Tag: यु-१६ क्रिकेट

  • प्रदेशस्तरीय यु-१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

    प्रदेशस्तरीय यु-१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

    रुपन्देही । दाङलाई ६५ रनले हराउँदै रुपन्देहीको भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय टी-२० अन्डर-१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले चुमेको छ ।

    शनिबार सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ३ विकेटको क्षतिमा १५४ रनको योगफल बनाएको थियो । दाङले भने उपविजेतामै चित्त बुझायो ।

    रुपन्देहीका लागि आशिष रोकाले सर्वाधिक ४४ रनको योगदान गरे । ३२ बलको सामाना गरेका उनले दुई छक्का र एक चौका प्रहार गरे । यस्तै, ४२ बलमा विशाल भुसालले ५ चौकाको मद्दतमा ४१, सन्तोष साउदले २५ र प्रकाश गिरीले २१ रन बनाए । बलिङमा दाङका आयुष ओली, सुमन बसौंदी र मनोज पुनले समान १/१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको दाङ १७ ओभर २ बलमा सबै विकेट गुमाएर ८९ रनमै सीमित रह्यो । उसका लागि मनोज पुनले ३९, प्रभाकर कुँवरले १६ र रोहित डाँगीले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।

    उसलाई सस्तैमा रोक्न ३ ओभर बलिङ गरेका रुपन्देहीका सन्तोष यादवले एक मेर्डन राख्दै १२ रन खर्चेर ३ विकेट लिए । उनी म्यान अफ द फाइनल भए । यस्तै, सुमित पराजुली र अमर मिश्राले २÷२ तथा सुरज खड्का र सेजाद आलमले समान १/१ विकेट लिए ।

    प्रतियोगितामा १३७ रन र ६ विकेट लिएका दाङका आशिष ओली म्यान अफ द सिरीज भए । १३५ रन बनाएका रुपन्देहीका प्रकाश गिरी बेष्ट ब्याट्सम्यान भए भने १३ विकेट लिएका रुपन्देहीकै सन्तोष यादव बेष्ट बलर भए ।

    प्रतियोगितामा उपाधि विजेता रुपन्देही र उपविजेता दाङलाई लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय, पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचन, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धर्मराज गिरी लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

  • भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु-१६ क्रिकेट हुँदै

    भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु-१६ क्रिकेट हुँदै

    रुपन्देही । भैरहवामा प्रदेशस्तरीय यु-१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा शनिबारबाट प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

    पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय यु-१६ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले जानकारी दिए । ‘हामीले क्रिकेटलाई बलियो बनाउन चाहन्छौं, यसैको सिलसिलामा तल्लो तहबाटै राम्रा खेलाडीहरू उत्पादन होउन भनेर प्रतियोगिता आयोजना गरेका हौं’, उनले भने ।

    प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरू छनोट गरिएको थियो । छनोट गरिएका खेलाडीबाट प्रत्येक जिल्लाका १/१ टिम गरी १२ टीमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर-१६ विश्वकपका लागि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले बताए । ‘तल्लो तहबाटै खेलाडी छनोट गरी राम्रो राष्ट्रिय टिम बनाउन यस किसिमका प्रतियोगिताले सहयोग पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

    रुपन्देही र समग्र लुम्बिनी प्रदेशले राष्ट्रिय क्रिकेटको विकासमा ठूलो योगदान गरेको भन्दै खड्काले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन यहाँ हुने प्रतियोगिताले भूमिका खेल्ने बताए । रुपन्देहीबाट मात्रै राष्ट्रिय क्रिकेट टिममा रहेर ९० बढी खेलाडीले योगदान गरेका छन् ।

    राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जिल्ला-जिल्लामा लुकेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन यस किसिमका प्रतियोगिताले थप सहयोग गर्ने बताए । ‘रुपन्देही राम्रा खेलाडी उत्पादन गर्ने जिल्ला हो, यस क्षेत्रमा हुने तल्लो तहका खेलले राष्ट्रि टीमलाई भविष्यमा थप मजबुत र बलियो बनाउँछ’, उनले भने । सन् २०३९ मा हुने यु-१६ विश्वकप खेल्नका लागि अहिले भइरहेका प्रतियोगिताले टिम तयार गर्न र विश्वकटमा छनोट हुने उनले विश्वास व्यक्त गरे ।

    पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले खेलसँगै खेलाडीलाई पोषणको आवश्यक पर्ने भएकाले बलियो नेपालले पोषण र खेलकुदलाई सँगै बढाउने उद्देश्यले क्रिकेट आयोजना गर्नु राम्रो सन्देश भएको बताए । उनले भैरहवामा हुने प्रतियोगिताले राष्ट्रिय क्रिकेटमा टेवा पुग्ने जनाए ।

    चैत्त २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगिताले आगामी दिनमा खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पहिलोपल्ट लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय क्रिकेट आयोजना गरिए पनि आगामी दिनमा सबै प्रदेशमा आयोजना गरिने बलियो नेपालले जनाएको छ ।