Tag: विद्युतीय बस

  • निर्णय भएको तीन वर्षपछि विद्युतीय बस परीक्षणको तयारी

    निर्णय भएको तीन वर्षपछि विद्युतीय बस परीक्षणको तयारी

    काठमाडौं । सरकारले निर्णय भएको तीन वर्षपछि परीक्षणका लागि विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो ।

    पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले जनाएको छ । ती बस काठमाडौँमा ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छ÷छैन हेरिने संस्थाका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । उनले भने, “तीन बस यहाँको सडकका लागि ठीक भएमा थप त्यसको चार महिनामा ४० बस आउनेछ ।”

    संस्थामार्फत नै तीन सय बस खरिद गर्न लागिएकामा पहिलो चरणमा ४० बस आउनेछ । पहिलो चरणको बस अबको आठ महिनामा ल्याउने योजना बनाइएको भए पनि त्यसबाहेकका अरु बस कहिलेसम्म ल्याउने भनी यकीन नभएको सञ्चालक समिति सदस्य तुलाधरले बताए । उनले भने, “पहिलो चरणमा सबै ठीक भएपछि बिस्तारै अरु बस ल्याएर सञ्चालन हुनेछ ।”

    संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ ।

    संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

    सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए ।

    विद्युतीय बस आउँदै गर्दा संस्थाले यीभन्दा ठूला विद्युतीय बस पनि सञ्चालन गर्न आवश्यक अनुसन्धान सुरु भएको जनाएको छ । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

    पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनःबस खरिद गर्दामार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनःसाझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो ।

    देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढुवा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । सङ्घले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए । रासस

  • गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

    गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकुलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।

    यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

    नेपालीको महान् चाड दशैं, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो । यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।

    कोभिड महामारीकाबीच आफूहरु पनि यात्रुलाई सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा कम्पनी पनि उत्रेर गुणस्तरीय सेवा प्रदान गरिने उनको भनाइ थियो ।

    आफ्ना १८ सिट क्षमताका दुई बिचक्राफ्ट र थप गरिएका ३० सिटे पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा र भरतपुर (चितवन) गरिएकामा केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङ्टार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाएको जनाइएको छ ।

  • लुम्बिनीमा छिटै विद्युतीय बस सञ्चालन हुने, दुई महिनाभित्र २० बस ल्याइँदै

    लुम्बिनीमा छिटै विद्युतीय बस सञ्चालन हुने, दुई महिनाभित्र २० बस ल्याइँदै

    रुपन्देही । छिटै लुम्बिनीका नागरिकले नेपालमै बनेको विद्युतीय गाडी चढ्न पाइने भएको छ । सुन्दर यातायात प्रालिले नेपालमै विद्युतीय गाडी सञ्चालनका लागि धेरै प्रक्रिया पूरा गरिसकेको छ ।

    तत्कालका लागि एसेम्बल र पाटपूर्जा निर्माणका लागि सैनामैना र बुटवलको मोतिपुरमा जग्गा व्यवस्थापन भइसकेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले विद्युतीय गाडी संचालनका लागि अत्यावश्यक चार्जिङ्ग सेन्टर तथा विद्युत् व्यवस्थापनका लागि तीनै तहका सरकारसँग कानुनी प्रबन्ध मिलाइसकेको छ ।

    विद्युतीय गाडी बनाएर संचालन गर्ने योजनाका साथ सुन्दर ट्रेडर्स प्रालिले शुरुमा ६ अर्बको लगानी गर्न लागेको हो । शुक्रबार प्रालिले गाडी उत्पादन गरिरहेको कम्पनी काशिस ई मोविलिटी प्रालि नयाँदिल्लीसँग विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सम्झौता गरेको छ ।

    विश्वका २४ देशहरुमा विद्युतीय गाडी उत्पादन गरेको कम्पनीसँग सुन्दर यातायात प्रालिले सहकार्य गरेको हो । सुन्दरलाई काशिसले विद्युतीय सवारी साधनका पाटपूर्जाको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ भने सुन्दर यातायातले सञ्चालनको जिम्मा लिएको छ ।

    सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा र काशिसको तर्फवाट प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले हस्ताक्षर गरेका छन् । नेपालमा पहिलोपटक विद्युतीय सार्वजनिक सवारी चलाउने संस्था सुन्दर ट्रेडर्सको भगिनी संस्था सुन्दर यातायात हो । जसले अहिले पनि संघीय राजधानीमा विद्युतीय सवारी चलाइरहेको छ ।

    सुन्दर ट्रेडर्स प्रालिका संचालक डीआर घिमिरेले नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको वातावरणमैत्री विद्युतीय सवारी साधनहरु निकट भविष्यमै रुपन्देहीलगायत लुम्बिनी प्रदेशका शहरमा देख्न र प्रयोग गर्न सकिने अवस्था आउने बताए ।

    चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्न लागिएको हो ।

    नेपालका मुख्य शहरहरुमा विद्युतीय सवारी साधन चलाउने गरी भएको सम्झौताअनुसार दुई वर्षमा पाँच सय साधनहरु चल्नेछन् । यसका साथै एक वर्षभित्र नेपाली ब्राण्डका विद्युतीय बसहरु वजारमा गुडाइने छ ।

    काशिसले जर्मन प्रविधियुक्त युरा बस आपूर्ति गर्नेछ । त्यसरी ल्याइने साधनको भुक्तानी अवधि ८ वर्षको हुनेछ भने सोको ग्यारेन्टी नेपाल सरकार वा वित्तीय सस्थाले गर्नेछन् । सो समयभित्र रहने गरी प्रत्येक महिना किस्ताबापतको रकम भुक्तान हुँदै जाने कुरा सम्झौतामा उल्लेख छ ।

    सम्झौता भएको ६० दिनभित्र २० वटा बस नेपाल आइपुग्नेछन् । पहिलोपटक ल्याइने वसहरु तयार भएका ल्याइने भएपनि बाँकी ८० वटा वसको चेसिस र थप ४ सय सैनामैनामै एसेम्वल भएका बसहरु उपलब्ध गराइने छ ।

    गाडीहरुलाई चाहिने चार्जिङ्ग पोटहरु काशिसले नै उपलब्ध गराउनेछ । त्यस्तै जनशक्तिलाई चाहिने तालिम र प्राविधिक सहयोग पनि उसले उपलब्ध गराउने छ ।

    सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाले दुई वर्षदेखि निरन्तर लागेपछि दुवै पक्ष एसेम्वल प्लान्ट राख्न सहमत भएको जानकारी गराउँदै कोरोनाका कारण ढिला भएपनि अवको एक वर्षभित्र नेपालवाटै उत्पादन हुने विश्वास व्यक्त गरे ।

    एसेम्लब प्लान्टको डीपीआर ८० प्रतिशत तयार भइसकेकोले अब छिटै टेण्डर प्रक्रियामा जाने कुरा थापाले वताए । एसेम्लब प्लान्टमा पहिलो चरणमा तीन अर्ब ६० करोड रुपैयाँ लगानी गरिने छ भने दोश्रो चरणमा २ अर्व ४० करोड र पूर्ण रुपमा कम्पनी सञ्चालनमा आउँदा ८ अर्व ५० करोडदेखि ९ अर्बसम्म लगानी हुनेछ ।

    त्यस्तै काशिस ई मोविलिटीका प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले दुई दिनसम्म नेपालका मन्त्री, सचिव तथा स्थानीय सरकारका प्रमुखहरुसंग भेट्दा आफूहरु अत्यन्तै उत्साहित भएको जानकारी गराउँदै विद्युतीय सवारी साधनहरु वातावरणमैत्री हुनुका साथै पेट्रोलियम पदार्थको आयातलाई घटाई आफ्नै देशमा उत्पादित विद्युत्को प्रयोगमा वढोत्तरी हुने विश्वास ब्यक्त गरे ।

    प्रालिले यसअघि नै सैनामैना नगरपालिकामा करिब ९ विघा जग्गा लिजमा लिने सम्झौता गरिसकेको छ । परियोजना सञ्चालनमा आएपछि स्थानीय तहमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङमा निःशुल्क उच्च शिक्षा प्रदान गर्न चीनमा पठाइने छ । त्यसबाहेक पनि छोटो अवधिको तालिम प्रदान गरेर जनशक्ति उत्पादन गर्दै लगिने छ ।

    नेपाल सरकारले विद्युतीय गाडीलाई उच्च प्राथमिकता दिने नीतिअनुरुप चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्ने नीति लिनुका साथै २०८८ सालसम्म पेट्रोलियम पदायबवाट चल्ने हलुका सवारी साधनलाई विस्थापित गर्ने नीति लिएको छ ।

    चीनबाट गाडीका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा कम्तिमा २० देखि २२ लाख रुपैयाँ सस्तो पर्ने, पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यताको अन्त्य हुने, पेट्रोलियम पदार्थको आयातमा कमी भइ व्यापार घाटामा कमी आउने, वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नियन्त्रण गर्न र स्वच्छ एवं वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने र पर्याप्त रोजगारी सृजना हुने भएकोले यो परियोजना अत्यन्तै लाभग्राही रहेको विश्वास गरिएको छ । यस प्लान्टबाट करिव ३ सय जनाले रोजगारीको अवसर पाउनेछन् ।

  • बजेट २०७८/७९ : काठमाडौंमा १०० विद्युतीय बस थपिने

    बजेट २०७८/७९ : काठमाडौंमा १०० विद्युतीय बस थपिने

    काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने भएको छ ।

    नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साझा बससँग मिलेर सरकारले विद्युतीय बस संचालन गर्ने बताए । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न देशैभर चार्जिङ स्टेसन खोलिने पनि उनले घोषणा गरे ।