Tag: रघुवीर महासेठ

  • थुनुवा आत्महत्या प्रकरण : पूर्वमन्त्री महासेठ पनि दोषी भएको आरोप, महासेठविरुद्ध प्रदर्शन

    थुनुवा आत्महत्या प्रकरण : पूर्वमन्त्री महासेठ पनि दोषी भएको आरोप, महासेठविरुद्ध प्रदर्शन

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालयको धनुषा हिरासतमा थुनुवा थुनुवा पल्टु रबिदासले झुण्डिएर आत्महत्या गरेको घटनामा पूर्वमन्त्री एवं एमाले नेता रघुवीर महासेठ पनि मुछिएका छन् ।

    शुक्रबार बिहान हिरासतको शौचालयमा लक्ष्मीनियाँ गाउँपालिका-२ का थुनुवा ४० वर्षीय रबिदासले आत्महत्या गरेका थिए । तीन दिनदेखि उनको शव प्रादेशिक अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । पीडित परिवारले ‘आत्महत्या होइन्, हत्या हो’ भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैन ।

    मृतकका परिवार, आफन्त र दलित अगुवा आन्दोलित बनेका छन् । उनीहरुले शनिबार साँझ जनकपुर-ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियाँ चोकमा चक्का जाम गरेका थिए । सो क्रममा चार जनाको पुत्ला जलाइयो । जसमध्ये एक हुन्- पूर्वमन्त्री महासेठ । उनको पुत्लामा लेखिएको थियो, ‘घरायसी झगडामा मुद्दा दिलाउन माहिर दलालोका बाप रघुवीर महासेठ ।’

    मृतक रबिदासको घर रहेकै धनुषा क्षेत्र नम्बर- ४ बाट निर्वाचित संघीय सांसद हुन् महासेठ । महासेठबाहेक लालजी साह, राजकिशोर रबिदास र शम्भु यादवको पनि पुत्ला जलाइयो । तीनै जनालाई स्थानीयले दलालको संज्ञा दिएका छन् ।

    स्थानीय भन्छन्- अग्नु रबिदास र पल्टु (जो आत्महत्या गरे)सँग हातेपम्पको विषयमा सामान्य विवाद भएको थियो । तर अग्नुलाई उक्साएर तीनै जनाले नेता महासेठबाट प्रहरीलाई दबाब दिन लगाएर पल्टुमाथि मुद्दा दर्ता गराइयो । यदि मिलापत्र गराइदिएको भए, पल्टुलाई जेल जानु पर्दैन थियो । र आत्महत्या गर्नुपर्ने अवस्था आउने थिएन ।

    ०७७ चैत ११ मा पल्टु (मृतक) र भाइ अग्नुबीच लफडा भएको थियो । उनीहरुबीच आपसमा सामान्य कुटाकुट भएको थियो । स्थानीयले झगडा छुटाए । तर झगडामा अग्नुको टाउको फुट्यो । स्थानीयका अनुसार प्रहरीमै मुद्दा दर्ता गराउने खालको घटना नै थिएन । तर मिलापत्र गराउनुको साटो अग्नुलाई उक्साएर ‘दलालहरु’ले प्रहरीमा मुद्दा दर्ता गर्न लगाए ।

    कुटपिट तथा अंगभंग मुद्दा दर्ता भए पनि करिब ३ महिनासम्म पल्टु पक्राउ परेका थिएनन् । दबाब दिएपछि गत असार २२ मा पल्टुलाई प्रहरीले पक्रेको स्थानीयको भनाइ छ । उनलाई प्रहरीले अदालतमा पेश गर्दा २ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

    तर २ लाख धरौटी बुझाउने क्षमता पल्टुसँग थिएन, बुझाएनन् । प्रहरीले उनलाई सिन्धुली कारागार पठाउने तयारी गरेको थियो । तर उनी आफूले लगाएको गन्जीलाई पासो बनाएर हिरासत कक्षकै शौचालयमा झुण्डिए । उनले आत्महत्या गर्नुको कारण गरिबी पनि रहेको प्रहरी अधिकारी बताउँछन् ।

    मृतककी पत्नी रणुले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।

    उनले भनिन्, ‘घटना हुनुभन्दा दुई दिनअघि मात्र हिरासतमा श्रीमानलाई भेट्न गएको थिएँ । त्यतिबेला ती तीनैजना ‘दलाल’ प्रहरी कार्यालयमा थिए ।

    बिहानै आत्महत्या गर्दा पनि प्रहरीले साढे १० बजे जानकारी गराएको र मुख समेत हेर्न नदिएको पीडा उनले सुनाइन् ।

    रेणु मृतक पल्टुका दोस्रो श्रीमती हुन् । जेठी श्रीमतीको निधन भएपछि उनले दोस्रो बिहे गरेका थिए । पहिलो श्रीमतीतर्फ एक छोरा र एक छोरी (बिहे भइसकेको) छन् । दोस्रो श्रीमती अर्थात् रेणुतर्फ ८ र ३ वर्षकी छोरी छन् ।

    पट्लुको मृत्युपछि परिवारको बिजोग भएको छ । उनीहरुको जम्मा ६ धुर जग्गा छ । ‘न घरमा सुत्ने अवस्था छ, न खाने अन्न छ । ज्याला मजदुरी गरेपछि जसोतसो घर चल्थ्यो’ रेणुले अर्धचेत अवस्थामा भनिन् ।

    दलित अगुवाहरुको माग अनुसार प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति समेत गठन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको जानकारी दिए ।

  • तामझामसहित धनुषामा मन्त्री महासेठको स्वागत

    तामझामसहित धनुषामा मन्त्री महासेठको स्वागत

    धनुषा । उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठको स्वागतमा धनुषाको मिथिला विहारी नगरपालिकाले लाखौं पैसा खर्च गरेको छ । मन्त्री बनेर पहिलोपटक गृहजिल्ला आएका उनलाई आज मिथिला विहारी नगरपालिकाले तामझामसहित स्वागत गरेको हो ।

    मन्त्री महासेठको स्वागतमा ठाउँ-ठाउँमा भव्य स्वागतद्वार निर्माण गरिएको छ । महासेठ र उनका पत्नी पूर्वमन्त्री जुली महासेठ मिथिला विहारी पुग्दा पृष्पवृष्टी नै गरियो । मिथिला विहारीका मेयर अनिल यादवले मन्त्री महासेठको तस्विरमा आकर्षक फ्रेम लगाई उपहार प्रदान गरे ।

    निषेधाज्ञाकै बीच महासेठ दम्पत्तिलाई स्वागत गर्न नगरपालिकाका सयौं मानिसलाई मेयर यादवले उतारेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर मन्त्री महासेठ दम्पत्तीले निषेधाज्ञाको कुनै परवाह गरेनन् ।

    स्वागतमा कति बजेट खर्च गर्नुभयो भन्ने जिज्ञासामा उनले मेयर यादवले भने, ‘यो कुनै प्रश्न भयो ? प्रधानमन्त्री र मन्त्रीहरु आएपछि स्वागत त गर्नैपर्छ नि । गेट र मालामा कति नै खर्च लाग्छ र !’

    मेयर यादव नेकपा एमालेबाट निर्वाचित हुन् । उनले मन्त्री महासेठ नगरपालिकाभित्र ३ वटा पुलको शिलान्यास र एउटा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

    मन्त्री महासेठ दम्पत्ति हिजो नै गृहजिल्ला धनुषा आएका थिए । धनुषा प्रवेश गरेलगत्तै उनलाई मिथिला नगरपालिकाले स्वागत गर्यो । उनीहरुलाई पञ्चकन्याले फुल अर्पण गरेका थिए ।

    मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पनि ठाउँ ठाउँमा गेट बनाउन लगाएका थिए । कोरोना प्रभावितलाई राहत दिन नसकेको र संक्रमितको उपचारमा समेत कुनै चासो नदेखाएका मिथिला र मिथिला विहारी नगरपालिकाले मन्त्रीको स्वागतमा लाखौं रुपैया खर्चेका छन् । दुबै ठाउँका मेयर मन्त्री महासेठ निकट व्यक्ति हुन् ।

    अक्सिजन वितरणमा भेदभाव

    मन्त्री महासेठले शुक्रवार धनुषाका १८ वटै स्थानीय तहलाई अक्सिजन सिलिण्डर वितरण गरे । तर अक्सिजन वितरणमा पनि भेदभाव गरिएको खुलासा भएको छ ।

    मिथिला नगरपालिका र मिथिला विहारी नगरपालिकामा मन्त्री महासेठले १०÷१० थान अक्सिजन सिलिण्डर बाँडे । तर अन्य स्थानीय तहलाई ५/५ थान मात्र अक्सिजन सिलिण्डर बाँडिएको छ ।

    अक्सिजनको सबैभन्दा बढी आवश्यकता जनकपुरधाम उप–महानगरपालिकालाई छ । बाहिरका संक्रमित व्यक्ति पनि जनकपुरधाम आएर उपचार गराइरहेका छन् । तर जनकपुरधामलाई पनि मन्त्री महासेठले ५ थान अक्सिजन सिलिण्डर मात्र हस्तान्तरण गरे ।

  • रघुवीर ओली पक्षमै फर्किए, आज प्रदेश-२ को प्रशिक्षणमा वक्ता

    रघुवीर ओली पक्षमै फर्किए, आज प्रदेश-२ को प्रशिक्षणमा वक्ता

    काठमाडौं । मंगलवार दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भाग लिएका नेकपा नेता रघुवीर महासेठ पुनः केपी ओली पक्षमा लागेका छन् । उनी पछिल्लो समय ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लागेका थिए ।

    मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा बसेका महासेठ केन्द्रीय कमिटी बैठकमा भने थिएनन् ।

    स्थायी कमिटीमा बसेर निस्केका महासेठ केन्द्रीय कमिटीले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दासम्म नआएको र उनले माइन्युटमा हस्ताक्षर पनि नगरेको माधव नेपाल निकट एक नेताले बताए ।

    स्रोतका अनुसार महासेठ हिजै साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि उनी आज प्रदेश-२ को प्रशिक्षणमा वक्ताका रुपमा राखिएका छन् ।

    महासेठ पत्नी केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो भने ओली पक्षकै बैठकमा सहभागी भइरहेकी छन् ।