Tag: मोतिपुर झडप

  • मोतिपुरको झडपस्थलमा भेटिए दर्जनौं पेट्रोल बम

    मोतिपुरको झडपस्थलमा भेटिए दर्जनौं पेट्रोल बम

    रूपन्देही । रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार झडप भएको स्थानबाट प्रहरीले ठूलो संख्यामा पेट्रोल बम फेला पारेको छ । झडपका क्रममा आन्दोलनकारीले दर्जनौं प्रहरीलाई पेट्रोलबम हानेर घाइते बनाएका थिए ।

    घटनापछि उक्त क्षेत्रमा खोजी गर्दा सशस्त्र प्रहरीले पेट्रोल बम फेला पारेको हो । घटनापछि खोजतलासका क्रममा बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले बताएको छ । के–कति परिणाममा बरामद गरिएको हो भन्ने यकिन हुन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।

    ‘बरामद भएको परिमाण र को–को व्यक्ति यसमा संलग्न छन् भन्ने अनुसन्धानपछि सार्वजनिक गरिन्छ,’ सशस्त्र प्रहरी स्रोतले भन्यो ।

    आइतबारको झडपमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको थियो । झडपपछि स्थिति नियन्त्रणमा लिन आइतवार साँझदेखि कर्फ्यु जारी गरेको रुपन्देही प्रशासनले आजदेखि कर्फ्यु हटाएको छ । निषेधाज्ञा भने जारी रहेको छ ।

  • मोतिपुर झडपमा घाइते सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं पठाइयो

    मोतिपुर झडपमा घाइते सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं पठाइयो

    रुपन्देही । आइतबार मोतिपुर ‌औद्योगिक क्षेत्रमा भएको झडपमा परी घाइते ४ जना सुरक्षाकर्मीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौँ लगिएको हो ।

    रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले झडपमा गम्भीर घाइते नेपाल प्रहरीका २ जना र सशस्त्रका प्रहरीका २ जना गरी ४ थप उपचारका लागि काठमाडौँ लगिएको जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो ।

    यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको छ । मोतिपुरमा जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच भएको झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको रुपन्देहीका प्रहरी प्रवक्ता मनोज केसीले बताए । प्रहरी प्रमुख केसीका अनुसार आइतबारको झडपमा नेपाल प्रहरीका ३३ जना घाइते भएका थिए ।

    घाइतेमध्ये २ जनालाई काठमाडौँ पठाइएको र ७ जना भैरहवा मेडिकल कलेजमा उपचाररत रहेको उनले बताए । घाइते भएका अन्य प्रहरी भने उपचारपछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताए । यस्तै सशस्त्र प्रहरीका प्रवक्ता निराकरनाथ शुक्लाले आइतबारको झडपमा २३ जना सशस्त्र प्रहरी घाइते भएको बताए । घाइतेमध्ये काठमाडौं रिफर गरिएका २ जना बाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएको शुक्लाले बताए ।

    अहिले मोतिपुर क्षेत्रको अवस्था सामान्य रहेको प्रहरी प्रमुख केसीले बताए । अवस्था सामान्य भए पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।