Tag: मध्यपुरथिमि नगरपालिका

  • चार वर्षमै मुहार फेरिएको मध्यपुर

    चार वर्षमै मुहार फेरिएको मध्यपुर

    भक्तपुर ।  पुरानो नेवार बस्ती, सम्पदाको शहर, जात्रापर्वले सम्पन्न। यति हुँदाहुँदै पनि मध्यपुरथिमि नगरपालिका क्षेत्र सधैँ ओझेलमै थियो। पछिल्लो चारवर्षे अवधिमा भने यसको मुहार फेरिएको छ।

    यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत स्वरुपमा नयाँ जीवन पाएका छन्। पुरिएका ऐतिहासिक पोखरी, इनार र ढुङ्गेधारा धमाधम उत्खनन हुँदै परम्परागत शैलीमा पुनःनिर्माण भएका छन्।

    फोहर फाल्ने डम्पिङ साइट आकर्षक उद्यानमा परिणत भएका छन्। पन्ध्रदेखि ३० वर्षसम्म बन्द भएको ऐतिहासिक महत्व बोकेका मुर्छित जात्रा, पर्वहरु ब्युँतिएका छन्। यहाँका मूर्त–अमूर्त कला, संस्कृति, जात्रा, पर्व नयाँ पहिचान तर पुरानै स्वरुपमा फर्किएर आन्तरिक पर्यटकको चाप बढेपछि अचेल गौरबले हाँस्न थालेको छ मध्यपुरथिमि।

    जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै भएको छ मध्यपुरथिमिमा अहिले। वर्षौँदेखि स्वरुप परिवर्तन हुन नसकेको यस नगरपालिकामा स्थानीय तहको निर्वाचनसँगै निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठको इच्छा, काम गर्ने लगनशीलता र अहोरात्र खटाइले मध्यपुरथिमि नगरपालिकाको मुहार फेरिएको बताउँछन् स्थानीयवासी। नगरप्रमुख श्रेष्ठको योजना र कार्यशैलीमा अन्य जनप्रतिनिधि एवं स्थानीय जनताले साथ दिएपछि आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा नगरपालिकाले नयाँ पहिचान पाउन सफल भएको छ।

    ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै नेपालको एक मात्र मध्यपुरथिमि नगरपालिका ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ। एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार दिएपछि यो नगरपालिका नेपाल बाहिर पनि चर्चामा आएको नगरप्रमुख श्रेष्ठले बताए।

    के भयो चार वर्षमा ?

    अरनिको राजमार्गसँगै टाँस्सिएको मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर साख्वाः चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टिको फोहर फाल्ने भिरालो जमिन यतिखेर सुन्दर ‘शङ्खधर पार्क’मा परिणत भएको छ। दुईवर्ष अघिसम्म नाक, मुख थुनेर हिँड्नुपर्ने यो ठाउँ अहिले मर्निङवर्क गर्ने र थकाइ मार्न सुस्ताउने थलो बनेको छ।

    शङ्खधर चोकबाट बालकुमारीतर्फ जाने ठाडो उकालो ढलान भएको छ। तेत्तीस रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा हरियो दुबो, कलात्मक ढुङ्गाका सिँढी, झरना, ह्याङ्गिङ गार्डेन, लहलहाउँदो विभिन्न जातका बिरुवा, डाँची अप्पा, चुना सुर्कीको प्रयोग गरेर ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थिएटर बनेको छ।

    नगरप्रमुख श्रेष्ठका अनुसार रक क्लाइम्बिङ, ठूलो शङ्ख र शङ्खधर साँख्वाःको शालिक राख्ने तयारी गरिँदैछ भने परम्परागत पाटी र सूचना केन्द्र निर्माणको काम शुरु भएको छ। काठमाडौं महानगरपालिकाको नगर साझेदारी कार्यक्रमबाट आएको दुई करोड र मध्यपुरथिमि नगरपालिकाको थप लगानीसहित ६ करोड ५० लाख बजेट खर्चिएको छ।

    उता थिमिकै बोडेस्थित कुमारी उद्यान अहिले उपत्यकाका बासिन्दाका लागि आकर्षण बनेको छ। फोहर फाल्ने भिरालो जमिनलाई नगरपालिकाले आकर्षक उद्यान, ढुङ्गेधारा, पोखरीको पुनःनिर्माण मात्रै गरेन, जीर्ण बनेको कुमारी मन्दिर संरक्षण र भत्किनै लागेको फल्चाको पुनःनिर्माणले पर्यटकलाई आकर्षित पार्न सफल भएको छ।

    नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले बोडेमै भैरव उद्यान, वडा नं ४ मा यमा उद्यान, विष्णु कुण्डल उद्यान, नगदेशको सुचुत्वास्थित गयर दोफो उद्यान निर्माण सम्पन्न गरेको छ भने चोडेको निलवर्ण उद्यान, कमेरोटारको तसोताः उद्यान, आलाचको उद्यान, सिद्धिकालीको कुटिंगडाँडामा सञ्जिवनी उद्यान र लोकन्थलीमा बाल उद्यान निर्माण धमाधम भइरहेको छ।

    ठेक्का प्रणाली निरुत्साहित गर्दै सबै उपभोक्ता समितिमार्फत भइरहेका सम्पदा संरक्षणको काममा जनप्रतिनिधि र स्थानीयवासीले सघाइरहेका छन्। सिद्धिकालीमा मात्रै नपाको करिब चार करोडको लागतमा गेट, ढुङ्गा छपाइ, मन्दिरको जीर्णोद्धार, पाटी निर्माण, मन्दिर परिसरको सुधार, मन्दिरको छानो र झलरमा सुनको जलप लगाएर आकर्षक बनाइएको छ।

    पुर्खाले जोडेर गएको महत्वपूर्ण सम्पदाको अस्तित्व जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्न अहोरात्र खटिने नगरप्रमुख श्रेष्ठ सम्पदादेखि उद्यानसम्म, जात्रा, पर्वदेखि जनताको हरेक काममा सघाउन आफैँ पुग्‍छन्। बिहान उठेपछि निर्माण भएका उद्यान र सम्पदा डुल्छन् र त्यहाँको अवस्था बुझ्छन्। उद्यान, मन्दिर, पोखरी, पाटी निर्माणमा उपभोक्ता र मजदुरलाई हौसला दिन आफैँ इँटा, टायर झिङ्गटी समाएर श्रमदान गर्न पुग्छन्भ ने जात्रा पर्वमा आफैँ स्थानीयवासीसँगै सहभागी हुन्छन्।

    मन्दिरको छानो हाल्दा, छानोमा आफैं उक्लेर स्थानीयवासी र मजदुरलाई सघाउँछन्। शिलान्यास र उद्घाटन गर्नेमात्रै होइन, निर्माण सम्पन्न नभएसम्म हरेक काममा सघाउन आफैं तम्सिन्छन्। नगरप्रमुख श्रेष्ठको स्थानीयवासीसँग हातेमालो गर्ने यही बानीले स्थानीयवासीको मन जित्दै गएको नपाका प्रवक्ता केशव सिलवालले बताए।

    वर्षौंदेखि पुरिएर खेल मैदान र फोहर फाल्ने थलोको रूपमा परिणत भएको मध्यपुरथिमि नगरपालिका–४ इन्द्रायणी पीठमा रहेको प्रसिद्ध धार्मिक एवं मल्लकालीन विष्णुकुण्डको उत्खनन गरी जीर्णोद्धार गरेर मल्लकालीन स्वरुपमै फर्काएपछि यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षण बनेको छ।

    खेल मैदान बनेको मथिनपा–४ को ‘निगू पुखुः’ अर्थात् दुई पोखरीको मल्लकालीन शैलीमा जीर्णोद्धार भएपछि पानी भरेर आकर्षक बनेको छ। करिब ३०० वर्ष पहिले गङ्गा महारानीले निर्माण गराएको दुई पोखरीले पुनःजीवन पाएसँगै यहाँको मुहार फेरिएको छ। बाँकी केही काम पनि केही महिनाभित्रै सम्पन्न गरिने नगरप्रमुख श्रेष्ठले बताए।

    स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुई पोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको थियो। यो पोखरी आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक बन्न थालेको छ।

    पुरिएर हराएको कयकुता पुखुःको उत्खनन एवं पुनःनिर्माण, बोडे–८ मा पुरिएर पार्किङ बनाएको देबु पुखुःको उत्खनन गरी पुनःनिर्माण गरिएको छ। बोडेकै कुमारी मन्दिर परिसरको पोखरीको पुनःनिर्माण, अतिक्रमणमा परेको पलिस्वाः पुखुः अर्थात् कमलपोखरीको जीर्णोद्धार शुरु भएको छ। वडा नं ७ नगदेशको गुँलापुखुः, दक्षिण बाराहीको क्वाछेँ पुखुः, वडा नं ५ भुँलाखृल पुखुः, वामुने पुखुःलगायतका पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार भइरहेको छ।

    नगरप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले चार वर्षको अवधिमा २३ वटा मन्दिर, ३७ वटा पाटी, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गेधारा, इनारको संरक्षण गरेका छौँ, १५ वटा पोखरीको पुनःनिर्माण एवं जिर्णोद्धार भएकामा छ वटामा पानी भरिएको र थप १० वटामा काम भइरहेको छ। यहाँका थिमि लायकु, बोडेको लायकु र नगदेशको लायकु गरी तीनवटा दरबार पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ, थप कामहरु गरिरहेका छौँ।’

    नगरपालिकाले पोखरीको धमाधम उत्खनन, जीर्णोद्धार एवं पुनःनिर्माण थालेर पानी भरेपछि मध्यपुरथिमिका टोलटोलमा पोखरीले सुन्दरता थपेको छ भने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनेको स्थानीयवासी एवं नगरपालिकाका कानून अधिकृत, सूचना अधिकारी सिलवालले बताए।

    त्यस्तै चोरको भयले केही वर्ष अगाडि प्रसिद्ध एवं ऐतिहासिक बालकुमारी, कुमारी, लोकेश्वर मन्दिरलगायतलाई वरिपरिबाट फलामको बार लगाएर राखिएकामा नगरपालिकाले त्यस्ता बार हटाएर खुला बनाएको छ। यहाँका जात्रापर्वमा अत्यावश्यक पर्ने धिमे बाजा, धिमे खल, पुचः, जिब्रो छेड्ने जात्रा, रथ पूजालगायतको संरक्षण गरेको छ।

    नगरपालिकाले थिमिको पाँच वटा विहारको पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ भने बोडेको पाँचो गणेशमा जिब्रो छेड्ने पाटी पछाडिको जग्गा खरिद गरी पाटीलाई पछाडि सारेर जात्रास्थललाई फराकिलो पार्ने कार्य शुरु गरेको छ। नगदेशको लायकुलाई नेवाः सङ्ग्रहालय बनाइने तयारी छ।

    सम्पदामा मात्रै नभई स्थानीयवासीको खानेपानी समस्या समाधान गर्दै खानेपानीको पाइप विस्तार र पानी वितरण प्रभावकारी बनाउनुका साथै ढल र सडक निर्माणलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ।

    उनले नगरपालिकाको फोहरबाट कम्पोष्ट मल उत्पादन शुरु गर्दै जापानी प्रविधिबाट फोहरबाट मल उत्पादन गर्ने पहिलो पालिका बनेर अरुका लागि नमूना प्रस्तुत गरेको छ। यही मलले अचेल राष्ट्रपति भवनदेखि सर्वसाधारणको आँगनसम्ममा अग्र्यानिक तरकारी फल्न थालेको उनले बताए।

    मध्यपुरथिमिको बासिन्दालाई सहज र सुलभ स्वास्थ्य सेवा दिन नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई १०० शय्यामा विस्तार गर्दै विभिन्न सेवाहरु सञ्चालन गरेको छ। कोरोना महामारीमा आफ्नो ज्यानको समेत पर्वाह नगरी अस्पतालमै अहोरात्र खटिएर शय्या थप्ने, अक्सिजन, आइसीयूको व्यवस्था गर्ने कार्यमा निरन्तर लागेका नगरप्रमुख श्रेष्ठ कोरोनाको तेस्रो लहरको पनि आवश्यक तयारी गरिसकेको बताए।

    पालिकाको पहिलो अस्पतालको रुपमा रहेको यस अस्पतालमा पहिलोपटक पिसिआर ल्याब स्थापना गर्दै पिसिआर परीक्षण, अक्सिजन प्लान्ट स्थापनासमेत गरेका छन्। बाँकी एक वर्षको कार्यकालमा आफूले शुरु गरेका काम सम्पन्न गर्ने योजनासाथ खटिने उनले बताए। रासस

  • तीन सय वर्ष पुरानो ‘निगु पुखुः’ को पुनर्निर्माण सम्पन्न: ६३ वर्षपछि भरियो बिस्केटका लागि पानी

    तीन सय वर्ष पुरानो ‘निगु पुखुः’ को पुनर्निर्माण सम्पन्न: ६३ वर्षपछि भरियो बिस्केटका लागि पानी

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा दुई पोखरीको नामले प्रसिद्ध पोखरीमा दुई वर्ष अघिसम्म बालबालिका फुटबल खेल्थे । स्थानीयले मङ्सिरमा सरसफाइ गर्दै धान सुकाउँथे । तीन सय वर्ष पुरानो यो पोखरीलाई वरिपरि घाँस र झारले पहिचान मेटेर नाममा मात्रै सीमित पारेको थियो ।

    आज त्यही पोखरीले स्वरूप फेरेको छ । घाँस र झार छैन । पोखरीमा सुन्दर राता तेलिया इँटाले नयाँ स्वरूप पाएको छ । यो ऐतिहासिक पोखरीलाई मध्यपुरथिमि नगरपालिकाले पुनर्निर्माण गरी बुधबार मात्रै पानी भरेर आफ्नो ३०० वर्ष पुरानै स्वरूपमा फर्काएको छ । लोप भइसकेको ऐतिहासिक नाम ‘निगु पुखुः’ले फेरि प्रसिद्धि कमाएको छ ।

    करिब  १५ करोडको लागत अनुमान गरी नगरपालिकाले प्रसिद्ध ऐतिहासिक निगु पुखुः अर्थात दुईपोखरीको संरक्षण अभियान शुरु गर्दै दुवै पोखरीको परम्परागत शैलीमा पुनःनिर्माण सम्पन्न गरेपछि आउँदो बिस्केट जात्राका लागि पानी भरेको हो ।

    गत बिस्केट जात्राका लागि दुई पोखरीमध्ये एउटा पोखरी पुनर्निर्माण सम्पन्न गरी पानी भरेको नगरपालिकाले सँगैको अर्को ठूलो पोखरीको पनि परम्परागत शैलीमा पुनर्निर्माण गरी पानी भरेर वास्तविक पोखरीकै स्वरूपमा फर्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

    उनले भने, ‘एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी २०७७ को बिस्केट जात्राका लागि पानी भरेका थियौँ, अर्को ठूलो पोखरीको पनि पुनःनिर्माण सकेर आउँदो बिस्केट जात्राका पानी भर्ने काम सम्पन्न भएको छ, पोखरीले नयाँ स्वरूप र नयाँ जन्म पाएको छ ।’

    पानी नसुकोस् भनेर पोखरी निर्माणका क्रममा पिधँमा कालोमाटो छ इन्च, त्यसमाथि तीन इन्च पाँगो माटो र त्यसमाथि फेरि छ इन्च कालोमाटो राखेर त्यसमाथि डाँची अप्पा इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पामा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ ।

    निगु पुखुः संरक्षणका लागि नगरपालिकाले विसं २०७५ देखि २०७६ चैतसम्ममा रु एक करोड २५ लाख खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि आव ०७६/०७७ मा नगरपालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको थियो । पोखरीको जीर्णोद्धार गरेर पानी भर्न करिब तीन करोड खर्च भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

    दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्धारका लागि वाग्मती प्रदेश सरकारबाट करिब रु ३९ लाख बजेट आएको थियो ।

    दक्षिणतर्फको पोखरी पाँच फिट गहिरो छ भने उत्तरतर्फको पोखरी सात फिट गहिरो बनाइएको छ । पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि ठूलो पोखरीमा ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

    आकाशेपानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ । पोखरीमा मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाइएको छ ।

    तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले कुल १५ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो ।

    पोखरीको पुनःनिर्माण सम्पन्न गरे पनि दुईवटै पोखरीको वरिपरि पैदलमार्ग निर्माण, आठ वटा परम्परागत शैलीको फल्चाअर्थात् पाटी, दुईवटा पोखरीको बीचको बाटो पुनःनिर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने काम भने अबको एक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

    करिब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो ।

    बढ्दो शहरीकरण तथा पानीको वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा चासो नहुँदा संरक्षणको अभावमा पोखरी घाँसेचौरमा परिणत भएको स्थानीयवासी बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र शहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको स्थानीयवासीको भनाइ छ ।

    विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् ।

    ‘गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन’, श्रेष्ठले भने ‘पोखरी सुक्यो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले जनप्रतिनिधि आएपछि संरक्षण थाल्यौ, अब पुरानै अवस्थामा फर्किन्छ ।’

    यसअघि २०६५ सालमा नगरपालिकाले १० लाखको लागतमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन । अब भने निगु पुखुःले पुनर्जीवन पाएको छ ।

  • मध्यपुर थिमि एशियन अवार्डबाट पुरस्कृत

    मध्यपुर थिमि एशियन अवार्डबाट पुरस्कृत

    भक्तपुर । कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण शहरको रूपमा रहेको मध्यपुर थिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ ।

    विश्वमा बढ्दो शहरीकरणले कैयौं महत्वपूर्ण ऐतिहासिक सम्पदा नासिंदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गरी प्रगति हासिल गरेका एशियाली शहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिंदै आएको यो पुरस्कार यस वर्ष मध्यपुर थिमि नगरपालिकाले पाएको युएन हेबिट्याटका कार्यक्रम प्रबन्धक पिएस जोशीले जानकारी दिए।

    ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै वितरण गरिने उक्त पुरस्कार पाउने मध्यपुर थिमि नगरपालिका नेपालकै एक मात्र नगरपालिका हुन सफल भएको छ ।

    एशियाका स्थानीय सरकार, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञलगायतको प्रतिस्पर्धामा दक्षिण कोरियाका चार, जापानका तीन, चीनका दुई तथा मलेशिया, नेपाल र थाइल्याण्डका एक–एक नगरपालिकाले उक्त पुरस्कार प्राप्त गरेको जोशीले जानकारी दिए।

    शहरी क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएको युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

    पुरस्कार पाएपछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिको ऐतिहासिक कला, संस्कृति, सम्पदा, सांस्कृतिक धरोहर एवं परम्पराको संरक्षणसँगै विकासमा पुर्याएको योगदानले पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै यसले आफूलाई अझै जिम्मेवार बनाउँदै सम्पदा संरक्षणको अभियानमा थप प्रेरणा दिएको बताए ।

    नगरपालिकाले यो पुरस्कार पाउनमा नगरपालिकाको सम्पदा संरक्षणको अभियानमा सक्रिय रहेका उपभोक्ता समिति, नगरपालिका परिवार, जनप्रतिनिधि, कर्मचारी, सम्पूर्ण मध्यपुरथिमिका बासिन्दा एवं सरोकारवाला निकायको योगदान रहेको उनी बताउँछन् ।

    लोपोन्मुख अवस्थामा पुगेका, वर्षौंदेखि बन्द भएका मध्यपुर थिमिका कला, संस्कृति, सांस्कृतिक परम्पराको जगेर्ना गर्नेदेखि पुरिएका, भत्किएका, जीर्ण भएका ऐतिहासिक सम्पदा संरक्षण अभियानको नगरप्रमुख श्रेष्ठले नेतृत्व गरेका थिए ।

    उनले भने, “हामीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि मध्यपुर थिमिभित्रका पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुई उद्यान पुनःनिर्माण एवं जीर्णोद्वार गरेका छौं, अन्य सम्पदाको संरक्षण तथा जीर्णोद्धार पनि भइरहेको छ, यो पुरस्कारले मसँगै सिङ्गो नगरपालिकाको टिमलाई थप जिम्मेवार बनाएको छ ।”

    यो पुरस्कारले मध्यपुर थिमि नगरपालिका मात्रै नभई विश्वमा सिङ्गो नेपालकै नाम राख्न सफल भएको बताउँदै उनले सम्पदा संरक्षण अभियानलाई अझै सशक्त रूपमा लैजाने बताए ।

    मध्यपुर थिमि नगरपालिकाले सम्पदा संरक्षणसँगै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सम्पदा एवं परम्परागत बस्तीलाई जीवित सङ्ग्रहालयको रूपमा विकास गर्ने, नगरका प्रत्येक सम्पदास्थल र परम्परागत बस्तीमा पुग्ने गरी पदमार्ग निर्माण, रात्रिकालीन पर्यटनको विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित पार्ने परम्परागत सांस्कृतिक पहिचानलाई जीवन्तरूपमा प्रस्तुत गर्ने गरी नगरपालिका अगाडि बढेको छ ।

    शङ्खधरचोकमा निर्माण भइरहेको शङ्खधर उद्यानदेखि बोडेको कुमारी उद्यानसम्म, दक्षिण बाराहीदेखि नीलबाराहीसम्मका सम्पदाको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई पुर्याउने गुरुयोजना बनाएर अगाडि बढेको नगरप्रमुख श्रेष्ठले बताए ।