Tag: ब्याजदर

  • ब्याजदर बढ्दा पनि बैंकिङ प्रणालीमा किन घट्दैछ निक्षेप ?

    ब्याजदर बढ्दा पनि बैंकिङ प्रणालीमा किन घट्दैछ निक्षेप ?

    काठमाडौं । तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार कात्तिक महिना र मंसीरको पहिलो सातामा गरी बाणिज्य बैंकहरुबाट करिब ३४ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

    बाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर बढेर १०.०५ प्रतिशत पुग्दा समेत निक्षेप बढ्नुको सट्टा घट्नुले तरलता अभाव थप चर्किने देखिएको हो । बाणिज्य बैंकको तुलनामा विकास बैंक र वित्त कम्पनीहरुले निक्षेपको ब्याजदर बढी कायम गरेका छन् । अहिले विकास बैंकहरुको मुद्दती निक्षेपको औसत ब्याजदर १०.२५ प्रतिशत र वित्त कम्पनीहकरुको १०.३५ प्रतिशत रहेको छ । अन्य समयमा बाणिज्य बैंकहरुको तुलनामा विकास बैंक र वित्त कम्पनीहरुको व्याजदर बढी हुँदा निक्षेप त्यसतर्फ आकर्षित हुने गरेको थियो । तर, यसपटक ती कम्पनीहरुको पनि निक्षेप घटिरहेको छ ।

    नेपालमा बैंकिङ प्रणालीबाट पैसा बाहिरिएर अनौपचारिक क्षेत्रमा गएको हुनसक्ने पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् ।

    ‘नेपालको अनौपचारिक अर्थतन्त्रको हिस्सा कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत हाराहारी रहेको अनुमान छ । अनौपचारिक अर्थतन्त्रबाट आएको रकम त्यसतर्फ नै गएकाले बैंकिङ प्रणालीबाट निक्षेप घटेको हुनसक्छ,’ भट्टराईले बताए ।

    सुन, चाँदी लगायतका बस्तुहरुको आयातमा विदेशी मुद्राको सटही गरी लगानी भएको हुनसक्ने आशंका उनले गरेका छन् । करिब ४८ खर्ब निक्षेप रहको नेपालको बैंकिङ प्रणालीमा १ प्रतिशतसम्म निक्षेपको घटेमा आत्तिनु नपर्ने उनको भनाइ छ ।

    एनमबी बैंकका अध्यक्ष एवं उद्योगी पवन गोल्यान राजनीतिक दल तथा सर्वोच्च अदालतमा देखिएको न्यायिक एवं राजनीतिक अस्थिरता र न्युनविजकीकरणका कारण पनि निक्षेप घटेको हुनसक्ने बताउँछन् ।

    ‘बैंकिङ प्रणालीबाट रकम घट्नुमा दुई वटा प्रमुख कारणहरु रहेका छन् । पछिल्लो समय बढ्दो राजनीतिक अस्थिरता र वस्तु आयात गर्दा कर छल्नका लागि गरिने न्युनविजकीकरण हो’, उनले भने ।

    बढ्दो राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरुमा त्रास बढेकाले पुँजी पलायन हुन थालेको उनको भनाइ छ । नेपालमा लगानी गर्ने उद्देश्यका साथ आएका विदेशी लगानीकर्ताहरु पनि राजनीतिक अस्थिरता र सर्वोच्च अदालतमा देखा परेको न्यायिक संकटका कारण फिर्ता हुन थालेको संकेतको रुपमा बुझ्नुपर्ने गोल्यान बताउँछन् ।

    नेपालमा आयात बढेका कारण कर छलि गर्ने उद्देश्यले आयातकर्ताले बस्तुको मूल्यभन्दा कम विल (न्युनविजकीकरण) निर्माण गरी हुण्डी मार्फत भुक्तानी गर्नेक्रम बढेकाले निक्षेप घटेको हुनसक्ने उनको तर्क छ ।

    नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको विश्लेषण भने फरक देखिन्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको असरले निक्षेप घटेको उनले बताए ।

    ‘नेपालका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमध्ये ५० प्रतिशतभन्दा बढी संस्थागत छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेकोले आयाल निगमले आफ्नो मुद्दतीको बचत प्रयोग गरेर तेल आयात गर्दा त्यसको असर निक्षेपमा परेको देखिन्छ,’ उनले भने ।

    यसरी नै निक्षेप घट्दै गएमा तरलतामा असर पर्ने हुँदा कर्जा विस्तारमा कमी हुने आर्थिक विकासमा प्रतिकुल असर पर्ने थापा बताउँछन् ।

    बैंकहरुले प्रयोग गरेको स्थायी तरलता सुविधा ‘एसएलएफ’ तथा सापटीको साँवा तथा ब्याज भुक्तानी, बढ्दो आयातका लागि विदेशी मुद्राको सटही र सरकारी खर्च कमी लगायतका कारण बैंकिङ प्रणालीबाट निक्षेप घटेको नेपाल राष्ट्र बैंकको भनाइ छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनको पछिल्लो अवस्था हेर्ने हाे भने निक्षेप घट्नुको कारण प्रस्ट हुने नेपाल राष्ट्र बैंक प्रवक्ता देबकुमार ढकाल बताउँछन् ।

    ‘नेपालका बैंकहरुले स्थायी तरलता सापटीको साँवा र ब्याज भुक्तानी गरेका कारण निक्षेप घटेको हुनसक्छ । यसैगरी घट्दो रेमिटान्स र बढ्दो ब्यापार घाटाले गर्दा विदेशी मुद्राको सटही बढेर नेपाली मुद्रा नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । साथै, सरकारीले खर्च गर्न नसक्दा सरकारको राष्ट्र बैंकको खातामा रकम जम्मा भएर बसेको लगायतका कारणले निक्षेप घटेको हुनसक्छ,’ ढकालले भने ।

    नेपाल सरकारले पछिल्लो समय लक्ष्यको ३० प्रतिशत अर्थात ३ खर्ब ७३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । तर, सरकारले बजेट खर्चको लक्ष्य १६ खर्ब ३२ अर्बमध्ये १८.४४ प्रतिशत ३ खर्ब १ करोड मात्रै खर्च गरेको छ । जसमध्ये २ खर्ब ४३ अर्ब चालुतर्फ खर्च भएको छ भने ऋणको सावा ब्याज भुक्तानीका लागि प्रयोग हुने वित्तीय खर्चमा ३५ अर्ब ८४ करोड रुपैयाँ मात्रै खर्च भएको छ । विकास निर्माणमा हुने पुँजीगत खर्च २१ अर्ब ५२ करोड रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत खर्च नबढेकाले वैदेशिक अनुदान तथा ऋणको उपयोग हुनसकेको छैन । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वैदेशिक अनुदान १ रुपैयाँ पनि आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ ।

    न्यून पुँजीगत खर्चले गर्दा पनि तरलतामा चाप परेको हो । यसैगरी बैंकहरुले अल्पकालीन स्रोतका आधारमा दिर्घकालीन कर्जा लगानी गर्दा बैंकिङ प्रणालीमा तरलताको समस्या भएको बुझाई नेपाल राष्ट्र बैंकको रहेको छ । बैंकहरुले विगतका वर्षहरुमा प्रवाह गरेको कर्जाको ‘रिकभरी दर’ समेत समेत कम रहेको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाबले तरलताको समस्या थप बढाएको छ ।

    ब्यापारघाटामा भएको बृद्धि, रेमिट्यान्समा आएको गिरावट र पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको असर बैंकिङ प्रणालीको तरलतासँग आएर जोडिएको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन खोजे पनि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । राष्ट्र बैंकको हस्तक्षेपको बाबजुत पनि निक्षेपको ब्याजदर दोहोरो अंकले बढेको छ भने कर्जाको ब्याजदर बढ्ने क्रममा रहेको छ ।

  • मुद्दती खाताको ब्याजदर १०.०५ प्रतिशत, कुन बैंकको ब्याज कति ?

    मुद्दती खाताको ब्याजदर १०.०५ प्रतिशत, कुन बैंकको ब्याज कति ?

    काठमाडौं । अधिकांश बैंकहरू मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन । अधिकांशको ब्याजदर राष्ट्र बैंकको सीमाभित्र छ ।

    ब्याजदर बृद्धिसँगै मुद्दतीको ब्याजदर दोहोरो अंकमा पुगेको छ । ग्लोबल आईएमई बैंक, एनआईसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नविल बैंक, सनराइज बैंक, प्राइम कर्सियल बैंक, सिभिल बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, नेपाल बैंक लिमिटेड, एनएमबी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनसीसी बैंक, माछापुच्छ्र बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डूलगायतले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर १०.०५ प्रतिशत कायम गरेका छन् ।

    संस्थागत मुद्दतीको ब्याजदर भने नेपाल राष्ट्र बैंकको निर्देशननुसार व्यक्तिगत निक्षेपभन्दा १ प्रतिशतले कम ९.०५ प्रतिशत कामय गरेका छन् ।

    हालसम्म प्रकाशित वाणिज्य बैंकहरूको ब्याजदरसम्बन्धी विवरणका आधारमा राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक र मेगा बैंकले ब्याजदरलाई सिंगल डिजिटभित्र राख्ने प्रयास गरेका छन् । स्टाण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर अधिकतम ९.५० प्रतिशत कायम गरेको छ ।

    यसैगरी मेगा बैंकले ९.९६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ९.११ प्रतिशत ब्याजदर निर्धारण गरी नयाँ ब्याजदर निर्धारण गरेका छन । यी तीन बैंकहरूले संस्थागत निक्षेपको ब्याजदर सर्वसाधारणलाई दिने मुद्दतीको ब्याजदरभन्दा १ प्रतिशत कम नै राखेर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

    नेपालका बैंक वित्तीय संस्था तरलता अभाव भएको भन्दै अस्वस्थ प्रतिसपर्धामा उत्रिएपछि नेपाल राष्ट्र बैंकले ३ बुँदे कार्यविधि जारी गर्दै ब्याजदर वृद्धिमा अंकुश लगाएको थियो । आइतबार फेरि उसले कात्तिक २ गते जारी गरेको आफ्नै निर्देशनलाई परिवर्तन गर्दै ब्याजदरसम्बन्धी नयाँ निर्देशन कार्यान्वयनमा ल्याएको छ । मंसिरमा ब्याजदर बढाउने तयारीमा रहेका बैंकहरूलाई थप कस्ने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै एकिकृत निर्देशन २०७८ को अंग बनाएको छ ।

    उक्त निर्देशनले मुद्दतीको ब्याजदर सम्पूर्ण बैंक वित्तीय संस्थाको औसत ब्याजदरका आधारमा १० प्रतिशतमात्रै बढाउने व्यवस्था गरेको छ । कात्तिक २ गतेको निर्देशनमा अघिल्लो महिना बैंक वित्तीय संस्थाले कायम गरेको ब्याजदरका आधारमा १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था गरेको थियो । यसैगरी संस्थागत मुद्दतीको निक्षेपभन्दा व्यक्तिगत मुद्दतीको निक्षेपको ब्याजदर १ प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरेको थियो । तर, नयाँ निर्देशनले सबै वाणिज्य बैंकहरूको औसत ब्याजदर गणना गरी त्यसमा १० प्रतिशत थप गरेरमात्रै ब्याजदर बढाउन पाउने व्यवस्था गरेको छ ।

    अर्थमन्त्रालयको चासो र नेपाल राष्ट्र बैंकको ब्याजदर बढ्न नदिने नीति बुझेका नेपाल बैंकर्स संघका सदस्यहरूले ब्याजदर एकल बिन्दुमा कायम राख्नका लागि भद्र सहमति गर्ने प्रयास गरे पनि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय ब्याजदर बढाउने पक्षमा देखिएपछि सहमति कायम हुन सकेन ।

    नयाँ निर्देशनका अनुसार २७ वटै वाणिज्य बैंकहरूले अघिल्लो महिना मुद्दतीमा दिँदै आएको ब्याजदरलाई जोडेर २७ ले भाग गरी आउने भागफलमा अधिकतम १० प्रतिशतले मात्रै ब्याजदर बढाउँन पाउँनेछ ।

    कात्तिक महिनाम १७ वाणिज्य बैंकले भद्र सहमित गर्दै ९.३६ प्रतिशत दिने निर्णय गरेका थिए भने अन्य वाणिज्य बैंकहरूले ८ देखि ९.३६ प्रतिशतको बीचमा रहेर ब्याजदर कायम गरेका थिए । कात्तिकमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ९.१३ प्रतिशत हुन आउँछ । राष्ट्र बैंकको निर्देशनअनुसार उक्त व्याजदरमा १० प्रतिशत थप गर्दा नयाँ ब्याजदर १०.०५ प्रतिशत कामय हुने भएकाले सोही आधारमा वाणिज्य बैंकहरूले ब्याजदर बढाएका हुन् ।

    कात्तिक २ गतेको निर्देशनमा नै वाणिज्य बैंकहरूलाई ब्याजदर निर्धारण गर्न छाडिएको भए मंसिरमा मुद्दतीको ब्याजदर १०.३० प्रतिशतसम्म पुग्ने निश्चित नै थियो । नेपाल राष्ट्र बैंकको उक्त नीतिका कारण कात्तिक महिनामा कम ब्याजदर निर्धारण गरेका बैंक वित्तीय संस्थालाई भने फाइदा भएको छ । उनीहरूले एकैपटकमा १०.०५ प्रतिशतसम्म ब्याजदर बढाउन पाएका छन् ।

    नेपाल राष्ट्र बैंकले ब्याजदर बढ्न नदिनका लागि घुमाउरो पाराले पछिल्लो नीति परिवर्तन गरेको हो । नेपालका बैंक वित्तीय संस्थाले जथाभावी कर्जा विस्तार गरेको, कर्जाको रिकभरी रेट नबढेको र यसले समर्ग अर्थतन्त्रको उत्पादकत्व बढाउन नसकेको भन्दै कर्जा नीतिमा नेपाल राष्ट्र बैंकले कडाइ गरिरहेको छ । जसका कारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको हो । तरलता अभाव र ब्याजदर वृद्धिका सम्बन्धमा अर्थमन्त्रालयले देखाएको चासोलाई समेत नेपाल राष्ट्र बैंकले संम्वोधन गर्दै ब्याजदर बृद्धिमा अंकुश लगाएको छ ।

    बढ्दो आयातका कारण नेपालको शोधान्तरघाटा बढिरहेकाले ब्याजदर वृद्धिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न हुँदैन भन्ने मत पनि त्यति नै सशक्तरूपमा उठिरहेको छ । अर्थतन्त्रमा बढ्दो मागलाई घटाएर भएपनि शोधान्तर घाटा कम गर्दै विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने राष्ट्र बैंककै अधिकारीहरू बताउँछन् ।

    तर, बढ्दो ब्याजदरका कारण सेयर बजार घटेका कारण पनि ब्याजदर हस्तक्षेप गर्नुपर्ने दबाब राष्ट्र बैंकमा परेको छ । यसैगरी नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गर्दै ४-१२ सीमा लगाएपछि लगानीकर्ताहरू नेपाल राष्ट्र बैंक र गभर्नरप्रति रुष्ट बन्दै अर्थमन्त्रीलाई उक्त सीमा हटाउनका लागि दबाब दिइरहेका छन । राष्ट्र बैंकको नीतिगत हस्तक्षेपका कारण घटेको बजारलाई घट्नबाट रोक्नका लागि पनि नेपाल राष्ट्र बैंकले ब्याजदरमा पटक-पटक हस्तक्षेप गर्दै आइरहेको छ ।

    पछिल्लो तरलताको अभावबारे अर्थमन्त्री जनार्दन शर्माले समेत चासो व्यक्त गर्दै गभर्नर महाप्रसाद अधिकारी र २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई अर्थमन्त्रालयमा डाकेर छलफल गरिसकेका छन् ।

    बैंकर्ससँग छलफलपछि पनि आइतबार गभर्नर अधिकारीलाई अर्थमन्त्रालयमा बोलाएर ब्याजदर बढ्नबाट रोक्नका लागि अर्थमन्त्रीलाई आग्रह गरेको बताइएको छ । यसैगरी तरलता अभाव कृतिम भएको भन्दै यसको समस्या समाधानमा ध्यान दिन अधिकारीलाई आग्रह गरेका थिए । अर्थमन्त्रालयले तालिका बनाएर नै कात्तिक महिनादेखि १० प्रतिशत पुँजीगत खर्च नगर्ने भन्दै बढ्दो लगानीको मागलाई नरोक्न आग्रह गरेका थिए ।

    कुनै एक बैंकले बढाउने नीति अख्तियार गर्नसाथ अन्य बैंकहरूले पनि ब्याजदर बढाउनुपर्ने हुन्थ्यो । सहमति नभएपश्चात ब्याजदर एकल बिन्दुमा राख्ने प्रयास असफल भएको छ ।

    उनले गरिबले समेत कर्जा पाउने गरी धितो मूल्यांकनसम्बन्धी नीति परिवर्तन गर्न भनेका थिए । यसैगरी सरकारले वैदेशिक अनुदान तथा ऋण परिचालनमा तिब्रता दिने सोच बनाइरहेकाले तरलता अभावको समस्या धेरै दिन नरहने भन्दै गभर्नर अधिकारीलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत समस्या समाधानका लागि आग्रह गरेको अर्थमन्त्रालयले स्रोतले बतायो ।

    अर्थमन्त्रालयको चासो र नेपाल राष्ट्र बैंकको ब्याजदर बढ्न नदिने नीति बुझेका नेपाल बैंकर्स संघका सदस्यहरूले ब्याजदर एकल बिन्दुमा कायम राख्नका लागि भद्र सहमति गर्ने प्रयास गरे पनि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय ब्याजदर बढाउने पक्षमा देखिएपछि सहमति कायम हुन सकेन ।

    उनले राष्ट्र बैंकको निर्देशनभित्र रहेर वाणिज्य बैंकहरुलाई ब्याजदर बढाउन दिनपर्ने अडान राखेको बुझिएको छ । उनलाई नबिल बैंकका सीईओ अनिलकेशरी शाहले साथ दिएको एक बैंकरले बताए । ब्याजदर बढाएपनि पछिल्लो समय निक्षेप बढ्न नसकिरहेको भन्दै अधिकांश बैंकरहरूले कात्तिकको ब्याजदरलाई नै निरन्तरता दिन चाहेका थिए । कात्तिककै ब्याजदरले मंसिरमा निरन्तरता पाएको भए नेपाल राष्ट्र बैंकको ब्याजदर नबढाउने चाहाना पनि पूरा हुने, निक्षेप खोसाखोसको अवस्थाको अन्त्य हुने र ब्याजदर दोहोरो अंकले बढ्ने अवस्था रहने थिएन । यसका लागि सबै प्रतिस्पर्धी बैंकहरूले ब्याजदर बढाउन पाउने थिएनन् ।

    कुनै एक बैंकले बढाउने नीति अख्तियार गर्नसाथ अन्य बैंकहरूले पनि ब्याजदर बढाउनुपर्ने हुन्थ्यो । सहमति नभएपश्चात ब्याजदर एकल बिन्दुमा राख्ने प्रयास असफल भएको छ ।

  • तरलता अभाव देखाउँदै ब्याजदरमा मनपरी, प्रिमियम दर बढाएर १२ प्रतिशतसम्म असुल्दै बैंकहरू

    तरलता अभाव देखाउँदै ब्याजदरमा मनपरी, प्रिमियम दर बढाएर १२ प्रतिशतसम्म असुल्दै बैंकहरू

    काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर आक्रमकरूपमा बढाउन थालेका छन् । आधार दर नबढाए पनि बैंकहरूले प्रिमियम दरमा खेल्न सुरू गरेका छन् ।

    आधारदरलाई यथावत राखेर प्रिमियमदर ६ प्रतिशतसम्म तोकेर ऋणीलाई ब्याजदर बढेको पत्र धमाधाम पठाउन थालेका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार भारित औषत ब्याजदर ८ दशमलब ४८ प्रतिशत रहे पनि बैंकहरूले १२ प्रतिशतसम्म ब्याजदर असुली गर्न थालेका छन् ।

    महिनैपिच्छे बैंकको ब्याजदर बढेपछि ठूला ऋणीहरु आतंकित बन्न थालेका छन् । एकजना व्यवसायीले एनआईसी एसिया बैंकबाट लिएका दुई दीर्घकालीन कर्जाको ब्याजदर फरक-फरक कायम गरेर बैंकले पत्र थमाएको छ ।

    असोज महिनाका लागि एनआईसी एसिया बैंकले आधार दर ६.८४ प्रतिशत तोकेको छ ।

    तर, एकै ऋणीका दुई कर्जामा फरक-फरकरूपमा उच्च प्रिमियम दर कायम गरिएको छ । पहिलो कर्जाका लागि ४.६६ प्रतिशत प्रिमियमदर तोकेर ११.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसैगरी दोस्रो कर्जाका लागि आधार दरमा ५ प्रतिशत प्रिमियम दर तोकेर ११.८४ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

    नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल आधार दरमा बैंकहरूले ६ प्रतिशतसम्म प्रिमियदर लिन पाउने बताउँछन् । ऋणी असल भएमा प्रिमियम दर कम हुने र खराब भएमा प्रिमियम दर बढी तोकिने उनको भनाइ छ ।

    ‘बैंकहरूले ६ प्रतिशतसम्म कर्जाको वर्गिकरणनुसार प्रिमियम दर तोक्न सक्ने व्यवस्था छ । तर, असल भएमा बैंकहरुले कम र खराव कर्जा भएमा बढी प्रिमियम तोक्ने छुट बैंक तथा वित्तीय संस्थालाई छ’, ढकालले बताए ।

    नियमित साँवा ब्याज भुक्तानी गर्दा पनि प्रिमियम गत महिनाको तुलनामा करिब १.५ प्रतिशतले बढाइएको व्यवसायीहरु बताउछन् ।

    ‘कर्जाको साँवा ब्याज नियमितरूपमा भुक्तानी गर्दै आएकाले खराब ऋणीको सूचीमा पनि परेको छैन । तर, बैंकले असोज महिनाको ब्याजदर करिब डेढ प्रतिशतले बढाएर पठाएको छ’, एक व्यवसायीले भने ।

    तरलताको समस्या देखाउँदै ब्याजदर वृद्धि

    एनआईसी एसिया बाहेक थुप्रै बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या देखाउदै ऋणीसँग महँगो ब्याजदर असुल गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सीडीडी अनुपात हटाएर सीडी अनुपात लागु गरेपछि तरलतामा दबाब परेको बैंक तथा वित्तीय संस्थाले बताउदै आएका छन् ।

    नेपाल राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडी अनुपातलाई हटाएर ९० प्रतिशत सीडी अनुपात कायम गरेको छ । मौद्रिक नीति जारी हुँदा नै अधिकांश बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात ९० प्रतिशतको सिमा नाघिसकेको बताउदै ब्याजदर बढ्ने चेतावनी दिदै आएका थिए ।

    मौद्रिक नीति जारी भएको १ महिना नपुग्दै नेपालका अधिकांश बैक तथा वित्तीय संस्थाले साधारण निक्षेपको ब्याजदर बढाएका छन । निक्षेपको ब्याजदर बढेपछि कर्जाको ब्याजदर समेत बढेको छ ।

    पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेप तान्नका लागि ब्याजदर निकै उच्च बनाएका हुन । कतिपय बैंक तथा वित्तीय संस्थाले असोज महिनामा आएर ब्याजदर बढाएपछि केन्द्रीय बैंक बढेको ब्याजदर तुरुन्त घटाउन निर्देशन दिएको थियो ।

    केन्द्रीय बैंकको उक्त निर्देशनलाई कतिपय बैंक तथा वित्तीय संस्थाले असोज महिनामा आएर बढाएको ब्याजदर घटाएका छन् भने केहीले अझै घटाएका छैनन् । यसैगरी साधारण निक्षेप र मुद्दतिको ब्याजदरबीचको स्प्रेड दर साँघुरो बनाउँदै लगेपछी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्यसो नगर्न निर्देशन भनेको छ ।

    तर, अधिकांश बैंक तथा वित्तीय संस्थाले यही मौका छोपेर स्पेडरेट कम गरेर धमाधम नाफा कमाउन थालेका छन् । अहिले स्प्रेडरेट न्यूनतम ४ दशमलब ४ प्रतिशत कायम राख्नुपर्ने भएपनि अधिकांश वित्तीय संस्थाले यसको पालना गरेका छैनन् ।

    बैंकिङ प्रणालीमा बजारमा तरलता अभाव हुन थालेपछि भदौयता नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबारमार्फत पटक- पटक गरी करिब ७५ अर्ब रूपैयाँ तरलता इन्जेक्ट गरिसकेको छ । नेपाल राष्ट्र बैंकले सञ्चालन गरेको खुल्ला कारोबार मार्फत उपलब्ध गराएको तरलता लिनका लागि ब्याजदर कोरिडर सम्वन्धी कार्यविधि २०७६ को पालना गर्दै नेपाल राष्ट्र बैंकमा खाता खोली ’मास्टर मर्चेज एग्रिमेन्ट’गरेको हुनुपर्छ ।

    यस कारण सबै वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाका नीतिगत प्रावधानका कारण तरलता लिन नसक्ने अवस्थामा रहेको जानकारहरू बताउँछन् ।

    यसका लागि नेपाल राष्ट्र बैंकले सीडी अनुपात खारेजी गर्नुपर्नेमा बिज्ञहरुले जोड दिँदै आएका छन् । ९० प्रतिशतको सीडी अनुपात हटाएर ८५ प्रतिशतको सीसीडी अनुपात नै कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

    पछिल्लो समय करिब १ साताको बजेट सटडाउनका कारण नेपाल सरकारको खर्च प्रभावित हुँदा तरलता अभावको समस्यालाई थप जटिल बनाउँदै ब्याजदर बढेको देखिन्छ । असोज ७ गते बजेट प्रमाणिकरण भएपछि सरकारले खर्च गर्ने बैधानिकता पाएपनि अपेक्षित खर्च गर्न सकेको देखिदैन् । जसले गर्दा बजारमा तरलताको समस्या गहिरिँदै गएको छ ।

    यसले शेयर बजार प्रभावित भइसकेको छ भने नेपालको सम्पूर्ण अर्थप्रणाली थप प्रभावित बन्ने संकेतहरू देखा परेका छन् ।

  • ब्याजदर वृद्धिले निजी क्षेत्र थप समस्यामा, राष्ट्रबैंकको दोष देखाउँदै बैंकहरु

    ब्याजदर वृद्धिले निजी क्षेत्र थप समस्यामा, राष्ट्रबैंकको दोष देखाउँदै बैंकहरु

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘लोन टू डिपोजिट, सीडी अनुपात’ ९० प्रतिशत कायम गर्‍याे । ८५ प्रतिशतको सीसीडी अनुपातको व्यवस्थालाई हटाएर उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएपछि त्यसको प्रभाव बैंकको व्याजदरमा परेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरु पहिल्यैदेखि केन्द्रीय बैंकको उक्त नीतिमा असन्तुष्ट थिए । यसले बैंकिङ प्रणालीमा तरलताको चरम अभाव उत्पन्न गराउने र ब्याजदर बढाउने चेतावनी बैंकर्सले दिएका थिए । नभन्दै असोजबाट अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । निक्षेपसँगै कर्जाको ब्याजदर उचालिएपछि उद्योगी-व्यवसायी मारमा परेका छन् ।

    केन्द्रीय बैंकले भने एकीकृत निर्देशनमार्फत सीडी अनुपात सच्याउन सकिने संकेत गरेको थियो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल प्रेससँग कुराकानी गर्दै एकीकृत निर्देशनमार्फत सो सम्वन्धमा केही हेरफेर हुनसक्ने बताएका थिए । तर, नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन नल्याई पुरानै निर्देशनमा सामान्य संसोधन गरेको छ । सीडी अनुपातमा कुनै पनि परिवर्तन गरिएको छैन ।

    मौद्रिक नीति जारी हुँदै गर्दा अधिकांश बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि पुगिसकेको थियो । उनीहरुले निक्षेप नबढाइ कर्जा प्रवाह गर्ने अवस्था थिएन । तरलताको अभावका कारण बैंकहरुले एसएलएफ र अन्तरबैंक सापटीमार्फत गर्जो टार्दै आएका छन् ।

    अहिले बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि लागि ब्याजदर सार्वजनिक गरिरहेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले मुद्दती र निक्षेपको ब्याजदर भारी मात्रामा बढाएका छन् । बैंकहरुको मुद्दतीको ब्याजदर १०.५ प्रतिशतसम्म पुगेको छ भने साधारण बचततर्फ पनि १ प्रतिशत ब्याजदर बढेको छ ।

    अर्थतन्त्रमा लगानीको मागअनुसार बचत सृजना हुन नसकिरहेको अवस्थामा ब्याजदर बढाएर निक्षेप आकर्षित गर्ने रणनीतिका साथ बैंकहरु प्रतिस्पर्धामा उत्रिएका छन् । निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको लागत पनि बढ्ने भएकाले कर्जाको ब्याजदर पनि दोहोरो अंकले बढ्ने देखिएको छ ।

    राष्ट्र बैंकको भूमिका

    गत आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले लिएको खुल्ला मौद्रिक नीतिका कारण करिब ९ खर्ब हाराहारीमा कर्जा लगानी भएको थियो । चालू आर्थिक वर्ष पनि केन्द्रीय बैंकले करिब ८ खर्बको हाराहारीमा कर्जा बढाउने नीति अवलम्बन गरेको छ ।

    कोभिड-१९ को संक्रमण तथा राजनीतिक अन्योलताको अवस्थामा खुल्ला मौद्रिक नीतिबाट संकुचित मौद्रिक नीतिमा जानु नै गलत भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले आर्थिक परिदृष्यको सही ढंगले आँकलन गर्न नसक्दा अर्थतन्त्रमा पछिल्लो समस्या आएको देखिन्छ । राष्ट्र बैंक तत्कालका लागि सीडी अनुपातमा जान आवश्यक थिएन भने अध्यादेश र प्रतिस्थापन विधेयकका सन्दर्भमा गम्भीर विष्लेषणको अभाव देखियो,’ थापाले भने ।

    नेपाल राष्ट्र बैंकले बैदेशिक मुद्रा सञ्चिती, ब्यापारघाटा जस्ता बाह्य परिदृष्यको कमजोर विष्लेषण गरेर मौद्रिक नीति ल्याउँदा ब्याजदर बढेको उनको भनाइ छ । बढ्दो ब्यापारघाटाका कारण विदेशी मुद्राको सञ्चिती घट्ने र यसले मुलुकलाई जटिल समस्यामा पार्नसक्ने त्रासका कारण सीसीडी अनुपात हटाइएको उनले बताए ।

    तर, बिदेशी मुद्राको सञ्चिती केही समय घटेपनि केही समयपछि बढ्न नसक्नेतर्फ केन्द्रीय बैंकले नसोचेको थापाको भनाइ छ ।

    उद्योगी-व्यवसायी चिन्तामा

    ब्याजदर बढेकोप्रति उद्योगी व्यवसायी चिन्तित छन् । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बढेको सुचनाहरु आउन थालेको भन्दै राष्ट्र बैंकले गलत नीतिका कारण अर्थतन्त्र समस्यामा परेको बताए ।

    ‘नेपाल राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडी अनुपात हटाएर ९० प्रतिशतको सीडी अनुपात कायम गर्नु नै केन्द्रीय बैंकको गलत नीति हो,’ उनले भने, ‘सीडी अनुपातभन्दा बढी कर्जा दिएका बैंकहरुमा तरलता अभाव हुँदा ब्याजदर बढेका सुचनाहरु आउन थालेका छन् ।’

    अर्थतन्त्र पुनरुत्थानको चरणमा रहेको, सरकारको बजेट संकटमा रहेको, राजस्व संकलन गरेर ढुकुटीमा राखेको र निक्षेप बढ्न नसकेको अवस्थमा केन्द्रीय बैंकको कसिलो नीतिले अर्थतन्त्र थप समस्यामा पर्ने चिन्ता मल्लले ब्यक्त गरे ।

    नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अहिलेको अवस्थामा ब्याजदर बढ्नु अर्थतन्त्रका लागि सुखद संकेत नभएको बताउँछन् । तर, सीडी अनुपातकै कारणले मात्रै ब्याजदरको समस्या नआएको उनको भनाइ छ ।

    ‘ब्याजदर बढ्नु हाम्रो लागि सुखद संकेत होइन । सीसीडी अनुपात हटाएर सीडी अनुपात कार्यान्वयनमा ल्याइएकै कारण उक्त समस्या आएको हो भन्ने मलाई लाग्दैन,’ गोल्छाले भने ।

    कोभिड पछाडि अर्थतन्त्र चलायमान हुँदा बस्तुको माग आयातबाट धान्नुपर्ने अवस्थाका कारण लगानीयोग्य रकमको हुनु ब्याजदर बढाउने मुख्य कारण भएको उनले बताए । हाल बजेट खर्च रोकिएका कारण तरलताको अभावको समस्या भएको र यसले ब्याजदर बढाएको उनको भनाइ छ ।

    यद्यपि केन्द्रीय बैंकले सीसीडी अनुपात हटाएर सीडी अनुपात कायम गर्दा बैंक तथा वित्तीय संस्थाको ६ खर्च ५० अर्ब होल्ड भएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले सीसीडी अनुपात हटाउँदा बैंकहरु ठूलो समस्यमा परेका छन् । सीसीडी हटाउँदा ६ खर्ब ५० अर्ब लगानी होल्ड भएको छ,’ उनले भने, ‘बैंकिङ प्रणालीमा पर्याप्त रकम हुँदाहुँदै यस्तो परिस्थितिमा ब्याजदर बढाउने गरी नीति लिनु दुर्भाग्यपूर्ण हो ।’

    ब्याजदर बढ्दा कर्जाको माग कम हुने कर्जाको माग कम हुँदा उत्पादन र रोजगारी सृजनामा पनि संकुचन आउने थापा बताउँछन् । ब्याजदर बढ्दा शेयर बजार समेत प्रभावित हुने उनको भनाई छ । त्रैमासिक समिक्षामा केन्द्रीय बैंकले आफ्नो नीति रिभ्यू गर्नुपर्नेमा थापाले जोड दिएका छन् ।

     

  • चर्को ब्याजदर असुली बाहिरिएपछि ऋणी थुमथुम्याउँदै एनआईसी एसिया बैंक

    चर्को ब्याजदर असुली बाहिरिएपछि ऋणी थुमथुम्याउँदै एनआईसी एसिया बैंक

    काठमाडौं । चर्को ब्याजदर असुल गरिरहेको सार्वजनिक भएपछि आनआईसी एसिया बैंकले ऋणीलाई थुमथुम्याउन थालेको छ ।

    एनआईसी एसिया बैंकले व्यवसायी दिनेश सुवेदीसँग १५.७ प्रतिशत सम्म कर्जाको ब्याजदर लिइरहेको समाचार नेपाल प्रेस डटकमले सबैभन्दा शुरूमा प्रकाशित गरेको थियो ।

    त्यसपश्चात बैंकका कर्मचारीले सुवेदीलाई प्रत्यक्ष भेटेरै ब्याजदर घटाउने आश्वासन दिइरहेका छन् । बैंकले ८.५ प्रतिशत ब्याजमा कर्जा दिने आश्वासन दिँदै थप अगाडि नबढ्न आग्रह गरेको सुवेदीको भनाइ छ ।

    तर , उनी कुनै पनि हालतमा एनआईसी एसियासँग सम्झौता गर्ने मुडमा नरहेको बताउँछ । एनआईसी एसिया बैंकको ठगी धन्दा नरोकिएसम्म आफू चुप लागेर नबस्ने र बैंकको कुनै पनि सर्त नमान्ने उनको भनाइ छ ।

    ‘पत्रिकामा सूचना प्रकासित गरेर नै यस बैंकबाट ठगिएकाहरूको सूची तयार पार्न काममा लागेको छु ।’ उनले भने ‘कोभिड-१९ का कारण भेट्ने अवस्था नभएर मात्रै हो नभए प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंक सबैंसँग गुनासो लिएर न्याय माग्ने पक्षमा छु ।’

    नेपाल राष्ट्र बैंकले बैंकको आधार दर ६.७७ मा ८.९३ प्रतिशत प्रिमियम जोडर १५.७० प्रतिशत ब्याजदर लिएको थाहा पाएपछि बैंकलाई ब्याजदर घटाउनका लागि निर्देशन दिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

    ‘हामीले एनआईसी एसिया बैंकलाई ब्याजदर घटाउनका लागि निर्देशन दिइसकेका छौं र बैंकले ब्याजदर पनि घटाइसकेको जानकारी प्राप्त भएको छ’, उनले भने ।

    झुक्किएर ब्याजदर बढेको हुनसक्ने प्रतिकृया दिएको बैंकप्रति गुनासो आएको भन्दै नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपछि ब्याजदर घटाउन बैंक बाध्य भएको छ । एनआईसी एसिया बैंकका एक कर्मचारीले नाम नखुलाउने सर्तमा ब्याजदर घटिसकेको बताए । राष्ट्र बैंकले दबाब दिएका कारण बैंकले ब्याजदर घटाएको हो , उनले भने ।

    प्रिमियम दर तोक्ने तयारीमा नेपाल राष्ट्र बैंक

    आधार दरमा सामान्यता २ प्रतिशत प्रिमियम जोडेर बैंकहरूले कर्जा प्रदान गर्नुपर्ने भएपनि एनआईसी एसिया बैंकले करिब ९ प्रतिशतसम्म प्रिमियम लिएको देखिएको छ ।

    एनआईसी एसियाले कमजोरी गरेपछि राष्ट्र बैंकले प्रिमियमको दर समेत तोक्ने आन्तरिक तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । बैंकहरूले शुरूमा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने बताएपनि ऋणीसँग १० प्रतिशतसम्म प्रिमियम लिन पाउने भनेर सम्झौता गराएका हुन्छन् । त्यसमा ऋणीले हुँदैन भन्ने अवस्था हुँदैन ।

    सेवाग्राहीको बाध्यताका कारण बैंकले तयार पारेको उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । सम्झौता पत्रको उक्त व्यवस्थालाई आधार बनाएर बैंकहरुले चर्को ब्याजदर असुलिरहेका छन् । बैंकहरूले आधार दरमा १० प्रतिशतसम्म प्रिमियम जोडेर उच्च ब्याजदरमा मोटो रकम ऋणीसँग असुल्ने गरेका छन् ।

    स्थिर ब्याजदरको प्रयोग गर्न केन्द्रीय बैंकको आग्रह

    बैंकहरूको ब्याजदर आतंकबाट जोगिन नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले रिटेल कर्जामा बैंकले मनोमानी ढङ्गबाट ब्याजदर असुल गर्ने सक्ने भएकाले स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गरेको छ । राष्ट्र बैंकले ब्याजदर सम्वन्धी कार्यविधि परिवर्तन गर्दै रिटेल कर्जाका प्रोडक्टमा स्थिर ब्याजदर निर्धारण गर्न गत वर्ष नै निर्देशन जारी गरिसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्फत पनि स्थिर ब्याजदर सम्वन्धी आवश्यक व्यवस्थाका लागि बैंकलाई निर्देशन जारी भइसकेको छ ।

    तर , परिवर्तनशील ब्याजदर नीतिमा जस्तो स्थिर ब्याजदर नीतिमा अल्पकालमा ब्याजदर बढाउन नपाउने भएकाले उक्त नीति कार्यान्वयनमा बैंकहरूले अनाकानी गरिरहेका छन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल सेवाग्राहीले बैंकहरूको ब्याजदरबाट ठगिनबाट स्थिर ब्याजदर मार्फत कर्जा लिन आग्रह गर्छन् ।

    ‘स्थिर ब्याजदरबाट कर्जा लिदा बैंकहरुले अल्पकालमा ब्याजदर बढाउन पाउदैन र ठगिनबाट बचिन्छ ’ उनले भने ‘बैकहरूले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नैपर्छ गर्न मानेन भने राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुन्छ ।’

  • नीफ्राले तोक्यो नयाँ ब्याजदर

    नीफ्राले तोक्यो नयाँ ब्याजदर

    काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (नीफ्रा) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

    आजैदेखि लागू हुने गरी तोकिएको ब्याजदरअनुसार व्यक्तिगततर्फको मुद्धती खातामा निक्षेपकर्ताले ७.२५ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि कम्तीमा १ करोड रूपैयाँ निक्षेप राख्नुपर्ने र परिपक्व हुने समयअवधि ५ देखि १० वर्ष तोकिएको छ ।

    त्यस्तै संस्थागत निक्षेपकर्ताले ५ वर्षका लागि ६.५ प्रतिशत‍ र १० वर्षका लागि ६.६ प्रतिशत ब्याजदरमा निक्षेप लगानी गर्न पाउने बैंकले जनाएको छ ।

    संस्थागत लगानीकर्ताले यस बैंकमा निक्षेप जम्मा गर्न न्यूनतम १० करोड रूपैयाँ जम्मा गर्नुपर्ने छ ।
    कर्जा लगानीतर्फ नीफ्राले ‘ग्रीनफिल्ड’ क्षेत्रका लागि ९.५ प्रतिशत देखी ११ प्रतिशत , ‘ब्राउनफिल्ड’ क्षेत्रका लागि ९ देखि १०.५ प्रतिशत र ब्रिजग्याप कर्जाका लागि १० प्रतिशतदेखि ११.५ प्रतिशत ब्याजदर तोकेको छ ।

    विदेशी मुद्रामा दिने कर्जाको ब्याज ‘लण्डन अन्तर बैंक अफर दर, लिबोर’ को सहकार्यमा तय गरिने र विदेशी लगानीका लागि दिने कर्जाको ब्याजदर बैंकको कुपन दरमा ३ प्रतिशतसम्म प्रिमियम जोडिने नीफ्राले प्रकाशित गरेको नयाँ ब्याजदरमा उल्लेख गरेको छ ।

  • बैंकहरुको ब्याजदर सार्वजनिकः अधिकांशको यथावत्, हिमालयनले घटायो (सूचीसहित)

    बैंकहरुको ब्याजदर सार्वजनिकः अधिकांशको यथावत्, हिमालयनले घटायो (सूचीसहित)

    काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले चैत महिनाको ब्याजदर पूर्ववत् कायम राखेका छन् ।

    ब्याजदर सार्वजनिक गरेका बैंकहरुले साधारण बच तर्फको ब्याजदरमा कुनै पनि परिवर्तन गरेका छैनन् भने मार्जिनप्रतिको कर्जालाई सहयोग गर्ने गरी ब्याजदर कामय गरेका छन् । केही बैंकहरुले मुद्दति खाताको ब्याजदर भने केही मात्रामा घटाएका छन् ।

    पछिल्लो समय मुद्रा बजारमा तरलता अभाव सुरु भएको भन्दै ब्याजदर बढ्न सक्ने अनुमान गरिएको थियो । ब्याजदर बढ्ने अनुमानका कारण ३५ दिनदेखि करेक्सन भइरहेको सेयर बजारलाई चैत महिनाको ब्याजदरले राहतको महसुस गराएको लगानीकर्ता बताउँछन् ।

    हिमालयन बैंक

    हिमालयन बैंकले चैत महिनाका लागि मुद्दतितर्फको ब्याजदर घटाएको छ । बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मको रहेको बैंकको मुद्दति खाताको ब्याजदरलाई ३.५ देखि ६.५ प्रतिशत झारेको छ । अन्य बैंकले यस्तो खातामा ३ देखि ६ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् । हिमालयन बैंकले पुस महिनाकै आधार दर ६.८३ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

    स्टाण्डर्ड चाटर्ड

    स्टाण्डर्ड चाटर्ड बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै पुस महिनाकै आधार दर ६.०७ प्रतिशत कायम गर्ने भएको छ । मुद्धतितर्फ परिपक्व हुने समयका आधारमा ४.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम गरेपनि पनि बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

    एभरेष्ट बैंक

    एभरेष्ट बैंकले पनि मंसिर महिनाकै आधारदर ५.५२ प्रतिशतलाई चैत महिनामा निरन्तरता दिने भएको छ । साधारण बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर दिइरहेको यस बैंकले मुद्दति खातामा समयका आधारमा ४.७५ प्रतिशतदेखि ६.७५ प्रतिशत ब्याज दिइरहेको छ ।

    सेन्चुरी बैक

    सेन्चुरी बैकले पनि माघ महिनाको आधार दर ७.८९ प्रतिशतलाई निरन्तरता दिएको छ । उसले साधारण निक्षेपतर्फ २.७५ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ । त्यस्तै बैंकले मुद्दतितर्फ ५.५० देखि ७.५० सम्म ब्याजदर दिने शर्तलाई निरन्तरता दिएको छ ।

    एसविआई बैंक

    एसविआई बैंकले पनि पुस महिनाको आधारदर ७.३१ प्रतिशतलाई निरन्तरता दिएको छ । बैंकले संस्थागत रुपमा प्रवाह गर्ने कर्जामा ३ प्रतिशतदेखि ६.५ प्रतिशत ब्याजदरमा उपलव्ध गराउने भएको छ भने व्यक्तिगत मुद्दति कर्जामा ३ देखि ७ प्रतिशतसम्म समयअवधिका आधारमा ब्याजदर दिने भएको छ । साधारण बचतमा भने बैंकले २ देखि ३.१६ प्रतिशतको ब्याजदरले निरन्तरता पाएको छ ।

    हेर्नुहोस्, कुन बैंकले कति ब्याज तोके