Tag: वित्त प्रेस

  • संविधान दिवसमा नेपाल टेलिकमकाे यस्ताे छ अफर

    काठमाडाैं । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा सरकारले २०८२ असोज ३ गते विशेष रुपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको छ । सो अफर २०८२ असोज २ गतेदेखि असोज ४ गतेसम्म लागू हुने टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन् ।

    यस अन्तर्गत रु। ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

    यसैगरी डाटा प्याकेज अन्तर्गत रु। १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु। १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु। २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु। ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

    यही अफर अन्तर्गत रु। ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ ।

    आगामी असोज २ गतेदेखि असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

     

  • राष्ट्रिय खाद्य बैंकले बोलायो साधारण सभा- आईपीओ निष्कासन विशेष एजेण्डा

    राष्ट्रिय खाद्य बैंकले बोलायो साधारण सभा- आईपीओ निष्कासन विशेष एजेण्डा

    काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले यही असोज २५ गते साधारण सभा आह्वान गरेको छ । बैंकको सभा हेरिटेज प्यालेस राधेराधेमा हुने भएको हो ।

    उक्त साधारण सभामा बैंकले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसबाहेक बैंकले सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायत प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।

    राष्ट्रिय खाद्य बैंक लिमिटेडका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार  बैंकले पुँजी विस्तार र सर्वसाधारणलाई सहभागि गराउने उद्देश्यले आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको छ । सभाबाट विशेष प्रस्ताव पारित भएपश्चात् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र आवश्यक स्वीकृति प्राप्त गरेपछि सर्वसाधारणबाट पुँजी संकलन गर्ने तयारी थलेको छ ।

    बैंकले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । खाद्य बैंकले एक अर्ब चुक्ता पुँजी पुर्‍याउनका लागि ७० करोड संस्थापकबाट र बाँकी ३० करोड सर्वसाधारणबाट संकलन गर्न लागेको हो ।

    आईपीओ मार्फत संकलन गरिएको पैसा खाद्य बैंकले कृषि क्षेत्रमा लगानी गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले भने, ‘आईपीओबाट पुँजी जुटाएर कृषि उत्पादनदेखि ब्राण्डिङमा लगानी गर्छौँ । अहिले कोशीमा दाना उद्योग सञ्चालन गरेका छौँ । थप ६ प्रदेशमा पनि यस्तो उद्योग सञ्चालन गर्ने हाम्रो योजना छ ।’

    खाद्य बैंकले निष्काशन गर्ने आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ मूल्य कायम रहने उनले जानकारी दिए । साथै खाद्य बैंकले तेल मिल समेत सञ्चालन गर्ने योजना बनाएको उनको भनाई छ ।

     

  • मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुल्यो

    काठमाडौं । मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीत पत्र खुला गरेको हो ।

    विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यो नाकाबाट वस्तु तथा सेवा आयात गर्ने बाटो खुलाएको छ ।

    अब चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतित पत्रमार्फत आयात गर्दा निम्न भन्सार नाकाहरूबाट सामान आयात गर्नुपर्नेछ ।

    यसअघि चीनको भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत प्रतीत पत्र (एलसी) प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी भन्सार र रसुवा भन्सारको प्रयोग हुँदै आएको थियो । अब मुस्ताङ थपिएको राष्ट्र बैंकले जनाएको छ ।

  • ‘पिक सिजन’ मै पर्यटनमा धक्का- नेपाल सुरक्षित रहेको सन्देश दिन व्यवसायी सक्रिय

    काठमाडौं । विदेशीले नेपाल भ्रमणका लागि सबैभन्दा उपयुक्त समय सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मान्ने गर्छन् । होटल, ट्राभल एजेन्सी र गाइडहरू ‘व्यस्त’ हुने समय पनि यही रहेकाले यो अवधिलाई ‘पिक सिजन’ मानिन्छ ।

    मुख्य सिजनमा लाखौँ पर्यटक नेपाल भित्र्याउन सरकारदेखि पर्यटन व्यवसायीसम्म लागिरहेका हुन्छन् । तर, यस वर्ष सिजनको शुरुमै पर्यटन क्षेत्रमा धक्का लागेको छ । पर्यटकलाई नेपालमा स्वागत गर्ने तयारीमा रहेकै बेला जेन जी आन्दोलन भयो । जुन आन्दोलनका कारण नेपालमा आउने पर्यटकहरू त्रसित मात्रै भएका छैनन् । आउने तयारीमा रहेकाहरू पनि बुकिङ रद्ददेखि सुरक्षाबारे तीव्र सोधीखोजीमा रहेको व्यवसायीहरूले बताएका छन् । आन्दोलनका दृश्यहरूले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पारेको बताएका छन् ।

    उनीहरूका अनुसार यसले पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ । नेपालका होटल, ट्राभल एजेन्सी, ट्रेकिङ गाइडदेखि साना व्यवसायसम्म प्रभावित भएका छन् ।

    केही अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । हालै हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले नेपालका लागि उडान रोक्यो । उडान स्थगित भएको सूचना टिकेटिङ एजेन्सीहरूलाई पठाएको र काटिसकेको टिकेट समेत रद्द गरेको छ ।

    क्याथे प्यासिफिकले भदौ ३० गतेदेखि लागू हुनेगरी १५ दिनलाई नेपाल उडान रोकेको छ । जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधि घटेकाले उडान रोकेको ट्राभल एजेन्सीले जनाएका छन् ।

    पर्यटकहरूले बुकिङ समेत रद्द गरिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्ष सागर पाण्डेले जानकारी दिए । उनले आन्दोलनपछि पर्यटकहरूले बुकिङ रद्द गर्नेदेखि नेपालका सुरक्षाको अवस्थाबारे सोधिखोजी गरिरहेको समेत बताए ।

    अध्यक्ष पाण्डेले भने, ‘सिजनमै पर्यटक घट्ने चिन्ता थपिएको छ । नेपाल आउने पर्यटकहरूको बुकिङ अनुमानित २५ प्रतिशतले घटेको छ । अहिले धेरैजसो पर्यटकको फोन नेपालको सुरक्षाबारे आइरहेको छ । उनीहरूले नेपाल घुम्नका लागि कतिको सुरक्षित छ भन्नेबारे सोधीखोजी गरिरहेका छन् ।’

    उनका अनुसार ‘नेपाल असुरक्षित छ’ भन्ने सन्देश दिन सकेमा पर्यटकहरू ढुक्कले नेपाल आउने सम्भावना देखिन्छ । अहिले व्यवसायीहरूले नेपाल सुरक्षित रहेको जानकारी दिन विभिन्न प्रचार-प्रसार र कार्यक्रमहरू गरिरहेका समेत उनले जानकारी दिए ।

    नेपाल सुरक्षित रहेको सन्देश दिन आवश्यक

    होटल संघ नेपाल, ट्रेकिङ एजेन्सीज एशोसिएसन लगायतका पर्यटन क्षेत्रका संघ-संस्थाले संयुक्तरूपमा पर्यटकलाई त्रसित नहुन आग्रह गर्दै ‘नेपाल अझै सुरक्षित गन्तव्य हो’ भन्ने सन्देश प्रवाह गर्ने अभियान सुरू गरेका छन् । भिडियो सन्देशदेखि विभिन्न कार्यक्रम तथा छलफल गरिरहेको नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले बताए ।

    उनले भने, ‘हामीले पर्यटकलाई सकारात्मक सन्देश दिइरहेका छौँ । छोटो अवधिमा अप्रिय घटना भएपनि अहिले नेपालमा सुरक्षित नै रहेकोबारे पर्यटकलाई जानकारी दिएका छौँ । हामी अहिले नयाँ युगको खोजीमा छौँ ।’

    जेन जी आन्दोलनका कारण सामान्यदेखि पर्यटक राख्नेसम्मका होटलहरुमा क्षति पुगेको छ । जेन-जीहरूले गरेको आन्दोलनको क्रममा देशभरका होटेलहरूमा ठूलो क्षति पुगेको हो ।

    होटल संघको प्रारम्भिक विवरण अनुसार दुई दर्जन होटलमा क्षति पुगेको छ । जसमा करिब २५ अर्बको नोक्सानी भएको छ । प्रदर्शनकारीले काठमाडौं उपत्यकाका होटलसहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, तुल्सीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटलहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।

    एक वर्षअघि मात्रै काठमाडौंमा सञ्चालन भएको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको संघले जनाएको छ । यससँगै देशभर करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको संघले जनाएको छ ।

    प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटलका करिब दुई हजार कामदारको रोजीरोटी गुमेको प्रारम्भिक अनुमान गरिएको छ ।

    होटल व्यवसायमा क्षति भएपनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने अध्यक्ष शाहले जानकारी दिए ।

    उनले भने, ‘आन्दोलनबाट होटल क्षेत्रमा क्षति पुगेपनि हामी अझै विदेशी पाहुनाहरूको सेवामा कुनै कमि राख्ने छैनौँ । अझै हामी सयौँ पर्यटकलाई स्वागत गर्न सक्ने अवस्थामा छौँ ।’

    तर, सुरक्षाबारे सोधीखोजी गर्ने पर्यटकहरूलाई सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको अध्यक्ष शाहले बताए । होटल संघका अध्यक्षको जस्तै तर्क राख्छन् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणी थपलिया । उनी पनि नेपाल सुरक्षित रहेको सन्देशलाई प्रवाह गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँछन् ।

    पाटाका महासचिव नरेन्द्रदेव भट्ट पनि नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय गर्दै विदेशी पर्यटकको सुरक्षा प्राथमिकतामा ध्यान दिनुपर्ने बताउँछन् ।

    सरकारले थाल्यो छलफल

    नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीहरुबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने विषयमा छलफल गरेको छ ।

    पर्यटन बोर्डमा भएको छलफलमा पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि नीतिगत अड्चनहरू फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । यसका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनले बताए ।

    उनले भने, ‘पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ ।’

    सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् । यस घटनाले हामीलाई धेरै सिकाएको र सरकार गठनपछि कामहरू शुरू भएकोले नेपालमा आन्दोलन सेफल्याण्डिङ भयो भन्ने सन्देश विश्वभर पुगेको उनको भनाइ छ ।

    त्यस्तै, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउनका लागि ‘पर्यटन प्याकेज’ हरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताएका हुन् ।

    नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै पोखरामा रहेका र त्यहाँ आवागमन गर्ने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरेका छन् । ट्रेकिङ रुटहरू सुरक्षित रहेको साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरू भइसकेको लामिछानेले बताए । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकहरूलाई सहजीकरणको लागि तयार रहेको उनले आश्वस्त पारे ।

    यसैगरी, पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले रिकभरीका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताएका छन् ।

    ‘हरेक संकटपछि नेपालको पर्यटन पुनरुत्थानमा पाँच-पाँच वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै रिकभरी गर्ने गरी काम गर्नुपर्छ’, सदस्य भण्डारीले भने ।

    बोर्डले नेपालमा रहेका पाँच तारे र चार तारे होटेलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । उक्त छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीहरूले बताएका हुन् ।

    उक्त छलफलमा अधिकांश होटल व्यवसायीहरूले पर्यटकहरूको स्वागतका लागि तयार रहेको जानकारी गराए । उनीहरूको सहज आवागमन र बसाइँका लागि राज्य निकायले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ । यसका लागि सामूहिक पहलमा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्ने दिशातर्फ काम गरिरहेका जानकारी दिएका थिए ।

  • सुनको मूल्य तोलामा १ हजार घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज सुनको मूल्य तोलामा एक हजार घटेको छ ।

    आजका लागि सुनको मूल्य तोलामा २ लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

    त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

     

  • बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।

    नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।

    बोेर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

  • खराब नियतले चलेका सहकारीलाई जुनसुकै बेला प्राधिकरणले कारबाही गर्छ: अध्यक्ष शर्मा 

    खराब नियतले चलेका सहकारीलाई जुनसुकै बेला प्राधिकरणले कारबाही गर्छ: अध्यक्ष शर्मा 

    काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले खराब नियतले चलेका सहकारीहरू जुनसुकै बेला प्राधिकरणले कारबाही गर्ने बताएका छन् । लुम्बिनी प्रदेशका सहकारकर्मीहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

    छलफलमा उनले भने, ‘खराब मनसायबाट चलेका सहकारीहरूलाई जुनसुकै बेला पनि कानुनको कठघरामा पुर्याउन प्राधिकरण लागिपरेको छ । सहकारीले प्राधिकरणको मापदण्ड र निर्देशक पालना गर्न आवश्यक छ ।’

    अध्यक्ष शर्माले कपिलवस्तु, रुपन्देही र नवलपरासीका छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरेका छन् । यी जिल्लाका बचत तथा ऋणको कारोबार गर्ने साना किसान कृषि सहकारी संस्था लि. र बचत तथा ऋण सहकारी संस्था लि. सम्बद्ध सहकारीकर्मीहरूबीच कार्यक्रमहरू आयोजना गरिएको थियो ।

    कार्यक्रममा सहभागी सहकारकर्मीहरूले प्राधिकरणले जारी गरेका मापदण्ड, निर्देशन सहित सहकारी क्षेत्रमा देखिएका समस्याहरू र आगामी दिनमा प्राधिकरणले खेल्ने भूमिकाका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । अध्यक्ष शर्माले ती जिज्ञासाहरूको जवाफ दिँदै सहकारी संस्थाहरूको नियमन र सुपरिवेक्षणका लागि प्राधिकरण नै जिम्मेवार र अन्तिम संस्था भएको स्पष्ट पारे ।

    अध्यक्ष शर्माले खराब नियतले चल्नेहरूको पछाडि नलागी सहकारी कानुनसहित प्राधिकरणले जारी गरेका हरेक मापदण्ड र निर्देशनहरूलाई सबै संस्थाहरूले महत्वका साथ पालना गर्नका निम्ति अनुरोध गरे ।

     

  • रामेश्वरले अर्थ सम्हाल्दा कस्तो छ आर्थिक परिसूचकहरूकाे अवस्था ?

    काठमाडौं । अर्थ मन्त्रालयको ‘चाबी’ सोमबारदेखि डा. रामेश्वर खनालको हातमा पुगेको छ । जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बनेका छन् ।

    पूर्वअर्थसचिव समेत रहेका खनाल नेपालको अर्थतन्त्रको ज्ञाता मानिन्छन् । उनकै नेतृत्वमा निवर्तमान सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग समेत गठन गरेको थियो । सो आयोगले अर्थतन्त्र सुधारको रोडम्यापसहितको दिएको प्रतिवेदनकै आधारमा चालू आर्थिक वर्षको बजेट पनि आयो ।

    त्यही बजेट कार्यान्वयन गर्नेगरी खनालले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । नेपालको अर्थतन्त्रलाई नजिकबाट बुझेका व्यक्तिले नै बागडोर सम्हाल्दै गर्दा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रहेको छ । यो सञ्चितिले १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

    चालू खाता ७८ अर्ब १४ करोड रूपैयाँ रहँदा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रूपैयाँ बचतमा रहेको छ । नेपाल सरकारको खर्च ४६ अर्ब ३१ करोड र राजस्व परिचालन ८४ अर्ब ४७ करोड रुपैयाँ रहको छ । विस्तृत मुद्रा प्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १२.५ प्रतिशतले बढेको छ ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ प्रतिशतले बढेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूबिचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.७६ प्रतिशत रहेको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको साउनसम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति –२.२८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत छ । ।

    आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १।४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायतका वस्तुको निर्यात घटेको छ । ।

    चालू आवको साउनसम्म कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ ।

    यस अवधिमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल÷धान, कोइला, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ । हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायतका वस्तुको आयात घटेको छ ।

    रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि

    आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।

    यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । खुद द्वितीय आय ९खुद ट्रान्सफर० १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ ।

    यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।

    चालू खाता ७८ अर्बले बचतमा, २८ खर्ब विदेशी सञ्चिति

    यस अवधिमा चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।

    यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रहेको छ भने ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको छ ।

    शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो ।

    असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ०६ अर्ब ४ करोड पुगेको छ ।

    विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति साउन मसान्तमा २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।।

    साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् ।

    सरकारको खातामा २२६ अर्ब नगद मौज्दात

    सरकारको खातामा नगद मौज्दात २ खर्ब भन्दा बढी रहेको छ । चालू आवको साउन मसान्तमा बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब २६ अर्ब ६४ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपाल सरकारको कुल खर्च ४६ अर्ब ३१ करोड रहेको छ । यस अवधिमा चालु खर्च १८ अर्ब ४८ करोड, पुँजीगत खर्च ७३ करोड र वित्तीय व्यवस्था खर्च २७ अर्ब १० करोड रहेको छ ।

    सरकारले कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८४ अर्ब ४७ करोड संकलन गरेको छ । यस अन्तर्गत कर राजस्व ८० अर्ब ६७ करोड र गैर कर राजस्व ३ अर्ब ८० करोड परिचालन भएको छ ।

    कर्जा र निक्षेप परिचालनको कस्तो छ अवस्था ?

    चालू आवको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५५ अर्ब ७९ करोड (०.८ प्रतिशत) ले घटी ७२ खर्ब ८ अर्ब ९ करोड कायम भएको छ । वार्षिक विन्दुगत आधारमा २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२।५ प्रतिशतले बढेको छ । साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत रहेको छ ।

    यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटी ५४ खर्ब ९५ अर्ब पुगेको छ । वार्षिक विन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्र तर्फत प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको छ । साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थातर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

    साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १४.८ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत कर्जा रहेको छ ।

    चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.०४ प्रतिशतले घटेको छ ।

    यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ०.२ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशतले, र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको छ ।

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २ खर्ब ५६ अर्ब १५ करोड र स्थायी निक्षेप सुविधामार्फत ३३ खर्ब ८२ अर्ब २० करोड गरी कुल ३६ खर्ब ३८ अर्ब ३५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।

  • भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

    भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

    ईण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपालमा पनि मूल्य यथावत राखिएको हो ।

    भारतबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल/मट्टितेलमा तीन रुपैयाँ बढेर आएको छ ।

     

  • आईपीओ निष्कासनको तयारीमा रहेको राष्ट्रिय खाद्य बैंकका अध्यक्षलाई पाँच प्रश्न (भिडिओ) 

    आईपीओ निष्कासनको तयारीमा रहेको राष्ट्रिय खाद्य बैंकका अध्यक्षलाई पाँच प्रश्न (भिडिओ) 

    विशुद्ध खाद्य सम्बन्धित काम गर्ने नेपालको पहिलो बैंक हो, ‘राष्ट्रिय खाद्य बैंक’ । करिब चार वर्षको गृहकार्यपछि २०७७ सालमा स्थापना भएको यस बैंकले अर्ग्यानिक कृषि उपजहरू उत्पादन, भण्डारण र बजारीकरणसम्मको काम गर्दै आएको छ । किसानको आलीदेखि उपभोक्ताको थालीसम्म आफैँले काम गर्दै आएको यस बैंकले बिचौलियाको उपस्थितिलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको छ । पाइलट प्रोजेक्टको रूपमा राष्ट्रिय खाद्य बैंकले, किसान, सहकारी र विभिन्न कम्पनी मिलेर कृषि कर्म गरिरहेको छ । कृषि उत्पादनदेखि बजारीकरणसम्मको काम गरिरहेको यस बैंकले साधारण शेयर आईपीओ ल्याउँदै छ । बैंकले ल्याउन लागेको आईपीओ, कम्पनीको अवस्था र लगानीबारे अध्यक्ष शंकरनाथ उप्रेतीसँगको कुराकानी नेपाल टकमा-

    –सुरुवातमा राष्ट्रिय खाद्य बैंकबारे स्पष्ट पारिदिनुस्, यो कस्तो बैंक हो र यसले के गर्छ ?   

    राष्ट्रिय खाद्य बैंक नेपालीहरूको प्राण रक्षाका लागि सञ्चालनमा आएको बैंक हो । हामीले स्वास्थ्य वर्द्धक खानेकुराहरू नेपालीहरूलाई खुवाइरहेका छौँ । हामीले स्थानीय तहमा रहेर उत्पादनमा जोडिएकाहरुसंग मिलेर काम गरिरहेका छौँ । राष्ट्रिय खाद्य बैंकले स्थानीय सरकार, सहकारी र उत्पादनमा लागेका उत्पादकहरू मिलेर कृषि मोडलमा काम गरिरहेका छौँ ।

    उत्पादनदेखि बजारीकरणसम्मको काम राष्ट्रिय खाद्य बैंकले गरिरहेको छ । सुरूमा हामी स्थानीय तहमार्फत स्थानीय तहहरूसँग किसानहरूलाई सम्पर्क गर्छौँ । हाम्रो रोहबरमा तपाईँहरूले उत्पादन गरेका स्वास्थवद्र्धक उत्पादनको हामी मूल्य निर्धारण गर्छौँ । सोही मूल्य अनुसार हामीले उनीहरूको उत्पादन खरिद गर्छौँ । उत्पादनमा जसले जाँगर गरिरहेका छैनन् उनीहरूका लागि हामीले जाँगर गरेर उत्पादन गर्ने गरी मूल्य दिएका छौँ ।

    विषयगत विज्ञहरूसँग जोडिएर राष्ट्रिय खाद्य बैंकले काम गरिरहेको छ । नेपाल सरकारले गर्नुपर्ने कामहरू राष्ट्रिय खाद्य बैंकले गरिरहेको छ । जिडिपीमा योगदान पुर्याउनेगरि उत्पादनदेखि बजारीकरणसम्मको काम गरिरहेका छौँ ।

    खाद्य बैंकले उत्पादकको काममा पाइलट प्रोजेक्टबाट अरूलाई सिकाउँदै कृषि उपजहरूलाई बैंकको आफ्नो च्यानलबाट भण्डारण गरी प्रशोधन प्याकेजिङ गरी बिक्री वितरण गर्छ । एउटै संस्थाले उत्पादन, भण्डारण र बिक्री वितरण लगायतका सम्पूर्ण कार्य गर्ने हुँदा यसमा अरू कसैको भर परिरहनु पर्दैन । बिचौलियाको आवश्यकता नरहने हुँदा उत्पादकले पनि राम्रो मूल्य पाउँछन् ।

    अहिले हामीले दाना उत्पादनमा पनि लागेका छौँ । पशु पालन, माछा पालन, कुखुरा पालनका लागि सहयोग पुगिरहेको छ । कोसी प्रदेशमा रहेको यस्तो दाना उद्योग हामीले विस्तारै सातै प्रदेशमा स्थापना गर्ने तयारी गरिरहेका छौँ ।

    –खाद्य बैंकले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ, किन निष्काशन गर्दै हुनुहुन्छ आईपीओ ?  

    राष्ट्रिय खाद्य बैंकले आउँदो असार २५ गते वार्षिक साधारण सभा हुँदैछ । उक्त सभाले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ । एक अर्ब पुँजी जुटाउनका लागि ७० करोड प्रमोटरको तर्फबाट र बाँकी ३० करोड सर्वसाधारणबाट पुर्‍याउने तयारीमा छौँ ।

    आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता भइसकेको छ । आईपीओका लागि सबै तयारी पुरा भइरहेको छ । सभाले पारित गर्ने वित्तीकै हाम्रो आईपीओ निष्काशन हुन्छ ।

    –आईपीओ ल्याउन लागेको कम्पनीको अवस्था कस्तो छ भनेर लगानी गर्नु अगाडी चासोका साथ हेरिन्छ । तपाइको कम्पनी वित्तीयरुपमा कति स्वस्थ हो ?  

    २०७७ सालमा स्थापना हुँदा राष्ट्रिय खाद्य बैंकको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ थियो । हामी अहिले धेरै अगाडी पुगिसकेका छौँ । पहिलेदेखि नै हाम्रो वित्तीय अवस्था राम्रो रहेकोले अहिले पनि स्वस्थ अवस्था छौँ । सरकारको कानुनमा रहेर सञ्चालन भइरहेको राष्ट्रिय खाद्य बैंकले सर्वसाधारणले समेत हेर्न, बुझ्न र जान्नसक्नेगरि हामीले हाम्रो कामहरू गरिरहेका छौँ । त्यसको मूल्यांकन गर्न सक्नेगरि हाम्रो अवस्था र गतिविधिबारे जानकारी समेत दिइरहेका छौँ ।

    –राष्ट्रिय खाद्य बैंकको आईपीओमा सर्वसाधारणले किन लगानी गर्ने ? 

    हो, स्वभाविकरुपमा यो प्रश्न आउन सक्छ । अहिले विभिन्न प्रकारका कम्पनीहरूले आईपीओ बजारमा ल्याइरहेका छन् । कतिपय भविष्य नै नभएका कम्पनीहरू समेत आईपीओका बजारमा आएका छन् । तर, हामी नितान्तरुपमा उत्पादनको क्षेत्रमा क्रियाशील छौँ । भोलीका दिनमा पनि हामीले गर्ने यही नै हो ।

    लगानीकर्ताहरूले अबको लगानी पनि राष्ट्रिय खाद्य बैंकहरुजस्ता कम्पनीहरूमा गर्नुपर्ने हो । जो उत्पादनमा जोडिएका छन् । किसानको आलीदेखि उपभोक्ताको थालीसम्म काम गरिरहेको यस कम्पनीमा लगानी गर्न शंका गर्नु पर्दैन ।

    हाम्रोमा लगानी गर्दा भविष्यमा सबैभन्दा राम्रो प्रतिफल पाइन्छ । छिमेकी देशको अमूल डेरीको शेयर कित्तामै १८ हजार पुगेको छ । त्यो खालको पेरिफेरिमा पुर्याउने गरि काम अगाडी बढाएका छौँ । सबैभन्दा राम्रो प्रतिफल दिनेगरि हामी योजनासहित काम गरिरहेकाले सर्वसाधारणले यसमा ढुक्कले लगानी गरे हुन्छ ।

    –आईपीओबाट संकलन गरिएको पुँजी कहाँ खर्च गर्नुहुन्छ ? 

    आईपीओबाट आएको पैसा हामी उत्पादनमै लगानी गर्नेछौँ । नेपालमै उत्पादन हुने, नेपालीलाई नै धनी बनाउने, नेपालको जिडिपीमा योगदान पुर्याउने र कृषिमा रोजगारी दिनसक्ने उद्योग स्थापनाका लागि हामीले यो लगानी गर्छौँ । कृषि उत्पादनबाहेक हामी अन्यत्र लगानी गर्ने छैनाैँ ।

    –राष्ट्रिय खाद्य बैंकका आगामी योजनाहरू के छन् ? 

    हामीले विचौलियालाई हटाउने गरेका छौँ । उत्पादन गरेका वस्तु मात्रै हामी खरिद गर्दैनौँ । हामी स्थानीय तहमा उत्पादन गर्नका लागि सहकार्य गर्दै माटो परीक्षण गर्छौ, विज्ञको टोली खटाउँछौँ र उत्पादन शुरु गर्छौ । त्यो उत्पादनको बजारको ग्यारेन्टी समेत दिने गरेका छौँ । आगामी दिनमा पनि यो काम निरन्तर जरी रहनेछ ।

    अहिले हामीले स्थानीय तहसँग सहकार्यमा काम गरिरहेका छौँ । आगामी दिनमा प्रदेश र संघसंग मिलेर काम गर्ने तयारीमा छौँ । राज्यलाई धनी बनाएर स्वास्थ्य वर्द्धक खानेकुरा दिने काम गर्नेछौँ ।

    ठूलो स्केलमा काम गर्दा त्यसको प्रभाव पनि त्यसअनुसारकै हुन्छ । हामीले नेपाली उत्पादन विदेश निर्यात गर्नेसम्मको योजना बनाएका छौँ । खाद्य बैंकले कृषिलाई औद्योगीकरणमा लैजानेगरि काम गरिरहेको छ । हामीले कृषिमा ट्र्याक खोलिसकेका छौँ, चाँडै नै हाइवे बनाउँछौँ ।

    हेर्नुहोस् उप्रेतीसँगको कुराकानीको पूरा भिडिओ 

  • लुटपाट तथा आगजनीको फुटेजसहित एनसेलले गर्‍यो प्रहरीमा उजुरी  

    काठमाडौं । जेन जी आन्दोलनकाक्रममा काठमाडौंको लैनचौरमा रहेको एनसेलको मुख्य कार्यालयमा तोडफोड, आगजनी र लुटपाटको घटनामा कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै उजुरी गरेको छ । सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो ।

    उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउनु पर्ने एनसेलले माग गरेको छ । आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भन्दै एनसेलले उजुरी गरेको छ ।

    आन्दोलनमा कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एक ठाउँमा राखेर जलाउने डर धाक धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालय भित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमति पत्र, जग्गाधनी प्रमाण पुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।

    एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यालयको काममा प्रयोग हुने सामानहरू डकैती गरी लगेको जनाएको छ । कर्मचारीहरूलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोस्रो तलामा रहेको फिटनेशका सामानहरू बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू झिकेर लगेको एनसेलको भनाई छ ।

    कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महँगा मोटर गाडीहरू भेहिकल रूपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरि भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पाउन्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।

    घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ ।

  • आन्दोलनबाट बैंकका ६८ वटा कार्यालयमा क्षति, गभर्नर भन्छन्– सबै बैंकिङ सिस्टमहरू ठिक छन्

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिएका छन् । सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    गभर्नर पौडेलले भने, ‘६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक छन् ।’

    अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनु पर्ने आवश्यकता रहेको गभर्नर पौडेलले बताए । ‘यसअघि पनि हामीलाई मनोबल बढाउनकै लागि चुनौती थियो । यो घटना हुनु अगाडी पनि हामीसँग धेरै समस्या थियो । जे घटना पछि समस्या थपिएको छ । समाधान गर्न तयारी गर्नुपर्छ’, गभर्नर पौडेलले भने ।

    अनुभवी अर्थमन्त्री आएकाले काम गर्नका लागि सहज हुने गभर्नर पौडेलले बताए । जे भएको छ त्यसबाट धेरै नआत्ती काम गर्न उनले आग्रह समेत गरे ।

     

     

     

  • जेन जी आन्दोलन– लक्ष्मी सनराइज बैंकको महाराजगञ्ज शाखा आगजनीबाट ध्वस्त, बैंकिङ सेवा बन्द

    काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनीबाट लक्ष्मी सनराइज बैंकको महाराजगञ्ज शाखा कार्यालय ध्वस्त हुँदा सेवा प्रवाह प्रभावित भएको छ । आन्दोलनकारीहरूले महाराजगञ्जमा रहेको भाटभेटिनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरभित्र आगजनी गर्दा त्यही रहेको बैंकको शाखा कार्यालयमा पूर्ण क्षति पुगेको हो ।

    आगजनीबाट कार्यालय ध्वस्त हुँदा यस शाखाबाट प्रवाह हुने बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ । अर्को व्यवस्था नभएसम्म उक्त शाखाबाट प्रदान हुने बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

    त्यस शाखाबाट सेवा लिइरहेका ग्राहकहरूले नजिकैका अन्य लक्ष्मी सनराइज बैंकका शाखाबाट आवश्यक सेवा लिन सक्ने व्यवस्था मिलाइएको पनि बैंकले जानकारी दिएको छ ।

     

  • सागर डिष्टिलरीको आईपीओ खुल्यो, १० हजार कित्तासम्म आवेदन दिन पाइने

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

    यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भइसकेको छ । १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो । साथै कम्पनीले ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।

    कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

    ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरिएको छ । जसको एक सय रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

    इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म  आवेदन दिन पाउनेछन् । निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको यस कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।

     

  • निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन हुने

    निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन हुने

    काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई थप सुविधा प्रदान गर्ने निर्णय गरेको छ। आइतबार निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन कार्यकारी निर्देशकस्तरीय निर्णय गरेको हो ।

    भदौ २३ र २४ गते देशभरि भएका प्रदर्शन तथा आन्दोलनका कारण अधिकांश जिल्लाहरूमा निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको थियो।

    प्रदर्शन / आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण प्राधिकरणका महशुल काउन्टरहरू निर्वाधरूपमा सञ्चालन गर्न सम्भव नभएको हुँदा, आम उपभोक्तालाई महशुल तिर्न असहज भएको थियो।

    साे परिस्थितिलाई मध्यनजर गर्दै  २४ देखि असाेज २ सम्म (१० दिन) उपभोक्ताले पाउनु पर्ने Rebate / penalty को सुविधाको लागि M-Power Billing System मा Holiday Setup गर्ने निर्णय  गरेकाे प्राधिकरणले जनाएकाे  छ ।  यस अवधिमा न तिर्ने उपभोक्ताहरूलाई कुनै जरिवाना लाग्ने छैन ।

    साथै उक्त अवधिमा काउण्टरबाट महशुल भुक्तानी गर्ने उपभोक्ताले बुझाएको रकममा समेत समायोजन गर्न कार्यकारी निर्देशकस्तरीय निर्णय भएकोले सो अनुसार  गराउन  भनेकाे छ ।

    प्राधिकरणले देशभरका सम्बन्धित कार्यालय तथा शाखाहरुलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।

  • एनसेलले भन्यो- हामी फेरि उठ्नेछौं, तपाईँहरुसँगै

    एनसेलले भन्यो- हामी फेरि उठ्नेछौं, तपाईँहरुसँगै

    काठमाडौं । जेन जी आन्दोलनमा तोडफोड, आगजनीबाट ठूलो क्षति व्यहोरेको एनसेलले फेरि उठ्ने प्रण गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै एनसेलले यस्तो प्रतिवद्दता जनाएको हो ।

    तोडफोड तथा आगजनीबाट एनसेलको मुख्य कार्यालयमा गम्भीर क्षति पुर्याएकोमा कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर असर पुर्याएको छ।”

    तर चुनौतीबीच पनि एनसेलले आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीका अनुसार सञ्चार सेवा जनजीवनसँग प्रत्यक्ष जोडिएको भएकाले यसको अवरोध न्यून बनाउन सक्दो प्रयास भइरहेको छ।

    एनसेलले मोबाइल भ्वाइस, एसएमएस र इन्टरनेट सेवामा निरन्तरता दिन प्राथमिकता दिएको र आफ्नो मूल्य श्रृंखलाभरि आपूर्ति सुनिश्चित गर्न तत्पर रहेको जनाएको छ। यसले कम्पनीको ग्राहकप्रतिको अद्वितीय प्रतिबद्धताको प्रतिविम्ब भएको पनि विज्ञप्तीमा उल्लेख छ।

    २० वर्षदेखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संलग्न एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिदर वृद्धि र डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउँदै एनसेलले स्मरण गरिएको छ। हाल देखिएका चुनौतीका बाबजुद आफ्नो कर्मचारी, ग्राहक र साझेदारप्रति जिम्मेवारी पूरा गर्ने अटल संकल्पका साथ अघि बढ्ने एनसेलले जनाएको छ ।

  • आन्दोलनमा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा गभर्नरले गरे अवलोकन

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । जेन जी आन्दोलनकाक्रममा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको गभर्नर पौडेलले आइतबार स्थलगत अवलोकन गरेका हुन् ।

    गभर्नर पौडेलले उक्त शाखामा आन्दोलनका क्रममा पुगेको क्षतिको अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । अवलोकनमा गभर्नरसहित बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल लगायत बैंकका कर्मचारीको उपस्थिति थियो ।

    जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आन्दोलनकारीले लुटपाट मच्चाएका थिए । बैंकमा भएको पैसा लुट्न थालेपछि सुरेश देउलाले भिडिओ खिच्न थालेपछि लुटपाट मच्चाएका एक व्यक्तिले पैसा छाडेर भागेका थिए ।

    ललितपुरको ललितपुर महानगरपालिका वडा न. ११ बस्ने ३७ वर्षीय देउलाले ५ लाख १० हजार ५ सय रकम आज जिल्ला प्रहरी परिसरमा बुझाइदिएका हुन् । उनले ५ सय दरको नोट ५ लाख र खुद्रा १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।

    लुटपाटमा संलग्ने केही व्यक्तिलाई नेपाली सेनाले नियन्त्रणमा समेत लिएको छ ।

     

  • नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार छ: सिबिफिन

    काठमाडौं । जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठन भएसँगै मुलुक सामान्यतर्फ फर्कँदै गएको छ । यस क्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सुशासनयुक्त नवनेपाल निर्माणमा सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

    सिबिफिनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थान विन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकांक्षाहरुलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

    अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित नेपाल सरकारले कुनै कसर बाँकी नराख्न समेत सिबिफिनले माग गरेको छ ।

    गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्त्वहरूसँग सजग हुँदै अर्थतन्त्रको आधार स्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रूपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना बैंकिङ सेवाहरू सहजरूपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिन अनुरोध गरेको छ ।

    विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तङ्ग्रिँदै गरेको थियो । अर्थतन्त्रले गति लिँदै गर्दाको आन्दोलनको क्रममा भएको मानवीय र निहित स्वार्थ प्रेरित आक्रमणबाट देशैभरि सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सिबिफिनले दुःख प्रकट गरेको छ ।

     

     

     

  • टेन्ट टाँगेर भैरहवा भन्सारको सेवा

    टेन्ट टाँगेर भैरहवा भन्सारको सेवा

    रुपन्देही । देशकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको रुपन्देहीको भैरहवा भन्सार कार्यालय जेन जी आन्दोलनमा आगजनी र तोडफोडबाट ध्वस्त भएको छ ।

    आन्दोलनबाट क्षतिग्रस्त कार्यालयमा जान नसकिएपछि भैरहवा भन्सार कार्यालयले कार्यालय परिसरमै अस्थायी संरचना टेन्ट टाँगेर सेवा सुचारु गरेको हो ।

    बिहीबारबाट बन्द भएको सेवा सुरु गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भदौ २३ गते काठमाडौंबाट सुरु भएको आन्दोलन २४ गते तोडफोड र आगजनी गर्दा यो कार्यालयको काम ठप्प भएको थियो ।

    भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने तोडफोड र आगजनीमा कार्यालयमा क्षति पुर्‍याएपछि वैकल्पिक व्यवस्थामा टेन्ट टाँगेर अत्यावश्यक सामग्रीहरू आयात निर्यात आयात गरिएको बताएका छन् । डिजिटल सिस्टममा अवरोध भएपछि म्यानुअल भए पनि भन्सार जाँच पासको काम भन्सार कार्यालय अगाडि टेन्ट टाँगेर ल्यापटपबाट भइरहेको छ ।

    भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले कार्यालयले बाहिरै टेन्ट टाँगेर सेवा थालेको र व्यवसायीले आफ्ना काम थालेको जनाए । ‘कार्यालय भित्र पूरै ध्वस्त भएको छ, तर बाहिरैबाट काम थालिएपछि व्यवसायीलाई सहज भएको हो’ उनले भने ।

  • पूर्णरुपमा सञ्चालनमा आए बैंक, व्यवसायी र बैंकरसंग छलफलमा गभर्नर  

    पूर्णरुपमा सञ्चालनमा आए बैंक, व्यवसायी र बैंकरसंग छलफलमा गभर्नर  

    काठमाडौं । मुलुकभरका बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आएका छन् । जेन जी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएको हो ।

    नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा ल्याएका छन् । आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै नै सञ्चालन गर्ने तयारी थालिएको छ । शुक्रबारसम्म आंशिकरुपमा मात्रै सञ्चालन गरिएको थियो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छलफल गरेका छन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् ।

    जेन जी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेका उद्योगी तथा व्यवसायीहरूका लागि विशेष प्याकेज ल्याउन गभर्नरसँग माग राखेका छन् ।

    गभर्नर पौडेलले बैंकरहरुसंग पनि छुट्टै छलफल गरेका छन् । पौडेर र बैंकहरुबीच आन्दोलनबाट क्षति व्यहोरेका व्यवसायीहरूका लागि कस्ता प्याकेज ल्याएर सहुलियत दिन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

     

  • सुनको मूल्य तोलामा ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौ‌ं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा ५ ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मूल्य दुई हजार ५७० कायम भएको छ ।

    गत शुक्रबार एक तोला सुन दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी दुई हजार ५६५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।