Tag: लिम्पियाधुरा

  • कालापानी, लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् श्रेष्ठको आग्रह

    कालापानी, लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् श्रेष्ठको आग्रह

    काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार सीमाविद् श्रेष्ठद्धारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको भु-भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

    चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए । उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

    उनले भने,‘अब नेपालको बढेको क्षेत्रफल कति हो त ? सविकमा १ लाख ४७ हजार १८१ वर्ग कि.मि. थियो भने कति बढ्यो ? अहिलेसम्म सरकारले सार्वजनिकीकरण गरेको छैन । यसले गर्दा लोकसेवा आयोगका परिक्षार्थिलाई मार परेको छ । मैले आफैले विभिन्न नक्सा अध्ययन गरेर हेर्दाखेरी साविक क्षेत्रफलमा ८२६ वर्ग कि.मि. भूभाग थपिएको मलाई लाग्दछ । त्यसमा सरकारले भन्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

    सीमाविद् श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक भएको छ । पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको उनले बताए ।

    नेपाल–भारतमा भएका सिमा समस्या, सीमा अध्ययन गर्न जाँदा आफुले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको छ । नेपालको नक्साको द्धन्द, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको छ ।

     

  • १४ वर्षकी छात्राले आफ्नो किताबमा देशको नयाँ नक्सा नभेटेपछि…

    १४ वर्षकी छात्राले आफ्नो किताबमा देशको नयाँ नक्सा नभेटेपछि…

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएको पाठ्यपुस्तक जफत गर्न बुधबार निर्देशन दिए ।

    पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए ।

    सरकारले कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिसकेपछि नयाँ नक्सासहितको पाठ्यपुस्तक छपाइ भएको छ । तर, केहीले पुरानै नक्सा छापेर बिक्री गरेको जानकारी पाएपछि मन्त्रीले आक्रामक शैलीमा निर्देशन दिए ।

    हुन त मन्त्रीले यसबारे सूचना पाएर कदम चालेको बताएका थिए । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको कुरा मन्त्रीसामु कसरी आइपुग्यो भन्ने एउटा रोचक कुरा छ ।

    मन्त्रीले यो जानकारी कक्षा ९ मा पढ्ने एक किशोरीबाट थाहा पाएका हुन् ।

    नयाँ नक्सा नभेटेपछि

    कीर्तिपुर बस्ने सर्वश्री केसी नयाँ यो शैक्षिक सत्रबाट कक्षा ९ मा पुगिन् । उनलाई आफू पढ्ने युलियन्स स्कूलले कक्षामा पढाइने किताबको सूची पठाएर आवश्यक पाठ्यपुस्तक किन्ने सूचना अनलाइनबाटै दियो ।

    पाँच दिनअघि बुबा प्रोफेसर खड्ग केसीले सूची अनुसारका किताब बजारबाट किनेर ल्याइदिए । सर्वश्रीले किताब पाउने बित्तिकै सामाजिक किताब पल्टाउन थालिन् ।

    देशको इतिहास र भूगोलमा निकै चासो राख्ने उनलाई हेर्न मन थियो- लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ चुच्चे नक्सा !

    उनले किताब पल्टाइन् । तर कतै नयाँ नक्सा देखिनन् । ‘म अचम्मित भएँ, पाठ्यक्रममा आउँछ भनेर भनिसकेको थियो । अहिलेसम्म किन आएन । मेरो चिन्ता त्यसमा रह्यो,’ नेपाल प्रेससँगको कुराकानीमा सर्वश्रीले भनिन् ।

    त्यसपछि उनले बाबालाई भनिन्, ‘बाबा, हामीले पुरानै नक्सा पढ्ने हो ?’

    छोरीको प्रश्नले प्रोफेसर खड्ग केसीले सर्सस्ती किताबका पाना पल्टाए । उनी पनि चकित भए । त्यसपछि उनले आफ्नो चिनजानकी विघटित प्रतिनिधिसभा सदस्य तथा एमाले नेतृ विन्दा पाण्डेलाई फोन गरेर यसबारे जानकारी गराउँदै भने, ‘नयाँ नक्सा जारी गरिएको भनिएको थियो । तर पाठ्यक्रममा पुरानै नक्सा कसरी ?’

    बिन्दा पनि आश्चर्यमा परिन् । उनले सर्वश्रीसँग कुरा गरेर चासो जनाउँदै भनिन्, ‘छोरी म शिक्षामन्त्रीलाई भनिदिन्छु । अहिले त्यो किताबको नक्सा मलाई पठाऊ ।’

    बिन्दा पाण्डेले किताबको नक्साको फोटो सर्वश्रीबाट प्राप्त गरिन् । त्यसपछि ८ वटा पेज पीडीएफमा कन्भर्ट गरेर शिक्षामन्त्रीलाई पठाइन् । सूचना पाएपछि शिक्षामन्त्री श्रेष्ठले भने, ‘यो गम्भीर कुरा हो । म तत्काल एक्सन लिन्छु ।’

    त्यसको चार दिनपछि शिक्षामन्त्रीले यसबारे निर्णय गरे ।

    ‘सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानून अनुसारअनुसार कारबाही गर्नु,’ मन्त्रीले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिँदै भनेका छन् ।

    अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।

    त्यसलगत्तै अनुसन्धान गर्दै जाँदा केन्द्रले अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेको पाएको छ ।

    चार दिनपछि बुधवार साँझ शिक्षामन्त्रीको निर्देशनबारे सर्वश्रीले थाहा पाइन् । आफूले प्रमाणसहित पठाएको कुरामा चासो देखाएर कार्यान्वय गरेकोमा उनी खुसी छिन् । उनले भनिन्, ‘विन्दा आन्टी र शिक्षामन्त्रीज्यूलाई धन्यवाद !

    याे पनि पढ्नुहाेस् ।

    लिम्पियाधुरा समेटिएको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन