Tag: रक्षामन्त्री

  • रक्षामन्त्रालय एकैपटक मन्त्री र सचिवविहीन, सचिव बढुवामा तीनजनाको प्रतिस्पर्धा

    रक्षामन्त्रालय एकैपटक मन्त्री र सचिवविहीन, सचिव बढुवामा तीनजनाको प्रतिस्पर्धा

    काठमाडौं । रक्षामन्त्रालयका सचिव वेगेन्द्रराज शर्माले ५८ वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनको अवकाशसँगै रक्षा मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन बन्ने भएको छ ।

    कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले केही दिनअघि राजीनामा दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को रक्षामन्त्री नियुक्त नगरी सो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । आजबाट सचिव पनि खाली भएको हो ।

    २०७३ साल पुष १४ गते नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी सहसचिवबाट राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा भएका शर्मा सचिव भएको आज पाँच वर्ष पुगेको छ । उनले सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका हुन् । निजामती सेवा ऐनअनुसार नेपाल सरकारको राजत्रपांकित विशिष्ट श्रेणी अर्थात सचिवमा पाँच वर्ष सेवा गर्न पाइन्छ । शर्माले अनिवार्य अवकाश पाएसँगै एक सचिव पद रिक्त भएको छ ।

    तीन वरिष्ठ सहसचिव प्रतिस्पर्धामा

    रिक्त रहेको सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिव प्रतिस्पर्धामा देखिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा शाखाका अनुसार वरिष्ठ सहसचिव कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला सचिव बढुवाको प्रतिस्पर्धामा छन् ।

    सहसचिव दंगालको नाम यसअघि दुईपटक र निरौलाको नाम एकपटक सचिव बढुवाका लागि बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ । तर, एक नम्बरमा बढुवाका लागि सिफारिस हुन लागेका राउतको भने यो पहिलोपटक हो । राउतले तालिम पूरा नगरेका कारण यसअघि उनको नाम बढुवाका लागि एकपटक पनि सिफारिस नभएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

    बढुवाको मुखैमा सहसचिव खरेलको अवकाश

    बढुवाको मुखैमा पुगेका सहसचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाउने भएका छन् । यसअघि तालिम नलिई बसेका सहसचिव कृष्णबहादुर राउतले यसपटक तालिम लिएर बढुवाको लाइनमा उभिएपछि खरेल सचिव बढुवाका लागि सिफारिस नहुने भएका हुन् । यदि राउतले तालिम नलिएको भए खरेल यसपटक तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस हुने सूचीमा थिए ।

    यसअघि मन्त्रिपरिषद् बैठकले दोस्रो वा तेस्रो नम्बरमा सिफारिस भएका र अवकाश नजिक पुगेकालाई सद्भावनाको दृष्टिकोणबाट थोरै समयका लागि भए पनि सचिवमा बढुवा गर्दै आएको थियो । त्यसैले पनि खरेल यसपटक सिफारिसमा परेको भए बढुवा हुने सम्भावना बलियो थियो । यद्यपि, उनको कार्यकाल २० दिनमात्रै हुन सक्थ्यो ।

    यसपटक पहिलो नम्बरमा बढुवा हुन लागेका सहसचिव राउतले बेलैमा तालिम लिएको भए कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिव राजकुमार श्रेष्ठभन्दा अघि नैसचिवमा बढुवा भइसक्ने थिए । यति मात्र नभइ उनीभन्दा वरिष्ठ सहसचिव विरेन्द्रकुमार यादव र लक्ष्मीकुमारी बस्नेतले पनि तालिम लिएको भए राउतभन्दा पनि पहिले नै सहसचिव यादव र बस्नेत सचिवमा बढुवा भइसक्ने थिए ।

    तालिम नलिएर बसेका सहसचिव यादवको सेवा अवधि २०८९ असार १५ गतेसम्म रहेको छ । अहिले नै तालिम लिएर वरिष्ठताका आधारमा सचिवमा बढुवा भएका यादव ५२ वर्षकै उमेरमा अनिवार्य अवकाशमा जाने थिए । यस्तै सहसचिव बस्नतेको सेवा अवधि पनि २०८८ मंसिर २२ गतेसम्म छ । अहिले नै तालिम लिएर सचिवमा बढुवा भएको भए सहसचिव बस्नेत ५३ वर्षको उमेरमा अनिवार्य अवकाशमा जाने थिइन् । यस्तै राउतको सेवा अवधि २०९२ चैत ४ गतेसम्म छ । राउत बढुवाको लाइनमा आइसकेको उनी अब बढुवा भए पनि ४९ वर्षकै उमेरमा उनी अनिवार्य अवकाशमा जाने भएका छन् ।

    सेवा अवधि बढाउँदै थप दुई सहसचिव

    सहसचिव राउत यसअघि नै सचिवमा बढुवा भइसक्नुपर्ने भए पनि उनले तालिम पुरा नगरेकै कारण सचिव बढुवाका लागि सिफारिस हुन सकेको छैन । राउतभन्दा जुनियर सहसचिव राजकुमार श्रेष्ठ र रविलाल पन्थ यसअघि नै सचिवमा बढुवा भइसकेका छन् । श्रेष्ठ कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा छन् भने पन्थ गण्डकी प्रदेश सरकारको प्रमुख सचिव बनाइएका छन् ।

    सहसचिव राउतका समकक्षीका अनुसार राउतले निजामती सेवाको कार्यकाल लम्ब्याउनका लागि तालिम नलिएर बसेको बताएका छन् । तर, सहसचिव राउनले भने तालिम लिइरहेको बेला चिवमा कोरोना संक्रमण भएपछि बिचैमा तालिम छुटेकाले ढिलाई भएको बताएका छन् ।

    राउतमात्रै नभएर तालिम नलिएकै कारण सहसचिव बिरेन्द्रकुमार यादव र लक्ष्मीकुमारी बस्नेत पनि सचिव बढुवाका लागि सिफारिस हुन सकेका छैनन् । यादव र बस्नेत राउतभन्दा वरिष्ठ सहसचिव हुन् । यस्तै अर्का वरिष्ठ सहसचिव कमलप्रसाद पोखरेल पनि बढुवा हुन सकेका छैनन् । पोखरेल यादव भन्दा जुनियर भए पनि अरु सबैभन्दा वरिष्ठ हुन् ।

  • रक्षा मामिलाका विशेषज्ञ मिनेन्द्र, रक्षामन्त्रालयकै नेतृत्वमा

    रक्षा मामिलाका विशेषज्ञ मिनेन्द्र, रक्षामन्त्रालयकै नेतृत्वमा

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेस प्रमुख प्रतिपक्षमा रहँदा छायाँ ‘अर्थमन्त्री’ रहेका रिजाल अन्ततः सुरक्षासँग सम्बन्धित रक्षामन्त्रालयको नेतृत्वमा पुगेका छन् ।

    यद्यपि रक्षा क्षेत्र रिजालका लागि नौलो होइन । माओवादी सेनाका लडाकु समायोजन समितिको सदस्यका रूपमा ६ वर्षसम्म योगदान गरेका रिजालको रक्षा क्षेत्रकै अध्येता पनि हुन् । उनले अमेरिकाको हवाईस्थित एसिया प्यासिफिक सुरक्षा अध्ययन प्रतिष्ठानबाट सिनियर एक्जेक्युटिभ कोर्स पूरा गरेका छन् । त्यस्तै अमेरिकाकै वासिङ्टन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीबाट पनि सिनियर एक्जेक्युटिभ कोर्स पूरा गरेका छन् ।

    माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारमा संस्कृतिमन्त्री रहेका रिजाल सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री रहेका थिए । रिजालले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

    तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीको संयोजकत्वमा गठित राष्ट्रिय सुरक्षा नीति निर्माण समितिको सदस्यका रूपमा भूमिका निर्वाह गरेका रिजालकै संयोजकत्वमा २०६६ सालमा राष्ट्रिय सुरक्षा नीतिको अवधारणा पत्र निर्माण गरिएको थियो ।

    राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजका तर्फबाट राष्ट्रिय सुरक्षा नीतिको अवधारणा पत्र बनाएर तत्कालीन सरकारलाई बुझाइएको थियो ।

    नेपाली कांग्रेसभित्र प्रष्टवक्ताको रूपमा चिनिने रिजाल गत संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।