Tag: मीन विश्वकर्मा

  • दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने मीन विश्वकर्माको घोषणा

    दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने मीन विश्वकर्माको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मीन विश्वकर्माले पार्टीको दलिततर्फको सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट ८ जना सहमहामन्त्री बनाउने व्यवस्था गरिएकाले त्यही व्यवस्थाअनुसार आफूले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता विश्वकर्माले पत्रकार सम्मेलनमा बताए । विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनल भने, ‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ । त्यसैले मैले अहिले यहाँहरुमाझ आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।’

    नेपाल दलित संघका अध्यक्षसमेत रहेका विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनबाट दुइ कार्यकाल केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । अहिले प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मा पूर्व उद्योग, वाणिज्ण तथा आपूर्तिमन्त्री र संविधानसभा सदस्यसमेत रहेका छन् ।

    कांग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गर्दै विश्वकर्माले भने, ‘कांग्रेस जन्मिँदैदेखि समावेशितालाई जोड दिदै आएको छ । दलित समुदायको लागि मात्रै नभएर समग्र समावेशी पक्षका लागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेका छन् । अहिलेको समावेशी संविधान जारी गर्ने काममा पनि कांग्रेसको महत्वपुर्ण योगदान रहेको छ ।’

    बीपीले विवेकबाट सुरू गरेको समावेशीकरणलाई वर्तमान सभापति शेरबहादुर देउवाले संविधान तथा विधानमार्फत कार्यान्वयनमा लगेको विश्वकर्माले ठोकुवा गरे । ‘कांग्रेसको संगठन विस्तार हुदै गर्दा त्यो बेला पार्टीको समावेशी विधान थिएन । यतिमात्र नभएर संविधान पनि समावेशी थिएन । तर बीपीले कांग्रेसलाई समावेशी बनाउनुभएको थियो । अहिले संविधानमात्रै नभएर नेपाली काँग्रेसको विधान पनि समावेशी छ र, कांग्रेस पनि समावेशी भएको छ । त्यहीकारण मैले सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुदैँछ ।

  • निर्वाचन निर्देशिकाप्रति असहमति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माको राजीनामा

    निर्वाचन निर्देशिकाप्रति असहमति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाल दलित संघको अध्यक्ष समेतबाट राजीनामा घोषणा गरेका छन् ।

    विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलितको प्रतिनिधित्व नहुनेगरी निर्वाचन निर्देशिका बनाइएको भन्दै राजीनामा दिएका हुन् ।

    षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने विश्वकर्माले बताएका छन् ।

    आफू एक जिम्मेवार सदस्यको हिसाबले यस्ता असमावेशी र शेरबहादुर देउवाको नेतृत्वमा अघि सारिएको समावेशी सिद्धान्त कदमको समेत खिल्ली उडाउने यस्तो नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भएकाले दुवै पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

    कांग्रेसभित्र विश्वकर्मा सभापति देउवाका निकटस्थ मानिन्छन् ।

  • भोलि मन्त्रिपरिषद् विस्तार हुन्छः कांग्रेस नेता विश्वकर्मा

    भोलि मन्त्रिपरिषद् विस्तार हुन्छः कांग्रेस नेता विश्वकर्मा

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भोलि बेलुकासम्म सरकार विस्तार हुने बताएका छन् । नेता विश्वकर्माले आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा सत्तासाझेदार दलबीच सहमति भइसकेको बताउँदै भोलि सरकार विस्तार हुने बताएका हुन् ।

    उनले भने– दलहरुबीच सहमति भइसकेको छ । भोलि साँझसम्ममा सरकारले पूर्णता पाउने सम्भावना छ ।

    नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारका सहभागी हुनेछ ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ दल नेपाली काँग्रेसको चर्को आलोचना गरे ।

    उनले भने– सभामुखले नगर्नुपर्ने काम गरेका छन् । त्यसविरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन सक्छ ।