Tag: मखमली

  • लोप भयो मखमली फूल

    लोप भयो मखमली फूल

    पाल्पा । ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्र्दभिक लाग्छ ।

    पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ ।

    दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइनाका साथै तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।

    हिजोआज भने मखमली फूल लोप हँुदै गएको छ । गाउँघरमा यो फूल भरसक पाउनै मुस्किल छ । दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीहरूका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । अहिले यो फूल गाउँघरमा पाइनै छाडेको बताउँछिन्, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम ।

    ‘मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चारवटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्वविशेष महत्व राखेका फूलको संरक्षण हुनसकेको छैन’, उनले भनिन्।

    रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ५६ वर्षीय गिरीमाया कुमालले तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, घरको डिलमा दुई÷तीन बोट छन्, जोगाएर राखेको छु, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज चामलमा बियाँ खोजेझैँ मात्र भेटिन्छ ।’

    रामपुर–३ कामीगाउँकी ६७ वर्षीया सन्तकुमारी विकको घरको आँगनीमा मखमली फूलका दुई बोट छन् । सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई लगाउने तयारी गर्नुभएको छ । ‘फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढे, तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो’, उनले मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गरर्नि ।

    मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।

    नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ । मखमली फूल नोपालीहरूका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

    छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फुल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ । तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउन पुगेको हो । बाहिरबाट भित्रिएका प्लाष्टिकका कृत्रिम मालामा उपभोक्ताको आकर्षण पनि उत्तिकै छ ।

    अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फुल्ने सयपत्री र गुरधौली फूल पनि देखिन छाडेको छ । प्लाष्टिकको मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको हो । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ । रासस

  • अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका मखमली फूल

    अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका मखमली फूल

    भक्तपुर । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।

    भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका(७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।

    नेपालमा भारतीय फूलले बजार ओगटिरहेका बेला यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूलखेती गर्दै आएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउने गरेको बताउँछन्।

    तीन रोपनी जग्गामा फूलखेती गरेकी उनले एक सिजनमा चार लाखसम्म आम्दानी हुने गरेको सुनाए । बस्नेत भन्छन्, ‘मैले सयपत्री साढे दुई र मखमली फूल आधा रोपनीमा मात्रै लगाएको छु, यसवर्ष नै तीन लाखको सयपत्री र एक लाखको मखमली फूल उत्पादन भएको छ ।’ एक रोपनी जग्गामा मखमलीका चार हजारवटा माला उन्न सकिने जनाउँदै उनले एउटा मालाको यस वर्ष कम्तीमा २५ मा बिक्री हुँदा पनि एक लाखको माला उत्पादन हुने बताए।

    उनले विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आएका छन् । उनले भने, ‘यस वर्ष तिहारका लागि दसैँ अगाडि नै अमेरिकामा पाँच हजार र अष्ट्रेलियामा १० हजार माला पठाइसकेको छु, केही दिनमै अमेरिकामा थप पाँच हजार माला पठाउँदैछु, यहाँबाट विभिन्न मुलुकमा फूल र माला निर्यात हुँदै आएको छ ।’ विदेशमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला २५ मा खरिद गरी २७ मा पठाउने गरेको उहाँको भनाइ छ ।

    मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । कतिपयले भने आफैँ बजार पुर्‍याउने गर्छन् । सयपत्री फूल एक मुठाको १० देखि १२ मा बिक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको ६०० मा बिक्री गरेको छ । स्थानीय मीना नगरकोटीले एक रोपनी जग्गामा फूलखेती गरेको जनाउँदै एक लाखको फूल बिक्री हुने बताए । उनले मखमली फूलको माला गाँस्ने चटारो परेकाले चार आना जग्गामा लगाएको मखमली फूलबाट एक हजार १०० माला उनेको बताए । अहिले माला उन्ने र सयपत्री फूलको व्यवस्थापनको चटारो चलेको छ ।

    गुण्डुमा व्यावसायिक फूलखेती हुने भएपछि नगरपालिकाले समेत अनुदानमा फूलको बेर्ना वितरण गर्दै आएको छ । सूनपा(७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले यस वर्ष यहाँका किसानलाई सयपत्री फूलको ४५ हजार बेर्ना वितरण गरेको बताए । उनले भने, ‘फूलखेतीमा लागेको किसानलाई प्रोत्साहन दिन नगरपालिकाले यस वर्ष चार लाख लगानी गरेर ८० प्रतिशत नगरपालिकाको अनुदानमा फूलको बेर्ना वितरण गर्‍यौँ, स्थानीय जनप्रतिनिधि भएपछि आवश्यकतानुसार किसानलाई बेर्ना वितरण गर्‍यौँ ।’

    गुण्डुमा स्थानीयवासीसँगै विभिन्न जिल्लाबाट आएर घर भाडामा बस्नेले पनि जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका छन् । वडाध्यक्ष सापकोटाले गुण्डुमा मात्रै करिब ४०० रोपनी क्षेत्रफलमा फूलखेती गरेको र यहाँबाट मात्रै वर्षमा करिब तीन करोडको फूल बिक्री हुने गरेको बताए। उनले फूलखेतीको बजार व्यवस्थापनका लागि एकद्धार प्रणाली लागू गर्नेबारे किसानसँग छलफल भएकाले किसानले अस्वस्थ्य प्रतिस्पर्धा नगरी एकद्धार प्रणालीमा जान चाहेमा वडाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिए। स्थानीय रुपा बस्नेतले फार्म नै बनाएर फूलखेती गरेका छन् । मखमली फूल करिब एक रोपनी र सयपत्री फूल चार रोपनी जग्गामा लगाएकी उनलाई तिहार नजिकिएपछि मखमली फूलको माला उन्न र सयपत्री फूल बजार पुर्‍याउन भ्याइनभ्याई भएको छ ।

    गुण्डु निवासी सांसद एवं पूर्वमन्त्री महेश बस्नेतकै पहलमा आएको करोडौँको बजेटले यहाँको विकासले मुहार फेरेपछि अहिले व्यापारी घरघरमै पुग्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख एवं स्थानीयवासी सरिता कुँवरले जानकारी दिए । पहिला जीणर् सडक र पिछडिएको गुण्डुमा फूलखेती गरे पनि बजार पुर्‍याउन कठिन हुनेमा अहिले चार वर्षकै अन्तरालमा गुण्डु जाने चारवटा ठूला र पक्की सडक बनेपछि व्यापारीलाई गाउँसम्म आउन र व्यवसायीलाई बजारसम्म जान निकै सहज भएको उनले बताए ।

    भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, वागेश्वरीलगायतका ठाउँमा अहिले व्यावसायिक फूलखेती हुन थालेको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूलखेतीबाट मात्रै एक सिजनमा करिब  पाँच करोडको फूल बिक्री हुने गरेको नगरपालिकाले जानकारी दिएको छ ।

    मकै बारीमै फूलखेती लगाउन सकिने भएपछि दोहोरो बालीका रूपमा किसानले फूल र मकै खेती गर्दै आएका छन् । धानमा भन्दा फूलबाट आम्दानी बढी हुने भएपछि कतिपयले धान खेतमा समेत फूल लगाउँदै आएका छन् । सत्रपत्री फूलभन्दा मखमली फूलमा औषधि धेरै हाल्नुपर्ने र धेरै स्याहार्नु पर्ने भएपछि पछिल्लो समय सयपत्री फूलतर्फ किसान आकर्षित भएका छन् । रासस