Tag: विपुल पोखरेल

  • पत्रकार महासंघका अध्यक्ष पोखरेलाई निर्वाचन आयोगको ध्यानाकर्षण

    पत्रकार महासंघका अध्यक्ष पोखरेलाई निर्वाचन आयोगको ध्यानाकर्षण

    काठमाडौं । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित ‘पत्रकार महासंघका अध्यक्ष भन्छन्–निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामीले मान्न जरुरी छैन’ शीर्षकको समाचार प्रकाशन भएपछि आयोगले उनलाई ध्यानाकर्षण गराएको हो ।

    नेपाल पत्रकार महासंघका अध्यक्षजस्तो जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौती दिनेगरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय नभएको आयोगले प्रष्ट पारेको छ ।

    ‘निर्वाचन सफल बनाउने प्रमुख पक्ष आचारसंहिताको सही कार्यान्वयन भएकाले मिडियाकमी र सञ्चारमाध्यमले त्यसको महत्वबारेमा सबै पक्षलाई सचेत गराउनुपर्ने तथा त्यसबारे नागरिकलाई सुसूचित गराउने जिम्मेवारी सञ्चारमाध्यम पत्रकारको हुन्छ’ आयोगको अदेशमा भनिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को उपदफा ९४० मा निर्वाचन आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुने व्यवस्था छ।

    यस्ता किसिमका अभिव्यक्तिले स्वयम् व्यक्तिको अभिव्यक्तिलाई शंकाको घेरामा पुयाउने आयोगको बुझाई छ। ‘आफ्नै संस्थाको तर्फबाट भएको लिखित प्रतिबद्धतालाई जानाजान उल्लङ्घन गरी आचारसंहिताको बन्धनमा नरहनुलाई निष्ठापूर्वक प्रतिबद्धताको अनुसरण गरेको हो भनी मुल्याङ्कन गर्न मिल्ने देखिंदैन ।’ आयोगले आदेशमा भनेको छ ।

    ‘अध्यक्ष पोखरेलबाट प्राप्त जवाफलाई चित्तबुझ्दो तथा जिम्मेवार जवाफ मान्न सक्ने देखिएन । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ उल्लङ्घन गरेको देखिन आएकोले त्यस विषयमा थप विवेचनासमेत गरी रहनपर्ने देखिएन ।’ आयोगले आदेशमा उल्लेख गरेको छ ।

    महासंघका अध्यक्ष पोखरेलले गरेको कार्य निर्वाचन आचारसंहिता, २०७८ तथा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी भएको आचारसंहिता विपरीत भए गरेको देखिएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्य नगर्न नगराउन ध्यानाकर्षण गराउने आयोगले आदेशमा उल्लेख छ ।

  • पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार दाङमा दुर्घटना

    पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार दाङमा दुर्घटना

    रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहेका छन् ।

    अध्यक्ष पोखरेलको प्रदेश ३-०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा. १ च ९५५ नम्बरको स्कारपियोले ठक्कर दिएको हो ।

  • केही समस्या भए सम्पर्क गर्न पत्रकार महासंघका अध्यक्षको अनुरोध (भिडियो)

    केही समस्या भए सम्पर्क गर्न पत्रकार महासंघका अध्यक्षको अनुरोध (भिडियो)

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका बेला आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पत्रकारहरूसँग अनुरोध गरेका छन् ।

    उनले महामारीको बेला कार्यस्थलमा खटिने पत्रकारहरूलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन भनेका छन् । कोरोनाको कारण देखाएर कुनै पनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिकलगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे ।

    ‘फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरूलाई आग्रह गर्दछु’, पोखरेलले भने, ‘संक्रमित पत्रकारका लागि उपचार गराउन निश्चित अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

    जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहोरिन नदिन महासंघले काम गरिरहेको उनको भनाइ छ । समस्यामा परेका पत्रकारहरूको लागि तत्काल गर्नुपर्ने काम र दीगो व्यवस्थापनको क्षेत्रमा समिति नै बनाएर काम थालेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

  • जितपछि विपुल पोखरेल भन्छन् : प्रतिद्वन्द्वीका एजेन्डाको पनि स्वामित्व लिन्छु

    जितपछि विपुल पोखरेल भन्छन् : प्रतिद्वन्द्वीका एजेन्डाको पनि स्वामित्व लिन्छु

    काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले आफ्नो कार्यकालमा प्रेस स्वतन्त्रता र श्रमको आन्दोलनलाई उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।

    उनले यो निर्वाचन परिणामलाई जित-हारका रुपमा नलिन सबै पक्षलाई आग्रह गरे । निर्वाचन परिणामपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै पोखरेलले भने, ‘म निर्वाचनको मैदानमा आफूले व्यक्त गरेका प्रतिवद्धता मात्र होइन, मेरा प्रर्तिपर्धीहरुले उठाएका एजेन्डाको पनि स्वामित्व लिएर अघि बढ्छु । उहाँहरुका एजेन्डा पनि मूल एजेन्डा बन्नेछन् ।’

    उनले पत्रकार महासंघ सबै पत्रकारको साझा संस्था हो भन्ने व्यवहारिक अनुभूति दिलाउने बताए ।

    ‘हरेक सदस्यले महासंघमा आफ्नो अनुहार देख्नुहुनेछ र अपनत्वको महसुस गर्नुहुनेछ । हामी प्रेस स्वतन्त्रता र श्रमका मुद्दामा कसैसँग सम्झौता गर्दैनौ ।’ उनले प्रतिस्पर्धीहरुलाई पराजयको महसुस नगर्न आगह गरे ।

    ‘उहाँहरुले हार्नुभएको होइन, उपविजेता हुनुभएको हो । उहाँहरुले आफू यो आन्दोलनभन्दा बाहिर छु भन्ने सोच्नु हुँदैन । म सबैजना सँगै हिँड्ने वातावरण बनाउँछु’ पोखरेलले भने ।

    एउटालाई हराउनका लागि धेरैवटा मिलेको आरोप तपाईंहरुलाई छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘चुनावमा गइसकेपछि जित्ने रणनीति सबैको हुन्छ । उहाँहरुले त्यो रणनीति बनाउनुभएको हो । कसैलाई हराउनका लागि नियतवस बनाइएको गठवन्धन होइन ।’

    पत्रकार महासंघको चुनाव परिणामलाई राजनीतिक आँखाले नहेर्ने उनले आग्रह गरे ।

    पोखरेलले भने, ‘यो नितान्त पत्रकारको चुनाव हो । हामी प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनको जबरजस्त विरोध गर्छौं । त्यसो गर्दा कसैले हामीलाई अर्को कित्तामा देख्ने कुरा गलत हो । कुन नेताले कसरी यसलाई विश्लेषण गर्नुभयो म त्यतितिर जान चाहन्न ।’

    को हुन् विपुल ?

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा शानदार जित हासिल गरेका विपुल पोखरेल कांग्रेसनिट पत्रकार हुन् । साविकको महासंघ नेतृत्वमा उनी वरिष्ठ उपाध्यक्ष थिए ।

    पोखरेलसँग लामो समय मोफसलमा रहेर पत्रकारिता गरेको अनुभव छ । दाङबाट प्रकाशित हुने ‘दृष्टिकोण साप्ताहिकबाट उनको पत्रकारिता यात्रा सुरु भएको थियो । पछि काठमाडौं आएर उनले ‘घटना र विचार’, ‘जनमञ्च’, हिमालय टाइम्स, नागरिक लगायत पत्रपत्रिकामा काम गरे ।

  • पत्रकार महासंघको ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक (सूचीसहित)

    पत्रकार महासंघको ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक (सूचीसहित)

    काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार ९ सय १६ मतले अग्रता लिएका छन् । पोखरेलको ४ हजार ४ सय ४६ मत आउँदा प्रतिस्पर्धी निर्मला शर्माले २ हजार ५ सय ३० मत प्राप्त गरेकी छन् ।

    अध्यक्षका अन्य प्रत्यासी गजेन्द्रसिंह बुढाथोकीले २ सय ८७ मत ल्याउँदा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका रामप्रसाद दाहालको ७२ मत आएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायम छ ।

    जारी मतगणनामा केन्द्रीय समितिको पदाधिकारी र खुलातर्फका सबै पदमा पोखरेल नेतृत्वको प्यानलका उम्मेदवारले अग्रता हासिल गरेका छन् । पछिल्लो मत परिणाम हेर्नुहोस् ।