न्यूयोर्क । बाबुलाई आफ्नो संरक्षकबाट हटाउनुपर्ने गायिका ब्रिट्नी स्पियर्सको आग्रहलाई अदालतले अस्वीकार गरेको छ । अघिल्लो वर्ष स्पियर्सका वकिलले अमेरिकाको लस–एन्जल्सको एक अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउनुपर्ने रिट दायर गरेका थिए ।
गतसाता अदालतमा निवेदकको तर्फबाट बयान दिँदै गायिका स्पियर्सले आफूलाई तत्काल बाबुको संरक्षणबाट मुक्त गर्न अदालतलाई आग्रह गरेकी थिइन् । आफूले विहे गर्न चाहेको र बच्चा जन्माउन चाहेको बताउँलै स्पियर्सले बाबुको कारण आफ्ना भविष्य जोखिमपूर्ण भएको बताएकी थिइन् । साथै, स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छा विपरीत सांगितिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन्। सन् २००८ देखि स्पियर्सका पिताले उनलाई एकल संरक्षकको रुपमा अभिभावकत्वको भूमिका निर्वाह गर्दै आएका छन् ।
बुधवारको उक्त अदालती निर्णय नोभेम्बरमा गरिएको अनुरोधसँग मात्रै सम्बन्धित छ। न्यायाधीशले जेमी स्पियर्सलाई हटाउन अस्वीकार गरे पनि स्पियर्सले प्रस्ताव गरेको निजी सम्पत्ति व्यवस्थापन कम्पनी बेस्सेमर ट्रस्टलाई सह–संरक्षक बनाउन भने स्वीकृति दिएकी छन्। जेमी स्पियर्सका वकिलहरूले भने अदालतलाई गायिकाको दुर्व्यवहार आरोपको अनुसन्धान गर्न माग गरेका छन्।
अदालतमा स्पियर्सको बयानपछि विश्व मिडिया र मनोरञ्जन जगत तरंगित बनेको मात्र छैन । अभिभावकत्वको भूमिकाबारे सार्वजनिकरुपमा बहस र टिका टिप्पणी पनि भैरहेको छ ।
