Tag: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले

  • दक्षिण एसियाली वातावरण मन्त्रीहरुसँग मन्त्री आलेको भर्चुअल छलफल : २०५० सम्म नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने

    दक्षिण एसियाली वातावरण मन्त्रीहरुसँग मन्त्री आलेको भर्चुअल छलफल : २०५० सम्म नेपालले कार्बन उत्सर्जन शून्यमा झार्ने

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिर्वतन कम गर्नका लागि दीर्घकालीन रणनीति तयार गरिरहेको बताएका छन् ।

    दक्षिण एशियाली मुलुकको मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताए ।

    मन्त्री आलेले भने, “कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहोरले वातावरण, जैविक विविधता तथा मानव स्वास्थ्यमा असर पारिरहेको छ, यसको असर कम गर्न एकिकृत नाइट्रोजन व्यवस्थापन रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।”

    नेपाल जलवायु परिर्वतनको दृष्टिकोणले जोखिममा रहेको बताउँदै मन्त्री आलेले जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपालले गरिरहेका कार्यक्रमबारे प्रकाश पारे । साथै उनले पेरिस सम्झौता बमोजिमको प्रतिबद्धताअनुरुप नेपाल सरकारले हालसम्म गरेका कार्य पनि उक्त कार्यक्रममा स्मरण गरेका थिए ।

    सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य तय गरिएको र विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्न सकिनेसमेत मन्त्री आलेको विश्वास व्यक्त गरे । गर्नुभयो । उनले भने, “नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता छ ।”

    जलवायु परिर्वतनसम्बन्धी २६औँ सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन नेपालले गरिरहेको पूर्वतयारीबारे मन्त्री आलेले जानकारी दिए ।

    विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फोहर सन् २०३० सम्ममा आधा कटौती गर्न अघि बढाइएको कोलोम्बो घोषणाले तय गरेका उद्देश्य प्राप्तिका लागि साझा प्रयास आवश्यक भएको भन्दै उनले यसका लागि संयुक्त वातावरण विकास साझेदार तथा सबै सदस्य राष्ट्रलाई एकजुट भएर सहकार्य गर्नसमेत आग्रह गरे ।

  • वनमन्त्री आलेको प्रष्टीकरण-प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो

    वनमन्त्री आलेको प्रष्टीकरण-प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।

    नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौंमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताए ।

    उनले भने,‘वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु ।’ सोही कार्यक्रममा मन्त्री आलेले ढलेको रुखबाट अक्सिजन नमिल्ने र कार्बनडाइअक्साइड मिल्छ भन्ने उद्देश्यले बोलेका थिए ।

    प्रविधिको दुरुपयोग गरी बदनाम गराउने काम भएको उल्लेख गर्दै उनले उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यसरी प्रविधिको दुरुपयोग गरी समय खेर फाल्नुभन्दा बरु उक्त समय देश विकासमा लगाउनसमेत उनले आग्रह गरे । वैज्ञानिक वनका नाममा रुख छरपष्ट गरी फँडानी भएकाले वैज्ञानिक वन खारेज गरेको समेत मन्त्री आलेले जानकारी दिए।

    नबोलेको कुरा एडिट गरेर बोलेको हो भन्दै कुप्रचार नगर्न उनले आग्रह गरे । ‘मैले यो जनताको सरकार हो, जनताप्रति उत्तरदायी भएको सरकार हो भनेको कुरालाई एडिट गरी गलत प्रचार गरिएकामा मेरो घोर आपत्ति छ’, उनले भने।

    सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वन तथा वातावरणमन्त्री आलेले वैज्ञानिक वनका नाममा काटिएका रुखको सबै प्रदेश वन मन्त्रालयमा लगत सङ्कलनका लागि पत्राचार गरिएको र चाँडो व्यवथापन गर्नतिर मन्त्रालय अग्रसर रहेको बताए । उनले भने, ‘वैज्ञानिक वनका नाममा काटिएका रुखको लगत सङ्कलनको काम शुरु गरेका छौँ, व्यवसायीलाई मर्कामा पर्न दिदैनौँ ।’

    वैज्ञानिक वनको अवधारणा राम्रो भए पनि केही व्यक्तिले वन विनाश गर्नकै लागि जथाभावी वन फँडानी गर्ने गरेकाले फँडानी रोक्नका लागि वैज्ञानिक वन व्यवस्थापन २०७१ खारेज गरिएको मन्त्री आलेको जिकिर छ ।

    काठ निकासी, पैठारी रोकिएकाले व्यवसायीलाई समस्या भएको कुरा आफूले राम्रोसँग बुझेकाले काठ निकासीका लागि के गर्न सकिन्छ सो विषयमा छलफल तथा अध्ययन भइरहेको मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराए।

    मन्त्रिपरिषद्को गत जेठ १५ गतेको बैठकले देशैभरका वनमा रुख कटान, सङ्कलन, ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाउने तथा छानविनका लागि उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।

    करीब साढे दुई लाख श्रमिक वनजन्य उद्यममा आश्रित भइरहेकामा काठ सङ्कलन र ओसारपसार बन्द हुँदा उनीहरुका परिवार थप मारमा परेका कारण कानूनी प्रक्रिया पूरा भएका काठ खुला गरिदिन नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका अध्यक्ष श्यामसुन्दर ढकालले आग्रह गरे। रासस