Tag: भ्रातृ संगठन

  • भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले, महासचिव पोखरेल भेटघाट र छलफलमा

    भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले, महासचिव पोखरेल भेटघाट र छलफलमा

    काठमाडौं । नेकपा एमालेले भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन थालेको छ । पार्टीमा विभाजन आएसँगै एमालेले भातृ संगठनलाई थप सक्रिय बनाउन लागेको हो ।

    महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका भ्रातृ संगठनका नेता कार्यकर्तासँग भेटघाट र छलफल थालेका छन् । मंगलबार महासचिव पोखरेलले नेपाल खेलकुद महासंघ काठमाडौं महानगरपालिका वडा नम्बर ५, अखिल नेपाल महिला संघ वडा नम्बर ५ र युवा संघ वडा नम्बर ५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरेका हुन् ।

    भेटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, एमाले स्थानीय नेता गणेश श्रेष्ठलागयतको उपस्थिति थियो ।

    नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय संगठनको भेला आयोजना गरिएको हो ।

    भेटमा महासचिव पोखरेलले महिला नेतृहरुलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरे ।

    कार्यक्रममा प्रदेश सांसद सिलवालले सबै किसिमका सहयोगको लागि आफू तयार रहेको बताए । उनले नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न हौसला दिए । कार्यक्रममा नेपाल खेलकुद महासंघ वडा नम्बर ५ का अध्यक्ष मनिष डंगोलले खेलकुदलाई प्राथमिकता दिन आग्रह गरे ।

    त्यस्तै, युवा संघका वडा नम्बर ५ का अध्यक्ष सुशील प्रजापतिले युवालाई सीपमूलक काममा लगाउनुपर्ने बताए । त्यसैगरी, वडा कमिटी अध्यक्ष प्रजापतिले सबै किसिमका समस्या समाधानमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अखिल नेपाल महिला संघकी वडा कमिटी अध्यक्ष हरिकला केसीले महिलालाई सबै क्षेत्रमा विशेष प्राथमिकता दिन आग्रह गरिन् ।

  • माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन

    माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन

    काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

    बुधबारको बैठकपछि बीहीबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको बताएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै उनीहरूले ती सबै खारेजयोग्य रहेको दावी गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।

    उनीहरूले माग पूरा नभए नयाँ शीराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा,महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही,प्रेस चौतारीका विश्वमणी सुवेदी लगायतले हस्ताक्षर गरेका छन् ।

  • पार्टी फुटाउन तयार छु भन्दै नेपालको कटाक्ष- आयाराम गयाराम हुन्छन्, लालबाबुको नाम पनि भनौं ?

    पार्टी फुटाउन तयार छु भन्दै नेपालको कटाक्ष- आयाराम गयाराम हुन्छन्, लालबाबुको नाम पनि भनौं ?

    काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी गठनको अभियानबाट आफू पछि नहटेको प्रष्ट पारेका छन् ।

    आफू पक्षधर जनसंगठनका पदाधिकारीहरूको भर्चुअल बैठकलाई बुधवार सम्वोधन गर्दै नेता नेपालले जनप्रतिनिधिहरूको कुराले आफूहरु अड्किए पनि पार्टी पुनर्गठनबाट पछि नहट्ने बताएका हुन् ।

    विभिन्न तहका जनप्रतिनिधिहरूको पद जाने खतरा भएकाले नयाँ पार्टी दर्ताको प्रक्रियामा विलम्ब भएको आशय नेपालको रहेको बैठकमा सहभागी एक नेताले बताए ।

    उनले भ्रातृ संगठनको भर्चुअल बैठक डाकेर आफूले गरिरहेको तयारी र त्यसको सन्दर्भमा कार्यकर्ताबाट सुझाव मागेका छन् । वार्ता टोलीमा रहेका कतिपय नेताहरूलाई कारवाही गरेर आफ्ना नेताहरूले जस्केलाबाट वार्ता थालेको भन्दै जनसंगठनका नेताहरूले विरोध गरे ।

    प्रमुख वक्ता नेपालले भने नयाँ पार्टी खोल्न आफू तयार रहेको बताएका थिए । ‘विभाजनले नभइ गलत प्रवृत्ति र रबैयाले पार्टी सकिएको छ । म तयार छु । जनप्रतिनिधिहरूको कुराले अलि अड्किएका छौं । तर पनि पछि हटेको छैन । कुनै पनि बेला निर्णय हुन्छ’, नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

    नेता नेपालले पार्टीभित्रका चार पुस्तामध्ये तेस्रो र चौथो पुस्ता आफूलाई साथ दिन तयार रहेको दावी गरे । साथ खोज्दै नेपालले भने, ‘त्यसमा चौथो पुस्ता तपाईंहरू भइहाल्नुभयो ।’ दोस्रो पुस्ताबारे भने उनी मौन देखिए ।

    बैठकका सहभागीहरूले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेपछि नेपालले आन्दोलनमा आयाराम गयारामहरु हुने भन्दै कोही व्यक्ति छाडेर जाँदैमा अभियान नटुंगिने बताए ।

    नेपालले भने, ‘हिजो हाम्रो विचार समूहबाट चुनाव जित्नुभएका युवराज कार्की, बैजनाथ चौधरी आज कहाँ हुनुहुन्छ ? लालबाबु पण्डितको नाम पनि भनौं ?’

    नेपालले ओली आफू कमजोर हुने महसुस भएपछि मात्र बहाना बनाउने र कार्ड फ्याँक्न गरेको भन्दै एकतामा उनी जिम्मेवार नभएको टिप्पणी गरे । उनले भने, ‘हिजोदेखि आको जेठ २ मा फर्किने कुरा छ नि त्यो पनि त्यही हो ।’

    दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले पार्टी एकता र वार्ताको नाममा गरिरहेको कामतर्फ बैठकमा सहभागी नेताले आपत्ति जनाएको बताइएको छ ।

    नेपालले आफूले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने प्रष्ट पारेका छन् ।

    माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बिनासर्त ओलीले जेठ २ मा पार्टी फर्काउने निर्णय गर्नुपर्ने र त्यसपछि संसद विघटन लगायतका विषयमा एकीकृत पार्टीमा छलफल हुने बताए । माधव नेपाल बिनाको एमाले एकता सम्भव नरहेको कुरा नै आफूहरुले राखेको उनले बताए ।

    बैठकमा सहभागीहरुले कुनै अलमल नगरी नयाँ पार्टी गठनमा अघि बढ्न नेपाललाई दबाब दिएका थिए ।

    एक सहभागीले नेपाल प्रेससँग भने, ‘कतिपय साथीले त एकतामा जोडको कुरा गर्दा घनश्याम/योगेशको लाइनमा गयो भनेर बोल्नसमेत हिच्किचाए ।’

  • माधव नेपाललाई भ्रातृ संगठनका नेताको सुझाव- अलमल नगरी नयाँ पार्टी खोलौं

    माधव नेपाललाई भ्रातृ संगठनका नेताको सुझाव- अलमल नगरी नयाँ पार्टी खोलौं

    काठमाडौं । पार्टी एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले त्यसलाई धोखाको संज्ञा दिएका छन् ।

    एमालेको माधवपक्षीय समानान्तर भ्रातृ संगठनहरुको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनधिकृत र धोखेबाजी हुने बताएका छन् ।

    माधव नेपालको प्रमुख आतिथ्यमा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव माधव नेपाललाई दिएका छन् ।

    एकताका नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता आउन उनीहरूले आग्रह गरेका छन् ।

    बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले भने, ‘एकता र वार्ताका नाममा अलमलिँदा हाम्रै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गर्नुभएको छ ।’

    माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकता भन्ने नेताहरू केपी ओलीभन्दा पनि खतरनाक हुन् भन्दै ओली एकता विरोधी हुन् भन्ने कुरा बाहिर स्थापित गरेर पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिए ।

    सहअध्यक्ष ओसिम आलमले बैठकमा भने, ‘माधव नेपालले सही गरेको ठाउँमा सही नगर्ने नेताहरु केपी ओलीभन्दा खराब हुन् । हामीलाई हाम्रै नेताहरुबाट धोखा त भइरहेको छैन ?’

    किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशनबिना कसैले वार्ता गर्दैछ भने त्यसलाई वार्ता मान्न नसकिने बताएको बैठकका एक सहभागीले जानकारी दिए ।

    बैठकका सहभागीको आक्रोश सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरूले गरिरहेको वार्ताप्रति केन्द्रित देखिएको छ ।

    बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताका नाममा फेरि पनि केपी ओलीले अल्मल्याउने सम्भावना रहेको बताए ।

    उनले भने, ‘केपी ओलीले जब-जब राजनीतिक घटनाक्रम आफू प्रतिकूल हुन्छ, तब तब एकताका नाममा अल्मल्याउने रणनीति अवलम्बन गरेका हुन् । अहिले पनि सर्वोच्च अदालतमा चलिरहेको मुद्दाका २८ रिट निवेदक हाम्रा नेता हुनुहुन्छ । त्यो मुद्दाबाट २८ जनालाई फिर्ता गराएर मुद्दा फितलो गराउने चालबाजी हो ।’

    माधव पक्षका २३ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । बैठकमा सहभागी अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राईले भने पार्टी एकताकै लागि आफूहरूले जोड दिएको नेपाल प्रेसलाई बताइन् ।

    राईले भनिन्, ‘डेडलाइन तोकेर एकता गर्नुपर्छ भन्ने सुझाव हामीले माधव कमरेडलाई दिएका छौं । हामी कार्यकर्ताका लागि त नेताहरू मिलेको र पार्टी जुटेकै राम्रो हो नि ।’