Tag: विपद्का घटना

  • विपद्का बेला तत्काल उद्धारमा जुट्न निवर्तमान सांसद भट्टराईको अपिल

    विपद्का बेला तत्काल उद्धारमा जुट्न निवर्तमान सांसद भट्टराईको अपिल

    पोखरा ।  विघटित प्रतिनिधि सभाका सदस्य बिद्या भट्टराईले बर्षायाम शुरूवात भएसंगै देशका विभिन्न स्थानमा गएको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्धार र राहतका कार्यमा जुट्न सबैमा अपिल गरेकी छन् । भट्टराईले बुधबार सामाजिक सञ्जाल फेसबुकमाा एक सार्बजनिक अपिल  जारी गर्दै यस्तो अपिल गरेकी हुन् ।

    बर्षायाम सुरु भएपछि धेरै बस्ती जोखिममा भएकाले अहिले सुरूकै अबस्थामा  बर्षाले मनाङ र सिन्धुपाल्चोक, कास्की र स्याङ्जामा अधिकतम असर पुगेको भन्दै पिडितको उद्धार र राहतका काममा राज्यका सम्पुर्ण संयन्त्रको प्रभावकारी परिचालनमा जुट्न तिनै तहका सरकारलाई आग्रह गर्दै सचेततापुर्बक सहयोगमा जुट्न आम नागरिकलाइ आग्रह समेत गरेकी छन् । उनले बिपदमा परि ज्यान गुमाउनेप्रती श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।

    उनले लेखेकी छन् , ‘क्षति हुन नदिनका लागि सम्बन्धित निकायले समयमा नै अनुगमन र उद्धारकार्यमा जुट्नु पर्ने भएको छ ।  जोखिममा परेका क्षेत्रको दिगो संरक्षणका लागी समेत थप योजना बनाई कार्यान्वयनमा जानुपर्ने आवश्यकता देखिएको छ ।’ उनले वातावरणमैत्री विकासको अबधारणा सबैतिर कडाइका साथ लागू गर्नुपर्नेमा पनि जोड दिएकी छन् ।

     

     

     

  • विपद्का घटनामा एकै वर्ष ५ सय ९२ जनाको मृत्यु, १ सय १ जनाकाे सास न लास

    विपद्का घटनामा एकै वर्ष ५ सय ९२ जनाको मृत्यु, १ सय १ जनाकाे सास न लास

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार गत साल विपत्तमा परेर ५ सय ९२ जनाको ज्यान गयो ।

    २०७७ मा मुलुकभर ९ प्रकारका विपद्का घटनामा परेर मृत्यु भएको छ । १ सय १ जना अझै हराई रहेकै छन । आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो, अविरल बर्षा, हावाहुरी र हिमपातमा परेर उनीहरूको मृत्यु भएको जनाइएको छ ।

    जसमध्ये सबैभन्दा धेरै पहिरोका घटनामा परेर ३ सय १ जनाको मृत्यु भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार दोस्रोमा सबैभन्दा धेरै आगलागीका घटनामा परेर ९७ जनाको मृत्यु भएको छ ।

    यस्तै चट्यांङका घटनामा परेर ७०, बाढीबाट ४२, जनावर आक्रमणबाट ३७, अविरल वर्षाबाट १५, हावाहुरीबाट ८ जना र सबैभन्दा कम हिमपातबाट १ जनाको मृत्यु भएको कार्यकारी प्रमुख पोखरेलले बताए ।

    १ सय १ जना जना अझै वेपत्ता
    ९ प्रकारका विपद्मध्ये पहिरोमा परेर ६४ र बाढीमा परेर ३७ जना गरेर जम्मा १ सय १ जना वेपत्ता पनि भएका छन् । यसै अवधिमा सर्पदंश र हिमपात बाहेक बाँकी ७ प्रकारका विपद्बाट ३ हजार ४ सय १ पशु चौपायको पनि मृत्यु भएको छ ।

    ११ सय ६७ जना घाइते, सबैभन्दा बढी घाइते आगलागीबाट
    यसै अवधिमा यि सबै घटनामा परेर १ हजार १ सय ६७ जना घाइते भएका छन् । पहिरोबाट सबैभन्दा धेरैको मृत्यु भएपनि घाइते भने सबैभन्दा बढी आगलागीका घटनाबाट ३ सय ७९ जना भएका छन् ।

    दोस्रोमा चट्यांङका घटनामा परेर २ सय ४४, पहिरोबाट २ सय २६, जनावर आक्रमणबाट १ सय ९२ जना घाइते भएका छन् ।

    यस्तै अविरल बर्षाबाट ५६, सर्पको टोकाइबाट ३९, हावाहुरीबाट १७ र सबैभन्दा कम बाढीबाट ११ जना घाइते भएका छन् ।

    २ अर्ब भन्दा बढीको क्षती
    यस अवधिमा २ अर्ब १ करोड, ९३ लाख ५८ हजार ६६ रुपैयाँ बराबरको क्षती भएको छ । जसमा सबैभन्दा बढी आगलागीबाट १ अर्ब ८२ करोड १४ लाख ३३ हजार १ सय ८६ बरावरको क्षती भएको छ भने दोस्रोमा अविरल बर्षाका कारण ६ करोड ९९ लाख ४० हजार २ सय रुपैयाँ बरावरको क्षति भएको छ ।

    यस्तै पहिरोबाट ५ करोड ९ लाख ६४ हजार ९ सय, बाढीबाट ४ करोड ८८ लाख ११ हजार, हावाहुरीबाट १ करोड ३३ लाख ५६ हजार ५ सय र सबैभन्दा कम चट्याङबाट ७२ लाख ५५ हजार ४ सय ३० रुपैयाँ बरावरको क्षती भएको छ ।

    ९ प्रकारका ४ हजार भन्दा बढी विपद्का घटना
    एक वर्षको अवधिमा मुलुकभरमा ९ प्रकारका ४ हजार १ सय ५७ वटा घटना भएका छन् । जसमा सबैभन्दा धेरै आगलागीका घटना २ हजार ५ सय ८५ भएका छन् भने दोस्रोमा सबैभन्दा बढी पहिरोका घटना ४ सय ८९ भएका छन् ।

    यस्तै अविरल वर्षाका घटना ३ सय ६०, चट्याङका घटना २ सय ४७, जनावर आक्रमणका घटना २ सय ४३, बाढीका ९७, हावाहुरीका ७९, सर्पदंशका ५६ र सबैभन्दा कम हिमपातको एउटा घटना भएको छ ।

    २३ दिनमा मात्र ३ सय ८९ घटना २८ जनाको मृत्यु, ९६ घाइते
    प्राधिकरणका अनुसार यस वर्षको पनि बितेको २३ दिनको अवधिमा पनि ८ प्रकारका विपद्का घटनामा परेर २८ जनाको मृत्यु भइसकेको छ ।

    जसमा सबैभन्दा बढी १८ जनाको चट्याङ लागेर मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता समेत रहेका उपसचिव लिलानाथ अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार दोस्रोमा आगलागीका घटनामा परेर ७ र जनावर आक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

    यसै अवधिमा ५ प्रकारका विपदमा परेर ९६ जना घाइते भएका छन् । जसमा सबैभन्दा धेरै चट्यांङ लागेर नै ६६ जना घाइते भएका छन् भने आगलागीका घटनामा परेर २२ जना घाइते भएका छन् । यस्तै जनावर आक्रमणबाट ५, हावाहुरीमा परेर २ र पहिरोमा परेर १ जना घाइते भएका छन् । यसै अवधिमा ४ प्रकारका विपद्का घटनाबाट २ सय २७ पशु चौपायाको मृत्यु भएको छ ।

    २३ दिनकै अवधिमा विपद्का घटनाबाट २८ करोड ४६ लाख ४४ हजार ६ सय ९० रुपैयाँ बराबरको क्षती भएको छ ।

    जसमा सबैभन्दा धेरै आगलागीबाट २६ करोड ४६ लाख ८३ हजार ८ सय ६० भएको छ भने दोस्रोमा चट्यांङका घटनाबाट १ करोड ४३ लाख ९४ हजार ८ सय ३० रुपैयाँ बराबरको क्षती भएको छ ।

    यस्तै हावाहुरीबाट ५१ लाख ४६ हजार, बाढीबाट २ लाख ५० हजार र जनावर आक्रमणबाट १ लाख ७० हजार बरावरको क्षती पुगेको छ ।

    जसमा ८ प्रकारका ३ सय ८९ घटना भएका छन् । जसमा सबैभन्दा बढी २ सय ७० आगलागीका घटना भएका छन् भने दोस्रोमा चट्याङका ८० घटना भएका छन् । यस्तै हावाहुरीका २२, जनावर आक्रमणका १२, पहिरोका ४ र बाढीको एउटा घटना भएको छ ।