Tag: विद्यासुन्दर शाक्य

  • १५ दिनमा कमलपोखरीको उद्घाटन गर्छाैं: मेयर शाक्य

    १५ दिनमा कमलपोखरीको उद्घाटन गर्छाैं: मेयर शाक्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी दिएका छन् ।

    पुनर्निर्माण अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

    ‘काठमाडौं महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भने ‘ ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ ।’

    पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरीलाई विकास हुने उनले बताए ।

    उनले पोखरी  पुननिर्माणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताए ।

    ‘ठेकेदारको पनि कोभिडको कारण देखाएर ढिला–सुस्ती गर्दा काम समयमा सम्पन्न गर्न केही कठिनाई भयो,’ उनले भने, ‘निर्माण कार्यको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप पोखरीको किनारमा ९ वटा चैत्यको प्राणप्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम ठेकेदारले १५ दिन भित्र सम्पन्न गर्छौ भनेका छन् । हामी पहिलो चरणको काम सम्पन्न हुने वित्तिकै कमलपोखरीको उद्घाटन गर्ने छौँ र दास्रो चरणको काम सँगसँगै सुरुवात गछौ ।’

    उनले चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपन गर्ने तयारी भएको पनि जनकारी दिए । मेयर शाक्यले कमलपोखरीको पुर्ननिर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको स्मरण गराए ।

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिए ।

    ‘यो ऐतिहासिक कमलपोखरी हो,’ उनले भने, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ । मेरो घर कमलपोखरीबाट नजिकै छ । बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिनका लागि यो उपयुक्त ठाउँ हुने भयो ।’

    काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए ।

    उनका अनुसार करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भइरहेको छ ।

     

  • काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

    काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न आएका पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी ईपीएल खेल्न आउँदा नेपाली क्रिकेट समर्थकमा ठूलै उत्साह छ । तर, उनले जम्माजम्मी दुई म्याचमात्रै खेल्ने कुराले निराशा पनि ।

    हिजो नेपाल ओर्लनासाथ पत्रकारहरूसँग अफ्रिदीले आफू दुई म्याच मात्रै खेल्ने खुलासा गरेका थिए । आज उनको टिम किङ्स ११ काठमाडौंले अफ्रिदीलाई समेत राखेर प्रिम्याच प्रेस मिट गर्‍यो । त्यसमा पत्रकारको चासो थियो- किन दुई म्याचमात्रै । जवाफमा अफ्रिदीले आफू व्यस्त रहेको बताएर टारे ।

    ‘म निकै व्यस्त थिएँ र छु, त्यसैले यसपाली दुई म्याच मात्रै खेल्ने भएँ,’ उनले भने, ‘तर, अर्कोपटक पनि आएँ भने पक्कै पूरा सिजन खेल्नेछु ।’

    नेपाललाई सुन्दर देश भन्दै उनले परिवारसहित घुम्न आउने चाहना पनि व्यक्त गरे । आफू दुई म्याच खेल्न मात्र नभइ पाकिस्तान र नेपालबीच सम्बन्ध राम्रो बनाउनका लागि आएको उनको भनाइ छ ।

    ‘नेपालमा मैले न्यानो आतिथ्य पाएँ, यी दुई दिन खुशीसाथ बितेका छन्,’ उनले भने, ‘हाम्रो टिमको नेतृत्व गर्न लागेको सन्दीपलाई अल द बेस्ट भन्न चाहन्छु । मेरो साथ र समर्थन टिमलाई रहनेछ ।’

    अफ्रिदीले नेपाली क्रिकेट टिमले आवश्यक सम्झेको खण्डमा जहिले पनि आउन तयार रहेको बताए ।

    काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि प्रेसमिटमा उपस्थित थिए । उनले टिभीमा हेर्दै आएको खेलाडीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले अफ्रिदीको उपस्थितिबाट नआत्तिन किङ्स ११ का कप्तान सन्दीप लामिछानेलाई सुझाव दिए ।

    ‘कहिलेकाहीँ आफूभन्दा तगडा खेलाडी देख्दा डराउने प्रवृत्ति हुन्छ,’ शाक्यले भने, ‘म सन्दीपलाई नआत्तिइकन खेल्न सुझाव दिन्छु । यसपाली जितेर आएपछि उनले अघिल्लो संस्करणमा आफूले टिमको जर्सी डिस्प्ले गर्दाको क्षण सम्झिए ।

    ‘त्यसबेला मैले जितेर आएपछि सँगै खुशीयाली मनाउनुपर्छ भनेर शुभकामना दिएको थिएँ । तर, खेलको नियम हो, सबैले जित्न सक्दैनन्, त्यसबेला सफल हुन सकिएन,’ उनले भने, ‘यसपाली मेरो र सिंगो महानगरपालिकाको तर्फबाट शुभकामना दिन्छु । जितेर आएपछि सँगै खुशीयाली मनाउने अधुरो इच्छा यसपाली पूरा हुने अपेक्षा छ ।’

    किङ्स ११ का कप्तान सन्दीपले अफ्रिदीको उपस्थितिले आफ्नो टिममा धेरै फरक पार्ने बताए ।

    उनले भने, ‘हाम्रो टिमले मात्र नभएर अरु टिमले पनि साहिद भाइबाट धेरै सिक्न पाउनेछन् । उहाँको उपस्थिति नै ठूलो कुरा हो हाम्रो लागि ।’

  • काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौं : मेयर शाक्य (भिडिओ)

    काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौं : मेयर शाक्य (भिडिओ)

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन् ।

    आज उनकै गृह जिल्ला वडा नम्बर–२१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरपालिकाले क्षेत्र भित्रका ३२ वटै वडामा सम्पदा पुाः निर्माणलाई प्राथमिकता दिएका छ,’ शाक्यले भने, ‘भएका सम्पदाको संरक्षण सम्बद्र्धन गर्ने र पर्यटनसँग जोड्न मात्रै होइन नयाँ सम्पदा निर्माण अभियानलाई पनि महानगरपालिकाले अघि बढाएको छ ।’

    उनले काठमाडौँ महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचानलाई जीवन्त राख्न प्रयास गरिएको बताए । ‘काठमाडौँ मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने वित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न बर्षेनी लाखौँ काठमाडौँबासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’

    उनले त्यसको अन्त्य गर्दै काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए । उनले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वद्र्धन गरी काठमाडौँ घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि स्मरण गराए । ‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस र यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा पुनःनिर्माणको अभियानमा अघि बढेका छौँ,’ उनले भने, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौँ ।’

    उनले आफ्नो टीम निर्वाचित भएर आएपछि नै यहाँको सम्पदा संरक्षण सम्वद्र्धन गर्ने र पर्यटनसँग जोड्ने नीति लिएको बताए । ‘हामी अहिले त्यहि अनुसार काम गर्दै आइरहेका छौँ,’ उनले भने, ‘अहिले मूत–अमूर्त सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने अभियानमा महागनरपालिका लागेको छ । काठमडौँ महानगरपालिकाले गरेको कामलाई संघीय र प्रदेश सरकारले पनि सहयोग गरेको छ ।’

    उनले महानगरपालिकाले लिएको नीतिलाई आत्मसाथ गर्दै प्रदेश र केन्द्रीय सरकारले यहाँका सम्पदा संरक्षण सम्वद्र्धनमा बजेट विनियोजन गरेको भन्दै खुशी व्यक्त गरे । ‘काठमाडौँ महानगरपालिकाले हरेक वर्ष भौतिक पूर्वाधारपछि सबै भन्दा बढी बजेट सम्पदा संरक्षण सम्र्वद्धन र पुनःनिमाणका लागि व्यवस्था गर्दै आएको छ,’ उनले भने, ‘यद्यपि कतिपय अवस्थामा सम्पदा पुनःनिर्माणको कामलाई हामीले पुरातत्व विभाग, गुठी संस्थानलगायतसँग समन्वय नहुँदा दूर्तरुपमा अघि बढाउन सकेका छैनौँ ।’

    उनले गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिने हो भने ती स्थानमा खुलापार्क निर्माण गर्ने र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने बताए ।

    वडा–२१ मा केही दिन अघि मात्रै पनि त्यहि आसपास क्षेत्रमा प्रमुख शाक्यले महादेव मन्दिरको उद्घाटन गरेका थिए । त्यसैगरी केही दिन अघि पनि प्रमुख शाक्यले सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गरेका थिए । ‘आज मात्रै पनि हामीले काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित इनाखा गणेश मन्दिरको उद्घाटन गरेका छौँ,’ उनले भने, ‘यो पुरानो र ऐतिहासिक मन्दिर हो । विभिन्न कारणले भग्नावशेष भएको यो मन्दिर पहिला ढलान निर्माण भएको थियो । अहिले हामीले ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पुनःनिर्माण गरेका छौँ ।’

    कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरपालिकाले अघि बढाएको सम्पदा पुनःनिर्माणको अभियानमा सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरे । आज उद्घाटन गरिएको मन्दिर काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण भएको हो ।

  • क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको अत्याधुनिक भवन बन्ने, मेयर शाक्यले गरे शिलान्यास

    क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको अत्याधुनिक भवन बन्ने, मेयर शाक्यले गरे शिलान्यास

    काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी नि:शुल्क चिकित्सालयले ३५ करोड रूपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्मार्ण गर्न लागेको हो ।

    आज आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले संयुक्त रूपमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका मेयर शाक्यले क्षेत्रपाटी नि:शुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे ।

    ‘यहाँ वडा अध्यक्षज्युहरू, उपमेयरज्यु छौं, फेरि पनि जितेर आउने हामी मध्येबाटै कोही हुन्छौं, त्यसैले जनताको सेवा गर्ने क्षत्रपाटी चिकित्सालयले रकम अभावमा काम गर्न पाइन भनेर गुनासो गर्ने ठाउँ दिन्नौं,’ मेयर शाक्यले भने ।

    मेयर शाक्यले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने वित्तिकै प्रतिफल आउने नभई वर्षौंपछि प्रतिफल आउने हुँदा जनताको सेवामा समर्पित अस्पतालको लागि काठमाडौंबासीले तिरेको कर, जनतालाई फिर्ता गरेको बताए ।

    मेयर शाक्यले जनताको सेवामा समर्पित र राम्रो काम हुने ठाउँमा रकम अभाव हुन नदिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । मेयर शाक्यले अस्पतालले बिरामीको सेवामा विशेष ध्यान दिनुपर्ने बताए । अस्पतालमा आएका बिरामीहरूले नराम्रो रहेछ भन्दै फर्कनु पर्ने अवस्था आउन नदिन व्यवस्थापन, कर्मचारी र चिकित्सकहरूलाई सुझाव दिएका छन् ।

    कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले क्षत्रपाटी नि:शुल्क चिकित्सालयले काठमाडौंभित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताइन् । मेयर खड्गीले भनिन्, ‘काठमाडौंमा फोहोरको समस्या छ, खानेपानीको समस्या छ, त्यसैले स्वास्थ्य संस्थाको धेरै नै महत्व छ ।’

    उपमेयर खड्गीले शहरी क्षेत्रभित्र राम्रो सेवा दिने स्वास्थ्य संस्थाको रूपमा सामुदायिक अस्पतालको संख्या भएको बताइन् ।
    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धरले क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको संस्थागत र संगठित रूपमा विकास गरेर अघि बढ्नुपर्ने बताए । वडा अध्यक्ष मानन्धरले कोरोना महामारीमा अस्पतालले बिरामीहरूको नि:शुल्क उपचार गरेको स्मरण गराउँदै २०१५ सालदेखि उक्त अस्पतालले जनताको सेवामा समर्पित भएर काम गर्दै आएको बताए ।

    काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप डेड करोड रूपैयाँ सहित निर्माण सुरु गरिएको अस्पताल दाताहरुबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए ।

    क्षेत्रपाटी नि:शुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रूपैयाँको कूल पुँजीबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन शिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ ।

    हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी नि:शुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।

  • फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको पत्र

    फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थालेका छन् ।

    आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक रहेको मेयर शाक्यले बताए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । त्यही कारण केही दिनदेखि पूर्णरूपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्रीसँगको भेटपछि शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौं । उहाँले त्यहीँबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’

    प्रमुख शाक्यले प्रधानमन्त्रीले बोलाएर भन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैंले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको भन्दै बाटो निर्माण हुनेबितिक्कै तुरुन्तै फोहोर उठाउन सकिने बताए । ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो ।’

    प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो ।

    शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराएका छन् । सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन । जसका कारण उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

  • काठमाडौंका मेयरले नीति तथा कार्यक्रम र बजेट निर्माणबारे वडा-वडामै पुगेर सुझाव लिने

    काठमाडौंका मेयरले नीति तथा कार्यक्रम र बजेट निर्माणबारे वडा-वडामै पुगेर सुझाव लिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताएका छन्।

    राष्ट्रिय सभागृहमा बसेको ६१ औं कार्यपालिका बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले भने, ‘हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हो,’ ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा म धेरै पटक वडा-वडामा पुगेको छु । यो पटक बजेट निर्माणका सन्दर्भमा पनि सबै वडाका जनप्रतिनिधिको राय-सुझावसहितको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाएको छु ।’

    प्रमुख शाक्यले सबै वडाध्यक्षलाई वडा समितिका बैठकमा आफूलाई समय मिलाएर बोलाउन आग्रह समेत गरे । ‘असार २ गतेबाट काठमाडौं महानगरको नवौं अधिवेसन सुरु हुन्छ । त्यस अघि नै आ-आफ्ना वडाको विकास निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटमा के-के समावेश गर्नुपर्ने हो त्यो विषय वडावासीसँग व्यापक छलफल गरी योजना बनाएर ल्याउनुहोस । सबै वडामा एकै पटक पुग्न सम्भव हुँदैन । त्यसैले वडाका बैठकमा समय मिलाएर मलाई निम्ता दिनुहोला म सबै जनप्रतिनिधि र वडावासीसँग गहन छलफल गरेर सकेसम्म सबैको चित्त बुझ्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन तयार छु ।’

    शाक्यले अहिले योजना नल्याउने अनि पछि मेरो वडामा योजना परेन भनेर गुनासो गर्ने अवस्था नहोस भनेर यस्तो योजना बनाएको पनि बताए । शाक्यले वडाका अन्य महत्वपूर्ण बैठकमा पनि आवश्यकताका आधारमा उपस्थित भएर छलफल गर्न तयार रहेको जानकारी दिए ।

    प्रमुख शाक्यको अध्यक्षतामा बसेको ६१औं कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा पनि समीक्षा गरेको थियो । बैठकमा कोभिडको महामारी व्यवस्थापनका लागि गरिएका कामका विषयमा कार्यपालिका सदस्यहरुबाट उठेका जिज्ञासाको उत्तरमा प्रमुख शाक्यले भने, ‘मानवीयता र मानव जीवन रक्षाका सवाल गरिने कुनै पनि काम सशर्त हुँदैनन् । हामीले यो पटक सरकारी र सामुदायिक अस्पतालको क्षमता विकासमा सहयोग ग¥यौँ । यो निशर्त सहयोग हो ।’

    बैठकले सिटी लाइव्रेरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि-२०७८ तर्जुमा गर्न सहमति दिएको छ । यी कार्यविधिहरु विधायन समिति मार्फत कार्यपालिका बैठक हुँदै नगर सभामा पेश हुनेछन् ।

    बैठकले जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट्याण्डको ५ वर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय गरेको छ ।

    यसैगरी पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका कामसम्बन्धी भेरियसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकमसम्बन्धी भेरियसन स्वीकृत गरेको छ ।

  • शहीद गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु (भिडियाे)

    शहीद गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु (भिडियाे)

    काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आजदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा बनेको अक्सिजन प्लान्टको आज एक कार्यक्रमका विच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।

    २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्ने सम्बन्धी सम्झौता भएको थियो । सम्झौता लगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लान्टको आज शुभारम्भ भएको अस्पतालले जनाएको छ ।

    प्लान्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता छ । अहिले चलिआएको अक्सिजन सिलिन्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिन्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिन्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ । उत्तः अक्सिजन प्लान्ट २ करोड ७५ लाख रुपैंयामा निर्माण भएको हो ।

    कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै उपलब्धिमुलक काम भएको बताए । अक्सिजन उत्पादनसँगै अस्पतालमा यसअघि खपत हुने अक्सिजन अन्यत्र प्रयोग गर्न सकिने भएकाले कोरोनाका विरामीको उपचारमा पनि ठूलो सहयोग पुग्ने उनको विश्वास छ ।

    कोभिडका विरामीलाई अक्सिजन अभाव भएको खवरसँगै व्यक्तिले सिलिन्डर होल्ड गरेका खवर आउन थालेको भन्दै उनले अनावश्यक रुपमा घरमा अक्सिजन सिलिन्डर होल्ड गरेर नराखिदिन पनि सबैलाई आग्रह गरेका छन् । अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अभाव भएको कुरा आएको भन्दै उनले सिलिण्डर होल्ड गर्ने काम नगर्न सबैलाई सचेत पनि गराए ।

    उनले अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन मेडिकल मास्क प्रयोग गरेर घरमै सुरक्षित भएर बस्न पनि सबैलाई अपिल गरेका छन् । ‘कोरोनाको नाम नसुनिनु अघि नै सबै अस्पतालमा अक्सिजन प्लान्ट आफ्नै हुनुपर्छ भनेर हामीले कान्ति बाल अस्पतालबाट सुरु गरेका थियौ । विरामीलाई निशुल्क अक्सिजन उपलब्ध गराएको सुनेपछि सबै अस्पतालमा अक्सिजन प्लान्ट आफ्नै हुनुपर्छ भनेर महानगरपालिका सहकार्य गर्न तयार भएको थियो । अहिले कोरोनाको कहर भइरहेका बेला अक्सिजन मात्रै दिन सक्दा पनि धेरै बिरामी बचाउन सकिने अवस्था छ ।’

    उनले भने, ‘हुन त हाम्रो प्राथमिकता भनेको अस्पतालमा ल्याएर अक्सिजनको मास्क लगाउने होइन, घरमै बसेर सामान्य मास्क लगाएर बस्यो भने अक्सिजन मास्क लगाउनुपर्दैन । दुईवटा मध्य कुन रोज्ने ? अस्पतालमा गएर अक्सिजन मास्क लगाउने कि घरमै बसेर सुरक्षित साथ मेडिकल मास्क लगाउने ? अक्सिजन अभाव भयो भनेर केही व्यक्तिले अक्सिजनको सिलिन्डर घरमा संग्रह गरेको कुरा पनि आएको छ । कसैले पनि अनावश्यक रुपमा सिलिन्डर होल्ड गरेर नराखिदिनुहोला ।’

    शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विगतमा पनि गंगालाल हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताए । उनले कोरोनाको लहर भन्दा अगाडि नै अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुसार प्लान्ट निर्माणको काम अघि बढेको भए पनि अहिले अक्सिजन अभावको समस्या परेका बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कार्य भएको उनको भनाइ छ ।

    उनले मुटुरोगीलाई कोरोना लागेमा उपचारमा कठिनाई भएकाले सबै मुटुरोगीलाई विशेष सर्तकता अपनाउन पनि आग्रह गरे । मुटुरोगीका सम्पुर्ण कोरोना संक्रमितलाई केन्द्रमै राखेर उपचार गर्ने सोच लिएको भए पनि भौतिक संरचनाका कारण सबैलाई राखेर उपचार गर्न सक्ने अवस्था नरहेको बताए ।

    काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरेको छ । अस्पतालमा अहिले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको छ ।

  • पुरातत्व विभागले कामै गर्न दिएन: मेयर शाक्य

    पुरातत्व विभागले कामै गर्न दिएन: मेयर शाक्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित भएका छन् ।

    आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताएका हुन् ।

    कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए ।

    अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले बताए ।

    उनले भने,‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोडन सकिन्न । जनता जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानूनको दायराभित्र हामी ल्याउँछौं ।’

    मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिए । महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताए ।

    हनुमानढोका भित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खालि गराउन विभागलाई पत्राचार गरिसकेको बताए । सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि दिए ।

    उनले भने,‘हनुमानढकोका भित्र जुन जुन सतलहरु थियो, ती सतलबाट पुरातत्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्रचार गरिसकेका छौं । पुरातत्व विभागले व्यापार गरेर पैसा कमाउने होइन । सतल खुल्ला नै हुनुपर्छ । बटुवा मैत्री हुनुपर्छ भन्ने काठमाडौ महानगरपालिकाको धारणा हो । हामीले पत्राचार गरिसकेका छौं । पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरु सबैलाई सिकाएर हिँडने पुरातत्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा खाईराखेको छ ।’

    मेयर शाक्यले त्यसको अव काठमाडौं महानगरबासीले नसहने बताए ।

    मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनैपनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाई हुने गरेको बताए । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाए ।

    उनले भने ‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु । आफूले गर्दा जे पनि ठिक अरुले गर्दा बेठिक भन्न पाइन्न । हाम्रोलागि बोल्ने को ? उहाँहरुले गर्दा सबै बोल्ने हामी, उहाँहरुलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न ।’

    कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताए । प्राधिकरण जोडिएका सम्पदाहरुको समस्या समाधानका लागि प्राकिरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले भने,‘सरकारी निकायहरुबीचको समन्वय हुने खालको कुराहरुमा आफ्ना तरिकाले सोच्ने कुरामा कहिलेकाहिं समस्याहरु छन् । त्यसलाई अरु कुनैपनि उपाय छैन । हामी एकसाथ बसेर छलफल गरेर निचोड के हो त्यो अनुसार निकालेर काम गर्नुको हामीसँग विकल्प छैन ।’

    भारत सरकारको आर्थिक सहयोगमा सेतो पछिन्द्रनाथको मन्दिर बनाउन लागिएको पनि ज्ञवालीले बताए । भूकम्पबाट क्षति भएका सबै सम्पदाहरुलाई प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको पनि सिइओ ज्ञवालीले बताए ।

  • कोरोना बीमा भुक्तानीमा समस्या, काठमाडौंका मेयर नै पीडित

    कोरोना बीमा भुक्तानीमा समस्या, काठमाडौंका मेयर नै पीडित

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोनाभाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन ।

    दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ ।

    परीक्षणमा पोजेटिभ देखिएकामध्ये ४० जनाको बीमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेका महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

    महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो । जसमा जनप्रतिनिधि र सबै कर्मचारीको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार/सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएको हो ।

    महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुनसक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित गराउन र उक्त समयमा काम गर्नाका लागि उच्च मनोबल प्राप्त होस् भनी महानगरले सामूहिक रूपमा बीमा गरिदिएको प्रवक्ता डंगोलको भनाइ छ ।

    बीमा भएको समयमा गरिएको सम्झौताअनुसार आगामी वर्ष २०७८ जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पीसीआर रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा रु १ लाख प्राप्त हुनेछ । समयमा महानगरले प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गराएको हो ।