Tag: राजमार्ग अवरुद्ध

  • अपराधीलाई पक्राउ नगरेको भन्दै सिरहामा राजमार्ग अवरुद्ध

    अपराधीलाई पक्राउ नगरेको भन्दै सिरहामा राजमार्ग अवरुद्ध

    जनकपुरधाम । छुरा प्रहार घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै गोलबजार नगरपालिका– ६ डोहटियाका बासिन्दाले पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

    डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका हुन् । सहमतिअनुसार २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरेकाले आफूहरु पुनः आन्दोलनमा उत्रेका उनीहरु बताउँछन् ।

    आन्दोलनकारीले मेयरले हत्यारा पक्राउ गर्न पहल नगरेको भन्दै गोलबजार नगरपालिकामा तालाबन्दी समेत गरेका छन् । करिब साढे ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरिएपछि हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । अपराधीलाई अविलम्ब पक्राउ गरी सजायँ दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने आन्दोलनकारीको माग छ ।

    शनिबार साँझ गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव पीडित परिवारले बुझ्न मानेका छैन ।

  • बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध

    बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध

    बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो ।

    राति १/२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौँ आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए ।

    लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए । अवरोध हटाउन सुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको बताए । लेदोमा तीन सवारी साधन फसे पनि यात्रुहरुलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

  • पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    कैलाली । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

    मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो ।

    दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावत घाइते भएका थिए ।

    ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।