Tag: मलामी

  • छिमेकीको मलामी गएका युवक नदीमा डुबेर बेपत्ता

    छिमेकीको मलामी गएका युवक नदीमा डुबेर बेपत्ता

    रुपन्देही । गुल्मीमा छिमेकीको अन्येष्टीमा गएका एक युवक कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।

    चन्द्रकोट गाउँपालिका-८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार पौडेल चन्द्रकोट गाउँपालिका-७ का ७६ वर्षीय थानेश्वर न्यौपानेको मलामी गएका थिए ।

    नदीमा नुहाउने क्रममा बेपत्ता भएका पौडेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ जनामात्र मलामी जान पाइने

    २५ जनामात्र मलामी जान पाइने

    काठमाडौं । कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन वा अन्त्येष्टी गर्दा २५ जनाभन्दा बढी मलामी जान नपाइने भएको छ ।

    स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले जनस्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापनको मापदण्ड तोकेको हो ।

    साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    प्रवक्ता जागेश्वर गौतमले व्यवस्थापन गर्न सम्भव नभए शव व्यवस्थापन सेनाले गर्ने व्यवस्था भएको बताए ।

  • संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना

    संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना

    बर्दीबास । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

    गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ । मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    कोरोना संक्रमणबाट दुईको मृत्यु

    जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना संक्रमणबाट दुईको मृत्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका-२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।

    त्यस्तै जलेश्वर नगरपालिका-२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना संक्रमण्बाट ५ जनाको मृत्यु भइसकेको छ ।

    निषेधाज्ञा जारी

    जिल्लामा कोरोना सङ्क्रमणको दर अत्यधिक वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरी कोरोनाको ‘चेन ब्रेक’ गरी सङ्क्रमण न्यूनीकरण तथा रोकथामको प्रयास थालनी गरिएकोे छ । बैठकले जिल्लाको १५ वटै पालिकालाई अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्पताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, सङ्कटको बेला उपभोक्तालाई ठगी नगर्न जस्ता निर्देशनहरुसमेत जारी गरेको छ ।

  • कोरोना जोखिम बढेपछि मलामी संख्या कम गर्न आग्रह

    कोरोना जोखिम बढेपछि मलामी संख्या कम गर्न आग्रह

    चितवन । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी संख्या कम गर्न आग्रह गरेको छ । समितिले सूचना निकालेर कोरोना संक्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो ।

    कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि न्यून संख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए । ‘रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकको सचेत व्यवहारलाई उत्तम मानिन्छ’, उनले भने, ‘सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना संक्रमणको उच्च जोखिममा छ ।’

    अनियन्त्रित संख्यामा मलामीको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कँदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यकरूपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ । न्यून संख्यामा मलामी आउन र मलामी अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ ।

    रासस