Tag: मोतिलाल दुगड

  • बधाईका फोनले हैरान पूर्वमन्त्री दुगड !

    बधाईका फोनले हैरान पूर्वमन्त्री दुगड !

    काठमाडौं । नाम मात्र होइन, थर पनि एउटै । दुवैजना एउटै क्षेत्रमा । अनि मान्छेहरु नझुक्किउन् किन ? पूर्वमन्त्री तथा उद्योगी मोतिलाल दुगडको आज बिहानदेखि फोनको घन्टी बजेको बज्यै छ । उठाएर हेल्लो पनि भन्न नपाइ उताबाट बधाई आइहाल्छ । ‘म त्यो मोतिलाल दुगड’ होइन भनेर सम्झाउँदा सम्झाउँदै उनी हैरान छन् ।

    सरकारले आज संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट वितरण हुने मानपद्वी तथा विभुषणको सुची सार्वजनिक गरेसँगै दुगडले बधाई खान थालेका हुन् । जनसेवाश्री पदक पाउनेको सुचीमा ‘मोतिलाल दुगड’ नाम छ । उद्योगी पनि भनिएको छ । तर, त्यो उनी होइनन् ।

    यी मोतिलाल सेन्चुरी मसला उद्योगका मालिक तथा होटल व्यवसायी हुन् । उनी राजनीतिमा समेत सक्रिय छन् । २०६४ सालमा सरिता गिरीले नेतृत्व गरेको सद्भावना पार्टीबाट उनी सभासद बनेका थिए । २०७० सालमा आफ्नै दल खोलेर पछि त्यसलाई एमालेमा गाभे । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी तत्कालीन एमालेबाट समानुपाति सांसद बनेका हुन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटतासँगै उनी अघिल्लो सरकारमा राज्य मन्त्री बनेका थिए । मन्त्रिपरिषद हेरफेरका क्रममा राज्यमन्त्रीबाट हटेपछि उनले प्रधानमन्त्रीको सल्लाहकारको रूपमा पनि भूमिका निभाए । साथै, थुप्रै संख्यामा उद्योगी-व्यवसायीलाई उनले एमालेमा प्रवेश गराएका थिए ।

    पदवी पाउने मोतिलाल दुगड सनराइज बैंकका अध्यक्ष तथा एमभी दुगड ग्रुपका अध्यक्ष हुन् । उनको बैंक, अटोमोबाइल्स र उत्पादनशील क्षेत्रमा लगानी छ । उनी राजनीतिमा भने छैनन् ।

    रोचक के भने अघिल्ला मोतिलाल राज्यमन्त्री बन्दा उनलाई पनि बधाईका फोनले दिक्क पारेका थिए । त्यसबेला उनले फोनै अफ गरेर राख्नुपरेको थियो ।

    आममानिसहरू मात्र होइन, कहिलेकाहीँ सञ्चारमाध्यम पनि झुक्किने गरेका छन् । एउटा मोतिलाल दुगडको समाचारमा अर्कोको तस्बिर प्रयोग भएको पनि पाइन्छ ।

    पूर्वराज्यमन्त्री दुगडले आफूलाई बिहानैदेखि बधाईका धेरै फोन आइरहेको र आफूले सबैलाई सत्यता बुझाइरहेको बताए । ‘उनले भने, एमभी दुगड ग्रुपका अध्यक्षले प्रवल जनसेवाश्री पदक पाउँदा मलाई खुशी लागेको छ । उहाँ त्यसका लागि योग्य व्यक्ति पनि हो,’ उनले नेपाल प्रेससँग भने ।

  • ‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’

    ‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दोस्रो दिन पनि वार्ता भएको छ ।

    नागपोखरीस्थित मेरियट होटलमा बिहीबारको वार्ता करिब डेढ घण्टा चलेको थियो । वार्ता सकिएलगत्तै ओली होटलबाट बाहिरिएका थिए भने माधव नेपाल प्रधानमन्त्रीका आर्थिक सल्लाकार मोतिलाल दुगडसँग छलफलमा जुटेका थिए । दुगड जसले नेताद्वयबीचको वार्ताको व्यवस्थापन मिलाएका हुन् ।

    संचारकर्मीसँग प्रतिक्रिया दिँदै दुगडले भने, ‘तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ । यो घाउ एक दुई ओटा वार्तामा टुंगिदैन । यो वार्ता हिजोभन्दा आज सकारात्मक भयो । आजभन्दा भोलि सकारात्मक हुने छ । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । पार्टीलाई टुट्न दिनु हुन्न यही विषयमा छलफल भएको छ ।’

    वार्ता सकिएपछि माधव नेपालले मसँग चिया खाउँ भनेकोले केही क्षण चिया पिएर बसेको दुगडले जानकारी दिए । उनले भने, ‘उहाँले चियामा अलिकति चिनी कम भयो भनेर थप्नुभयो । अरु कुरा भएन । तर, उहाँको स्पष्ट धारणा के छ भने म यो पार्टीलाई टुटाउने पक्षमा छैन । यो पार्टीलाई जोडेरै जान्छु भन्नुभएको छ ।’

  • माधव नेपाल मेरियटभित्रै मोति दुगडसँग छलफलमा

    माधव नेपाल मेरियटभित्रै मोति दुगडसँग छलफलमा

    काठमाडौं । विभाजनको डिलमा रहेको नेकपा एमालेको एकता जोगाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज दोस्रो दिन पनि वार्ता भएको छ ।

    दिउँसो करिब साढे २ बजेदेखि शुरू भएको वार्ता झण्डै ४ बजेसम्म चलेको थियो । वार्तास्थल नागपोखरीस्थित होटल मेरियट प्रधानमन्त्री ओली बाहिरिसकेका छन् । नेपाल भने होटलभित्रै प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडसँग छलफलमा छन् ।

    हिजो साँझ भएको वार्ताको लागि मेरियटको ९०१ नम्बरको स्वीट रुम भने दुगडकै नाममा बुक गरिएको थियो । नेताद्वयबीचको वार्ताको व्यवस्थापनको चाँजोपाँजो दुगडले मिलाएका हुन् ।

  • किन धमाधम एमाले पस्दैछन् उद्योगी ?

    किन धमाधम एमाले पस्दैछन् उद्योगी ?

    काठमाडौं । गत शुक्रबार देशका करिब दुइ सय ३५ जना उद्योगीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर एमालेमा प्रवेश गराए । त्योभन्दा अघि पनि उद्योगी धमाधम एमालेमा प्रवेश गर्दै थिए भने अझै केही लाइनमा छन् ।

    अर्घाखाँची सिमेन्टका सञ्चालक उद्योगपति राजेशकुमार अग्रवाल मंगलबार नेकपा एमालेमा भित्रिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमै एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिको लगाएर पार्टीमा स्वागत गरेका थिए ।

    प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड केही दिनमा नै एक सय ५० जना उद्योगी–व्यवसायी नेकपा एमाले प्रवेश गर्न तयारीमा रहेको बताउँछन् । उनले भने, ‘प्रधानमन्त्रीले निजी क्षेत्रको कुरा बुझ्नुभएकाले उद्योग र व्यावसायी एमालेमा आकर्षित भएका हुन् ।’

    ओली प्रधानमन्त्री भएर आएपछि देशका उद्योगी र व्यापारीमाथि चन्दा आतंक बन्द भएको, बन्द–हड्ताल अन्त्य भएकाले व्यवसायी सकारात्मक बनेको उनको दावी छ । विश्वको राजनीतिमा पनि ठूला व्यापारी र उद्योगपतिले गरेको भन्दै दुगडले नेपालमा पनि त्यही ट्रेन्ड सुरु भएको उल्लेख गरे ।

    ‘नेपालमा उद्योगी र व्यापारीले राजनीति गर्न हुँदैन भन्ने मान्यता छ । तर देशको अर्थतन्त्रमा ठूलो योगदान गरेका उद्योगी–व्यवसायी पनि आर्थिक परिवर्तनका लागि राजनीतिक पाटीसँग जोडिनु स्वभाविक हो,’ उनले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा आएर आफुले उद्योग राज्यमन्त्रीको भूमिका निर्वाह गर्दा निजीक्षेत्रका समस्या समाधान गरिदिएको दुगडले दावी गरे । आफूले व्यवसायीका कुनै पनि सरकारी काम तीन दिनभित्र सकिने वातावरण निर्माण गरेकाले पनि निजी क्षेत्रका उद्योगी र व्यवसायी एमालेमा आकर्षित भएको उनले बताए ।

    अहिले उद्योगीलाई पार्टी प्रवेश गराउने कामको संयोजन दुगडले नै गरिरहेका छन् । उनले १३ महिना उद्योग बाणिज्य राज्य मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

    प्रधान भन्छन्ः सरकारको कामबाट प्रभावित भयौं

    केही दिनअघि नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोर प्रधानले एमालेको सरकारले निजी क्षेत्रका समस्या समाधानको अग्रसरता देखाएकाले आफूहरु प्रभावित बनेको बताए । उनले भने ‘सरकार निजीक्षेत्र मैत्री भएकाले नै व्यापारी र उद्योगी एमालेतर्फ आकर्षित भएका हुन् । सरकारले निजी क्षेत्रका धेरै समस्या समाधान गरेको छ र बाँकी केही समस्या समाधानतर्फ प्रयास भइरहेको छ ।’

    नेपाल चम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उद्योगी र व्यवसायीले पार्टी प्रवेश गर्नु व्यक्तिगत स्वतन्त्रताको कुरा भएको बताउँछन् । ‘यसमा हामीले खासै टिप्पणी गर्न आवश्यक छैन, यो नितान्त उहाँहरुको वैयक्तिक विषय हो,’ मल्लले भने ।

    राजनीतिक-आर्थिक विश्लेषक अच्चुत वाग्ले भने सत्तारुढ दलमा प्रवेश गरेर उद्योगीहरुले राजनीतिक संरक्षण खोजेको टिप्पणी गर्छन् । ‘राजनीतिक संक्षणविना स्वतन्त्र रुपमा उद्योगधन्दा सञ्चालन गर्न नसकिने अवस्था छ,’ उनले भने, ‘आफ्नो उद्योगधन्दा सहजरुपमा सञ्चालन गर्न र सरकारको प्रिय बन्न यसरी पार्टी प्रवेश भएको हुनुपर्छ ।’

    निजी क्षेत्रका उद्योगी र व्यवसायी  सत्तासँग जोडिन खोज्नु अन्तर्राष्ट्रिय प्रवृत्ति नै भएको वाग्ले बताउँछन् ।