Tag: रजतपट

  • ‘चिप्ल्याउने अंकल’ अहिले आफैं चिप्लिए !

    ‘चिप्ल्याउने अंकल’ अहिले आफैं चिप्लिए !

    काठमाडौं । केही समययता रंग पत्रकार प्रकाश सुवेदी नेपाली चलचित्रकर्मीमाझ ‘आतंक’ का पर्याय बन्दै आएका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममार्फत सिलसिलेवाररूपमा एकपछि अर्का कलाकारलाई बदनाम गर्न खोजेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

    पछिल्लो समय सुवेदीले एपी वान टेलिभिजनमा दुईवटा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएका थिए । ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ नामका दुवै कार्यक्रम विवादित बनेपछि टेलिभिजनले ‘सस्पेन्ड’ गरिदिएको छ । कार्यक्रममार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै नायिका शिल्पा पोखरेलले टेलिभिजनमा उजुरी गरेकी थिइन् ।

    सुवेदी र उनको कार्यक्रममाथि उजुरी परेको यो पहिलो घटना होइन । केही समयअघि नायिका पूजा शर्माले पनि आफ्नो विषयमा गरेको भद्दा टिप्पणीलाई लिएर उजुरी गरेकी थिइन् । त्यसबेला सुवेदी माफी मागेर उम्केका थिए । तर, अहिले भने उनको जागिर धरापमा परेको छ । उनले यूट्युवमार्फत आफ्नो कार्यक्रमलाई निरन्तरता दिन सक्छन् । वा, अर्को टेलिभिजनमा बसाइ सर्न सक्छन् । तर यस प्रकरणले उनको पत्रकारिता करिअरमा गम्भीर घाउचोट लागेको छ ।

    त्यसो त सुवेदी पहिल्यैदेखि विवादित छविका पत्रकार हुन् । लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका उनी यतिबेलासम्म ‘लिजेन्ड’ भइसक्नुपर्थ्यो, तर नेपाली चलचित्रलाई माथि उकास्नेभन्दा तल गिराउन उनी बढी तल्लीन रहे । कलाकारहरूलाई कन्ट्रोभर्सीमा पारेर भ्यूज बटुल्ने शैलीले उनलाई दिग्गज पत्रकारबाट ‘भाइरल यूट्युवर’ को स्तरमा झारिदिएको छ । टिकटकमा छाउनुलाई सफलताको मानक ठानिरहँदा उनले आफ्नो सार्वजनिक प्रतिष्ठा गुमिरहेको पत्तै पाएनन् ।

    पछिल्लो समय धेरै कलाकारहरू सुवेदीको कार्यक्रममा जानै डराउँछन् । खासगरी मुलधारका नायिकाहरू । सुवेदीसँग व्यक्तिगत घनिष्ठता भएका कलाकारहरू पनि उनको शैलीसँग सन्तुष्ट छैनन् । फलस्वरूप उनी सामाजिक सञ्जालमा भाइरल भएका नयाँ पात्रहरूमाथि निर्भर भइरहेका छन् । यस्ता पात्रहरूलाई ल्याएर उनले भ्यूज बटुल्न त सफल भएका छन्, तर उनको साख चाहिँ दिनप्रतिदिन गिर्दो छ ।

    कलाकार पनि पानीमाथिका ओभाना चाहिँ छैनन् । बिनातयारी जसलाई पनि अन्तर्वार्ता दिन जाने, जुनसुकै विषयवस्तुमा पनि बोल्न तयार हुने, चर्चाका लागि अन्टसन्ट बोलिदिने, अनि जब गालीगलौजको वर्षा हुन थाल्छ, अनि रोइलो गर्ने कलाकारहरू यहाँ धेरै छन् । कलाकारको यही कमजोरीको फाइदा सुवेदीजस्ता पत्रकार/यूट्यूवरहरूले उठाएका हुन् ।

    निरुतादेखि पूजासम्म

    सुवेदी दुई दशकभन्दा बढी समयदेखि रंग पत्रकारितामा छन् । उनले कान्तिपुर टिभीबाट शुरू गरेको ‘रजतपट’ कार्यक्रम पछि प्राइम टेलिभिजन हुँदै एपी वानमा पुगेको हो । कान्तिपुरमा छँदादखि नै उनको प्रस्तुतिमा समस्या थियो । धेरै कलाकारहरू त्यतिबेलैबाट उनीसँग चिढिएका थिए । नायिका निरुता सिंहले उनीसँग झगडै गरेकी थिइन् ।

    ऋषि धमलाको प्राइम टिभीमा आएपछि उनी ‘भाइरल कन्टेन्ट’को पछि दौडिन थाले । कलाकारहरूलाई बोलाउने र सकेसम्म विवादित कुरा ओकल्न लगाउने उनको प्रयास हुन्थ्यो । उनको यस्तो प्रयासको सबैभन्दा ठूलो शिकार दिपाश्री निरौला बनिन् । ‘राजेश हमाल महानायक हुन् र ?’ भन्ने अभिव्यक्तिले दिपाश्रीलाई चरम विवादमा पार्यो । राजेश हमालका फ्यानहरुबाट उनी चर्को गालीगलौजको शिकार बनिन् ।

    नायिका स्वस्तिमा खड्कामाथि पनि सुबेदीले छुद्र टिप्पणी गरेका थिए । स्वस्तिमाले सामाजिक सञ्जालमा हालेको श्रीमानसँगको एउटा तस्वीरलाई लिएर उनले टेलिभिजनबाटै भनेका थिए, ‘काम साम छैन, बुढो बोक्यो हिँड्यो ।’

    प्रकाशलाई अन्तर्वार्ता दिएर नायिका पूजा शर्मा पनि कन्ट्रोभर्सीमा परिन् । उनलाई सुवेदीले कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाएर सामान्य ज्ञानका प्रश्न सोधेका थिए, जसमा उनी कमजोर थिइन् । सहज प्रश्नको पनि जवाफ दिन नसकेपछि पूजा निकै ट्रोल भइन् । प्रकाश भने हौसिदै गए ।

    पछि उनै पूजामाथि सुवेदीले टेलिभिजन कार्यक्रममै भद्दा टिप्पणी गरे । पूजालाई लक्षित गर्दै उनले कार्यक्रममा बोलेका थिए, ‘यत्रा-यत्रा दाह्रा निस्केकाहरूलाई हामीले महानायिका बनाइदिनुपर्ने !’

    उक्त टिप्पणी भने सुवेदीका लागि निकै महंगो सावित भयो । धेरै कलाकारहरूले खुलेर उनको विरोध गरे । पूजाले धेरै ठाउँ उजुरी गरिन् । अन्ततः सुबेदीले टेलिभिजनबाटै माफी माग्न बाध्य भए । तर, त्यसपछि पनि उनको शैली फेरिएन ।

    शिल्पामाथि आक्रमण

    पछिल्लो समय उनी नायिका शिल्पा पोखरेलमाथि खनिएका छन् । शिल्पाले एक विवाहित व्यक्तिसँग अफेयर चलाएर उनको घर बिगारेको आरोप उनले लगाएका थिए । सो आरोपको शिल्पा र अन्य सम्वन्धित व्यक्तिहरूले खण्डन गरेका छन् ।

    सुवेदीले शिल्पा र उनका पूर्वपति छवि ओझा बीचको विवादलाई पनि अहिले निकै उछालेका छन् । उनीहरूको डिभोर्स सम्वन्धी अदालतमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने गरी एकतर्फी रिपोर्टहरू उनले प्रसारण गरेपछि टेलिभिजनले चेतावनी दिएको थियो । गत २ वैशाखमा टेलिभिजनको बोर्ड वैठकले उनलाई यो विषयमा थप रिपोर्ट नबनाउन चेतावनी दिएपछि त्यसको अटेर गर्दै सुवेदीले अर्को एपीसोडमा छवि ओझाको अन्तर्वार्ता प्रसारण गरे ।

    छविसँग प्रकाशको पुरानो घनिष्ठता छ । त्यही घनिष्ठताका आधारमा प्रकाशले छविलाई साथ दिँदै आएका छन् । यसो गर्दा उनले पत्रकारिताको आधारभूत सिद्धान्तलाई कुल्चिन पुगे । अर्कोतर्फ एक महिला कलाकारको विगतलाई उछालेर वर्तमानमा विवाद पैदा गर्नु पनि कुनै गतिलो पत्रकारिता होइन । दाम्पत्य जीवनमा शिल्पाबाट पनि गल्ती भएका होलान् । त्यो उनीहरुको निजी मामला हो । अहिले अदालतमा मुद्दा विचाराधीन रहेकाले पनि मिडियाले यसमा धेरै टाउको दुखाइरहनु आवश्यक छैन ।

    चिप्लाउने अंकल आफैं चिप्लिए !

    कमेडी च्याम्पियनमा एक प्रतियोगीले हालै प्रकाश सुवेदीको ‘चिप्ल्याउने पत्रकारिता’ माथि व्यंग्य गरेका थिए ।

    उनको प्रस्तुति यस्तो थियोः

    ‘नमस्ते आदरणीय दर्शकवृन्द । यो कार्यक्रम चिप्लेटी । म कार्यक्रमको सारथी चिप्ल्याउने अंकल । यी दुई कलाकारको त डिभोर्स भइसक्यो । बाहिर आउन मात्रै बाँकी हो । मैले आउट गरिदिएँ, है त ।’

    सुवेदीको पत्रकारिता ठ्याक्कै यही हो । अरुलाई सँधै कलाकारलाई चिप्ल्याएर आफू हिट खोजे, तर, अहिले आफैं चिप्लेका छन् । अब चाहिँ उनको चिप्ल्याउने पत्रकारितामा बिराम लाग्ला कि ?

  • प्रकाश सुवेदी भन्छन्- मसँग असारसम्मको एग्रिमेन्ट छ, रजतपट बन्द हुँदैन

    प्रकाश सुवेदी भन्छन्- मसँग असारसम्मको एग्रिमेन्ट छ, रजतपट बन्द हुँदैन

    काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले आफ्ना दुई मनोरञ्जनात्मक कार्यक्रम ‘सस्पेन्ड’ गर्ने एपी वान टेलिभिजन बोर्डको निर्णयबारे ‘थाहा नभएको’ बताएका छन् ।

    टिभीसँग आगामी असारसम्मको एग्रिमेन्ट रहेको भन्दै उनले व्यवस्थापनले एकतर्फीरूपमा कार्यक्रम बन्द गर्न नमिल्ने दावी गरे ।

    नेपाल प्रेससँग कुराकानी गर्दै सुवेदीले भने, ‘यी दुवै नितान्त मेरो कपिराइट भएका कार्यक्रम हुन् । मैले नचाहेसम्म बन्द हुँदैन । टिभीले निर्णय गरेको विषयमा मलाई कसैले अहिलेसम्म जानकारी पनि गराएको छैन, समाचारमा हेरेको हुँ ।’

    सुवेदीले सञ्चालन गर्ने साप्ताहिक कार्यक्रमहरु ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ का विरुद्ध नायिका शिल्पा पोखरेलले टेलिभिजनमा उजुरी दिएकी थिइन् । सो उजुरीमाथि छलफल गर्दै टेलिभिजन बोर्डले हिजो दुवै कार्यक्रम अर्को निर्णय नहुञ्जेलका लागि ‘सस्पेन्ड’ गर्ने निर्णय लिएको हो ।

    सुवेदीले भने टेलिभिजनसँग आफूले गरेको सम्झौतामा पनि दुई पक्षको सहमतिका आधारमा मात्रै कार्यक्रम बन्द गर्न सकिने उल्लेख भएको बताए । उनका अनुसार उक्त सम्झौताको म्याद असार मसान्तमा मात्रै सकिन्छ ।

    केहीगरी एपी वानबाट प्रसारण नहुने अवस्था आए पनि दुवै कार्यक्रमलाई आफूले यूट्यूवमार्फत निरन्तरता दिनसक्ने सुवेदी बताउँछन् ।

    ‘मैले यी दुई कार्यक्रम १५-२० वर्षदेखि चलाउँदै आएको छु । एपी वानमा प्रशारण भएन भने अन्त पनि लैजान सक्छु । यूट्यूवमा पहिलदेखि मेरै च्यानलबाट आइरहेको छ । अब पनि निरन्तर आउँछ,’ उनले भने ।

    तर, तपाईंजस्तो दिग्गज पत्रकारले लगातार कलाकारहरुको चरित्रहत्या गर्ने सामग्रीहरु प्रशारण गर्न मिल्छ त भन्ने प्रश्नमा उनले कसैको चरित्र हत्या आफूले नगरेको बताए ।

    ‘मैले समाचार दिने हो, त्यही काम गरिरहेको छु,’ उनले भने, ‘वास्तविक समाचार दिँदा कसैको चरित्रहत्या हुन्छ भने मेरो के लाग्छ र ?’

    सुवेदीले नायिका शिल्पा पोखरेलको निजी जीवनका बारेमा विवादास्पद सामग्रीहरू प्रसारण गरेका थिए । यसअघि पनि सुवेदी थुप्रै स्क्यान्डलमा फसिसकेका छन् । एकपटक नायिका पुजा शर्माबारे अनर्गल टिप्पणी गर्दा उनले माफी माग्नुपरेको थियो ।

    यो पनि पढ्नुहोस् :