Tag: मनिष डाँगी

  • मनिष आज डिस्चार्ज हुने, तत्काल मैदानमा फर्केलान् त ?

    मनिष आज डिस्चार्ज हुने, तत्काल मैदानमा फर्केलान् त ?

    काठमाडौं । ए डिभिजन लिगको १०औं चरणमा च्यासल युथ क्लबविरुद्धको खेलमा घाइते भएका मछिन्द्र क्लबका स्ट्राइकर मनिष डाँगी आज डिस्चार्ज हुने भएका छन् ।

    मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालले दिएको जानकारी अनुसार ब्लु क्रस अस्पतालमा उपचाररत मनिष आज डिस्चार्ज हुनेछन् । टाउकोमा चोट लागेका कारण उनले ए डिभिजन लिगका बाँकी तीन खेल गुमाउने सम्भावना उच्च रहेको कटुवालले बताए । तर उनको स्वास्थ्य अवस्था भने समान्य रहेको छ ।

    शनिबार दशरथ रंगाशालामा भएको खेलको ६६औं मिनेटमा मनिष विपक्षी खेलाडी यानिक केइचासँग ठोक्किएर मैदानमा लडेका थिए । टाउकोमा चोट लागेका उनी करिब चार मिनेट मैदानमै बेहोस भएका थिए ।

    मनिष मैदानमा लडेलगत्तै खेलाडीहरुमा रुवाबासी नै चलेको थियो । झन्डै सात मिनेटको प्राथमिक उपचारपछि उनलाई नजिकै रहेको ब्लु क्रस हस्पिटल लगिएको थियो । त्यसपछि खेल सुचारु भएको थियो ।

    मनिष दोस्रो हाफमा मैदान छिरेका थिए । ६१ औँ मिनेटमा सुनिल बलको स्थानमा उनलाई मैदान छिराएको थियो । तालिकाको शीर्षस्थानमा रहेको मच्छिन्द्रले उक्त खेल २–० गोलले जितेको थियो ।

  • मनिष डाँगीलाई सीपीआर गर्ने डाक्टरको १७ लाखको घडी हरायो !

    मनिष डाँगीलाई सीपीआर गर्ने डाक्टरको १७ लाखको घडी हरायो !

    काठमाडौं । हिजो सहिद स्मारक ए डिभजिनअन्तरगत शनिबारको खेलका क्रममा मच्छिन्द्र क्लवका खेलाडी मनिष डाँगी मैदानमै लडेर बेहोश भए । त्यसपछि एक व्यक्ति दर्शक दीर्घाबाट दौडिँदै गएर उनलाई सीपीआर (छातीमा थिचेर श्वासप्रश्वास सहज तुल्याउने प्रक्रिया) गरिरहेको देखियो ।

    करिब सात मिनेटको सीपीआरपछि उनलाई ब्लु क्रस अस्पताल दौडाइएको थियो । हाल मनिषको अवस्था सुधारोन्मुख छ । तर, सीपीआर दिने व्यक्ति भने आज आफ्नो महंगो घडी हराएको भन्दै महानगरीय प्रहरी परीसर पुगेका छन् ।

    डाँगीलाई सीपीआर गराउने व्यक्ति हुन्– मेडिकल डाक्टर डा. प्रतीक गुरुङ । उनी मच्छिन्द्र क्लवका सल्लाहकार भएको बुझिएको छ । उनी पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरासँगै खेल हेर्न दशरथ रंगशाला पुगेका थिए ।

    खेलको ६६ औं मिनेटमा डाँगी विपक्षी खेलाडीसँग ठोक्किएर लडे । उनी अचेत देखिएपछि आत्तिएका खेलाडीहरुमा रुवावासी नै भएको थियो । त्यसपछि डा. गुरुङ तत्काल मैदानतर्फ दौडिएर डाँगीको प्राथमिक उपचारमा जुटेका थिए ।

    डाँगीसँगै उनी पनि ब्लु क्रस अस्पतालतर्फ गए । फर्केर आएपछि गाडी स्टार्ट गर्न लाग्दा हातमा बाँधेको रोलेक्स घडी हराएको उनको भनाइ छ । आफू प्याराफिटबाट मैदानतर्फ जाने र अस्पतालबाट फर्किनेबीचमा घडी हराएको उनले प्रहरीलाई बताएका छन् ।

    केही वर्षअघि छत्रमान पुत्रको रोलेक्स घडी काण्ड निकै चर्चामा आएको थियो । जिम खानामा हराएको उनको घडी कांग्रेस नेता रामहरी खतिवडाको गोजीमा भेटिएको थियो । छत्रमानपुत्रसँगै म्याच हेर्न जाँदा डा. गुरुङको घडी हराएको छ ।

  • साफ च्याम्पियनसिप: श्रीलंका र नेपालबीचको खेल एक्सन स्पोर्ट्सले लाइभ दिने

    साफ च्याम्पियनसिप: श्रीलंका र नेपालबीचको खेल एक्सन स्पोर्ट्सले लाइभ दिने

    काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत केही बेरमा सुरु हुने श्रीलंकाविरुद्धको खेल एक्सन स्पोर्ट्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

    प्रतियोगिता सुरु हुनुअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४० लाख रूपैयाँमा प्रत्यक्ष प्रशारणका लागि टेन्डर खोलेको थियो । तर, कसैले बिड नगरेपछि शुक्रबार भएको माल्दिभ्सविरुद्धको खेल नेपालमा भएका दर्शकले हेर्न पाएका थिएनन् ।

    त्यो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गरेको थियो । आज हुने श्रीलंकाविरुद्धको खेल ९:४५ बजे सुरु हुनेछ ।

    र, यो खेल प्रत्यक्ष प्रशारण हुने एन्फाले जानकारी दिएको छ । यो खेलका लागि  नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १ परिवर्तन गर्दै लाइन अप पनि सार्वजनिक गरिसकेका छन् । प्रशिक्षक अब्दुल्लाहले सुजल श्रेष्ठको ठाउँमा आज विशाल राईलाई मैदानमा उतारेका छन् ।

    माल्दिभ्सविरुद्धको खेलमा सब्स्टिच्युट खेलाडी मनिष डाँगीले गोल गर्दै नेपाललाई माल्दिभ्सविरुद्ध साफमा पहिलो जित दिलाएका थिए ।

    उनले कप्तान किरण चेम्जोङको नेतृत्वमा सार्वजनिक गरेको टोली यस्तो छ:

    गोलपिकर : किरण चेम्जोङ (गोलकिपर/कप्तान)
    डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल
    मिडफिल्डर : सुमन लामा, पुजन उपरकोटी, तेज तामाङ, विशाल राई, गौतम श्रेष्ठ
    फरवार्ड : नवयुग श्रेष्ठ, अञ्जन विष्ट

  • अविस्मरणीय जितको हिरो- मनिष डाँगी

    अविस्मरणीय जितको हिरो- मनिष डाँगी

    काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले साविक विजेतालाई उसकै मैदानमा पराजित गर्दै ‘ड्रिम-स्टार्ट’ गरेको छ । शुक्रबार राति भएको खेलमा घरेलु समर्थकअघि माल्दिभ्सलाई उसैको मैदानमा पराजित गर्दा नेपालका लागि नायक बनेका थिए- मनिष डाँगी ।

    सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको ८६औं मिनेटमा मनिषले गोल गर्दै नेपालका लागि २२ वर्षपछि माल्दिभ्सविरुद्ध जित सुनिश्चित गरेका थिए । र, जितका नायक बनेका थिए ।

    नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि जितको हिरो मनिष भएको प्रतिक्रिया दिए ।

    ‘हामी जितको हकदार थियौं, हामीले राम्रो फुटबल खेलेका थियौं,’ उनले भने, ‘उनीहरूले केही मौका गुमाएका थिए, हामीले पनि केही मौका गुमायौं । तर, आजको जितको हिरो मनिष हो ।’

    सन् १९९९ को साग गेम्समा माल्दिभ्सलाई अन्तिम पटक पराजित गरेको नेपालले २२ वर्षपछि दक्षिण एसियाली पावर हाउसलाई पराजित गर्न सफल भएको हो ।

    खराब इतिहास बोकेको नेपाली टोलीले माल्दिभ्सविरुद्ध जित महत्त्वपूर्ण भए पनि प्रशिक्षक अब्दुल्लाहले नेपालले उपाधि नै जितिनसकेको सम्झाएका छन् ।

    ‘हामीले उपाधि नै जितिसकेका होइनौं,’ उनले भने, ‘संयमित हुनु जरुरी छ, हाम्रो ध्यान अर्को खेलमा हुनेछ । नेपालमा भएका सबै समर्थकलाई शान्द रहन आग्रह गर्छु ।’

    नेपालले सोमबार श्रीलंकाविरुद्ध प्रतियोगितामा दोस्रो खेल खेल्ने छ । पाँच टोली सहभागी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    दुई दिनअघि मात्रै आफ्ना काकालाई गुमाएका प्रशिक्षक अब्दुल्लाहले यो जित उनीप्रति समर्पितसमेत गरेका छन् ।

  • इराकसँग ६-२ ले हार्‍यो नेपाल

    इराकसँग ६-२ ले हार्‍यो नेपाल

    काठमाडौं । डिफेन्समा निरीह बनेको नेपाल मैत्रीपूर्ण फुटबलमा इराकसँग ६-२ गोलको नतिजामा पराजित भएको छ । विश्वकप तथा एएफसी एसियन कपको तयारी स्वरूप इराकको बसरामा शनिबार भएको खेलमा युवा खेलाडीको बाहुल्यता भएको नेपालले सुरुआतमा लिएको अग्रता जोगाउन सकेन ।

    इराकको दोस्रो ठूलो शहर बसरास्थित अल्फाहया रंगशालामा भएको खेलको सातौं मिनेटमा घरेलु टोलीका कप्तान अला अब्दुल जहर खासिनले फ्रि-किकमा नेपाली कप्तान किरण चेम्जोङलाई बिट् गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै अञ्जन विष्टको प्रहारमा हमद इब्राहिम खलाफले गरेको बचाउने असफल प्रयास आत्मघाति गोलमा परिणत भएको थियो । उपहार गोलसँगै बराबरीमा फर्किएको नेपालका लागि डेब्युट्यान्ट मनिष डाँगीले गोल गर्दै अद्भूत अग्रता दिलाएका थिए ।

    नेपाली राष्ट्रिय टोलीबाट पहिलो पटक मैदानमा उत्रिएका मनिषले २९औं मिनेटमा काउन्टर अट्याकमा सुन्दर फिनिसिङ गरेका थिए ।

    त्यसपछि सम्हालिन नसकेको नेपालले ३९औं मिनेटमा दोस्रो गोल खायो । इराकका लागि मोहमद अब्दुलझाराले गोल गर्दै २-२ को बराबरीमा ल्याएका थिए । त्यसको एक मिनेट नबित्दै नेपालले पुन: गोल खायो । ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई पुन: ३-२ को अग्रता दिलाएका थिए ।

    अन्तिम समयमा सम्हालिन नसकेको नेपाली रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको इराकका लागि इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीका लागि ४-२ को अग्रता निश्चित गरे ।

    दोस्रो हाफको सुरुआतमा सम्हालिने प्रयास गरेको नेपाल रक्षात्मक देखिएको थियो । यद्यपि, नेपालले थप दुई गोल खायो ।इराकका लागि ६८औं मिनेटमा वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले डिफेन्सिभ इररको फाइदा उठाउँदै इराकको अग्रता ५-२ मा पुर्‍याएका थिए ।

    त्यसको ६ मिनेट नबित्तै सज्जाद जसिम इराकका लागि गोल गर्दै ६-२ गोलको जित सुनिश्चित गरे ।