Tag: महिला फुटबल

  • नेपालले बंगलादेशसँग आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

    नेपालले बंगलादेशसँग आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

    काठमाडौं । आसन्न एएफसी महिला एसियन कपको तयारीका क्रममा रहेको नेपालले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

    नेपालले विहीबार पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलअन्तरको जित निकालेको थियो । राष्ट्रिय टोलीबाट डेब्यू गरेका सविता राना र प्रिती राईले गोल गरेका थिए । मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त भएपछि नेपालको अग्रपंक्तिमा यी दुई खेलाडीको जिम्मेबारी बढेको छ ।

    दोस्रो खेलमा पनि नेपालले जितलाई निरन्तरता दिने लक्ष्य राखेको छ । विहीबारको खेलमा दोस्रो हाफमा अग्रपंक्तिमा परिवर्तन गरेका प्रशिक्षक ग्यारी फिलिप्सले आजको सुरुआती ११ मा केहि परिवर्तन गर्न सक्छन् ।

    उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटमा नेपाल समूह एफमा छ । नेपालले असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग खेल्दैछ । यो प्रतियोगिता नेपालमै हुने तय भएको थियो । तर कोरोना महामारीका कारण उज्वेकिस्तान सारिएको हो । यो समूहको शीर्ष स्थानमा रहन सके नेपालले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्न पाउनेछ ।

  • नेपाल र बंगलादेशकाे महिला टोलीबीच मैत्रीपूर्ण फुटबल आज

    नेपाल र बंगलादेशकाे महिला टोलीबीच मैत्रीपूर्ण फुटबल आज

    काठमाडौं । नेपालले बंगलादेशको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

    नेपाल र बंगलादेश दुवै एएफसी महिला एसियन कप छनोटको तयारीमा छन् । तयारीलाई अन्तिम रुप दिन बंगलादेश २ मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो । अर्को खेल आइतबार हुनेछ ।

    भारतमा सन् २०२२ मा हुने महिला एसियन कपमा छनोट हुन नेपालले उज्वेकिस्तानमा असोजमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्नेछ । नेपालले असोज ३ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्दैछ ।

    नेपाली टोलीमा कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थिति विपक्षीका लागि केहि सहज हुनेछ । बंगलादेशका प्रशिक्षकले बुधबारको पत्रकार सम्मेलनमै यो कुरा बताइसकेका छन् ।

    नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले सावित्रा हुँदा घाटा हुने भए पनि टिमका अन्य खेलाडीले राम्रो अवसर पाएको बताए । उनले आफ्ना सबै खेलाडी उत्कृष्ट रहेको दावी गरे ।

    एसियन कप छनोटमा बंगलादेश समूह जी मा छ ।

  • अमेरिकाको ४४ खेलको अविजित यात्रा स्वीडेनद्वारा अन्त्य

    अमेरिकाको ४४ खेलको अविजित यात्रा स्वीडेनद्वारा अन्त्य

    एजेन्सी । संयुक्त राज्य अमेरिकाकी सुपरस्टार स्ट्राइकर मेगन रापिनोले स्वीडेनसँगको पहिलो खेलमै लज्जास्पद पराजय ब्यहोरेपछि आफ्नो टोली निराश बनेको प्रतिक्रिया दिएकी छन् ।

    विश्वकप च्याम्पियन अमेरिकाले ओलम्पिक महिला फुटबलमा स्वीडेनसँग ३–० को हार ब्यहोर्‍यो । स्वीडिस स्ट्राइकर स्टिना ब्ल्याकस्टेनसले दुई गोल गर्दा सब्स्टिच्युड लिना हर्टिङले एक गोल गरिन् ।

    यो हारले अमेरिकाको ४४ खेलको कीर्तिमानी अविजित यात्रामा पूर्णविराम लागेको छ ।

    ‘मेराे विचारमा हामी केहि डराएका थियौं । केहि दवावमा थियौं र त्यसैले मैदानभरि ‘बुख्याँचा’जस्तै भयौं,’ रेपिनोले भनिन् ।

    स्वीडिस टोली चेल्सीकी कप्तान म्यागडालेना इरिक्सनविना मैदानमा उत्रिएको थियो । जवकि अमेरिकी टोलीमा रोज लेभेल्ले, साम मेविस, एलेक्स मोर्गन, टोविन हेथ, लिन्डसे होरानजस्ता सुपरस्टारहरुले भरिपूर्ण थियो ।

    पराजयसँगै अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ । पाँच वर्ष अघि ब्राजिलमा अमेरिकाले रजत पदक जित्दा क्वाटरफाइनलमा स्वीडेनलाई पेनाल्टीमार्फत पराजित गरेको थियो ।

  • महिला फुटबल लिगः स्तर बढेकै हो ?

    महिला फुटबल लिगः स्तर बढेकै हो ?

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झण्डै एक वर्ष पछाडि धकेलिएको राष्ट्रिय महिला लिग माघ ७ गतेदेखि काठमाडौंमा जारी छ । काठमाडौं बाहिर गत वर्षको चैतमा हुने भनिएको लिग कोरोनाका कारण काठमाडौंमा नै भएको हो ।

    पहिलोपटक डबल लिग पद्धतिमा जारी प्रतियोगितामा विभिन्न टोलीहरूले विदेशी खेलाडीहरूलाई पनि टोलीमा समावेश गरेका छन् । यसले गर्दा महिला लिगको स्तर बढेको विश्लेषण हुन थालेको छ । तथापि, कतिपय खेलका एकतर्फी नतिजाहरु हेर्दा अझै पनि प्रतियोगिता प्रतिस्पर्धात्मक बन्न नसकेको भान हुन्छ ।

    महिला लिगमा विभागीय टिमहरुकै दवदवा छ । अहिलेसम्म एपीएफ र आर्मीले एउटा खेल पनि हालेका छैनन् । भलै नेपाल पुलिस क्लबले गैर–विभागीय टोलीसँग पनि पराजय बेहोरिरहेको छ ।

    राष्ट्रिय खेलाडीको बाहुल्यता भएको एपीएफ क्लबमा अन्तर्राष्ट्रिय लिग खेलिसकेका खेलाडीको उल्लेख्य उपस्थिति देखिन्छ । विभागीय टोलीमध्ये एपीएफ र आर्मी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ६ खेलमा दुई हार र दुई बराबरीमा रोकिएको नेपाल पुलिस क्लब चौथो स्थानमा धकेलिएको छ ।

    विदेशी खेलाडीको प्रभाव

    महिला लिगमा पहिलोपटक विभिन्न टिमले विदेशी खेलाडीहरुलाई खेलाएका छन् । नेपाल पुलिस क्लबका प्रशिक्षक सन्जिब जोशी विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताको स्तर बढाएको बताउँछन् ।

    ‘पहिलेको तुलनामा लिगको स्तर बढेको छ, किनभने विदेशी खेलाडीहरू पनि महिला लिगमा देखिएका छन्,’ उनले नेपाल प्रेससँग भने, ‘विदेशी खेलाडीको उपस्थितिसँगै हामीलाई खेल रणनीति बनाउन पनि थप मेहनत गर्नुपरेको छ ।’

    विदेशी खेलाडी शारिरीक रूपमा बलिया भएकाले नेपाली खेलाडीलाई पनि विदेशी खेलाडीसँग खेल्ने अभ्यास हुने प्रशिक्षक जोशीको भनाइ छ ।

    जारी सिजनमा अन्य विभागीय टिमको तुलनामा अपेक्षित नतिजा निकाल्न असफल रहेको छ पुलिस । प्रशिक्षक जोशीले पुलिसको टोलीमा सन्तुलन मिल्न नसकेको बताए ।

    ‘पुराना खेलाडीहरूले छाडेर गए । अहिले नयाँ खेलाडीहरू ल्याएर टीम बनाएका छौं,’ उनी भन्छन्, ‘नयाँ खेलाडी लिएर खेलेको पहिलो प्रतियोगिता हो । त्यसैले टीममा सन्तुलन नमिलेको जस्तो देखिएको छ ।’

    विराटनगरका प्रशिक्षक पारस चौधरी पनि विगतको तुलनामा जारी लिगको स्तर वृद्धि भएका स्वीकार गर्छन् ।

    ‘विदेशी खेलाडीको उपस्थिति र डबल लिगको पद्धतिले स्तर वृद्धि भएको देखिन्छ,’ प्रशिक्षक चौधरीले भने, ‘विगतमा ट्रेनिङ नै नगरी आउनु पर्ने बाध्यता थियो । तर, यो वर्ष १५ दिन भए पनि अभ्यास गरेर विदेशी खेलाडीसहित प्रतियोगितामा सहभागी हुन पाउँदा नतिजा पनि राम्रै भइरहेको छ ।’

    विराटनगरले माघ २१ गते भएको खेलमा विभागीय महारथी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको थियो । त्यसअघि विराटनगरले चौदण्डीगढीमाथि ६–० तथा चन्द्रपुरविरुद्ध ५–० को जित हासिल गरेको थियो । जारी सिजन विराटनगरमा चार जना भारतीय खेलाडी समावेश छन् ।

    ‘एक जना सिक्किमबाट र तीन जना झारखण्डबाट गरी चार खेलाडी हामीले अनुबन्ध गरेका छौं,’ प्रशिक्षक चौधरीले भने, ‘विराटनगरको जितमा उनीहरूको प्रदर्शन महत्त्वपूर्ण छ, र उनीहरूको प्रदर्शनबाट म सन्तुष्ट छु ।’

    नेपाल एपीएफ क्लबका प्रशिक्षक जनकसिंह थारू विभागीय बाहेक अन्य टोलीले पनि विगतको तुलनामा राम्रो खेलिरहेको बताउँछन् ।

    ‘विदेशी खेलाडीहरू ल्याएसँगै प्रतियोगिताको स्तर अझै वृद्धि भएको पाइन्छ,’ उनले भने, ‘विभागीय टोलीहरू नगरपालिकासँग पराजित भइरहेका छन् । र विभागीय टोलीसँग कम गोल खाइरहेका छन् ।’

    लिगको पहिलो खेलपछि नेपाली राष्ट्रिय महिला फुटबलकी सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्राले विगतको तुलनामा प्रतियोगिताको स्तर वृद्धि भएको प्रतिक्रिया दिएकी थिइन् ।

    ‘चन्द्रपुर जस्तो राम्रो टोलीविरुद्ध गोल गरेर जित निकाल्न पाउँदा खुशी लागेको छ,’ २३ वर्षीया स्टार सावित्राले भनेकी थिइन्, ‘प्रतिस्पर्धात्मक खेलमा फर्किएको महसुस गरेकी छु । विगतको तुलनामा प्रतियोगिताको स्तरसमेत उन्नति भएको पाएँ ।’

    एकतर्फी नतिजाको अवस्था

    कुनै पनि खेल मनोरञ्जनात्मक हुनका लागि सबैभन्दा आवश्यक तत्व भनेको कडा प्रतिस्पर्धा नै हो । खेल जति एकतर्फी भयो, उति निरश हुन्छ । यस पाटोमा भने महिला लिगमा अझै धेरै सुधारको आवश्यक छ ।

    पहिलो खेलमा दुई विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र आर्मीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर, त्यसपछिका प्राय सबै खेल विभागीय टोलीको पक्षमा एकतर्फी देखिएका छन् । यद्यपि, नेपाल पुलिस क्लब भने गैर–विभागीय टोलीहरूसँग पनि पराजित हुँदै आएको छ ।

    तीन विभागीय, एक महानगरपालिका र तीन नगरपालिका गरी सात टोली प्रतियोगितामा सहभागी छन् । विभागीय बाहेक चौदण्डीगढी नगरपालिका, विराटनगर महानगरपालिका र वालिङले विभिन्न देशबाट विदेशी खेलाडी अनुबन्ध गरेका छन् । यसका बाबजुद पनि विभागीय र अन्य टिमहरुको स्तरमा अन्तराल देखिएको छ ।

    गत माघ १९ गते भएको एपीएफ र चौदण्डीबीचको खेल २२–० ले एपीएफले जित्यो । सो खेलमा एपीएफकी सावित्रा एक्लैले निर्ममतापूर्वक १२ गोल हानिन् । प्रतियोगितामा सर्वाधिक गोल अन्तर भएको म्याच थियो यो । तर, अरु धेरै म्याचमा एकतर्फी नतिजा निस्केका छन् ।

    चौदण्डीलाई अर्को खेलमा एपीएफले १४–० ले हराएको थियो भने आर्मीले पनि १२–० को नतिजा निकालेको थियो । वालिङले समेत चौदण्डीलाई १० गोल हान्यो । यसरी चौदण्डी यो प्रतियोगितामा गोल खानकै लागि आएको झैं भएको छ ।

    अर्को कमजोर टिम चन्द्रपुर हो । यस टिममाथि आर्मीले नै १०–० को फराकिलो जित हासिल गरेको थियो । यसैगरि चन्द्रपुरलाई एपीएफले ६–० ले, र एपीएफे ८–० ले जितेका छन् ।

    लिडिङ स्कोरर सावित्रा लिग भएकाले बढिभन्दा बढि गोल गर्नैपर्ने बताउँछिन् । ‘अन्तिममा अंक बराबरी भयो भने गोलअन्तरको महत्त्वपूर्ण भूमिका हुन्छ, त्यसैले धेरै गोल हान्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘नभए धेरै गोल हान्नु राम्रो होइन, त्यसले नयाँ पुस्ताका खेलाडीमा नकारात्मक असर पर्नसक्छ ।’ सावित्राले सुरुआती लिगका सुरुआती ८ खेलमा ३८ गोल गरिसकेकी छन् ।

    टाइट सेड्युलको गुनासो

    प्रतियोगिताको टाइट सेड्युलका कारण एउटै स्तरको प्रदर्शन हुन नसकेको बताउँछन् एपीएफका प्रशिक्षक थारु ।

    ‘आज एउटा म्याच खेलेर पर्सी फेरि अर्को खेल्नु पर्ने अवस्था छ, त्यसले गर्दा प्रदर्शनको स्तर ‘अप–डाउन’ भइरहेको छ,’ उनले भने, ‘खेलाडीहरूले आवश्यकताअनुसार आराम गर्न पाए भने खलेको स्तर अझै सुधार हुन्छ ।’

    विराटनगरका प्रशिक्षक पारसले पनि खेलाडीले उल्लेख्य समय नपाउँदा चोट बोक्नु परेको बताउँछन् । ‘खेलाडीले केही दिन आराम गर्न पाउने हो भने खेलाडीले हरेक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिन सक्छन्,’ उनले भने ।

    एपिएफकी सावित्रा भण्डारी पनि एक दिनको मात्रै ग्याप हुँदा खेलाडीलाई पक्कै गाह्रो हुने बताउँछिन् ।