Tag: भन्सार

  • भैरहवा भन्सार : तीन वर्षकै सबैभन्दा धेरै राजस्व संकलन यस वर्ष, लक्ष्यभन्दा १३ प्रतिशत बढी

    भैरहवा भन्सार : तीन वर्षकै सबैभन्दा धेरै राजस्व संकलन यस वर्ष, लक्ष्यभन्दा १३ प्रतिशत बढी

    रुपन्देही । तीन वर्षयता लक्ष्य पूरा गर्न नसकेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले यो वर्ष लक्ष्यभन्दा १३ प्रतिशत राजस्व संकलन गरेको छ ।

    कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको छ ।

    भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार रुपैयाँ राजश्व असुली लक्ष्य तोकेकोमा १ खर्ब १२ अर्ब ५४ करोड २५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी तीर्थराज पासवानले जानकारी दिए ।

    जुन लक्ष्यभन्दा १३ प्रतिशतले बढी हो । विगत तीन आर्थिक वर्षमा भन्सारले राजस्व लक्ष्य पूरा गर्न नसकेको पासवानले बताए ।

    कोरोना संक्रमणको महामारीबीच पनि पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्नु, गैरभन्सार क्रियाकलाप नियन्त्रण हुनु, मोटरसाइकललगायत बढी राजश्व संकलन हुने वस्तु आयातमा वृद्धि भएकाले पनि लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्न सफल भएको पासवानले बताएका छन् ।

    भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य पाएकोमा ७० अर्ब २८ करोड ९३ लाख ५ हजार अर्थात् लक्ष्यको ८६ प्रतिशत मात्र अर्थात् राजश्व असुली गरेको थियो ।

    आर्थिक वर्ष २०७५/०७६ मा ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात् ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र राजस्व असुली भएको थियो ।

    २०७६/०७७ मा १ खर्व ६ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा ६६ प्रतिशत अर्थात् ७० अर्व २९ करोड १५ लाख ९७ हजार मात्र राजस्व संकलन भएको थियो ।

    मोटरसाइकलबाट धेरै राजस्व

    भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट संकलन भएको छ । मोटरसाइकलबाट २० अर्ब ६३ करोड १४ लाख ५४ हजार संकलन भएको छ ।

    त्यस्तै पेट्रोलबाट २ अर्ब ४१ करोड ६६ लाख ५४ हजार, पोलीथिन दानाबाट १ अर्ब ५० करोड ९७ लाख ७३ हजार, मार्बल स्ल्याबबाट १ अर्ब ४४ करोड ९८ लाख ३९ हजार र ट्रक, मिनी ट्रकबाट १ अर्ब १५ करोड ८६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

    यसैगरी एमएस विलेटबाट ५ अर्ब ६९ करोड ४९ लाख ४० हजार, ग्लेज टाइलबाट ३ अर्ब ४३ करोड १२ लाख, हाइस्पीड डिजेलबाट २ अर्ब ६३ करोड ८९ लाख ७४ हजार, सिंगल क्याव पिकअप गाडीबाट २ अर्ब ६२ करोड ५० लाख ७१ हजार, डबल क्याव पिकअप गाडीबाट २ अर्ब ४७ करोड ९४ लाख ४२ हजार राजस्व संकलन भएको छ ।

     

  • स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई तिब्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

    भर्चुअल रूपमा गरिएको एक कार्यक्रमका बीच अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई केन्द्र, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

    उनले एकातिर कोभिड-१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

    अर्थमन्त्री पौडेलले कोभिड-१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन समेत निर्देशन दिएका छन् ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

    राजस्वसचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरूसँग समन्वय गरी २४ सै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

    भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरिरहेको जानकारी दिए ।