Tag: विजुली

  • भारतमा थप ३२५ मेगावाट विजुली बेच्न नेपालले पायो अनुमति

    भारतमा थप ३२५ मेगावाट विजुली बेच्न नेपालले पायो अनुमति

    काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

    आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप विजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट विजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो ।

    अहिले नेपालले भारतबाट विजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी विजुली उत्पादन हुँदै आएको छ । सो विजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।

     

  • अक्सिजन उद्योगमा विजुली नकाट्न प्राधिकरणलाई सीसीएमसीको निर्देशन

    अक्सिजन उद्योगमा विजुली नकाट्न प्राधिकरणलाई सीसीएमसीको निर्देशन

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपुर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

    बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसिले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    कोभिड १९ संक्रमितको संख्या बढे संगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपुर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ ।

    सोही कार्यविधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्ने काम भएको छ । बजारमा माग थेग्ने गरि अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुगमन सुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सिंहदरबारमा मंगलबार बसेको सीसीएमसीको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयास बारे जानकारी गराएको थियो ।

    उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगहरुको अनुगमन गरि विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने,उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको बताए ।

    त्यसैगरी अस्पतालहरुलाई अक्सिजनको न्युनतम कोटा तोकिएको तथा खाली सिलिण्डरहरु संकलन गरि उद्योगमा फिर्ता गर्ने प्रयास भईरहेको पनि उनले जानकारी दिए ।

    सिसिएमसीले सबैलाई बाँचौ र बचाऔै भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सिसिएमसिले काठमाडौं उपत्यका र काभे्रेका उद्योग समेतमा गरि दैनिक ७ हजार २ सय सिलिण्डर उत्पादन रहेको बताएको छ ।

    तर अक्सिजन उत्पादक संघले भने दैनिक ९ हजार सिलिण्डर उत्पादन हुने गरेको बताईसकेको छ । संघले तत्काल बैकल्पिक उपायबाट अक्सिजनको आपुर्ति सहज बनाउन भनिसकेको छ ।

    उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यवहारीक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराईरहेकाको लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरुका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले जनाएको छ ।

  • हावा लाग्दा कर्णालीमा विजुली गायब, प्राधिकरणको फोन उठदैन

    हावा लाग्दा कर्णालीमा विजुली गायब, प्राधिकरणको फोन उठदैन

    सुर्खेत । देशमा संघीयता आएपछि कर्णालीको विकास हुने अपेक्षामा कर्णालीवासी थिए । जहिल्यै हावा चल्दा बत्ती दुई तीन दिन गायब हुने पीडा उनीहरूका लागि नयाँ होइन ।

    ‘कम्तिमा प्रदेश सरकार आइसकेपछि बत्ती सहजै पाउने आशा गरेका थियौं, तर अहिलेसम्म केही प्रगति हुन सकेको छैन,’ लोडसेडिङको समस्या खेप्दै आएका वीरेन्द्रनगर–७ का विष्णुबहादुर शाही भन्छन्, ‘३३ केभिए विद्युत प्रसारण लाइनमा समस्या नआएको कहिल्यै देखिएन । सामान्य हावा चल्दा पनि विजुली जाने अवस्था छ ।’

    दुई दिनअघि करिब १२ घण्टा गएको विजुली शुक्रबार साँझदेखि पुनः गएको छ । ‘ बारम्बार सुर्खेत विद्युत प्राधिकरणको कार्यालयमा फोन गरे पनि कहिल्यै उठदैन,’ वीरेन्द्रनगर–६ की रेशमा ओली भन्छिन्, ‘प्राधिकरणको ल्याण्डलाइन फोन नम्बर विजुली गएको खण्डमा चौविसै घण्टा व्यस्त राखिन्छन् । नागरिकले पाउनुपर्ने जानकारी समयमै पाउन सक्दैनन् ।’

    प्राधिकरण सुर्खेतका प्रमुख टेकराज गिरीले विद्युत प्रसारण लाइन कहाँ बिग्रिएको हो अहिलेसम्म थाहा नभएको बताए । ‘बर्दिया राष्ट्रिय निकुञ्जमा कहाँ के भएको छ हामी खोजिरहेका छौं । अहिलेसम्म थाहा भएको छैन,’ उनी भन्छन्, ‘यसको दीर्घकालीन समस्या समाधानको एक मात्र उपाय १ सय ३२ केभिए प्रसारण लाइन नै हो ।’

    निकुञ्जभित्र रुख ढल्दा रुख काटन नपाइने भएका कारण बारम्बार ११ केभिए प्रसारण लाइनमा समस्या देखिएको उनले बताए ।