Tag: राजनीति

  • पिएस गुरुङको दाबी – भदौ २३ र २४ को घटना राष्ट्रिय स्वाधीनतामाथिको संगठित हमला थियो

    पिएस गुरुङको दाबी – भदौ २३ र २४ को घटना राष्ट्रिय स्वाधीनतामाथिको संगठित हमला थियो

    ओखलढुङ्गा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते देशभर घटेका घटनाहरू प्रतिक्रान्तिकारी र प्रतिगमनकारी कदम भएको बताएका छन् । उनले उक्त घटनाबाट मुलुकको संविधान र राजनीतिक स्थायित्वमा ठूलो आघात पुगेको बताए ।

    प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार असंवैधानिक भएको बताए । उनले भने, ‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि त्यो सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन । किनभने मुलुकको ठूलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउ पुर्जी जारी गरेर निर्वाचन हुन सक्दैन ।’

    गुरुङले मुलुकमा निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको बताउँदै वर्तमान संविधान नै संकटमा परेको दाबी गरे । उनका अनुसार यस्तो अवस्थामा एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनको तयारी थालेको छ । ‘संसद् पुनर्स्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण हामी संसद् पुनर्स्थापनाको मुद्दालाई लिएर जनताको बीचमा जाने निर्णयमा छौँ,’ उनले भने ।

    उनले दलका नेताहरूमाथि मुद्दा लगाएर, चुनावी मैदानबाट हटाएर निर्वाचन गराउने योजना नै संविधान विपरीतको काम भएको टिप्पणी गरे । ‘राजनीतिक दलका नेताहरूमाथि मुद्दा लगाएर, चुनावमा जान नदिएर, चुनावमा उठ्नै नमिल्ने बनाएर कुनै पनि हालतमा चुनाव हुन सक्दैन,’ उनको भनाइ थियो ।

    उपमहासचिव गुरुङका अनुसार एमालेले वडास्तरदेखि काठमाडौंसम्म जनसभा, जनपरिचालन, भेला र प्रचार अभियानमार्फत संसद् पुनर्स्थापनाको मुद्दा जनस्तरमा लैजानेछ । उनले अदालतले यदि निर्वाचनमा जाने फैसला गर्‍यो भने पनि एमालेले त्यसलाई उपयोग गर्ने बताए ।

    उपमहासचिव गुरुङले भदौ २३ र २४ को सत्तापलट भनिएको घटनालाई जेनजी आन्दोलनको परिणाम नभई विदेशी शक्तिको नियोजित चलखेलको परिणाम भएको दाबी गरे । उनका अनुसार नेपालको सरकार अपदस्त गर्न, संसद् विघटन गर्न र राष्ट्रिय स्वाधीनतामा प्रहार गर्न बाह्य शक्तिहरूले रणनीति तयार पारेका थिए ।

    ‘जेनजीको नाममा पश्चिमी शक्ति र छिमेकी देशका केही शक्तिहरूले मिलेर सरकार अपदस्त र संसद् विघटन गराए,’ उनले भने, ‘नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाइयो, देश जलाउने काम भयो । राज्यका अङ्गहरूले देश बचाउने भूमिका निर्वाह गर्न सकेनन् ।’

    उपमहासचिव गुरुङअनुसार २३ र २४ भदौका घटनाहरू केवल तत्कालीन सरकारविरुद्धको आन्दोलन होइन, राष्ट्रिय स्वाधीनतामाथिको संगठित प्रहार थियो । ‘राज्यका यी अङ्गहरूको संविधान र देश बचाउने भूमिकामा जे हुनुपर्थ्यो, त्यो भएन’, गुरुङले भने ।

    गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता र स्वाधीनताप्रतिको अडानलाई भत्काउनकै लागि भदौ २३ र २४ का घटना गराइएको दाबी गरे । उनका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमिकतामाथि सम्झौता नगर्ने अडान लिँदा विदेशी शक्तिहरू असन्तुष्ट बनेका थिए । ‘केपी ओलीको राष्ट्रियता प्रति अडान र आत्मसम्मानका कारण नै विदेशी स्वार्थले उहाँको सरकार ढाल्ने योजना बनायो,’ गुरुङले भने, ‘सबै प्लानिङका साथ बदला लिने काम भएको हो ।’

    उनले विश्वभर विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत सरकार पल्टाउने गतिविधि भइरहेको उदाहरण दिँदै नेपालको अवस्थासमेत त्यसैको परिणाम भएको बताए ।

    गुरुङका अनुसार देशमा संकटको घडीमा राज्यका मूल अङ्गहरू सेना र प्रहरी निष्क्रिय बनेका छन् । उनले भने, ‘सेना, प्रहरी, अदालत सबै काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । भनेको नमाने मारिदिन्छु भन्ने धम्की दिइएको छ । ‘

    उपमहासचिव गुरुङले विगतमा राजसंस्थाको सुरक्षामा खटिने सेनाले अहिले संविधान र सरकारको सुरक्षा गर्न नसकेको टिप्पणी गरे । ‘राजालाई बचाउन नसक्ने सेनाले यस पटक सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि बचाउन सकेन ।’ उनको भनाइ थियो ।

    गुरुङले थपे, ‘देश जलिरहेको बेला सेना र प्रहरी रमिता हेरेर बसे, सबै कुरा जलिसकेपछि मात्रै बाहिर निस्कियो ।’

    गुरुङले अहिलेको राजनीतिक सङ्कटबाट देशलाई बाहिर निकाल्ने क्षमता नेकपा (एमाले) बाहेक अरू कुनै पार्टीमा नभएको दाबी गरे । उनले भने, ‘अन्य राजनीतिक दलहरू उठ्नै नसकेको अवस्थामा पनि एमालेले आफ्नो महाधिवेशन तोकिसकेको छ । देशको समस्या समाधानमा एमाले नै निर्णायक बन्नेछ ।’
    उपमहासचिव गुरुङले नेकपा (एमाले) लाई बलियो पार्टी बनाएर संविधान र राष्ट्रियता जोगाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘यो अस्थिरता, भ्रम र विदेशी प्रभावको घेराबाट देशलाई निकाल्ने जिम्मेवारी एमालेले नै लिनेछ,’ गुरुङले भने ।

    उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था अहिलेको संकटको समाधान नभई अझ ठूलो अस्थिरताको सुरुवात हुने बताए । ‘यो प्रत्यक्ष राष्ट्रपतिको माग जेनजीले गरेको होइन, जेनजीको नाममा शासन प्रणाली आफ्नो पक्षमा राख्न खोज्ने र नेपालमा अस्थिरता माच्चाउने शक्तिको योजना हो,’ उनले भने ।

    गुरुङका अनुसार देशमा प्रत्यक्ष राष्ट्रपतिको बहस ल्याएर सत्ता नियन्त्रण र अस्थिरता सिर्जना गर्ने शक्तिहरू सक्रिय छन् । स्वार्थअनुसार शासन चलाउन र मुलुकलाई फेरि अराजक दिशामा लैजान खोज्नेहरूकै योजना हो यो ।

  • जसपा नेपालका केन्द्रीय सदस्य नवराज गुरुङले त्यागे पार्टी

    जसपा नेपालका केन्द्रीय सदस्य नवराज गुरुङले त्यागे पार्टी

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका केन्द्रीय सदस्य नवराज गुरुङले पार्टी परित्याग गरेका छन् । उनले अध्यक्षलाई सम्बोधन गरेर केन्द्रीय सदस्य र पार्टी सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

    नेकपा एमाले छाडेर तत्कालीन उपाध्यक्ष अशोक राईसहितले जातीय पहिचानको मुद्दा बोकेर संघीय समाजवादी पार्टी गठन गरेपछि गुरुङ पनि सोही समूहमा लागेका थिए ।

    २०६९ सालमा एमाले छाडेर संघीय समाजवादी हुँदै जसपा नेपालमा पुगेका ओखलढुंगाका गुरुङले १४ वर्षपछि उक्त पार्टी पनि छाडेका हुन् ।

  • शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

    शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

    चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा उनले विश्व राजनीतिमा देखिएको प्रभुत्वको प्रतिरोध तथा एकाधिकारविरुद्ध सहभागिताको मार्ग पहिल्याउन आवश्यक भएको बताए ।

    विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेका बेलासमयको परिवर्तनलाई पहिचान गर्दै नेपालमा जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले अँगालेको जानकारी नेता रिजालले दिए । साथै उनले चिनियाँ विशेषतासहितको समाजवादी यात्राको सराहना गरे ।

  • नेकपा एसका नेताहरूलाई योगेशले भने- अमुक नेतालाई जिताउनै पर्ने पूर्वसर्त स्वीकार गर्ने/नगर्ने तपाईँहरूको विवेक हो

    नेकपा एसका नेताहरूलाई योगेशले भने- अमुक नेतालाई जिताउनै पर्ने पूर्वसर्त स्वीकार गर्ने/नगर्ने तपाईँहरूको विवेक हो

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा समाजवादीबाट आउने नेताहरूलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् ।

    जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उल्लेख गर्दै उनले अरू सबै तपशीलका विषय भएको उल्लेख गरेका छन् ।

    पार्टीमा आउँदा नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त पनि सुनिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होइन । जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईँ हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो ।’

    प्रतिस्पर्धाबाट छानिएको नेतृत्व एकताको आधार उल्लेख गर्दै उनले भनेका छन्, ‘अमुक नेतालाई जिताउनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो ।’

  • प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीले भेटे पूर्वराष्ट्रपति

    प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीले भेटे पूर्वराष्ट्रपति

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरुसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले मंगलबार डा. यादवसँग भेटवार्ता गरेका हुन् ।

    गृहमन्त्री अर्यालले ललितपुरको बागडोलस्थित निवासमै पुगेर पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था र भदौ २३ र २४ गतेको घटनाले पारेको असरका सम्बन्धमा जानकारी लिएका थिए । केहीबेरको भलाकुसारीपछि केही राजनीतिक विषयमा कुराकानी भएको थियो ।

    त्यस क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

    सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गर्दै आएकाले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन गृहमन्त्री अर्यालले आग्रह गरे ।

    डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सह्राना गरेका थिए । पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरु सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने पूर्वराष्ट्रपतिले विश्वास व्यक्त गरे ।

    उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्भ स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे-भोगेका अनुभव सुनाएका थिए । त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको उल्लेख गर्दै उनले अहिले पनि यो तटस्थ सरकार भएकाले सबै पक्षले विश्वास गर्नुपर्ने बताए ।

    डा यादवले भने, ‘यो संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईंहरु मेहनतसाथ लाग्नुभएको छ। यो सह्राहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ।’

    चुनावका संवाहक दलहरु नै भएकाले अब चुनावभन्दा दायाँबायाँ सोच्न नहुने पूर्वराष्ट्रपतिको धारणा थियो । अहिले चुनाव हुन सकेन भने भोलि अर्को ठूलो सङ्कट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ थियो।

    डा. यादवले थपे, ‘अहिले चुनाव गराउन सकिएन र यो प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठीक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक लाग्नुभएको देखिन्छ ।’

  • प्रधानमन्त्री र संघीय सदनका प्रमुखबीच भेटवार्ता

    प्रधानमन्त्री र संघीय सदनका प्रमुखबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ।

    उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे भेटवार्तमा सहभागी थिए ।

  • अर्थमन्त्री खनाल र नेपालका लागि कोरियाका राजदूतबीच शिष्टाचार भेटघाट

    अर्थमन्त्री खनाल र नेपालका लागि कोरियाका राजदूतबीच शिष्टाचार भेटघाट

    काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

    साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने बताए।

    सोअवसरमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यका आशा व्यक्त गरे।

    साथै, कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने बताए। नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराए ।

    उनले इपिएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको र सोका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

  • जेन-जी आन्दोलनमा क्षतिग्रस्त राष्ट्रपतिको घरमा पुगे गृहमन्त्री (तस्बिरहरु)

    जेन-जी आन्दोलनमा क्षतिग्रस्त राष्ट्रपतिको घरमा पुगे गृहमन्त्री (तस्बिरहरु)

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन्।

    गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो। मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिए ।

    त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।

    उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखे।

  • गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    काठमाडौं । नेपाली राजनीतिक परिस्थितिलाई स्थायित्व र सही दिशातर्फ लैजानका लागि नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच समाजवादी ध्रुवीकरण र वैचारिक रूपान्तरणमार्फत नयाँ एकता अभियान सुरु गर्ने सहमति भएको छ ।

    सोमबार सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका हुन ।

    सहमति पत्रमा हालको राजनीतिक अवस्थालाई “अभूतपूर्व जोखिमपूर्ण” भन्दै, जनयुद्धकालीन नीतिअनुसार प्रतिकूलतालाई अनुकूलतामा बदल्ने जिम्मेवारी अबका क्रान्तिकारीहरूकै हातमा रहेको उल्लेख गरिएको छ ।

    दुवै पक्षले विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्य टोली गठन गर्ने, र जनस्तरबाटै एकता सङ्घर्ष र रूपान्तरणको अभियान सुरु गर्ने निर्णय गरेका छन् ।

    सहमति अनुसार गोपाल किरातीद्वारा विकसित समाजवादी लोकतन्त्र र देशभक्तिपूर्ण पहिचान सम्बन्धी अवधारणा पार्टीभित्र व्यवस्थित छलफलमा लैजाने र पूर्ण जनवादका आधारमा निर्णय लिने तयारी गरिएको छ ।

    सहमति कार्यान्वयनका लागि देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीको नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरू नेकपा ९माओवादी केन्द्र०मा ध्रुवीकृत हुने निर्णय गरिएको छ ।

    दुवै नेताले संयुक्त रूपमा देशभित्र र बाहिर रहेका मजदुर, किसान, सुकुम्वासी, शोषित र विस्थापित वर्ग, साथै युवाहरूसँग आह्वान गर्दै भनेका छन् “नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र सम्प्रभुताको रक्षा गर्दै समाजवाद उन्मुख राज्यव्यवस्थाको कार्यान्वयनमा जुटौँ ।”

    सहमति पत्रमा दलाल र नोकरशाही पूँजीवादी शासन अन्त्य गरी संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख शासन व्यवस्थाको अभ्यासद्वारा राजनीतिक रुपान्तरण सुनिश्चित गर्ने संकल्प गरिएको छ ।

  • रक्षा बमकाे नेतृत्वमा बन्याे ‘जेन-जी’ फ्रन्ट, टीममा काे-काे छन् ? (सूचीसहित)

    रक्षा बमकाे नेतृत्वमा बन्याे ‘जेन-जी’ फ्रन्ट, टीममा काे-काे छन् ? (सूचीसहित)

    काठमाडौं । रक्षा बमको नेतृत्वमा ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरिएको छ ।

    भदौं २३ र २४ मा भएको विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, तथा शुभेच्छा र सद्भाव राख्ने सम्पूर्ण नेपालीलाई एकताको आह्वान गर्ने उद्देश्यसहित ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरिएको बमले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

    रक्षा बमको नेतृत्वमा ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरिएको छ । जसमा बमबाहेक ३८ सदस्य छन् । जे-जी विद्रोहको दस्तावेज’ सार्वजनिक गरिएको छ ।

  • पार्टी फुटाएपछि विप्लवलाई मिलन सीको खुला पत्र- छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु’

    पार्टी फुटाएपछि विप्लवलाई मिलन सीको खुला पत्र- छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु’

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फुटेपछि पोलिटब्युरो सदस्य मिलन सीले पार्टी विभाजनको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत भावनात्मक टिप्पणी गरेका छन् ।

    पोलिटब्युरो सदस्य सीले पार्टी फुटाएर आफू महासचिव भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत एकताको कुरा नमिलेका कारण १३ वर्षदेखिको सहकार्य टुटेको भए पनि चाँडै एक ठाउँमा भेट हुने अपेक्षा राखेको बताए ।

    उनले लेखेका छन्, ‘प्रिय एवम् आदरणीय महासचिव कमरेड विप्लव सी, अभिवादन । आराम छु, आरामै चाहन्छु। निकै मीठो हाम्रो सहकार्य भएको अब १३ वर्ष पूरा भएर १४ वर्षमा लाग्दै छ । एकताको विषयमा हाम्रो कुरा मिलेन ।’

    उनले थप लेखेका छन्, ‘कम्युनिस्ट क्रान्तिकारीको एकता आजको अनिवार्य आवश्यकता हो । बृहत् कम्युनिस्ट एकताले मात्र नेपाली विशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ ।’

    सीले आफ्नो स्टाटसमा विप्लवप्रति सम्मान व्यक्त गर्दै लेखेका छन्, ‘‘तपाईँको भूमिका बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवश्यक छ । त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’

    उनले आफ्नो पोस्टमा हालै सम्पन्न नवौँ केन्द्रीय समितिको विशेष बैठकले पनि यही सन्देश दिएको उल्लेख गरेका गर्दै लेखेका छन्, ‘यो नै नवौँ केन्द्रीय समितिको विशेष बैठकको दिशानिर्देश र आजको वस्तुगत आवश्यकताले विभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो ।’

    सीले अन्त्यमा लेखेका छन्, ‘छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन ।’

  • घनश्यामलाई सुदेशको आग्रह- महाभारतको अभिमन्यु जस्तो नबन्नुस्, माओवादीसँग एकताको यात्री हुनुस्

    घनश्यामलाई सुदेशको आग्रह- महाभारतको अभिमन्यु जस्तो नबन्नुस्, माओवादीसँग एकताको यात्री हुनुस्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले महासचिव घनश्याम भुसालले माओवादीसँगको एकताको विपक्षमा नउभिन आग्रह गरेका छन्। जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अहिले वामपन्थीहरू बिचको एकता नै आवश्यक भएको बताए।

    महासचिव भुसाललाई आग्रह गर्दै भने, ‘मेरो अनुरोध छ तपाई महाभारतको श्रीकृष्ण बन्ने कि चक्रव्युहमा अलमल परेको अभिमन्यु हुने रु तपाईँले बैठकमा राखेको विचार अलमल चक्रव्यूहमा फसेको अभिमन्यु जस्तो देख्छु । तपाई एकताको यात्री हुनुहोस् ।’

    उनले पार्टी नेतृत्वले दुई अतिवादलाई लोकतान्त्रिक प्रणालीमा डोराएर ल्याउने काम गरेको स्मरण गरे।

    उनले थपे, ‘एकातिर माओवादी अर्को तिर राजतन्त्रमा टाँसिएको गिरिजावाद लाई बुद्धिमत्तापूर्वक लोकतान्त्रिक प्रक्रिया डोराएको ल्याउनु भएको नेता हो वामपन्थभित्र भित्र्याएको एनजिओवाद पार्टीमा पनि भित्र पस्यो यो सबभन्दा खतराजनक छ ।’

    अहिलेको अवस्थालाई सही र तथ्यगत आधारमा विश्लेषण गरेर १० औँ महाधिवेशन को फैसलालाई कार्यान्वयन गर्न आजको आवश्यकता रहेको बताए।

    उनले भने, ‘हिजो केपी ओलीले प्रधानमन्त्रीको कुर्सी देखेर एकता गरे भयो, आजको एकता लागि राम्रो आधार तयार भएको छ अहिले गर्ने भनिएको एकता सुझबुझ पूर्ण दुर्दशी एकता हो अहिलेको यो पद एकता होइन यो नेकपाकालीन कम्युनिस्ट निर्माण हो। खोट देखाएर होइन, खोट मोटाएर अघि बढ्नुपर्छ ।’

  • सुदन किरातीले पशुपतिमा शवदाह मेसिन ल्याउँदा घुस खाएको माओवादीकै तत्कालीन राज्यमन्त्रीको दावी

    सुदन किरातीले पशुपतिमा शवदाह मेसिन ल्याउँदा घुस खाएको माओवादीकै तत्कालीन राज्यमन्त्रीको दावी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम पूर्वपर्यटनमन्त्री सुदन किरातीमाथी पार्टीकै नेताहरुले घुस खाएको आरोप लगाएका छन् । माओवादीले नेकपा (एकीकृत समाजावादी) सँग एकताका लागि पहल गरिरहेका बेला जनार्दन शर्मा निकट रहेको नेता किरातीमाथि संस्थापन पक्षका नेताहरुले सामाजिक सञ्जालबाट हमला गरेका हुन् ।

    किराती मन्त्री हुँदा नै पर्यटन राज्यमन्त्री रहेकी माओवादी नेतृ सुशिला सेर्पाली र पार्टी निकट अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष केशव रावलले गम्भीर आरोप लगाएका छन् । माओवादी केन्द्रीय सदस्य सेर्पालीले फेसबुकमा रावलले लेखेको टिप्पणीलाई सेयर गर्दै किरातीले पशुपतिमा शवदाह मेसिन जडान गर्दा घुस खाएको दावी गरेकी हुन् ।

    उनले लेखेकी छन्, ‘पर्यटनमन्त्री हुँदा पशुपतिमा शवदाहा जडान मेसिनबाट कति घुस खाएको त्यो जानकारी पनि यति इमानदारले पार्टीमा भन्नु पर्ने होइन ? १०० चुहा खाएर बिल्ली हजको चली भनेको यस्तै, यस्ताले गर्दा होला ।’

    अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष केशव रावलले फेसबुकमार्फत् भोजपुर क्षेत्रमा ब्रह्माण्डीय मतान्तर र चुनावी इतिहास तानेर किरातीमाथि प्रश्न उठाएका थिए ।

    रावलले भोजपुरमा समानुपातिक मतको वितरण र किरातीका जित–हारका मतपरिणामको तथ्यांक पेश गर्दै लेखेका छन्, ‘कसले गरायो, ४–४ पटक सिण्डिकेट लाएर टिकट लिने तपाईं, पार्टीको हरेक अवसरमा डुबुल्की मार्दै सत्ताको भत्तामा मैमत्ता गरेको हिसाब पार्टी कार्यकर्ताले खोज्नु पर्छ कि पर्दैन ?’

    रावलले थप लेखेका छन्, ‘तपाईं माओवादी रुपान्तरण हुँदैन भन्दै थप अवसरको खोजीमा निस्कन नखोज्नुहोस्, तपाईंलाई ४–४ पटक सांसद बनाउन ज्यान फाल्ने सुन्दर समाजको सपना बोकेका भोजपुरे माओवादी कार्यकर्ताको हली बस्नुहोस्, माओवादी रुपान्तरण उनीहरुले गर्छन् । खबरदार भाग्ने, लुक्ने कोशिश नगर्नुहोला ।’

  • दामोदर अर्यालको टिप्पणी : माओवादीसँगको एकता अभियुक्तहरूसँगको एकता हो

    दामोदर अर्यालको टिप्पणी : माओवादीसँगको एकता अभियुक्तहरूसँगको एकता हो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले माओवादीसँग हुने एकता वाम एकता नभई अभियुक्त एकता हुने टिप्पणी गरेका छन् ।

    माओवादीसँग एकताबारे पार्टीको जारी केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको बेला उनी एकताको विपक्षमा उभिएका हुन् ।

    ‘माओवादी अध्यक्ष प्रचण्ड सम्पत्ति शुद्धीकरणको छानविनमा पर्नुभएको छ । उपाध्यक्ष पासाङ सुन तस्करीसम्बन्धी छानबिनमा हुनुहुन्छ । अर्का उपाध्यक्ष महरा सुन तस्करी आरोपमा जेलमा हुनुहुन्छ । प्रवक्ता अग्निजी ज्यान मुद्दामा तारेख खेपिरहनु भएको छ’ उनले भने, ‘त्यसकारण यतिखेर माओवादीसँग एकता गर्नु भनेको वाम एकता होइन, अभियुक्त एकता हुन्छ ।’

    उनले अभियुक्त एकताको विरोध गरेर वास्तविक वाम एकताको पहल थाल्न पार्टी पङ्क्तिमा आग्रह गरेका छन् । अध्यक्ष माधव नेपालले आफू अनुकूल केन्द्रीय सदस्य थप गरेको प्रति अर्यालले असन्तुष्टि जनाए । ‘मनोनित गर्दै जानुहोस्, बहुमत सिद्ध गर्दै जानुहोस्, तर याद गर्नोस् कमरेड, तपाईंको कमिटीको बहुमतले समाजको बहुमत सिद्ध गर्दैन । समाजमा हामी निरन्तर अल्पमतमा पर्दै गइरहेका छौ ।’

  • सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल

    सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल

    काठमाडौं । सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताए ।

    ‘रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार आर्थिक रुपमा मितव्ययी ढङ्गले चल्छ’, मन्त्री खरेलले भने ।

    साथै सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । साथै आगामी मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

    यस्तै आगामी मङ्सिर ६ देखि १३ गतेसम्म पेरुको लिमामा आयोजना हुने इन्टरनेसनल ट्रिएटी अन प्लान्ट जिनिटी रिसोर्स फर फुट एन्ड एग्रिकल्चर को गभर्निङ बडीको एघारौँ अधिवेशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ ।

    बैठकले देहायका क्षेत्ररप्रणालीहरुलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको यकिन गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने निर्णय गरेको छ । जसअनुसार वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापनसम्बन्धी, अध्यागमन सेवासम्बन्धी, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरुको विवरणसम्बन्धी छन् ।

    बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल-युरोपेली सङ्घबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डलको मङ्सिर ९ देखि १५ गतेसममको भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

    त्यसैगरी मङ्सिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने छैटौँ टोकियो कन्भेन्सन कमिटी र १९औँ बैङ्कक कन्भेन्सन कमिटीको कार्यक्रममा शिक्षा सचिव चूडामणि पौडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ ।

    समरजङ्ग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहनेगरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए । उनका अनुसार नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको छ ।

    सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । यसैगरी, छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

  • पुनको चेतावनी- २४८८ प्रतिनिधिको हस्ताक्षरलाई केही होइन भन्ने ढंगले प्रस्तुत भए ठूलो क्षति पुग्छ

    पुनको चेतावनी- २४८८ प्रतिनिधिको हस्ताक्षरलाई केही होइन भन्ने ढंगले प्रस्तुत भए ठूलो क्षति पुग्छ

    काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले विशेष महाधिवेशन माग गर्दै बुझाएको हस्ताक्षरलाई बेवास्ता गरे ठूलो क्षति पुग्ने चेतावनी दिएका छन्।

    जारी केन्द्रीय समिति बैठकमा बोल्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई केही होइन भन्ने ढंगले प्रस्तुत भए पार्टीलाई असर पुग्ने बताए।

    उनले भने, एमाले र माओवादीले मंसिरमा महाधिवेशन गर्नसक्छ। कांग्रेस भने नियमित कि विशेष भन्नेमा अल्झिराख्नेरु त्यसैले २४८८ जना महाधिवेशन प्रतिनिधिका हस्ताक्षरलाई सामान्य रूपमा नलिनुहोला।

    उनले क्रियाशील सदस्यताको समस्या समाधान गरेर मंसिरमा महाधिवेशन गर्ने गरी तत्काल कार्यतालिका ल्याउन माग गरे। उनले विशेष महाधिवेशनको माग गर्नेले पार्टी फुटाउन खोज्यो भनेर गलत भाष्य बनाइएको भन्दै असन्तुष्टि जनाए।

    उनले महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिनुपर्ने बताए।

  • पार्टी बैठकमा इन्द्र बानियाँले भने- मंसिरमा महाधिवेशन गर्न सकिँदैन

    पार्टी बैठकमा इन्द्र बानियाँले भने- मंसिरमा महाधिवेशन गर्न सकिँदैन

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले मंसिरमा नियमित वा विशेष कुनै महाधिवेशन गर्न सम्भव नहुने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताए।

    बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बानियाँले भने, ‘अहिले नियमित कि विशेष महाधिवेशन भन्ने बहस भइरहेको छ। विशेष महाधिवेशनको प्रस्ताव भएको तीन महिनामा गर्नुपर्ने हुन्छ। तर, मंसिरमा महाधिवेशन हुने सम्भावना देखिँदैन।’

    उनले क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित गर्नसक्ने कुनै आधार नभएको बताए। अहिले मिति तोकेर कार्यान्वयन गर्न नसक्दा राम्रो सन्देश नजाने भन्दै केन्द्रीय समिति परिपक्व निर्णय गर्नुपर्ने बताए।

  • मंसिरभित्र महाधिवेशन गर्नुपर्ने जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन: भूपेन्द्रजंग शाही

    मंसिरभित्र महाधिवेशन गर्नुपर्ने जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन: भूपेन्द्रजंग शाही

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले मंसिरभित्रै सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई पनि नभएको बताएका छन्।

    अहिलेको समस्याको निकास पुरानै पारा, पुरानै तरिका, पुरानै सोच र पुरानै म्यान्डेटबाट सम्भव हुन नसक्ने भएकाले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ।

    ‘परिवर्तनको सन्देश र अहिलेको जेनजी पुस्ताको सहभागितालाई सुनिश्चितता गर्दै नियमित महाधिवेशन मंसिरभित्र गर्नुको अर्को कुनै विकल्प छैन’ उनले भनेका छन्, ‘नियमित महाधिवेशनको विकल्प नै नियमित महाधिवेशन हो।’

    अलमलमा पारेर नियमित महाधिवेशनलाई ओझेलमा पार्ने गरी विषायन्तर नगर्न आग्रह गर्दै पानीमाथि बसेर कोही ओभानो नहुने उनको भनाइ छ।

    बिहीबारदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक  बस्दैछ। कांग्रेसभित्र मङ्सिरभित्रमै नियमित महाधिवेशन गर्नुपर्ने वा विशेष महाधिवेशन गर्नुपर्ने विषय पेचिलो बन्दै आएको छ । चुनाव सकेर वैशाखमा महाधिवेशन गर्नुपर्नेलगायतका फरक मागसमेत राखिँदै आएको छ । केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिकाबारे नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।

     

     

  • आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौँ  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।

    कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

    आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ ।

    यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।

    त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

    यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता उहाँको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

    यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

     

  • लुम्बिनीमा जनमतकाे रिक्त समानुपातिक सांसदमा निलम

    लुम्बिनीमा जनमतकाे रिक्त समानुपातिक सांसदमा निलम

    रुपन्देही । जनमत पार्टीको लुम्बिनी प्रदेश सांसदमा निलम पासवान छनौट भएकी छन् । यसअघि समानुपातिक सांसद बनेकी गीता गुरुङ बेलायत बस्न थालेपछि उनलाई हटाउन पार्टीले दवाव दिएसँगै राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

    यसअघि जनजाति क्लस्टरबाट गीता गुरुङ सांसद बनेपनि त्यसपछिको सूचिमा दलित महिला कोटाबाट निलम पासवान परेको र उनले बुधबार नै निर्वाचन आयोगबाट प्रमाण पत्र बुझेकी छन् । निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभालाई यो पत्र पठाइसकेपनि प्रदेश सभामा भने त्यो पत्र आइसकेको छैन ।

    लुम्बिनी प्रदेश सभामा जनमतबाट १ प्रत्यक्ष र दुई समानुपातिक गरी तीन सांसद रहेका छन् ।

  • विप्लवलाई राजन दाहालको प्रश्न- एकता वार्ता हुँदाहुँदै ओली र राजावादीसँग किन भेटेको ?

    विप्लवलाई राजन दाहालको प्रश्न- एकता वार्ता हुँदाहुँदै ओली र राजावादीसँग किन भेटेको ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि प्रश्नै प्रश्न उठाएका छन् । दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेता दाहालले प्रश्न उठाएका हुन् ।

    आफूले उठाएको प्रश्नको जवाफ त दिन विप्लवलाई चुनौती दिँदै इतिहासप्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति गर्नुपर्ने उनको भनाइ छ।

    यस्ता छन् विप्लवमाथि दाहालका प्रश्न-

    – अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ?

    – अध्यक्ष प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?

    – अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?

    – आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्धतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत ) बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ?

    – अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुँदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ?

    – वार्ता टोलीमा नाम र चुनाव चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ? नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला।

    – गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ?

    – विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै विना जानकारी ओलीजीसँग पनि एकताको लागि संवाद किन सुरु गरेको ?

    – यही बिचमा दर्जनौँ पटक राजावादीहरूसँग गोप्य वार्तामा बस्नुको कारण के हो ?

    – आफ्नो उत्पादन भन्दै पारिबाट आलु ल्याइ थपेर किन बेचेको ?

  • जेनजी आन्दोलनमा भएको सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

    जेनजी आन्दोलनमा भएको सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन्।

    जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेका दिन आगजनी, लुटपाट तथा चोरीबाट क्षति भएको सम्पत्तिको अध्ययन गर्न बुधबार सुर्खेत पुगेर जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटका क्रममा मुख्यमन्त्री कँडेलले निष्पक्ष छानबिन तथा अध्ययन गर्न आग्रह गरेका हुन्। उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिए ।

    मुख्यमन्त्री कँडेलले विगतमा राजनीतिक तथा जनआन्दोलन जे भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाटजस्ता घटना नभएको स्मरण गराए ।

    “अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ”, उनले भने, “अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ ।”

    अपराधजन्य कार्यमा संलग्न जोकोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा उनको जोड थियो । जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य तथा निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याएमात्र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कँडेलको भने । उनका अनुसार छानबिन सत्यतथ्य हुन नसके आपराधिक तत्वले प्रश्रय पाउँछ ।

    जाँचबुझ आयोगका सदस्य भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिका रूपमा आयोगले अध्ययन गर्ने बताए । उनले व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको उल्लेख गरे ।

    त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाण सङ्कलन गरिएको जानकारी दिए । घटनामा संलग्न व्यक्तिहरूको पहिचान कार्य अन्तिम चरणमा पुगेको जनाउँदै उनले केही दिनभित्रै कानुनी कारबाही अगाडि बढाइने बताए ।

  • उपेन्द्र यादव र मधेशका मुख्यमन्त्री सोनलबीच भेटवार्ता, विश्वासको मतबारे छलफल

    उपेन्द्र यादव र मधेशका मुख्यमन्त्री सोनलबीच भेटवार्ता, विश्वासको मतबारे छलफल

    काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटवार्ता भएको छ। मंगलबार बाराको कलैयामा अध्यक्ष यादव र मुख्यमन्त्री सोनलबीच भेटवार्ता भएको हो।

    भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, मधेश सरकारको आगामी योजना, मधेश केन्द्रित दलहरुबीचको समन्वयबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटमा मुख्यमन्त्री सोनलले लिन लागेको विश्वास मत, मन्त्रिपरिषद् विस्तारलगायतको विषयमा पनि छलफल भएको जनाइएको छ। सोनालको पक्षमा जसपा नेपालका १८, जनमतका १३, माओवादीका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ जनासहित ५५ सांसदको साथ छ।

  • रामपुर कृषि क्याम्पसमा भर्ना रोकिएप्रति अखिल क्रान्तिकारीको आपत्ति, शुल्क वृद्धि खारेज गर्न माग

    रामपुर कृषि क्याम्पसमा भर्ना रोकिएप्रति अखिल क्रान्तिकारीको आपत्ति, शुल्क वृद्धि खारेज गर्न माग

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले २०८२ सालको प्रवेश वर्षका लागि सार्वजनिक गरेको नयाँ शुल्कप्रति आपत्ति जनाएको छ।

    कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कार्यालयमा पुगेर अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाको नेतृत्वले ज्ञापनपत्र बुझाएको हो।

    १६ देखि ५० प्रतिशतसम्मको वृद्धि गरिएको र रामपुर कृषि क्याम्पसमा पूर्वाधार अभाव भन्दै रोकिएको भर्ना प्रक्रियाप्रति अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको हो।

    ज्ञापन पत्रमा भनिएको छ, ‘शिक्षा अधिकार हो, व्यापार होइन भन्ने सिद्धान्तलाई पाखा लगाउँदै गरिएको यस्ता शुल्क वृद्धि अन्यायपूर्ण र गैरजिम्मेवार छ । गुणस्तरीय शिक्षाका लागि उचित योजना र परामर्शको खाँचो छ तर अहिलेको अवस्थामा, शिक्षण सिकाइ प्रणाली, प्रयोगशाला सुविधा, अनुसन्धान सहयोग, तथा प्राविधिक स्रोतहरूको सुधारमा पर्याप्त प्रगति नदेखिँदा शुल्क वृद्धि विद्यार्थीमाथि गरिएको अन्याय हो । विश्वविद्यालय जिम्मेवार नबन्दा शुल्क वृद्धि र रामपुर कृषि क्याम्पसमा रोकिएको नयाँ विद्यार्थी भर्ना प्रक्रियाले आम नेपाली विद्यार्थीहरू कृषि तथा पशु विज्ञान शिक्षा लिनबाट वञ्चित हुने स्पष्ट देखिन्छ ।’

    मनोमानी ढंगबाट गरिएको शुल्क वृद्धि तुरुन्त खारेज गरी भर्ना प्रक्रिया रोकिएका क्याम्पसमा तत्काल विद्यार्थी भर्नाका आगामी कार्यक्रमहरू सुचारु गर्न माग गरेको छ। मागलाई सम्बोधन नगरे विद्यार्थीहरूका न्यायका लागि शुल्क शोषण र गुणस्तरीय शिक्षा लिन पाउने अधिकार बाट वञ्चित हुने अवस्थाका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

  • मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

    मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

    भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराएका छन् । उनले संघीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए ।

    मुख्यमन्त्री आचार्यले नेपाल-बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष र अप्रत्यक्ष जटिलता देखा परेकाे र त्यसले प्रशासनिक तथा भौतिक संरचनामा असर पारेको बताए ।

    उनले प्रदेश सरकारले अघि सारेका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट निर्दिष्ट कार्यक्रमहरूलाई पनि स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिए । संघीयतालाई बलियो बनाउने, जनतासँग जोडिएका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सुशासन प्रवर्द्धनका क्षेत्रमा आपसी सहकार्यकाे आशा गरिएको उनकाे भनाइ थियो ।

    मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेकाे जानकारी दिदै चालू आर्थिक बर्षकाे लागि बिनियाेजन भएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्नुपरेको जानकारी गराए । त्यसभित्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रमहरूमा कटौती नगर्ने नीति लिइएको स्पष्ट पारेका छन् ।

    सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना तयार पारेको जानकारी दिँदै उनले पाँच लाख रुपैयाँभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन गरेर पारदर्शिताकाे अभ्यास गरिएको बताए । उनले आगामी पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे ।

    मुख्यमन्त्री आचार्यले युवाहरूको आवाज सुन्न र तिनका मुद्दा सम्बोधन गर्न प्रमुख सचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी पनि दिए । उक्त समितिले प्रतिवेदनमार्फत सुझाव पेस गर्ने र त्यसका आधारमा प्रदेश सरकारले नीतिगत तथा व्यावहारिक काम अघि बढाउने बताए ।

    भेटका क्रममा बेलायती दूतावासका प्रतिनिधि एन्ड्रु लङले नेपाल र बेलायतबीचको सम्बन्ध अझ सुदृढ बनाउने र दुबै सरकार मिलेर सुशासन, विकास र संघीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना, तथा दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग रहने बताए ।

    भेटमा प्रदेश सरकारका सचिव कविन्द्र नेपालसहितका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

    नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिबाट सुरु हुँदै छ। माओवादी केन्द्रसँग एकताको चर्चाका बिचमा अध्यक्ष माधव नेपालले पार्टी बैठक राखेका हुन्।

    बैठक भोलि ११ बजे मिराकल पार्टी भेन्यु सुकेधारामा बस्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए। केन्द्रीय कमिटी बैठक अघि पोलिटब्युरो बैठक भने नबस्ने भएको छ।

    माओवादीसँग एकता गर्ने सहमति अध्यक्ष नेपालले गरिसकेका छन्। तर, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल भने विपक्षमा छन्।

    उनीहरूले माओवादीसँग एकता भन्दा पनि पार्टी पुनर्गठनमा जोड दिएका छन्।

    यीबाहेक विकसित राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने जनाइएको छ। यसअघि बसेको स्थायी कमिटी बैठकमा केही नेताहरूले अध्यक्ष नेपालको राजीनामा समेत मागेका थिए।

  • आफूलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन्: विनोद चौधरी

    आफूलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन्: विनोद चौधरी

    रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद तथा उद्योगी विनोद चौधरीले आफूले निभाएको भूमिकाको इतिहास र जनताले लेखाजोखा गर्ने बताएका छन् । उनले आफ्नो कसैप्रति गुनासो नरहेको जनाएका छन् ।

    सोमबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीस्थित आफ्नो निजी निवास निरीक्षणपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै चौधरीले आफूले सधैंभरी आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने कुराको वकालत गर्दै आएको बताए ।

    ‘एउटा नयाँ जमात अब आउने निर्वाचनमा अगाडि उभिने वाला छ, उनले भने–‘ युवाको मनमा पटक्कै भोली यो नेपाल बन्छ भन्ने कुराको आस छैन । हतोत्साहित मनस्थिति छ । त्यसतर्फ हामी सबै जिम्मेवार मान्छेहरूले ध्यान दिनुपर्छ भन्ने कुराको वकालत मैले सधैँ गरेकै हुँ ।’

    के कति हुन सक्यो, हुन सकेन भन्ने कुराको लेखाजोखा र जनताले गर्ने उनको भनाइ छ । आफूले जीवनभर परिवर्तन र सम्पन्न नेपालको अभिलाषा लिएर व्यावसायिक मञ्चहरूबाट र पछि नीति निर्माण र कार्यान्वयनको तहमा नबसीकन केही नहुने रहेछ भन्ने मान्यताका साथ राजनीतिमा प्रवेश गरेको चौधरीले बताए । ‘४५ दिनको अन्तरालमा म यो क्षेत्रमा आएर निर्वाचन लडे, एकसेएक महारथीहरूसँग, मलाई लाग्छ, त्यो बेला पनि यो मान्छे उभिँदा यसले विकासको बाटोमा केही गर्छ भन्ने भावनाले नै मलाई जिताउने काम भयो’ उनले भने ।

    चौधरीले जेनजीको चाहना र संघर्षको बाटोमा आफू पनि ३० औँ वर्षदेखि हिँडेको बताए । ‘राजनीति मलाई न नामको लागि चाहियो, न दामको लागि चाहियो, मैले जे जति गरे, एउटा सम्पन्न नेपाल नेपालीले हेर्न पाउनुपर्छ, नेपालीको न्यूनतम अधिकारी हो । ‘एउटा युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिँड्न पाउनुपर्छ र त्यो गर्ने जिम्मेवारी हो’ उनले भने ।

    आफूलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि रहेको उनको भनाइ छ । चौधरीले जेनजीको भावनालाई कदर गर्नुपर्ने र त्यो बिथोल्न खोज्नेहरूलाई साइड लगाउनुपर्ने बताए । ‘एउटा नयाँ परिवर्तन नेपालमा आयो भने म भन्दा ठूलो सन्तुष्ट व्यक्ति कोही पनि हुनेछैन, म मेरो जलेको घर अगाडि उभिएर भनिरहेको छु’ उनले भने ।

    दैनिक २ हजार ५ सयभन्दा बढी नेपाली नेपाल बाहिर जाने स्थिति भएको र एक करोड नेपाली नेपालमै बस्ने स्थिति नरहनु आफूहरू जस्तो उद्यमीले १५-२० हजारलाई मात्र रोजगारी दिएर समस्या समाधान नहुने मानसिकता जन्मेको उनले बताए ।

    उनले आफ्नो प्राणको आहुति दिने जेनजीहरुको आत्माको चिरशान्तिका कामना गरे । चौधरी २०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

  • सरकारविरुद्ध सडक आन्दोलनमा जाने तरुण दलको चेतावनी

    सरकारविरुद्ध सडक आन्दोलनमा जाने तरुण दलको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमवार, नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

    अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफ्नो अस्तित्व रक्षा गर्न अब चुप लागेर बस्ने अवस्था नभएको बताए । उनले दुर्गा प्रसाईं र सुदन गुरुङले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै, सडक संघर्ष अघि बढाउनका लागि तयार रहन तरुण दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्तालाई ‘झोले’ जस्ता रूपमा चित्रण गरिँदैछ भन्नेमा आक्रोश पनि व्यक्त गरे ।

    अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस रोक्न नसकेकोमा क्षमायाचन गर्दै आगामी दिनमा त्यस्तो अवस्था नआओस् भनेर सजग रहने बताए । उनले जेन–जी आन्दोलनको नाममा नेतामाथि भएको प्रहारको हिसाब–किताब हुने पनि बताए ।

    नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी संरचना जलाउने, उद्योगपति, विभिन्न पार्टीका कार्यालय र नेताको घर जलाउने र आक्रमण गर्नेलाई छिटोभन्दा छिटो कारबाही गर्न सरकारलाई आग्रह गरे । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा केही सरकारमा नरहेका दल, राजावादी र केही विदेशी दलालको घुसपैठ भएको उनले दाबी गरे ।

    ‘छिटोभन्दा छिटो विभिन्न सरकारी संरचना, उद्योगपति, विभिन्न पार्टी कार्यालय र हाम्रा नेताको घरमा पेट्रोल बममार्फत क्षति पुर्‍याइएको छ, यिनलाई छिटोभन्दा छिटो कारबाही होस् । होइन भने हाम्रा सबै नेता र पार्टीमाथि कारबाही हुँदै जाँदा अब हामी चुप बस्दैनौं । २४ गतेको आन्दोलनमा सरकारमा नरहेका, सरकारबाहिर रहेका केही पार्टी, केही राजावादी र केही विदेशी दलालले हाम्रा नेतामाथि प्रहार गरेका छन् । यसको हिसाबकिताब नेपाल तरुण दलले गर्नुपर्छ ।’ उनले भने ।

    उनले भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए । अध्यक्ष गुरुङले भने, मुलुकको व्यवस्था जोगाउन र आफ्नो अस्तित्व जोगाउन त्यस्ता तत्वविरुद्ध सडकमा उत्रिनु बाहेक विकल्प नरहेको बताए । आगामी दिनमा कुनै पनि वादीले गर्ने आन्दोलनका त्यस्ता प्रकारका हर्कत भए चुप लागेर नबस्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

    ‘यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाइँ हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरूको विरुद्धमा सडकमा भिड्ने नै हो, यो भन्दा अर्को विकल्प छैन । आउने दिनमा कुनै पनि वादीले गर्ने आन्दोलनमा नेपाल तरुण दल सजग रहनेछ । तयारी अवस्थामा रहन साथीहरूलाई अनुरोध गर्न चाहन्छौं ।’ उनले उल्लेख गरे ।

    साथै, अहिलेको विषम परिस्थितिमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउन वरिष्ठ नेतालाई उनले आग्रह गरे । ‘यो घडीमा हामी युवा हाम्रा नेतालाई आग्रह गर्दछौं, अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर लैजान पनि हामी आग्रह गर्छौं ।’ अध्यक्ष गुरुङले भने ।

  • महेश बस्नेतलाई सुदेशको जवाफ- माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट जोन हुनुहुन्छ

    महेश बस्नेतलाई सुदेशको जवाफ- माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट जोन हुनुहुन्छ

    काठमाडौंं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एमाले नेता महेश बस्नेतलाई आफ्नो पार्टी अध्यक्ष माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोन रहेको बताएका छन्।

    नेता बस्नेतले एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा एमालेमा फर्किन भनेपछि यस्तो जवाफ दिएका हुन्।

    महेश बस्नेत र केपी ओलीलाई चुनौती नै सही भन्दै लेखेका छन्, ‘कमरेड माधव नेपाल अहिलेको राजनीतिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोन हुनुहुन्छ हेक्का राख । अपराधी र हत्याराको आरोप माधव नेपाललाई छैन। प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको, भागेको इतिहास माधव नेपालको छैन ।’

    जनताले खेदेको जनतासँग हारेको शेख हसिना र ओली उस्तै भए भनेर भागेको चिन्ता नेता बस्नेतलाई भारी भएको भन्दै कटाक्ष गरेका छन्।
    उनले थपेका छन्, ‘जनताको बहुदलीय जनवादको कुरा त केपी ओलीले प्रचण्ड कमरेडसँग प्रधानमन्त्रीको कुर्सीसँग साटेको होइन । सत्ता स्वार्थमा जबजको हुर्मत लिएको होइन र ? गुन्डुबाट भाग्नु परेका, बालुवाटारबाट कुर्सी छोडेर भागेको तनाव अझै बाँकी छ ?’

    नेकपाकालमा ओली र प्रचण्ड मिल्दा खुसीले हर्ष–बढाइँ गर्दै माधव नेपाललाई पेलेको स्मरण गरेका छन्।

    ‘सामन्त गोयल साक्षी राखेर बालुवाटारबाट कम्युनिस्ट पार्टी विभाजन गर्दै विदेशीको गुलामी गरेको इतिहास साक्षी नै छ । विचरा स्कुलड्रेसका कलिला अबोध बालबालिकाको हत्यारा बालाई नबोक, बरु आउ वामपन्थी एकता गर्दै हिजोको नेकपा निर्माण गरौँ’ पराजुलीले भनेका छन्।

  • संविधानको रक्षा र अराजकताविरुद्ध अर्घाखाँचीमा एमालेको सद्भाव र्‍याली

    संविधानको रक्षा र अराजकताविरुद्ध अर्घाखाँचीमा एमालेको सद्भाव र्‍याली

    रुपन्देही । नेकपा एमाले अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव र्‍यालीको आयोजना गरेको छ ।

    देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा सद्भाव र्‍याली निकालिएको हो । र्‍यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सद्भाव र्‍यालीले सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता चेतनारायण आचार्य, केन्द्रीय नेता सूर्य थापा, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेताहरूको सहभागितामा सद्भाव र्‍याली निस्किएको हो । संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र एक्यबद्धताको सन्देश सद्भाव र्‍याली मार्फत दिइएको एमाले अर्घाखाँचीले जनाएको छ

  • कात्तिक २० गते काठमाडौंमा उत्रिन समाजवाद पक्षधरलाई विप्लवको आह्वान

    कात्तिक २० गते काठमाडौंमा उत्रिन समाजवाद पक्षधरलाई विप्लवको आह्वान

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद पक्षधरलाई कात्तिक २० गते काठमाडौंमा उत्रिन आह्वान गरेका छन्।

    नेकपाको हालै बसेको बैठकले २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको थियो।

    देशले आत्मसम्मानसहित उन्नति हासिल गर्न र स्वाधीनताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।

    ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ’ उनले भनेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू।’

  • माओवादी निकट युवाहरुले गठन गरे जेन–जी रेडफोर्स, सातै प्रदेशमा संयोजक

    माओवादी निकट युवाहरुले गठन गरे जेन–जी रेडफोर्स, सातै प्रदेशमा संयोजक

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरुले जेन–जी रेडफोर्स गठन गरेका छन् ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेन–जी रेडफोर्स अघि बढिसकेको जनाएको हो ।

    पत्रकार सम्मेलनमा जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले आफूहरुको एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानविनलगायत रहेको जानकारी दिए ।

    भ्रष्टाचार विरोधी अभियानका लागि सवै भन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरुको सम्पती छानविन गर्नुपर्ने उहाले बताउनुभयो । तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी केन्द्रका अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरे ।

    उनले उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगाएत आफुहरु एजेण्डा रहेको बताए । .

    तिमल्सिनाले कांग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतङ्कवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरुले जेन–जीहरुलाई पनि आतङ्ककारी घोषणा गर्ने खतरा रहेको आशंका गरे ।

     

  • रुकुमपूर्वमा रास्वपाको पहिलो भेला, लखनकुमारको नेतृत्वमा तदर्थ समिति गठन

    रुकुमपूर्वमा रास्वपाको पहिलो भेला, लखनकुमारको नेतृत्वमा तदर्थ समिति गठन

    रुपन्देही । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो भेला आयोजना गरेको छ । भेलाको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले आगामी निर्वाचनमा रास्वपा देशको पहिलो पार्टी हुने दावी गरे ।

    रास्वपाको विकल्प रास्वपा मात्र रहेको बताउँदै पाठकले पार्टी सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधको विरोध जनताले मतमार्फत गर्ने विश्वाससमेत व्यक्त गरे ।

    सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको भेलाले लखनकुमार थापाको सभापतित्वमा तदर्थ समिति सर्वसम्मत गठन गरेको छ। जसको सचिवमा डिलबहादुर खड्का, सदस्यहरुमा रमण खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरुण खड्का, भरत खड्का, भूपेन्द्र देवकोटा, जयराम सुनार, सुनिल मल्ल, अन्चल मल्ल, वसन्त कुमार श्रेष्ठ र सृजना शाही रहेका छन् ।

    भेलामा रास्वपा लुम्बिनी प्रदेशका महामन्त्री सिएम उपाध्याय, लुम्बिनी प्रदेश अभियान विभाग प्रमुख महेन्द्र उपाध्याय, अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसाल, रोल्पा जिल्ला सभापति रमेश थापा, रुकुमपश्चिम जिल्ला सभापति मानबहादुर शाहीलगायतका नेताहरु पुगेका थिए ।

  • समयमा चुनाव गर्न नसके सरकारको औचित्यमाथि प्रश्न उठ्छ : नेता महर

    समयमा चुनाव गर्न नसके सरकारको औचित्यमाथि प्रश्न उठ्छ : नेता महर

    डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तोकिएकै समयमा निर्वाचन गर्न सरकार इमानदार हुनुपर्ने बताएका छन्। डडेल्धुरा पुगेका नेता महरले कार्यकर्ता भेटघाटमा बोल्दै यो सरकार जनादेश प्राप्त नभएकाले निर्वाचन सम्पन्न गर्नुपर्ने बताए।

    उनले भने, ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारी, राजनीतिक दलका नेता र नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो।’

    समयमा चुनाव गर्न नसके सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने बताए। उनले सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको आरोप लगाए।

    सरकारले राजनीतिक दलहरूसँग संवाद गरेर, देशी विदेशी मित्रहरूलाई विश्वासमा लिएर, सुरक्षाकर्मीको गुमेको विश्वासलाई बढाएर र जनतामा आत्मविश्वास जगाएर निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्ने बताए।

  • लुम्बिनीका मुख्यमन्त्रीद्वारा संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोकेको आरोप

    लुम्बिनीका मुख्यमन्त्रीद्वारा संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोकेको आरोप

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताएका छन् ।

    नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको बताएका हुन् ।

    उनले भने, ‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन् । आज काम नगर्ने भनिएको छ । अर्घाखाँची जिल्लाको विकासको गति अहिलेको संघीय सरकारले कहाँ पु¥याउँदैछ रु देशको विकास के हुँदैछ ? यो विषयमा जवाफदेहिता हुनुपर्छ की पर्दैैन ।’

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा धेरै कामहरू भइरहेको उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

    सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले केही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

    उनले भने, ‘निश्चित व्यक्तिका समूहहरू आज कार्यालय–कार्यालय गएर कर्मचारीलाई तेजोवध गर्ने शैलीमा धम्क्याउने र थर्काउने काम भइरहेको छ । अबिलम्ब त्यसलाई रोक्न निर्देशन दिन चाहन्छु । यस्तो गर्न कसैलाई पनि छुट छैन । कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन । यो कार्य तुरुन्त रोकिनु आवश्यक छ ।’

    उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।

    मुख्यमन्त्री आचार्यले कार्तिक १० गते एमाले अर्घाखाँचीले संविधान संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सद्भाव ¥यालीको आयोजना गर्न लागेको जानकारी दिँदै सो कार्यक्रममा सबैलाई सहभागी हुन आह्वान गरेका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक (किशोर), राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।