Tag: विद्युत

  • विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय व्यापारको अनुमति

    विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय व्यापारको अनुमति

    काठमाडौं । सरकारले विद्युत व्यापार गर्न स्थापना गरेको कम्पनीलाई विद्युत व्यापारको अनुमित दिएको छ ।

    मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी गराइन् । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको धेरै सेयर हुनेछ।

    मन्त्री भुसालले विद्युत व्यापार गर्न चाहने निजी कम्पनीलाई पनि अनुमति पत्र प्रदान गर्ने बताइन् । सिंचाईमा उपयोग हुने बिजुली महसुल ५० प्रतिशतले घटाएको जानकारी दिँदै उनले चाँडै नि:शुल्कसमेत गरिने बताइन् ।

    यस्ता छन्- मन्त्री भुसालले मन्त्रालय सम्हालेपछिका पाँच महिनामा गरेका काम र कार्ययोजनाः

     

  • स्वदेशी लगानीमै बन्यो सवा खर्बको आयोजना : विद्युतमा नेपाल आत्मनिर्भरता नजिक

    स्वदेशी लगानीमै बन्यो सवा खर्बको आयोजना : विद्युतमा नेपाल आत्मनिर्भरता नजिक

    काठमाडौं । ४ सय ५६ मेगावट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी उत्पादनको चरणमा पुगेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बटन थिची आयोजनाको उद्घाटन गरेका छन् ।

    ६ वटा युनिटमध्ये १ युनिटबाट ७६ मेगावट विद्युत आजबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो । बाँकी युनिटको विद्युत भदौ महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी आयोजनाले गरेको छ ।

    २०६८ सालमा शिलान्यास गरिएको आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा ४ वर्ष ढिला गरी आयोजना सम्पन्न हुन लागेको हो । २०७२ सालमा गएको भुकम्प, नाकाबन्दी तथा कोभिडका कारण आयोजनामा व्यवधान उत्पन्न भएको थियो ।

    समयमा नै आयोजना निर्माण सम्पन्न नहुँदा यसको लागत केही बढेको छ । ३५ अर्ब २७ करोड सावाँ र व्याज १२ अर्ब २२ करोड गरी कुल ५१ अर्ब ४१ करोड लागत अनुमान गरिएकोमा अहिले बढेर करिव ८३ अर्ब पुगेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४० अर्ब ५८ करोड र त्यसको ब्याज २९ अर्ब ७३ करोड रुपैयाँ गरी कुल ७० अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

    तामाकोशी पूर्णरुपमा स्वदेशी लगानीमा बनेको आयोजना हो । यस आयोजनामा विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दुरसञ्चार प्राधिकरणको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत गरी ४९ प्रतिशत सेयर सरकारी लगानी रहेको छ । त्यस्तै कर्मचारी संञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीहरुको १७.२८ प्रतिशत, नेपाल बिद्युत प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत, आयोजनालाई कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीको २.८८ प्रतिशत, दोलखा जिल्लाका स्थानीय वासिन्दाको १० प्रतिशत र अन्य १५ प्रतिशत गरी कुल ५१ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ ।

    आयोजनाको मूख्य कामहरु ४ वटा लट सिभिल, हाइड्रोमेकानिकल, मेकालिकल तथा इलेक्ट्रीकल र प्रसारण तथा सवस्टेशन लाइनमा विभाजन गरी गरिएको थियो ।

    विद्युतमा आत्मनिर्भरतातर्फ

    माथिल्लो तामाकोशी ‘रनअफ रिभर’ मा आधारित आयोजना हो । आयोजनाले भदौ महिनासम्ममा ४ सय ५६ मेगावट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना बनाएको छ ।

    यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै वर्षायाममा भारतबाट विद्युत खरिद नगर्नुपर्ने प्राधिकरणको भनाइ छ । वर्षायाममा नदीको वहाव बढी हुने भएकाले बढी विद्युत उत्पादन हुन्छ भने हिँउदमा पानीको बहाब कम हुने भएकाले कम विद्युत उत्पादन हुने गरेको छ । त्यसैले, नेपालमा वर्षातको समयमा भन्दा हिउँदको समयमा बढी विद्युत आयात गरिन्छ ।

    यो आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछी नेपाल विद्युतमा आत्मनिर्भर नजिक पुग्ने छ । तत्काल विद्युतको माग बढेन भने वर्षातको समयमा विद्युत आयात गर्न नपर्ने भएको छ । हिउँदको समयमा भने नीजि क्षेत्रका आयोजनाहरुको विद्युत राष्ट्रिय प्रशारण लाइनमा नजोडिदासम्म भारतबाट केही विद्युत आयात गर्नुपर्ने हुन्छ । हाल नेपालले करिव ४ सय मेगावट विद्युत भारतवाट खरिद गरिरहेको छ ।

    आयोजनाको सन्देश के ?

    माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुर्णरुपमा स्वदेशी लगानीमा निर्माण गरिएको आयोजना हो । यसले नेपाल आफैंले पनि ठुला आयोजनाहरु निर्माण गर्न सक्ने क्षमता राख्छ भन्ने सन्देश जाने जानकारहरु बताउँछन् । तर, आयोजनामा भएको ढिलाई र यसले बढाएको लागतप्रति भने अध्ययन-बिश्लेषण गरिनुपर्ने उनीहरुको भनाइ छ ।

    नेपालमा समयमै आयोजना सम्पन्न नहुनुको कारणबारे खोजि गरिनुपर्ने जलस्रोत तथा उर्जाविद् डा. कृष्णप्रसाद दुलालले बताए ।

    उनले भने, ‘नेपालीले पनि ठुला जलविद्युत आयोजनाहरु निर्माण गर्न सक्ने क्षमता राख्छ भन्ने सन्देश यसले दिएको छ । तर, यस आयोजना सम्पन्न गर्न लागेको अतिरिक्त समय र लागतको विषयमा भने समिक्षा गर्न जरुरी छ’, उनले भने ।

    भूकम्प, नाकावन्दी र कोभिड-१९ जस्ता कारणलाई आयोजना निर्माण समयमा सम्पन्न नहुनुको मूख्य कारण ठानिएको भएपनि त्यसबाहेक कतिपय व्यवस्थापकीय पाटोको पनि विष्लेषण गर्नुपर्ने दुलाल बताउँछन् । आयोजनाको निर्माण कार्यको ठेक्काप्राप्त कम्पनीले गरेको लापरवाही र ठिलासुस्तीले पनि आयोजना प्रभावित भएको उनको ठहर छ ।

    ‘आयोजनाको ठेकेदार छनौट गर्दा त्रुटी भएकाले पनि निर्माण काम प्रभावित भएको छ,’ उनले भने, ‘आयोजनाको चारवटै लटको काम विदेशी कम्पनीलाई दिइएको थियो । त्यसैले ठेकेदार छनौट गर्दा उसको क्षमता, विगतको अनुभव, नेपालजस्तो भौगोलिक अवस्थामा काम गरे-नगरेको कुराको पनि विश्लेषण गर्नुपर्छ ।’

    प्रतिफलको ग्यारेन्टी छैन

    यो आयोजना निर्माण सम्पन्न हुँदासम्म यस कम्पनीको कुल लागत करिव १ खर्ब २५ अर्ब पुग्ने देखिन्छ । आयोजनाको चालू आर्थिक वर्षको तेस्रो क्वाटरको प्रतिवेदन हेर्ने हो भने करिब ३५ अर्ब नोक्सानीमा रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ०.३३ प्रतिशतले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२.२० रुपैयाँ रहेको छ ।

    पछिल्लो समयमा नेप्सेमा करिब ८०० को हाराहारीमा सेयर कारोबार भइरहेको छ । कम्पनी पुर्ण क्षमतामा सञ्चालन हुँदा वर्षको दैनिक १२ अर्वको हाराहारीमा आम्दानी गर्न सक्ने भएकाले लागत उठाउनका लागि १० वर्षभन्दा पनि वढी समय लाग्ने देखिन्छ ।

    आयोजना सम्पन्न भइसकेकाले आयोजनाको कर्जा विदेशी बैंकहरुमा सार्नुपर्ने उर्जा प्रवर्धक तथा उर्जा क्षेत्रका जानकार प्रकाश दुलाल बताउँछन् ।

    ‘आयोजनामा प्रयोग भएको कर्जाको दायित्व विदेशी बैंकमा सार्ने तथा आयोजनाले ७०० मेगावट सम्मका ठुला आयोजना निर्माण गरेमा नेपालको बैंकहरुको कर्जा फिर्ता हुने तथा लगानीकर्ताले प्रतिफल पनि प्राप्त गर्न सक्ने देखिन्छ,’ उनले भने ।

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी फिर्ता भएमा करिब ७० अर्ब रुपैयाँ बैंकिङ च्यानलमा फिर्ता हुने र यसले अन्य आयोजनामा कर्जा प्रवाह गर्न सहज हुने उनी बताउँछन् । त्यस्तै माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई ठुला आयोजना सम्पन्न गर्ने अनुभव भएकाले ठुला जलविद्युत आयोजनाहरुमा लगानी गर्दा यसले कम्पनी मुनाफामा जान सजिलो हुने र प्रतिफलको सुनिश्चिता गराउने उनको भनाइ छ ।

    जलस्रोत विज्ञ डा. कृष्णप्रसाद दुलाल यो परियोजनाबाट नेपालका जलविद्युत क्षेत्रमा प्रतिफल दिन सक्ने क्षमताको परिक्षण हुने बताउँछन् । आयोजनाको लागत ठुलो रहेकाले सरकारले यसको ‘पे व्याक’ अवधि बढाएर भएपनि लगानीकर्तालाई प्रतिफलको सुनिश्चिता गर्नुपर्ने उनको धारणा छ ।

    ‘सरकारले आयोजनालाई ब्याज मिनाहा तथा अनुदान दिन सकेमा मात्रै जलविद्युतको क्षेत्रमा लगानीकर्ता आकर्षित हुन सक्नेछन्,’ उनले भने ।

    नीजि क्षेत्र तथा जिल्लाबासीको यो परियोजनामा ठुलो लगानी रहेको छ । आयोजनाले प्रतिफल दिन नसकेमा यसले ठुलो नकारात्मक सन्देश प्रवाह हुनसक्छ । त्यसैले लगानीकर्ताको आशालाई बचाइराख्न लगानीको संरचना, ब्याज र कम्पनीका इन्डिकेटरहरु सुधार गर्नका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने देखिन्छ’, डा. दुलालले बताए ।

  • नयाँ बजेट : १६२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिने

    नयाँ बजेट : १६२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी, मध्यभोटेकोशी, माथिल्लो सानजेल आयोजनाबाट १६२९ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो लक्ष्य प्रस्तुत गरेका हुन् । जलाशययुक्त र अर्धजलाशय जलविद्युत उत्पादनका लागि आयोजनाहरुलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ ।

    विद्युत उत्पादनलगायतका पूर्वाधार निर्माणका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयका लागि १ खर्ब २१ अर्ब विनियोजन गरिएको छ ।

  • विद्युत नहुँदा अनुदानमा आएको उपकरण ३ वर्षदेखि प्रयोगविहीन

    विद्युत नहुँदा अनुदानमा आएको उपकरण ३ वर्षदेखि प्रयोगविहीन

    काठमाडौं । नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण ३ वर्षदेखि प्रयोगविहीन बनेको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो ।

    परियोजनाको १६ लाख बजेटबाट पकेट क्षेत्रका पाँच समूहलाई उक्त मेसिन वितरण गरिएको थियो । मेसिन सञ्चालन गर्नका लागि जेनेरेटर ल्याएको भए पनि विद्युत् सुविधा नपुगेको र स्थानीयस्तरमा उत्पादित बेसारलाई औद्योगीकरण गर्नका लागि २०७४ सालमै सो उपकरण वितरण गरिएको भए पनि अहिलेसम्म थन्किएर बसेको स्थानीयवासी चित्रप्रसाद कटेलले बताए ।

    जिल्लाको नेचा क्षेत्रलाई अदुवा, बेसार प्रशस्त मात्रामा उत्पादन हुने क्षेत्रको रुपमा लिइन्छ । कृषकलाई सजिलाका लागि वितरण गरिएको उपकरण लामो समयसम्म सञ्चालन नहुनु दुःखद् भएको कटेलको भनाइ छ ।

    प्रयोगविहीन अवस्थामा रहेको मेसिन खिया लागेर नचल्ने अवस्थामा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । गाउँमै बेसार पिसानीको लागि उपकरण आएपछि खुशी भएका स्थानीयवासीले उपभोग गर्न नपाउँदा सरकारी सम्पत्तिको दुरुपयोग भएको अनुभूति गर्न थालेका छन् ।

    बेतघारीका स्थानीवासी बालकृष्ण कट्टेलले बिना अध्ययन उपकरण वितरण गरिँदा कृषि क्षेत्रमा उल्लेखीय उपलब्धि नभएको बताए । विद्युतीय अवस्थालाई ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

    परियोजनाले १६ लाख रुपैयाँ बजेटबाट पकेट क्षेत्रका कृषक समूहलाई पाँच वटा जेनेरेटर, चार कटिङ मेसिन (स्लाइसर), एउटा सुकाउने मेसिन (सोलार ड्रायर), एउटा धुने र पिस्ने मेसिन र डिजिटल तौलिने मेसिन वितरण गरेको थियो ।

    विद्युत् अभाव हुँदा उक्त उपकरण सञ्चालनमा ल्याउन कठीनाइ भएको तत्कालीन जोन सञ्चालक समितिका अध्यक्ष लोचनकुमार शर्माले बताए । ‘नेचा सल्यानको वडा नं १ र २ मा विद्युत् थियो । अन्य वडामा थिएन, अब त्यहाँ पनि बत्ती आइसकेको छ’ अध्यक्ष शर्माले भने, ‘सबै उपकरण सञ्चालन हुन्छ, यहाँका कृषकले लाभ लिन सक्ने छन् ।’

    पूर्वाधारलाई ध्यान नदिँदा उपकरण सञ्चालन गर्न नसकिएको समितिको भनाइ छ । कृषिमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाले स्पष्ट लक्ष्य निर्धारण गर्न नसक्दा समस्या देखिएको स्थानीयवासीको बुझाइ छ ।

    नेपाल सरकारले कृषिमा प्रशस्त लगानी गरेको भए पनि सोचेको जस्तो परिणाम नआउनुको पछाडि बिना अध्ययन कार्यक्रम निर्माण गर्नुनै रहेको स्थानीयवासी अभिषेक बाँस्तोलाको भनाइ छ ।

    विभिन्न समयमा वितरण गरिने उपकरण सञ्चालनको अवस्था र प्रभावकारितामा ध्यान दिन नसक्दा समस्या आइरहेको कृषकको गुनासो छ । सो मेसिन खरीद गर्ने बजेटले कृषकलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी सहयोग गरेको भए उपलब्धि हुने उनीहरुको भनाइ छ ।

    अदुवा, बेसार पिस्ने मेसिन खरीदका लागि विनियोजन गरिएको रु १२ लाख बजेटमा कृषकको १५ प्रतिशत लगानी हुनुपर्ने भए पनि नेचाका कृषकले एक रुपैयाँ पनि लगानी गरेका छैनन् ।

    कृषकले बेहोर्नुपर्ने १५ प्रतिशत रकमसमेत तत्कालीन जोन सञ्चालक समितिले बीउबिजन वितरणका लागि प्राप्त रु चार लाख बजेटबाट खर्च गरेको स्वयम् सञ्चालक समितिका अध्यक्ष लोचनकुमार शर्माको भनाइ छ ।

     

  • विद्युत चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्न सम्झौता

    विद्युत चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्न सम्झौता

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रण तथा सेवा प्रवाह सुधार गर्न वितरण तथा ग्राहक सेवा केन्द्र प्रमुखसँग सम्झौता गरेको छ ।

    प्राधिकरणको उच्च व्यवस्थापनले प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग सोमबार कार्य सम्पादन सम्झौता गरेको हो ।

    आर्थिक वर्ष २०७४ बाट सुरु भएको कार्यसम्पादन सम्झौता चालु आर्थिक वर्ष २०७७/७८ मा कोरोनाको कारण सम्झौता हुन सकेको थिएन ।

    कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

    प्राधिकरणले चालु आवमा वितरणतर्फको विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । गत आवमा वितरणतर्फको चुहावट १०.२८ प्रतिशत थियो ।

    प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रहरुको गत आवमा १५.६ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवमा १२.०८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मंसिरसम्मको चुहावट १६.६ प्रतिशत छ । कार्यालयअन्तर्गतका प्रत्येक वितरण केन्द्र प्रमुखहरुलाई चुहावट नियन्त्रणको छुट्टाछुट्टै लक्ष्य दिइएको छ ।

    विद्युत् बिक्रीबाट प्राधिकरणले आम्दानी गर्ने राजश्वको ३१.२३ प्रतिशत हिस्सा प्रदेशिक कार्यालय जनकपुरले संकलन गर्छ । कार्यक्रममा कामु कार्यकारी निर्देशक शाक्यले विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन, विद्युतीकरण, ग्राहकसँगको सेवा प्रवाह लक्ष्य अनुसार पूरा गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

    वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, गुणस्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचाकांक निर्धारण गरिएको छ ।

    हरेक प्रादेशिक कार्यालय र त्यस मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रण, औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य (टार्गेट)निर्धारण गरिएको छ ।

    कार्य सम्पादनको हरेक चार/चार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ । हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको लक्ष्यको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    यसैगरि, लक्ष्य हासिल गर्नेले पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जान प्राथमिकता दिने लगायतका गैर नगद प्रोत्साहन समेत पाउने छन् ।

    तर, ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ ।

    प्राधिकरणले प्रमुखहरुलाई बितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनभित्र रहेर स्वतन्त्र काम गर्न दिने प्रतिबद्धता जनाएको छ ।

    सम्झौताको अनुगमन र मूल्याङकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालयअन्तर्गत ग्रामीण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका विषयलाई सम्झौतामा समेटिएको छ ।

    बाँकी प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग छिट्टै कार्यसम्पादन सम्झौता गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।