Tag: विकास बजेट

  • प्रदेश २ः ११ महिनामा ३१ प्रतिशत मात्रै विकास बजेट खर्च

    प्रदेश २ः ११ महिनामा ३१ प्रतिशत मात्रै विकास बजेट खर्च

    जनकपुरधाम । केन्द्रले बजेट कम दिएको भनेर सधैं गुनासो गर्ने प्रदेश २ सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३१ प्रतिशत भन्दा बढी विकास बजेट खर्च गर्न सकेन ।

    प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको तथ्यांकअनुसार प्रदेश सरकारले जेठ मसान्तसम्म चालुतर्फ ३४ दशमलव ९ र पुँजीगततर्फ ३१ दशमलव २३ प्रतिशत बजेट मात्र खर्च भएको छ ।

    चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल ३३ अर्ब बजेट विनियोजन गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो वर्ष सबभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले ४१ दशमलव १४ प्रतिशत र सबभन्दा कम भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खर्च गरेको तथ्यांकले देखाएको छ ।

    यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल बजेटको ३६.३५ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३२.८ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४.२४ प्रतिशत वजेट खर्च गरेको छ ।

    सामाजिक विकास मन्त्रालयले चालुतर्फ १ अर्ब ५२ करोड २१ लाख र पुँजीगततर्फ ५८ करोड ४ लाख गरी २ अर्ब ८ करोड २५ लाख खर्च गरेको छ । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालुतर्फ १० करोड ७ लाख र पुँजीगततर्फ १७ करोड १३ लाख खर्च गरेको छ ।

    ११ महिनामा साढे ३१ प्रतिशत खर्च गरेपछि अब एक महिनामै झण्डै ६९ प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ । तर यो सम्भव छैन । असारमा हतार हतार विकास गर्दा व्यापक भ्रष्टाचार हुने विज्ञहरु बताउँछन् ।

    आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले काम धेरै भएपनि रकम भुक्तानी नहुँदा कम बजेट खर्च भएको देखिएको बताइन् । उनले कोरोना महामारीका कारण पनि बजेट कम खर्च भएको बताइन् । उनले भनिन्, ‘धेरै योजनाहरु पूरा हुनेक्रममा छन् ।

  • कसरी खर्च होला लुम्बिनीको बाँकी बजेट ? ५० प्रतिशतसम्म फ्रिज हुने खतरा

    कसरी खर्च होला लुम्बिनीको बाँकी बजेट ? ५० प्रतिशतसम्म फ्रिज हुने खतरा

    रुपन्देही । कोरोना महामारीलाई कारण देखाउँदै यो वर्ष पनि लुम्बिनी प्रदेश सरकारले धेरै बजेट खर्च गर्न सकेको छैन । आर्थिक वर्ष सकिन अब १ महिना मात्र बाँकी छ । तर प्रदेश सरकारको धेरै विकास बजेट खर्च हुन बाँकी नै छ ।

    यसअघिका वर्षमा कर्मचारी व्यवस्थापन समयमा हुन नसकेका कारण बजेट खर्च हुन नसकेको यो प्रदेशमा अहिले कर्मचारी संख्या बढेको, प्रदेश संरचनाको स्पष्ट खाका तयार भए पनि बजेट समयमै खर्च भएन ।

    सरकारी तथ्यांकलाई आधार मानेर हेर्ने हो भने पनि बैशाख महिना सकिँदा ५० प्रतिशत मात्र बजेट खर्च भएको र जेठ पनि सकिएकाले गतवर्षजस्तै बजेट खर्च नहुने अनुमान गर्न सकिन्छ । लुम्बिनी प्रदेशमा गतवर्ष ७५ प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो ।

    लुम्बिनी प्रदेशको कुल बजेट ३७ अर्ब ४५ करोड २५ लाख रहेकोमा चालुतर्फ १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड अर्थात् ५३ दशमवल ३६ प्रतिशत खर्च भएको छ । पूँजीगततर्फ छुट्याइएको २० अर्ब २४ करोड विकास बजेटमध्ये बैशाख मसान्तसम्म ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ ।

    बैशाख मसान्तसम्मको १० महिना अवधिमा १८ अर्ब ५२ करोड ९५ लाखमात्र खर्च भएको छ । प्रदेश लेखा कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार चालु आर्थिक वर्षका १० महिनामा प्रदेश सरकारले कुल बजेटको ४९ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको छ ।

    सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले कोभिड–१९ ले हरेक क्षेत्रलाई प्रभावित पारेकाले बजेट खर्चमा केही कमी देखिएको बताए । यद्यपि गतवर्षको तुलनामा धेरै नै काम भएको उनको दाबी छ ।

    उनले भने–‘खासगरी प्रदेशमा भौतिक पूर्वाधारका काम धेरै भएका छन्, सिँचाई, खानेपानी, सडकका क्षेत्रमा उल्लेख्य काम भए पनि प्रायः आर्थिक वर्षको अन्तिमतिर बिल पास हुने भएकोले अहिले खर्च कम देखिएको हो ।’

    आर्थिक वर्ष सकिने बेलासम्म खर्चको अनुपात बढ्ने सरकार पक्षको दाबी छ । लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमध्ये पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले सर्वाधिक बजेट खर्च गरेको छ ।

    उक्त मन्त्रालयले २ अर्ब ९१ करोड बजेटमध्ये १० महिनामा १ अर्ब ५० करोड अर्थात ५१ दशमलव ६८ प्रतिशत खर्च गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भने सर्वाधिक कम खर्च गरेको छ । समीक्षा अवधिमा उक्त मन्त्रालयको बजेट खर्च दर जम्मा २१ दशमलव ३१ प्रतिशत छ । मन्त्रालयले १० महिनामा जम्मा ७६ करोड बजेट खर्च गरेको छ ।

    सबैभन्दा धेरै बजेट परेको मन्त्रालय भौतिक पूर्वाधार हो । १५ अर्ब ९७ करोडभन्दा बढी विकास बजेट रहेको यो मन्त्रालयले १० महिनामा ४९ प्रतिशतको हाराहारीमा अर्थात ७ अर्ब ८२ करोड बजेट खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैशाख मसान्तसम्म २१ दशमलव ३१ प्रतिशतमात्र बजेट खर्च गरेको छ । सो मन्त्रालयले ३ अर्ब ५८ करोडमध्ये जम्मा ७६ करोड बजेट खर्च गरेको हो ।

    सामाजिक विकास मन्त्रालयले १० महिनामा २ अर्ब ५१ करोड खर्च गरेको छ । उसको कुल बजेट ५ अर्ब ९३ करोड हो । मन्त्रालयको खर्चदर ४२ दशमलव ३४ प्रतिशत रहेको लेखा कार्यालयले जनाएको छ ।

    कोभिड-१९ का कारण प्रदेश सरकारको प्राथमिकतामा स्वास्थ्यका पूर्वाधार तथा जनशक्ति व्यवस्थापन परेकाले तुलनात्मक रुपमा यसपाली सामाजिक विकास मन्त्रालयले बजेट बढी पाएको थियो ।

    तर स्वास्थ्य पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान नदिँदा बजेट खर्च कम हुनका साथै स्वास्थ्य पूर्वाधार, जनशक्ति तथा उपकरण नहुँदा प्रदेशका जनताले उपचारै नपाएर मृत्युवरण गर्नु परिरहेको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

    उनले सरकारले विभिन्न अस्पतालमा कोभिडका बिरामीलाई निःशुल्क उपचार दिने भनेर प्रचार गरेपनि बिरामीले त्यो पाउन नसकेको, निजी अस्पतालले रकम नभई उपचार नै शुरु नगरेकाले सरकारको सस्तो प्रचारबाजी भएको बताए ।

  • लुम्बिनी प्रदेश : बजेट खर्च सुधारियो, विकास खर्च भने कम

    लुम्बिनी प्रदेश : बजेट खर्च सुधारियो, विकास खर्च भने कम

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा समय सकिँदा चालु र पुँजीगत गरी २२.८० प्रतिशत बजेट खर्च गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा करिब ४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा १८.६४ प्रतिशत बजेट खर्च भएको थियो ।

    त्यस्तै १ सय ९ स्थानीय तहलाई २ अर्ब ३० करोड ३३ लाख २३ हजार ४ सय ५० रूपैयाँ विनियोजन गरेको छ । प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले प्रदेश सरकारको बजेट खर्च सुधारिँदै गएको देखिएको बताउँछन् । खर्च गर्नसक्ने संयन्त्र र जनशक्तिको व्यवस्थापन हुँदै गएकाले बजेट खर्च सुधारिएको उनको भनाइ छ ।

    विकास बजेटमा कम खर्च

    तर चालु आर्थिक वर्ष ०७७।७८ को आधा समय सकिँदा कुल विकास बजेटको १८ प्रतिशत मात्रै खर्च भएको देखिएको छ ।

    प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार विकासका लागि प्रदेश सरकारले छुट्याएको १८ अर्ब ६६ करोड ९१ लाख २९ हजारमध्ये ३ अर्ब ५४ करोड २१ लाख ७१ हजार मात्रै खर्च भएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ३५ करोड २६ लाख रुपैयाँ बजेट पारित गरेको थियो । बजेटको चालुतर्फ २६.८५ प्रतिशत खर्च भएको छ ।

    चालु आर्थिक वर्षमा भएको विकास बजेट खर्च अघिल्लो आर्थिक वर्ष ०७६र७७ को सोही अवधिको भन्दा झिनो १.२६ प्रतिशत प्रतिशतले मात्रै धेरै हो । तथापि अघिल्लो बर्षको असार मसान्तसम्ममा ७९.२४ प्रतिशत विकास बजेट खर्च भएकाले चालु आर्थिक बर्षमा पनि सोही आँकडा बराबर नै बजेट खर्च हुनसक्ने मन्त्रालयका कर्मचारीको अनुमान छ ।

    तर, आर्थिक बर्षको बाँकी समयावधिमा बँचेको विकास बजेट खर्च गर्न भने चुनौतीपूर्ण रहेको देखिन्छ ।

    प्रतिनिधिसभा विघटनपछि प्रदेश सरकारको ध्यान विकास निर्माणबाट राजनीतिक सरगर्मीतिर मोडिएकाले अघिल्लो आर्थिक वर्षजस्तो विकास बजेट खर्च हुन नसक्ने कर्मचारीले अनुमान गर्न थालेका छन् ।

    चालु आर्थिक वर्षमा कूल पूँजीगत बजेटको ८५ प्रतिशतभन्दा धेरै पाएका भौतिक पूर्वाधार विकास मन्त्रालय, चालु आर्थिक वर्षमा कुल पूँजीगत बजेटको ८५ प्रतिशतभन्दा धेरै पाएका भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले क्रमशः २१.३६ प्रतिशत, १६.८५ प्रतिशत र १५.०८ प्रतिशत विकास बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिएका छन् ।

    भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पूर्वनिर्धारित लक्ष्यअनुसार जेठ मसान्तसम्ममा बजेट कार्यान्वयन गरिसक्ने बताउँछन् । उनले अधिकांश पूर्वाधार परियोजनाहरूको निर्माणकार्य शुरू भइसकेकाले पुँजीगत खर्च अपेक्षितरूपमा बढ्दै जाने बताएका छन् ।