Tag: बुटवल लुम्बिनी फुटबल क्लब

  • एनएसएलको दोस्रो क्वालिफायरमा आज ललितपुर र बुटवल लुम्बिनी भिड्दै

    एनएसएलको दोस्रो क्वालिफायरमा आज ललितपुर र बुटवल लुम्बिनी भिड्दै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।

    लिग चरणमा मिश्रित नतिजासँगै शीर्ष चारभित्र छनोट भएको दुवै टोलीका लागि यो खेल क्वाटरफाइनल सरहको खेल हो ।

    सुरुआती चार खेलमा जितविहनी रहेको ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको लगातार २ खेल जितेर प्लेअफमा छनोट भएको हो । ललितपुरले लिग चरणमा एक हार, तीन बराबरी र दुई जितको नतिजा निकालेको थियो ।

    अर्कोतर्फ निर्णायक खेलमा धनगढी एफसीलाई पराजित गरी बुटवल लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा पुगेको हो । लिग चरणमा यी दुईबीचको खेलमा ललितपुर १–० ले विजयी थियो ।

    आजको खेलको विजेता टोलीले भोलि नै इलिमिनेटर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग खेल्नुपर्नेछ ।

    हिजो भएको पहिलो क्वालिफायरमा काठमाडौंलाई अतिरिक्त समयमा पराजित गरी धनगढी एफसीले फाइनलमा स्थान बनाइसकेको छ ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको १८ औं मिनेटमा मार्की खेलाडी विशाल राईले गोल गरेपछि धनगढीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    त्यसअघि नियमित खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गरी अग्रता दिलाए पनि त्यसको तीन मिनेटपछि नै पुजन उपर्कोटीले शानदार एक्रोब्याटिक प्रहारमार्फत बरारबी गोल फर्काएका थिए ।

  • नेपाल सुपर लिग: सर्वाधिक मुल्यमा बिक्री भए दुई गोलकिपरसहित ८ खेलाडी

    नेपाल सुपर लिग: सर्वाधिक मुल्यमा बिक्री भए दुई गोलकिपरसहित ८ खेलाडी

    काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइज लिग- नेपाल सुपर लिग (एनएसएल)को शुक्रबार सम्पन्न अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रूपैयाँमा बिक्री भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न तीन समूहमा खेलाडीलाई समावेश गरी १४९ जना खेलाडी अक्सनका लागि उपलब्ध गराएको थियो ।

    जस क्रममा समूह सीका खेलाडीका लागि सर्वाधिक ७५ हजार, समूह बीका खेलाडीका लागि सर्वाधिक १ लाख २० हजार र समूह एमा रहेका खेलाडीको सर्वाधिक मूल्य २ लाख राखिएको थियो ।

    सोही क्रममा समूह एका ८ खेलाडीहरू सुजल श्रेष्ठ,दीप कार्की, एरिक विष्ट, तेज तामाङ, विशाल सुनार, विकाश खवास, सुनिल बल र दिनेश राजवंशी दुई/दुई लाखमा अनुबन्ध भएका हुन् ।

    २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कप्तान सुजल श्रेष्ठलाई पोखरा थन्डर्स फुटबल क्लबले गोलाप्रथामा भित्र्याउन सफल भयो । त्यस्तै, गोलकिपर दीप कार्कीलाई पनि पोखराले नै २ लाख रूपैयाँमा किनेको हो ।

    मिडफिल्डर एरिक विष्ट ललितपुरमा अनुबन्धित हुँदा अर्का मिडफिल्डर तेज तामाङ काठमाडौं रेजर्स फुटबल क्लबका लागि बिक्री भएका छन् । गोलकिपर विशाल सुनार विराटनगरका लागि २ लाख रूपैयाँमा अनुबन्ध भए ।

    त्यस्तै, डिफेन्डर विकाश खवास फुटबल क्लब चितवनमा अनुबन्धित हुँदा सुनिल बल विराटनगर र दिनेश राजवंशीलाई धनगढी फुटबल क्लबले किन्यो ।