Tag: भारत नेपाल

  • भारतले नेपालसँगको सीमामा एसएसबीका ५४८ पोस्ट थप्ने

    भारतले नेपालसँगको सीमामा एसएसबीका ५४८ पोस्ट थप्ने

    दिल्ली- भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालसँगको सिमानामा थप ५४८ पोस्ट खडा गर्ने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार भारत सरकारले नेपाल र भुटानसँगका सीमामा १२ नयाँ बटालियन स्थापना गर्न अनुमति दिएपछि १३ हजार थप फोर्स परिचालन हुने भएका छन् ।

    पटक-पटक तनाव सिर्जना हुने भारत, भुटान र तिब्बतको त्रिदेशीय क्षेत्रमा समेत सम्भावित सुरक्षा चुनौतीको सामना गर्न सुरक्षाकर्मीहरु परिचालन गर्ने समाचारमा जनाइएको छ । नेपालसँगको १ हजार ७५१ किलोमिटर सिमाना र भुटानसँगको ६९९ किलोमिटर खुला सिमानामा फोर्स थप्ने भारतको तयारी छ । जसअनुसार भारतले नेपाल सीमामा थप चार एकीकृत चेक पोस्ट (आईसीपी) खडा गर्ने भएको हो ।

    जोगबनी र रक्सौल नाकामा यसअघि दुई चेक पोस्ट सञ्चालनमा छन् । एसएसबीका महानिर्देशक राजेश चन्द्रका अनुसार १२ बटालियन चरणबद्ध रुपमा स्थापना हुनेछन् ।

    ‘सरकारको यो अनुमतिपछि सीमा सुरक्षा अझ सुदृढ हुनेछ’ चन्द्रले भने ।

    नयाँ पोस्टहरु थप्ने तयारी भैरहँदा सरकारले अनुमति दिएपछि झनै सजिलो भएको चन्द्र बताउँछन् । यी सीमा बटालियन युनिटले सीमा पोस्टबीचको दूरीलाई घटाउने, ब्यापार बलियो बनाउने र सीमापारको सुरक्षा जोखिमलाई रोक्ने उद्देश्य लिइएको छ ।

    सन् २०१७ मा चीन, भारत र भुटानको त्रिदेशीय थलो दोक्लाममा ७० दिन लामो तनावपछि भारतले बटालियन खडा गर्ने निधो गरेको हो । गृहमन्त्री अमित शाहले खडा गर्ने भनिएका नयाँ बटालियन र थप्ने भनिएको फोर्सबारे अध्ययन गत वर्ष नै गरिसकेको समेत जनाइएको छ ।

  • भारतले नेपाललाई निःशुल्क कोरोना खोप दिने, आपूर्ति अर्को सातादेखि

    भारतले नेपाललाई निःशुल्क कोरोना खोप दिने, आपूर्ति अर्को सातादेखि

    काठमाडौं । भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । भारतीय केन्द्रिय स्वास्थ्य समितिले नेपाल र भुटानलाई उक्त परिमाणमा खोप निर्यात गर्ने निर्णय गरेको समाचार एजेन्सी मिन्टले जनाएको छ ।

    बंगलादेशले भने २ करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ । भुटानी प्रधानमन्त्री लोते छिरिङले पनि भारतले आफ्नो देशलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको ट्वीट गरेका छन् । भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको छ ।

    भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ । भारतीय मिडियाले यो निर्णयलाई खोप कुटनीतिको कदमको रुपमा लिएका छन् । छिमेकी सम्बन्ध हार्दिक बनाउन खोप कुटनीतिले काम गर्ने उनीहरुको ठम्याइ छ ।

    बैठकपछि मिन्ट एजेन्सीसँग कुरा गर्दै भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सीरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय भएको हो । आउने साता यी परिमाणको डोजको आपूर्ति सुरु हुने समेत भारतले जनाएको छ ।