Tag: युरो २०२

  • फ्रान्स भर्सेज जर्मनी: समूह ‘एफ’मा युरोपका दुई उत्कृष्ट टोलीको भिडन्त

    फ्रान्स भर्सेज जर्मनी: समूह ‘एफ’मा युरोपका दुई उत्कृष्ट टोलीको भिडन्त

    काठमाडौं । पछिल्ला दुई विश्वकप विजेता- फ्रान्स र जर्मनी मंगलबार राति हुने समूह ‘एफ’को दोस्रो खेलमा आमनेसामने हुँदैछन् । जर्मनीको म्युनिखमा हुने यो खेल युरोपकै दुई उत्कृष्ट टोलीको लडाईं हुने फ्रान्समा मुख्य प्रशिक्षक डिडियर देसच्याम्पले बताएका छन् ।

    २०१८ मा विश्वकप विजेता बनेको फ्रेन्च टोली यो युरो २०२० जित्दै इतिहास दोहोर्‍याउन चाहन्छ । यसअघि १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रेन्च टोलीले २००० मा युरो पनि जितेको थियो । एक खेलाडीको रूपमा विश्वकपपछि लगातार युरो जितेका देसच्याम्प यसपटक प्रशिक्षकको रूपमा इतिहास दोहोर्‍याउन चाहन्छन् ।

    इतिहास दोहोर्‍याउने सोचमा रहेको फ्रेन्च टोली समूह ‘एफ’मा दुई ठूला टोलीसँग परेको छ । समूह एफमै रहेको पोर्चुगलले गत संस्करणको फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । यस्तै अर्को टोली जर्मनी आयोजक फ्रान्ससँग सोही प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको थियो ।

    जर्मनीमा खेलेका पछिल्ला पाँच खेलमा फ्रान्स अपराजित छ । तर, जोचिम लोको जर्मनीले भने अहिलेसम्म युरोको पहिलो खेलमा पराजय बेहोरेको छैन । अन्तिम पटक २००४ मा पोर्चुगलमा भएको युरोको पहिलो खेलमा जर्मनी नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

    जर्मनी अहिले फिफा बरियताको १२औं स्थानमा छ । यद्यपि, देसच्याम्पले जर्मनीभन्दा बलियो प्रतिस्पर्धी प्रतियोगितामा नभएको बताएका छन् ।

    ‘भोलिको खेलमा हाम्रो प्रतिद्वन्दीको कारण यो खेललाई उत्कृष्ट बनाउने छ,’ फ्रान्सका मुख्य प्रशिक्षक देसच्याम्पले भने, ‘यो युरोपका दुई उत्कृष्ट टोलीबीच एक रोमाञ्चक खेल हुनेछ, त्यसैले हामी रक्षापंक्तिमा विशेष ध्यान दिएर ‘क्लिनिकल’ अट्याकमा जोड दिनेछौं ।’

    जर्मनी र फ्रान्सबीचको यो भेट ठूला प्रतियोगितामा छैठौं पटक हुन लागेको हो । तर, समूह चरणमा भने पहिलो पटक भिड्न लागेका हुन् । हेड टू हेड रेकर्ड हेर्ने हो भने दुवै टोलीले २-२ पटक जितेर १ खेलमा बराबरी खेलेका छन् ।

    २०१४ विश्वकप यता फ्रान्सले ठूला प्रतियोगिताका १९ खेलमध्ये १४ खेलमा जित हासिल गरेको छ, जुन अन्य टोलीको तुलनामा सबैभन्दा धेरै हो ।

  • युरो २०२०: इङ्ल्यान्डको विजयी सुरुआत

    युरो २०२०: इङ्ल्यान्डको विजयी सुरुआत

    काठमाडौं । क्रोएसियालाई १-० गोलको नतिजामा पराजित गर्दै युइएफए युरो २०२० मा इङ्ल्यान्डले विजयी सुरुआत गरेको छ । समूह ‘डी’ अन्तर्गत इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा घरेलु टोलीले विश्वकप २०१८ को उपविजेताविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्यो ।

    इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङले एक मात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५९औं मिनेटमा स्टर्लिङले गरेको एक मात्र गोल इङ्ल्यान्डलाई महत्त्वपूर्ण जित दिलाउन पर्याप्त भयो ।

    उनले काल्भिन फिलिप्सको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै सोझै गोलमा परिणत गरेका थिए ।

    जितसहित प्रतियोगिताको सुरुआत गरेको इङ्ल्यान्डले दोस्रो खेलमा शनिबार स्कटल्यान्डको सामना गर्नेछ । यस्तै पराजित क्रोएसिया शुक्रबार हुने आफ्नो दोस्रो खेलमा चेक गणतन्त्रविरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।