Tag: मूल्यवृद्धि

  • निर्माण सामग्रीको मनलाग्दी मूल्यवृद्धि, व्यवसायीसँगै उपभोक्ता मारमा

    निर्माण सामग्रीको मनलाग्दी मूल्यवृद्धि, व्यवसायीसँगै उपभोक्ता मारमा

    काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थसँगै हरेक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढिरहेको छ । अरु सामग्री जस्तै निर्माण सामग्रीको मूल्य पनि आकाशिएपछि निर्माण व्यवसायीसँगै आमउपभोक्ता चिन्तित भएका छन् ।

    खसगरी स्टील र सिमेन्टको मूल्य मनोमानी ढंगले बढाइएको छ । त्यस्तै इँटा, बालुवा र गिट्टीको मूल्य पनि बढेको छ । स्टीलको मूल्य प्रतिकेजी ८० रुपैयाँबाट अहिले १३० रुपैयाँ पुगेको छ । स्टील उद्योगीले खासै मूल्य नबढेको बताउँछन् । तर बजारमा भने निरन्तर मूल्य बढिरहेको छ ।

    स्टीलको मूल्य प्रतिकेजी ९०, १००, १०५, ११५, १२०, १२५ हुँदै १३० रुपैयाँ पुगेको हो । त्यस्तै इँटा, बालुवा र गिट्टीको मूल्य पनि सोही अनुपातमा बढेको छ ।

    बिक्रेताहरुले रुस र युक्रेनबीच भएको युद्धको असरस्वरुप स्टीलको मूल्य बढेको दाबी गरिरहेका छन् । रुस तथा युक्रेनबाट स्टीलको कच्चा सामग्री नेपाल आउन ३–४ महिना लाग्छ । तर, युद्ध सुरु भएको एक महिनामै स्टीलको मूल्य निरन्तर बढिरहेको छ ।

    त्यस्तै पेट्रोलियम पदार्थको मूल्य बढेका कारण बालुवा र गिट्टीको मूल्य बढेको बिक्रेताहरुको भनाइ छ । बालुवा प्रशोधन र गिट्टी उत्पादन गर्दा डिजल प्रयोग हुने, र डिजलको मूल्यसँगै ढुवानी शुल्क बढेकाले समस्या भएको उनीहरु बताउँछन् ।

    ‘सरकारले स्टील उत्पादकबीच नै विभेद गरेको छ । अहिले स्पञ्ज आइरन ल्याएकाहरुले बजारमा लुट मच्चाइ रहेका छन्’, फलामे छड उत्पादन गर्ने रोलिङ मिल्स एसोसिएसनका एक पदाधिकारीले भने, ‘नेपालमा ६ वटा उद्योगले स्पञ्ज आइरनबाट स्टील बनाउने गरेका छन् । ३० वटा उद्योगमा ६ वटाभन्दा बाहेकका उद्योगले विलेट आयत गरेर स्टील उत्पादन गर्ने गरेको थियो ।’

    वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत विलेटको अन्तःशुल्क र कर बढाएको थियो । त्यसपछि स्टील उत्पादन गर्ने उद्योगहरुले विलेट ल्याएका थिएनन् । स्पञ्ज आइरनको भने नेपालमा स्टीलको भन्दा कयौं गुणा धेरै माग आएको थियो । अहिले ती उद्योगीहरुले नै बजारमा ८० रुपैयाँबाट १३० रुपैयाँ मूल्य पुर्याएको ती अधिकारीले बताए ।

    सरकारले संशोधित बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्दा त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको थियो । तर, विलेट आयात गर्दा भन्सार ४.७५ रुपैयाँ र प्रतिमेट्रिकटन १ हजार ६५० बाट अन्तःशुल्क वृद्धि गरी २ हजार ५ सय पुर्याइएको थियो ।

    स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने उद्योगसँग मात्रै अहिले स्टील उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ रहेको उद्योगीहरु बताउँछन् । सरकारले संरक्षण गरेका उद्योगहरुले नै अहिले बजारमा स्टीलको मूल्य वृद्धि गरेर बिक्री गरिरहेका हुन् ।

    अहिले स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने अम्बे, लक्ष्मी, जगदाम्बा, पशुपति, कमला र नारायणी स्टील उद्योगले नै स्टील उत्पादन गरिरहेका छन् । ती उद्योगहरुले नै अहिले स्टीलको मूल्य वृद्धि गरेका हुन् ।

    अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँले वृद्धि भएको छ । सिमेन्ट उद्योगले भने मूल्य वृद्धि नभएको बताइरहेको छ । तर डिलरबाट मूल्य बढाएर बिक्री भएको भए थाहा नहुने उद्योगीको भनाइ छ ।

    सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले उद्योगले सिमेन्टको मूल्य वृद्धि नगरेको बताए । उनले भने, ‘विश्व बजारमा सबै वस्तुको मूल्य वृद्धि भएको छ । त्यसको असर सिमेन्ट बजारमा पनि देखिन्छ । केही समयपछि सिमेन्ट उद्योगले नै प्रतिबोरा एक सय रुपैयाँ बढाउने अवस्था आउनसक्छ । ढुवानी भाडा वृद्धिको असर सिमेन्टमा देखिने छ ।’

    ग्रिल तथा स्टील व्यवसायी संघका अध्यक्ष मोहन कटुवाल निर्माणजन्य सबै निर्माण सामग्रीको मूल्य वृद्धि भएको बताए । केही सयमअघि १०२ रुपैयाँ रहेको डण्डीको मूल्य अहिले १३० रुपैयाँभन्दा धेरै पुगेको बताए ।

    निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ठेक्का लिँदा ९० रुपैयाँ प्रतिकेजी डण्डी रहेकोमा अहिले १३० रुपैयाँ पुगेकाले निर्माणको काम गर्न समस्या परेको बताए ।

    उनले भने, ‘केही सयमदेखि निर्माण सामग्रीको मूल्य आकाशिएको छ । सबै निर्माण सामग्रीको मूल्यवृद्धि भएर ठेक्का लिएको काम नै गर्न नसक्ने अवस्था आएको छ ।’

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन निगमको आग्रह (भिडिओ)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन निगमको आग्रह (भिडिओ)

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् ।

    बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् ।अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहँदा नेपालमा पनि मूल्यवृद्धि हुनु स्वभाविक भएको बताए ।

    उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए ।

    अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने उनी बताउँछन् । उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढीरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए ।

    कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्शानमा रहेकोदावी गरे । उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाएपनि २० अर्ब नोक्शानमा जाने दाबी गरे । कार्यकारी निर्देशक पौडलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताए ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे यसाे भन्छन्  कार्यकारी निर्देशक पौडेल

    यो सरकारी संस्था हो, अस्वभाविक हुँदैन, सबैचिज पारदर्शी नै हुन्छ, अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो १०० प्रतिशत स्वभाविक हो बजारमा लिक्वीडिडी अभावको स्थिती हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दातको, घाटकोे स्थिती हेर्नुहोस्, एक वर्षअघि कति मूल्य थियो आज कति छ हुर्नुहोस्।

    आजको दिनमा राजनीति गर्ने एउटै चिज छ, त्यो भनेको तेल हो, तेलमा अन्तर्राष्ट्रिय राजनीति छ, खाडी मुलुकहरु रातारात कसरी धनी भए यो हामीलाई थाहा छ, त्यसैले जहिल्यै पनि विश्वको अर्थतन्त्र अलिकति घटबढ भयो भने तेलको मूल्यले इकोनोमिलाई नराम्ररी हान्छ, तेलको मूल्य अब के हुन्छ भन्ने विषय प्रिडिक्शनकै आधार हो, त्यसैले तेलको मूल्य आगामी २ वर्ष स्थिर हुने स्थिती देखिँदैन, बढ्दै क्रममा हुन्छ, र यो १०० डलर प्रतिब्यारेलसम्म पुग्छ, यो के हो भने आज हामी ८० मा छौँ, निगमलाई ६० डलरमा पुर्याइयो भने हाम्रो मूल्य स्थिर हुन्छ, हामी ८० डलरमा छौँ, अहिले हामीलाई २० डलरको मार छ भने योसय डलर पुग्छ भनेपछि तपाईले हेरिहाल्नुस् कहाँ पुग्छौँ हामी भन्ने कुरो ।’

     ‘निगम अघिल्लो वर्षको जनवरीदेखि घाटामा छ, हामीले मूल्य समायोजन नगरेको होइन, ३३ रुपैयाँ जतिको मूल्य समायोजन गरेका थियौँ, २ वर्षमा १७÷१८ रुपैयाँ पैसा घटाएका छौँ, अहिले स्याल अघिअघि शिकारी पछिपछि भइदियो, मूल्य अघिअघि बढ्छ, हाम्रो मूल्य समायोजन पछिपछि भयो, अझ एलपीजीमा त हामीले समयोजन गर्नै हुँदैन, नोक्शानमै बेच्नुपर्छ भन्नेमै गइयो, अहिलेसम्म हामी सफल पनि थियौँ, निगमले तथ्य, तथ्यांक कहिले पनि लुकाएकै छैन, निगम कहिल्यै ठूलो मार्जिनमा बसेको छैन, एक रुपैयाँ मार्जिन भनेकै हामीलाई साढे २ करोड रुपैयाँ हो भने हामी ५ रुपैयाँ मार्जिनमा बसेका छौँ, डबल भइसक्यो ।

    अघिल्लो आर्थिक वर्ष १५÷१६ महिनाअघि हामी ४० डलरको हाराहारीमा थियौँ, अहिले ८५ डलर भइसक्यो, डबल भइसक्यो, डबल हुँदा हाम्रो मूल्य कति भयो त ? त्यो हिसावले त बढेको छैन, किन बढेन भन्दा हामीले एउटा अन्तर्राष्ट्रिय बजारको परिस्थिती घटीहाल्छ कि, हामीलाई त यो आर्थिक वर्ष सस्टेन गर्ने मात्रै हो, हाम्रो उद्देश्य भनेको नाफा कमाएर धेरै कुरा गर्नुपर्छ भन्ने पनि छैन, नभएका कुरामा लाञ्छना लगाएर, हुँदै नभएका विषयमा गाली गरेर, निगम, कर्मचारीलाई गाली गरेर केही हुँदैन, कि निगम नै चाहिँदैन भन्न सक्नुपर्यो, जुन कुराको विकल्प छैन, गरेर फाइदै छैन, जुन कुरामा राजनीति नै गर्नुहुँदैन, जुन कुरो राजनीतिक विषय नै होइन, त्यसैले हल्ला मच्चाएर इकोनोमी नै सिध्याउने कुरा हो, निगमको हेल्थमा हेलचेक्राइँ गर्नुहुँदैन ।’ 

     

     

  • औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने

    औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानबिन गर्ने बताएका छन् ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानबिन गरिने बताएका हुन् । उनले स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन् ।

    औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानबिन गर्ने भएको हो । ‘कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ’, उनले भने, ‘औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहेका छन् । दुई/चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।’

    उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए । सिटामोल भारतमा दुई रुपैयाँ र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उनले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताए । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।

  • खानेतेलको मूल्यवृद्धिबारे वाणिज्य विभागको चासो, मूल्य घटाउन उद्योगीसँग छलफल

    खानेतेलको मूल्यवृद्धिबारे वाणिज्य विभागको चासो, मूल्य घटाउन उद्योगीसँग छलफल

    काठमाडौं । पछिल्लो समय खाने तेलको मूल्य अत्यधिक बढेपछि वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले मूल्य घटाउने विषयमा तेल उद्योगीहरुसँग छलफल थालेको छ ।

    एक वर्षमै प्रतिलिटर खानेतेलको मूल्य सय रुपैयाँभन्दा बढी बढेपछि विभागले तेल उत्पादन गर्ने २० उद्योगीसँग मूल्य बढ्नुको कारण र घटाउने उपायबारे छलफल थालेको हो ।

    नेपालमा अहिले २० उद्योगले खानेतेल उत्पदन एवम् प्रशोधन गरिरहेको छ भने दुई उद्योग स्थापनाको चरणमा छन् ।

    नेपालमा खानेतेलको मूल्य अस्वभाविक बढिरहेको छ तर नेपालमा उत्पादन भएको तेल निर्यात पनि भइरहेको छ ।

    तेलको मूल्यवृद्धिबारे विभागले बिहीबार आयोजना गरेको छलफलमा १९ उद्योगी सहभागी थिए । विभाग प्रवक्ता शिवराज सेढाईका अनुसार मूल्यवृद्धिको कारणबारे उद्योगीसाग छलफल भएको हो ।

    ‘हामीले सबै उद्योगको उत्पादन लागत, अघिल्लो वर्षको यहीं समयको खानेतेलको मूल्य र गुणस्तरबारे अध्ययन गरिरहेका छौं । तेलको मूल्य के करणले वृद्धि भएको हो भनी कारण पेश गर्न लगाएका छौं’, सेडाईले भने, ‘दसैँ तिहारमा तेलको खपत धेरै हुन्छ, हामी मूल्य घटाउन लागिपरेका छौं ।’

    बजरमा तेललगायतका खाद्यान्नको मूल्य वृद्धि र गुणस्तरबारे विभागले अनुगामन गरिरहेको सेढाईले बताए ।

    खुद्रा व्यपार संघका सचिव अमुलकाजी तुलाधरले पछिलो समय खानेतेल र दालमा धेरै मूल्य वृद्धि भएको बताए ।

    तुलाधरले भने, ‘एक वर्षअघिको तुलनामा खानेतेलमा ८० देखि एक सय रुपैयाँसम्म प्रतिटिर मूल्य वृद्धि भएको छ । कोरोनाका कारण भएको लकडाउनको समयमा पनि तिरन्तर खाने तेलको मूल्य बढेको थियो ।’

    एक वर्ष पहिले १५० रुपैयाँ प्रतिलिटर मूल्य भएको सनफ्लावर तेलको मूल्य अहिले २५० पुगेको छ । १४० रुपैयाँ भएको भटमासको तेलको मूल्य २४० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, अहिले मुसुरोको दालको मूल्य एक महिनामै प्रतिकेजी ४० रुपैयाँ बढेको छ ।

    एक महिना अगाडि ११० रुपैयाँ प्रतिकेजी रहेको मुसुरोको दालको मूल्य अहिले १ सय ५० रुपैयाँ पुगेको छ ।
    सरकारले पनि खानेतेलको मूल्य घटाउन खासै चासो देखाएको छैन ।

    विद्यार्थी संगठले पनि पेट्रोलिय पदार्थमा २ रुपैयाँ मूल्यवृद्धि हुँदा आन्दोलन गर्ने गरेको छन् तर खानेतेलको मूल्य एक वर्षमा प्रतिलिटर सय रुपैयाँ बढ्दा पनि चासो देखाएका छैनन् ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्षका ज्योति बानियाँले सरकार नै बजार अनुगमनको पक्षमा नरहेको बताए । उनले उपभोक्ता आफैं सचेत हुनेपर्नेमा जोड दिए ।

    ‘बजारमा उपभोक्ता ठगिएको वाणिज्य विभागले थाहा नपाएको जस्तो गर्छ’ बानियाँले भने, ‘सरकारले नै उपभोक्ता ठगिँदा नदेखेजस्तो गरेपछि अरु कसले के गर्ने ?’

  • पेट्रोलको मूल्य एक रुपैयाँ बढ्दा आन्दोलन, खानेतेलको १०० रुपैयाँ बढ्दा मौन

    पेट्रोलको मूल्य एक रुपैयाँ बढ्दा आन्दोलन, खानेतेलको १०० रुपैयाँ बढ्दा मौन

    काठमाडौं । पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यवृद्धि हुँदा पनि निकै आल्दोलन हुन्छ । प्रायः आन्दोलन विद्यार्थी संगठनहरुले गर्ने गरेका छन् । तर, खानेतेलको मूल्य एक वर्षमै सय रुपैयाँ बढ्दा पनि कसैले आवाज उठाउँदैनन् । विद्यार्थी संगठन पनि थाहा नपाएजस्तै गर्छन् ।

    यो वर्ष पटक–पटक गरेर पेट्रोलिय पदार्थको मूल्य २५ रुपैयाँ बढाइएको छ भने खानेतेलको सय रुपैयाँ  बढेकाे छ । अघिल्लो वर्ष १८० रुपैयाँ भएको खानेतेलको मूल्य अहिले २८० पुगेको छ । अघिल्लो वर्ष प्रतिलिटर १०४ रुपैयाँ भएको पेट्रोलको अहिले १२८ रुपैयाँ पर्छ ।

    तुलनात्मक रुपमा आर्थिक अवस्था बलियो हुनेले सौखका लागि प्रयोग गर्ने पेट्रोलको भन्दा आमसर्वसाधारणको भान्छामा हरेक दिन प्रयोग अनिवार्य भएको खानेतेलको मूल्य असाधारण तरिकाले बढ्दा किन आवाज उठ्दैन ? माधव नेपाल पक्षीय नेकपा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने– यो प्रश्न जायज छ, हामी यस विषयमा पनि आवाज उठाउँछौं, सम्बन्धित मन्त्रालयमा मूल्य घटाउन माग गर्छौं ।

    उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले विद्यार्थी नेताहरुले पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको देख्ने तर खानेतेलको बण्ेको नदेख्नु दुखद भएको बताए । उनले भने, ‘विद्यार्थी नेताहरुले पनि आफैलाई फाइदा हुने काम मात्रै गर्ने हुन् । राजनीतिक स्वार्थका लागि आन्दोलमा उत्रेका छन् । अब नेपाल विद्यार्थी संघले आफ्नै सरकार भएकाले आन्दोलन गर्दैन ।

    पछिल्लो समय सबैभन्दा धेरै खानेतेलको मूल्य बढेकोविरुद्ध आफूले आवाज उठाइरहेको महर्जनको भनाइ छ । तर अधिकारकर्मीले जति बोले पनि उत्पादक र सरकारले नसुनेको उनको गुनासो छ ।

    नेपाल खुद्रा व्यपार संघले पछिल्लो एक वर्षमा तेरीको तेल, भटमासको तेल र सनफ्लावर तेलमा ८० देखि एक सय रुपैयाँसम्म मूल्यवृद्धि भएको जनाएको छ ।

    संघले खानेतेलको मूल्य अत्यधिक बढेको भन्दै वाणिज्य विभागमासमेत उजुरी दिएको थियो । उजुरी परेपछि विभागले तेल उत्पादकहरुलाई मूल्यवृद्धि हुनुको कारण पेश गर्न भनेको थियो ।

    करिब २० वटा उद्योगमध्ये सबैले कारण पेश गरेका थिए । कारण पेश गरेकामध्ये विभागले ३ वटा तेल उत्पादन गर्ने उद्योगलाई विनाकारण तेलको मूल्यवृद्धि गरेको भन्दै कारवाही पनि गरेको थियो ।

    नेपालमा पछिल्लो सयम निषेधाज्ञाका कारण देखाउँदै दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढाइएको छ । मूल्यवृद्धिमा सरकारको समेत साथ रहेको उपभोक्ताकर्मीको आरोप छ ।

    कतिले प्रयोग गर्छन् पेट्रोल ?

    नाडा अटोमोवाइल्स एशोसियसनका अनुसार ३ करोड नेपालीमध्ये १० प्रतिशत अर्थात् ३० लाखले दुईपाङ्ग्रे सवारी साधन प्रयोग गर्छन् । जुन ठिकै आर्थिकस्थिति हुने समूह हो ।

    त्यस्तै ०.९ प्रतिशत अर्थात् २ लाख ७० हजारले चारपांग्रे सवारी साधन प्रयोग गरिरहेका छन् भने ८९.१ प्रतिशत सर्वसाधारण नेपालीले सार्वजनिक सवारी साधन प्रयोग गर्छन् । यसरी आर्थिकस्थिति राम्रो भएकाले प्रयोग गर्ने पेट्रोलको भन्दा आमसर्वसाधारण सबैले भान्छामा अनिवार्य प्रयोग गनुपर्ने तेलको मूल्य बढ्दा विद्यार्थी संगठन चुपचाप बस्नु ठिक नभएको बताउँछन्, उपभोक्तकर्मी महर्जन ।

  • पेट्रोलिय पद्धार्थकाे मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

    पेट्रोलिय पद्धार्थकाे मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।

    विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् ।

    विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ गते ७२ घण्टे अल्टिमेटम दिएको भएपनि मूल्यवृद्धि फिर्ता नगरिएको भन्दै आइताबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।

    नयाँ आन्दोलनको कार्यक्रममा असार २८ गतेदेखि नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र विक्रि गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

    त्यस्तै संयुक्त विद्यार्थी संगठनहरुले एसइइ तथा कक्षा ११ र १२ को परीक्षामा देखिएका समस्या समाधानमा राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने सबै परिक्षाहरु, एमफील र पीएचडीको समस्या तथा नयाँ विषयका निजीकरण समस्याका बारेमा विद्यार्थी संगठनहरुको संयुक्त डेलिगेसनमा राखेका माग पुरा नभएमा उपकुलपति र विश्वविद्यालयका विरुद्धमा थप संघर्ष गर्ने बताइएको छ ।

    हिमालयन इन्स्युरेन्सलाई लाइसेन्स दिदाँ एक अर्ब भन्दा बढीको अवैध चलखेल भएकाले छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानविन गरी कारबाही प्रक्रिया अगाडी बढाउन पनि विद्यार्थी संगठनले माग गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
    त्यस्तै नेपाल वायु सेवा निगमलाई निजीकरण गरेर समाप्त पार्ने खेलमा लागिएको भन्दै मन्त्रालयका कर्मचारी र महाप्रवन्धकलाई वर्खास्त गर्नुपर्ने मागसहित कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने धरानस्थित वीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले भ्रष्टाचार गरेको भन्दै उपकूलपति ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको पनि अखिल(क्रान्तिकारी)का अध्यक्ष तामाङले बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्याथी संघका अध्यक्ष राजिव ढुंगानाले विद्यार्थी संगठनहरुको ७२ घण्टे अल्टिमेटमलाई वास्ता नगरेको र छलफलको प्रयत्न समेत नगरेका कारण आन्दोलनको थप कार्यक्रम घोषणा गर्नुपरेको बताए । उनले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र आगामी दिनमा मूल्यवृद्धि नहुने कुराको प्रत्याभुति गराउन पनि माग गरे ।

    अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीहरुले शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम गर्दापनि प्रहरीको बर्बर दमन भएको उल्लेख गरे । उनले विद्यार्थीहरुले जायज माग राख्दापनि राज्यले वक्रदृष्टि राखेको बताए । आयल निगमलाई निर्णायक ढंगले सडक आन्दोलनबाट जवाफ दिने पनि उनले बताए ।

  • वर्षमा १५ पटक ईन्धनको मूल्यवृद्धि, तर निगम अझै घाटामा !

    वर्षमा १५ पटक ईन्धनको मूल्यवृद्धि, तर निगम अझै घाटामा !

    काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य कुल १८ पटक समायोजन हुँदा ३ पटक मूल्य घटेको थियो । वर्षदिनमा १५ पटक मूल्य बढाउँदा पनि निगमले ‘घाटामै रहेको’ दाबी गर्न छाडेको छैन ।

    मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ कायम भएको छ । मंगलबार नै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर मूल्य कायम भएको छ ।

    खाना पकाउने ग्यासको मूल्य पनि २५ रूपैयाँले वृद्धि भई अब प्रतिसिलिन्डर १ हजार ४ सय २५ रूपैयाँ मूल्य कायम भएको छ । मंगलबारको मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा व्यहोर्नुपरेको निगमको भनाई छ । यसअघि पाक्षिक घाटा ६५ करोड रहेकोमा मूल्यवृद्धिपछि घाटा अझ बढेको हो । अघिल्लो अवधिमा निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको बिक्री कम थियो ।

    मंगलबार मूल्यवृद्धि गर्दा पनि निगम पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा हुनेछ । यसअघि १५ दिनमा निगमलाई ६५ करोड रूपैयाँ घाटा थियो । अघिल्लो मूल्य समायोजनको बेला लकडाउन भएकाले पेट्रोलियम पदार्थको बिक्री कम थियो र घाटा पनि कम थियो ।

    निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल विश्व बजारको मूल्यकै आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बताउँछन् । डलरको मूल्य, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य र राजस्वका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको पौडेलको भनाई छ ।

    ‘नेपाल आयल निगमले व्यापार गरेको छैन । हामी त भन्सारजस्तै निकाय हो । व्यापार त पम्पहरूले गरिरहेका छन् । इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्य नै हामीले तोक्ने हो’, पौडेलले नेपाल प्रेससँग भने । पौडेलका अनुसार हाल निगमले पेट्रोलमा ७ करोड, डिजेलमा ४ करोड, मट्टितेलमा २१ करोड, एलपी ग्यासमा ३ करोड र एविएशन टर्बाइन फ्यूलमा १६ करोड रूपैयाँ पाक्षिक घाटा व्यहोरेको छ ।

    कहिले-कहिले बढ्यो पेट्रोलियममा पदार्थको मूल्य ?

    चालु अबमा सबैभन्दा पहिले २०७७ साउन १७ गते पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्य वृद्धि भएर १ सय ४ रूपैयाँ तथा डिजेल र मट्टितेल ८८ रूपैयाँबाट मूल्य वृद्धि भइ ९० रूपैयाँ पुगेको थियो ।

    साउन ३२ गते पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ५ रूपैयाँ तथा डिजेल र मट्टितेल ९० रूपैयाँबाट ९१ रूपैयाँ मूल्य पुगेको थियो ।

    आवको दोस्रो महिना भदौ १६ गते पेट्रोल प्रतिलिटर १ सय ५ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ७ रूपैयाँ तथा डिजेल मूल्य पुगेको थियो । त्यतिबेला डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य यथावत नै रहेको थियो ।

    त्यसपछि मंसिर २७ गते मात्रै मूल्यवृद्धि भएको छ । २७ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको थियो । ग्यास र हवाइ इन्धनको मूल्य यथावत नै रहेको थियो । एकैपटक २ महिनापछि पेट्रोल १ सय ७ रूपैयाँबाट १ सय ८ रूपैयाँ पुगेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्यवृद्धि भई प्रतिलिटर ८९ बाट ९० रूपैयाँ पुगेको थियो ।

    कोरोनाको समयमा पेट्रोलियम पदार्थका उपभोक्तालाई केही राहत होस् भनेर सरकारले केही महिना मूल्यवृद्धि गरेन । एकैपटक २०७७ माघ ५ गते मूल्य संमायोजन भएको थियो । जसबाट १ सय ८ रूपैयाँ प्रतिलिटर रहेको पेट्रोल १ सय १० रूपैयाँ पुगेको थियो । डिजेल र मट्टितेल प्रतिलिटर ९१ रूपैयाँबाट मूल्यवृद्धि भई प्रतिलिटर ९३ रूपैयाँ कायम भएका थिए । सो समयमा ग्यास र हवाई इन्धनको मूल्य यथावत नै रहेको थियो ।

    माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको थियो । त्यतिबेला पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० बाट १ सय १२ रूपैयाँ कायम भएको थियो । डिजेल र मट्टितेल भने प्रतिलिटर९३ रूपैयाँबाट मूल्यवृद्धि भएर ९५ रूपैयाँ प्रतिलिटर पुगेका थिए । त्यतिबेला खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय रूपैयाँ पुगेको थियो ।

    फागुन ४ गते पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भइ १ सय १४ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । त्यस्तै डिजेल र मट्टितेल प्रतिलिटर २ रूपैयाँ मूल्य वृद्धिभई ९७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो । सो समय हवाइ इन्धनको ६५ रूपैयाँ प्रतिलिटरबाट मूल्यवृद्धि भई ६७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो ।

    फागुन १७ गते पेट्रोलमा २ रूपैयाँ मूल्यवृद्धि भई १ सय १६ रूपैयाँ प्रतिलिटर नयाँ मूल्य कायम भएको थियो । डिजेल र मट्टितेल प्रतिलिटर २ रूपैयाँ प्रतिलिटर मूल्यवृद्धि भई ९९ रूपैयाँ प्रतिलिटर पुगेको थियो । आन्तरिक हावइ इन्धन प्रतिलिटर ६७ रूपैयाँबाट ७२ रूपैयाँ प्रतिलिटरबाट नयाँ मूल्य कायम भएको थियो । भने अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ६८ बाट वृद्धि भई अमेरिकी डलर ८ सय ९३ पुगेको थियो ।

    २०७७ चैत ३ गते पेट्रोल प्रतिलितर २ रूपैयाँ मूल्य वृद्धि भई प्रतिलिटर १ सय १८ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । डिजेल र मट्टितेलको प्रतिलिटर १ सय १ रूपैयाँ नयाँ मूल्य काम भएको थियो । त्यस्तै आन्तरिक हावइ इन्धन प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भई ७४ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । सो समयमा अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य पुरानै यथावत रहेको थियो ।

    २०७७ चैत २२ गते पेट्रोलको प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भई १ सय २० रूपैयाँ प्रतिलिटर पुगेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ नै मूल्यवृद्धि भई १ सय ३ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । २२ गते आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने यथावत नै रहेको थियो ।

    २०७८ बैशाख ४ गते पेट्रोल प्रतिलिटर १ रूपैयाँ मूल्यवृद्धि भई १ सय २१ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर १÷१ रूपैयाँ मूल्य वृद्धिभई १ सय ३ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । जेठ २ गते पेट्रोलमा १ रूपैयाँ तथा डिजेल र मट्टितेलमा २÷२ रूपैयाँ मूल्यवृद्धि भई पेट्रोल प्रतिलिटर १ सय २३ रूपैयाँ तथा डिजेल र मट्टितेल १ सय ६ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँ वृद्धि भई ७८ रूपैयाँ मूल्य कायम भएको थियो ।

    जेठ २२ गते पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि भएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २५, डिजेल तथा मट्टितेल १ सय ८ र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८० रुपैया कायम भएको थियो ।

    गत असार ९ गते पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि भएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २७, डिजेल तथा मट्टितेल १ सय १० र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८२ रुपैया मूल्य पुगेको थियो । भने अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो मिटर अमेरिकी डलड ७ सय १५ बाट मूल्यवृद्धि भई ७ सय ३५ पुगेको थियो ।

    आर्थिक वर्षको अन्तिम पटक गत असार २२ गते सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोल, डिजेल, मट्टितेल प्रतिलिटर २÷२ रूपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँ, आन्तरिक हवाइ इन्धनमा २ रूपैयाँ र अन्तर्राष्ट्रिय हवाइमा इन्धनमा १९ अमेरिकी डलर वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २९, डिजेल तथा मट्टितेल १ सय १२, ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय २५, आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८४ रूपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रति किलोलिटर अमेरिकी डलर ७ सय ५४ मूल्य पुगेको छ ।

    कति पटक घट्यो मूल्य ?

    २०७७ भदौं ३१ गते पेट्रोल, ग्यास र हावइ इन्धनको मूल्य यथावत रही डिजेल र मट्टितेलको मूल्य घटेको छ । डिजेट र मट्टितेल प्रतिलिटर ९१ रूपैयाँबाट घटेर ९० रूपैयाँ तोकिएको थियो ।

    त्यस्तै असोज १५ गते पेट्रोल र हवाइ इन्धनको मूल्य यथावत रही पेट्रोल र मट्टितेलको मूल्य घटेको थियो । सो समय डिजेल र मट्टितेल प्रतिलिटर ९० रूपैयाँबाट घटेर ८९ रूपैयाँ नयाँ मूल्य लागु भएको थियो ।

    जेठ २३ गते अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो मिटर अमेरिकी डलर ७ सय १५ कायम भएको थियो । यसभन्दा पहिले ८ सय ९३ अमेरिकी डलर प्रति किलोलिटर मूल्य रहेकोमा एकैपटक १ सय ७८ अमेरिकी डलर प्रति किलोलिटर मूल्य घटेको हो ।

    कति लिन्छ सरकारले कर ?

    निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदुषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रुपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसाँ सरकारलाई कर तिर्ने गरेका छन् ।

    डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनु पर्छ ।

    उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ । यी सबै शुल्कहरु उपभोक्ताबाटै प्रत्यक्ष लिने गरिएका कारण निगमले किन्दा सस्तोमा आएको पेट्रोलियम पदार्थ उपभोक्ताले किन्दा महंगो पर्न गएको हो ।

    भारतमा भन्दा नेपालमा नै सस्तो !

    भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतमा भन्दा नेपालमा तेलको मूल्य सस्तो भएकाले नेपालबाट भारत तेल तस्करी हुने गरेको पाइन्छ । भारतको रक्सौलमा पेट्रोल प्रतिलिटर १ सय ६४ रूपैयाँ १९ पैसा पर्छ । नेपालको वीगञ्जमा भने १ सय २७ रूपैयाँ ५० पैसा मूल्य रहेको छ । सीमाना वारिपारी ३६ रूपैयाँ ६९ पैसा मूल्य फरक रहेको छ । भारतबाटै आयात हुने पेट्रोल भारतमा भन्दा प्रतिलिटर नेपालमा ३६ दशमलव ५९ प्रतिशत सस्तो रहको छ ।

    त्यस्तै डिजल पनि भारतमा भन्दा नेपालमा नै सस्तो रहको छ । भारतमा प्रतिलिटर १ सय ५३ रूपैयाँ ९४ पैसा मूल्य रहेको छ । नेपालमा १ सय १० रूपैयाँ ५० पैसा प्रतिलिटर मूल्य रहेको छ । भारतमा भन्दा नेपालमा प्रतिलिटर ४३ रूपैयाँ ४४ पैसा प्रतिलिटर सस्तो रहेको छ ।

    भारतबाटै ल्याउने तेल कसरी हुन्छ सस्तो ?

    भारतमा संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि थप कर लिने गरेकाले नेपालमा भन्दा भारतमा तेलको मुल्य मंहगो हुन्छ । नेपालमा पेट्रोलियम पदार्थमा केन्द्र सरकारले मात्रै कर लिने गरको छ । भारतमा भन्दा नेपालमा ‘ओभरहेड रेट’ कम हुने भएको पनि सस्तो भएको निगमको भनाई छ ।

     

  • अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी

    अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी

    काठमाडौं । पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै ५० रुपैयाँ भन्दा बढी मूल्य बढेको छ ।

    अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दिएको थियो ।

    विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठनको रुपमा रहेको सङ्घले उद्योगीले अनुचित ढङ्गबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सङ्घले सोमबार एक विज्ञप्ती जारी गर्दै व्यवसायीले मूल्यवृद्धि नगरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा बढेको जनाएको हो ।

    ‘सङ्घमा २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी हुँदै आएको छ’, सङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ ।

    यसरी मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ, विज्ञप्तीमा भनिएको छ, १६ महिनायता तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’

    सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अवधिमा एक हजार २७९ डलर पुगेको छ । यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार ५८० भएको छ ।

    एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको सङ्घले दाबी गरेको छ ।

    -रासस

  • आफूखुशी मूल्यवृद्धि गरे कारवाही

    आफूखुशी मूल्यवृद्धि गरे कारवाही

    काठमाडौं । जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यपारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यपारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् ।

    उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सङ्घका महासचिव दीपकबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यवसायीले आफूखुशी चर्को मूल्य लिँदै आएको भन्ने खबरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

    महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्नेलगायत गरे कारबाही गर्ने सङ्घले जनाएको छ ।