Tag: भैरहवा

  • सन्दीप लामिछानेको काठमाडौं बाहिरियो, भैरहवा क्वालिफायरमा

    सन्दीप लामिछानेको काठमाडौं बाहिरियो, भैरहवा क्वालिफायरमा

    काठमाडौं । अशान प्रियन्जनको अर्धशतकका बावजुद काठमाडौं किङ्ग्स–११ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को इलिमिनेटरबाटै बाहिरिएको छ । बुधबाार भएको भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा १६ रनले पराजित हुँदै इलिमिनेटरबाट बाहिरिएको हो ।

    त्रिवि क्रिकेट मैदानमा १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि ४८ बल खेलेका प्रियन्जनले ५ चौका र ४ छक्कासहित ६८ रनको इनिङ खेले । यस्तै, १४ बल खेलेका जनक प्रकाशले १ चौका र ३ छक्कासहित २८ रन जोडे । यस्तै अमित श्रेष्ठ १९ र दिनेश अधिकारीले १५ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    भैरहवाका लागि आरिफ शेख, धमिका प्रसाद र कुशल मल्ले २÷२ तथा दुर्गेश गुप्पाले एक १ विकेट लिए । टस जितेर पहिलो इनिङमा काठमाडौंविरुद्ध आक्रमक ब्याटिङ गरेका शरदले २० बलमा ७ चौका र ३ छक्कासहित ४९ रनको शानदार इनिङ खेलेका थिए । यद्यपि, शरद ईपीएलकै सबैभन्दा छिटो अर्धशतक बनाउन १ रनले चुकेका थिए ।

    भैरहवाका लागि छैठौं नम्बरमा ब्याटिङमा उत्रिएका शरदले पाँचौं विकेटका लागि कुशल मल्लसँग ७० रनको साझेदारी गरेका थिए । १ सय ५६ रनमा कुशललाई गुमाएपछि आरिफ शेखसँग ३० रनको साझेदारी गरेका थिए ।

    अज्मतुल्लाह ओमारजाईको नाममा रहेको २१ बलको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाउन शरद चुके । काठमाडौंका सन्दीप लामिछानेले फालेको अन्तिम ओभरको दोस्रो बलमा अमरसिंह रौतेलाको हातबाट शरद क्याच आउट भएका थिए ।

    भैरहवाका लागि यसअघि प्रदीप ऐरीले २६ बलमा ३९, कुशल मल्लले २० बलमा ३२ तथा मोहमद आरिफ शेखले १५ रनको योगदान गर्दा धमिका प्रसाद १ रनमा अविजित रहे ।

    काठमाडौंका लागि अन्तिम ओभरमा कप्तान सन्दीपले ३ रन खर्चेर २ विकेट लिएका थिए । सोही ओभरमा एक रनआउट पनि भएको थियो ।

    यस्तै असान प्रियान्जनले २ तथा जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले १÷१ विकेट लिए ।

    भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् ।

    जितसँगै दोस्रो क्वालिफायरमा पुगेको भैरहवाले बिहीबार पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसेकेको छ ।

  • ईपीएलः भैरहवाले काठमाडौंलाई दियो १ सय ८९ रनको लक्ष्य

    ईपीएलः भैरहवाले काठमाडौंलाई दियो १ सय ८९ रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा कप्तान शरद भेसावकरको आक्रामक ४९ रन प्रेरित भैरहवा ग्लाडिएटर्सले काठमाडौं किङ्ग्स–११ लाई १ सय ८९ रनको लक्ष्य दिएको छ ।

    जारी सिजनको इलिमिनेटरमा काठमाडौंविरुद्ध आक्रमक ब्याटिङ गरेका शरदले २० बलमा ७ चौका र ३ छक्कासहित ४९ रनको शानदार इनिङ खेले । यद्यपि, शरद ईपीएलकै सबैभन्दा छिटो अर्धशतक बनाउन १ रनले चुकेका थिए ।

    भैरहवाका लागि छैठौं नम्बरमा ब्याटिङमा उत्रिएका शरदले पाँचौं विकेटका लागि कुशल मल्लसँग ७० रनको साझेदारी गरेका थिए । १ सय ५६ रनमा कुशललाई गुमाएपछि आरिफ शेखसँग ३० रनको साझेदारी गरेका थिए ।

    अज्मतुल्लाह ओमारजाईको नाममा रहेको २१ बलको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाउन शरद चुके । काठमाडौंका सन्दीप लामिछानेले फालेको अन्तिम ओभरको दोस्रो बलमा अमरसिंह रौतेलाको हातबाट शरद क्याच आउट भएका थिए ।

    भैरहवाका लागि यसअघि प्रदीप ऐरीले २६ बलमा ३९, कुशल मल्लले २० बलमा ३२ तथा मोहमद आरिफ शेखले १५ रनको योगदान गर्दा धमिका प्रसाद १ रनमा अविजित रहे ।

    काठमाडौंका लागि अन्तिम ओभरमा कप्तान सन्दीपले ३ रन खर्चेर २ विकेट लिएका थिए । सोही ओभरमा एक रनआउट पनि भएको थियो ।

    यस्तै असान प्रियान्जनले २ तथा जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले १/१ विकेट लिए ।

    भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् ।

    यो खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग भोलि फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसेकेको छ ।

  • तयार भयो गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कोरोनाका कारण परीक्षण उडानमा ढिलाइ (भिडियोसहित)

    तयार भयो गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कोरोनाका कारण परीक्षण उडानमा ढिलाइ (भिडियोसहित)

    रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनाअघि नै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी थियो । तर कोरोना संक्रमणका कारण विदेशबाट आउनुपर्ने जहाज र जनशक्ति नआउँदा अझै फ्लाइट हुन सकेको छैन । जसकारण विमानस्थलको लागत खर्चसमेत बढ्ने भएको छ ।

    क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् ? ककपिटका पाइलट र टावरका कर्मचारीबीच सम्पर्क भएको छ या छैन भनेर परीक्षण गर्ने विधि हो ।

    उपकरणहरु जडानमा गल्ती भए क्यालिब्रेशन फ्लाइटमार्फत पत्ता लाग्छ र तत्काल उपकरण परिवर्तन गर्न सकिन्छ । क्यालिब्रेशन फ्लाइटपछि मात्रै परीक्षण उडान हुन्छ ।

    विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक विद्युतीय उपकरणहरु जडान गर्ने काम चैत दोश्रो हप्तामै सकिएको थियो । विमानस्थलको भौतिक कामहरु साढे ९७ प्रतिशत सकिएको छ ।

    विमानस्थल निर्माण आयोजना ‘आईसिबी टू’का प्रमुख इन्जिनियर प्रवीण न्यौपानेले केही सामान ल्याउने जिम्मा पाएको थाइल्याण्डको एरोथाई कम्पनीले थाइल्याण्डकै कम्पनीबाट ल्याउन पहल गरे पनि कोभिडका कारण ल्याउन नसकेपछि आयोजनाको कार्यालयले भारतबाट ल्याउने प्रयास गरिरहेको बताए ।

    उनका अनुसार थाइल्याण्डबाट सहज हुनेबित्तिकै सामान आउने आश्वासन छ तर त्यहाँको सरकारले आफ्ना नागरिकलाई बाह्य मुलुक जान रोकेको कारणले आउन सकेको छैन ।

    परराष्ट्र मन्त्रालयले भारत सरकारसँग सहयोगका लागि आग्रह गरे भारतबाटै क्यालिब्रेशनका लागि जनशक्ति र जहाज आउनसक्ने उनीहरुको अनुमान छ ।

    भारतीय विमानपत्तन प्राधिकरण भारतको सरकारी संस्था हो । भारतीय विमानपत्तन प्राधिकरण (एअरपोर्ट अथोरीटि अफ इन्डिया)सँग क्यालिब्रेशन फ्लाइटमा प्रयोग हुने जहाज, उपकरण र दक्ष प्राविधिक छन् ।

    त्यसैले पनि नेपाल सरकारले यस विषयमा सिधै भारत सरकारसँग सहयोग माग गरे सहज रुपमा उपलब्ध हुनसक्छ । अहिले भारत नेपाल (दिल्ली-काठमाडौं) हवाई उडान पनि सुरु भैसकेकाले सरकारले समन्वय गरे छिट्टै हुने आयोजनाका अधिकारीको भनाइ छ ।

    ‘क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक तयारीमा जुटेका थियौं, तर वैशाखबाट कोरोना संक्रमणको जोखिम बढेसँगै अहिले रोकिएको छ, हाम्रो लक्ष्य अक्टोबरभित्र क्यालिब्रेशन फ्लाइट गर्ने हो’, इन्जिनियर न्यौपानेले भने, ‘जतिबेला पनि क्यालिब्रेशन फ्लाइट गर्नसक्ने अवस्थामा छौ, उपकरणहरु सबै जडान भैसकेको छ ।’

    स्वदेशी र विदेशी कामदार आईसिबी वानअन्तरगत टर्मिनल भवनको बाँकी काम सक्न लागिपरेका छन् । टर्मिनल भवनको काम नसकिए पनि क्यालिब्रेशन फ्लाइटलाई कुनै अप्ठेरो नपर्ने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

    अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको फर्स सिलिङ र एअर कन्डिशन जडान गर्ने काम भइरहेको छ ।

    एअर कन्डिसनका पाइपहरु फर्ससिलिङभित्र राख्नु पर्ने र एअर कन्डिसनको परीक्षणका लागि चीनबाटै प्राविधिक आउनु पर्ने भएकाले त्यो काममा ढिलाइ भएको छ ।

    अधिकारीका अनुसार एउटा एक्सरे मेशिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरणहरु आउन बाँकी छैन । धावनमार्गका लाइट्स, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिष्टमलगायतका सबै काम सकिएका छन् । ‘कोरोना भाइरसका कारण विदेशबाट प्राविधिक आउन नसकेर ढिला भएको हो, सहज हुनेबित्तिकै ब्रेक थ्रु हुन्छ’, उनले भने । त्यस्तै विमानस्थलको भन्सार तथा कार्गो भवन पनि निर्माणको अन्तिम चरणमा छन् ।

    २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले जिम्मा लिएको थियो । कम्पनीसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट आईसिबी जीरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।

    सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी २०१५ जनवरीमा निर्माण सुरु गरिएको विमानस्थलको ठेक्का सम्झौता १३ नोभेम्बर २०१४ मा गरिएको थियो ।

    सुरुवाती चरणमा ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई-मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभावजस्ता कारणले ढिलाइ भएको आयोजना निर्माणको काम अन्तिम समयमा आइपुग्दा कोभिड १९ का कारण प्रभावित बन्यो ।

    आईसिबी जिरो १ अन्तर्गत ६ अर्ब २२ करोड लागतमा निर्माण भइरहेको छ भने आईसिबी जिरो २ अन्तर्गत विद्युतीकरण तथा लाईट जडान र मार्किङका लागि ५६ करोेड बढी बजेटमा काम भइरहेको छ ।

    यसरी आयोजनाको लागत करिब ७ अर्ब पुगेको छ । पहिलो चरणको काम अर्थात् आइसीबी १ मा एडीबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फण्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ ।

    निर्माणतर्फ पनि आइसिबी १ अन्तर्गत चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन र आइसिबी २ अन्तर्गत एरो थाइ कम्पनीले ठेक्का सम्झौता गरेको हो ।

    यो विमानस्थल संचालनमा आएपछि हाल त्रिभुवन विमानस्थलमा आउने सबै किसिमका जहाजहरु यहाँबाट पनि सुरक्षित रुपमा अवतरण गर्ने र उडान गर्न सक्नेछन् ।

  • भैरहवाकाे प्लाइबोर्ड गाेदाममा हिजाेदेखि लागेकाे आगाे नियन्त्रणमा

    भैरहवाकाे प्लाइबोर्ड गाेदाममा हिजाेदेखि लागेकाे आगाे नियन्त्रणमा

    रूपन्देही । सिद्धार्थनगर नगरपालिका ८ नारायणपथको सुन्दर ग्लास हाउसमा शनिबार रातीदेखि लागेको आगो २० वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको छ । आगो अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन ।

    हिजो राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आए पनि अहिले आगो निभाउने काम भइरहेको छ । शसस्त्र प्रहरी , नेपाली सेना र स्थानीयले नियन्त्रणमा सहयोग गरेका थिए ।

    भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकलहरु बोलाइएको थियो।

    प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा उनीहरुको सकुशल उद्धार गरिएको थियो ।

    घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरि करिब ५ करोड बढी को क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए । आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्रहरीले सबै क्षतिको विवरण नआएको जनाएको छ ।

  • प्रदेश सरकार मातहत आएपछि फेरिएको भीम अस्पताल

    प्रदेश सरकार मातहत आएपछि फेरिएको भीम अस्पताल

    रुपन्देही । झण्डै ९ दशक पुरानो भैरहवाको भीम अस्पतालमा संघीयताको कार्यान्वयनसँगै आमूल परिवर्तन भएको छ । रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको यो अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि सेवा बिस्तारमात्र भएको छैन यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य धरोहर बनेको छ ।

    भीम अस्पताल भनेपछि धेरैले नाक खुम्च्याउने अवस्थामा पुगेको यो अस्पतालले अहिले सेवाग्राहीको मन जित्न विभिन्न योजना कार्यान्वयन गरेको छ । सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा पाइँदैन भन्ने सोचलाई चिर्दै यो अस्पतालले निजी अस्पताको दाँजोमा सेवा दिन थालेपछि सबैको रोजाइमा पर्न थालेको छ ।

    संघीयता कार्यान्यवनको सुरुवातसंगै प्रदेश सरकारले रुपन्देहीको पुरानोमध्यको यो अस्पतालका लागि विभिन्न योजनाहरु अघि सारेको छ । वि.सं. १९९० सालमा स्थापना भएको यो अस्पताल मध्यम र विपन्न वर्गका नागरिकका लागि यो अस्पताल बरदान सावित भएको छ ।

    अहिले भैरहवाबासीका लागि मात्रै नभइ रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारसहित जिल्लाका विभिन्न क्षेत्र, नवलपरासी, कपिलवस्तुका बिरामी पनि उपचारको लागि यहाँ आउने गरेका छन् । विशेषज्ञ डाक्टरसहितको उपचारमा गुणस्तरीय सेवा वृद्धि भएपछि अहिले सबैको रोजाईमा परेको छ । समयक्रमसँगै भीम अस्पतालको मुहार फेरिँदै गएको छ । प्रदेश मातहत आएपछि यसको स्तरोन्नति र विकासमा थप काम भएपछि अहिले अस्पतालप्रति आमनागरिकको विश्वास बढ्दै गएको हो ।

    गतवर्षदेखि कोरोना भाइरसको संक्रमण फैलिएसँगै अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ । सुरुवाती चरणमै अस्पतालले कोरोना संक्रमितको उपचारमा उल्लेखनीय भूमिका खेलेको थियो । पहिलो चरणको कोभिड संक्रमितको उपचारमा अस्पतालले राम्रै गरी प्रदेशमा नाम कमाएको थियो ।

    कोरोना संक्रमितलाई निको बनाएर उनीहरुको मन जित्न सफल भएको थियो भीम अस्पताल । अस्पतालबाट उपचार पाएर संक्रमितहरु कोरोनामुक्त भएपछि घर फर्कन लाग्दा नाचगान गरी खुशीयाली नै मनाएका थिए । पहिलो चरणको कोभिड संक्रमितको उपचारको नेतृत्व मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले गरेका थिए । अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय भएको उपचारपछि घर फर्किएकाहरु बताउँछन् ।

    दोस्रो चरणको कोभिड–१९ र निमोनियाबाट ग्रस्त भई उपचारका लागि भीम अस्पताल पुगेका सिद्धार्थनगर–७ का विष्णु अधिकारीले भीम अस्पतालको सेवा देखेर चकित बने । ‘अस्पताल प्रशासन, डाक्टर तथा नर्सहरुको व्यवहार, उपचार र हौसलाले १३ दिनै परास्त गरेर गर फर्किन पाएँ,’ उनले भने ‘यो समयमा उहाँहरुले गरेको सेवाप्रति म सधै ऋणी छु ।’ उपचार गुणस्तरीय भएका कारण भीम अस्पतालमा अहिले आफूजस्तै थुप्रै बिरामी उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।

    पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर आएपछि विभिन्न चुनौतीहरु थपिए । वैशाखको पहिलो हप्ता कोरोना संक्रमित बिरामीहरुको संख्या ह्वात्तै बढेपछि अस्पताललाई व्यवस्थापन गर्न केही समय कठिन पनि भयो । तर अस्पताल व्यवस्थापन र प्रशासन आफ्नो कामबाट विचलित भएन ।

    दोस्रो लहरको व्यवस्थापनमा चुनौती

    ‘पहिलो लहरमा त्यत्ति ग्राहो भएन, म भदौमा अस्पतालमा हाजिर हुँदा यहाँको अवस्था राम्रै थियो, तर दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि केही समस्या उत्पन्न भयो,’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले भनिन् ।

    बेड, अक्सिजन र जनशक्ति यो चरणका चुनौती रहेको गुप्ताको अनुभव छ । डा. गुप्ताका अनुुसार दोस्रो लहर सुरु भएपछि अस्पतालाई तीन वटा कुराको व्यवस्थापन गर्न समस्या भयो । पहिलो लहरमा अस्पतालमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई घर जान खासै समस्या नभए पनि दोस्रो लहरमा संक्रमणको दर बढेपछि घर जान समस्या नै भयो । स्वास्थ्यकर्मीलाई कहाँ राख्ने, कहाँ बास र खानाको व्यवस्था गर्ने चुनौति थपिएकोले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी व्यवस्थापन गरिएको डा. गुप्ताले बताइन् । अस्पतालमा आएका अधिकांश बिरामीहरुलाई अक्सिजनको आवश्यकता भएपछि अक्सिजन पाउन समेत ग्राहो भएको उनले बताइन् ।

    ‘संक्रमितले अक्सिजन नपाए आधा घण्टामै बिरामीको ज्यान जान्छ भनेर राती १२ बजे, ३ बजे पनि फोन आउँथ्यो, वास्तवमा त्यो पीडादायी अवस्था थियो,’ उनले भनिन्, ‘तर हामीले अनेकन प्रयास गरेर समस्याको समाधान गरेरै छाड्यौं ।’ थुप्रै सिकिस्त बिरामी एकैपटक आउने र उहाँहरुलाई आइसीयू र भेन्टिलेटर चाहिने भए पनि अस्पतालमा ४–५ वटा मात्रै आइसीयू/भेन्टिलेटर रहेकाले केही समय उपचारमा निकै असहज अवस्था आएको उनको भोगाइ छ ।

    ‘अस्पताल पुगेका बिरामी र बिरामी कुरुवाले बेड नपाए पनि बाहिरै बस्छौं, यहीँ उपचार हुनुपर्छ, तर घर जाँदैनौ भनेपछि उहाँहरु यही बस्नुभयो,’ उनले भनिन्, ‘त्यसले हामीलाई थप जिम्मेबारीवोधसँगै सकारात्मक उर्जा थपियो ।’

    पहिलो चरणको कोभिडपछि लीलाराम न्यौपाने–कुन्तीदेवी प्रतिष्ठानले अस्पताल परिसरमा आकस्मिक कक्ष (इमरजेन्सी ब्लक) निर्माणसम्पन्न गरेको थियो । त्यसपछि कोरोना अस्पताल सञ्चालन गर्न थप सहज भएको डा. गुप्ताको भनाइ छ । ‘प्रतिष्ठानकै पहलमा थप १२ वटा अक्सिजनसहितको बेड राखियो, जसले गर्दा बिरामीको उपचारमा सहज भयो,’ उनले भनिन् ।

    व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछिको परिवर्तन

    प्रदेश सरकारले महामारीकै उत्कर्षमा बैशाख २२ गते व्यवस्थापन समितिको नेतृत्वमा भैरहवाका व्यवसायी नारायणप्रसाद भण्डारीलाई ल्यायो । जनशक्ति कम भएको समयमा प्राविधिक मान्छेले व्यवस्थापनको पनि जिम्मेवारी लिँदा समस्या भएको समयमा व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछि उनीहरु आफ्नो काममा खट्न पाएका छन् । अस्पताल विकास समितिले नेतृत्व पाएपछि क्रमशः अवस्था सहज हुँदै आएको डा. गुप्ताको भनाइ छ । सुरुवाती चरणमा दैनिक ३ सय अक्सिजन सिलिण्डर आवश्यक भए पनि अहिले भने दैनिक २ सय ४० सिलिण्डर आवश्यक रहेको उनले बताइन् ।

    अस्पतालले कोरोना संक्रमित बिरामीको वैशाख २ गतदेखि उपचार गर्न सुरु गरेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । हालसम्म ३ सय ५० बढी संक्रमितको उपचार गरिएको र जसमध्ये १ सय बढी बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

    दोस्रो चरणको लहरमा १ सयको हाराहारीमा कोभिड संक्रमितको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा. पोखरेलको भनाइ छ । हाल अस्पतालमा ४८ जना संक्रमित उपचाररत छन् ।

    अस्पताल विकास समितिले नेतृत्व पाएको धेरै समय भएको छैन । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा लुम्बिनी प्रदेश सरकारले वैशाख २२ गते अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएका नारायणप्रसाद भण्डारीले जेठ ४ गते पदभार ग्रहण गरेका छन् ।

    अध्यक्षको जिम्मेवारी सम्हालिसकेपछि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनले पहिलो प्राथमिकतामा राखेका छन् । भण्डारी उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्षसमेत हुन् । ‘कोरोना महामारीको विषम परिस्थितिमा मलाई प्रदेश सरकारले महत्वपूर्ण जिम्मेवारी दियो, बिरामीले अक्सिजन, बेड नपाएको अवस्थामा र मान्छे घरबाहिर निस्कने वातावरण नभएको र व्यवसाय बन्द भएको बेला जिम्मेवारी सम्हालेको छु, विभिन्न चुनौति छन्, ती चुनौतिलाई अवसरको रुपमा लिएर केही गर्ने सोचसहित काम गरिरहेको छु,’ भण्डारीले भने ।

    धेरैभन्दा धेरै बिरामीको उपचार गर्न सकिन्छ कि भनेर आफूले जिम्मेवारी सम्हालेको उनले बताए । अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु दिनरात खटेर काम गरिरहेको उनले बताए ।

    स्तरोउन्नति र अक्सिजन प्लान्ट पहिलो प्राथमिकतामा

    तत्कालको योजना भनेको अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने, अस्पतालमा आएका बिरामीलाई बेड र अक्सिजनको सुविधा दिइ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रहेको उनले बताए । ‘ठूला योजना तत्काल अगाडि बढायौं भने अहिले अत्यावश्यक काम अवरोध हुनसक्छ, अक्सिजन प्लान्ट स्थापना जडान गर्ने योजना गरेर सूचनामा गएको छौं, योजना अनुसार काम अगाडि बढे अस्पतालमा आगामी असार मसान्तभित्र अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन्छ ’उनले भने ।

    अस्पतालमै जडान भएको प्लान्टले बिरामीलाई अक्सिजन दिन सकिने उनको भनाइ छ । अक्सिजन प्लान्ट जडानका लागि उद्योगी, व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको सहयोग निरन्तर आइरहेको भण्डारीले जानकारी दिए । उनका अनुसार असार मसान्तभित्रै ५ वटा भेन्टिलेटर र केही आइसीयू÷एचडीयू बेड थप्ने गरी काम अगाडि बढेको छ ।

    लामो समयको योजना भनेकै अस्पताललाई १ सय शय्या बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्ने रहेको उनले बताए । ‘अस्पतालको स्तरोन्नति गर्न पहिलो बैठकबाट निर्णय गरेर मन्त्रालयमा पत्र पनि पठाइसकेका छौं, अस्पतालमा नयाँ भवन बनाउनको लागि दुई भागमा बनाउन पहिलो भागको टेण्डर भइसकेको छ, र ठेकेदारसँग सम्झौता भइसकेको छ, ठेकेदारसँग सम्झौता गरेर आगामी १५ दिनभित्रै भवनको शिलान्यास गर्नेतर्फ अघि बढेका छौं,’ भण्डारीले भने । अस्पतालको पश्चिम क्षेत्रमा हाल क्यान्टिन रहेको क्षेत्रमा पुरानो भवनलाई विस्थापित गरेर नयाँ भवन निर्माण गरिने उनले बताए ।

    ‘यहाँका स्थानीयवासी सकभर भीममा जान नपरे हुन्थ्यो भन्ने सोचका साथ युनिभर्सल मेडिकल कलेज वा बुटवलतिर जानुहुन्थ्यो, तर अहिले ठयाक्कै यो अवस्था परिवर्तन भएको छ, अहिले यहाँका पुराना धनाढ्य वर्गका बिरामी अस्पतालमा उपचाररत हुनुहुन्छ,’ उनले भने ।

    ‘अस्पतालमा गुणस्तरीय सेवा पाएर वा राम्रो उपचार पाएको भएर बिरामी र बिरामीका आफन्तले अस्पताल रोज्नुभएको छ भन्ने विश्वास गरेका छौं, यो विश्वासलाई कायम राख्दै अस्पतालको सेवालाई अझ गुणस्तरीय र विश्वासको केन्द्रको रुपमा अगाडी बढाउन हामी झण्डै १ सय ५० जनाको टिमसहितको अस्पताल परिवार लागिपरेका छौं, ’उनले भने । सिंगो टिम अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको उनले बताए ।

  • गौतमबुद्ध विमानस्थलको काम साढे तीन प्रतिशत बाँकी, एरोब्रिजसहितको नयाँ टर्मिनल बन्ने

    गौतमबुद्ध विमानस्थलको काम साढे तीन प्रतिशत बाँकी, एरोब्रिजसहितको नयाँ टर्मिनल बन्ने

    रुपन्देही । रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउन र दोश्रो टर्मिनल भवन निर्माणका लागि बजेटको सुनिश्चित भएपछि आयोजनाले गति लिने भएको छ ।

    आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यक बजेट बिनियोजन गरेसँगै विमानस्थल निर्माणको नयाँ अध्याय सुरु भएको हो ।

    आर्थिक वर्ष २०७८/०७९को बजेटमा यो विमानस्थलको बाँकी काम सम्पन्न र नयाँ टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन भएको छ ।

    निर्माणको अन्तिम चरणमा रहेको विमानस्थललाई बजेटको कुनै समस्या आउन नदिने अर्थमन्त्री पौडेलले पटक–पटक बताउँदै आएका छन् । नयाँ बजेटले विमानस्थलसँगै दोश्रो टर्मिनल भवन पनि छिट्टै बन्ने निश्चित भएको छ ।

    अहिलेको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन सानो रहेको र त्यसमा आधुनिक विमानस्थलमा हुने एरोब्रिज सुविधासमेत नरहेकोले दोश्रो टर्मिनल भवन निर्माणको तयारी भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

    विमानस्थल आयोजनका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बजेट बिनियोजनले काम गर्न थप उत्साह आएको बताए । अहिले कोरोना न्युनीकरणका लागि निषेधाज्ञा लगाइए पनि प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यस्थलमै कामदारलाई राखेर काम भएको अधिकारीको भनाइ छ ।

    ‘निषेधाज्ञाले विमानस्थल निर्माणको काम रोकिएको छैन, क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थल तयारी अवस्थामा छ र अहिले टर्मिनल भवनभित्र फिनिसिङका कामहरु भइरहेका छन् । कन्भेएर बेल्ट जडान सकिएको छ,’ इन्जिनियर अधिकारीले भने, ‘आगामी बजेटमा विमानस्थलको काम सम्पन्न गर्न र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनु निकै राम्रो हो र यसले हामीलाई काम गर्न थप ऊर्जा प्रदान गरेको छ र छिट्टै सक्नुपर्ने दवाव पनि पर्ने भएको छ ।‘

    प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको स्थलगत अवलोकनका क्रममा अहिलेको विमानस्थलको टर्मिनल भवन सानो भएको र नयाँ भवन बनाउनु जरुरी भएको निर्देशन दिएलगत्तै दोश्रो टर्मिनल भवन निर्माणको प्रकृया अघि बढेको र डिजाइनसमेत टुंगो लागिसकेको छ ।

    अब छिटै बोलपत्र आब्हान गर्ने आयोजनाले जनाएको छ । नयाँ टर्मिनल भवन अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ निर्माण हुनेछ । नयाँ टर्मिनल भवनमा एरो ब्रिजसमेत निर्माण हुने र ६ वटा एरोब्रिज रहने गरी डिजाइन भएको छ । एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सिधै जहाजभित्र प्रवेश गर्न मिल्ने गरी बनाइने एक किसिमको आकाशे पुलजस्तै हो । एरोब्रिज सुविधा भएको टर्मिनल भवन नेपालमै पहिलो हुनेछ ।

    दोश्रो टर्मिनल भवन बनेपछि अहिलेको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ । हालका लागि भने आन्तरिक टर्मिनल भवन पुरानै भवनलाई यथावत गराइने जनाइएको छ ।

    बजेट विनियोजनसँगै व्यवसायीमा उत्साह

    सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेपछि दोश्रो टर्मिनल भवन निर्माण हुने सुनिश्चित भएको र अहिले निर्माण सम्पन्न हुने क्रममा रहेको विमानस्थलको बाँकी काम र क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक पहल सरकारबाट छिट्टै हुने विश्वास रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

    विमानस्थलमा नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन हुनु सकारात्मक रहेको सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन नेपालका उपाध्यक्ष एवम् भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए ।

    विमानस्थल निर्माण सम्पन्नताका लागि र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनुले पर्यटन क्षेत्रमा खुसी ल्याएको सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले बताए ।

    साढे तीन प्रतिशत मात्र काम बाँकी

    विमानस्थल निर्माणको ९६.५ प्रतिशत काम सम्पन्न भएको छ । अहिलेको अवस्था तत्काल सहज हुने हो भने २ महिनामै विमानस्थल तयार हुने आयोजना प्रमुख अधिकारीको दावी छ ।

    यो आयोजनाको अहिलेसम्म ६ पटक म्याद थप भइसकेको छ । पछिल्लोपटक ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्‍याइएको छ । सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ देखि निर्माण सुरु भएको आयोजना सुरुमा महाभूकम्प, मधेश आन्दोलन, भारतको नाकाबन्दी तथा ठेकेदार र सह–ठेकेदारबीचको आपसी विवादमा रुमलियो । जसले गर्दा निर्माण सम्पन्न समयावधि भन्दा आयोजना थप ४ वर्ष ढिलाई भइसकेको छ ।

    पछिल्लोपल्ट कोरोनाले नेपाल पनि उच्च जोखिममा परेकाले थाइल्याण्डको विकल्पमा परीक्षणका लागि विमान ल्याउन अन्य मुलुकसँग पनि कुराकानी भइरहेको छ । अब लाइट जडान, फर्निचर, फल सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काम मात्रै बाँकी छ ।

    दुई चरणमा ठेक्का भएको विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड रुपैयाँमा भौतिक संरचना निर्माणको ठेक्का लिएको छ भने उपकरण जडानको काम भने थाइल्याण्डको एरो थाइ कम्पनीले करिब ५० करोड रुपैयाँमा ठेक्का लिएको छ ।

    विदेशी कामदार रोकिएपछि समस्या

    महामारीका कारण घर फर्किएका चिनियाँ कामदारसहित अन्य मुलुकबाट आउनुपर्ने दक्ष जनशक्ति समयमा आउन नपाएकाले विमानस्थलको काम प्रभावित भएको छ ।

    यहाँको जनशक्तिलाई आयोजनास्थलमै राखेर काम गराइए पनि केही दक्ष जनशक्ति आउन नपाउँदा काम प्रभावित भएको हो । जसले गर्दा परीक्षण उडानका लागि विमानस्थल तयार भए पनि क्यालिब्रेसन फ्लाइट भने हुन पाएको छैन ।

    दोस्रो चरणको महामारीले परीक्षण उडानको प्रक्रिया अवरुद्ध पारे पनि थोरै जनशक्तिबाट पनि आयोजनाका अन्य कार्य भने जारी छन् । अहिले पनि आयोजना स्थलमा नेपाली, भारतीय र चिनियाँ गरी एक सय कामदारले काम गरिरहेका छन् ।

    नेपालमा दोस्रो चरणको कोरोना महामारी नफैलिएको भए यतिबेला गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भइसक्थ्यो । तर महामारी तीव्र फैलिएपछि परीक्षण उडानका लागि थाइल्याण्डबाट आउनुपर्ने जनशक्ति र क्यालिब्रेसन फलाइट रोकिएको छ ।

    अर्कातर्फ अष्ट्रिया, अमेरिकालगायत मुलुकबाट उपकरण जडानका लागि आउने जनशक्ति पनि आएका छैनन् । दोस्रो चरणको निषेधाज्ञा हुनुपूर्व आयोजनास्थलमा धमाधम उपकरण जडानका कार्य जारी थिए । बैशाखको पहिलो हप्तामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्वपूर्ण उपकरण जडान सम्पन्न भइसकेका छन् ।

    विमानस्थल परिसरमा जडान गरिएका उपकरण ठीक भए÷नभएको र सही काम गरे÷नगरेको बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला कोरोनाका कारण आयोजना फेरि प्रभावित भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

  • गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा, तीन महिनाभित्र सञ्चालनमा आउने

    गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा, तीन महिनाभित्र सञ्चालनमा आउने

    काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको छ ।

    विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य चलिरहेको छ ।

    विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ । सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ ।

    विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण सबै नै आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । विदेशबाट ल्याइने दक्ष जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन’, उनले भने ।

    उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् । एक /दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् । चीनबाट छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन् ।

    उनीहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ । कोभिड–१९ महामारी नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालनमा हुने थियो । कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो ।

    विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो । महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरुआतबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो ।

    प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो ।

    सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

    आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ्गरोगनको कार्य भइरहेको छ । प्राविधिक काम पनि भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ ।

    व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ ।

    एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

    अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ ।

    निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्नेछ । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो ।

    प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ ।

    बुद्धिष्ट पर्यटनको केन्द्र बनाइने छिट्टै सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल भएर विभिन्न मुलुकबाट धेरैभन्दा धेरै बुद्ध धर्माबलम्बि पर्यटक आकर्षणका लागि विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भइरहेको छ ।

    गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न मुलुकबाट पर्यटक आकर्षणका लागि सरोकारवाला संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएका हुन् ।

    यसै सन्दर्भमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगका माध्यमले अगाडि बढ्नेसम्बन्धी हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा. डा हृदयरत्न बज्राचार्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिनेछ ।

    लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन् ।

    निगमका महाप्रबन्धक लुम्बिनी विमानस्थललाई बुद्धिष्ट पर्यटनको हबका रुपमा विकास गर्ने उद्देश्यले निगमले बुद्धिष्ट बाहुल्य भएका मुलुकमा नियमित उडान सञ्चालन गर्ने योजना रहेको बताए ।

    नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ ।

    उड्डयन र पर्यटनका क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारीपत्रमा उल्लेख छ ।

    लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तरराष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ ।

    लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । यो सम्झौता हाललाई चार वर्षका लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिनेछ ।

     

  • सुनौलीमा एसएसबीको ज्यादतीविरुद्ध स्थानीयको प्रदर्शन

    सुनौलीमा एसएसबीको ज्यादतीविरुद्ध स्थानीयको प्रदर्शन

    रुपन्देही । भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै रुपन्देहीको नेपाल–भारत सीमानाका सुनौलीमा नेपालीहरुले नाका अवरुद्ध गरेर विरोध जनाएका छन् ।

    भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले शनिबार सीमा नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएको स्थानीय व्यापारी विष्णु जीसीले बताए ।

    भारततर्फबाट नेपाल आउनका लागि नाका खुल्ला गरिए पनि नेपालीहरुलाई भारत जान रोक लगाएपछि स्थानीयले केही दिनदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

    नाका अवरुद्ध भएपछि सीमा सुरक्षाका अधिकारीहरुसँग छलफल गरी खुुलाउने पहल भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । दुई देशका सुरक्षा निकायहरु बीच छलफल गरी समस्या समाधान गर्ने पहल भइरहेको उनले बताए ।

    विरोध प्रदर्शन गर्दै नेपालीहरुले आवागमन ठप्प पार्ने गरी नाका उत्रिएपछि सीमामा नेपाल र भारतका सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ । भारतीय पक्षले नेपालीहरुलाई किनमेलका लागि भारत जान रोक लगाएपछि विरोध प्रदर्शन भएको हो ।