Tag: लहान

  • लहानमा एमालेविरुद्ध माओवादी-जसपाको बेग्लै गठबन्धन, कांग्रेसको प्रतीक्षा

    लहानमा एमालेविरुद्ध माओवादी-जसपाको बेग्लै गठबन्धन, कांग्रेसको प्रतीक्षा

    जनकपुरधाम । मधेस आन्दोलनको उद्गमस्थल सिरहाको लहानमा नेकपा एमालेविरुद्ध जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले बेग्लै गठबन्धनको तयारी गरेको छ । दुवै दल मिल्दा पनि एमालेलाई हराउन चुनौती देखेपछि उनीहरुले कांग्रेसको पनि साथ खोजेका छन् । तर यहाँ कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ । यद्यपि, मेयर कांग्रेसलाई दिएर तीन दलबीच चुनावी तालमेल गर्नेबारे पनि छलफल भइरहेको छ ।

    मधेस आन्दोलनकै कारण उदाएको उपेन्द्र यादवको पार्टी पटक–पटक सत्तामा पुगे पनि मधेसको पक्षमा काम नगरेको गुनासोबीच एमालेतिर बढेको आकर्षण सत्तघटक सबै दललाई चुनौतीको विषय बनेको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा समेत मधेसविरोधी भनिएको एमालेले लहानको मेयर र उपमेयरसहित अधिकांश वडामा जित निकालेको थियो ।

    एमाले विभाजन भएपनि लहानमा खासै असर परेको छैन । अहिले पनि लहानमा एमालेलाई कांग्रेस होस् वा जसपा र माओवादी एक्लैले हराउन सम्भव छैन । अगामी वैशाख ३० मा हुने स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको जसपाले माओवादीकै सहयोगमा लहानमा कब्जा जमाउने प्रयास गरेको छ ।

    आइतबार जसपा र माओवादीबीच भएको सम्झौताअनुसार मेयर र १४ वटा वडा जसपाले लिनेछ । उपमेयर र १० वटा वडा माओवादीको भागमा परेको छ । यो सम्झौता दुवै दलका नेताहरुले मौखिकरुपमा मात्र गरेका छन् । कांग्रेसले लहानमा गठबन्धन नगरी एक्लै लड्ने निर्णय गरेपछि माओवादीसँग गठबन्धन गर्ने निर्णय गरेको जसपा नेता राकेश गुप्ता रोषण बताउँछन् ।

    उनले भने, ‘हामीले केन्द्रको निर्णयबमोजिम चार दलबीच गठबन्धन होस् भन्ने चाहेका छौं । तर कांग्रेसले गठबन्धन नगर्ने निर्णय गर्यो । र एकीकृत समाजवादीले मेयरमा दाबी गरेकाले कुरा मिल्न गाह्रो भयो । त्यसैले जसपा र माओवादीबीच गठबन्धन गर्ने निर्णय गर्यौं ।’

    लहान ७ का निर्वाचित वडाध्यक्ष समेत रहेका जसपा नेता रोषणले नेपाली कांग्रेस गठबन्धनमा आयो भने मेयर दिने स्पष्ट पारे । उनले थपे, ‘गठबन्धन गर्ने सहमति भयो भने कांग्रेसलाई मेयर दिन तयार छौं । त्यसपछि जसपाले उपमेयर लिन्छ । र माओवादी नेताहरु पनि उपमेयर छाडेर वडाध्यक्षमा चित्त बुझाउन तयार छन् ।’

    कांग्रेससँग गठबन्धन नभए जसपाले मेयरमा चन्द्रनारायण कुशवाहालाई टिकट दिएर मैदानमा उतार्ने सम्भावना छ । उनको कृषि फर्ममा करोडौंको लगानी गरेका छन् । यसअघि लहानको मेयरमा निर्माण व्यवसायी वैजनाथ साह चुनाव लडेका थिए । यसपालि पनि उनको नाम सिफारिस भए पनि टिकट कुशवाहालाई दिने जसपा स्रोतले जनाएको छ ।

    यता कांग्रेस नेता महेश चौधरीले लहानमा गठबन्धन गर्ने विषयमा माओवादी र जसपा नेताहरुसँग छलफल भइरहेको बताए । उनका अनुसार मेयर कांग्रेसलाई, उपमेयर जसपालाई र दुई वटा वडा माओवादीलाई दिने तथा २२ वटा वडामा मित्रवत रुपमा प्रतिस्पर्धा गर्नेगरी सहमतिको प्रयास भइरहेको छ । तीन दलबीच गठबन्धन बनेपछि नेकपा एकीकृत समाजवादी एक्लिने छ ।

    कांग्रेसमा दुई चौधरीको भिडन्त

    नेपाली कांग्रेसबाट महेश चौधरी र सन्तोष चौधरीमध्ये एकजनाले लहानको मेयरको टिकट पाउने चर्चा चलिरहेको छ ।
    सन्तोष कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरीका छोरा हुन् । उनी यसअघि प्रदेशसभा सदस्यमा पराजित भएका थिए । पदमनारायण चौधरी लहान क्षेत्रबाट पटक–पटक संघीय सांसद बनेका छन् । उनले योपटक छोरालाई टिकट दिलाउन चाहेका छन् ।

    तर टिकट भने महेश चौधरीले नै पाउने लगभग पक्का छ । बुवाको बलमा राजनीतिमा जम्न खोजेका सन्तोषको पहुँच ग्राउण्ड लेभलमा छैन । महेशले भने जनतामाझ समाजसेवीको छवि बनाएका छन् । त्यसैले महेशले नै टिकट पाउने लगभग निश्चित रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

    गठबन्धन गर्दा पनि एमाले नै बलियो !

    विगतको मतपरिणामलाई केलाउँदा यो निर्वाचनमा नेपाली कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पनि एमालेलाई हराउन चुनौती देखिएको छ ।

    गत निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित मुनी साह सुडीले ११ हजार ३०७ मत ल्याएका थिए । कांग्रेसका अचमित लाल चौधरी ९ हजार १३८ ल्याएर दोस्रो भएका थिए । यस्तै तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)का वैद्यनाथ साहले ५ हजार ७३७ र माओवावदीका खड्ग नारायण चौधरीले २ हजार ४९६ मत ल्याएका थिए ।

    तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा चुनाव लडेर ४ हजार ४४६ मत ल्याएका लगनलाल चौधरी अहिले नेकपा एमालेमा छन् । उनी स्थानीय तहको निर्वाचन सकिएलगत्तै एमालेमा प्रवेश गरेर प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भए । उनी अहिले पनि एमालेमै छन् । यस्तै तत्कालीन राजपाबाट मेयरमा चुनाव लडेर ८१५ मत ल्याएका डा. महादेव साह पनि अहिले एमालेमा छन् । यो सबै मत जोड्दा १६ हजार ५८७ हुन्छ ।

    एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । तर लहानमा विभाजनको खासै असर परेको छैन । केही मत मात्र एकीकृत समाजवादीले काट्ने सक्छ ।

    यता, कांग्रेस, जसपा र माओवादीको मत जोड्दा १७ हजार ३७१ पुग्छ । तीन पार्टीले गठबन्धन गर्दा र एमाले एक्लै चुनाव लड्दा करिब १ हजार मतको अन्तर छ । गठबन्धन गर्दा रुष्ट बनेका नेताहरुले विपक्षमा मतदान गर्दा पुनः एमालेले बाजी मार्ने सम्भावना छ ।

  • सिरहामा दुई किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला पक्राउ

    सिरहामा दुई किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला पक्राउ

    जनकपुरधाम । दुई किशोरीलाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई महिलालाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका १ की ३५ वर्षीया उषादेवी मलाह रहेको प्रहरीले जानकारी दिएको  छ ।

    प्रहरीका अनुसार १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले माडर नाकाबाट भारत लग्ने योजना पक्राउ परेकी दुबै महिलाले बनाएकी थिइन् । तर चोहर्वामै उनीहरू पक्राउ परेकी छन् ।

    लहान आश्रममा मासिक ५० हजारको जागिर लगाइदिने आश्वासन दिएर दुबै किशोरीलाई महिलाहरूले लहान ल्याएकी थिइन् । लहान आइसकेपछि जनकपुरमा अझ बढी रुपैयाँ कमाउने भन्दै झुक्याएर भारततर्फ लग्न खोजेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले किशारीलाई भारततर्फ लान ठिक्क पारेको अवस्था दुई महिला पक्राउ परेको जानकारी दिए ।

    उनले जिल्ला अदालतबाट म्याद थप गरी दुबै महिलामाथि आवश्यक अनुसन्धान अगाडी बढाएको बताए । प्रहरीले दुबै महिलामाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा अगाडि बढाएको छ । उद्धार गरिएकी दुबै किशोरीलाई अभिभावकको जिम्मा लगाउने प्रहरीको भनाई छ ।

  • हिरासतको ग्रिल काटेर अभियुक्त फरार

    हिरासतको ग्रिल काटेर अभियुक्त फरार

    जनकपुरधाम । ईलाका प्रहरी कार्यालय लहान, सिरहाको हिरासतबाट लागुऔषध मुद्दाका एक अभियुक्त फरार भएका छन् । आज बिहान हिरासतको ग्रिल काटेर नवराजपुर गाउँपालिका १ का पशुपति यादव फरार भएका हुन् ।

    फरार भएका यादव गत जेठ २० गते लागुऔषधसहित पक्राउ परेका थिए । हिरासतमा रहेका अभियुक्तहरूको सुरक्षार्थ प्रहरी नखटेका कारण उनी सहजै फरार भएको बताइएको छ । ग्रिल कसरी काटेको कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    घटना विषयमा अनुसन्धान भइरहेको र फरार यादवको खोजी गर्न प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।