Tag: मेलम्ची आयोजना

  • मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरु, सुधारका काम चाँडै थालिने

    मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरु, सुधारका काम चाँडै थालिने

    सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्‍याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पुर्‍यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो ।

    धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको अध्ययनका क्रममा पाइएको छ । प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ ।

    बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको ‘इनटेक’को भागमा ठोकिएको र त्यसले क्षति पुर्‍याएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोलीले यहाँ पुगेर यसको अध्ययन थालेको छ । यो अध्ययनबाट ठूलो ढुङ्गाले संरचनामा क्षति पुर्‍याएको देखिएका छ ।

    ‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ । उनले भने, ‘निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ ।’

    मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयरद्वय शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थिए । केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो ।

    अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै एक अर्ब ८० करोडको क्षति भएको छ । अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए । यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ । उनले भने, ‘तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन ।’

    पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ । अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकामा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ । उनले भने, ‘अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ ।’

    आयोजनामा दुईपटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ । पहिलोपटक बाढी आएको भोलिपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो । सामान्यतया अरु आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ । आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो ।

    सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधिक पठाएर परीक्षण गरिएको थियो । पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो । पछिल्लोपटक परामर्शदाताबाट अर्को चरणमा निरीक्षण भएको छ । उनले भने, ‘अहिले क्षतिको यकीन गरेर त्यसअनुसार योजना बनाउन खोजिएको हो ।’

    निर्माणस्थलमा रहेका संरचना सफा गर्न धेरै उपकरण लैजानुुपर्ने अनुमान गरिएको छ । त्यसका लागि पहिले प्रवेशमार्गको निर्माण अघि बढ्नुपर्ने प्रवक्ता पन्तले बताए । सडक र पुल बनाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।

    आयोजनामा पुगेको क्षति र सडक तथा पुलमा पुगेको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खानेपानी मन्त्रालय सम्हाल्दै आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ सो स्थानमा पुगेका थिए । उनीहरुसँगै मन्त्रालय, विभाग, समितिका प्रतिनिधि पुगेर स्थलगत अध्ययन भएको थियो ।

    वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण सुरु गर्न सकिनेछ । अस्थायी संरचना बनाउँदा आयोजनामा आवश्यक उपकरण लैजान सकिने उनले बताए । सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयवासी दुबैलाई सजिलो हुनेछ । सडक तत्काल खुलाउने विषयमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको उनले बताए । उनले भने, ‘उनीहरुसँग भएका डोजर र तारजालीलगायत प्रयोग गर्न सकिनेछ ।’

    अहिले नदीमा बाढी आउनसक्ने र यसले दायाँ-बायाँ धार बदल्न सक्ने देखिएको छ । वर्षा कम भएपछि आयोजना पुनःनिर्माण काम सुरु गर्न सकिन्छ । सामान्यतया भदौ महिनासम्म वर्षा हुने भएकाले त्यसपछि काम सुरु गर्न सकिने समितिले जनाएको छ । अहिले तत्काल स्थायीरुपमा सडक निर्माण गर्न नसकिने भए खोलाबाट सडकको ट्र्याक राखेर भए पनि हेडवर्कसम्म पुग्न सकिन्छ । उनले भने, ‘असोजसम्ममा हेडवर्कमा पुग्न सकेमा के कति काम छन् त्यसको लेखाजोखा गरेर त्यसपछि काम सुरु हुन्छ ।’

    अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुङ्गो नभएको प्रवक्ता पन्तले बताउनुभयो । उनका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम सुरु गर्ने अवस्था छैन । अहिले सडक बनाउँदा नदीले बगाउने हुँदा अस्थायी बाटो बनाउन पनि वर्षा सकिनुपर्ने बाध्यता रहेको उनले बताए । कम्तीमा असोजमा काम सुरु गर्न सकिन्छ । निर्माणस्थलसम्म पुग्ने करिब सात किमी सडक बगाएको छ । उनका अनुसार खोलाबाट ढुङ्गा हालेर पनि ट्र्याक बनाएर उपकरण लैजान सकियो भने हेडवर्क सफा गर्ने काम सुरु हुनेछ ।

    हेडवर्कमा क्षति कम भएमा र सुरुङ सफा गरे पुग्ने अवस्थामा काठमाडौँमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ । ‘हेडवर्क’ भन्दा माथिल्लो भागमा रहेको ‘कफर ड्याम’ लाई अस्थायीरूपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताए । ‘कफर ड्याम’ नभई डाइभर्सन नसकिने तर अहिले त्यो हेर्दा त्यो पूरै भत्किएको देखिएको छ ।

    तराईमा नदीमा काम गर्दा बोरामा बालुवा राखेर पनि अस्थायीरूपमा ‘कफर ड्याम’ बनाउने गरिए पनि पहाडमा बाढीको जोखिम भएकाले ध्यान दिनुपर्ने हुन्छ । अस्थायीरूपमा बोरामा ढुङ्गा राखेर बनाउँदा बगाउन सक्ने भए पनि पुनः त्यसलाई बनाउन सकिन्छ । उनले भने, ‘जोखिम अनुमान गरेर र खोलामा बाढी आउँदैन भन्ने भएपछि वर्षा पछि गर्न सकिन्छ ।’

    हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी आएको दिनदेखि नै समितिले सुरुङको निरीक्षण सुरु गरेको थियो । त्यसले गर्दा सुरुङमा धेरै क्षति हुन पाएको छैन । त्यसको निरीक्षण भने अघि नबढेको प्रवक्ता पन्तले बताए । सुन्दरीजल, सिन्धु, ग्यालथुम हुँदै अम्बाथानबाट ‘डिवाटरिङ’ गरेर खण्डखण्डमा हेर्नुपर्ने उनले बताए । अहिले पहिरोले गर्दा अम्बाथान ‘अडिट’ को मुखबाट टालिएको छ । त्यसलाई खोलेर त्यो खण्डको पानी निकाल्न सकियो भने सुन्दरीजल सिन्धु ग्यालथुमबाट हेरेर सुधार गर्न सकिने उनले बताए ।

    नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौँ ल्याउन सकिन्छ । पानी पुनःसुन्दरीजल ल्याउन ‘हेडवर्क डाइभर्सन’ सुरुङ सफा हुनुपर्छ । ‘कफर ड्याम’ को विकल्प भए पनि त्यहाँसम्म पुग्न कठिन दखिएको छ । उनले भने, ‘हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ ।’

    अहिले पनि ‘हेडवर्क’ को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताए । अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उनले बताए । अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ । त्यसको निर्माण र पुनःस्थापना पहिले गर्नुपर्ने उनले बताए । उनले भने, ‘पहुँचमार्गका लागि दुईदेखि तीन बेलिब्रिज हुँदा आमनागरिक र आयोजना दुबैलाई माथिसम्म जान सजिलो हुन्छ ।’

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिब्रिज प्रदान गर्ने भने पनि आइनसकेको प्रमुख श्रेष्ठले बताए । पहुँचमार्ग बनेपछि मात्रै आयोजनाको निर्माणस्थलसम्म पुग्न सकिने उनले बताए । सुरुङ खाली गराएर परीक्षण गर्ने काम निरन्तर हुनेछ । उनका अनुसार अहिले अम्बाथानको पोर्टलबाट पानी बाहिर पठाउन सकिएको छैन । त्यो पठाएपछि निरीक्षण सम्पन्न हुन्छ र त्यसपछि मात्रै क्षति भएका ड्याम र वैकल्पिक ‘डाइभर्सन टनेल’ सफा गरिनेछ । उनले भने, ‘त्यो सबै काम भएपछि मात्रै पुनःकाठमाडौँमा पानी ल्याउन सकिनेछ ।’

    राज्यका सबै संयन्त्र परिचालन भएमा कम्तीमा माघभित्र पानी सुरुङभित्र पठाउन सकिन्छ भनेर कार्यतालिका बनाइएको प्रमुख श्रेष्ठले बताए । आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका काम गर्न आवश्यक देखिएको छ । पहुँचमार्ग निर्माण र क्षति भएका संरचनाको निर्माणको काम सबैभन्दा पहिले गर्न आवश्यक छ ।

    दीर्घकालीनरूपमा लाङटाङ क्षेत्रको एकीकृत जलाधार संरक्षण गर्नुपर्ने छ । स्थानीयवासी र आयोजना दुबैका लागि विपद्को पहिले नै सूचना दिने उपकरण जडान गर्न आवश्यक छ । उनले भने, ‘स्थानीयवासीका लागि एकीकृत बस्ती विकासका लागि छुट्टै परियोजना आवश्यक छ भन्ने माग गरिएको छ ।’

    निर्माण सुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

    कार्यतालिकाका आधारमा असार १ गतेदेखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन ।रासस

  • मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो

    मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो

    काठमाडौं । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको छ । उनीहरु दुवै चिनियाँ हुन् ।

    बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण  पाेखरेलले नेपालप्रेसलाई बताए ।

    उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको र गोगको मेलम्ची दोभानभन्दा केही तल फेला परेको उनले जानकारी दिए ।

    उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ । उनीहरुको साथमा भटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो ।

    सीडीओ नेपालका अनुसार आयोजनाका ७८ कामदारलाई उद्धार गरिएको छ भने अझै ६ जना कामदार सम्पर्कविहीन छन् ।
    उनले भने, ‘अझै पनि केही कामदार बेपत्ता भएको खबर आएकाले खोजी कार्य तीव्र पारिएको छ ।’

    हेलम्बु गाउँपालिका- १ आम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली सम्पर्कविहीन भएका थिए । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी धुलिखेल र काठमाडौं अस्पतालमा राखिएकोे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    मंगलबार परेको अविरल वर्षाका कारण हेलम्बुको आयोजनाभन्दा माथि पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको संरचनामा क्षति पुगेको छ ।

    आयोजना नजिकैको मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो भने आयोजनामै कार्यरत कामदारहरु बाढीमा फसेका थिए । बाढीका कारण मेलम्ची बजारको दुईसय भन्दा बढी घरहरु डुबानमा पर्नुको साथै ७ जनाले ज्यान गुमाइसकेका छन् ।

  • मेलम्चीको पानी वितरणमा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन

    मेलम्चीको पानी वितरणमा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन

    काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी वितरण गर्दा उत्पन्न समस्यालाई समाधान गर्न विशेष कार्यदल गठन भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ र खानेपानीमन्त्री मणिचन्द्र थापाको उपस्थितिमा दुई मन्त्रालयबीच संयुक्त बैठक बसी कार्यदल गठन गरिएको हो ।

    मेलम्ची आयोजनाको पानी वितरण गर्दा काठमाडौं उपत्यकाको सडकमा परेको समस्यालाई तत्काल समाधान गर्न दुवै मन्त्रालयको प्रतिनिधि सम्मिलित ५ जनाको ‘विशेष कार्यदल’ गठन गरिएको भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव कल्पना वाइवाले जानकारी दिइन् ।

    उनले नेपालप्रेससँग भनिन्, ‘यो कार्यदलले काठमाडौं उपत्यकाको मेलम्ची आयोजनाको खानेपानी वितरण कार्यक्रमले सिर्जना गरेको समस्याको समाधान गर्नेछ ।’

    गत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण गर्न थालिएको थियो । तर पुरानो पाइपलाइनमा पानी पठाउँदा उपत्यकाका विभिन्न स्थानमा पानीको पाइप फुटेर सडकमा क्षति पुगेको छ ।

    ‘खानेपानी वितरण गर्दा  चुवावटका कारण सडकहरु क्षति गरिरहेको छ । उनले भनिन्, ‘पानीको पाइपहरु फुट्ने, हिलो हुने अथवा भर्खरै पीच गरेको सडकमा नालाहरु विछ्याउन खनेको कारणले गर्दा सडकमा समस्या आएको छ ।’

    ती समस्याहरुलाई तत्काल समाधान गर्न भौतिक मन्त्रालय अन्तर्गतका र खानेपानी मन्त्रालयअन्तर्गत ५ जनाको सयुंक्त कार्यदल बनाएको उनले बताइन् । कार्यदलले भोलिदेखि नै काम अगाडि बढाउने यातायात मन्त्रालयले जनाएको छ ।

    पुरानो पाइपहरु परीक्षण नगरी पाइपमा पानी पठाउँदा सडक हिलाम्मे बनेको भन्दै सडक विभागले गुनासो गरेको थियो । विभागले कालोपत्रे गरेको सडक पाइप फुटेर मर्मत गर्नुपर्ने अवस्था आएपछि भत्काएको थियो ।

    काठमाडौं उपत्यका खानेपानी वितरण लिमिटेड (केयुकेएल) ले हालसम्म २ सयभन्दा बढी स्थानको पाइप फुटेकाले सडक भत्काएर मर्मत गरेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

    उनले भने, ‘अहिले धेरै ठाउँमा समस्या आइरहेको छ । त्यसको मर्मतको लागि भर्खरै पीच गरेको सडकसमेत भत्काउनु परेको छ । त्यसका लागि हामीले सडक विभागसँग सहकार्य गरिरहेका छौ ।’

    उनका अनुसार कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा तत्काल र्‍यापिड रेस्पोन्स टीमले समस्या समाधान गरिरहेको छ । पाइपलाइनमा समस्या आएकाले केही स्थानमा पानी वितरणको कामसमेत केही दिनको लागि रोकिएको छ ।

  • मेलम्ची आयोजना : पानी आयो, तर काम अझै बाँकी छन्

    मेलम्ची आयोजना : पानी आयो, तर काम अझै बाँकी छन्

    काठमाडौं । दुई दशकको प्रयासपछि मेलम्चीको पानी काठमाडौंमा ल्याइएको छ । तर, सहज रुपमा सबै काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न भने अझै केही समय लाग्छ ।

    काठमाडौंमा बढ्दो खानेपानीको अभाव तत्काल कम गर्न हतारहतार मेलम्चीको पानी खसाए पनि सुरुङ परीक्षण, प्रशोधन केन्द्र सञ्चालन र मुहानको हेडबक्सका केही काम अझै बाँकी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    समितिका अनुसार सुरुङ परीक्षण अवधि दुई महिनाको हुन्छ । त्यस सँगसँगै प्रशोधन केन्द्र सञ्चालनका लागि तीन महिना लाग्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    नयाँ पाइपलाइन विस्तार गरेर मेलम्चीको पानी वितरण गर्ने जिम्मा पाएको आयोजना कार्यान्वयन निर्देशालयले अझै पनि नयाँ पाइपलाइनको काम सकेको छैन । आयोजनाको तर्फबाट धाराको मिटर जडान, क्रसिङ, डिसइन्फेक्सनलगायत काम हुनै बाँकी छ । कामको मात्रा धेरै नभए पनि प्राविधिक हिसाबले सबै काम सक्न समय लाग्ने आयोजनाको भनाइ छ ।

    नयाँ जडान गरिएको पाइपलाइनमा लिकेजको समस्या आइरहने भएकाले मर्मत गरेर फेरि पानी पठाउन समय लाग्ने आयोजनाको बुझाइ छ ।अहिलेसम्म काठमाडौंका ११ सय ५० मध्ये साढे २ सय किलोमिटर पाइपलाइन परीक्षण गरिसकिएको छ । बाँकी पाइपलाइन परीक्षण गर्दै पानी छाड्ने आयोजनाको तयारी छ ।

    अहिले आयोजनाले काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल)को पुरानो प्रणालीबाट पानी वितरण थालेको भइरहेको छ । नयाँ वितरण लाइन सम्पन्न नहुदाँसम्म अन्तरिम व्यवस्थापन केयुकेएलकै सिस्टमबाट हुने बताउँछन्, केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य ।

    पहिलो चरणमा एक लाख १० हजार घरमा पाइपलाइन विछ्याउने जिम्मा आयोजनाले पाएको थियो । त्यसमध्ये अहिलेसम्म १५ हजार घरमा मात्रै धारा तयार छ । नयाँ निर्माण गरिएको धारामा नयाँ प्रणालीबाटै पानी वितरण थालिएको छ ।

    उपत्यकाका एकतिहाई जनसंख्याले तत्काल पानी नपाउने

    उपत्यकाको एकतिहाई जनसंख्याले भने तत्काल मेलम्चीको पानी उपभोग गर्न पाउने छैनन् । आयोजनाका प्रमुख कमलराज श्रेष्ठले भने, ‘चक्रपथ भित्र एकतिहाई ठाउँमा अझै पाइपलाई विस्तार बाँकी छ । सबै परीक्षण सकेर सबैतिर पानी पठाउन अझै आठ महिना जति लाग्न सक्छ ।’

    आयोजनाले अहिले नयाँ दैनिक २ सय घरको दरले धारामा नयाँ पाइपलाइनबाट पानी पठाइरहेको छ । ती धाराहरुमा २४ सै घण्टा पानी छोडिएको आयोजनाको दाबी छ । श्रेष्ठका अनुसार अब क्रमशः पानी छाड्ने मात्रा बढाउँदै लगिनेछ ।

    ‘पाइप त राखिसकेका छौ । अब परीक्षण गर्दै पानी छोड्दै जाने हो’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘परीक्षण गर्दै पाइपलाइन लिकेज भएको ठाउँमा मर्मत गर्दै पानी छोड्दै जानुपर्ने भएकाले सहज हुन केही समय लाग्छ ।’ उनका अनुसार पानीपोखरी, चक्रपथ, बाँसबारीलगायतका क्षेत्रका सर्वसाधरणले मेलम्चीको पानी पिउन पाउने छैनन् ।

    वैशाखदेखि मात्रै दैनिक १७ करोड लिटर पानी वितरण
    वैशाख पहिलो साताबाट मात्रै दैनिक १७ करोड लिटर पानी वितरण गर्ने केयुकेएलको योजना छ । चैत १५ र १६ गते चार करोड लिटर पानी वितरण भएको थियो ।

    १७ गते साडे ६ करोड, १८ र १९ गते साडे ८ करोड लिटर पानी धारामा पठाइएको केयुकेएलले जनाएको छ । अबको एक सातासम्म यही दरमा पानी वितरण हुनेछ । केयुकेएलले क्रमशः पानी वितरणको मात्रा बढाउँदै लैजना बताएको छ ।

    कहिलेदेखि आउँछ २४ सै घण्टा पानी ?
    केयुकेएलले अहिले सकेसम्म दैनिक र नसके दिन बिराएर पानी वितरणको तालिका बनाएको छ ।

    केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यका अनुसार गर्मी महिनामा दिन बिराएर दिने र वर्षातमा २४ सै घण्टा पानी वितरण हुनेछ । अहिलेसम्म हालसम्म झण्डै एक लाख धारामा दिन बिराएर पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

    दुई दशक पुरानो सपना साकार
    मेलम्चीको पानी पिउने दुई दशक पुरानो सपना सकार भएकामा काठमाडौंबासी खुसी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा मेलम्चीको पानी वितरण शुभारम्भ गरेसँगै ट्याङ्कर र जारको पानी किन्न नपर्ने भयो भन्दै उनीहरू खुसी भएका हुन् ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यन्वयन निर्देशनालयबाट आइतबारदेखि मीनभवन, अनामनगर, महांकालचौर, खुमलटारको ट्याङकीबाट पानी वितरण सुरु गरिएको छ । यस्तै बालाजुको ट्याङकीबाट पनि पानी वितरण सुरु भएको छ ।

    हाल अनामनगरमा ८ सय धारामा नयाँ पाइपलाइन विस्तार गरेर पानी पठाएको छ । उक्त क्षेत्रमा २४ सै घण्टा पानी वितरण भए पनि अन्य क्षेत्रमा दिन बिराएर पानी पठाइएको छ ।

    काठमाडौंको अनामनगर क्षेत्रमा वितरण भएको मेलम्चीको पानी खान योग्य भएको पाइएको छ । अनामनगरको ट्याङकीबाट नयाँ पाइपलाइनबाट ५ सय वटा धारामा पानी वितरण गरिएको छ । आयोजना प्रमुख कमलराज श्रेष्ठले भने, ‘ब्याक्टेरियल परीक्षण गर्दा पानी पिउन योग्य पाइएको छ । अब नयाँ प्रणालीबाट वितरण गरिएको पानी निर्धक्क पिउन सकिन्छ ।’

    मेलम्ची खानेपानी विकास समितिले चैत १३ गते सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । समितिले गत फागुन १० गते सुरुङ परीक्षणका लागि पानी पठाएको थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको हो ।