Tag: मन्त्री शैलेन्द्र साह

  • पदभारलगत्तै अर्थमन्त्री साहले गरे ४ प्रतिबद्धता

    पदभारलगत्तै अर्थमन्त्री साहले गरे ४ प्रतिबद्धता

    जनकपुरधाम । अबदेखि यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको राजस्व उठाइने भएको छ । नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले सोसम्बन्धी नीतिगत निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् ।

    मन्त्रालयका सचिव काशिराज दाहालका अनुसार ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको राजस्व लिने र पहिले राखिएको धितो मुल्यांकनको राजस्व फिर्ता गर्ने नीतिगत निर्णय भएको छ ।्

    प्रदेश सरकारको सञ्चित कोषमा रकम बढाउने उद्देश्यले ऋण बढोत्तरी गर्दा धितो मूल्यांकनको थप राजस्व असुल गरिनेछ । निर्णयअनुसार राजस्व उठाउन सम्बन्धित कार्यालयलाई सोमबार पत्राचार गरिने बताइएको छ ।

    अर्थमन्त्री साहले वित्तीय अनुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन् । उनको थप चार प्रतिबद्धता यस्तो छ-

    – अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब हुँदैन । शीघ्रातिशीघ्र विनियोजित बजेट निकासा हुन्छ ।

    – कुनै पनि मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गरिनेछ ।

    – योजना कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।

    – मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकता दिइनेछ । कृषिमा आधारित अर्थतन्त्रको विकास गरिनेछ ।

  • अर्थमा ‘सरुवा’ भएका मन्त्री साहले जिम्मेवारी सम्हाले

    अर्थमा ‘सरुवा’ भएका मन्त्री साहले जिम्मेवारी सम्हाले

    जनकपुरधाम । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा ‘सरुवा’ भएका मन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरे ।

    आज बिहान कृषि मन्त्रालयमा पुगेका मन्त्री साहलाई कर्मचारीहरूले बिदाई गरेका थिए । लगत्तै उनले मधेस भवनभित्रै रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    यता, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री विजयकुमार यादवले भने भोलि वा पर्सिमात्र पदभार ग्रहण गर्ने बुझिएको छ ।

    मन्त्री यादवनिकट एक नेताले भने, ‘मिडियामा राजीनामा दिने हल्ला फैलाइएको छ । त्यसमा कुनै सत्यता छैन । पार्टीको निर्णय अनुसार मन्त्रालय हेरफेर गरिएको छ ।’ कृषि मन्त्रालयमा मन्त्री साहको कार्यसम्पादन मूल्यांकन कमजोर देखिएकाले माथि उकास्न मन्त्री यादवलाई पठाएको ती नेताको दावी छ ।

    मन्त्रालय हेरफेर गरिएका दुवै मन्त्री जनता समाजवादी पार्टी (जसपा) का हुन् । यादव सिरहा र साह सप्तरीमा अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट निर्वाचित सांसद हुन् ।