    पछिल्लो समय शान्ति र संविधानलाई बढी प्राथमिकता दिंदा केही आन्तरिक विषयहरूमा अलमल भएको हुनसक्छ । तर त्यसले कांग्रेसलाई कमजोर बनाएको छैन । अब १४औं महाधिवेशनपछि त कांग्रेसले आफूलाई अझ सशक्त बनाउँछ ।

    त्यस्तो सशक्त कांग्रेस बनाउन अहिलेकै नेतृत्व निरन्तर रहन्छ कि फेरिन्छ ? तपाईंको दाबी केमा रहन्छ ?

    नेतृत्व हस्तान्तरण भनेको सामान्य विषय होइन । कांग्रेसलाई नेतृत्व गर्न सक्ने नेताको कुनै अभाव छैन । एउटा व्यक्तिका कारण कांग्रेस बलियो वा कमजोर हुँदैन । मुलुकको आवश्यकता बलियो कांग्रेस हो । त्यसका लागि अबको महाधिवेशनमा एकताको सन्देश दिनुपर्छ । गुटभन्दा माथि उठ्ने प्रयास हामीले गर्नुपर्छ । मैले त सबै नेतालाई सहमतिमै जाऔं भनेर भनिसकेको छु । मेरो व्यक्तिगत दाबी सभापतिमा रहन्छ ।

    कांग्रेसको महामन्त्री र उपसभापति भएर काम गरेको छु । नेतृत्वमा रहेर कांग्रेसलाई अझ बढी योगदान गर्न सक्छु भन्ने लागेको छ । देउवाजीलाई पनि भेटेर म सभापतिमा लड्छु सहयोग गर्नुस् भनेको छु । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमान, शशांक सबैलाई भनेको छु । सके सहमतिका साथ अगाडि बढौं नसके मित्रवत् प्रतिस्पर्धा गरौं भन्ने छ । तर जो आए पनि कांग्रेसलाई एकढिक्का बनाउनुपर्छ ।

    तपाईंको उम्मेदवारी सभापतिमा निश्चित हो कि वर्तमान सभापतिको विकल्पमा मात्रै तपाईं उम्मेदवार हुने हो ?

    मेरो पहिलो प्रस्ताव पार्टीभित्र सहमतिको सम्भावना खोजौं भन्ने हो । सहमति जुट्यो भने जसका नाममा सहमति जुट्छ उसैलाई सहयोग गरौं । नभए प्रतिस्पर्धा स्वाभाविक छ । तर जुनसुकै अवस्थामा म सभापतिको उम्मेदवार हुँ । मैले देशभरका साथीहरूसँग परामर्श गरिरहेको छु । उहाँहरूले हौसला दिनुभएको छ । म अहिले यत्ति भनुँ कि म जुनसुकै परिस्थितिमा पनि कांग्रेसको सभापति पदको योग्य दावेदार हुँ ।

    सभापति बने पार्टी कसरी हाँक्नुहुन्छ ?

    सभापति एक्लैले पार्टी हाँक्ने होइन । कांग्रेसमा सामूहिक नेतृत्वको सवाल पनि छ । पदाधिकारीहरू पनि निर्वाचित भएर आउँछन् । सभापतिका रूपमा पार्टीको संगठनलाई जुझारु बनाउनु, पार्टीका कार्यक्रमलाई जनतासँग प्रत्यक्ष जोड्ने र नेपालका कम्युनिष्टहरूलाई परास्त गर्ने कांग्रेस बनाउन चाहन्छु । आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सक्ने गरी पार्टीलाई सही नीति र नेतृत्व प्रदान गर्न सक्छु भन्ने लागेको छ ।