Tag: राजेन्द्र बजगाईं

  • बजगाईले फिर्ता लिए देउवाविरुद्धको उजुरी

    बजगाईले फिर्ता लिए देउवाविरुद्धको उजुरी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अनुशासनको कारबाही माग गर्दै गोरखा महासमिति सदस्य राजेन्द्र बजगाईंले दिएको उजुरी साढे २ वर्षपछि फिर्ता लिएका छन् ।

    बजगाईंले चितवनमा चुनावमा माओवादीसँग गठबन्धन गरेको, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा समर्थन जनाएकोजस्ता विषय उठाएर देउवाले पार्टी र संसदीय व्यवस्थाकै अहित गरेकाले अनुशासन कारबाहीको मागसहित २०७५ चैत १४ मा पार्टी कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

    पार्टी नेतृत्वमा देउवाले भारी मत प्राप्त गरिसकेको र आफ्नो निवेदनको औचित्य पनि सकिएको भन्दै बजगाईले उजुरी फिर्ता लिएका छन् ।

    बजगाईको उजुरी फिर्तासम्बन्धी निवेदन जस्ताको तस्तै:

    २०७८ पौष ९

    श्रीमान् सभापति ज्यू,
    नेपाली कांग्रेस केन्द्रीय कार्यालय

    विषय: निवेदन फिर्ता सम्बन्धमा।

    संसदीय अभ्यासको सर्वमान्य सिद्धान्त अनुरूप तात्कालीन प्रधानमन्त्री श्री केपी ओली ज्यूको सरकारको निति र कार्यक्रम माथि प्रमुख प्रतिपक्ष दल हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा थियो भने संसदीय दलको नेतामा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा हुनुहुन्थ्यो। १४औं महाधिवेशन बाट पुन: पार्टी सभापतिमा विशाल पार्टी -अभिमतबाट चुनिनु भएका प्रधानमन्त्री माथि मैले नैतिक प्रश्न उठाएको थिएँ।

    मैले मिति २०७५/१२/१४ (११५ दर्ता नम्बर) मा कांग्रेस केन्द्रीय कार्यालयमा राखेको निवेदन लगतै श्रदेय सभापतिमाथि मेरो निवेदनलाई लिएर दाङ जिल्लाको पार्टी कार्यक्रममा एक प्रश्न सोधिएको थियो। प्रत्युत्तरमा उहाँबाट ‘कांग्रेस यसकारण पनि लोकतान्त्रिक पार्टी हो कि यहाँ नेताहरूको विरुद्ध पनि बोल्ने निवेदन गर्ने छुट छ’ सभापति ज्यूको त्यो संयोग अत्यन्तै शालीन थियो। मैले निवेदनमा पुनर्विचार गर्ने बिचार गरेर उहाँ पाँचौं पटक प्रधानमन्त्री नबन्दै र १४ औं अधिवेशनको संघारमा उहाँलाई निवासमै गएर भेट्दा उहाँबाट कुनै रोष वा नराम्रो प्रतिक्रिया भएन न निर्देशन वा आग्रह नै।उक्त क्षणमा पनि राखेको निवेदनमा मैले पुन: प्रतिक्रिया केहि छकि भनेर सोधें उहाँबाट म माथि दबाव हैन बरू ‘टेक ईट ईजी’ भनेर अत्यन्त भद्र उत्तर आयो। यि कारणहरूले गर्दा मैले १४ औं महाधिवेशन अगावै निवेदन फिर्ता लिंदा गलत टिप्पणी र अर्थहरू फैलिने सम्भावना देखेर त्यसो गरिन।

    बदलिंदो परिस्थितिमा हामिले विघटित संसद देखि पुनर्स्थापित संसद मात्र नभएर संवैधानिक पुनर्ब्याख्यामा परमादेशबाटै प्रधानमन्त्री पाईसक्यौं जस्ले आफ़्नो नेतृत्वमा भारी पार्टी-अभिमत प्राप्त गरिसक्नु भएको छ, यसकारण पनि मैले मेरो निवेदनको औचित्य समाप्त भएको महसूस गरें। श्रदेय सभापति तथा सम्माननीय प्रधानमन्त्रीको पुनरागमन लाई पार्टीका साथीहरूले परिपक्क नेतृत्वको अवश्यकता ठान्नु भएको भन्ने बुझ्दै उहाँहरू संग विगत २५ वर्ष राजनैतिक सहकार्य व्यतित् गरेको स्मरण गर्दै उक्त निवेदन फिर्ता लिने घोषणा गर्दछु/ जय नेपाल!

    राजेन्द्र बजगाई

    महासमिति सदस्य गोरखा

  • शेखर पक्षका उम्मेदवार बजगाईंलाई सरकारी पक्षले किन दियो सास्ती ?

    शेखर पक्षका उम्मेदवार बजगाईंलाई सरकारी पक्षले किन दियो सास्ती ?

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य पदका उम्मेदवार राजेन्द्र बजगाईंलाई सादा पोशाकका प्रहरी लगाएर दुःख दिने काम भएको आरोप कांग्रेस नेताहरुले लगाएका छन् ।

    सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाद्वारा आयोजित धन्यवाद सभामा युवा नेता गुरुराज घिमिरेले सरकारले सुनियोजित रुपमा आफूपक्षीय नेताहरुलाई दुःख दिएको आरोप लगाएका हुन् । बजगाईं कोइराला नेतृत्वको प्यानलबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए ।

    पर्यटन व्यवसायीसमेत रहेका बजगाईंलाई राजनीतिक प्रतिशोधका आधारमा दुःख दिइएको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो । ‘हाम्रो टिमको केन्द्रीय सदस्यको उम्मेदवार राजेन्द्र बजगाईंलाई १५ दिनदेखि सादा पोशाकका प्रहरीले पिछा गरेर दुःख दिइरहेका छन् । सत्ताले विभिन्न ढंगबाट दु:ख दिइरहेको छ । यसमा हाम्रो आपत्ति छ’, घिमिरेले भने ।

    बजगाईंले महाधिवेशन निर्वाचनको प्रचारका क्रममा रहँदा शंकास्पद व्यक्तिहरुले आफ्नो पिछा गरेको, प्रहरीले पटक-पटक गाडी रोकेर खानतलासीका नाममा दुःख दिएको र मनोवैज्ञानिक रुपमा त्रसित बनाउन खोजेको आरोप लगाए ।

    ‘राजनीतिक आवद्धताकै कारण सत्ताका मान्छेहरुले मलाई ह्यारेस गरेका छन् । मेरो गल्ती र कैफियत नहुँदासमेत दुःख दिने नियत राखेर सरकारी मान्छेले प्रयत्न गरेका छन्’, उनले नेपाल प्रेससँग भने ।

  • महाधिवेशनस्थलको फोहोर उठाउँदै मत माग्दै राजेन्द्र बजगाईं

    महाधिवेशनस्थलको फोहोर उठाउँदै मत माग्दै राजेन्द्र बजगाईं

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुले मत माग्न विभिन्न शैली अपनाएका छन् । उम्मेदवारहरूको पर्चा, पम्पलेट र प्रचार सामाग्रीका कारण महाधिवेशनस्थल फोहोर बन्दै गइरहेको छ । खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार रहेका युवा नेता राजेन्द्र बजगाईले भने अरु उम्मेदवारले गरेको फोहोर सफा गर्दै निर्वाचन प्रचार गरेका छन् ।

    महाधिवेशनस्थलमा बजगाईंका समर्थकहरूले छरिएका फोहोरहरू संकलन गरेर व्यवस्थित गरेका छन् । महाधिवेशनका नाममा सहरलाई फोहोर गर्न नहुने भन्दै उनीहरूले रचनात्मक ढंगले बजगाईंको प्रचार गरेका हुन् । सरसफाइ कार्यका लागि उनले १०० जना स्वंसेवक परिचालन गरेका छन् ।

    युवा नेता बजगाईंले पर्यावरणप्रति कांग्रेस नेताहरु जिम्मेवार हुनुपर्ने बताए । ‘हाम्रो महाधिवेशनका कारण शहर फोहोर हुनुहुँदैन । महाधिवेशनमा प्रतिस्पर्धा गरौ तर फोहोर नगरौं । यहीकारण म र मेरा साथीहरु सरसफाइ गर्दै प्रचारमा जुटेका हौं’, बजगाईंले भने ।

    महाधिवेशन प्रतिनिधिहरुलाई भड्किलो प्रचारका भरमा नभएर पार्टीलाई योगदान गर्नसक्ने क्षमताका आधारमा मत व्यक्त गर्नसमेत उनले आग्रह गरे ।

  • कांग्रेस केन्द्रीय सदस्यमा राजेन्द्र बजगाईंको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा राजेन्द्र बजगाईंको उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईंले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पर्यटन व्यवसायीसमेत रहेका बजगाईंले ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेस केन्द्रीय समितिमा पुग्न आफूले प्रयास गर्ने जनाएका छन् । १३ औं महाधिवेशनमा कुनैपनि प्यानलमा नपरेका बजगाईंले सम्मानजनक मत ल्याएका थिए ।

    ‘अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय समितिमा जान प्रयास गरेकै हुँ । यसपटक अझ बढी प्रतिवद्धतासहित खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु’, बजगाईंले पत्रकारहरुसँग भने । कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनताको स्तर उकास्ने एजेण्डालाई पनि अब प्राथमिकता दिनुपर्ने बजगाईंको भनाइ छ ।

    ‘नेविसंघको राजनीतिक पृष्ठभूमिबाट पर्यटन क्षेत्रको व्यवसायिक राजनीति हुँदै पार्टी राजनीतिमा उपस्थिति जनाएको छु । जनताले अब विकास खोजेका छन् । विकासको त्यो भोक मेट्ने कांग्रेस बनाउनुपर्छ’, बजगार्इंले भने ।

    बजगाईं २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।

    पार्टीभित्र व्यक्तिमा आधारितभन्दा विचारमा आधारित सहकार्य आवश्यक रहेको भन्दै केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टीको विचार, आदर्श र कार्यक्रमलाई सफल बनाउन अझ बढी योगदान गर्ने उनले बताए ।