विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, विपक्ष नभनी सबैलाई मिलाएर लैजाने भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार प्रदेसभामा विश्वासको मत माग्दै उनले यो सरकार संविधानसम्मत ढंगले बनेको बताए ।
‘संविधानसम्मत ढंगले बनेको सरकार हो,’ राईले भने, ‘त्यसकारण सबैबाट हामीलाई सर्मथन हुने छ भन्ने विश्वास लिएको छु ।’ पूर्वमुख्यमन्त्री भीम आचार्यले सहकार्यको प्रस्ताव गरेको भन्दै मिलेर जाने कुरामा आफू पनि सकारात्मक भएको राईले बताए ।
अहिले बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले धारणा राखिरहेका छन् ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे धारणा राख्दै मन्त्तालय संख्या बढाउने योजना र सहमति भएको जानकारी गराए।
‘सबै पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन्,’ उनले भने, ‘अरु पार्टीमा दाम्लो चुडाउने प्रवृत्ति छ, हाम्रो पनि त्यस्तो नभएको होइन।’
राम्रा मन्त्री छान्दा पनि नपाएकाले विरोध गर्ने प्रवृत्ति रहेको उनले बताए। ‘सयमा ९५ प्रतिशत सही मन्त्री ठीक छान्यो भने पनि जो पर्दैन उसले विरोध गर्ने प्रवृत्ति छ,’ उनले भने।
राईले पार्टीले नै सरकार चलाउनुपर्ने सैद्धान्तिक कुरामा आफ्नो विमति नरहेको बताउँदै राजनीतिक नियुक्तिमा मात्रै नभएर नीतिगत निर्देशन पनि पार्टीले गर्नुपर्ने बताए।
संखुवासभा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् ।
अब चाडै नै नामाकरणका बारे छलफल थालिने उनको भनाइ छ । नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने राईले बताए । ‘नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्छौं’, मुख्यमन्त्री राईले भने । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उनको भनाइ छ ।
प्रदेशको नामाकरण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने राईले बताएका छन् । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेको उनले आरोप छ ।
अरुण नदीमा पक्की पुल बन्छ
मुख्यमन्त्री राईले भोजपुर-संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल पनि आफ्नै कार्यकालमा पूरा गर्ने आश्वासन दिएका छन् । भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा उनले दु:ख व्यक्त गरे । आफ्नै कार्यकालमा अरुण नदीमा पक्की पुलको निर्माण गराउनेमा ढुक्क हुन जिल्लाबासीमा उनको आग्रह छ ।
संघीय सरकारको योजनामा १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल ठेकेदारको लापरवाहीले अहिलेसम्म बनेको छैन ।
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको छ ।
सहमतिअनुसार नेपाली कांग्रेसले २, नेकपा (माओवादी केन्द्र) ले १, जनता समाजवादीले १ मन्त्री पाएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिइएको छ ।
नयाँ मन्त्रीहरूमा कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जसपा संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रीलाई नियुक्तिको लागि सहमति बनेको छ । आङ्बो यसअघि शेरधन राई नेतृत्वको सरकार हुँदा पनि आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । नवनियुक्त मन्त्रीहरूलाई सपथ गराइएको छ ।
प्रदेश १ मा नवगठित मन्त्रिपरिषद्को सूची यसप्रकार छ :-
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । ५० सांसदको हस्ताक्षरमा पाँच दलको बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राई प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
राईलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।
भीम आचार्यले राजीनामा दिएपछि आज दिउँसो १ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान भएअनुसार गठबन्धनको तर्फबाट राईको नाम दाबी गरिएको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री राईलाई केहीबेरमा सपथ गराउने तयारी भइरहेको छ । आजै गठबन्धन दलका एक/एकजना गरी ५ सदस्यीय मन्त्रिमण्डल गठन गरिने बताइएको छ ।
विराटनगर । प्रदेश १ मा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान भएअनुसार गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी गरेका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरूले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन् ।
राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको हो । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेको कारण उनको हस्ताक्षर नभएको बताइएको छ ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले भोलि १ बजेसम्म नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका थिए । तर, भोलि १ बजेको समय सीमा सकिएपछि मात्र प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउँनेछ ।
काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरेको थियो ।
नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । संघीय सरकारको मन्त्रालय भागबण्डामा हेपिएको भन्दै नेकपा एसले असन्तुष्टी जनाएपछि दुई प्रदेशका मुख्यमन्त्रीको भागबण्डा पनि प्याकेजमै मिलाइएको स्रोतले जनाएको छ ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको छ । तीनदिन सम्म चलेर बिहीवार सकिएको बैठकले पदाधिकारीसमेत चयन गरेको छ ।
अध्यक्ष, वरिष्ठ नेता, नेतासहित १८ जनाको पदाधिकारी बनाइएको छ। पदाधिकारीमा केही नयाँ अनुहार पनि समेटिएका छन् भने आधिकांश पुरानै छन् । उपमहासचिवमा रहेका प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल नयाँ अनुहार हुन् ।
युवा पुस्ताबाट जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । प्रदेश १ को संसदीय दलको नेतासमेत रहेका राजेन्द्र यसअघि भने सचिवमा समेटिएका थिएनन् ।
उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल प्रेसलाई उपलब्ध गरेको विवरणमा सचिवहरूमा झाँक्री, खतिवडा, चौधरी, केशवलाल श्रेष्ठको थियो । उपाध्यक्ष पनि चारजना मात्रै प्रस्तावित गरिएको थियो ।
तर, अन्तिम समयमा आएर प्रस्तावित नामहरूमा परिवर्तन गरिएको हो । नेताहरूको व्यवस्थापनका लागि पदाधिकारीहरू पनि थपिएको हो ।
अहिले ७ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । उपाध्यक्षमा केदार न्यौपाने, घनेन्द्र बस्नेत थपिएका छन् । त्यस्तै सचिवमा रहेका केशवलाल श्रेष्ठलाई पनि उपाध्यक्ष बनाइएको छ ।
श्रेष्ठको ठाउँमा राजेन्द्र राईलाई ल्याइएको हो । रामकुमारी झाँक्री सचिवमा हुँदा उनीभन्दा सिनियर र दुई-दुई पटक अनेरास्ववियू अध्यक्ष भएका राईलाई छुटाइएको भन्दै असन्तुष्टी बढेको थियो ।
नेकपा एसको पदाधिकारीमा मुकुन्द न्यौपानेलाई नेता राखिएको छ । वरीयतामा उनलाई तेस्रो नम्बरमा राखिएको छ । पदाधिकारीमा नेता राख्ने प्रचलन नेपालका राजनीतिक पार्टीहरूमा खासै अभ्यासमा छैन ।
विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।
प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ पार्टीको मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै प्रदेश १ सभाका १० जना सांसदले एमाले त्यागेका थिए ।
आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ ।
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा नेकपा एमाले विभाजनको असर न्यून परेको छ । तत्कालीन नेकपामा विवाद हुँदादेखि प्रचण्ड-माधव र त्यसपछि माधव नेपाललाई साथ दिएका अधिकांश नेता एवं जनप्रतिनिधिले अन्तत: एमाले नै रोजेका छन् ।
भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका २१२ जना निर्वाचित भएका थिए । तीमध्ये करिब ३ प्रतिशत अर्थात ६ जनाले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । एमाले छाडेका भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले नेकपा एसमा सनाखत गरे ।
एकीकृत समाजवादी रोज्ने अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई छन् ।
त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विक नेकपा एसमा लागेका छन् । नेकपा एसका प्रभावशाली युवा नेता राजेन्द्र राईको गृहजिल्ला हो भोजपुर । भोजपुर ‘क’ बाट प्रदेशसभामा निर्वाचित राईको गृहस्थल षडानन्द नगरपालिकाका जनप्रतिनिधिमा समेत एमाले विभाजनको असर नगण्य देखियो ।
तर, नेकपा एसनिकटका युवा नेता सन्दीप राई भन्छन्, ‘ सूर्य र ठूलो पार्टी भनेर टिकटको लोभमा केही जनप्रतिनिधि बसेका छन् । चुनावमा केपी ओली प्रवृत्तिलाई जनताले बडार्छन् ।’
संगठन विस्तार र युवा परिचालनमा अब्बल मानिएका शरणकुमार राई, केन्द्रीय सदस्य हरिबहादुर राईलगायतका नेताले एमालेमै बस्ने निर्णय गरेपछि पार्टी विभाजनलाई साथ दिनेहरूको संख्या घटेको हो । शरण एमाले विवादमा माधवपक्षीय समानान्तर कमिटीका अध्यक्ष हुन् ।
त्यस्तै संचारमन्त्री र प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेर केन्द्रीय राजनीतिमा उचाइ बनाइसकेका शेरधन राईको प्रभावका कारण पनि जिल्लामा एमाले विभाजनले खासै असर पारेको देखिएन । उनीनिकटका एक नेता पार्टीलाई तेजिलो गति दिन शेरधनले मुख्यमन्त्री पद त्यागेको भन्दै राईको ‘कन्भिसिङ पावर’ का कारण पनि एमालेलाई ‘धक्का’ नलागेको जिकिर गर्छन् ।
भोजपुर र षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो । षडानन्द नगरपालिका उपमेयर मेरिका राई र साल्पासिलिछो गाउँपालिका उपमेयर धनमाया राई एमालेमै छन् ।
एमालेकै प्रमुख र उपप्रमुख रहेको टेम्केमैयुङ गाउँपालिकामा उपप्रमुखले नेकपा एस रोजिन् । टेम्केमैयुङका प्रमुख ध्रुव राई यसअघि माधव नेपालतिर रहेपनि पार्टी विभाजनमा उनले साथ दिएनन् ।
हतुवागढी गाउँपालिकाका दुवै पदमा एमाले विजयी भएको थियो । यहाँका प्रमुख प्रेमकुमार राई एमाले जिल्ला अध्यक्षसमेत हुन् । उपप्रमुख चन्द्रमा राईको यसबीचमा निधन भएको छ । रामप्रसादराई र पौवादुङ्मा गाउँपालिकामा प्रमुख विजय राई र किरण राई एमालेमै छन् ।
आमचोक गाउँपालिकाका ४, हतुवागढी गाउँपालिकाका ५, रामप्रसादराई गाउँपालिकाका ५, टेम्केमैयुङ गाउँपालिकाका ७, साल्पासिलिछो गाउँपालिकाका २, पौवादुङ्मा गाउँपालिकाका १, भोजपुर नगरपालिकाका ५ र षडानन्द नगरपालिकाका ९ गरी जिल्लाभर एमालेले जितेका सबै ३८ वडाध्यक्ष पार्टी फुटमा सहभागी भएनन् । अरुण गाउँपालिका भने प्रमुख-उपप्रमुख र वडाध्यक्षमा एमाले पराजित भएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का पनि एमालेमै रहेका छन् । यसअघि उनी माधवतिर थिए ।
काठमाडौं । भदौ ९ गते बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भीम आचार्यलाई भनेका थिए- ‘अहिले त यो पनि मेरो, त्यो पनि मेरो भन्नुहुन्छ । तर, हिसाबमा तपाईं कमजोर हुनुहुन्छ है कमरेड । तपाईंको हिसाब पहिले पनि फेल भइसकेको छ ।’
एक साता नपुग्दै शेरधनले भनेजस्तै भयो । मुख्यमन्त्री बन्दै गर्दा भीम आचार्यले ज-जसलाई आफ्नो पक्षमा राख्न सक्ने हिसाब सुनाएका थिए, तीमध्ये अधिकांश प्रदेशसभा सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेपछि आचार्यको सरकार अल्पमतमा परेको छ ।
एमालेको एकता बलियो हुने र सरकार पनि पार्टीकै निरन्तर रहने अपेक्षासहित राईले आचार्यका लागि मुख्यमन्त्री पद छाडिदिएका थिए । तर, साढे २ वर्षअघिजस्तै यसपटक पनि भीम आचार्य गणितमा फेल भए ।
२०७४ सालमा संसदीय दलको निर्वाचन हुँदा आचार्यको हिसाब शेरधनभन्दा ९ सांसद बढी हुने थियो । माधव नेपाल पक्षका नेता आचार्य प्रदेश संयोजक पनि भएकाले समानुपातिकमा आफ्ना निकटस्थलाई सांसद बनाएका थिए।
प्रत्यक्षतर्फ पनि ओली पक्षभन्दा नेपाल पक्षका सांसद धेरै थिए । आचार्यसँग संसदीय दलको नेतामा चुनाव लड्दा शेरधन अल्पमतमा थिए । तर, आचार्यको गणित फेल भयो र ५१ सांसदमध्ये २६ मत पाएर शेरधन मुख्यमन्त्री बने ।
भीम आचार्यलाई मुख्यमन्त्रीको सफल कार्यकालको कामनासहित बधाई दिँदै शेरधन राई ।
आचार्यले २४ मत पाउँदा अहिले नेकपा एसमा लागेका राजन राईको मत बदर भएको थियो । आचार्यलाई माधव नेपाल समूहकै नेता जीवन घिमिरेलगायतले मत दिएनन् । घिमिरे पछि शेरधनको सरकारमा मन्त्री पनि भए । तर, पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि घिमिरे प्रचण्ड-माधव पक्षमा लागेर राजीनामा दिए ।
अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।
तत्कालीन नेकपाको गुटबन्दीदेखि नै अलग धारमा रहेका र नेकपा एमाले ब्युँतिएपछि पनि ६ महिनादेखि सँगै नरहेका आचार्य र राई अहिले एकै ठाउँमा छन् । तर, आचार्य हिसाब बिग्रिदा बिग्रिदै निकै कमजोर बनेर एमालेको मूलधारमा फर्किएका छन् भने राई मुख्यमन्त्री गुमाएर पनि पार्टीभित्र बलियो बनेका छन् ।
२६ सांसदको समर्थन पाएर मुख्यमन्त्री बनेका राई नेकपा विभाजनपछि तत्कालीन माधव नेपाल पक्षका ६ जना सांसदलाई आफूतिर तानेर थप बलियो बने । उनले माओवादीका प्रदेशसभा सदस्य टंक आङबोहाङलाई समेत आफूतिर ताने ।
आजको शक्ति सन्तुलन फेरिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५१ सिटसहित एकल बहुमतमा रहेको एमाले अब ४१ सिटसहित अल्पमतमा झरेको छ । हिजो भीम आचार्य र राजेन्द्र राई माधव नेपाल समूहमा हुँदा १९ सांसद उनीहरूसँग थिए ।
अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।
१० बुँदे सहमति कार्यन्वयन हुने भएपछि स्थायी कमिटीका १० सदस्य एमालेमा बसेसँगै प्रदेश १ का तत्कालीन माधव नेपाल समूहका ९ सांसदमात्र एमालेमा रोकिएका छन् ।
मध्यमार्गी धारका रुपमा एमालेमा रहेको समूहबाट भीम आचार्य, जीवन घिमिरे, बलबहादुर साम्सोहाङ, लक्ष्मण तिवारी, सावित्रा जोशी, यशोदा अधिकारी, होमकुमारी साँवा, लीलाबल्लभ अधिकारी एमालेमा रहेका छन् । सभाामुख प्रदीप भण्डारी पनि आचार्यनिकट मानिन्छन् ।
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले माधव नेपाल पक्षधर एकता अभियानका नेताहरुलाई १० बुँदे सहमति कार्यन्वयनका लागि एमालेभित्रै बसेर संघर्ष गर्न सुझाव दिएका छन् ।
एकता अभियान तथा वार्ता टोलीका नेताहरूको भूमिकाप्रति शुरुदेखिनै असहमत रहँदै आएका राईले शनिबार आफ्नो धारणा व्यक्त गर्दै ओली प्रवृतिविरुद्ध एमालेभित्रै बसेर संघर्ष गर्नुपर्छ भन्नेहरुले उतै बस्दा हुने आशय व्यक्त गरेका छन् ।
राईले भनेका छन्- ओली यस्तो, त्यस्तो! तर ओली प्रवृत्ति, ओलिको गलत कामको विरुद्ध एमाले भित्रै बसेर संघर्ष गर्नु पर्छ भन्नेहरूले १० बुँदे… कार्यान्वयनको लागि एमाले भित्रै बसेर संघर्ष गरे कसो होला ?
नेता राईले १० बुँदे सहमतिको आशय फागुन २८ यताका सबै निर्णय स्वीकार गर्ने नै हो भन्दै जेठ २ अघि फर्किने कुरा १० बुँदेले खण्डित गरेको बताएका छन् ।
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल समूहका प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले एमाले कार्यदलबीच भएको सहमतिलाई व्यक्तिगत सहमतिको संज्ञा दिएका छन् । कुनै पनि हालतमा त्यो सहमति नस्वीकार्ने भन्दै राईले आफूहरूको समानान्तर गतिविधि कायम नै रहने प्रष्ट्याए । नेपाल प्रेससँग कुरा गर्दै नेता राईले सहमतिमा हस्ताक्षर गर्ने नेताहरू केपी ओली गुटमा प्रवेशका लागि सेफ ल्याण्डिङ मात्र खोजेकोले त्यो उनीहरूको व्यक्तिगत सहमति भएको दावी गरे । राईसँगको कुराकानी नेपाल टकमाः
हिजो कार्यदलमा सहमति भयो अब त एकताको बाटो खुल्यो नि हैन ?
हामी हिजोको सहमति मान्दैनौं । पार्टीमा केपी ओलीले अराजकता शुरू गरेपछि हामीले जुन असहमतिका साथ समानान्तर कमिटी बनाएर विद्रोह थालेका थियौं । त्यो कुनै पनि कुरा सहमति भएको छैन । पार्टी यथार्थमा जेठ २ फर्काइएको छैन । नेकपाकालीन नेता र अस्ति थपेका माओवादीका नेताहरूलाई हामीले नस्वीकार्दा नस्वीकार्दै पनि हामीसहित बसेर मान्यता दिने भन्ने छ । त्यसलाई हामी स्वीकार्दिनौं ।
जेठ २ फर्किन्छौं त भनियो नि ?
यसको सन्दर्भमा नेतृत्व (माधव कमरेड)ले नै पनि बोलिसक्नुभएको छ । राष्ट्रपतिसँग मिलेर केपी ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर संविधान मिच्ने र कागजको खोस्टो बनाउने काम गरे । त्यसलाई हामीले प्रतिगमन भनेका छौं । त्यो सच्याउने प्रतिबद्धता खोजेका थियौं । त्यसमा केही बोलिएन । कम्तीमा अदालतले त्यसको फैसला गर्नुपर्छ । अहिले त न केपी ओलीको प्रतिबद्धता आएको छ, न त अदालतको फैसला नै ।
सबै सँगै बसेर छलफल गरी समाधान खोज्दा हुन्न ?
सरकारको हरेक काम स्वेच्छाचारी छ । ओलीले पार्टीको सल्लाह नै खोजेका छैनन्चा÷हँदैनन् । राजनीति नियुक्ति, मन्त्री नियुक्ति आफूखुशी गरिएको छ । गलत र विवादित मान्छेमात्र ल्याइएको छ । यस्तो अवस्थामा कसरी समाधान हुन्छ ।
माधव नेपालसँगको पद बाँडफाँड नमिलेर पो रोकियो कि ?
पक्षपात ढंगले पार्टीमा आफ्ना मान्छेलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी दिने सन्दर्भमा प्रदेश, जिल्ला, इच्चार्जहरू एकलौटी ढंगले बनाइएका छन् । कतिपय महत्वपूर्ण निर्णयमा दुई नेताको हस्ताक्षर हुनुपर्छ भनेका हौं । त्यो हुँदा सन्तुलन हुन्छ । कसैबाट एकलौटी निर्णय हुन पाउँदैन । त्यो विषयमा केही बोलिएको छैन ।
तपाईंकै पक्षको कार्यदलले पनि सहमतिमा हस्ताक्षर त गर्यो नि ! अब नस्वीकार्ने ?
हस्ताक्षर हुनुअघि केन्द्रीय सदस्यसँग सल्लाह हुनुपर्थ्यो । कम्तीमा स्थायी कमिटी वा शीर्ष नेताहरूसँग त सहमतिका बुँदाबारे जानकारी गराउनुपर्थ्यो नि ! कुनै रायबिना आफूखुसी गरिएको सम्झौताले हाम्रो माग पूरा भएको छैन । जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् । त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो ।
अब के गर्नुहुन्छ त तपाईंहरू ?
हाम्रो समानान्तर कमिटी जारी रहन्छ । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं ।
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल पक्षका प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले पार्टी एकताका लागि भनेर अहिले भइरहेका एमालेका दुवै पक्षका नेताहरूबीचको वार्तालाई व्यक्तिगत र निर्लज्ज तरिका भनेका छन् ।
राईले वार्ता टोलीका शीर्ष नेता (भीम रावल) सहितका नेता र सांसदमाथि कारवाही गरिएको अवस्थामा भइरहेका वार्ता अनधिकृत र व्यक्तिगतमात्र हुने भन्दै यसलाई निर्लज्जताको संज्ञा दिएका छन् ।
पछिल्लो समय भीम रावल र रघुजी पन्तबाहेक माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट संस्थापन पक्षसँग वार्तामा छन् । आज भोलिमै उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै छन् । यो वार्ताकै कारण कारवाही प्रक्रिया समेत रोकिएको छ ।
राईले आफ्नो दुई बुँदे वक्तव्यमा भनेका छन्, ‘वार्ता आरम्भपछि आफ्ना शीर्ष नेताहरूसहित अनेक दबाबसँग जुझेर अति कठिन परिस्थितिमा आफ्ना पछि लागेका सांसदहरूलाई र खुद वार्ता टोलीका एक शीर्ष नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको, कारवाही गर्ने नियतले वार्ता टोलीका अन्य दुई सदस्यलाई स्पष्टीकरण सोध्ने र विभिन्न प्रदेशका सांसदहरूलाई कारवाही प्रक्रिया आरम्भ गरिएको अवस्थामा कुन मुख लिएर वार्ता गर्न सकिन्छ ?’
प्रदेश १ को प्रदेशसभा सदस्य समेत रहेका राईले अब साँच्चै आधिकारिक वार्ता गर्ने हो भने नयाँ परिस्थिति निर्माण गरी नयाँ समिति जरुरी रहेको बताएका छन् ।
माधव नेपाललाई दबाबमा पार्न अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्किने निर्णय गर्न लागेका बेला राईको यो प्रतिक्रियालाई अर्थपूर्ण रूपमा लिइएको छ ।
धनकुटा । धनकुटाका नेकपा नेताहरुले केन्द्रमा जे जस्तो अवस्था आए पनि जिल्लामा एक रहने हुने प्रतिबद्धता व्यक्त गरेका छन ।
नेकपा जिल्ला अध्यक्ष एवंम् विघटित प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले साेमबार पत्रकार सम्मेलन गर्दै केन्द्रको झगडा आफूहरुको नियन्त्रणको विषय विषय नभएको भन्दै जिल्लामा कति पनि विचलित नभई एक ढिक्का हुने बताए ।
‘केन्द्रको जिम्मा लिने कुरा भएन तर, जिल्लामा पार्टी एक भएर लग्ने हो ’ राईले भने ‘पार्टी एक हुनलाई हामी जस्तोसुकै कदम चाल्न चाहन्छौँ ।’
उनले कसले सही र गलत गर्याे भन्ने पक्षमा नभएको भन्दै जिल्लामा एक भएर सम्पुर्ण पार्टी पंक्तिका कार्याकर्तालाई नआत्तिन आग्रह गरे । पत्रकार सम्मेलनमा पूर्वएमाले तर्फबाट प्रदेश सभा सदस्य निरन राईको उपस्थिति रहेको थियो ।
पूर्वमाओवादीतर्फबाट नेकपा प्रदेश कमिटि सदस्य उज्वल किराती र जिल्ला कमिटीका सदस्यहरु नेत्र भण्डारी र कविता कङदंवा लगायतका नेताहरुको उपस्थिति थियो । धनकुटामा तत्कालीन एमालेले स्थानीय निर्वाचनमा सबै स्थानीय तहमा क्लीन स्वीप गरेको थियो ।
नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले हिजो साँझ धनकुटाको मदन चौकमा विरोध कार्यक्रम सम्पन्न गरेका थिए ।