Tag: मेलम्ची खानेपानी

  • मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्यले गति लियो, चैतभित्र काठमाडौंमा पानी ल्याउने तयारी

    मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्यले गति लियो, चैतभित्र काठमाडौंमा पानी ल्याउने तयारी

    सिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

    चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए।

    गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए । मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ ।

    गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।

    मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंक (एडिवी)ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताए । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए।रासस

  • मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक खुलाउन शुरु

    मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक खुलाउन शुरु

    काठमाडौं । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ ।बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ ।

    मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो ।

    पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ । त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ । केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ ।

    यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन् । त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ । न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ । चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ । केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ ।

    राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन । आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए ।

    उनका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ । पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उनले बताए । उनले भने, ‘सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौ ।’

    पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । त्यतिबेला झण्डै एक अर्बको क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ ।

    प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए । पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उनी बताउँछन् ।

    आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन । आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए । पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ । उनले भने, ‘त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ ।’

    आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ । फरकफरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताए ।

    सडक, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्नेछ । अहिले मन्त्रालयले ती निकायसँग कसले के गर्ने भनी छलफल गरिरहेको छ । उनी भन्छन्,‘एउटै मन्त्रालय र निकायसँग विशेषज्ञता पनि नहुने र समय बढी लाग्ने भएकाले सबै मिलेर छिटो गर्ने योजना छ ।’

    मेलम्ची आयोजनामा भएको क्षतिको विस्तृत अध्ययनका लागि बैंकको सहयोगमा भौगर्भिक अध्ययन सुरु भएको छ । यो ठाउँमा पहिरो यो वर्ष मात्रै आएको हो कि अरु वर्षमा पनि खतरा छ भनेर अध्ययन गर्न लागिएको हो । यहाँको भूगोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो ।

    गत वर्ष उपत्यकावासीले केही महिनासम्म मेलम्चीको पानी उपभोग गर्न पाएका थिए । यो वर्षभित्रमा पुनःपानी ल्याउने सरकारको योजना छ । सडक, पुललगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिनेछ ।

    पानी ल्याउने र अरु काम सम्पन्न गर्ने फरक समय लाग्ने देखिएको छ । तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संरचनामा रहेका अवरोध हटाएर पुनःपानी ल्याउन सकिन्छ । अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ । उले भने ‘पानी जतिसक्दो चाँडो ल्याइनेछ भने मर्मतको काम पनि चालू गरिनेछ ।’

    उपत्यकावासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । यहाँको जनसङ्ख्या बढिरहँदा भएको स्रोत घट्दै गएकाले वर्षेनी खानेपानीको समस्या अझै विकराल बनिरहेको थियो । सरकारले दुई दशक पहिले मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने योजना बनाएको थियो । योजना निर्माण सुरु भएको लामो समय पछि बल्ल सम्पन्न भयो ।

    झण्डै तीन महिना घरघरमा पानी आएकामा आयोजनाको परीक्षणकै क्रममा पहिरोले पुनःसंरचनामा क्षति पु¥याएको छ । काठमाडौंवासीले कहिलेसम्म पानी पाइन्छ भनेर चासो राखिरहँदा यहाँको क्षतिको मर्मत पनि सजिलो देखिएको छैन ।

    उपत्यकामा रहेको खानेपानीको समस्या समाधानकै लागि मेलम्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ । काठमाडौं उपत्यका र उपत्यका आसापासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको छ ।

    आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ । कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ । मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उनले बताए । रासस

  • बाढीमा फसेका मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन

    बाढीमा फसेका मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बाढीमा फसेका मेलम्ची खानेपानी आयोजना ७८ कामदारलाई उद्धार गरिएको छ ।  ८ जना भने अझै सम्पर्कविहीन छन् ।

    हेलम्बु गाउँपालिका-१ आम्बाथानमा रहेको आयोजनाको हेडवर्क्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता छन् । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौं अस्पताल पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।

    मंगलबारको लगातार वर्षासँगै हेलम्बुको आयोजनामाथिबाट पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको केही संरचनामा क्षति पुगेको छ । मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो । सो क्रममा कामदारहरू बाढीमा फसेका थिए ।

    बाढीले आयोजनाको क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक तथा पुललगायतका सरंचना बगाएको छ। आयोजनाको मुख्य बाँध यथास्थितिमा रहेको देखिएको छ भने आयोजनाको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति नभएको पन्तले जानकारी दिए ।

    यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए । हेडवर्क्सनजिकैको क्याम्प साईट बाढीले बगाएपछि रातिदेखि नै स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार शुरू गरेको थियो ।

    बाढीले मेलम्ची बजारको दुई सयभन्दा बढी घरहरू डुबानमा पर्नुको साथै ७ जनाले ज्यान गुमाएका छन् ।

  • मेलम्ची आयोजनाको लेवर क्याम्प बाढीले बगायो, मजदुरको अवस्था ‘अज्ञात’

    मेलम्ची आयोजनाको लेवर क्याम्प बाढीले बगायो, मजदुरको अवस्था ‘अज्ञात’

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा क्षति पुगेको छ । आयोजनाको संरचनामा भने सुरक्षित रहेको मेलम्ची खानेपानी विकास समिति बताउँछ ।

    हेलम्बु गाउँपालिका-१ आम्बाथाङमा रहेको मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको क्याम्प बाढीले बगाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘खानेपानीको मुहानमा रहेको हेडवर्क्समा बाढी पस्यो । संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित छ । तर हेडवर्क्सभन्दा तल रहेको लेभर क्याम्प बगाएको छ ।’

    लेवर क्याम्पमा हेडवर्क्स निर्माण गरिरहेका कामदारहरू बस्ने गरेका थिए । बाढीले क्याम्प बगाएपछि त्यहाँका कामदारको अवस्थाबारे जानकारी नआइसकेको पन्तको भनाइ छ । तर, क्याम्पभित्र हताहति भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

    प्रवक्ता पन्तले भने, ‘हेडवर्क्सका संरचनाहरू सबै पानीले डुबाएको छ । सरंचनाहरू पानीमुनि देखिन्छन् । तर क्षति देखिएको छैन अहिलेसम्म । पानी कम भएपछि मात्रै एकिन भन्न सकिन्छ ।’

    खानेपानीको मुहानको गेट बन्द गरिएकाले सुरुङ सुरक्षित रहेको उनले बताए । सडक अवरुद्ध भएका कारण उक्त स्थानमा जान सम्भव नभएको उनको भनाइ छ ।

    मेलम्ची आयोजनाकै दोस्रो चरणको निर्माणस्थल याङ्ग्री र लार्केमा रहेको क्याम्पमा पनि क्षति पुगेको छ । पाचँपोखरी थाङपाल गाउँपालिकाको इन्द्रावति खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको प्रवेशमार्गमा क्षति पुगेको हो । कामदारहरू बसेको क्याम्पमा समेत क्षति पुगेको छ ।

  • मेलम्चीको पानी भक्तपुरमा पनि खस्यो, स्थानीय दंग

    मेलम्चीको पानी भक्तपुरमा पनि खस्यो, स्थानीय दंग

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।

    भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण शुरु गरिएको हो ।

    सो अवसरमा सांसद बस्नेतले भने, ‘पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौँ, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, अब पानीको समस्या समाधान हुन्छ ।’

    उनले मध्यपुरथिमिभित्र पनि लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नुपर्नेमा जोड दिए । स्थानीयवासीको समस्या हल गर्दै जानुपर्नेमा जोड दिँदै उनले नीलबाराहीमा थप पानी ट्याङ्की निर्माण गर्नुपर्ने र कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    मेलम्चीको पानी काठमाडौं आउने कथा मात्रै हो भन्नेलाई सरकारले पानी ल्याएर देखाइदिएको चर्चा गर्दै नगर प्रमुख श्रेष्ठले भने, ‘अहिले मध्यपुरथिमिका बासिन्दाका लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण शुरु भयो, अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर पानी वितरण हुन्छ, अब विस्तारै पानीको समस्या समाधान हुन्छ ।’

    मध्यपुरथिमि नगरपालिकाले यहाँका प्रत्येक गल्लीमा पुरानो पाइपको ठाउँमा नयाँ पाइप जडान गरेको, नगरपालिकाको करिब चार करोड र खानेपानी बोर्डको समेत गरेर ६ करोडमा नयाँ पाइप लाइन विस्तार गरेको भन्दै उनले १९ करोडको लागतमा ट्र्याक लाइन विस्तार गरेकाले मध्यपुरथिमिमा मेलम्चीको पानी चुहावट हुने सम्भावना निकै कम रहेको जिकिर गरे ।

    उनका अनुसार बोडे टिगनीबाट काठमाडौं अनामनगर पठाइएको पानी मेलम्ची आएपछि रोकेर लोकन्थलीमा वितरण प्रणाली मिलाइएको छ ।

    कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौं झरेपछि ९० प्रतिशत पानी काठमाडौंमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताए ।

    पुरानो पाइप लाइनबाट पानी चुहावट हुने र पाइप फुट्ने गरेको उल्लेख गर्दै उनले ३२० ठाउँमा भएको चुहावटमध्ये २०० ठाउँको चुहावट रोकेको बताए । अब ल्याङ्ग्री र लार्केबाट थप पानी ल्याई तीन वर्षपछि काठमाडौंमा दैनिक ३४ करोड लिटर पानी झारेपछि २४ सै घण्टा पानी वितरण गर्न सकिने उनको भनाइ थियो ।

    कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी प्रणालीमा आएपछि भक्तपुरको पुरानो प्रणालीबाट पानी वितरण शुरु हुने बताए ।

    मेलम्चीमा नियमित पानी आउने र यहाँ हिउँ पग्लेरसमेत पानी आउने भएकाले अब पानीको समस्या नहुने भन्दै उनले आगामी तीन वर्षपछि नयाँ परियोजना सकिएर व्यवस्थितरूपमा सबै ठाउँमा मेलम्चीको अन्तर्राष्ट्रिय गुणस्तरयुक्त पानी वितरण गर्न सकिने बताए ।

  • अझै मेलम्चीको पानी वितरण भएन

    अझै मेलम्चीको पानी वितरण भएन

    काठमाडौं । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी वितरण शुरु हुन नसकेको हो ।

    कतिपय स्थानमा पाइप बिच्छ्याउन, लिफ्ट बनाउन वा ‘क्रसिङ’ मा आवश्यक संरचना बनिनसकेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमा मध्यपुरठिमी, भक्तपुर, कीर्तिपुरलगायतका स्थानमा संरचना बन्न बाँकी भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

    उनका अनुसार चक्रपथभित्र र आसपासका क्षेत्रमा मात्रै अहिले पानी वितरण भइरहेको छ । उनले भने, ‘कीर्तिपुर र भक्तपुर जिल्लामा थप पानी आएपछि र संरचना बनिसकेपछि मात्र पानी वितरण हुनेछ ।’ लिमिटेडले कीर्तिपुरमा लिफ्ट बनाइरहेको छ र त्यो बनिसकेपछि त्यहाँ पानी वितरण हुनेछ ।

    मध्यपुरमा क्रसिङमा आवश्यक संरचना निर्माण भएको छ । त्यो ‘सेटिङ’ हुन कम्तीमा २८ दिन लाग्ने निर्देशनालयका सूचना अधिकारी जगत प्रजापतिले बताए । उनका अनुसार त्यहाँ काम शुरु भएको दुई साता भयो । अबको दुई सातामा पानी वितरण गर्न सकिने उनले बताए । उनले भने, ‘ठिमीको ट्याङ्कीमा पानी गइसकेकाले अब दुई हप्तामा त्यस क्षेत्रका बासिन्दाले पनि पानी पाउनेछन् ।’

    राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजना निर्माण शुरु भएको दुई दशकमा सम्पन्न भएपछि अहिले उपत्यकामा पानी ल्याइएको छ । मेलम्चीको पानी काठमाडौँसम्म ल्याउन सुरुङ, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी आयोजनाको हो । यसमध्ये सुरुङ र प्रशोधन केन्द्र सम्पन्न भएकाले पानी वितरण भइरहेको छ ।

    सुन्दरीजलबाट उपभोक्ताका घर-घरसम्म पानी वितरणका लागि आवश्यक ट्याङ्की र पाइपलाइन बनाउने काम आयोजना कार्यन्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरणको काम लिमिटेडले गरिरहेको छ ।

    निर्देशनालयले उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएकामा अहिलेसम्म ९ ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा निर्माण भइरहेको छ । यी सबै पोखरीमा निर्देशनालयले परीक्षणसमेत गरिरहेको छ । अहिले उपत्यकामा अधिकांश स्थानमा पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको निर्देशनालयले जनाएको छ ।

  • राष्ट्रपतिले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन (तस्बिरहरु)

    राष्ट्रपतिले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन (तस्बिरहरु)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको समुद्घाटन गरेकी छन् ।

    भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।

    उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी छन् ।

    उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी छन् । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ ।

    उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका छन् ।

    भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ ।

    काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

    हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

    त्यस्तै आजदेखि बालाजु ट्यांकीबाट त्यस क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

               

     

     

     

     

  • हाेलीमा मेलम्चीकाे पानीले नुहाउन पाइने, कति बजे खस्छ धारामा ?

    हाेलीमा मेलम्चीकाे पानीले नुहाउन पाइने, कति बजे खस्छ धारामा ?

    काठमाडौं । दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आजदेखि मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकावासीको घर–घरमा वितरण सुरु गरिँदैछ ।

    मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत सबै धारामा पानी पुर्‍याउन लागिएको आयोजनाले जानकारी दिएको छ ।

    आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

    ‘हामीले विहान ८ बजेदेखि नै पानी छोड्न लागेका थियौं । सुन्दरीजल क्षेत्रमा हिजो रातिदखि नै विजुली छैन । प्राधिकरणले ९ बजेसम्म आउँछ भनेको छ,’ निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेससँग भने, ‘११ बजेपछि सुन्दरीजलबाट पानी पठाउन सुरु गछौं, सर्वसाधारणको धारामा २ बजेपछि पानी आउन थाल्नेछ ।’

    अहिले परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि आयोजनाको औपचारिक उद्घाटन भने केहि दिनपछि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिए पनि मिति सार्वजनिक गरिएको छैन । उद्घाटनका लागि भृकुटीमण्डपमा सार्वजनिक धारो निर्माण भइरहेको छ ।

    मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै वितरण हुनेछ ।

    आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पुर्‍याउने गरी तयारी गरिरहेको बताएको छ ।

    आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना सुरु भएको हो । त्यसयता विभिन्न आरोह अवरोह पार गरेको मेलम्ची आयोजना २०७७ मा मात्र पूरा हुने चरणमा पुगेको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्ग हुँदै अघिल्लो महिना सुन्दरीजल झारिएको थियो ।

  • मेलम्चीको सुरुङ परीक्षणका क्रममा वाग्मतीको सतह बढ्न सक्ने

    मेलम्चीको सुरुङ परीक्षणका क्रममा वाग्मतीको सतह बढ्न सक्ने

    रासस । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपील गरेको छ ।

    यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ ।

    पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, ‘एक दुई दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ ।’

    झण्डै दुई दशक पहिले निर्माण शुरु भएको आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो । निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो । सो परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो । मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो । परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौँ उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइनेछ ।

    राष्ट्रिय गौरबको सो आयोजना लामो प्रतीक्षापछि सम्पन्न भएकाले पनि यसले उपत्यकावासीमा आशा जगाएको छ । पानी नियमित वितरण शुरु भएपछि उपत्यकाको खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ ।

    सुरुङ, हेडवर्क र दुई पानी प्रशोधन केन्द्र निर्माण आयोजनाले गरेको हो । पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।